काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा ( सासु) कोषले प्रभावकारी काम गर्न थालेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा संसदको बैठकमा बोल्दै उनले सुरुवातमा नयाँ युग भन्दै धेरैले सामाजिक सञ्जालमा ट्रोल गरेको भए पनि अहिले धेरैले आफ्नो जयजयकार गर्ने गरेको धारणा राखेका हुन् ।
‘सामाजिक सञ्जाल एक्समा एउटा स्टाटस पढेको थिएँ,’ उनले भने, ‘सामाजिक सुरक्षा कोष भन्ने गरिबहरूको बाँच्ने आधार रहेछ, पित्तथैलीको ढुंगा हटाउन १० हजार ७७५ रुपैयाँ र ओखती र जाँचसहित बेडसम्मै आइपुग्या, अहिले फेरि यो वर्षमै १ लाख २५ हजार रुपैयाँ उपचार खर्च पाइनेरहेछ, जसले सुरुवात गर्यो त्यसको जय होस् ।’
प्रधानमन्त्री ओलीले अहिले सामाजिक सुरक्षा कोषमा योगदानकर्ता बढ्दै गएको बताएका छन् । यसले गर्ने काम र सुविधाको विस्तार गर्दै जाने उनको भनाइ छ । विभिन्न व्यक्तिलाई कोषमा आवद्धता बढाउँदै लैजाने उनले बताए ।
यस्तै, उनले बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाह हुन नसकेको बताउँदै सरकारले लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले काम गरिरहेको बताए । वर्तमान सरकार जनताको काम गर्ने गरी लागिरहेको उनको धारणा छ ।
‘हामीले सरकारको नेतृत्व लिँदा अर्थतन्त्रको अवस्था जर्जर थियो, देशप्रति आम जनताको भरोसा टुटेको थियो, अर्थतन्त्र सकसपूर्ण अवस्थामा थियो, विकासका काम ठप्प थिए । तर, मैले नेतृत्व लिएपछि धेरै सुधार भएको छ, अर्थतन्त्रले एउटा लय समातेको छ, जनतामा आशा पलाएको छ,’ प्रधानमन्त्री ओलीले भने ।
आफूले सरकारले नेतृत्व गरेपछि प्राकृतिक विपत्तिको कारण समस्या सिर्जना भएपनि धेरै काम गरेको बताए । जनतामा आशा र उत्साह सञ्चार गर्न धेरै हदसम्म सफल भएको र अझै गर्न धेरै बाँकी रहेको जानकारी दिए । उनले गत आर्थिकवर्षको सोही अवधिको तुलनमा वित्तीय सूचक पनि सुधार भएको दाबी गरे ।