
काठमाडौं । इन्डियन एशोसिएसन अफ ग्यास्ट्रोइन्टेस्टाइनल एण्ड इन्डोस्किोपिक सर्जन (आइएजीइएस) र सोसाइटी अफ सर्जनस् अफ नेपाल (एसएसएन) को सहकार्यमा साउथ एसियन सम्मेलन काठमाडौंमा जारी छ ।
यो सम्मेलन बिहीबारदेखि सुरु भएको हो । नेपाल मडिसिटी अस्पताल र हायात रिजेन्सी काठमाडौंमा भइरहेको उक्त सम्मेलनमा भारत तथा नेपालबाट २०० सय भन्दा बढी चिकित्सकहरुको सहभागिता रहेको छ ।
मिनिमल इन्भेसिभ सर्जरी, रोबोटिक सर्जरी, र इन्डोस्कोपी क्षेत्रको विश्वव्यापी नवीनतम प्रगति, प्रवृत्ति र चुनौतीहरुबारे ज्ञान आदनप्रदान गर्ने उद्देश्यले यो सम्मेलन आयोजना गरिएको आइएजीइएसका अध्यक्ष डा. सुवास अग्रवालले बताए ।
विश्वभरका प्रख्यात विशेषज्ञहरू, नवप्रवर्तकहरू र सर्जनहरूको सहभागिता र ज्ञान आदानप्रदानले अत्याधुनिक अनुसन्धानमा सहकार्य गर्न र यस क्षेत्रमा विकासलाई बढावा दिन सहयोग पुग्ने डा. अग्रवालले बताए ।
हालसम्म नेपाल मेडिसिटीमा दुई वटै शल्यक्रिया युनिटबाट ८ हजारभन्दा बढी शल्यक्रिया दुरवीन प्रविधिबाट भएको जानकारी एसएसनका पूर्व अध्यक्ष तथा नेपाल मेडिसिटी अस्पतालका वरिष्ठ सर्जन डा. सुनिल कुमार शर्माले बताए ।
यहाँ इआरसिपी, इन्डोस्कोपिक अल्ट्रासाउण्ड गरी क्यान्सर पत्ता लगाउने र यसलाई ट्युमर बोर्डमा छलफल गरी सम्पूर्ण क्यान्सरको उपचार गराइन्छ ।
त्यस्तै, शल्यक्रिया गर्नका लागि अनिवार्य फ्रोजन सेक्सन गरेर क्यान्सर उपचारमा कुनै सुविधाको कमी हुन नदिई शल्यक्रिया गरिन्छ ।
नेपाल मेडिसिटी अस्पतालमा विभिन्न र्वोकशप आयोजना गरिएको थियो जहाँ सहभागि चिकित्सकहरुलाई पेपर प्रेजेन्टेसन, विभिन्न सिकाई गतिविधिका साथै एफएएलएस हर्निया फेलोसिप, एफआईएजिईएस फेलोसिप, इएफआईएजिईएस फेलोसिप प्रदान गरिएको थियो ।
सम्मेलनमा विशेषत शल्यक्रियाको भविष्यमा अन्तरदृष्टि, रोबोटिक्स, अग्मेन्टेड रियालिटी, शल्यक्रियामा आर्टिफिसियल इन्टेलिजेन्स र उन्नत ल्याप्रोस्कोपिक प्रविधिहरू जस्ता परिवर्तनकारी आविष्कारहरूको खोजीबारे छलफल गरिएको डा. शर्माले बताए।
सम्मेलनमा आइएजिइएसले डा. शर्मालाई अनररी फेलोसिप दिनुका साथसाथै यस सम्मेलनको दुई मुख्य ओरेसन मध्य एक विशेष मन्तव्य डा. शर्माले दिनेछन् ।
नेपाल मेडिसिटी अस्पतालले नेपाली जनताका लागि अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा नेपालमै उपलब्ध गराउन निरन्तर प्रयास गरिरहेको छ र भविष्यमा पनि यसै प्रकारले सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।
