१ सय रुपैयाँमै एनएलजी इन्स्योरेन्सको ३ लाख २० हजार कित्ता सेयर बिक्री खुला
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आज माघ २० गतेदेखि अवितिरित हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले संस्थापक तथा सर्वसाधारण समूहको बिक्री नभएको ३ लाख २० हजार ५३३ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । गत मंसिर ११ गतेदेखि पुस १६ गतेसम्म कम्पनीले चुक्ता पुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार रुपैयाँको ६.२५ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ६.२५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । अर्थात् कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर जारी गरेको थियो । उक्त अवधिमा बिक्री नभएको संस्थापक समूहको २९ हजार ९७७ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५ कित्ता गरी कुल ३ लाख २० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । कम्पनीको सेयर माघ २७ गतेसम्म बिक्री खुला रहनेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । कम्पनीको उक्त सेयरमा लगानीकर्ताले एनएलजी इन्स्योरेन्सको विराटनगर, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर मूलय प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । सर्वसाधारण सेयरमा कम्तिमा १ सय कित्ता र संस्थापक सेयरमा कम्तिमा १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
१२ किलोको काउली फलाएका खत्री भन्छन्- ‘विदेश जाने सोच कहिले पनि आएन’
काठमाडौं । बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीले १२ किलोको काउली फलाउन सफल भएका छन् । गतवर्ष उनी आफ्नै ‘खत्री एग्रो फार्म’मा ९ केजीको काउली फलाएर कृषि ज्ञान केन्द्रबाट जिल्लाकै उत्कृष्ट किसानका रूपमा पुरस्कृत समेत भएका थिए । विसं २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारीखेती थालेका खत्री यतिबेला यस क्षेत्रकै सफल किसानमा गनिन्छन् । उनले भने, ‘पुरस्कृत भइसकेपछि काउली उत्पादनमा झनै मेहनत गरेँ । यस वर्ष १२ केजी ८८० ग्रामको काउली फलाउन सफल भए ।’ उनले १८ रोपनी जग्गा तरकारीखेती गर्दै आएका छन् । आफ्ना साथीभाइ वैदेशिक रोजगारमा पलायन हुँदै गर्दा खत्रीको मनमा कहिलै विदेश जाने सोच नआएको जनाउँदै उनले गाउँमै उद्यमी बनेको जनाए । स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने सोचका साथ कृषि कर्ममा तल्लीन खत्रीले वार्षिक १० देखि १२ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । अहिले काउली र ब्रोकाउली मात्रै १० क्विन्टल बिक्री गरेको खत्रीले बताए । तरकारीखेती फस्टाउँदै गएपछि भाडामा ८ रोपनी जग्गा र ५ रोपनी बाँझो जग्गालाई सदुपयोग गर्दै उनले व्यावसायिक तरकारीखेती गर्दै आएक छन् । खत्रीको फार्ममा ८ वटा प्लाष्टिक टनेलमध्ये २ वटा हाइटेक र अन्य परम्परागत टनेल छन् । खत्रीले कृषि ज्ञान केन्द्र र बागलुङ नगरपालिकाको प्राविधिक सहयोगमा आफू सफल भएको बताए ।
५ हजार १०० मिटर उचाइमा मोटरसाइकल यात्रा, सडकमा हिउँ जमेकाले चिप्लिने जोखिम
काठमाडौं । समुद्री सतहबाट ५ हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा गरिएको छ । गत बुधबार चन्द्र माबोले पहिलोपटक टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा गरेका हुन् । राष्ट्रिय गौरवको आयोजना तमोर करिडोरले नेपाललाई भारत र चीनसँग जोडेको छ । भारतको जोगबनीबाट सुरु हुने यो करिडोर चीनको तिब्बतसँग जोडिन्छ । हालै चीनको सिमावर्ती क्षेत्र ओलाङचुङगोला पुग्ने बोलेरो गाडी सञ्चालनमा आएपछि थप २४ किलोमिटर कठिन हिमाली सडक पार गर्दै टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल पुगेको हो । फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका स्थानीय तथा कार्यपालिका सदस्य टासी शेर्पाले टिप्तालासम्म गाडी पहिल्यै पुगे पनि मोटरसाइकलले पहिलोपटक यात्रा पूरा गरेको बताए । उनले भने, ‘ओलाङचुङगोलासम्म मोटरसाइकल आइपुगेका थिए, तर टिप्ताला भञ्ज्याङ पुग्न सकेका थिएनन् ।’ मोटरसाइकल यात्री माबोका अनुसार सुकेपानीबाट ओलाङचुङगोला खण्डसम्म मोटरसाइकल चलाउन निकै कठिन छ । अझ ओलाङचुङगोलाबाट माथि थप जटिलता रहन्छ । उच्च हिमाली क्षेत्र भएकाले अक्सिजन कम हुने, चिसो अत्यधिक हुने र मोटरसाइकलको शक्ति घट्ने हुँदा चुनौतीपूर्ण यात्रा हुने उनको भनाइ छ । ‘अहिलेसम्म टिप्ताला भञ्ज्याङमा सर्वसाधरणले मोटरसाइकलमार्फत यात्रा गरेको छैन भन्ने सुनेको छु, यदि हो भने म नै पहिलोपटक ५ हजार १ सय मिटर उचाइमा रहेको टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा गर्ने व्यक्तिमा पर्छु,’ उनले भने । ५ हजार उचाइमा रहेको टिप्ताला भञ्ज्याङमा मोटरसाइकाल यात्रा सफल भएसँगै यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा विकास हुने फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए । उनका अनुसार टिप्ताला क्षेत्र एक व्यापारिक केन्द्रसँगै पर्यटकीय गन्तव्य हो । यस क्षेत्रमा पहिलोपटक मोटरसाइकल पुग्नुलाई साहसिक पर्यटकको समेत नयाँ गन्तव्य बन्ने लिम्बूको भनाइ छ । टिप्ताला भञ्याङ जाने क्रममा मोवाटार (४ हजार २ सय मिटर) हुँदै उकालो यात्रा गर्नुपर्छ । सो क्षेत्रको सडक अप्ठ्यारो भएकाले गाडी तथा मोटरसाइकल चलाउन कठिन हुने चालक आइतराज थेबेले बताए । सडकमा हिउँ जमेर रहेकाले गाडी चिप्लिने जोखिम हुने गरेकाले सावधानीपूर्वक यात्रा गर्नुपर्ने थेबेले बताए । नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने टिप्तालासम्म नेपाली गाडी र मोटरसाइकल पुगेपछि स्थानीय हर्षित भएका छन् । उत्तर–दक्षिण लोकमार्गअन्तर्गत ट्रयाक निर्माणपछि पहिलोपटक अघिल्लो बुधबार नेपाली मोटरसाइकल टिप्ताला भञ्ज्याङ पुगेको स्थानीय तथा पूर्ववडाध्यक्ष छेतेन शेर्पाले बताए । टिप्तालासम्म मोटरसाइकल तथा गाडी पुगेपछि जिल्लावासी उत्साहित भएका छन् । विशेषगरी ओलाङचुङगोला, याङ्मा र घुन्साका स्थानीयले सडक विस्तारले यातायात सहज बनाउने आशा राखेका छन् । यस सडकको विस्तारले भारत, नेपाल र चीनलाई जोड्ने सम्भावना बढाएको छ । विराटनगर रानीबाट तमोर करिडोर हुँदै उत्तर-दक्षिण लोकमार्गमार्फत तिब्बतसँगको सिमाना टिप्ताला जोडिएको छ । २९२ किलोमिटर लामो यो सडक भारत, नेपाल र चीन जोड्ने छोटो मार्गका रूपमा लिइन्छ ।
अमेरिकासहित अधिकांश देशको मुद्राको भाउ घट्यो, यूरोको मूल्य १४४.१० रुपैयाँ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३८.२८ रुपैयाँ र बिक्रीदर १३८.८८ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४३.४८ रुपैयाँ र बिक्रीदर १४४.१० रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७१.६० रुपैयाँ र बिक्रीदर १७२.३४ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.८२ रुपैयाँ र बिक्रीदर १५२.४८ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८५.८९ रुपैयाँ र बिक्रीदर ८६.२६ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.४१ रुपैयाँ र बिक्रीदर ९५.८२ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०१.८९ रुपैयाँ र बिक्रीदर १०२.३३ रुपैयाँ, जापानी येन १० को खरिददर ८.९४ रुपैयाँ र बिक्रीदर ८.९८ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १९.०७ रुपैयाँ र बिक्रीदर १९.१५ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.८७ रुपैयाँ र बिक्रीदर ३७.०३ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.९३ रुपैयाँ र बिक्रीदर ३८.०९ रुपैयाँ, थाई भाट एकको खरिददर ४.११ रुपैयाँ र बिक्रीदर ४.१३ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.६५ रुपैयाँ र बिक्रीदर ३७.८१ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.०४ रुपैयाँ र बिक्रीदर ३१.१७ रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.५३ रुपैयाँ र बिक्रीदर ९.५७ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.५० रुपैयाँ र बिक्रीदर १२.५५ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.२३ रुपैयाँ र बिक्रीदर १९.३१ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.७४ रुपैयाँ र बिक्रीदर १७.८२ रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४४८.१९ रुपैयाँ र बिक्रीदर ४५०.१३ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६६.८१ रुपैयाँ र बिक्रीदर ३६८.४० रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५९.१७ रुपैयाँ र बिक्रीदर ३६०.७३ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
पश्चिमी वायुको सामान्य प्रभाव, तराईमा कुहिरो लाग्ने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । बुलेटिनका अनुसार तराईका धेरै स्थानमा कुहिरो लाग्ने छ भने कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा देशका तराई तथा उपत्यकाका केही स्थानमा बिहानको समयमा कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
५२ सूचकमा लुम्बिनीमा सहकारीको वर्गीकरण गरिँदै, प्रदेशपछि स्थानीयस्तरको गरिने
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले सहकारी संस्थाको वर्गीकरण गर्ने भएको छ । लुम्बिनी प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष टीकाराम पोख्रेलले विभिन्न पाँच भागमा सहकारी वर्गीकरण गर्न लागिएको जानकारी दिए । उनका अनुसार विभिन्न ५२ वटा सूचकका आधारमा सहकारी संस्थाको वर्गीकरण गरिने छ । ‘राम्रा र नराम्रा सहकारीलाई एउटै वर्गमा राख्न मिल्दैन, सोहीअनुसार सहकारीलाई वर्गीकरण गर्न लागिएको हो,’ उनले भने । प्रल्सअनुगमन प्रणालीका १४, एमसीआइसम्बन्धी ३ वटा र सहकारी कानुनसँग सम्बन्धित सुशासनका ३५ गरी ५२ वटा सूचकका आधारमा वर्गीकरण गरिनेछ । सहकारीमा ऋण सुरक्षणको अवस्था, भाका नाघेको ऋणको अवस्था, वार्षिक साधारणसभा, लेखापरीक्षण, आन्तरिक लेखापरीक्षण, सम्पत्ति शुद्धीकरण निवारण, कार्यविधि निर्माण, सेवा, बचत र सदस्यको अनुपात, पुँजीको अनुपातलगायत विषयलाई वर्गीकरणको आधार मानिने छ । वर्गीकरणका लागि सबै सहकारी संस्थालाई पत्राचार गरिएको छ । प्रदेशका १२ वटै जिल्लामा प्रदेश मातहतका ५० जना कर्मचारीलाई तालिम दिई परिचालनसमेत गरिएको छ । प्रदेशमा ८४८ वटा सहकारी संस्था छन् । पहिलो चरणमा प्रदेशस्तरीय सहकारीलाई वर्गीकरण गरिने छ भने त्यसपछि प्रदेशभित्रका स्थानीयस्तरका सहकारीको वर्गीकरण गरिने उपाध्यक्ष पोख्रेलको भनाइ छ । हाल लुम्बिनीमा ४ हजारभन्दा बढी सहकारी संस्था छन् ।
तनहुँमा साढे ४२ करोडको सुन्तला बिक्री, एउटै किसानले पाए ३ करोड
काठमाडौं । तनहुँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट गरी ४२ करोड ५० लाख रुपैयाँको आम्दानी गरेका छन् । जिल्लामा गत वर्ष ३० करोड रुपैयाँ बराबरको सुन्तला बिक्री भएको थियो । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष सुन्तलाको उत्पादन पनि बढेको छ । यस वर्ष १ हजार ६५७ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएकामा ९६८ हेक्टर क्षेत्रफलबाट सुन्तला उत्पादन भएको केन्द्रका सूचना अधिकारी किरण परियारले जानकारी दिए । उनका अनुसार यस वर्ष ५ हजार ८३१ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष जिल्लामा ३ हजार ७५० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । परियारका अनुसार देवघाट, शुक्लागण्डकी र म्याग्दे गाउँपालिकामा सुन्तलाको उत्पादन राम्रो छ । म्याग्दे गाउँपालिका–३ उमाचोकका सुकनारायण श्रेष्ठले यस वर्ष सुन्तला बिक्री गरी ७० लाख रुपैयाँ आम्दानी गरे । देवघाट गाउँपालिका–३ का लुङ्ग्रिङमा एकै घरबाट २० लाख रुपैयाँसम्मको सुन्तला बिक्री भएको छ । किसान भीमबहादुर रानाले यस वर्ष यस वडाबाट ३ करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री भइसकेको जानकारी दिए । विगतमा अन्नबाली राम्रो नहुँदा चिन्तामा परेका यहाँका किसान पछिल्ला वर्षमा सुन्तलाले राम्रो आम्दानी दिन थालेपछि खुसी भएको किसान प्रेम थापाले बताए । जिल्लाका कुल ८ हजार ५७० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती विस्तारको सम्भावना रहेको केन्द्रले जनाएको छ । केन्द्रले सुन्तलाखेती गर्ने किसानलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ । परियारका अनुसार, देवघाट–२ र ३, आँबुखैरेनी–५, म्याग्दे ४, व्यास–७, १३ र १४, भिमाद–८ र ९, बन्दीपुर–३, ऋषिङ–३ र घिरिङमा सुन्तलाखेती विस्तारको सम्भावना छ । तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडौंका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन् । काठमाडौंका अलवा पोखरा, नारायणगढलगायत ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमादलगायत ठाउँमा पनि यहाँको सुन्तला बिक्री हुने गरेको किसान बताउँछन् । जिल्लाका अधिकांश ठाउँमा व्यापारी नै बगैँचासम्म पुगेर सुन्तला खरिद गर्ने गरेका छन् ।
ह्रास रोक्न आज विश्व सिमसार दिवस मनाइँदै, यी हुन् रामसार सूचीमा समावेश
काठमाडौं । ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ आज विश्व सिमसार दिवस मनाइँदै छ । तीव्र गतिमा भइरहेको सिमसार क्षेत्रको ह्रास रोक्नका लागि जनचेतना बढाउने तथा सिमसार क्षेत्रको संरक्षण र पुनःस्थापनाको प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाइँदै आइएको छ । संयुक्त राष्ट्र सङ्घले सन् २०२१ अगष्ट ३० मा प्रत्येक वर्षको फेब्रुअरी २ मा विश्वभर सिमसार दिवस मनाउने निर्णय गरेको थियो । सन् १९७१ मा क्यास्पियन समुद्रको किनारमा रहेको इरानको सहर रामसारमा आयोजित अन्तर्र्राष्ट्रिय महत्वको सिमसारसम्बन्धी महासन्धिको अङ्गीकार गरिएको दिनको सम्झनामा दिवस मनाउन लागिएको हो । संरक्षित क्षेत्रहरूको घोषणा, प्रभावकारी नीतिको कार्यान्वयन र ज्ञान आदानप्रदानमार्फत उक्त महासन्धिले राष्ट्रहरूलाई आफ्ना जलाधार क्षेत्रहरूको संरक्षण र दिगो उपयोगका लागि आवश्यक कदम उठाउन सक्षम बनाउने उद्देश्यले दिवस मनाइने गरिएको छ । कुल १७२ राष्ट्रले अङ्गीकार गरेको यस महासन्धिमा सहभागी हुने देशले अन्तर्राष्ट्रिय महत्वका सिमसार क्षेत्रको सूची (रामसार क्षेत्र) मा कम्तीमा एउटा जलाधार समावेश गर्नैपर्ने नियम छ । हाल नेपालको कोशी टप्पु वन्यजन्तु आरक्ष, राराताल, माईपोखरी, फोक्सुण्डो ताल, बिसहजारी ताल, घोडाघोडी ताल, गोसाइँकुण्ड ताल, गोक्यो ताल, जगदीशपुर जलासय र पोखरा उपत्यका तथा त्यस क्षेत्रका ९ वटा तालको समूह रामसार सूचीमा समावेश छन् । सिमसार क्षेत्र भन्नाले प्र्राकृतिक अथवा कृृत्रिम रुपले सृजना भई स्थायी वा अस्थायी रूपमा पानीले ढाकेको, पानी बग्ने वा झरनाका रूपमा खसेर बनेको दलदल, धाप, जरुवा क्षेत्र वा नुनिलो तथा क्षारयुक्त पानी रहेको ठाउँ वा भूभोगलाई बुझिन्छ । नेपालको राष्ट्रिय सिमसार नीति, २०६९ अनुसार सिमसार भनेको पानी जमेको वा बगेको, स्थायी वा अस्थायी, प्राकृतिक वा कृत्रिम रूपमा बनेको दलदल क्षेत्र हो । नेपाल एक पर्वतीय देश भएको र यहाँ जल, जमिन, जङ्गल, वनस्पति एवं खनिज पदार्थजस्ता प्राकृतिक स्रोतहरूको अपार भण्डार रहेको छ । नेपालको कुल क्षेत्रफलमध्ये ८ लाख १९ हजार २७७ हेक्टर (करिब ५ प्रतिशत) सिमसार क्षेत्रले ओगटेको छ । नेपालका तराई, पहाड र हिमाली क्षेत्रहरूमा अन्तर्राष्ट्रिय महत्व बोकेका सिमसार क्षेत्र रहेका छन् ।