विकासन्युज

यातायात कार्यालय जुम्लाद्वारा ६ महिनामा ६७ लाख राजस्व सङ्कलन

जुम्ला । जिल्लास्थित यातायात व्यवस्था कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा ६७ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि पुससम्ममा सो कार्यालयले ६७ लाख ४४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको निमित्त कार्यालय प्रमुख लोकबहादुर महतले जानकारी दिए । निमित्त कार्यालय प्रमुख महतका अनुसार चालु आवको छ महिनामा यातायात क्षेत्रको आम्दानीतर्फ १० लाख ४२ हजार रुपैयाँ, चालक अनुमतिपत्र (लाइसेन्स), सवारीसाधन दर्ता किताब (ब्लुबुक) दस्तुर ३० लाख ३५ हजार रुपैयाँ र सवारी साधनकरतर्फ २६ लाख ६६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । यस्तै, चालु आवको सो अवधिमा पुस मसान्तसम्म एक सय १३ वटा सवारीसाधन दर्ता भएको निमित्त कार्यालय प्रमुख महतको भनाइ छ । कार्यालय स्थापनादेखि हालसम्म निजी र सरकारी सवारीसाधन गरी तीन हजार दुईसय ३३ वटा सवारीसाधन दर्ता भएको यातायात व्यवस्था कार्यालयले जनाएको छ ।

अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत कर लगायो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । पछिल्लो अमेरिकी व्यापार संरक्षणवादी उपायको घरेलु र अन्तर्राष्ट्रिय स्तरमा व्यापक विरोध भएको छ । ह्वाइट हाउसले १० प्रतिशत कर हालको कर बाहेक चीनबाट हुने सबै आयातमा लागू गरिएको बताएको छ । कार्यकारी आदेशअनुसार संयुक्त राज्य अमेरिकाले मेक्सिको र क्यानडाबाट आउने सामानहरूमा पनि २५ प्रतिशत कर लगाएको छ । क्यानडाबाट आउने ऊर्जा उत्पादनहरूको लागि प्रशासनले १० प्रतिशत शुल्क लगाएको छ ।

क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता

झापा । क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन यती एयरलाइन्स प्रालि र पूर्वाञ्चल क्यान्सर अस्पतालबीच सम्झौता भएको छ । एयरलाइन्सको प्रमुख व्यापार अधिकृत युवराज विष्ट र पूर्वाञ्चल क्यान्सर अस्पतालका अध्यक्ष दुर्गा प्रसाईँले शनिबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।सो अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्दै क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउने सहमति भएको यती एयरलाइन्सका उपप्रबन्धक विमल विष्टले जानकारी दिए । यहाँको विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल विसं २०७६ फागुन १८ गतेदेखि सञ्चालन भइरहेको छ । एक सय शय्याको सो अस्पतालले क्यान्सरका बिरामीको उपचारका लागि पेटसिटी, रेडियो थेरापी, केमो थेरापी, सर्जरीलगायत उपचार प्रविधि र उपलब्ध गराइरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा वीरेन्द्र यादवले बताए । उनले भने,’निःशुल्क हवाई टिकटको सुविधाले क्यान्सरका बिरामीलाई सहयोग मिल्नेछ । देशभरका बिरामीलाई पेटसिटीलगायत उपचार प्रविधिका लागि महँगो खर्च तिरेर भारत जानुपर्ने बाध्यता हट्ने छ ।’ पूर्वाञ्चल क्यान्सर अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले निःशुल्क हवाई टिकट प्राप्त गर्न क्यान्सर सङ्क्रमण प्रमाणित भएर अस्पतालमा उपचार सेवा लिइरहेको सुनिश्चित हुनुपर्ने सम्झौतामा उल्लेख रहेको जानकारी दिए । ‘देशको जुनसुकै भागबाट उपचार लिन आउने बिरामीले यो सुविधा एकपटक लिन सक्नुहुन्छ’, उनले भने, ‘तर सुविधा पाउन क्यान्सर प्रमाणित भएको र अस्पतालमा सेवा लिएको सुनिश्चितताचाहिँ हुनुपर्दछ ।’ बिरामीले अस्पताल जाने र घर फर्किने दोहोरो टिकट पाउने उनले बताए ।

अझै सम्पन्न भएन लमजुङ दरबारको पुनर्निर्माण

लमजुङ । लमजुङ दरबार बजेट अभावले पुन निर्माण अझै सम्पन्न हुन सकेको छैन । समुद्री सतहबाट एक हजार चार सय ४५ मिटर उचाइमा रहेको सो दरबार १६औँ शताब्दीमा बनेको बताइएको छ । पुरातत्त्व विभागले शाहवंशीय राजाको उद्गमस्थल मानिएको लमजुङ बेँसीसहर नगरपालिका-३ गाउँसहर स्थित सो दरबार तीन वर्षदेखि पुनर्निर्माण थालनी गरेको थियो । विभागका इञ्जिनियर गोविन्द अधिकारीका अनुसार निर्माण थालनी गरेको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि आवश्यक बजेट सरकारले उपलब्ध नगराउँदा निर्माण सम्पन्न हुन नसकेको हो । दरबारको केही पर्खाल लगाउने, कालिका मन्दिरको पर्खाल लगाउने, छाना हाल्ने काम, छानामा हाल्ने काठ राख्न, गजुर राख्न, दरबारभित्र प्लाष्टर, झ्याल ढोकाका खापा, रङरोगन, भुईँमा गर्नुपर्ने काम अझै बाँकी रहेको उनले जानकारी दिए । आर्थिक वर्ष २०७९/८० मा रु. एक करोड ३३ लाख बजेटबाट पुनर्निर्माण सुरु गरिएकामा गत आवमा सरकारले जम्मा रु. ५० लाख बजेट छुट्याएको थियो । पुरानै शैली र स्वरूपमा दरबारको पुनर्निर्माण भइरहेको छ । दरबार बुइँगलसहित तीनतले र कालिका मन्दिर प्यागोडा (छाने शैली)को बन्नेछ । दरबार बनाउन चाहिने इँटा, काठ, सुर्कीलगायत निर्माण सामग्री भक्तपुरबाट ल्याएर प्रयोग गरिएको छ । गाउँसहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहराले भने, ‘दुई वर्षभित्र सक्ने गरी पुरातत्त्व विभागका कर्मचारीसँग मौखिक रूपमा सम्झौता भए पनि तेस्रो वर्षमा पनि काम सम्पन्न भएन । अझै काम अधुरै रहँदा स्थानीय चिन्तित छन्, यहाँ विभिन्न चाडपर्वमा आउने दर्शनार्थी तथा पर्यटकलाई अलपत्र रहेका ढुंगा काठले असहज बनाउने गरेको छ ।’ साथै स्थानीयले पित्तल वा तामाको छाना राख्न आग्रह गरेको उनको भनाइ छ । वडा नं ३ का अध्यक्ष चित्रबहादुर दनाइले भने, ‘यतिका वर्षमा पनि निर्माण सम्पन्न भएन, यस वर्ष सम्पन्न हुनुपर्ने हो तर भएन । हामीले सम्बन्धित निकायसमक्ष चाँडो निर्माण सम्पन्न गर्न पहल गर्दै आएका छौँ तर सुनुवाइ नहुँदा यस वर्ष पनि कम बजेटले गर्दा निर्माण पूरा भएन ।’ स्थानीय सुरेश श्रेष्ठले सरकारले यस्ता ऐतिहासिक दरबारको निर्माणका लागि एकै पटक आवश्यक बजेट उपलब्ध गराएर निर्माण गर्नुपर्ने थियो, पटक पटक थोरै बजेट आएकाले निर्माण बर्सेनि निर्माण अधुरै रहँदै आएको बताए । व्यवस्थापन समितिका अनुसार दरबार १६ रोपनी क्षेत्रफलमा फैलिएको छ । शाहवंशीय राज्यकालको उद्गमथलो लमजुङ हो भने त्यसैको विरासत हो लमजुङ दरबार । कास्कीकोटका राजा कुलमण्डलका माइला छोरा कालु शाहलाई विसं १५४० मा लमजुङका खजेदुरा, सुकराम क्याउसा, माघे दुरा, कुश्माखर घिमिरे र लक्ष्मण दुराले लमजुङको पहिलो चौबिसे राज्यका राजा बनाएका थिए । त्यसको केही समयमै लमजुङमा शासनको बागडोर सम्हालेका तत्कालीन घले राजाका सेनाले कालु शाहको हत्या गरिदिएको इतिहासमा उल्लेख छ । सो घटनापछि उनीहरूले नै कुलमण्डलका कान्छा छोरा यशोबह्म शाहलाई पुनः कास्कीकोबाट ल्याएर राजकाज अघि बढाएका थिए । यशोबह्मलाई १५ असार रविबारका दिन १५ घडीको सिंह लग्नमा बि.स. १५५० मा राजगद्दीमा बसाइएको शिलालेखमा उल्लेख छ । रासस

‘आइएमई गरौँ, उद्यमी बनौँ’ योजना अन्तर्गत ३ जना विजेताले पाए आई फोन १६

काठमाडौं । विदेशमा कमाएको रकम आइएमई गरी पठाएका तिन जना भाग्यशाली विजेताहरू रुमानियाबाट ज्ञानेन्द्र प्रसाद गजुरेल, कुवेतबाट राजु लउपा मगर र मलेसियाबाट थानेश्वर थापा मगरले आइफोन सिक्सटिन प्राप्त गरेका छन् ।  काठमाडाैंमा आयोजित एक कार्यक्रममा आइएमईको ब्राण्ड एम्बेसडर दीपाश्री निरौलाले लक्की ड्र मार्फत आइएमईका तिन जना भाग्यशाली सेवाग्राहीको नम्बर छनोट गरेकी हुन् ।यो चाडपर्व ‘आइएमई गरौँ, उद्यमी बनौँ’ योजनाको पहिलो चरणको मासिक उपहार अन्तर्गतको असोज कार्तिक र मंसिर महिनाको आइफोन सिक्सटिन को विजेता छनौट भएको हो । आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम-रेमिटेन्स मार्फत रकम पठाउन र रेमिट मार्फत प्राप्त रकम उद्यमशीलता लगाउन प्रोत्साहन गर्ने उद्देश्यले यो चाडपर्व ‘आइएमई गरौँ, उद्यमी बनौँ’ योजना गत असोज २०८१ मा सार्वजनिक गरेको थियो । यो योजनामा आइएमई गरी रकम पठाउने सेवाग्राहीहरू मध्ये थप ‍३ जनाले उद्यमशील बन्न सहयोग पुग्ने गरी दोस्त पिक अप ट्रक जित्न सक्नेछन् । दोस्रो चरणको योजना अन्तर्गत ‘आइएमई गरौँ, उद्यमी बनौँ’ योजना यही पौष २०८१ देखि साउन २०८२ सम्म रहने छ जसमा तिन जना भाग्यशाली विजेताले दोस्त पिक अप ट्रक जित्न सक्नेछन् । आइएमई गरी आइएमई पे वालेट,बैङ्क खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी हुन सक्नेछन् ।  आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन उत्प्रेरकको रूपमा यो अफर ल्याएको हो । आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरूलाई औपचारिक माध्यमबाट रकम पठाउन र सो रकम उद्यममा लगानी गर्न यो योजनाले उत्प्रेरकको रूपमा काम गर्ने बताए । साथै यो योजनाले डिजिटल माध्यम आइएमई पे मार्फत रकम प्राप्त गर्न सेवाग्राहीलाई प्रेरित गर्ने पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरेका छन् ।

जलवायुको असर र अतिक्रमणको मारमा सिमसार

काठमाडौं । विश्वमा प्रत्येक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने विश्व सिमसार दिवस यस वर्ष ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको नाराले सिमसार क्षेत्र र मानव जीवनबीच भविष्यको अन्तरसम्बन्धमा जोड दिएको छ । सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ । ताल, तलैया, पोखरी, नदी, खोला, झरना, धानखेत आदि सिमसार क्षेत्रअन्तर्गत पर्छन् । जैविक विविधताको दृष्टिले महत्त्वपूर्ण प्राकृतिक स्थलका रूपमा रहेको सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्नाका साथै मानिसलाई जीवनयापनका स्रोत प्रदान गर्छ । सिमसार क्षेत्रको संरक्षण र संवर्द्धन गर्ने हेतुले यो दिवस मनाइने गरेको छ । यद्यपि नेपालमा पछिल्लोपटक जलवायु परिवर्तनका असरले मौसममा देखिएको परिवर्तन र मानवीय गतिविधिको अतिक्रमणले सिमसार क्षेत्र सीमित हुँदै गएको देखिन्छ । तिनको क्षेत्रफल र गुणस्तर दिनानुदिन घट्दै गइरहेको छ । केही स्थानका सिमसार लोपसमेत भइसकेका छन् । यसबाहेक सिमसार क्षेत्रमा बढ्दो जनसङ्ख्या र बसाइँसराइ, नदीखोला तथा आसपासमा फोहरमैला विसर्जन,  गरिबी र बेरोजगारी, परम्परागत कृषि प्रणालीमा भएको रूपान्तरण, सिमसारजन्य स्रोतको अधिक दोहन, बाह्य मिचाहा प्रजातिको अतिक्रमण, रासायनिक मल र विषादीको मिसावट, जथाभावी पूर्वाधार निर्माणलगायत चुनौती थपिएका छन् । जनचेतनाको कमी र सूचनाको अभावका कारण मानवीय गतिविधिले सिमसारको अतिक्रमण बढ्दो छ । वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दिवसका अवसरमा वन परिसर प्रवेशद्वारमा रहेको होर्डिङ बोर्डमा नारा अङ्कित ब्यानर अनावरण गर्ने गरेको छ । यसबाहेक प्रदेशका वन मन्त्रालय, संरक्षित क्षेत्र र डिभिजन वन कार्यालयले आ–आफ्नो स्तरमा दिवसका विभिन्न कार्यक्रम गरी दिवस मनाउने गरिएको विभागका उपमहानिर्देशक वेदकुमार ढकालले जानकारी दिए । विश्वव्यापी रूपमा सिमसार क्षेत्रको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले सिमसार महासन्धि (रामसार महासन्धि) सन् १९७१ मा इरानको रामसार सहरमा भएको थियो । रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन फेब्रुअरी २ तारिखलाई स्मरण गर्दै विश्व सिमसार दिवस मनाउन सुरु गरिएको हो । ‘जलवायुको असरका कारण वर्षा पनि कम हुँदै गएको छ । सिमसार क्षेत्रमा पछिल्लो समय पानीका स्रोत घट्दै गएका छन् ।  नदीको उपयोगमा सबैको जोड छ तर संरक्षणको दायित्व कसको भन्नेमा द्विविधा देखिन्छ’, उपमहानिर्देशक ढकालले भने, ‘कतिपय पालिकाका नदी खोलामै डम्पिङ छन्, यसमा तीनै तहका सरकारको ध्यान जान आवश्यक छ । सिमसार जोगाउनका लागि ‘वाटर हार्बेस्टिङ’मा लगानी गर्नु आवश्यक छ ।’ सिमसार संरक्षणका लागि विभागले विद्यमान पोखरीको संरक्षण र नयाँ पोखरीसमेत निर्माण गरिरहेको उनले जानकारी दिए । रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्त्व बोकेका तथा अति संवेदनशील सङ्कटापन्न र खतरापूर्ण जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारलाई रामसारको सूचीमा सूचीकृत गर्ने गर्छ । हालसम्म यसमा आबद्ध देशको सङ्ख्या एक सय ७२ पुगेको छ । साथै दुई हजार चार सय २२ सिमसार रामसारको सूचीमा सूचीकृत छन् । सन्  १९८७  डिसेम्बर १७ मा कोशीटप्पु वन्यजन्तु आरक्षलाई रामसार क्षेत्रमा सूचीकृत गरेर नेपाल सन् १९८८ अप्रिल १७ देखि रामसार महासन्धिको पक्ष राष्ट्र बनेको हो । रामसार सूचीमा हाल नेपालका कोशीटप्पु, घोडाघोडी ताल क्षेत्र, जगदीशपुर जलाशय, बिसहजारी तथा आसपासका ताल, राराताल, फोक्सुन्डो ताल, गोसाइँकुण्ड तथा आसपासका ताल, गोक्यो तथा आसपासका ताल, माईपोखरी र पोखरा उपत्यका विभिन्न ताल सूचीकृत छन् । यी सिमसार क्षेत्रले ओगटेको कुल क्षेत्रफल ६० हजार पाँच सय ६१ हेक्टर छ । सिमसार संसारको सबैभन्दा जैविक विविधता भएको बासस्थानमध्ये एक हो र धेरै लोपोन्मुख प्रजातिको बासस्थान पनि हो । विश्वको ४० प्रतिशत वनस्पति र वन्यजन्तु प्रजाति सिमसारमा बस्छन् वा प्रजनन गर्छन् । सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर, कीटपतङ्ग र बोटबिरुवाका लागि महत्त्वपूर्ण बासस्थान हो । यस्तै नेपालमा पाइने एक सय ७२ लोपोन्मुख प्रजातिका वनस्पति र प्राणी सिमसारमा आश्रित छन् । नेपालमा पाइने आठ सय ७८ प्रजातिका चरामध्ये सिमसारमा एक सय ९३ प्रजातिका चरा, २० प्रजातिका मेरुदण्ड भएका जीवमध्ये १७ प्रजातिका जीव र सात हजार प्रजातिका वनस्पतिमध्ये २५ प्रतिशत सिमसारमा आश्रित रहेको विभागको तथ्याङ्क छ । त्यस्तै दुई सय ४६ रैथाने फुल्ने प्रजातिका वनस्पति सिमसारमा आश्रित छन् । जलवायुको असर र अतिक्रमणको मारमा सिमसार विश्वमा पछिल्लो समय जलवायुका असर तीव्र रूपमा देखापरेका छन् । अझ नेपालजस्ता संवदेनशील भूबनोट र पर्वतीय मुलुकमा त जलवायुको असर झन् प्रत्यक्ष र विकराल बन्दै गएको छ । विगत केही समय यतादेखि जलवायु परिवर्तनसँगै नेपालमा सिमसार क्षेत्रका रूपमा रहेका ताल, तलैया, घोल, नदी, चिस्यान क्षेत्रमा व्यापक परिवर्तन आएको छ । समग्रतामा वर्षाको मात्रामा देखिएको कमीले सुक्खा क्षेत्र वृद्धि हुनु, मिचाहा प्रजातिका वनस्पतिको वृद्धिलगायत कारण पनि सिमसार क्षेत्र सङ्कुचन भएको वा गुणस्तरमा कमी आएको यस क्षेत्रका जानकारहरूको भनाइ छ । मन्त्रालयको वातावरण विभागका उपसचिव मधु घिमिरेका अनुसार जलवायुको असरका साथै प्राकृतिक स्रोतको अधिकतम् दोहनले गर्दा सिमसार क्षेत्रमा पानीको कमी भएर सुक्खा क्षेत्रको वृद्धिले चुनौती थपिएको छ । ‘सिमसारको अत्यधिक दोहन, भूमि अतिक्रमण, प्रदूषण, जथाभावी पूर्वाधार निर्माण, पानीका मुहान तथा दलदल क्षेत्रको मर्मतसम्भार नहुँदा सिमसारको संरक्षण र व्यवस्थापनमा चुनौती देखिएको छ’, उनले भने । विश्वको करिब नौ प्रतिशत र नेपालको करिब पाँच प्रतिशत भूभाग सिमसार क्षेत्रले ओगटेको छ । नेपालका तराई, पहाड र हिमाली क्षेत्रमा अन्तर्राष्ट्रिय महत्व बोकेका सिमसार क्षेत्र छन् । विश्व संरक्षण सङ्घ नेपालको अभिलेखअनुसार नेपालमा एक सय ६३ सिमसार तराईमा छन्भने ७९ सिमसार हिमाली तथा पहाडी क्षेत्रमा छन् । सिमसारले जलवायु परिवर्तन तथा भूविनाशको असरलाई न्यूनीकरण गर्दै पर्यावरणीय सुरक्षा कवचसमेत प्रदान गर्दछ । पछिल्लो समय पर्यापर्यटनको गन्तव्य बन्दै गएको सिमसार क्षेत्रमा पाइने चराचुरुङ्गी, वन्यजन्तुको अवलोकनलगायत प्राकृतिक सौन्दर्यको अनुभव पनि यसले उपलब्ध गराएको छ । वन मन्त्रालयले सिमसार क्षेत्रका चुनौतीलाई मध्यनजर गरी प्रदेश र स्थानीय तहसँगको समन्वयमा सिमसार क्षेत्र संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम तथा नीति अघि बढाएको वन तथा भू–संरक्षण विभागका महानिर्देशक बद्रीराज ढुङ्गानाले जानकारी दिए । सिमसारमा जल र जमिनको क्रिया र प्रतिक्रियाबाट जल परिचालन र शुद्धीकरणको प्रक्रिया चलिरहने हुनाले सिमसारलाई प्रकृतिको मिर्गौला पनि भन्ने गरिन्छ । ‘सिमसारले वस्तु र सेवा प्रदान गर्नुका साथै पानीका स्रोत संरक्षण गर्छ । पानीको गुणस्तर कायम राख्न, जलचक्र र जलवायुलाई नियमित गर्न तथा तापमानलाई सन्तुलन गर्न पनि सिमसारको महत्व छ । तसर्थ यसको संरक्षणमा सबैको हातेमालो आवश्यक छ’, ढुङ्गानाले भने । सरकारले सिमसार क्षेत्रको संरक्षणका लागि विभिन्न कानुनी र नीतिगत व्यवस्था गरेको उनले जानकारी दिए । नेपालले संविधान, जलस्रोत संरक्षण ऐन– २०४९, स्थानीय सरकार सञ्चालन ऐन– २०७४, वातावरण संरक्षण ऐन– २०७६, जलचर संरक्षण ऐन– २०१७, राष्ट्रिय सिमसार नीति– २०६९ एवं आवधिक योजनाहरू तथा राष्ट्रिय रामसार रणनीति तथा कार्ययोजना (सन् २०१८–२४)लगायत नीति र कानुनमार्फत सिमसारको संरक्षण, संवर्द्धन र व्यवस्थापनमा वन मन्त्रालयले प्रतिबद्धता जनाउँदै आएको जनाएको छ । रासस

मर्मत शुल्क तिरेर गाडी लैजान गो अटोकेयरको ताकेता, १५ दिनभित्र नलिए कवाडीमा मिल्काइने

काठमाडौं । गो अटोकेयर प्रालिले सवारी साधन लैजान सवारीधनीहरूलाई ताकेता गरेको छ । मर्मत शुल्क तिरेर गो अटोकेयरको परिसरमा रहेका सवारी साधनहरू फिर्ता लैजान ताकेता गरेको हो । कम्पनीका अनुसार सर्भिस सेन्टरको परिसरमा मर्मत गर्न ल्याइएका सवारी साधनहरू मर्मत सम्भारको कार्य सम्पन्न भइसकेको छ । उक्त स्वारी साधन पटकपटक ताकेता गर्दा पनि नलगिएको हुँदा १५ दिनभित्र सम्पूर्ण खर्च (मर्मत शुल्क, पार्किङ शुल्क) भुक्तानी गरी पार्किङ परिसरबाट उठाउन कम्पनीले अनुरोध गरेको छ । यस अवधिमा पनि सवारी साधनहरू नलिए कम्पनी जिम्मेवार नरहने र कवाडीको हिसाबमा मिल्काइने कम्पनीले चेतावनी दिएएको छ । कम्पनीका अनुसार ९ वटा सवारी साधन सर्भिस सेन्टरको परिसरमा छन् ।

कृषि उपजहरूको थोक मूल्य : रायो, पालुङ्गो, चमसुर, तोरी र मेथीको साग सस्तियो

काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।  समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २५, आलु रातो प्रतिकेजी रु ४०, आलु रातो (भारतीय) प्रतिकेजी रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६५, गाजर (लोकल) प्रतिकेजी रु ५०, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु २५, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २०, काउली (तराई) प्रतिकेजी रु १५, मूला रातो प्रतिकेजी रु ३०, मूला सेतो (लोकल) प्रतिकेजी रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु २५, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ४० कायम भएको छ। यसैगरी, मटरकोसा प्रतिकेजी रु ५०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ६०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ७०, टाटे सिमी प्रतिकेजी रु ४०, तिते करेला प्रतिकेजी रु ११०, लौका प्रतिकेजी रु ६०, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु २०, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु २०, सलगम प्रतिकेजी रु १००, भिण्डी प्रतिकेजी रु ११०, सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी रु ४०, पिँडालु प्रतिकेजी रु ९०, स्कूस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु १५, पालुङ्गो साग प्रतिकेजी ४०, चमसुरको साग रु ४०, तोरीको साग प्रतिकेजी रु २५, मेथीको साग प्रतिकेजी रु ४०, प्याज हरियो प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ७०, तरुल प्रतिकेजी रु ९०, च्याउ (कन्य) प्रतिकेजी रु १००, च्याउ (डल्ले) प्रतिकेजी रु ४०० निर्धारण गरिएको छ। ब्रोकाउली प्रतिकेजी रु ३०, चुकुन्दर प्रतिकेजी रु ८०, रातो बन्दा प्रतिकेजी रु ६०, सजिवन प्रतिकेजी रु २५०, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठ कोबी प्रतिकेजी रु ९०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ८०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ। समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १७०, कागती प्रतिकेजी रु १६०, अनार प्रतिकेजी रु ४००, अङ्गुर (हरियो) प्रतिकेजी रु २४०, अङ्गुर (कालो) प्रतिकेजी रु ३८०, सुन्तला (नेपाली) प्रतिकेजी रु १३५, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, जुनार प्रतिकेजी रु ११०, काँक्रो (लोकल) प्रतिकेजी रु १३०, काँक्रो (हाइब्रिड) प्रतिकेजी रु ५०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २४०, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १२०, लप्सी प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु २५०, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ। यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ४०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ७०, लसुन हरियो प्रतिकेजी रु ८०, हरियो धनिया प्रतिकेजी रु ५०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी १५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।