विकासन्युज

वस्तु आयात गर्ने एलिडा नेपालको दुःखद अवसान, व्यवसायीले धमाधम किन बन्द गर्दैछन् कम्पनी ?

काठमाडौं । ललितपुरको कुपोण्डोलमा विगत लामो समयदेखि व्यापार गर्दै आएको एलिडा नेपाल प्रालि खारेज हुँदैछ । लामो समयदेखि र भारत चीनबाट कस्मेटिकका सामग्रीहरू ल्याएर कारोबार गर्दै आएको उक्त कम्पनी अहिले टाट पल्टिएपछि खारेजीको प्रक्रियामा गएको हो । विशेषगरी नेपालमा आर्थिक सुस्तताको कारण कारोबारमा ठूलो गिरावट आएपछि कम्पनी आर्थिक नोक्साीमा गएर खारेजीको प्रक्रियामा अगाडि बढेको हो । ललितपुरका ती व्यवसायीले ठूलो प्रयास गर्दा पनि कम्पनीलाई माथि उठाउन नसकेपछि अन्ततः खारेजी गर्ने योजनामा पुगे । सरकार र नेपाल राष्ट्र बैंकले पनि विलासिताका वस्तु भन्दै कस्मेटिकका सामग्रीमा आयात कडाइ गरेको थियो । त्यसपछि निरन्तर यो कम्पनी समस्यामा परेको बुझिएको छ । अहिले खारेजीको प्रक्रियामा पुगेको हो । उच्च अदालत पाटनले पनि सो कम्पनीलाई खारेजी गर्न आदेश दिएको छ । उच्च अदालत पाटनले विसं २०८१ जेठ ३० गते कम्पनीलाई दामासाही सम्बन्धी ऐन, २०६३ को दफा २२ को उपदफा (१) को खण्ड (क) र दफा ३७ बमोजिम खारेज गर्ने आदेश दिएको हो । साथै अदालतले अधिवक्ता रत्न कुमार खरेललाई लिक्विडेटरको रूपमा नियुक्त गरेको छ । कम्पनीले बजारबाट उठाउनु पर्ने ठूलो रकम पनि असुल गर्न सकेको छैन भने अन्य धेरै कम्पनीलाई पनि भुक्तानी गर्नुपर्ने देखिएको छ । खाता विवरण लेजर तथा आर्थिक वर्ष २०८०/८१ मा विभिन्न १९ जना कम्पनी तथा फर्महरूले कम्पनीलाई सामान खरिदबिक्री वापतको रकम भुक्तानी गर्नुपर्ने देखिएको हो । दामासाही सम्बन्धी ऐन, २०६३ को दफा ४० (१) (ज) अनुसार उक्त रकम असल गर्नुपर्ने दायित्व लिक्विडेटरको हने भएकाले १५ दिनभित्र सम्पर्क गरी भक्तानी गर्न ताकेता गरेको छ । साथै, उक्त म्यादभित्र भक्तानी नभएमा कानुनी उपचारको बाटो अवलम्बन गरिने अधिवक्ता रत्नकुमार खरेलले बताए । उनका अनुसार आर्थिक मन्दीका कारण कम्पनी घाटामा जाँदा खारेज गर्नुपरेको हो । ‘एलिडा नेपालले उठाउनुपर्ने रकम तिर्न ताकेता गरेका हौं, पैसा लिनुपर्ने बाँकी रहेकाबाट असुल गरेर कम्पनी खारेज गर्छाैं । हामीले अरूलाई पनि रकम तिर्नुपर्नेछ,’ उनले भने, ‘आर्थिक मन्दीका कारण कम्पनी घाटामा गएर बन्द गर्नुपर्ने स्थिति सिर्जना भएको हो ।’ कम्पनीले विभिन्न १९ कम्पनीबाट ७३ लाख ९७ हजार ९५५ रुपैयाँ उधारो असुल गर्नुपर्ने रहेको जनाएको छ । कम्पनीका अनुसार बोल बम ट्रेडर्सले ९ हजार २० रुपैयाँ, क्राफ्टेड डिटि ट्रेड लिन्क्सले १ लाख ४४ हजार ३३८ रुपैयाँ, के.सी. मल्टि ट्रेडर्सले ७१ लाख ३६२ रुपैयाँ, कुवेर स्टेसनर्स एण्ड सप्लायर्सले १ लाख ७५ हजार ३६८ रुपैयाँ, क्वालिटि सप्लायर्स प्रालि सुकेधाराले ४ लाख ६८ हजार ३१ रुपैयाँ तिर्नुपर्न रहेको छ । महाताभ जेनेरल स्टोरले १ हजार ९६१ रुपैयाँ, मनिल ट्रेड कन्सर्नले ४ लाख ४३ हजार ११८ रुपैयाँ, मास्के भेराइटिजले ४७ हजार ७९१ रुपैयाँ, मेगा मार्ट प्रालिले ४ लाख ४ हजार ६२६ रुपैयाँ, भाटभटेनी सुपर मार्केटले ४७ लाख ९५ हजार ६०२ रुपैयाँ, नेपाल ओभरसिज मार्केटले २ लाख ५८ हजार ८७६ रुपैयाँ तिर्नुपर्ने बाँकी रहेको कम्पनीले जनाएको छ । यस्तै, न्यू सिद्धबाबा ट्रेडर्सले ६ हजार ६६९ रुपैयाँ, आरए सप्लायर्सले ३१ हजार ५९७ रुपैयाँ, एसएसबि मार्केटिङले १ लाख २० हजार ९०४ रुपैयाँ, शिव शक्ति ट्रेडर्सले ५ हजार १५२ रुपैयाँ, श्री स्वर्ण इन्टरप्राइजेजले १७ हजार ९० रुपैयाँ, सुस्मिता जेनेरल स्टोरले १ लाख ३३ हजार ७२७ रुपैयाँ, सुवर्ण मेहर स्टोरले २ लाख ४३ हजार ८६ रुपैयाँ र यास ट्रेडर्सले १९ हजार ६२९ रुपैयाँ उधारो उठाउन बाँकी रहेको कम्पनीले जनाएको छ । एलिडा नेपालले विदेशबाट सामान आयात गरेर नेपालमा बिक्री वितरणको काम गर्छ । अधिवक्ता खरेलका अनुसार व्यवसाय चल्न नसकेका कारण अन्य सयौं कम्पनी खारेजीको प्रक्रियामा छन् । आव २०८०/८१ को असारसम्म १ हजार ७३४ कम्पनी खारेजी भएको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पछिल्लो समय अधिकांश व्यवसायीले आर्थिक मन्दीको कारण व्यवसाय गर्न समस्या भएकोले कम्पनी नै बन्द गर्नुपरेको प्रतिक्रिया दिन थालेका छन् ।

रिलायबल नेपाल लाइफको नाफा ५१.७० प्रतिशत बढ्यो, साढे ११ अर्ब रुपैयाँ पुग्यो जीवन बीमा कोषको आकार

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा खुद नाफा ५१.७० प्रतिशत बढेर ३५ करोड ३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले २३ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत पुससम्म कम्पनीको खुद बीमाशुल्क आर्जन २६.५९ प्रतिशत बढेर २ अर्ब २१ करोड ८७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७५ करोड २६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी २८.३५ प्रतिशत बढेर २ अर्ब १० करोड १२ लाख रुपैयाँ गरेको छ । गत वर्षको पुससम्ममा कम्पनीले १ अर्ब ६३ करोड ७० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ४ अर्ब ८५ करोड रुपैयाँ कुल आम्दानी गरेको छ भने २ अर्ब ६९ करोड ५६ लाख रुपैयाँ कुल खर्च गरेको थियो । गत वर्षको पुससम्ममा कम्पनीले २ अर्ब ४१ करोड २९ लाख रुपैयाँ कुल आम्दानी गरेर २ अर्ब १८ करोड १९ लाख रुपैयाँ कुल खर्च गरेको थियो । ४ अर्ब ६४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको सेयर प्रिमियममा १ अर्ब ७५ करोड रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब ४ करोड रुपैयाँ र महाविपत्ति कोषमा १९ करोड रुपैयाँ रहेको छ । कमपनीको जीवन बीमा कोषको आकार ११ अर्ब ५३ करोड २२ लाख रुपैयाँ पुगेको छ । गत वर्षको पुससम्म कम्पनीको जीवन बीमा कोषको आकार ८ अर्ब ४९ करोड २७ लाख रुपैयाँ थियो । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ११.५५ रुपैयाँबाट बढेर १५.१० रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १६६.६६ रुपैयाँ रहेको छ ।

प्रदेश बनेयता गण्डकीभित्र १०४ सडकपुल र ८४ झोलुङ्गे पुल

गण्डकी । गण्डकी प्रदेश सरकार बनेयता प्रदेशभित्र १०४ सडक पुल र ८४ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । प्रदेश सरकारको लगानीमा ती पूर्वाधार आयोजना बनेका हुन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयलका अनुसार सडक पुल र झोलुङ्गे पुल निर्माण प्रदेश सरकारको प्रमुख हस्तक्षेपकारी कार्यक्रम हो । हाल ६५ वटा सडक पुल निर्माणाधीन अवस्थामा रहेको र २५ वटा सडक पुलको विस्तृत आयोजना प्रतिवेदनको तयारीको प्रक्रियामा रहेको मन्त्रालयको योजना अनुगमन, मूल्याङ्कन तथा अन्य पूर्वाधार महाशाखाका प्रमुख डा. महेन्द्र बानियाँले जानकारी दिए । प्रदेशका विभिन्न स्थानमा गरी थप १७ वटा झोलुङ्गे पुल निर्माणका लागि पूर्वाधार तयारीको काम अगाडि बढेको उनले बताए । प्रादेशिक सडक गुरुयोजना निर्माणमा जुटेको मन्त्रालायले सडक र पुल आयोजनामा लगानी बढाउँदै लगेको छ । प्रदेश सरकारले सबै स्थानीय तहसम्म सडक सञ्जाल पुर्‍याउने लक्ष्यका साथ सडक विस्तार तथा स्तरोन्नतिलाई तीव्रता दिएको महाशाखा प्रमुख डा. बानियाँले बताए । ‘एक निर्वाचन क्षेत्र, एक सडक कार्यक्रम’अन्तर्गत ३६ सडक आयोजना सञ्चालनमा रहेको उनको भनाइ छ । ती आयोजनाको कूल लम्बाइ ६७१ किमि रहेकामा हालसम्म २०० किमि सम्पन्न भएको र दुई सय ३१ किमि सडक स्तरोन्नतिका क्रममा रहेको जनाइएको छ। स्थानीय तहका केन्द्र जोड्ने कूल ६०७ किमि रहेकामा हालसम्म दुई सय १९ किमि सम्पन्न भई २१६ किमि सडक स्तरोन्नति भइरहेको छ । प्रदेश स्थापना भएयता सात वर्षमा कूल ९२३ किमि कालोपत्र/ढलान र ७०० किमि सडक ग्राभेल भएको छ । सडक र पुल निर्माणले सहज आवातजावत, कृषि उपजको बजारीकरण, पर्यटन प्रवर्द्धन आदिका लागि मद्दत पुर्‍याएको छ । मन्त्रालयले राष्ट्रिय राजमार्गका वैकल्पिक सडक, एक निर्वाचन क्षेत्र-एक सडक, स्थानीय तहको केन्द्र जोड्ने, अन्तरजिल्ला, अन्तरपालिका जोड्ने रणनीतिक महत्वका सडकलाई गौरवका आयोजनाका रूपमा अगाडि बढाएको छ । सडकको पहुँच पुगे पनि समयमा पुल निर्माण नहुँदा वर्षायाममा ग्रामीण भेगको यातायात सेवा प्रभावित हुँदै आएकामा पछिल्लो समय उक्त समस्या कम हुँदै गएको छ । पुल निर्माणले गति लिन थालेपछि प्रदेशस्तरका सडकमा बाह्रैमास यातायात सञ्चालनका लागि सहजता थपिएको हो । मन्त्रालयले पुलको ठेक्का लिएर समयमा काम नगर्ने निर्माण कम्पनीलाई सचेत गराउन थालेपछि निर्माणको क्रममा रहेका पुलको कामले पनि गति लिएको छ । महाशाखा प्रमुख डा बानियाँले निर्माणाधीन अवस्थामा रहेकामध्ये ३५ सडक पुल बहुवर्षीयमा आयोजनामा समेटिएको जानकारी दिए । जिल्लास्थित पूर्वाधार कार्यालयमार्फत सडक पुल र झोलुङ्गे पुलका आयोजना कार्यान्वयन हुँदै आएको उनको भनाइ छ । बहुवर्षीय आयोजनाअन्तर्गत गत आवदेखि कास्कीमा तीन, स्याङ्जा, तनहुँ, लमजुङ र बागलुङमा पाँच/पाँचवटा, गोरखामा चार, नवलपुर, पर्वत, म्याग्दी र नवलपुरमा दुई/दुईवटा र मनाङमा एक वटा सडक पुल निर्माण भइरहेको मन्त्रालयले जनाएको छ ।

अमेजनले यो वर्ष एआईमा १०० अर्ब डलर खर्च गर्ने

काठमाडौं । अमेजनले सन् २०२५ मा कृत्रिम बौद्धिकता (एआई) मा १०० बिलियन डलर खर्च गर्ने भएको छ । अमेजनले आफ्नो पूँजीगत खर्च बढाएर १०० अर्ब डलर पुर्‍याउने योजना सार्वजनिक गरेको हो । कम्पनीले २०२४ मा करिब ८३ अर्ब डलर खर्च गरेको थियो, जुन यस वर्षको खर्चभन्दा कम थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एन्डी जसीका अनुसार २०२५ मा लगानी मुख्य रूपमा जेनेरेटिभ एआईको वृद्धिले सहयोग गर्नेछ । डेटा सेन्टर र एआई उत्पादनहरूमा व्यापक लगानी अमेजन अहिले डेटा सेन्टर, नेटवर्क उपकरण र हार्डवेयरमा ठूलो लगानी गर्दैछ, ताकि जेनेरेटिभ एआईको बढ्दो मागलाई पूरा गर्न सकियोस । ओपनएआईको च्याटजीपीटी लन्च भएपछि एआई क्षेत्रमा ठूलो क्रान्ति आएको छ, जसका कारण अमेजनले पनि एआईमा आफ्ना उत्पादनहरू ल्याएको हो । अमेजनका प्रमुख एआई उत्पादनहरू नोभा एआई मोडेलहरू ट्रेनियम चिप्स शपिङ च्याटबट थर्ड-पार्टी एआई मोडेलहरूको लागि ‘बेडरक’ मार्केटप्लेस अन्य कम्पनीहरू पनि एआईमा ठूलो लगानी गर्दै अमेजनमात्र नभई अन्य ठूला प्रविधि कम्पनीहरूले पनि एआई क्षेत्रमा अर्बौं डलर लगानी गरिरहेका छन् ।  गुगलको मूल कम्पनी अल्फाबेटले २०२५ मा ७५ अर्ब डलर लगानी गर्ने योजना बनाएको छ । यसैगरी, माइक्रोसफ्टले यो वर्ष ८० अर्ब खर्च गर्ने जनाइएको छ । नयाँ चिनियाँ प्रतिस्पर्धी डीपसीकको उदय चिनियाँ एआई स्टार्टअप डीपसीकको चमत्कारी विकासले एआई बजारलाई चुनौती दिएको छ । डीपसीकले मात्र दुई महिनामा र ६ मिलियनभित्रै ‘आर वान मोडेल’ विकास गरेको दाबी गरेको छ, जसले ओपन एआईको ‘ओ वान’ मोडेललाई चुनौती दिन सक्छ । यस घटनाले एनभीडीया र ब्रोडकमजस्ता चिप निर्माता कम्पनीहरूको संयुक्त बजार पूँजीकरणमा ८०० बिलियनको घाटा पुर्‍यायो । अमेजनले एआई बजारमा अग्रणी बन्नको लागि ठूलो जोखिम लिँदै छ । १०० अर्बको पूँजीगत खर्च गरी एडब्ल्यूएस, जेनेरेटिभ एआई र हार्डवेयर क्षेत्रमा लगानी गर्दैछ । हाल एआई क्षेत्रमा अन्य ठूला प्रविधि कम्पनीहरूको तीव्र प्रतिस्पर्धा छ । नयाँ चिनियाँ स्टार्टअपहरू कम लागतमा प्रतिस्पर्धी एआई मोडेलहरू ल्याइरहेकाले ठूला प्रविधि कम्पनीहरू दबाबमा छन् । अमेजनको यो विशाल लगानी दीर्घकालीन रूपमा सफल हुने वा असफल हुने भन्ने समयले नै देखाउनेछ । एकदिनमै विश्वको एआई उद्योग हल्लाउने डीपसीकका संस्थापक को हुन् ? कति छ उनको नेटवर्थ ? चिनियाँ एआई मोडल डीपसीकको फन्दामा अमेरिका, सामान्य पृष्ठभूमिका लियाङ ‘मास्टरमाइन्ड’ विश्वकै सबैभन्दा ठूलो डेटा सेन्टर बनाउँदै मुकेश अम्बानी

चीनविरुद्ध ट्यारिफको असरः अमेरिकी चिकित्सा क्षेत्रमा संकट, ट्रम्पमाथि उद्योगको दबाब

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरुद्ध ट्यारिफ लगाएपछि अमेरिकी प्रशासन खुसी देखिए पनि उद्योगजगतले यसलाई अस्वीकार गरेको छ । यस ट्यारिफले अमेरिकी नागरिकहरूलाई गम्भीर समस्यामा पार्न सक्ने जनाइएको छ । चिकित्सा सेवा महँगो हुने र औषधीको अभावजस्ता सम्भावित परिणामहरू सामुन्ने छन्। अमेरिकी चिकित्सा उद्योगले ट्रम्प प्रशासनप्रति रोष व्यक्त गरेको छ । रोयटर्सको एक समाचार अनुसार अस्पताल र जेनेरिक औषधी निर्माताहरूले ट्यारिफ नीतिमा छुटको माग गर्दै दबाब बढाएका छन् । चीनबाट आउने चिकित्सा सामग्रीमा ट्यारिफ लागू नहोस् भन्ने माग उनीहरूको छ । यसका लागि प्रमुख फार्मास्युटिकल समूहहरू सक्रिय भएका छन् । अमेरिकामा के असर हुन्छ ? अस्पताल र औषधी निर्माताहरूले चेतावनी दिएका छन् कि ट्यारिफले न केवल औषधीको कमी हुनेछ, यसले मूल्य पनि बढ्नेछ । अमेरिकन हस्पिटल एसोसिएशनले ट्रम्पलाई पत्रमा स्पष्ट पारेको छ कि यसले क्यान्सर, हृदयरोगका औषधी र चीनबाट आउने एमोक्सिलिनजस्ता एन्टिबायोटिक्सलाई प्रभाव पार्नेछ । ट्रम्पमाथि दबाब अमेरिकी व्यापार प्रतिनिधि कार्यालय अनुसार सन् १९९४ देखि अमेरिका र यसका व्यापारिक साझेदारहरूले फार्मास्युटिकल उत्पादनमा प्रयोग हुने रसायनमा ट्यारिफ हटाउने सहमति जनाएका छन् । तर हालैको ट्यारिफ घोषणापूर्व फार्मास्युटिकलका अधिकारीले ट्रम्प प्रशासनलाई ट्यारिफबाट बाहिर राख्न आग्रह गरेका थिए । चीनमा निर्भरता अस्पताल लबी समूहअनुसार अमेरिकाको ३० प्रतिशत कच्चा पदार्थ चीनबाट आउँछ, जुन ५ हजारभन्दा बढी अस्पताल र स्वास्थ्य प्रणालीमा प्रयोग हुन्छ । डिस्पोजेबल मास्कको एक तिहाई र प्लास्टिकको पन्जालगायत करिब सबै चीनबाट नै निर्यात हुन्छ। अमेरिकामा औषधी महँगो अमेरिकामा औषधीको मूल्य विश्वभरिको तुलनामा सबैभन्दा बढी छ । २०२३ मा अमेरिकाले १७६ अर्ब डलरको औषधि आयात गरेकोमा ६ अर्ब डलर चीनबाट आएको थियो । अमेरिकी खाद्य एवं औषधी प्रशासनको डाटाअनुसार यसमा एमोक्सिलिन र पेन्सिलिन जस्ता एन्टिबायोटिक्स समावेश छन् । मेक्सिको, क्यानडा र चीनविरुद्ध अमेरिकाको ‘ट्रेड वार’ यूएसएआईडी ‘कट्टर पागलहरूद्वारा चलाइएको’ ट्रम्पको भनाइ, बन्द गर्ने मस्कको दावी

सभापति लामिछानेको सांसद पद फुकुवा गर्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले पार्टी सभापति रवि लामिछानेको सांसद पद फुकुवा गर्न माग गरेका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रास्वपाका सांसदहरुले उनको सांसद पद फुकुवा गर्न माग गरेका हुन् । रास्वपा सांसद डोलप्रसाद अर्यालले सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेर झुट्टा मुद्दा लगाएर फसाउन खोजिएको आरोप लगाए । उनले भने,  ‘थुनामा नरहेको बेला लामिछानेको सांसद पद तुरुन्त फुकुवा गर्न सभामुखमार्फत आग्रह गर्दछु ।’ रास्वपाकै सांसद बिनिता कठायतले सभापति लामिछानेलाई हिरासतमा राख्दैमा सहकारी पीडितको रकम फिर्ता भयो त ? भन्दै प्रतिप्रश्न गरे । सहकारी पीडितको समस्या समाधानमा  बेवास्ता गरेको भन्दै उनले आपत्ति जनाए । शून्य समयमा सांसदहरुले आ–आफ्नो क्षेत्रमा देखिएका समस्या उजागर गरेका थिए । सो क्रममा सांसद ठाकुरप्रसाद गेरैले बुटवल–पाल्पा सडकको बाँकी काम समयमै सम्पन्न हुने गरी काम गर्न सुझाव दिए । सांसद तारा लामा तामाङले उखु किसानले समयमै भुक्तानी पाउनुपर्ने माग गरिन् । कञ्चनपुरमा हात्ती आतङ्कका कारण कृषिमा क्षति पुगेको भन्दै उनले किसानलाई उचित क्षतिपूर्तिको माग गरिन् । सांसद डा तोसिमा कार्कीले ललितपुरका नागरिकले टिपर आतङ्कका कारण दुःख पाइरहेको गुनासो गरिन् । नख्खु–भैँसीपाटी सडकमा ट्याक्टर आतङ्कले दुर्घटना बढेकाले बस्ती भएको क्षेत्रमा ट्याक्टर चलाउन निषेध गर्नुपर्ने बताइन् । सांसद दामोदर पौडेल बैरागीले दु्रतगतिमा जनतालाई सेवा दिनेगरी विधेयक बनेको भन्दै पोखरा अन्तरर्राष्ट्रिय सम्मेलन केन्द्र र पोखरामा मुटु उपचार केन्द्रको आवश्यकता रहेको बताए । सांसद दुर्गा राईले पाथीभरामा केबलकार निर्माणको विषयमा ताप्लेजुङ अशान्त रहेकाले सहमति नलीइकन काम गर्न खोजेको आपत्ति जनाइन् । सांसद देवेन्द्र पौडेलले बाङलुङको ढोरपाटनमा जिल्लास्तरीय अस्पताल बनाउने निर्णय भए पनि आवश्यक चिकित्सक र स्वास्थ्य सेवा उपलब्ध गराउन अनुरोध गरे । सांसद धनराज गुरुङले बुटवल सिद्धार्थ राजमार्गको स्तरोन्नतिलाई दु्रत गतिमा अगाडि बढाउन माग गरे । सांसदहरु धुव्रबहादुर प्रधान, नारायणप्रकाश साउद, नारायणप्रसाद आचार्य, दीपा शर्मा, नारायणी शर्मा, निर्मला कोइराला, निशा डाँगी, नैनकला थापा, पुष्पबहादुर शाह, पूर्णबहादुर घर्तिमगर, प्रकाश ज्वाला, प्रतिमा गौतम, प्रभु हजारा, पे्रमबहादुर आले, प्रेमबहादुर महर्जन, वासुदेव घिमिरे र विन्दवासिनी कङ्सकारले शून्य समयमा विभिन्न विषयमा आफ्नो धारणा राखेका थिए ।

प्रेम दिवसमा ५ लाख गुलाफ बिक्री हुने विश्वास, ७५ प्रतिशत आयातकै भर

काठमाडौं । प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे नजिकिँदै छ ।  फेब्रुअरी १४ तारिखमा पर्ने प्रणय दिवस आउनुअघि विभिन्न दिवस (डे) मनाउने गरिन्छ । प्रेम दिवसको सुरुको दिन आज शुक्रबार (फ्रेब्रुअरी ७ तारिख) प्रेमीप्रमिकाले ‘रोज डे’ मनाउँदैछन् । विदेशी संस्कृति भए पनि यस्ता दिवसले नेपालमा पनि राम्रै प्रभाव पारेको छ । आज रोज डेका दिन प्रेमीप्रेमिकाले एकआपसमा रोज (गुलाफ फूल) साटासाट गर्छन् । तर, कृषिप्रधान देश नेपालमा अधिकांश फूल भारतबाट भित्रिने गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा २१ हजार वटा बढीकाे परिमाणमा गुलाफ आयात भएको छ । चालु आवको पौष मसान्तसम्म १३ लाख ४५ रुपैयाँ बढीको गुलाफ आयात भएको भन्सार विभागले जनाएको छ । उक्त गुलाफ आयात हुँदा १ लाख रुपैयाँ बढीको राजस्व संकलन भएको छ । विभागका अनुसार नेपालमा भारत र नेदरल्यान्डबाट रोज आयात भएको छ । भारतबाट १९ हजार ८ सय वटा गुलाफ आयात हुँदा नेदरल्यान्डबाट भने १ हजार २ सयवटा गुलाफ आयात भएको छ । नेपालमा वर्षमा ५० लाखवटा भन्दा धेरै रोज खपत हुने गरेको छ । जसको ८० प्रतिशत हिस्सा नेपालको आफ्नै उत्पादनले धानेको छ । बाँकी २० प्रतिशत भने विदेशबाट आउने गरेको फ्लोरिकल्चर एशोसिएसन अफ नेपालका महासचिव मीनमान श्रेष्ठले विकासन्युजलाई जानकारी दिए । उनका अनुसार नेपालमा वर्षमा ४० लाख वटा गुलाफ उत्पादन हुन्छ र बाँकी १० लाख विदेशबाट आयात हुने गर्दछ । नेपालमा वर्षभरि खपत हुने गुलाफमध्ये १० प्रतिशत भ्यालेन्टाइन डेमा खपत हुने गरेको उनको भनाइ छ । भ्यालेन्टाइन डेका लागि करिब ५ लाख वटा रोज खपत हुने गरेको छ । रोज डेमा खपत हुने फुलमध्ये २० प्रतिशत नेपालमै उत्पादन भएका र बाँकी ८० प्रतिशत विदेशाबाट आउने गर्दछ । भ्यालेन्टाइन डेका लागि एक सातामा गुलाफ माग हुने भएकाले विदेशबाट धेरै आयात गर्नुपरेको महासचिव श्रेष्ठकाे भनाइ छ । उनले भने,  ‘भ्यालेन्टाइन डेका लागि एक हप्तामा करिब ५ लाख वटा फूल खपत हुने गर्दछ । त्यसकारण पनि यो समयमा ८० प्रतिशत गुलाफ भारत लगायत अन्य देशबाट आयात गर्नु परेको छ ।’ तर, यस वर्ष नेपालमा गुलाफ उत्पादन तुलनात्मक रूपमा धेरै भएको छ । त्यसकारणले पनि यस वर्षको भ्यालेन्टाइनमा गत वर्षको तुलनामा रोज आयात कम हुने अनुमान उनकाे छ । उनका अनुसार यस वर्षको भ्यालेन्टाइनमा २५ प्रतिशत रोजको खपत नेपालकै उत्पादनबाट हुनेछ भने ७५ प्रतिशत मात्रै आयात भएको छ । हाल नेपालमा १० हजार हेक्टर भन्दा बढी जमिनमा गुलाफ उत्पादन हुने गरेको फ्लोरिकल्चर एशोसियशनले जनाएको छ । बाह्रै महिना गुलाफ उत्पादन हुने गर्दछ । चिसो मौसममा तराई क्षेत्रमा गुलाब उत्पादन हुने गर्छ भने गर्मी महिनामा पहाडी भेगमा उत्पादन हुने गर्छ । गुलाफ भ्यालेन्टाइन डेमा मात्र नभएर बिहेको गाडी सजाउन, माला बनाउन, बुकी बनाउन, अफिसमा सजाउन समेत प्रयोग हुने गरेको छ। गुलाफकै लागि करोडौं रुपैयाँ भारतीय बजारमा जाने गर्छ । यो प्रक्रिया हरेक वर्ष प्रेम दिवस आएसँगै चलिरहन्छ । यस वर्ष गुलाफको मूल्य प्रति ‘स्टिम’ १ सय रुपैयाँदेखि बुकेटसहितको साढे दुई हजार रुपैयाँसम्म पर्छ ।

राष्ट्र बैंकले २५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकको विभिन्न कोषमा रहेको २५ करोड रुपैयाँ मुद्दती निक्षेपका रूपमा लगानी गर्ने जनाएको छ । राष्ट्र बैंकले उक्त परिमाण बराबर रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो । बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा उक्त परिमाण बराबर रकम निक्षेपमा लगानी गरिने छ । वाणिज्य बैंकमा २० करोड, विकास बैंकमा ३ करोड ७५ लाख र वित्त कम्पनीमा १ करोड २५ लाख निक्षेपमा लगानी गरिने छ । ६ फागुन २०८१ देखि ६ फागुन २०८२ सम्म ३ सय ६६ दिनको मुद्दती निक्षेपमा २५ करोड रुपैयाँ लगानी गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति केन्द्रीय बैंकले तोकेको न्यूनतम सीमा कायम गरेको हुनुपर्ने, कर्जारनिक्षेप अनुपात समय–सयममा निर्धारण गरिएको सीमाभित्र रहेको हुनुपर्ने र निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको हुनुपने सर्त राष्ट्र बैंकको छ । त्यसैगरी निक्षेप लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई राष्ट्र बैंकले जरिबाना गरेको अवस्थामा त्यस्तो जरिबाना गरिएका सञ्चालक वा सीईओ उक्त संस्थामा कायम नरहेको हुनुपर्ने र यदि कायम रहेको भए जरिबाना भुक्तान गरेको मितिले ६ महिना अवधि पूरा भएको हुनुपर्ने, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने पनि सर्त छ । त्यस्तै राष्ट्र बैंकको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने भएको भए फुकेवा भएको ६ महिना अवधि पूरा भएको हुनुपर्ने तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने सर्त केन्द्रीय बैंकको छ ।