काठमाडौं । ललितपुरको कुपोण्डोलमा विगत लामो समयदेखि व्यापार गर्दै आएको एलिडा नेपाल प्रालि खारेज हुँदैछ । लामो समयदेखि र भारत चीनबाट कस्मेटिकका सामग्रीहरू ल्याएर कारोबार गर्दै आएको उक्त कम्पनी अहिले टाट पल्टिएपछि खारेजीको प्रक्रियामा गएको हो ।
विशेषगरी नेपालमा आर्थिक सुस्तताको कारण कारोबारमा ठूलो गिरावट आएपछि कम्पनी आर्थिक नोक्साीमा गएर खारेजीको प्रक्रियामा अगाडि बढेको हो । ललितपुरका ती व्यवसायीले ठूलो प्रयास गर्दा पनि कम्पनीलाई माथि उठाउन नसकेपछि अन्ततः खारेजी गर्ने योजनामा पुगे ।
सरकार र नेपाल राष्ट्र बैंकले पनि विलासिताका वस्तु भन्दै कस्मेटिकका सामग्रीमा आयात कडाइ गरेको थियो । त्यसपछि निरन्तर यो कम्पनी समस्यामा परेको बुझिएको छ । अहिले खारेजीको प्रक्रियामा पुगेको हो ।
उच्च अदालत पाटनले पनि सो कम्पनीलाई खारेजी गर्न आदेश दिएको छ । उच्च अदालत पाटनले विसं २०८१ जेठ ३० गते कम्पनीलाई दामासाही सम्बन्धी ऐन, २०६३ को दफा २२ को उपदफा (१) को खण्ड (क) र दफा ३७ बमोजिम खारेज गर्ने आदेश दिएको हो । साथै अदालतले अधिवक्ता रत्न कुमार खरेललाई लिक्विडेटरको रूपमा नियुक्त गरेको छ ।
कम्पनीले बजारबाट उठाउनु पर्ने ठूलो रकम पनि असुल गर्न सकेको छैन भने अन्य धेरै कम्पनीलाई पनि भुक्तानी गर्नुपर्ने देखिएको छ । खाता विवरण लेजर तथा आर्थिक वर्ष २०८०/८१ मा विभिन्न १९ जना कम्पनी तथा फर्महरूले कम्पनीलाई सामान खरिदबिक्री वापतको रकम भुक्तानी गर्नुपर्ने देखिएको हो ।
दामासाही सम्बन्धी ऐन, २०६३ को दफा ४० (१) (ज) अनुसार उक्त रकम असल गर्नुपर्ने दायित्व लिक्विडेटरको हने भएकाले १५ दिनभित्र सम्पर्क गरी भक्तानी गर्न ताकेता गरेको छ ।
साथै, उक्त म्यादभित्र भक्तानी नभएमा कानुनी उपचारको बाटो अवलम्बन गरिने अधिवक्ता रत्नकुमार खरेलले बताए । उनका अनुसार आर्थिक मन्दीका कारण कम्पनी घाटामा जाँदा खारेज गर्नुपरेको हो ।
‘एलिडा नेपालले उठाउनुपर्ने रकम तिर्न ताकेता गरेका हौं, पैसा लिनुपर्ने बाँकी रहेकाबाट असुल गरेर कम्पनी खारेज गर्छाैं । हामीले अरूलाई पनि रकम तिर्नुपर्नेछ,’ उनले भने, ‘आर्थिक मन्दीका कारण कम्पनी घाटामा गएर बन्द गर्नुपर्ने स्थिति सिर्जना भएको हो ।’
कम्पनीले विभिन्न १९ कम्पनीबाट ७३ लाख ९७ हजार ९५५ रुपैयाँ उधारो असुल गर्नुपर्ने रहेको जनाएको छ । कम्पनीका अनुसार बोल बम ट्रेडर्सले ९ हजार २० रुपैयाँ, क्राफ्टेड डिटि ट्रेड लिन्क्सले १ लाख ४४ हजार ३३८ रुपैयाँ, के.सी. मल्टि ट्रेडर्सले ७१ लाख ३६२ रुपैयाँ, कुवेर स्टेसनर्स एण्ड सप्लायर्सले १ लाख ७५ हजार ३६८ रुपैयाँ, क्वालिटि सप्लायर्स प्रालि सुकेधाराले ४ लाख ६८ हजार ३१ रुपैयाँ तिर्नुपर्न रहेको छ ।
महाताभ जेनेरल स्टोरले १ हजार ९६१ रुपैयाँ, मनिल ट्रेड कन्सर्नले ४ लाख ४३ हजार ११८ रुपैयाँ, मास्के भेराइटिजले ४७ हजार ७९१ रुपैयाँ, मेगा मार्ट प्रालिले ४ लाख ४ हजार ६२६ रुपैयाँ, भाटभटेनी सुपर मार्केटले ४७ लाख ९५ हजार ६०२ रुपैयाँ, नेपाल ओभरसिज मार्केटले २ लाख ५८ हजार ८७६ रुपैयाँ तिर्नुपर्ने बाँकी रहेको कम्पनीले जनाएको छ ।
यस्तै, न्यू सिद्धबाबा ट्रेडर्सले ६ हजार ६६९ रुपैयाँ, आरए सप्लायर्सले ३१ हजार ५९७ रुपैयाँ, एसएसबि मार्केटिङले १ लाख २० हजार ९०४ रुपैयाँ, शिव शक्ति ट्रेडर्सले ५ हजार १५२ रुपैयाँ, श्री स्वर्ण इन्टरप्राइजेजले १७ हजार ९० रुपैयाँ, सुस्मिता जेनेरल स्टोरले १ लाख ३३ हजार ७२७ रुपैयाँ, सुवर्ण मेहर स्टोरले २ लाख ४३ हजार ८६ रुपैयाँ र यास ट्रेडर्सले १९ हजार ६२९ रुपैयाँ उधारो उठाउन बाँकी रहेको कम्पनीले जनाएको छ ।
एलिडा नेपालले विदेशबाट सामान आयात गरेर नेपालमा बिक्री वितरणको काम गर्छ । अधिवक्ता खरेलका अनुसार व्यवसाय चल्न नसकेका कारण अन्य सयौं कम्पनी खारेजीको प्रक्रियामा छन् । आव २०८०/८१ को असारसम्म १ हजार ७३४ कम्पनी खारेजी भएको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पछिल्लो समय अधिकांश व्यवसायीले आर्थिक मन्दीको कारण व्यवसाय गर्न समस्या भएकोले कम्पनी नै बन्द गर्नुपरेको प्रतिक्रिया दिन थालेका छन् ।