सुनको मूल्य घट्यो
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा किनबेच हुनेछ ।
सानिमा जीआईसी इन्स्योरेन्सको लाभांश घोषणा
काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको ७.५ प्रतिशत सेयर बोनस र सोको कर प्रयोजनार्थ ०.३९ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कुल ७.८९ प्रतिशत लाभांशमा १५ करोड ७८ लाख रुपैयाँ बराबर वितरण हुने कम्पनीले जनाएको छ । यो प्रस्ताव बिमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
विपिन रिहाइको पहल : परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग फोनवार्ता
काठमाडौं । हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवक विपिन जोशीको रिहाइको कूटनीतिक पहलस्वरुप परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोनवार्ता गरेकी छिन् । हमासको नियन्त्रणमा रहेका जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्री डा राणाले गए राति इरानी विदेशमन्त्री अराघ्चीसँग कुराकानी गरेकी हुन् । त्यस अवसरमा विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरुसँग अब हुने बैठकमा आफूले जोशीको रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिएको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ । इजरायल सरकार र हमासबीच युद्धविराम भएपछि आफ्ना नियन्त्रणमा रहेका बन्दीहरुलाई हमासले मुक्त गर्न थालेको छ । हमासको नियन्त्रणबाट जोशीलाई मुक्त गर्न सरकारले कूटनीतिक पहल जारी राखेको छ । यसक्रममा मन्त्री डा देउवाले अघिल्लो साता इजिप्टका विदेशमन्त्रीसँग पनि टेलीफोनवार्ता गरी जोशीको मुक्तिका निम्ति सहयोग गर्न आग्रह गरेकी थिइन् । इजरायल सरकार र हमासबीच युद्धविरामको प्रयास भएदेखि नै मन्त्री डा देउवाले हमाससँगको शान्तिवार्ताका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग जोशीको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरिरहेकी छिन्। केही साताअघि मन्त्री डा देउवाले इजरायलका विदेशमन्त्रीसँग पनि यसै विषयमा टेलिफोनवार्ता गरेकी थिए । त्यसैगरी इजरायलका लागि नेपाली राजदूत प्रा डा धनप्रसाद पण्डितले पनि केही दिनअघि इजरायलका राष्ट्रपतिसँग फोनमा जोशीको मुक्तिका निम्ति आग्रह गरेका थिए । जोशीको रिहाइका लागि सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ । मन्त्री डा देउवाले संयुक्त राष्ट्रसङ्घ, अन्तरराष्ट्रिय एवं क्षेत्रीय मञ्चहरु र बैठकमार्फत जोशीको रिहाइका लागि कूटनीतिक प्रयास गरिरहेकी छिन् । रासस
१९ प्रतिशतले घट्यो सानिमा माई हाइड्रोपावरको खुद नाफा
काठमाडौं । सानिमा माई हाइड्रोपावरको नाफा घटेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमाको कम्पनीको खुद नाफा १९.४३ प्रतिशतले घटेको हो । कम्पनीले सार्वजनिक गरेको चालु आवको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा २६ करोड ९१ लाख रुपैयाँ छ । गत आवको सोही अवधिमा कम्पनीले ३३ करोड ४१ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीका अनुसार विद्युत विक्री आम्दानी घट्दा नाफा खस्किएको हो । विद्युत विक्री आम्दानी गत वर्षको दोस्रो त्रैमासमा ४९ करोड ९२ लाख रपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा ४० करोड ६३ लाख रुपैयाँ रहेको छ । बैंकको व्याज घट्दा वित्तीय लागत गत वर्षको दोस्रो त्रैमाससम्म ५ करोड रहेकोमा चालु आवको सोहि अवधिमा ४ करोडमा झरेको छ । प्रति सेयर आम्दानी ७ रुपैयाँ ९२ पैसा रहेको छ । गत आवको सोहि अवधिमा कम्पनीको प्रति सेयर आम्दानी १० रुपैयाँ ८२ पैसा थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १९२ रुपैयाँ रहेको छ । कम्पनीको सञ्चालन मुनाफामा समेत गिरावट आएको छ । गत आवको दोस्रो त्रैमासमा सञ्चालन मुनाफा ३६ करोड ९५ लाख रुपैयाँ रहेको छ । चालु आवको सोही अवधिमा सञ्चालन मुनाफा २७ करोड ९ लाख रुपैयाँ रहेको छ । कम्पनीको चुक्त्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ ।
सरकारको आत्मकेन्द्री कर छुट सुविधा, अर्थमन्त्रालयले ४० अर्ब छुट दिँदा ५३ प्रतिशत भाग सरकारकै
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८०/८१को पुस मसान्तसम्म कुल ४० अर्ब ७६ करोड ७३ लाख रुपैयाँ कर छुट दिएको छ । अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेटको मध्यावधी समीक्षा गर्दै कुल ४ खर्ब २१ अर्ब ९ करोड ७० लाख मूल्य पर्ने वस्तुमा सो छुट दिएको जानकारी दिएको हो । सरकारले बजेटमार्फत् विभिन्न वस्तुमा कर छुट दिने व्यवस्था गरेको थियो । सोहीअनुसार विभिन्न वस्तुमा कर छुट दिइएको हो । तर, कर छुट नीति सरकारले व्यवसायीभन्दा पनि आफ्नै लागि ल्याएको बुझ्न सकिन्छ । अर्थमन्त्री पौडेलले सार्वजनिक गरेको मध्यावधी समीक्षामा निजी क्षेत्रभन्दा बढी छुट सरकारले नै लिएको छ । कुल ४० अर्ब ७६ करोड ७३ लाख छुट रकममा सरकारले नै त्यसको २१ अर्ब ६८ करोड ६८ लाख रुपैयाँ कर छुट पाएको छ । जुन कुल कर छुट सुविधाको ५३ प्रतिशत बढी हो । मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा ५(३) अनुसार सरकारले मूल्य अभिवृद्धि कर छुट हुने वस्तुहरको पैठारीमा १८ अर्ब ९२ करोड रुपैयाँ छुट दिएको हो । यस्तै, कुट नीतिक सुविधा अन्तर्गत पैठारी भएका मालवस्तु अन्तर्गत ६५ करोड ८४ लाख रुपैयाँ, महसुल सुविधा अन्तर्गत पैठारी भएका मालवस्तुमा १६ करोड रुपैयाँ छुट महसुल दिएको छ । अर्थमन्त्रालयका अनुसार नाफारहि सार्वजनिक तथा सामुदायिक संस्था, नेपाल सरकारm प्रदेश सरकार, स्थानीय तहको निकाय वा नेपाल सरकारको स्वामित्व भएका संगठित संस्थाले पैठारी गरेको मालवस्तुमा ९२ करोड ८२ लाख रुपैयाँको छुट दिएको छ । नेपाल सरकार वा लगानी बोर्डसँग भएको आयोजना विकास सम्झौता बमोजिम परियोजना विकासका लागि आयोजना वा आयोजनाले नियुक्त गरेका ठेकेदारको नाममा पैठारी भएका मालवस्तुमा १ अर्ब ९४ करोड ९६ लाख रुपैयाँ र साफ्टा सुविधा अन्तर्गत पैठारी भएका मालवस्तुमा २ अर्ब ७२ करोड १० लाख रुपैयाँछुट दिएको छ । यस्तै विविध अन्तर्गत १५ अर्ब ४२ करोड ९६ लाख रुपैयाँ छुट दिएको छ ।
म्यानमारमा वायु प्रदुषणका कारण विद्युत आपूर्ति बन्द
काठमाडौं । म्यानमारको याङ्गुनमा उच्च वायु प्रदुषण भइरहेको छ । वायु गुणस्तर ५० देखि २०० वायु गुणस्तर सूचकांक (एक्युआई) बीच फरक छ । मौसम विज्ञान र जल विज्ञान विभागका निर्देशक उ ह्ला तुनले २०० सम्म पुग्ने स्तरलाई अस्वास्थ्यकर मानिएको बताए । यातायातको अत्यधिक प्रयोगका कारण बिहान र साँझ प्रदुषणको स्तर बढ्दै गएको उनले बताए । सवारी साधनको उत्सर्जन, फोहोर जलाउने र डढेलोबाट हुने वायु प्रदुषण बढ्दो चिन्ताको विषय बनेको बताए । साथै याङ्गुनमा बारम्बार विद्युत आपूर्ति बन्द हुँदा उद्योगहरूलाई जेनेरेटरमा भर पर्न बाध्य भएको छ । जसले गर्दा वायु प्रदूषण अझ बढेको उनले बताए । वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी रोगहरू लाग्ने र विशेष गरी वृद्धवृद्धा, बालबालिका र क्षयरोग भएका व्यक्तिहरूलाई समस्या भएको बताए ।
मटरकोसा किलोको ५० रुपैयाँ, यस्तो आज तरकारी र फलफूलको थोक मूल्य
काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले शुक्रबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । शुक्रबार गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २५, आलु रातो प्रतिकेजी रु ३६, आलु रातो (भारतीय) प्रतिकेजी रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६५, गाजर (लोकल) प्रतिकेजी रु ४०, गाजर (तराई) प्रतिकेजी रु २५, बन्दा (लोकल) प्रतिकेजी रु २०, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु १८, काउली (तराई) प्रतिकेजी रु १५, मूला रातो प्रतिकेजी रु ३०, मूला सेतो (लोकल) प्रतिकेजी रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ । यसैगरी, मटरकोसा प्रतिकेजी रु ५०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ६०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ८०, टाटे सिमी प्रतिकेजी रु ५०, तिते करेला प्रतिकेजी रु ११०, लौका प्रतिकेजी रु ५०, फर्सी पाकेको प्रतिकेजी रु ५०, सलगम प्रतिकेजी रु ८०, भिण्डी प्रतिकेजी रु १००, बरेला प्रतिकेजी रु ५०, पिँडालु प्रतिकेजी रु ९०, स्कूस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु १५, पालुङ्गो साग प्रतिकेजी ४५, चमसुरको साग रु ४५, तोरीको साग प्रतिकेजी रु २५, मेथीको साग प्रतिकेजी रु ४५, प्याज हरियो प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ७०, तरुल प्रतिकेजी रु ९०, च्याउ (कन्य) प्रतिकेजी रु १००, च्याउ (डल्ले) प्रतिकेजी रु ३५० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकेजी रु ३०, चुकुन्दर प्रतिकेजी रु ६०, रातो बन्दा प्रतिकेजी रु७०, सजिवन प्रतिकेजी रु २५०, जिरीको साग प्रतिकेजी रु ७५, ग्याठ कोबी प्रतिकेजी रु ८०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु ७०, गान्टे मूला प्रतिकेजी रु ७०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु ९०, तोफु प्रतिकेजी रु १२०, गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ । समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकेजी रु १५०, अनार प्रतिकेजी रु ३५०, अङ्गुर (हरियो) प्रतिकेजी रु २५०, अङ्गुर (कालो) प्रतिकेजी रु ३५०, सुन्तला (नेपाली) प्रतिकेजी रु १६०, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, तरबुजा हरियो प्रतिकेजी रु ६०, जुनार प्रतिकेजी रु ११०, भुइँकटर प्रतिकोटा रु २००, काँक्रो (लोकल) प्रतिकेजी रु १६०, काक्रो (हाइब्रिड) प्रतिकेजी रु ५०, रुखकटहर प्रतिकेजी रु ९०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १२०, लप्सी प्रतिकेजी रु ६०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु ३००, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ । यसैगरी, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ६०, लसुन हरियो प्रतिकेजी रु ९०, हरियो धनिया प्रतिकेजी रु ४५, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी १५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।
विकास-निर्माणका परियोजना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास–निर्माणका परियोजना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले तिनलाई निर्धारित समयमा सम्पन्न गर्नु सरकारको प्राथमिकता भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा ‘बन्दैछ नेपाल’ शीर्षकमा सडक निर्माण भइरहेको भिडियो राखेर उनले विकास निर्माण र आयोजनाहरुको प्रगतिका बारेमा आज सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग ‘एक्सन रुम’बाट छलफल गर्न लागेको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीलाई ३० अर्ब रुपैयाँ भुक्तानी गरिएको जानकारी पनि दिएका छन् । ‘शुभ बिहानी १ हाम्रा विकास निर्माण र आयोजनाहरुको प्रगतिका बारेमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग एकसन रुमबाट आज छलफल हुँदै छ । हाम्रो प्राथमिकता छ – थालेको काम सक्ने । विकास परियोजना सम्पन्न गरेका ठेकेदारलाई भुक्तानी समेत नदिएको विगतको अवस्थाबाट अगाडि बढेर ३० अर्ब बक्यौता भुक्तानी गरेका छौँ, ‘ प्रधानमन्त्रीले लेख्नु भएको छ, ‘पूर्वाधार निर्माण सम्बन्धी रोकिएका धेरै कम द्रूत गतिमा अगाडि बढेका छन् ।’