काठमाडौं । प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे नजिकिँदै छ । फेब्रुअरी १४ तारिखमा पर्ने प्रणय दिवस आउनुअघि विभिन्न दिवस (डे) मनाउने गरिन्छ । प्रेम दिवसको सुरुको दिन आज शुक्रबार (फ्रेब्रुअरी ७ तारिख) प्रेमीप्रमिकाले ‘रोज डे’ मनाउँदैछन् ।
विदेशी संस्कृति भए पनि यस्ता दिवसले नेपालमा पनि राम्रै प्रभाव पारेको छ । आज रोज डेका दिन प्रेमीप्रेमिकाले एकआपसमा रोज (गुलाफ फूल) साटासाट गर्छन् । तर, कृषिप्रधान देश नेपालमा अधिकांश फूल भारतबाट भित्रिने गरेको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा २१ हजार वटा बढीकाे परिमाणमा गुलाफ आयात भएको छ । चालु आवको पौष मसान्तसम्म १३ लाख ४५ रुपैयाँ बढीको गुलाफ आयात भएको भन्सार विभागले जनाएको छ ।
उक्त गुलाफ आयात हुँदा १ लाख रुपैयाँ बढीको राजस्व संकलन भएको छ ।
विभागका अनुसार नेपालमा भारत र नेदरल्यान्डबाट रोज आयात भएको छ । भारतबाट १९ हजार ८ सय वटा गुलाफ आयात हुँदा नेदरल्यान्डबाट भने १ हजार २ सयवटा गुलाफ आयात भएको छ ।
नेपालमा वर्षमा ५० लाखवटा भन्दा धेरै रोज खपत हुने गरेको छ । जसको ८० प्रतिशत हिस्सा नेपालको आफ्नै उत्पादनले धानेको छ । बाँकी २० प्रतिशत भने विदेशबाट आउने गरेको फ्लोरिकल्चर एशोसिएसन अफ नेपालका महासचिव मीनमान श्रेष्ठले विकासन्युजलाई जानकारी दिए ।
उनका अनुसार नेपालमा वर्षमा ४० लाख वटा गुलाफ उत्पादन हुन्छ र बाँकी १० लाख विदेशबाट आयात हुने गर्दछ ।
नेपालमा वर्षभरि खपत हुने गुलाफमध्ये १० प्रतिशत भ्यालेन्टाइन डेमा खपत हुने गरेको उनको भनाइ छ । भ्यालेन्टाइन डेका लागि करिब ५ लाख वटा रोज खपत हुने गरेको छ । रोज डेमा खपत हुने फुलमध्ये २० प्रतिशत नेपालमै उत्पादन भएका र बाँकी ८० प्रतिशत विदेशाबाट आउने गर्दछ ।
भ्यालेन्टाइन डेका लागि एक सातामा गुलाफ माग हुने भएकाले विदेशबाट धेरै आयात गर्नुपरेको महासचिव श्रेष्ठकाे भनाइ छ । उनले भने, ‘भ्यालेन्टाइन डेका लागि एक हप्तामा करिब ५ लाख वटा फूल खपत हुने गर्दछ । त्यसकारण पनि यो समयमा ८० प्रतिशत गुलाफ भारत लगायत अन्य देशबाट आयात गर्नु परेको छ ।’
तर, यस वर्ष नेपालमा गुलाफ उत्पादन तुलनात्मक रूपमा धेरै भएको छ । त्यसकारणले पनि यस वर्षको भ्यालेन्टाइनमा गत वर्षको तुलनामा रोज आयात कम हुने अनुमान उनकाे छ ।
उनका अनुसार यस वर्षको भ्यालेन्टाइनमा २५ प्रतिशत रोजको खपत नेपालकै उत्पादनबाट हुनेछ भने ७५ प्रतिशत मात्रै आयात भएको छ ।
हाल नेपालमा १० हजार हेक्टर भन्दा बढी जमिनमा गुलाफ उत्पादन हुने गरेको फ्लोरिकल्चर एशोसियशनले जनाएको छ । बाह्रै महिना गुलाफ उत्पादन हुने गर्दछ । चिसो मौसममा तराई क्षेत्रमा गुलाब उत्पादन हुने गर्छ भने गर्मी महिनामा पहाडी भेगमा उत्पादन हुने गर्छ ।
गुलाफ भ्यालेन्टाइन डेमा मात्र नभएर बिहेको गाडी सजाउन, माला बनाउन, बुकी बनाउन, अफिसमा सजाउन समेत प्रयोग हुने गरेको छ।
गुलाफकै लागि करोडौं रुपैयाँ भारतीय बजारमा जाने गर्छ । यो प्रक्रिया हरेक वर्ष प्रेम दिवस आएसँगै चलिरहन्छ । यस वर्ष गुलाफको मूल्य प्रति ‘स्टिम’ १ सय रुपैयाँदेखि बुकेटसहितको साढे दुई हजार रुपैयाँसम्म पर्छ ।