बीमा एजेन्टलाई पनि तलब दिनुपर्ने, काम र क्षमताको आधारमा बढुवा
काठमाडौं । बीमा मध्यस्थकर्ता व्यवस्थित गर्ने अध्ययन कार्यदलले जीवन बीमाका अभिकर्ता (बीमा एजेन्ट) लाई तलब सुविधा दिनुपर्ने सुझाव दिएको छ । कार्यदलले प्राधिकरणका अध्यक्ष मदन दाहाल समक्ष बुझाएको प्रतिवेदनमा एजेन्टलाई तलब दिनुपर्ने सुझाव दिएकाे हाे । गत पौष ९ गते प्राधिकरणका निर्देशक कमल रेग्मीको संयोजकत्वमा बीमा मध्यस्थकर्ता व्यवस्थित गर्ने अध्ययन कार्यदल गठन भएको थियो । जहाँ नेपाल बीमक संघका प्रतिनिधि, जीवन बीमक संघ, लघु बीमक संघ, नेपाल बीमा सर्भेयर एशोसिएसनका प्रतिनिधि र पेशागत बीमा अभिकर्ताको संघका प्रतिनिधि सदस्य रहेका थिए । बीमा मध्यस्थकर्ताहरु सम्बन्धी व्यवस्थामा देखिएका कमिकमजोरी अध्ययन गर्ने, थप व्यवस्थित, मर्यादित, परिस्कृत तथा क्षमतावन बनाउने र मध्यस्थकर्ताहरुलाई पेशागत रुपमा आवद्ध गराउन सक्ने आधारहरुको पहिचान गर्ने उद्देश्यले कार्यदल गठन भएको थियो । उक्त कार्यदलले एक महिना अध्ययन गरेर माघ १४ गते अध्ययन प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनमार्फत् कार्यदलले अभिकर्ताहरुलाई तलबको व्यवस्था गर्नुपर्ने सुझाव दिएको हो । कार्यदलले सुरुवातको केही समयमा मात्रै तलब दिनुपर्ने र विस्तारै तलब घटाउँदै जानुपर्ने सुझाव दिएको छ । यसो गर्दा काम गर्न चाहने नयाँ अभिकर्तालाई प्रोत्साहन हुने कार्यदलले परिकल्पना गरेको छ । सुरुमा अभिकर्ताहरुलाई तलबको व्यवस्था गर्दा उनीहरुले निर्धक्क भएर काम गर्ने वातावरण बन्ने विश्वास कार्यदलका संयोजक रेग्मीले बताए । ‘सुरुमा अभिकर्ताले व्यापार नल्याए पनि उनीहरुलाई टिक्ने वातावरण बनाउँनु पर्छ,’ प्राधिकरणका निर्देशक समेत रहेका रेग्मीले भने, ‘पछि व्यापार ल्याउन थालेपछि त्यही व्यापारबाट कमिसन बापत् उनीहरुले रकम पाउँछन् । त्यसपछि विस्तारै तलब घटाउँदै जानुपर्छ ।’ यसले मानिसहरुलाई बीमा एजेन्ट बन्ने प्रोत्साहन मिल्ने र त्यसले समग्रह बीमा बजार, बीमित र सरकारलाई पनि फाइदा पुग्ने उनको भनाइ छ । उनले विश्वका धेरै देशहरुमा नयाँ एजेन्टहरुलाई तलब दिने व्यवस्था रहेको पनि सुनाए । अमेरिका र यूरोपका धेरै देशमा यस्तो व्यवस्था रहेको बताउँदै नेपालमा पनि सोहीअनुसारको व्यवस्था राख्नुपर्ने उनको भनाइ छ । यस्तै, बीमा एजेन्टले बीमा ऐन र नियामवली अनुसार पाइरहेको कमिसन र इन्सेन्टिभ यथावत् राख्नुपर्ने, कामका आधारमा वितगमा पाइरहेकोभन्दा थप केही प्रतिशत इन्सेन्टिभको व्यवस्था गर्नुपर्ने र मूल्यवृद्धि लगायतका विषय सम्बोधन गर्न राहत तथा छुटको व्यवस्था गर्नपर्ने सुझाव पनि कार्यदलकाे प्रतिवेदनमा उल्लेख छ । काम र क्षमताको आधारमा तहगत प्रमोशन गर्ने व्यवस्था गरिदिनुपर्ने सुझाव पनि कार्यदलले दिएको छ । कति पाउँछन् कमिसन ? बीमा नियमवली २०४९ मा भएको व्यवस्था अनुसार अभिकर्ताले १० पोलिसी बिक्री भएको मितिबाट १० वर्षसम्म कमिसन पाउने गर्छन् । सावधिक जीवन बीमा अन्तर्गत २० वर्ष वा सो भन्दा धेरै अवधिको बीमा गराउँदा पहिलो र दोस्रो वर्ष २५ प्रतिशत तेस्रो वर्षदेखि १०औँ वर्षसम्म ५ प्रतिशत कमिशन अभिकर्ताले पाउँछन् । १५ देखि १९ वर्षसम्मको बीमा गराउँदा पहिलो वर्ष २५ प्रतिशत, दोस्रो वर्ष २० र तेस्रा वर्षदेखि १० वर्षसमम ५ प्रतिशत कमिशन अभिकर्ताले पाउँछन् । १० देखि १४ वर्षसम्मको अवधिको बीमामा पहिलो र दोस्रो वर्षमा १५ प्रतिशत, तेस्रो देखि १०औं वर्षसमम ५ प्रतिशत कमिसनको व्यवस्था छ । सोहीअनुसार ८ देखि १० वर्षको बीमामा दोस्रो वर्षसम्म १० र तेस्रो वर्षदेखि १०औं वर्षसम्म ५ प्रतिशत, ५ देखि ७ वर्षसम्मको बीमाको हकमा पहिलो वर्ष १० र दोस्रो वर्षदेखि १०औँ वर्षसम्म ५ प्रतिशत कमिसनको व्यवस्था रहेको छ । बीमा कम्पनीको आन्तरिक नीति, योजना र रणनीतिअनुसार कमिशन केही फरक पर्ने गरेकाे पनि छ ।
प्रचण्डको आरोप : प्रधानमन्त्री बन्न ओलीले संविधानको सैद्धान्तिक जामा पहिर्याए
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार संविधानसम्मत नरहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको नेतृत्वपंक्तिले संविधान मिच्ने काम गरिरहेको बताए । अहिलेको सरकार संविधान मिचेर बनेको आरोप लगाए । पुनः एक पटक ठूलो आन्दोलनको आवश्यकता देशलाई परेको जिकिर गरे । प्रदेशलाई अधिकार दिन र स्थानीय तहलाई बलियो बनाउन कसैले नमानेको बताए । अध्यक्ष दाहालले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन जरुरी रहेको बताए । शान्ति सम्झौताका पक्षधर दलहरुले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याएर देशमा स्थायी शान्ति दिनुपर्ने बताए । देशमा स्थायी शान्तिको स्थापना गर्न प्रमुख दलहरु मिलेर जानुको विकल्प नरहेको जिकिर गरे । ठूलो कामका लागि ठूला दल मिलेको हो भन्ने भ्रम दिने उद्देश्यले संविधान संशोधनको कुरा उठाएको बताए । संविधान संशोधनको सैद्धान्तिक जामा पहिर्याएर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पद र सरकार खोजेको आरोप लगाए । ‘युवाहरुमा देखिएको फ्रस्टेशन, नेतृत्वपंक्तिले यो सबै कुरालाई आत्मसाथ गर्नुभन्दा संविधान पनि मिच्ने । किनभने यो सरकार बनेको पनि मलाई संविधानसम्मत लागेकै छैन । मलाई संविधानसम्मत बिल्कुलै लागेको छैन, ’ उनले भने । अध्यक्ष दाहालले राष्ट्रपतिलाई जबरजस्ती दबाब दिएर अहिलेको सरकार बनेको आरोप लगाए । अहिलेको सरकार संविधानसम्मत र लोकतान्त्रिक नरहेको पनि जानकारी दिए ।
भौतिक पूर्वाधार मन्त्रालय खारेज गर्ने कुरा सुन्दा म छक्क परें : मन्त्री दाहाल
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय खारेजीको प्रस्ताव गर्ने राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेललाई मन्त्री देवेन्द्र दाहालले जवाफ फर्काएका छन् । मन्त्री दाहालले मन्त्रालय खारेजीको बहसलाई व्यर्थ भनेका छन् । ‘भौतिक पूर्वाधार मन्त्रालय नै खारेज गर्ने विषयको बहस व्यर्थ र औचित्यहीन छ,’ आइतबार मन्त्री दाहालको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । विज्ञ मानिएका व्यक्तिमार्फत नै यस प्रकारको धारणा आउँदा आफू छक्क परेको मन्त्री दाहालले बताए। ‘नेपालको भौतिक पूर्वाधार मन्त्रालय नै पो खारेज गरौं भन्नु भएछ । यसरी कुरा आउँदा मलाई अरू कुराभन्दा पनि यस्ता मान्छे पनि नेपालको थिंक ट्यांक संस्थामा नेतृत्व गर्न पुगेछन् भन्ने कुरामा पो चिन्ता लाग्यो,’ विज्ञप्तिमा लेखिएको छ । यसअघि माघ २४ गते अर्थशास्त्री समेत रहेका पौडेलले अमेरिकाले यूएसएआईडी कार्यक्रम खारेज गरेको भन्दै नेपालले पनि भौतिक पूर्वाधार मन्त्रालय खारेजीको प्रस्ताव गरेका थिए। ‘अमेरिकामा यूएसएआईडी खारेज गरेको देख्दा मेरो मनमा पनि नेपालमा एउटा संस्था चाहिं खारेज गर्नुपर्छ भन्ने लागेको छ,’ पौडेलले आफ्नो आधिकारिक फेसबुकमा लेखेका थिए, ‘ऊर्जा मन्त्रालयमा जस्तो प्रगति सडकमा हुनै सकेन र अब यो स्थिति लामो जानु हुँदैन । यसको प्रथम बिन्दु भनेको साविक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको खारेजी नै हो ।’
नारायणी डेभलपमेन्ट बैंक अब नयाँ स्थान र भवनबाट सञ्चालनमा
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेड अब नयाँ स्थान र भवनबाट सञ्चालनमा आएको छ । बैंकले बैंकिङ प्रणालीमा प्रयोग हुने सुविधाहरुको प्रयोग गर्दै आफ्नो कारोबारलाई चुस्त, दुरुस्त र अझ सर्बसुलभ बनाउने अभिप्रायले बैंकको २२ औं साधारण सभाले केन्द्रिय कार्यालय चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं १० मा स्थानान्तरण गर्ने निर्णय गरको हो । चितवनको व्यापारिक केन्द्रको रुपमा विकसित भरतपुर महानगरपालिका वडा नं १० वाइपास रोड, स्थित जिल्ला सहकारी सघं लिमिटेडको आधुनिक नवनिर्मित भवनमा आइतबारबाट स्थानान्तरण भै हाकिमचोकस्थित शाखा कार्यालय समेत एकैसाथ सेवा शुभारम्भ गराएको छ ।
जनकपुरमा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने
काठमाडौं । जनकपुरमा सोमबार ‘बजाज माइलेज च्याम्पियन’ हुने भएको छ । बजाज कम्पनीको प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न माइलेज च्याम्पियनको आयोजना गर्न लागेको हो । जनकपुरको बाह्र बिघास्थित ओम अटोमोबाइल्सले उक्त कार्यक्रम आयोजना गर्ने भएको हो । यो कार्यक्रमले बजाज प्लाटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई झल्काउनुका साथै चालकहरूबीच मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना प्रवर्द्धन गर्ने विश्वास आयोजकको रहेको छ । कार्यक्रममा जो कोही मोटरसाइकल चालकहरूले सहभागीता जनाउन सक्नेछन् । माइलेज च्याम्पियनमा सहभागी चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्य सहित प्रतिस्पर्धा गर्नेछन् । बजाजका मोटरसाइकलहरू मध्येमा पनि प्लाटिना मोटरसाइकल अधिकतम माइलेज दिने मोटरसाइकलमा पर्दछ । कम्पनीले कार्यक्रममा आम ग्राहकवर्गलाई पनि सहभागी हुनका लागि अनुरोध गरेको छ । माइलेज च्याम्पियनमा सहभागी उत्कृष्टलाई पुरस्कृत पनि गरिने कम्पनीले जनाएको छ ।
क्यारेबियनमा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामी चेतावनी हटाइयो
काठमाडौं । क्यामन आइल्यान्डको तटबाट करिब १३० माइल (२०९ किलोमिटर) टाढा क्योरबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी निगरानी एजेन्सीहरूले शनिबार बताएका छन् । भूकम्पका कारण कारण सुनामी चेतावनी जारी गरिएको तर पछि हटाइएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्प कम गहिराइमा गएको थियो । उपलब्ध सबै तथ्याङ्कका आधारमा ‘यस भूकम्पबाट सुनामीको खतरा टरेको छ र थप कुनै खतरा छैन’, अमेरिकी प्रशान्त सुनामी चेतावनी केन्द्रले भनेको छ । यसअघि सुनामी चेतावनी प्रणालीले क्युबाका केही तटीय क्षेत्रमा करिब १० फिट (तीन मिटर) सम्मका छालहरू आउन सक्ने र होन्डुरस र क्यामन आइल्यान्डमा तीन फिटसम्मका छालहरू आउन सक्ने बताएको थियो । क्यामन आइल्यान्ड सरकारले आफ्नो वेबसाइटमा सन्देश दिँदै तटीय क्षेत्रका बासिन्दाहरूलाई आन्तरिक भागतर्फ सर्न चेतावनी दिएको थियो । प्रारम्भिक सुनामी खतरा चेतावनीमा एक दर्जनभन्दा बढी देश समावेश थिए । भूकम्प गएको करिब तीन घन्टापछि अमेरिकी अधिकारीहरूले ३० सेन्टिमिटर (११.८ इन्च) सम्मको ‘सामान्य समुद्री सतह उतारचढाव’ हुनसक्ने चेतावनी दिएका थिए तर कुनै गम्भीर खतरा टरिसकेको जनाएका छन् । मेक्सिकोको पूर्वी तटमा रहेको इस्ला मुजेरेसमा सुनामी मापन गेजले भूकम्पपछि अधिकतम चार सेन्टिमिटर (०.१ फिट) को उचाइ भएको लहर मापन गरेको अमेरिकी सुनामी चेतावनी केन्द्रले जनाएको छ ।
नागार्जुनका मेयर बस्नेतविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा दायर गरेको छ । पदीय मर्यादा विपरीतका कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । अख्तियारले बस्नेतविरुद्ध ८ करोड ६९ लाख विगो मागदावी गरेको हो । अख्तियारले मोहनकी पत्नी उर्मिलामाथि पनि मुद्दा दायर गरेको छ । जग्गा प्लष्टिङमा अनियमितता गरेको भनी उनीविरुद्ध यसअघि नै भ्रष्टाचारमुद्दा दायर भइसकेको छ । हाल उनी निलम्बित अवस्थामा छन् ।
वनारसी धामको ऐतिहासिक महत्वका बारेमा पुरातत्वको चासो, सडक नहुँदा बिच बाटोबाट फर्किँदै भक्तजन
काठमाडौं । बैतडीको पाटन नगरपालिका-३ स्थित प्रसिद्ध वनारसी धामको ऐतिहासिक र पौराणिक महत्वका बारेमा पुरातत्व विभागले चासो देखाएको छ । शुक्रबार जात्रा सम्पन्न भएको वनारसी धाममा शनिबार पुरातत्व विभागका अधिकृत राजेश परियारले अवलोकन गरेका हुन् । वनारसी धाममा पुगेर सांस्कृतिक र ऐतिहासिक विशेषताका बारेमा जानकारी लिएको बताइएको छ । वनारसी धाममा अमूर्त संस्कृति रहेको र यसलाई संरक्षण गर्नु आवश्यक रहेको श्री वनारसी धाम विश्वनाथ ज्योर्तिलिङ्गका कोषाध्यक्ष एवम् धार्मीक प्रवक्ता मठाधिश समेत रहेका गणेश प्रसाद पन्तले बताए । पञ्चाङ्गकार पन्तका अनुसार वनारसी धामको ऐतिहासिक र सांस्कृतिक महत्वका बिषयमा पाटन नगरपालिका-३ का वडा अध्यक्ष करुणाकर भट्ट लगायतका सरोकारवाला व्यक्तिहरुसँग छलफल गरिएको पन्तको भनाइ छ । उनका अनुसार सामाजिक सदभाव र विभेद अन्त्यका लागि वनारसी धामको संस्कृति निकै महत्वपूर्ण रहेको छ । साथै उक्त क्षेत्रको संरक्षण सम्वर्द्धन वृहत विकासको लागि गरिएको डीपीआरले १८ करोड ४७ लाख ७५१ रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । तर, सरकारले चासो नदिँदा कार्यान्वयमा समस्या देखिएको पञ्चाङ्गकार पन्तले गुनासो गरे । परापूर्वकालदेखि दलित समुदायका मानिस मुख्य पूजारी रहेको यस मन्दिरमा सबै जातजातीका दर्शनार्थीहरुको सहभागिता रहने गर्दछ । १२औं शताब्दीदेखि यो मन्दिरमा जात्रा लाग्ने गरेको र यसमा सबैको सहभागिता हुने गरेको पन्तको भनाइ छ । यसको महिमाको बारेमा सबैलाई जानकारी गराउन आफूले पहल गरिरहेको उनले बताए । ‘यस क्षेत्रमा आउने धार्मीक पर्यटकका लागि सौचालयको समेत व्यवस्था छैन, हवनकुण्ड, आवाश, आश्रमको पनि अभाव छ, व्यवस्थित सडक नहुँदा अधिकांश भक्तजन बिच बाटोबाट फर्किने गरेका छन्,’ उनले भने, ‘यस क्षेत्रमा सरकारले चासो दिएर संरक्षणसँगै विकासमा टेवा पुर्याउनुपर्छ ।’ तत्कालीन राजा मानूक चन्दका पालामा राजगुरु बिरभद्र बसी पन्त मूल मुखिया भट्ट, बिष्ट, अवस्थी आदी सम्पूर्ण स्थानीयबाट छलफल गराई तत्कालीन राजसभा परिषदबाट तत्कालीन राजा मानूक चन्दले विभेदमुक्त सार्वजनिक पूजास्थल घोषणा गरे । र बयनी लुहारलाई पुजारी नियुक्त गरे ।