
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय खारेजीको प्रस्ताव गर्ने राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेललाई मन्त्री देवेन्द्र दाहालले जवाफ फर्काएका छन् ।
मन्त्री दाहालले मन्त्रालय खारेजीको बहसलाई व्यर्थ भनेका छन् ।
‘भौतिक पूर्वाधार मन्त्रालय नै खारेज गर्ने विषयको बहस व्यर्थ र औचित्यहीन छ,’ आइतबार मन्त्री दाहालको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञ मानिएका व्यक्तिमार्फत नै यस प्रकारको धारणा आउँदा आफू छक्क परेको मन्त्री दाहालले बताए।
‘नेपालको भौतिक पूर्वाधार मन्त्रालय नै पो खारेज गरौं भन्नु भएछ । यसरी कुरा आउँदा मलाई अरू कुराभन्दा पनि यस्ता मान्छे पनि नेपालको थिंक ट्यांक संस्थामा नेतृत्व गर्न पुगेछन् भन्ने कुरामा पो चिन्ता लाग्यो,’ विज्ञप्तिमा लेखिएको छ ।
यसअघि माघ २४ गते अर्थशास्त्री समेत रहेका पौडेलले अमेरिकाले यूएसएआईडी कार्यक्रम खारेज गरेको भन्दै नेपालले पनि भौतिक पूर्वाधार मन्त्रालय खारेजीको प्रस्ताव गरेका थिए।
‘अमेरिकामा यूएसएआईडी खारेज गरेको देख्दा मेरो मनमा पनि नेपालमा एउटा संस्था चाहिं खारेज गर्नुपर्छ भन्ने लागेको छ,’ पौडेलले आफ्नो आधिकारिक फेसबुकमा लेखेका थिए, ‘ऊर्जा मन्त्रालयमा जस्तो प्रगति सडकमा हुनै सकेन र अब यो स्थिति लामो जानु हुँदैन । यसको प्रथम बिन्दु भनेको साविक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको खारेजी नै हो ।’