विकासन्युज

भ्रामक समाचार प्रकाशन भएको भन्दै सूर्यज्योति लाइफको आपत्ति

काठमाडौं ।  विभिन्न सञ्चारमाध्यमहरूमा आफ्नाबारे तथ्यहीन समाचार प्रकाशन भएको भन्दै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कम्पनीले आइतबार एक विज्ञप्ति जारी गर्दै कम्पनीका कर्मचारी, अभिकर्ता, शेयरधनी र संचालकहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले सुनियोजित रूपमा कपोलकल्पित, भ्रामक र तथ्यहीन समाचारहरू प्रकाशन तथा प्रसारण गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । कम्पनीले भ्रामक समाचारमा विश्वास नगर्न पनि अपिल गरेको छ । भ्रामक समाचार प्रसारण तथा प्रकाशनविरुद्ध कानुनी उपचारका लागि अघि बढ्ने प्रक्रियामा रहेको समेत कम्पनीले जनाएको छ ।

किन रोकियो एनआईसी एसिया र नेपाल बैंकको एजीएम ?

काठमाडौं । अधिकांश बैंकहरूले पुस मसान्तभित्र साधारण सभा सम्पन्न गरिसके पनि नेपाल बैंक र एनआईसी एशिया बैंकको साधारण सभाकाे भने अझै टङ्गो लागेको छैन । दुईवटै बैंकको गत पुस मसान्तमा सञ्चालक समितिको बैठकबाट आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण भएको वित्तीय विवरण पारित गरी साधारण सभामा पेस गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने र सेयरधनीहरूलाई लाभांश वितरणको प्रस्ताव नगर्ने निर्णय गरेका छन् । एक महिना पूरा हुँदा पनि दुइटै बैंकले हालसम्म आफ्नो वार्षिक साधारण सभा बोलाउन सकेका छैनन् । पुस मसान्तभित्र नसके पनि ढिलागरी प्रभु र एनआईएमबिले साधारण सभा साधारण सभा बोलाए । तर, नेपाल बैंक र एनआईसी एशिया बैंकले भने साधारण सभासम्बन्धि कुनै निर्णय गर्न सकेका छैनन् । बैंकिङ क्षेत्रलाई कर्पाेरेट सुशासनमा सञ्चालन र व्यवस्थापनमा चुस्तदुरुस्त रहेको क्षेत्रका रूपमा हेरिन्छ । हरेक विषय चुस्तदुरुस्त राख्ने भएकाले बाहिरिया नजरमा बैंकिङ क्षेत्र पारदर्शी र सुशासनमा चलेको मानिन्छ । समयमा वार्षिक साधारण सभा (एजीएम) गर्नुलाई पनि सुशासनको एउटा अंशका रूपमा लिइन्छ । बैंकहरूले पनि आफ्नो वार्षिक साधारण सभा समयमै गरिरहेका हुन्छन् । सकेसम्म आर्थिक वर्ष सम्पन्न भएको ६ महिनाभित्र साधारण सभा सम्पन्न गर्न बैंकहरू प्रयासरत हुन्छन् । यी  दुई बैंकले किन गर्न सकेनन् साधारण सभा ? आम लगानीकर्ताको चासो बनेको छ । नेपाल बैंकले अबकाे केही दिनमा बाेलाउने तयारी गरेकाे बुझिएको छ । नेपाल बैंक स्रोतका अनुसार नेपाल राष्ट्र बैंकबाट एजिएम क्लियरेन्स पाइसकेको छ । यसवर्ष बैंकको अडिरटरबाट लेखापरीक्षण प्रतिवेदन आउन ढिलाइ भएकाले साधारण सभा समेत आह्वानमा ढिलाइ भएको उनले बताए । ‘अबको एकदुई दिनभित्र हामीले वार्षिक साधारण सभा बोलाउने तयारी छ । हामीले स्वीकृति लिनुपर्ने सबै निकायबाट स्वीकृति लिइसकेको छ । सञ्चालक समितिको एउटा बैठक बाँकी छ । त्यो बैठक सकिने बित्तिकै एक-दुई दिनभित्रै हामी वार्षिक साधारण सभा बोलाउँछौं,’ बैंकका एक अधिकारीले भने, ‘माघभित्रै वार्षिक साधारण सभाको मिति तय हुन्छ । फागुनको तेस्रो साताभित्र साधारण सभा गर्ने गरी बोलाउछौं ।’ एनआईसी एशिया बैंकका कम्पनी सचिव दीपेन कार्कीका अनुसार चाँडै एजीएम बोलाउने तयारी भइरहेको छ । फागुन चैतमा आगामी वार्षिक साधारण सभा गर्ने तयारी भइरहेको उनले बताए । ‘अडिट पनि फाइनल भइसक्यो । हिसाब मिलान गर्न समय लागेको हुँदा ढिला भएको हो । हामीले समयमा एजिएम क्लिरेन्सका लागि आवेदन दिएका हौँ । तर, राष्ट्र बैंकले स्वीकृति दिन ढिला गर्याे । हामीसँग राष्ट्र बैंकले कुनै जवाफ मागेको छैन,’ उनले भने, ‘अब राष्ट्र बैंकबाट एजिएम क्लिरेन्स पाइसकेको छ । केही समय लाग्छ ।’ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता रामु पौडेल सबै बैंकलाई वार्षिक साधारण सभा गर्न स्वीकृति दिइसकेको बताउँछन् । लाभांश क्षमता नभएका बैंकलाई साधारण सभा गर्न हतारो नभएको हुन सक्ने उनको भनाइ छ । ‘हामीले सबै बैंकलाई एजिएम क्लियरेन्स दिइसकेका छौं । जुन बैंकको वितरणयोग्य नाफा छ, उहाँहरूले छिटो गर्नु भयो । जसको वितरणयोग्य नाफा थिएन उहाँहरूलाई हतार भएन,’ उनले भने, ‘अडिट प्रक्रियामा समय लागेको हुन सक्छ । कुनै बैंकको अडिटमा समय लाग्छ । त्यसैले ढिला भएको हुन सक्छ ।’

नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ चिकित्सक सहित कर्मचारी

काठमाडौं । नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालले विशेषज्ञ चिकित्सक, नर्स सहित विभिन्न कर्मचारी माग गरेको छ । एक सूचना प्रकाशित गरी कलेजले विशेषज्ञ स्वास्थ्य प्राविधिक जनशक्ति माग गरेको हो । सूचना अनुसार कलेजले कार्डियोलोजी, न्यूरोलोजी, ग्यास्ट्रोइन्ट्रोलोजी, नेफ्रोलोजी, न्यूरो सर्जरी लगायतका विषयमा विशेषज्ञ चिकित्सक माग गरेको छ । सम्बन्धित विषयमा एमडी, एमएस, डिएम, एमसिएच, एमडिएस पुरा गरेकाहरुले माघ ३० गतेभित्र दरखास्त दिन सक्नेछन् । प्रकाशित सूची अनुसार कलेजले नाक कान घाँटी, फरेन्सिक मेडिसिन, फिजियोलोजी, स्टाफ नर्स, ओरल मेडिसिन तथा रेडियोलोजी, फिजियोथेरापिस्ट तथा हेमोडायलाइसिस टेक्निसियन माग गरिएको छ । कलेजले अस्पताल तथा सम्बन्धित विषयमा अनुभव हासिल गरेकाहरुलाई प्राथमिकता दिने जनाएको छ । इच्छुक उम्मेदवारले आफ्नो ब्यक्तिगत बायोडाटा इमेल मार्फत पठाउनु पर्नेछ । योग्यता पुगेका उम्मेदवारलाई कलेज प्रशासनले अन्तरवार्ताका लागि बोलाउने छ । स्वास्थ्य सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउँन थप जनशक्तिहरु माग गरिएको हो । कलेजले चाँडै क्याथ ल्याब समेत सञ्चालन गर्न गइरहेको छ ।

नेपाल-भारत सिमानाका झुलाघाटमा सडक निर्माण हुँदै

काठमाडौं । झुलाघाट नाका भारतसँग जोडिएको पुरानो नाका हो । यो नाकाबाट बैतडीलगायत सुदूरपश्चिम र कर्णालीका सर्वसाधारणहरू नेपाल-भारत आवतजावत गर्ने गर्छन् । मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दुका रूपमा समेत रहेको झुलाघाट सडक चौडा पार्ने काम भइरहेको छ । साँघुरो सडकमा दुर्घटना बढ्न थालेपछि सडकलाई चौडा पार्ने काम थालिएको सडक डिभिजन कार्यालय पाटन, बैतडीले जनाएको छ । नेपाल-भारत सीमा क्षेत्र रहेको दशरथचन्द नगरपालिका-८ को झुलाघाटमा पटक पटक दुर्घटना हुन थालेपछि २५० मिटर सडकखण्ड चौडा पार्ने कार्य भइरहेको सडक डिभिजन कार्यालय पाटन, बैतडीका सूचना अधिकारी लीलाधर भट्टले जानकारी दिए । उनका अनुसार भारतबाट मजदुरी गरेर फर्कने बेला गत भदौमा यही सडकबाट चिप्लेर बैतडीको पुर्चौंडी नगरपालिकाका एक मजुदुरको महाकाली नदीमा खसेर मृत्यु भएको थियो । यस्तै, केही वर्षअघि यही सडकबाट बोलेरो जीप महाकालीमा खसेको थियो । सीमासँग जोडिएको सडक साँघुरो हुँदा बेला-बेला दुर्घटना हुन थालेपछि सडकलाई स्तरोन्नति गर्ने कार्य भइरहेको सूचना अधिकारी भट्टले बताए । उनले भने, ‘सीमा क्षेत्रमा वर्षौंपिच्छे दुर्घटना बढ्ने थाले । सडक साँघुरो भयो । बेला-बेला दुर्घटना हुने समस्या भएपछि झुलाघाटको यातायात बिसौनीदेखि पिपल चौतारासम्म २५० मिटर सडकलाई ७ मिटर चौडा पार्ने काम भइरहेको छ ।’ यसैगरी, सूचना अधिकारी भट्टले एक ठाउँमा घरधनीले मुआब्जा मागेका कारण ७ मिटर चौडा हुन सकेको छैन् । बाँकी सबै ठाउँमा चौडा पारी यो वर्ष ५० मिटर जति ढलान गर्ने योजना रहेको उनकाे भनाइ छ । यस्तै, ५० मिटर खण्डमा नाली समेत निर्माण गरिनेछ भने बजार नजिकै प्याराफिट निर्माण गर्ने योजना रहेको छ । जय माँ भगवती निर्माण सेवाले ६५ लाखको लागतमा ठेक्का प्रक्रियाद्वारा सडक चौडा पार्ने कार्य गरिरहेको सडक डिभिजन कार्यालय पाटन, बैतडीका प्रमुख लक्ष्मणदत्त जोशीले बताए । उक्त खण्ड स्तरोन्नतिका लागि १ करोडको ठेक्का आह्वान भएपनि ६५ लाख रुपैयाँमा ठेक्का सदर भएको हो ।

लुम्बिनी विकास बैंकका ग्राहकलाई होटल वृन्दावनमा छुट

काठमाडौं । लुम्बिनी विकास बैंकले होटल वृन्दावनमा ग्राहकहरुलाई विभिन्न सेवा तथा सुविधाहरुमा छुट दिनको लागि सम्झौता गरेको छ । होटल वृन्दावन पर्सा जिल्लाको वीरगञ्ज उप-महानगरपालिका वार्ड नं. १० मा अवस्थित छ । सम्झौतामा उल्लेख भए अनुसार लुम्बिनी विकास बैंकका सम्पुर्ण ग्राहकहरुलाई होटल वृन्दावनका विभिन्न सेवा तथा सुविधाहरुमा ३० प्रतिशतसम्म छुट प्रदान गर्ने छ । होटल वृन्दावनको विभिन्न सेवा तथा सुबिधाहरु अन्तर्गत ग्राहकहरुले खानाका परिकार तथा पेय पदार्थहरुमा १० प्रतिशत साथै होटल कोठाहरुको शुल्कमा ३० प्रतिशत छुट लिन सक्नेछन् । सम्झौतापत्रमा लुम्बिनी विकास बैंकको तर्फबाट वीरगञ्ज शाखाका प्रबन्धक कृष्ण कुमार महतो र होटल वृन्दावनको तर्फबाट प्रबन्ध निर्देशक पप्पु सराफ ले संयुक्त रुपमा हस्ताक्षर गरे । देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको विभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ ।

चीनमा टेस्ला कारको बिक्री ११.५ प्रतिशतले घट्यो, घरेलु प्रतिस्पर्धा बढ्दै

काठमाडौं । चीनमा टेस्ला कारको बिक्री जनवरीमा घटेको छ, जसमा घरेलु प्रतिस्पर्धीहरूको प्रतिस्पर्धा बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। टेस्लाले जनवरीमा ६३ हजार २३८ युनिट इलेक्ट्रिक कार बेच्यो जुन गत वर्षको जनवरीमा बेचिएको ७१ हजार ४४७ कारभन्दा ११.५ प्रतिशतले कम हो । प्री-मार्केट ट्रेडिङमा टेस्लाको सेयर करिब १।५ प्रतिशतले झर्‍यो । यसैबीच चिनियाँ प्रतिस्पर्धी बीवाईडीले गत महिना २ लाख ९६ हजार ४४६ शुद्ध इलेक्ट्रिक र प्लग–इन हाइब्रिड सवारी बेच्यो जुन गत वर्षको तुलनामा ४७ प्रतिशतले बढी हो । टेस्लाका अन्य चिनियाँ प्रतिस्पर्धीहरू जस्तै- चाङ्गान अटोमोबाइल र एक्सपेन्जले पनि बिक्रीमा वृद्धि गरेका छन् । टेस्लाले गत वर्ष चीनमा ६ लाख ५७ हजारभन्दा बढी कार बिक्री गरेको थियो, जुन २०२३ को तुलनामा ८.८ प्रतिशतले वृद्धि हो । यो संख्या कम्पनीको कुल डेलिभरीको ३६.७ प्रतिशत हो । टेस्लाले चीनका खरिददारहरूको रुचि कायम राख्न मूल्य कटौतीलाई प्रोत्साहनको रूपमा प्रयोग गर्ने प्रयास गरेको छ । गत वर्षको अन्त्यमा टेस्लाले आफ्नो मोडल वाई कारको मूल्य घटायो र जनवरी अन्त्यसम्म शून्य ब्याज दरको पाँच वर्षे ऋण योजना पनि विस्तार गर्‍यो । गत महिना टेस्लाले चीनमा आफ्नो सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक वाहन मोडल वाईको संशोधित संस्करण सार्वजनिक गरेको थियो । यसमा पनि शून्य प्रतिशत ब्याजदरको योजना थियो । टेस्लाले २०२३ को अन्त्यमा साइबरट्रक डेलिभरी सुरु गरेपछि नयाँ मोडल सुरु गरेको छैन । लगानीकर्ताहरूले कम्पनीबाट नयाँ सस्तो मासमार्केट मोडल आउने अपेक्षा गरिरहेका छन्, जसले बिक्रीमा सहयोग पुर्‍याओस् । टेस्लाले २०२५ को पहिलो छ महिनामा नयाँ सस्तो मोडल सुरु गर्न सकिने जनाएको छ । टेस्लाको विश्वव्यापी डेलिभरी १.१ प्रतिशतले घटेको छ, जसको कारण युरोपमा सब्सिडीमा कटौती, अमेरिकामा सस्तो हाइब्रिड गाडीहरूको बढ्दो लोकप्रियता र चिनियाँ निर्माता बीवाईडीबाट बढ्दो प्रतिस्पर्धा हो । जनवरी महिनामा टेस्लाको बिक्री चीनमा मात्र नभई बेलायत र फ्रान्ससहित पाँच युरोपेली देशहरूमा पनि घटेको छ । नयाँ मोडल भएका प्रतिस्पर्धीहरूले टेस्लालाई पछ्याइरहेका छन् भने सर्वेक्षणहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कप्रति जनताको धारणा नकारात्मक बन्दै गएको देखाएका छन् । विशेष गरी डोनाल्ड ट्रम्पलाई आर्थिक समर्थन गर्दै मस्क २०२४ मा राजनीतिमा प्रवेश गरेका छन् । ट्रम्पको सफल चुनावी अभियानमा मस्कको ठूलो भूमिका रह्यो । यी सबै समस्याहरूका बाबजुद टेस्लाको सेयर मूल्य बजारभन्दा राम्रो प्रदर्शन गर्दै आएको छ । पछिल्लो वर्षमात्र टेस्लाको सेयर मूल्य दोब्बर भएको छ । हाल, टेस्लाको पीई रेसियो पनिअन्य कार निर्माता र प्रविधि कम्पनीहरूको तुलनामा निकै उच्च छ । टेस्लाका लागि २०२५ चुनौतीपूर्ण रहन सक्ने देखिन्छ, तर कम्पनीको नयाँ ईभी मोडल, मूल्य रणनीति र प्रविधि विकास भविष्यको प्रमुख निर्णायक कारक बन्न सक्छ । मस्कको राजनैतिक प्रभाव ! बेलायत र युरोपेली बजारमा टेस्लाको बिक्री घट्दो चीनमा टेस्लाको उच्च रेकर्ड, २०२४ मा बिक्री गर्‍यो ६ लाख ५७ हजारभन्दा बढी गाडी नयाँ साझेदार खोज्दै ‘निसान’, ताइवानको ‘फक्सकन’ सँग सहकार्य गर्न इच्छुक विद्युतीय सवारीमा फड्को मार्दै फरारी, अक्टोबरमा ६ नयाँ मोडल सार्वजनिक गर्ने

खुवा बिक्री गरेर मासिक एकलाख आम्दानी

मनहरी । हेटौँडा १७ निवासी उत्तम श्रेष्ठले खुवा व्यवसायबाट मासिक रु एक लाख कमाउँदै आएका छन् । उनी यसै पेसाबाट आत्मनिर्भर बन्दै आएका हुन् । उनको दैनिकी बिहान उठेदेखि राति अबेरसम्म खुवा घोटेर बित्ने गर्दछ । दुई वर्षदेखि खुवा व्यवसायमा लागेका श्रेष्ठको चुच्चे खोलामा उत्तम खुवा घर सञ्चालनमा छ । खुवा व्यवसायमा लाग्नुअघि श्रेष्ठले लामो समयदेखि किराना पसल र तोरी मेल सञ्चालन गर्थे। गाउँघरमा उधारो धेरै हुने गरेकाले किराना पसलबाट खासै उपलब्धि हुन नसकेपछि श्रेष्ठ खुवा व्यवसायतर्फ लागेको उनी बताउँछन् ।खुवाको हब बन्दै गएको सोही स्थानमा खुवा व्यवसायलाई सम्हाल्न पुगेका उनले आजभोलि दैनिक तीस किलो खुवा बिक्री गर्दै आएका छन् । उनको पसलमा खुवासँगै खुवाका विभिन्न मिठाइका परिकार, केराको मम, छोइला, पनि, पुष्टकारी उत्पादनसँगै बिक्री हुने गर्दछ । खुवा व्यवसायमा मनग्य आम्दानी देखेका उनले दूधको आपूर्तिका लागि किसानलाई भैँसी किन्न लगानीसमेत गरेका छन् । उनले भने, ‘खुवाको लागि भैँसीको दूध आवश्यक पर्छ सोहीअनुरूप किसानलाई रु दश लाख लगानी गरिसकेको छु ।’  परम्पराभन्दा आधुनिकता तर्फ लम्किँदै व्यवसाय गर्नका लागि उनले सफा, सुग्घर र आकर्षित सजावट गर्दै व्यवसायलाई अगाडि बढाइरहेका छन् । खुवाको हब बन्दै गएको चुच्चे खोलामा हेर्दा पनि आकर्षण तरिकाको पसल उनको छ । पर्यटकलाई सफा र आकर्षण देखिनुपर्छ सोही अनुरूप परिकारमा पनि सफा र स्वादिष्ट उत्पादन गर्ने गरेको उनको भनाइ छ । खुवा पेसा सममालेदेखि उनले आफ्नो व्यवसायबाट ६ कर्मचारीलाई रोजगारी दिएकोसमेत बताए । खुवासँगै खाजा नास्ता लगायतबाट मासिक रु दश लाखको कारोबार हुने गरेको श्रेष्ठले बताए । मासिक दूध खरिद्, खुवा पकाउने दाउरा खरिद, कर्मचारी लगायतमा मासिक साढे आठ लाख खर्च हुने गरेको बताए । अरू पेसामा भन्दा खुवा पेसामा काम गर्दा सन्तुष्ट मिलेको उनको भनाइ छ । आफूसँगै परिवारलाई पनि सहयोग लिएर उनले खुवा व्यवसायलाई अझै बढाउने सोचमा रहेको बताए । खुवा बेचेरै मासिक रु एक लाख कमाउन सकिने भएपछि उनले पैसा कमाउन विदेशिने युवापुस्तालाई देशमै कमाउन सकिने उदाहरण प्रस्तुत गरेका छन् । उनको पसलबाट उत्पादित खुवा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रो, चितवनलगायतका जिल्लामा निर्यात हुने बताए । कान्तिलोक पथ भएर हिँडने यात्री र खुवाको पारखीलाई आजभोलि उत्तमको खुवा पसलले आर्कष्ण गर्ने गरेको छ । खुवा व्यवसायबाट पनि आत्मनिर्भर बन्न सकिने राम्रो उदाहरण उनले प्रस्तुत गरेका छन् । रासस

रातो मच्छिन्द्रनाथबारे छलफल गर्न ललितपुर महानगर प्रमुख विज्ञसहित गुहाटीमा

ललितपुर । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन रातो मच्छिन्द्रनाथको बारे छलफल गर्न आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन विज्ञसहित भारतको आसाम गुहाटी पुगेका छन् । गुहाटी विश्वविद्यालयले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन रातो मच्छिन्द्रनाथ पानेजु संघका अध्यक्ष यज्ञरत्न शाक्य, ज्यापू समाज ललितपुरका अध्यक्ष सन्तमान महर्जन, ञवालका गुठीयार नविन महर्जन, घःकुका गुठीयार बुद्ध महर्जन, बाराही दः गुठीका नाइके दिलकुमार वाराहीसहित महानगर प्रमुख चिरीबाबु महर्जन गुहाटी पुगेका हुन् । महानगर प्रमुख महर्जनले रातो मच्छिन्द्रनाथको बारे आयोजना गरिएको सम्मेलनमा विज्ञहरुको सहभागिता महत्वपूर्ण भएको बताउँदै सबैको सहभागितमा आफू गुहाटी आएको बताए । उनले भने, ‘रातो मच्छिन्द्रनाथसँग सम्बन्धित यो कार्यक्रममा उहाँहरु सहभागी हुँदा विषयलाई थप बुझ्ने अवसर पाउनु हुन्छ भन्ने हेतु हो ।’ भ्रमणमा सहभागी भएकाहरु रातो मच्छिन्द्रनाथको बारेमा विज्ञ भएको नगरप्रमुखले दाबी गरे । रातो मच्छिन्द्रनाथको जात्रा र रथ संसार प्रचलित छ । नगरप्रमुखले नेतृत्व गर्नु भएको प्रतिनिधिमण्डलका सदस्य एवम पर्यटन संस्कृति समितिका संयोजक विकासमान श्रेष्ठले यो सम्मेलन महत्वपूर्ण सम्मेलन भएको बताए । वडा नं.५का वडा अध्यक्ष समेत रहेका उनले भने, ‘ सरोकारवाला सबैको सहभागिता हुँदा अझै यो महत्वपूर्ण भएको छ, रातो मच्छिन्द्रनाथको बारेमा थप बुझ्ने अवसर प्राप्त हुन्छ । ’उक्त प्रतिनिधिमण्डलमा पर्यटन समितिका अन्य दुई सदस्य वडा ६का वडा अध्यक्ष रुपेन्द्रराज शाक्य, र वडा नं.१९ का वडा अध्यक्ष राजेन्द्र महर्जन समेत छन् । यसका साथै महानगरका अमूर्त सम्पदा सल्लाहकार वदनलाल न्याछ्यो, पर्यटन सल्लाहकार दिलेन्द्रराज श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ सहभागी छन् ।