काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार संविधानसम्मत नरहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिलेको नेतृत्वपंक्तिले संविधान मिच्ने काम गरिरहेको बताए । अहिलेको सरकार संविधान मिचेर बनेको आरोप लगाए । पुनः एक पटक ठूलो आन्दोलनको आवश्यकता देशलाई परेको जिकिर गरे । प्रदेशलाई अधिकार दिन र स्थानीय तहलाई बलियो बनाउन कसैले नमानेको बताए ।
अध्यक्ष दाहालले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन जरुरी रहेको बताए । शान्ति सम्झौताका पक्षधर दलहरुले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याएर देशमा स्थायी शान्ति दिनुपर्ने बताए । देशमा स्थायी शान्तिको स्थापना गर्न प्रमुख दलहरु मिलेर जानुको विकल्प नरहेको जिकिर गरे ।
ठूलो कामका लागि ठूला दल मिलेको हो भन्ने भ्रम दिने उद्देश्यले संविधान संशोधनको कुरा उठाएको बताए । संविधान संशोधनको सैद्धान्तिक जामा पहिर्याएर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पद र सरकार खोजेको आरोप लगाए ।
‘युवाहरुमा देखिएको फ्रस्टेशन, नेतृत्वपंक्तिले यो सबै कुरालाई आत्मसाथ गर्नुभन्दा संविधान पनि मिच्ने । किनभने यो सरकार बनेको पनि मलाई संविधानसम्मत लागेकै छैन । मलाई संविधानसम्मत बिल्कुलै लागेको छैन, ’ उनले भने ।
अध्यक्ष दाहालले राष्ट्रपतिलाई जबरजस्ती दबाब दिएर अहिलेको सरकार बनेको आरोप लगाए । अहिलेको सरकार संविधानसम्मत र लोकतान्त्रिक नरहेको पनि जानकारी दिए ।