बेइजिङ-अबुधाबी सिधा उडान सुरु, सन् २०२६ मा पहिलो नयाँ अन्तर्राष्ट्रिय सेवा
काठमाडौं । चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी बीचको सिधा हवाई मार्ग सुरु गरिएको छ । यो चिनियाँ एयरलाइन्सद्वारा संचालित दुई राजधानीहरू बीचको पहिलो सीधा सम्पर्क हो । बोकेर एयर चाइनाको बोइङ ७८७ विमानले २७८ यात्रु लिएर गरेको पहिलो उडान शनिबार राति अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । प्रत्येक हप्ता चार ‘राउन्ड ट्रिप’ गर्ने गरी स्थापित यो मार्ग सन् २०२६ मा एयर चाइनाको पहिलो नयाँ अन्तर्राष्ट्रिय सेवा हो । मार्गको सुरुवातले चीन र युएई बीचको उड्डयन नेटवर्कलाई अझ बढाउँछ र यसले दुई देशहरू बीचको मानव आदानप्रदान, आर्थिक र व्यापार सहयोग र सांस्कृतिक अन्तरक्रियाको लागि अधिक कुशल र सुविधाजनक हवाई मार्ग प्रदान गर्दछ। एयर चाइनाका एक अधिकारीले यात्रुलाई सुरक्षित, आरामदायी र सुखद यात्रा अनुभव प्रदान गर्न एयरलाइन्सले पूर्ण तयारी गरेको बताए । विमान कम्पनी स्रोतका अनुसार यो मार्गको सुरुवातले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’को रूपरेखा अन्तर्गत दुई देशबीचको व्यावहारिक सहकार्यलाई नयाँ गति दिनेछ।
बैंकका कर्मचारीलाई कुट्नुपर्छ भन्ने अभिव्यक्ति दिएका संग्रौला पक्राउ
काठमाडौं । नेपाल प्रहरीले बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि हिंसा भड्काउने अभिव्यक्ति दिने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा ‘नागरिक बचाउ महाअभियान’अन्तर्गत ऋणी एशोसिएशनका केन्द्रीय संयोजक देवीप्रसाद संग्रौलालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । झापाको अर्जुनधारा नगरपालिका-११ घर भएका ४४ वर्षीय संग्रौलाले युट्युब च्यानललगायतका माध्यमबाट बैंकका कर्मचारीलाई कुटपिट गर्नुपर्ने र ‘भण्डारखाल’ जस्तो काण्ड मच्चाउनुपर्ने भन्दै अभिव्यक्ति दिएका थिए । सार्वजनिक शिष्टाचार र नैतिकता विपरीत हिंसा दुरुत्साहन गर्ने अभिव्यक्ति दिएपछि ब्यूरोले उनलाई कार्यालयमै झिकाएर सोधपुछ गरेको ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए । प्रहरी समक्ष बयान दिने क्रममा संग्रौलाले कानुनी राज्यको उल्लङ्घन गर्दै बैंक विरुद्ध बोल्नु आफ्नो गल्ती भएको स्वीकार गरेको प्रवक्ता अवस्थीले बताए । पक्राउ संग्रौलाले आगामी दिनमा कानुनलाई शिरमा राखेर बोल्ने र समाज तथा राज्यलाई असर गर्ने अभिव्यक्ति नदिने प्रतिबद्धता जनाउँदै नेपाल सरकारसँग लिखित रूपमा माफी मागेको ब्यूरोले जनाएको छ । प्रहरीले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममा कानुन विपरीतका अभिव्यक्ति दिने र श्रव्य दृश्य सामग्री प्रसारण गर्ने माथि निगरानी बढाएको छ ।
‘गोल घर’ संरक्षण गर्दै उद्योग वाणिज्य सङ्घ
काठमाडौं । पछिल्ला वर्षहरूमा गाउँ तथा सहरमा पक्की घर बन्दै गएका छन् । केही वर्ष अघिसम्म विशेष गरी सहर बजारमा पक्की आधुनिक घर बन्ने गरेपनि पछिल्ला वर्षमा गाउँ गाउँमा पनि पुराना घर भत्काएर नयाँ पक्की घर बनाउने क्रम बढ्दो छ । बजार तथा गाउँ गाउँमा पक्की घर बन्ने क्रम बढ्दै गएपछि पुराना र लोप हुन लागेका वस्तुको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्याङजाको वालिङ उद्योग वाणिज्य सङ्घले महोत्सवस्थलमा लोपोन्मुख घुमाउने (कुडुले) घर निर्माण गरेको वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष चेतनारायण श्रेष्ठले बताए । ‘पुरानो पुस्ता गोल घरका बारेमा जानकार हुनुहुन्छ, कतिपय बस्नु भएकै पनि होला,’ उनले भने, ‘समयको विकास र आधुनिकतासँगै पछिल्ला पुस्ताले यस प्रकारका घर देखेका छैनन्, हाम्रो परम्पराको संरक्षण र जगेर्ना गर्दै नयाँ पुस्तालाई पुरानो कला संस्कृति तथा परम्पराका बारेमा जानकारी दिनका लागि गोल घर निर्माण गरेका हौँ ।’ बाँस, खर, काठ, माटोको प्रयोग गरेर बनाइएको उक्त गोल घर नवौँ वालिङ महोत्सवको मुख्य आकर्षणको रुपमा रहने भएको हो । खरले छाएका घर हराउँदै गएका बेला एकदमै पुरानो गाउँले परिवेशलाई झल्काउने उद्देश्यसहित गोल घर निर्माण गरिएको उनले बताए । गाउँ गाउँमा पुरानो गोल घर हराएर गएकाले महोत्सवस्थलमा आउने दर्शकहरुको अवलोकनका लागि गोल घर (कुडुले) घर निर्माण गरिएको वालिङ उद्योग वाणिज्य सङ्घका सह-कोषाध्यक्ष एवं गोलघर निर्माण उपसमितिका संयोजक केशव पराजुलीले बताए । खरले छाएको गोलघर दुई तलाको रहने छ । घरको छानो र पाली खरैखरले छाएको छ । ‘कुडुले घरभित्र विशेष गरी हाम्रा पुराना पुस्ताले प्रयोग गर्दै आएका सामग्री राखिने छ । घरमा पुरानो जीवनशैलीलाई झल्को दिने खालका जाँतो, ढिकी, हलो जुवा, ठेको, छानामा फर्सी, कुभिण्डो लगायतका सामग्री राखेर सजाइने छ,’ उनले भने । घरको भित्तोलाई रातो र सेतो माटोले लपक्क लिपेर आकर्षक बनाइएको छ । घरभित्र, पिँढी तथा आँगनमा गोबर माटोले लिपिएको छ । वालिङ उद्योग वाणिज्य सङ्घले महोत्सवलाई लक्षित गरेर निर्माण गरेको गोल घरलाई महोत्सवपछि पनि संरक्षण गरेर राख्ने जनाएको छ । विसं २०६३ बाट प्रत्येक २/२ वर्षमा वालिङ महोत्सव हुँदै आएको छ । यो नवौँ संस्करणको महोत्सव माघ १४ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने भएको हो । महोत्सवको तयारी पूरा भएको छ ।
एमाले र राप्रपाले उम्मेदवारी फिर्ता लिएपछि ३ वटा चिन्हमा मात्रै मतदान हुने
काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मनाङमा प्रत्यक्षतर्फ तीन चिह्नमा मतदान हुने भएको छ । नेपाली कांग्रेसको रुख, नेपाली कम्युनिष्ट पार्टीको रातो तारा र मङ्गोल नेशनल अर्गनाइजेसनको भाले चिन्हमा मतदान हुने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली कांग्रेसलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि तीन चिन्हमा मतदान हुने टुङ्गो लागेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए । ‘निर्वाचनका लागि पाँच दलबाट उम्मेदवारी परेकामा दुई दलले उम्मेदवारी फिर्ता लिएपछि मतपत्रमा तीन वटा चिन्ह मात्रै रहने भएको हो,’ उनले भने । नेपाली कांग्रेससका टेकबहादुर गुरुङ, नेकपाका यशोदा सुवेदी गुरुङ र मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ ‘नवीन’ चुनावी मैदानमा छन् । एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मनाङमा कूल ७ हजार मतदाता छन् । देशकै सबैभन्दा कम मतदाता रहेको यस जिल्लामा एक अस्थायीसहित २९ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । यहाँको निर्वाचन सम्पन्न गर्न १७१ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म
काठमाडौं । विगत ३५ वर्षदेखि दलित समुदायको हकअधिकारका क्षेत्रमा वकालत गर्दै आएका धर्मेन्द्र पासवान राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसको तर्फबाट दलित ‘क्लष्टर’बाट उम्मेदवारी दर्ता गराएका पासवान आइतबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा निर्वाचित भएका हुन् । उनले ७ हजार ९०४ मतभार प्राप्त गरे । उनका प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका रामनन्द प्रसादले १ हजार ३७६ र जनता समाजवादी पार्टीकी चमेली देबी दासले २०९ मतभार प्राप्त गरिन् । निर्वाचित पासवानले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएका थिए । उनी लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध छन् । नेता पासवानले बाल्यकालदेखि नै समाजमा व्याप्त विभेद, अन्याय र बहिष्करण विरुद्ध आवाज उठाउँदै आएका थिए । रौतहट परोहा नगरपालिका–३ का पासवानले राजनीति शास्त्रमा स्नातक गरेका छन् । साधारण परिवारमा जन्मिएका पासवानले बाल्यकालमै दलित समुदायले भोग्दै आएको पीडा, अपमान र अवसरको अभाव नजिकबाट अनुभव गरेका छन् । यही अनुभवले पद र प्रतिष्ठाभन्दा माथि उठेर दलित हकअधिकार, सामाजिक न्याय र समावेशी लोकतन्त्रको स्थापनाका लागि निरन्तर आफूलाई सङ्घर्षरत रहेको उनको भनाइ छ । पासवानले विभिन्न गैरसरकारी संस्थामार्फत समाजसेवामा उल्लेखनीय योगदान पुर्याए बापत अन्तर्राष्ट्रियस्तरका पुरस्कार प्राप्त गरेका छन् । हाल उनी दलित सङ्घको केन्द्रीय महासचिवको जिम्मेवारीमा पनि छन् । दलित समुदायको हकअधिकारका लागि आफू निरन्तर सङ्घर्षरत रहेपनि सोचे जस्तो उपलब्धि प्राप्त गर्न नसकेको उनको गुनासो छ । दलित समुदायको आर्थिक सामाजिक विकासका लागि अझै पनि निःस्वार्थ भएर लडिरहने उनको प्रतिबद्धता छ । पासवानले राष्ट्रिय सभामा गएर पनि दलित समुदायको उत्थानका लागि आवाज बुलन्द गर्ने प्रतिक्रिया दिए । ‘म दलितको मुद्दालाई राष्ट्रिय सभा मार्फत उठाउनेछु । दलित मुक्तिको आन्दोलनमा जहाँ रहेर भएपनि सधैँ मेरो सहभागिता, समर्थन रहनेछ,’ उनले भने । उनको जीवनशैली सरल, अनुशासित र जनमुखी रहेको नेपाली कांग्रेस मधेस प्रदेशका प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले बताए । ‘आर्थिक रूपमा सामान्य पृष्ठभूमिबाट आउनुभएका पासवान विलासी जीवनभन्दा जनताको सेवामा रमाउने नेताका रूपमा चिनिनुहुन्छ,’ गुप्ताले भने, ‘उच्च सोच, कम अपेक्षा र दृढ इमानदारी उहाँको पहिचान हो ।’
देशभर विपद्का २४ घटना, ७ जना घाइते
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका छन् । हिमाली तथा उच्च पहाडी जिल्लामा हिमपातका कारण जनजीवन समेत प्रभावित भएको छ । विपद्का अधिकांश विवरणमा आगजनीका घटना शीर्ष स्थानमा छ । हिउँदको समयमा आगलागीका घटनामा उल्लेख्य बृद्धि हुने र जनधनको समेत क्षति हुने गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार देशभर १६ वटा आगलागीका घटना घटेका थिए । असावधानीका कारण परालको कुन्युमा आगो लागेको, हावाहुरीले आगो उडाउँदा अन्य क्षति भएको तथा आगो ताप्दा असावधानीका कारण आगो फैलन गई घाइते भएका जस्ता विवरण सार्वजनिक भएका छन् । विपद्मा परेर कूल २५ लाख ३० हजार रूपैयाँ बराबरको क्षति भएको जनाइएको छ । त्यसैगरी ७ जना घाइते भएका छन् । प्राधिकरणको विवरण अनुसार मोरङमा दुई, सुनसरी, भोजपुर, सप्तरी, सिरहामा एक/एक वटा आगलागीका घटना भएका थिए । सर्लाही, रौतहट, बारा, रामेछाप, मकवानपुर, काठमाडौं, पाल्पा, प्युठान, कैलालीमा पनि आगलागीका घटना घटेका थिए । त्यसैगरी बाग्लुङ, रुकुम पूर्व, हुम्ला, बझाङ र बैतडीमा हिमपातका कारण जनजीवन प्रभावित भएको छ । सप्तरी, कपिलवस्तु र डोटीमा भने जनावरको आक्रमणका घटना घटेका छन् । प्राधिकरणले विपद्बाट जोगिन, सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ ।
कुनै समस्या आए संयुक्त निर्वाचन सञ्चालन केन्द्रले तत्काल समाधान गर्ने
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा स्थापना भएको सो केन्द्रमा निर्वाचनका सम्बन्धमा देखिने सबै प्रकारका समस्या तत्काल समाधान गरिने जनाइएको छ । आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र आइतबार मात्रै स्थापना गरेको हो । आयोग परिसरमा स्थापना भएको केन्द्रको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुभारम्भ गरेका हुन् । उनले कुनै निर्वाचन क्षेत्रमा केही समस्या आएमा तत्काल समाधान गर्न केन्द्रले काम गर्ने जानकारी दिए । मतदान केन्द्रमा समाधान हुन नसक्ने समस्या केन्द्रबाट समाधान गरिने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले उल्लेख गरे । आयोगका सचिवको नेतृत्वमा रहने केन्द्रमा गृह मन्त्रालयका सहसचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत सदस्य रहने व्यवस्था छ । सो केन्द्रले आवश्यक सूचना लिने, त्यसको विश्लेषण गर्ने र तत्काल आवश्यक निर्णय लिने जनाइएको छ ।
नाडा नेतृत्व विवादमा माघ १४ गते पाटन उच्च अदालतमा पेसी, यस्तो छ विवादको फेहरिस्त
काठमाडौं । दुई खेमामा विभाजित नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) को नेतृत्व विवादसम्बन्धी मुद्दा पाटन उच्च अदालतमा पुगेको छ, जसको पेसी यही माघ १४ गतेका लागि तोकिएको छ । हाल करण चौधरीको नेतृत्वमा रहेको पुरानै कार्यसमितिले नै संस्थाको दैनिक कार्य सञ्चालन गरिरहेको छ भने नयाँ भनिएको सुरेन्द्रकुमार उप्रेती नेतृत्व समितिको भविष्य अदालतको फैसलामा अड्किएको नाडाका एक सदस्यले जानकारी दिए । ती सदस्यका अनुसार अदालतको फैसला जे आए पनि अन्त्यमा दुवै पक्ष मिलेर जानुको विकल्प छैन । ‘जब अन्तिममा छलफल गरेरै समस्या टुङ्ग्याउनुपर्छ भने अहिले नै वार्ता बस्नुपर्छ,’ उनले भने । उनका अनुसार अर्को पक्षको इगो र पेलेरै जाने सोचका कारण विवाद लम्बिइरहेको छ । के हो विवादको जड ? नाडाको ४७ औं वार्षिक साधारण सभामा करण चौधरी र आकाश गोल्छा अध्यक्षका प्रत्यासी थिए । महाधिवेशनमा चौधरी र गोल्छा दुवैले अडान नछाडेपछि अध्यक्षमा चौधरी र वरिष्ठ उपाध्यक्षमा गोल्छा हुने गरी निर्णय भएको थियो । त्यहाँदेखि सुरु भएको विवादले अहिले नाडामा उग्र रूप लिइरहेको छ । नाडा अध्यक्ष चौधरी र गोल्छाबीचको विवाद समाधान नहुँदा यो उत्कर्षमा पुगेको हो । विधान संशोधन प्रक्रिया नपुगेको भन्दै त्यतिबेलै वरिष्ठ उपाध्यक्ष गोल्छालाई सदस्यमा घटुवा गरिएको थियो । त्यहीँ समयमा नाडाको मनोनित सदस्यका रूपमा रहेका निशान ढकाल र अभिक ज्योतिलाई आमन्त्रित सदस्यमा मात्रै सीमित गरिएको थियो । महाधिवेशनमा चौधरी र गोल्छाको अडानलाई ‘सेटल’ गर्न विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरी अर्को कार्यकालमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको थियो । नाडामा नयाँ कार्यसमितिको पहिलो बैठकबाट सुरु भएको विवाद जिल्ला प्रशासन कार्यालय हुँदै उच्च अदालतसम्म पुगेको छ । वर्तमान अध्यक्ष चौधरीमाथि ४७ औं साधारण सभामा भएको लिखित सहमति तोडेको आरोप असन्तुष्ट पक्षले लगाउँदै आइरहेको छ । त्यो सहमतिमा वरिष्ठ उपाध्यक्षको पद सिर्जना गरी करण चौधरीलाई अध्यक्ष बनाउने र अर्को कार्यकालमा स्वतः आकाश गोल्छालाई अध्यक्ष बनाउने कुरा थियो । तर, चौधरीले आफू अध्यक्ष भएपछि आकाश गोल्छालाई वरिष्ठ उपाध्यक्षबाट हटाएर सदस्यमा राखेको असन्तुष्ट पक्षको भनाइ छ । गोल्छालाई हटाउने निर्णय विधानविपरीत भएको र कार्यसमितिले नभई साधारणसभाले मात्र हटाउन मिल्ने र त्यो पनि कार्यान्वयनपछि मात्र हटाउनुपर्ने तर्क असन्तुष्ट पक्षको छ । असन्तुष्ट टिममा ध्रुव थापा (पूर्वअध्यक्ष), आकाश गोल्छा, सुनिल रिजाल, प्रदीप कुमार प्रधान, सन्जय खेतान, सौरभ थापा, यमुना श्रेष्ठ, निराकार श्रेष्ठ, सोहन श्रेष्ठ गरी ९ जना कार्यसमिति सदस्य रहेका छन् । गोल्छालाई नाडाको वरिष्ठ उपाध्यक्ष पदबाट सदस्यमा झारिएदेखि नै असन्तुष्ट पक्ष रुष्ट बनेको थियो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा गोल्छा समूहले उजुरी गरेसँगै तत्काल विशेष महाधिवेशन नगर्न प्रशासनले निर्देशनसमेत दिएको असन्तुष्ट पक्षको भनाइ छ । असन्तुष्ट पक्षका एक सदस्यले भने, ‘हामी अन्यायमा परेका पक्ष हौं, तर वार्ताका लागि सधैं तयार छौं । उनीहरू वार्ता नै गर्न चाहँदैनन् ।’ जिल्ला प्रशासनले अघिल्लो विशेष महाधिवेशनले गरेको विधान संशोधनले मान्यता नपाएको अवस्थामा विशेष महाधिवेशन बोलाएर महासंघ घोषणा गर्न नपाउने भन्दै पत्र लेखेको थियो । यता असन्तुष्ट पक्षले नाडाको वर्तमान नेतृत्वले आफ्नो कार्यकाल लम्ब्याउन र अघिल्लो वार्षिक साधारणसभाको निर्णय छल्न विशेष साधारणसभा बोलाएको आरोप लगाएको थियो । असन्तुष्ट पक्षले सुरुबाटै नाडाको ४९ औं साधारण सभा तथा महासंघ बनाउनदेखि बोलाएको विशेष महाधिवेशन रोक्ने चेतावनी दिँदै आएको थियो । नाडालाई नाडा अटोमोबाइल्स महासंघ नेपाल (फेडेरेसन अफ नाडा अटोमोबाइल्स नेपाल) मा रूपान्तरण बनाउने भन्दै करण पक्षले गत पुस ९ गते विशेष वार्षिक साधारणसभाको आयोजना गरी सो निर्णय पारित गरेको थियो । त्यसपछि नयाँ कार्यसमितिका लागि गत पुस २५ गते निर्वाचन कार्यक्रमको मिति तोकिएको थियो । जसमा निर्वाचन हुनुअगावै सुरेन्द्रकुमार उप्रेतीको नेतृत्तमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको थियो । त्यसपछि साधारण सभा, निर्वाचन प्रक्रिया धाँधली भएको र विधानविपरीत अध्यक्षको चुनाव गराइएको भन्दै असन्तुष्ट पक्षले पाटन उच्च अदालतमा मुद्दा दायर गर्यो । अदालतले नाडासँग पुस ९ गते सम्पन्न साधारण सभामा अपनाइएका सम्पूर्ण प्रक्रिया तथा निर्वाचनसम्बन्धी कागजात समेत झिकाउन आदेश दिएको थियो । साथै लिखित जवाफ परेपछि वा तोकिएको अवधि नाघेपछि उत्प्रेषणको रिटसमेत राखी नियमानुसार पेस गर्न निर्देशन दियो । नाडाले पुस ९ गते साधारण सभा सम्पन्न गरी पुस १० गते निर्वाचन तालिका सार्वजनिक गरेको थियो । तालिकाअनुसार पुस १७ गते उम्मेदवारी दर्ता भएको थियो । २५ सदस्यीय कार्यसमितिका लागि २५ जनाले नै उम्मेदवारी दर्ता गराएपछि सम्पूर्ण पदाधिकारी निर्विरोध भएका थिए । अध्यक्ष पदमा निवर्तमान महासचिव सुरेन्द्र उप्रेतीको मात्र उम्मेदवारी परेको थियो । अन्य पदाधिकारी र सदस्य पनि निर्विरोध भएपछि नाडाले गत पुस २५ गते निर्वाचनमार्फत नयाँ कार्यसमिति निर्वाचित भएको घोषणा गर्ने तयारी गरेको थियो । तर उच्च अदालत, पाटनले नाडाको नयाँ कार्यसमिति चयन प्रक्रिया तत्काल अगाडि नबढाउन आदेश दियो । न्यायाधीश टंकप्रसाद गुरुङ र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले गत पुस २४ गते नयाँ नेतृत्व चयन प्रक्रिया रोक्न आदेश दिएको हो । नाडाभित्रको विवादको मुख्य जड वर्तमान अध्यक्ष करण चौधरी नै भएको दाबी असन्तुष्ट पक्षको छ । असन्तुष्ट पक्षका एक सदस्यले भने, ‘यो समस्या उहाँको नेतृत्व आएपछि सुरु भएको हो । उहाँलाई संस्था चलाएको अनुभव भएन । उहाँले निर्वाचित पदाधिकारीहरूलाई पनि आफ्नो निजी कम्पनीको ‘स्टाफ’ जस्तो सम्झनुभयो, जसले गर्दा यो अवस्था आएको हो ।’ नाडाभित्रको यहीँ विवादका बीच नेपाल अटोमोबाइल इम्पोर्टर्स एसोसिएसन (नाइमा) नामक अर्को संस्था पनि गठन भएको ती सदस्यको भनाइ छ । अदालतको प्रक्रिया लम्बिने सम्भावना रहेकोले नाडाको भविष्य अझै केही समय अनिश्चित रहने देखिएको छ । तत्कालका लागि यो विवादले अटोमोबाइल बजारमा खासै असर नगर्ने बताइए पनि दीर्घकालीन अवस्थामा भने नीतिगत निर्णयहरूमा प्रभाव पार्न सक्ने देखिन्छ । अब नाडाको भविष्य अदालतको फैसला र दुवै पक्षको नेतृत्वले देखाउने लचकतामा निर्भर रहने जानकारहरू बताउँछन् ।