काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालको दुरुपयोग गरी विवाहको प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गर्ने एक दम्पतीलाई पक्राउ गरेको छ ।
आफू अमेरिकामा रहेको र नेपाली बोल्न नआउने भन्दै टिकटक र ह्वाट्सएपमार्फत पीडितलाई ठगी गर्ने दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर २ लुगाडाँडा घर भई हाल काठमाडौंको माछापोखरी बस्ने ३९ वर्षीय सञ्जीव नेपाली र उनकी श्रीमती ३३ वर्षीया अनुष्का भन्ने सरिता पराजुली रहेका छन् ।
सरिताको स्थायी ठेगाना काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका वडा नम्बर १२ रहेको ब्यूरोले जनाएको छ।
ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार सञ्जीव नेपालीले टिकटकमा ‘प्रिन्स तामाङ’ नामको नक्कली आईडी बनाएर आफ्नो अनुहार समेत नदेखाई अंग्रेजी भाषामा कुराकानी गर्ने गरेका थिए ।
उनले पीडितलाई विवाह गरी अमेरिका लैजाने आश्वासन दिँदै आफ्नी बहिनी सरगम तामाङ भन्दै आफ्नै श्रीमती सरिता पराजुलीको ह्वाट्सएप नम्बरमा कुराकानी गर्न लगाएका थिए ।
यसरी योजनाबद्ध रूपमा पटक–पटक गरी पीडितबाट कुल पन्ध्र लाख दश हजार पाँच सय ठगी गरेको भन्दै ब्यूरोमा निवेदन दर्ता भएको थियो ।
प्राविधिक अनुसन्धान र विश्लेषणका आधारमा साइबर ब्यूरोबाट खटिएको विशेष टोलीले जेठ २ गते उनीहरूलाई माछापोखरीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनामाथि विद्युतीय माध्यम सम्बद्ध ठगी अपराध मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।