विकासन्युज

पूर्वअर्थमन्त्री पुन र महतलाई प्रधानमन्त्रीको जवाफ- असारमा धान नरोपेपछि नै हो मंसिरमा धान नफल्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वअर्थमन्त्री वर्षमान पुनलाई असारमा धान नरोपेपछि मंसीरमा धान नफल्ने जवाफ दिएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद्हरूले सोधेका प्रश्नको जवाफ दिँदै पूर्वअर्थमन्त्रीसमेत रहेका पुनलाई यस्तो जवाफ दिएका हुन् । ‘अर्थतन्त्रमा शिथिलता आएको छ । जनताको चुल्हो महँगीको मारमा पुगेको छ । पुँजीगत खर्च भइरहेको छैन । युवाहरूको पलायन बढेको बढ्यै छ । समग्र अर्थतन्त्र सुधार गर्न सरकारको नीति र प्राथमिकताहरू के-के छन्,’ पूर्वमन्त्री पुनले प्रश्न गरेका थिए । पुनको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘देशको अर्थतन्त्रबारे चिन्ता गर्नु भएकोमा यसअघिका अर्थमन्त्रीसमेत रहनु भएका प्रश्नकर्ता माननीयलाई धन्यवाद । ७ महिना अगाडि तपाईं आफै अर्थमन्त्री हुनुहुन्थ्यो । त्यस समय भन्दा अगाडि र त्यसयताको मूल्य वृद्धिको अनुपात हेर्न म उहाँलाई अनुरोध गर्दछु । हामीले अब आँकडामा प्रश्नोत्तर गर्ने, त्यसको तुलना गर्ने बानी बसाल्नु पर्छ ।’ प्रधानमन्त्री ओलीले पुँजीगत खर्च कम भइरहेको स्वीकार गरे । तर पुन अर्थमन्त्री भएको अवधिको तुलनामा भने बढी रहेको उनले दाबी गरे । चालु आर्थिक वर्षको ६ महिनाको पुँजीगत खर्च १५ प्रतिशतले वृद्धि भएको बताउँदै प्रधानमन्त्री ओलीले भने,  ‘हाम्रो अर्थतन्त्रमा सुस्तता एकै दिनमा आएको होइन र सुस्तता एकै दिनमा हट्ने पनि होइन । हामी सरकारमा आएपछि अर्थतन्त्र सुधारका लागि गम्भीर रूपमा काम गरिरहेका छौं र सुधारका केही नतिजाहरू पनि देखिएका छन् ।’ ‘असारमा धान नरोपेपछि नै हो मंसीरमा धान नफल्ने । अघिल्लो सरकारका नीति, खर्चका प्राथमिकतालाई अलग्गै राखेर अहिले अर्थतन्त्र सुध्रेन भन्नु राम्रो हुँदैन । तर, अहिले हामी कानुनमा भएका अप्ठ्याराहरूलाई पनि हटाएर अर्थतन्त्रलाई सुधार्ने, लगानीको वातावरण बनाउने, उत्पादन बढाउने काम गरिरहेका छौं,’ उनले भने । देशको सार्वभौम साख मूल्याङ्कन (क्रेडिट रेटिङ) बीबी माइनस आएपछि अन्तर्राष्ट्रिय जगतले लगानीयोग्य, सुरक्षित देशको रूपमा हेर्न थालेको उनले दाबी गरे । कर तथा भन्सार प्रणालीलाई डिजिटल बनाउँदै महसुल भुक्तानी सहज पारिएको उनको भनाइ छ । नेपाल राष्ट्र बैंकले ब्याजदरलाई घटाउने नीति ल्याएपछि बैंकहरूको ब्याजदर एकल अंकमा झरिसकेकाले उद्योग, व्यापार, र स्टार्टअपहरूका लागि राम्रो अवसर रहेको उनले जनाए । प्रतिनिधिसभा सांसद पुनले विगत सरकारले विश्वविद्यालय, संस्थान आदिमा कायम गरेको मेरिटोक्रेसीप्रति वर्तमान सरकारले ध्यान नदिएको, दलीयकरण र हस्तक्षेप गरेको तथा ती निकायहरूमा व्यावसायिक दक्षताको आधारमा काम गर्ने वातावरण नरहेको बताउँदै सरकारले त्यसलाई सुधार गर्न के कस्तो सोच बनाएको छ भन्दै प्रश्न गरेका थिए । उक्त प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘मेरिटोक्रेसी आलंकारिक भाषणको विषय नभई शब्दको राम्रो पोशाक लगाएर मेरिटोक्रेसी हुने भए आज विश्वविद्यालयमा जे भइरहेको छ, त्यस्तो हुन्थ्यो र ? बाहिर शब्दको राम्रो पोशाक देखाउने र भित्र अर्कै गर्ने भइरहेको थियो, आज त्यसको परिणाम विश्वविद्यालय र हाम्रा संस्थाहरूले भोगिरहेका छन् । हामी त्यस्ता संस्थाहरूमा व्यावसायीक दक्षतालाई नै मुख्य योग्यता बनाउने गरी काम अगाडि बढाइरहेका छौं ।’ ‘दुई तिहाई बहुमतको दाबी गर्ने सत्तापक्षले संसदमा बहुमत गुमाइसकेको हो र ? कि संसदको गरिमालाई होच्याउने नियतले त्यस्ता कुरा गर्नुभएको हो ?’ भन्ने पुनको प्रश्नमा प्रधानमन्त्रीले भने, ‘२०८० वैशाख २० गतेको दिन सम्झन उहाँलाई आग्रह गर्दछु र त्यस दिन उहाँ आफै सम्मिलित सरकारले संसद् सुरु हुनुभन्दा चार दिन अघि अध्यादेश ल्याएको थियो । अध्यादेश ल्याउने अधिकार उहाँ सम्मिलित सरकारलाई मात्रै थियो भन्ने हो भने बेग्लै कुरा । तर आवश्यक पर्दा सरकारले अध्यादेश ल्याउन सक्ने व्यवस्था संविधानले नै गरेको छ । हामीले नागरिकलाई सेवा प्रवाहमा छरितोपन ल्याउन, लगानीको वातावरण बनाउन र अर्थतन्त्रका समस्या हटाएर सुधार तर्फ लैजान अध्यादेश ल्याउनु परेको थियो, जुन संसदमा दर्ता भइसकेका छन् । प्रक्रियाबाट नै यी पारित पनि हुन्छन् ।’ त्यस्तै, पूर्वअर्थमन्त्री प्रकाशशरण महत अध्यादेशमार्फत आएका केही कानुनी सुधारले लगानीको वातावरण निर्माण गर्न केही मद्दत पुग्ने अपेक्षा गरिएको बताए । तर, मौद्रिक नीतिमा थप सुधार र सरकारी खर्चलाई उत्पादनमूखी र परिमाणमुखी बनाउन लोकप्रियवादको सट्टा व्यावहारिक र दिगो विनियोजनको आवश्यक रहेको उनको भनाइ छ । उनले अनावश्यक संरचना र फजुल खर्च कम गर्न जरुरी रहेको बताए । आउँदो बजेटमा प्राथमिकतामा आधारित परिणाममुखी विनियोजनका लागि के कस्तो तयारी हुँदैछ ? साथै समग्र अर्थतन्त्रलाई चलायमान बनाउने आवश्यक दोस्राे चरणको आर्थिक सुधारका बारे सरकारले के सोचेको छ ? भन्दै प्रश्न गरे । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई प्राथमिकतामा आधारित र परिणाममुखी बनाउन तथा आर्थिक सुधारका कार्यक्रमहरू सञ्चालन गरी अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्न, विकास निर्माणका गतिविधिलाई तीव्रता दिन, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले बताए । चालु खर्चमा मितव्ययीता कायम गर्दै पूँजीगत खर्चमा वृद्धि तथा आयोजना कार्यान्वयनमा सुधार गर्न बजेट तर्जुमा गर्दा एवम् आयोजना छनौट तथा प्राथमिकीकरण गर्दा आयोजना बैङ्कमा प्रविष्टी भएको, क्षेत्रगत प्राथमिकतामा परेको, लगानीको स्रोत सुनिश्चितता भएको, छोटो समयमा प्रतिफल दिने, आयोजना वर्गीकरण मापदण्ड बमोजिम आयोजनाको सम्पूर्ण पूर्व तयारीका काम सम्पन्न भएका आयोजना मात्र छनौट गर्ने व्यवस्था मिलाइने उनको भनाइ छ । यसैगरी, आयोजना कार्यान्वयनमा शिघ्रता ल्याउन, ठेक्का व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न, सार्वजनिक खरिद कानुनमा सामयीक संशोधन गर्न र अन्तर-तह तथा अन्तर-निकाय समन्वय कायम गर्न संयन्त्रहरूलाई क्रियाशील बनाइने प्रधानमन्त्री ओलीले बताए । हालै जारी अध्यादेशमार्फत आएका नीतिगत र कानुनी सुधारले व्यावसायीक वातावरणमा सुधार आउने तथा लगानी अभिवृद्धि भई आर्थिक गतिविधि बढ्ने विश्वास लिएको उनले बताए ।

नुवाकोटमा नि:शुल्क स्वास्थ्य शिविर, २५० महिलाले गराए पाठेघरको जाँच 

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रीन, बेलकोटगढी नगरपालिका वडा न. ३, लायन्स क्लब अफ काठमाडौं विष्णुमती, लायन्स क्लब अफ काठमाडौं इनोभेसनको संयुक्त आयोजनामा  बेलकोटगढी नगरपालिका वडा न. ३  को कुमरी स्वस्थ्य चौकीमा नि:शुल्क स्वास्थ्य शिविर  सञ्चालन भएको हो । शिविरमा २५० जनाको स्वास्थ्य परीक्षण गरिएको लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रीनले जनाएको छ । शिविरमा १० जना महिलाको रिङ प्रेसरी राखिएको छ भने केही महिलालाई अप्रेसन गर्न सल्लाह दिइएको छ ।  शिविरमा पाठेघरको मुखको क्यान्सरको परीक्षण गरी औषधी वितरण गरिएको छ भने थप उपचारको लागि रिफर गरिएको छ । डा. प्रनिश पोखरेलले थापाथली अस्पतालमा निःशुल्क अप्रेसन गरिने जानकारी दिए ।   स्वास्थ्य शिविरमा बोल्दै वडाअध्यक्ष कौशिला पुडासैनीले आफ्नो वडाका महिलाहरू धेरै समस्या लुकाएर बसेको थाहा भएको बताइन् । उनले भनिन्, ‘यति धेरै समस्या लुकाएर बस्नु भएको रहेछ, आज यो शिविरमा उहाँहरूको रोगको पहिचान भयो खुसी छु ।’  लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रिन अध्यक्ष कल्पना बस्नेतले यो शिविरले नुवाकोटका महिला दिदीबहिनीहरूले नि:शुल्क पाठेघरको मुखको क्यान्सरको परीक्षण गराएको बताइन् । ‘महिला दिदीबहिनीहरूले आफूमा समस्या हुँदा पनि लाज, आार्थिक अभाव र जनचेतनाको कमीले गर्दा समस्या लिएर बस्नु भएको रहेछ,’ उनी भन्छन्, ‘यस क्याम्पमा उनीहरूले स्वास्थ्य सेवा पाएकोमा  खुसी व्यक्त गर्नुका साथै स्वास्थ्य जनचेतनासम्बन्धी कार्यक्रमहरू गर्न आवश्यक छ ।’ स्वास्थ्य शिविरमा वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. प्रनिश पोख्रेल, डा. रोमन बोगटी, डा. दुर्गा मिश्र ,बागमती प्रदेश स्वास्थ्यका नीति तथा योजनाका विज्ञ,नर्सिङ अधिकृत शान्ता सापकोटा, प्यारामेडिक बबिता बस्नेत लगायत सिद्धार्थ एभरग्रीनका सदस्यहरूको समेत सक्रिय सहभागिता रहेको थियो । लायन्स क्लब इन्टरनेशनल ३२५ आइ का जोन २६ का जोन चियरपर्शन गणेश बहादुर सुनामको पनि सहभागिता थियो । 

ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्सले प्राथमिक सेयर निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । इन्स्योरेन्सले हाल कायम पुँजीको ३० प्रतिशत सेयर जारी गर्ने भएको हो । कम्पनीले २२ करोड ५० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका कूल २२ लाख ५० हजार कित्ता सेयर बिक्री गर्नेछ । आईपीओ निष्काशन प्रक्रिया अघि बढाउन बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ । सेयर निष्काशन सम्बन्धी सम्झौता पत्रमा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) उज्वल ढुङ्गाना र बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरे । विसं २०८० साल चैतदेखि ट्रष्ट माइक्रो इन्स्योरेन्सले लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ ।

विश्वकै सबैभन्दा धनी परिवारमध्ये एक अल-थानी, यस्तो छ कतारी शेखको जीवनशैली

आफ्नी बहिनी शेखा हिन्द बिन्त हमद बिन खलिफा अल-थानीसँग तमीम । फाइल तस्बिर । काठमाडौं । कतारका अमीर शेख तमीम बिन हमद अल-थानीले भारत भ्रमण गर्दैछन् । लगभग एक दशकपछि उनको यो पहिलो भारत यात्रा हुनेछ । यस भ्रमणका क्रममा ऊर्जा सहकार्य र पश्चिम एशियाको राजनीतिक विषयमा विशेष छलफल हुने अपेक्षा गरिएको छ । यस भ्रमणको उद्देश्य व्यापार, लगानी र प्रविधि क्षेत्रमा भारत-कतार सम्बन्धलाई थप सुदृढ बनाउने रहेको छ । ३३५ अर्ब नेट वर्थ कतारको अल-थानी परिवार विश्वकै धनी परिवारमध्ये एक हो । यस परिवारको नेटवर्थ लगभग ३३५ अर्ब रहेको अनुमान छ । लन्डनको प्रसिद्ध शर्ड बिल्डिङ र हार्राेड्स लक्जरी डिपार्टमेन्ट स्टोर पनि यस परिवारको स्वामित्वमा छ । साथै जर्मनीको अटोमोबाइल कम्पनी फक्सवागन र ब्रिटिश एयरवेजमा समेत उनीहरूको ठूलो लगानी रहेको छ । कतारमा सर्वोच्च शासकलाई अमीर भनिन्छ । अहिलेसम्म अल–थानी परिवारका ११ जना सदस्य यो पदमा रहिसकेका छन् । शेख तमीम बिन हमद अल-थानी २०२३ मा कतारका अमीर बनेका थिए । लक्जरी जीवनशैली ३ जुन १९८० मा जन्मेका शेख तमीम पूर्व–अमीर हमद बिन खलिफा अल–थानीका चौथो छोरा हुन् । उनले आफ्नो प्रारम्भिक शिक्षा लन्डनको प्रसिद्ध हैरो स्कूलमा लिए । त्यसपछि इङ्ल्यान्डको रोयल मिलिट्री एकेडेमीबाट १९९८ मा स्नातक गरे । कतार फर्किएपछि उनलाई कतार आर्मीमा सेकन्ड लेफ्टिनेन्ट बनाइयो । शेख तमीमकी तीन श्रीमतीबाट १३ सन्तान छन् । उनी दोहा रोयल प्यालेसमा बस्छन्, जसको अनुमानित मूल्य १ अर्ब डलर छ । यस महलमा १०० भन्दा बढी भव्य कोठा छन् । महलमा ५०० कार पार्क गर्न सकिन्छ । साथै महलको केही भाग सुनले कोटिङ गरिएको छ। शेख तमीम आफ्नो लक्जरी जीवनशैलीका लागि प्रख्यात छन् । उनीसँग करिब ४० मिलियनको १२४ मिटर लामो याच छ । जसमा हेलिप्याड, ३५ र ९० क्रू सदस्यहरूका लागि सुविधा उपलब्ध छ । लक्जरी कारहरूको ठूलो सङ्ग्रह अल–थानी परिवारसँग कतार अमीरी एयरलाइन्सको समेत स्वामित्व छ । १९७७ मा विशेष रूपमा शाही परिवारका लागि स्थापना गरिएको यस एयरलाइन्ससँग ३ वटा बोइङ ७४७ विमानसहित १४ वटा निजी विमानहरू छन् । शेख तमीमसँग बुगाटी, फरारी, ल्याम्बोर्घिनी, रोल्स रोयसजस्ता ब्रान्डका कारहरू सामेल छन् । कतारलाई विश्वका सबैभन्दा धनी राष्ट्रमध्ये एक मानिन्छ । यहाँको प्रति व्यक्ति वार्षिक आय १ लाख १४ हजार ६४८ डलर रहेको छ, जसअनुसार कतार विश्वमा पाँचौं धनी देशको सूचीमा पर्दछ । नेपाल पनि आएका थिए तमिम गत वैशाखमा कतारका शेख तमिम दुईदिने राजकीय भ्रमणको सिलसिलामा काठमाडौं आएका थिए । नेपाल र कतारबीच २१ जनवरी १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारका अमीरको यो पहिलो नेपाल भ्रमण थियो । नेपालले २१ जुलाई २००० मा दोहामा राजदूतावास स्थापना गरेको थियो । त्यस्तै, कतारले सन् २०११ मा काठमाडौंमा राजदूतावास स्थापना गरेको थियो ।

डिजिटल भुक्तानीमा पहिलो मर्जर, खल्ती र आइएमई पेले गरे सम्झौता

काठमाडौं । डिजिटल भुक्तानीसेवा प्रदायक कम्पनीहरू पनि मर्जरमा जाने भएका छन् । भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती प्रालि (खल्ती) र आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) मर्जरमा जाने भएका हुन् । खल्ती र आइएमई पेबीच हुने मर्जर प्रक्रिया भुक्तानी सेवा प्रदायकहरूमै पहिलो हो । खल्ती र आइएमई पे मर्जरमा जानका लागि आइतबार प्रारम्भिक सम्झौता भएको हो । मर्जरपछि बन्ने कम्पनीको नाम आइएमई खल्ती रहेनछ । हाल खल्तीको चुक्ता पुँजी ५ करोड रुपैयाँ रहेको छ भने आइएमई पे को चुक्ता पुँजी ३० करोड रुपैयाँ छ । साथै मर्जरको प्रारम्भिक सम्झौता स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाइएको छ । आइएमई पेले विसं २०७४ असार ५ गते इजाजतपत्र (लाइसेन्स) पाएको थियो भने खल्तीले विसं २०७६ बैशाख २ गते पाएको हो । आइएमई पेमा आइएमई ग्रुपको लगानी छ भने खल्तीमा अमित अग्रवाल, ध्रुव अधिकारी, अरविन्द शाह र मनिष मोदीसहित अन्य ३ जनाको लगानी रहेको छ । मर्जरका माध्यबाट थोरै कम्पनी बनाएर सेवालाई गुणस्तरीय दिन मर्जर गराउन चाहेको नेपाल राष्यट्र बैंकका सहयाक सूचना अधिकारी डा. भागवत आचार्यले बताए । मर्जरमा लाने र थोरै कम्पनीले गुणस्तरीय सेवा दिने राष्ट्र बैंकको नीति रहेको उनको भनाइ छ । हाल नेपालमा २६ वटा डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी सञ्चालनमा रहेका छन् ।  हाल सञ्चालनमा रहेका डिजिटल भुक्तानी वालेट कम्पनीहरूमध्ये खल्तीले २५ प्रतिशत र आइएमई पेले १५ प्रतिशत बजार हिस्सा ओगटेको बताइन्छ ।  हाल सञ्चालनमा रहेका डिजिटल भुक्तानी वालेट कम्पनीहरूमध्ये ईसेवा बाहेक अन्य सबै वालेट कम्पनीहरु घाटामा सञ्चालन छन् ।

आगलागी र डढेलोबाट हुने सम्भावित जोखिमको विषयमा सरकार संवेदनशील छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगलागी र डढेलोबाट हुने सम्भावित जोखिमको विषयमा सरकार संवेदनशील रहेको बताएका छन् । प्रतिनिधि सभाको आइतबारको बैकठमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले हिउँदे वर्षामा आएको कमी र बढ्दो तापक्रमका कारण विगत भन्दा चाँडै डढेलो तथा आगलागीका घटनामा भइहेको वृद्धिलाई मध्यनजर गरी सकेसम्म यस्ता घटना हुन नदिने कुरामा सरकार गम्भीर रहेको बताए । भइहाले सो को नियन्त्रण र न्यूनीकरणका लागि सबै जिल्लामा डढेलो तथा आगलागी नियन्त्रण पूर्व तयारी तथा प्रतिकार्य योजना बनाई कार्य गर्न निर्देशन दिइरहेको जानकारी दिए । ‘हिउँदे वर्षामा आएको कमी र बढ्दो तापक्रमका कारण विगत भन्दा चाँडै डढेलो तथा आगलागीका घटनामा भइरहेको वृद्धिलाई मध्यनजर गरी सकेसम्म यस्ता घटना हुन नदिने र भैहालेमा सो को नियन्त्रण र न्यूनीकरणका लागि सबै जिल्लामा डढेलो तथा आगलागी नियन्त्रण पूर्व तयारी तथा प्रतिकार्य योजना बनाई कार्य गर्न निर्देशन दिइएको छ,’ उनले भने । प्रधानमन्त्री ओलीले नियोजितरुपमा वन डढेलो लगाउने व्यक्तिलाई प्रचलित कानून बमोजिम कारबाही गर्ने बताउनु भयो ।

सरकारले तोकेको न्युनतम पारिश्रमिक र सेवा सुविधा दिनुपर्ने मागसहित अस्पतालका कर्मचारी आन्दोलित

काठमाडौं । काठमाडौंको मिनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालका दैनिक ज्यालादारी कर्मचारीहरु सरकारले तोकेको न्युनतम पारिश्रमिक र सेवा सुविधाको माग राख्दै आन्दोलनमा उत्रिएका छन् । अस्पताल स्थापनाकालदेखि दैनिक ज्यालादारी कर्मचारीको सेवा सुविधा एवं अन्य सेवा सुविधा बढाउन माग गर्दै आन्दोलनमा उत्रिएको राष्ट्रिय स्वास्थ्यकर्मी श्रमिक संगठनका केन्द्रीय अध्यक्ष केशव रोकायाले बताए । स्वास्थ्य क्षेत्रको काम सम्मान जनक भएको उल्लेख गर्दै उनले सम्मानजनक सेवा सुविधा दिनुपर्ने बताए । आठ घण्टा काम गर्ने र चार घण्टा काम गर्ने कर्मचारीहरुले एउटै प्रकृतिको सेवा सुविधा पाउने गरेको उल्लेख गर्दै त्यस्तो नगर्न समेत आग्रह गरे । दैनिक ज्यालादारीमा काम गर्ने कर्मचारीको हकमा उमेरको हदबन्धी लाग्ने गरेर सेवा सुविधा थप गर्नुपर्ने उनको माग छ । ‘अहिलेको आन्दोलनको मुख्य उद्देश्य भनेको यो अस्पताल स्थापना भएदेखि ज्यालादारीमा काम गरिरहेका कर्मचारीहरुको न्यूनतम पारिश्रमिकभन्दा बढाइदिनुपर्ने र सेवा सुविधा बढाउनका लागि हो । सम्मानजनक कामको प्रकृति भएको हुनाले पारिश्रमिक पनि सम्मानजनक हुनुपर्छ,’ उनले भने । निजामति कर्मचारी अस्पतालको रेडियोलोजी डिपार्टमेण्टका कर्मचारी पंख वि.क.ले दैनकि ज्यालादारीमा काम गर्ने कर्मचारीहरुलाई काम मात्र गराउने तर सेवा सुविधा केही पनि दिने नगरेको आरोप लगाए । सरकारी मापदण्डअनुसार सेवा सुविधा नदिने र निर्देशकपिच्छे आफ्ना कर्मचारी नियुक्ति गर्ने प्रवृत्ति बढेकोले आन्दोलनमा उत्रिनुपरेको बताए । आफ्ना मागहरु सम्बोधन नभएर प्रधानमन्त्री कार्यालय घेर्नेसम्मका चेतावनीहरु दिएका छन् । आन्दोलित कर्मचारीहरुले मुख्यतः अस्पतालको विनिमावलि/गठन आदेश तत्काल संसोधन गर्नुपर्ने, जोखिम भत्ता र सामाजिक सुरक्षा कोषको तत्काल व्यवस्था गर्नुपर्ने, कार्यरत कर्मचारीहरुलाई श्रेणी र तह बमोजिम पारिश्रमिक र सेवा सुविधाको व्यवस्था गर्नुपर्ने लगायत माग राखेका छन् ।

बजाज एन २५० को लन्चसँगै स्पीड फेस्ट २०२५ सम्पन्न

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो बाइक उत्सव स्पीड फेस्ट २०२५ सम्पन्न भएको छ । मोटरसाइकल प्रेमीहरूको उत्साहजनक उपस्थिति रहेको यस इभेन्टमा ७० भन्दा बढी सुपरबाइक प्रदर्शनी, ग्रान्ड बाइक र्‍याली, टेस्ट राइड सेसन, नेपालका चर्चित ब्याण्डहरू द एलिमेन्टस् र रकहेड्सको प्रत्यक्ष सांगीतिक प्रस्तुति लगायत विभिन्न रोमाञ्चक कार्यक्रमहरू समावेश थिए । उक्त फेस्टमा बजाजको एन २५० मोडल लन्च गरिएको थियो, जसले इभेन्टमा थप आकर्षण थपेको थियो । त्यसैगरी, यस वर्षको स्पीड फेस्टमा हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिद्वारा वितरित बजाज, केटीएम डुक र ट्रायम्फ ब्रान्डका मोटरसाइकलहरूको विशेष सहभागिता रहेको थियो । बजाज एन २५०ः शक्ति, प्रदर्शन र नवीनताको प्रतीक बजाज एन २५० को भव्य लन्च स्पीड फेस्ट २०२५ को प्रमुख आकर्षण बन्न सफल रहेको थियो । यो मोटरसाइकलमा पावर, आधुनिक प्रविधि र परिष्कृत डिजाइनको उत्कृष्ट संयोजन रहेको छ । बजाज एन २५० मा २४.५ पिएस पावर दिने २४९ सीसी सिंगल–सिलिन्डर, फ्युल–इन्जेक्टेड, आयल-कुल्ड इन्जिन समावेश गरिएको छ । यसमा डुअल च्यानल एबीएस, सुधारिएको चेसिस, एलईडी हेडलाइट, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र अपग्रेडेड एग्जस्ट सिस्टम रहेको छ, जसले बाइकलाई थप स्टाइलिश र सुरक्षित बनाउँछ । बजाज एन २५० को लन्चले बाइकप्रेमीहरूलाई नयाँ प्रविधि र डिजाइनका मोटरसाइकल अनुभव गर्ने अवसर पनि प्रदान गरेको थियो। स्पीड फेस्ट २०२५ ले मोटरसाइकल संस्कृति प्रवर्द्धन गर्न सफल भएको आयोजकहरूले बताएका छन् । हंसराज हुलासचन्द एण्ड कम्पनीले भविष्यमा पनि यसरी नै नेपाली बाइकप्रेमीहरूका लागि नवीनतम प्रविधि र रोमाञ्चक इभेन्टहरू ल्याउने प्रतिबद्धता जनाएको छ ।