सुनको मूल्य तोलामा एक हजार दुई सय बढ्यो
काठमाडौं । सुनको मूल्य तोलामा एक हजार दुई सय बढेको छ । आइतबार प्रतितोला एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ६८ हजार सात सय रुपैयाँमा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार नौ सय ७० रुपैयाँमा खरिदबिक्री हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बगरमा प्याज खेती गर्दै किसान
टीकापुर । कैलालीको टीकापुर-८ अरुणाफाँटाका किसानले कर्णाली नदीको बगरमा प्याजखेती गर्दै आएका छन् । यस वर्ष करिब ५० जना किसानले बगरमा प्याजखेती गरेका छन् । कर्णाली नदीको किनारामा विगत तीन वर्ष केही किसानले प्याजखेती गर्दै आएको भए पनि यसवर्ष धेरै किसानले प्याजखेती गरेको स्थानीयको भनाइ छ । माटोमा भन्दा बालुवामा प्याज उत्पादन राम्रो हुने भएपछि फाँटाका किसानले बगरमा प्याजखेती गर्न लागेको बताएका छन् । तीन वर्षदेखि बगरमा प्याजखेती गर्दै आएका स्थानीय सहिबहादुर चौधरीले यसवर्ष ८६ किलो प्याजको बीउ लगाएको बताए । ‘गतवर्ष २० किलो प्याजको बेर्ना लगाएर तीन क्विन्टल प्याज उत्पादन भयो’, चौधरीले भने, ‘गत वर्ष बेर्ना राम्रो भएन, पहिलो पटक १३ किलो बेर्ना लगाएर पाँच क्विन्टल उत्पादन भएको थियो ।’ यसवर्ष अढाइ कठ्ठामा खेती गरेको उनको भनाइ छ । ‘सुरुमा हामी एक दुई जनाले खेती गथ्र्यौँँ अहिले पूरै गाउँ प्याज खेतीमा लागेको छ’,चौधरीले भने,‘सुरु सुरुमा साँझ बिहान सिँचाइ गर्नुपर्छ, हुर्केपछि धेरै मेहनत गर्नुपर्दैन ।’ विगतमा भारतीय व्यापारीले त्यहाँ लौका र खर्बुजा खेती गर्ने गरेका थिए । स्थानीयले प्याजखेती गर्दा जग्गा खाली नभएपछि भारतीय किसान आउन छाडेको स्थानीयको भनाइ छ । गत वर्ष ६ किलो बेर्ना लगाएर डेढ क्विन्टल बढी प्याज उत्पादन गरेको रामदुलारी चौधरीले बताए । ‘पोहोरसाल ६ किलो प्याजको बेर्ना लगाएको थिए, यसवर्ष १६ किलो बेर्ना लगाएका छौँ’, रामदुलारीले भने, ‘पोहरसाल एक क्विन्टल २० किलो बिक्री गरेको थिए, बाँकी आफन्तलाई दियौँं र घरमा खायौँ ।’ ‘बालुवामा प्याज ठूला ठूला दाना लाग्छन्,५-६ दाना हालेपछि एक किलो पुग्छ’, रामदुलारीले भने,‘पानी बढी चाहिन्छ, पानी नदीमा भएका कारण समस्या छैन ।’ प्याजखेती गर्दा किसानले गोबर मलसहित जिन्क, पोटास र यूरिया प्रयोग गर्ने गरेको बताउँछन् । बालुवामा सिँचाइ गरेपनि सुक्ने भएकाले सुरुका दिनमा दैनिक तीन पटक सिँचाइ गर्नुपरेको किसानको भनाइ छ । बालुवामा प्याज उत्पादन बढी हुन्छ भनेर यस पटकबाट बगरमा प्याजखेती सुरु गरेको टीकापुर–८ वनगाँउका किसान हिक्मत ठकुल्लाले बताए । ठकुल्लाले पहिलो पटक १६ किलो बेर्ना लगाएको बताउँदै पहिलो पटक अनुभव लिन लागेको बताए । ‘फाँटा गाउँका किसानले लगाएको देख्दा मैले पनि खेती गरेको छु, सिँचाइ बढी गर्नुपर्ने रहेछ’, ठकुल्लाले भने,‘मसँग त अरु खेत पनि छ तर बगरमा राम्रो फल्छ भनेर यतातिर लागेको हुँ ।’ प्याज खेतीको लागि खुकुलो माटो उपयुक्त हुने भएकाले राम्रो उत्पादन भएको हुनसक्ने जानकी गाउँपालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरीले बताए । ‘हामीले बगरमा कृषि खेतीगर्नुहोस् भनेर सिफारिस गर्दैनौँ तर प्याजका खेतीका लागि खुकुलो माटो चाहिन्छ’ चौधरीले भने । फाँटा गाउँका किसानले प्याजखेती बढाएपछि किसान बगरको प्याजखेती हेर्न आउने गरेको स्थानीय समाजसेवी शेरबहादुर साउदले बताए । ‘अहिले दैनिकजसो अन्यत्रका किसान यो प्याजखेती हेर्न आउँछन्’, साउदले भने, ‘यसरी सफल हुँदै गयो, भने कर्णालीको बगर हिउँदमा खाली हुँदैन ।’ बगरमा प्याजखेती सफल हुँदैगएमा टीकापुर नगरपालिकाको वडा नम्बर ५, ६ र ७ का किसानले पनि खेती गर्ने अवसर पाउनेछन् । रासस
ललितपुर महानगरभित्र निर्माण भएका भवनको अभिलेखीकरण अनिवार्य गर्नुपर्ने
काठमाडौं । ललितपुर महानगरपालिकाले नगरभित्रका स्वीकृत नक्सामा हेरफेर परिवर्तन वा थपघट गरी निर्माण भएका संरचनाको नियमित/अभिलेखीकरण गर्ने भएको छ । महानगरले सूचना जारी गरी भवन नियमित/अभिलेखीकरण ऐन २०८१’ अनुसार निर्माण भएका संरचनाको नियमित/अभिलेखीकरण गर्ने जनाएको हो । महानगरका अनुसार २०८१ फागुन ११ गतेदेखि तीन महिना अर्थात २०८२ जेठ ७ गते कार्यालय समयभित्रमा उक्त ऐन, भवन निर्माण मापदण्ड तथा राष्ट्रिय भवन संहिता बमोजिम निर्माढा भएका वा सो मा हेरफेर गरी निर्माण भएका संरचनाको नियमित अभिलेखीकरण गर्नुपर्ने छ । नियमित/अभिलेखीकरणका लागि विभिन्न कागजात संलग्न गरी हार्डकपी एक सेटसहित विद्युतीय माध्यम प्रणालीमार्फत निवेदन पेश गर्नुपर्ने छ । नियमित/अभिलेखीकरणका लागि जग्गाधनी प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत/घरजग्गा कर तिरेको रसिदको प्रतिलिपि, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, कित्ता नम्बर स्पष्ट भएको नापीको प्रमाणित नक्सा, जग्गाको साइट प्लान, भवनको सबै तलाको साइट प्लानलगायत काजगात पेश गर्नुपर्ने महानगरले जनाएको छ । संस्थागत भवनको हकमा उद्योग दर्ता प्रमाणपत्र, कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि, प्रबन्धपत्र तथा नियमालीको प्रतिलिपि, महानगरपालिकामा व्यवसाय दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि र संस्थाको निर्णय प्रतिलिपि पेश गर्नुपर्ने हुन्छ ।
‘चन्द्रागिरि नगपालिकाले हाँसिल गरेका असल अभ्यास अनुकरणी छन्’
काठमाडौं । नेपाल भ्रमणमा रहेको विश्व बैंकका दक्षिण एशियाका क्षेत्रीय निर्देशक म्याथ्यु भर्गिससहितको उच्च प्रतिनिधिले चन्द्रागिरि नगरपालिकाले सम्पादन गरिरहेको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सम्पदा तथा संस्कृति संरक्षणलगायत प्रविधिमैत्री सेवा प्रवाहको उच्च प्रशंसा गरेका छन् । योजना तर्जुमा, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन मूल्याङ्कन तथा लेखापरीक्षण र राजस्व व्यवस्थापनमा संलग्नता र सहभागिता टोलीले सरहाना गर्दै नेपालमा सङ्घीयता कार्यान्वयनपछिको तीन तहका सरकाबीचको समन्वय र सहकार्यका बारेमा जिज्ञासासमेत राखेको थियो । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ, नगरप्रवक्ता कृष्णप्रसाद खड्गी, वडाध्यक्ष एवं कार्यवाहक प्रशासकीय अधिकृत सुजनराज खनाल, आर्थिक प्रशासन शाखा प्रमुख महेशदत्त भट्ट, मानव संशाधन तथा आन्तरिक व्यवस्थापन (प्रशासन) शाखा दामोदर रिजालसहित विभागीय प्रमुखसँग सो उच्चस्तरीय टोलीले आइतबार चन्द्रागिरि नगरपालिकामा छलफल गरेको थियो । छलफलमा नगर प्रमुख गिरीले नगरपालिकाले सम्पादन गरिरहेको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सम्पदा तथा संस्कृति संरक्षणलगायत प्रविधिमैत्री सेवा प्रवाहका बारेमा प्रस्तुति गर्दै दिगो विकास लक्ष्य हासिल गर्न उच्च प्राथमिता दिएको बताए । उनले भने, ‘विद्युतीय सुशासन, विपद् व्यवस्थापन, वातावरण र फोहरमैला, सहरी सुरक्षा, उत्पादन, रोजगारी तथा बजारीकरण जस्ता क्षेत्र प्राथमितामा छन् । स्वच्छिक स्थानीय मूल्याङ्कन प्रतिवेदन संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत भइसकेको छ । ‘ विश्व बैंकका दक्षिण एशियाका क्षेत्रीय निर्देशक भर्गिसले चन्द्रागिरि नगरपालिकाले सम्पादन गरिरहेको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सम्पदा तथा संस्कृति संरक्षणलगायत प्रविधिमैत्री सेवा प्रवाहको अनुभव अन्यत्रका लागि अनुकरणीय हुने बताए । उनले भने, ‘नेपाल भ्रमणका क्रममा चन्द्रागिरि नगरपालिकाका गतिविधिकाबारेमा जानकारी लिन पाउनु मेरो लागि ऐतिहासिक क्षण रहेको छ ।’
यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलरको मूल्य स्थिर छ । यूरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलरको मूल्य बढेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ २२ पैसा, युरोपियन युरो एकको खरिदर एक सय ४५ रूपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ४६ रूपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । त्यसैगरी युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रूपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ७५ रूपैयाँ २३ पैसा कायम गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रूपैयाँ १२ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ७८ पैसा तय गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ०५ पैसा र बिक्रीदर ८८ रूपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ७३ पैसा र बिक्रीदर ९८ रूपैयाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रूपैयाँ ४९ पैसा र बिक्रीदर एक सय तीन रूपैयाँ ९३ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ । जापानी येन १० को खरिददर नौ रूपैयाँ १० पैसा र बिक्रीदर नौ रूपैयाँ १४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ११ पैसा र बिक्रीदर १९ रूपैयाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रूपैयाँ १२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ दुई पैसा र बिक्रीदर ३८ रूपैयाँ १९ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १२ पैसा र बिक्रीदर चार रूपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ७४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ २६ पैसा र बिक्री दर ३१ रूपैयाँ ३९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ६२ पैसा र बिक्रीदर नौ रूपैयाँ ६६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ९६ पैसा र बिक्रीदर १३ रूपैयाँ दुई पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ४९ पैसा र बिक्री दर १९ रूपैयाँ ५८ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८१ पैसा र बिक्रीदर १७ रूपैयाँ ८८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४९ रूपैयाँ १९ पैसा र बिक्रीदर चार सय ५१ रूपैयाँ १३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६७ रूपैयाँ ७८ पैसा र बिक्रीदर तीन सय ६९ रूपैयाँ ३७ पैसा र ओमनी रियाल एकको खरिददर तीन सय ६० रूपैयाँ ०४ पैसा र बिक्रीदर तीन सय ६१ रूपैयाँ ६० पैसा निर्धारण भएको छ । त्यसैगरी भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख छ ।
चिनियाँ वैज्ञानिकद्वारा मुटुको स्वास्थ्य बढाउने चामल उत्पादन
काठमाडौं । चिनियाँ वैज्ञानिकहरूले जीन सम्पादन प्रयोग गरेर कोएन्जाइम सिओक्यु १० उत्पादन गर्नसक्ने नयाँ प्रकारको चामल विकास गरेका छन् । जसले उपभोक्ताहरूलाई मुटुको स्वास्थ्यको लागि पोषक तत्वहरू प्रदान गर्दछ । सिओक्यु १० हाम्रो शरीरले प्राकृतिक रूपमा उत्पादन गर्ने एन्टिअक्सिडेन्ट हो । र, यो समग्र स्वास्थ्यको लागि विशेष गरी मुटुको स्वास्थ्यको लागि आवश्यक छ । मानिसहरूको उमेर बढ्दै जाँदा यो बोसो–घुलनशील एन्टिअक्सिडेन्ट उत्पादन गर्ने शरीरको क्षमता घट्दै जान्छ । जसको अर्थ आहारमा अतिरिक्त पूरकहरू थप्नु लाभदायक हुनसक्छ । यद्यपि चामल जस्ता अनाज खाद्य बालीहरू साथै केही तरकारी र फलफूलहरूले मुख्यतया सिओक्यु ९ संश्लेषण गर्छन् ।
यस्तो छ तरकारी र फलफूलको थोक मूल्य
काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी २५, आलु रातो प्रतिकेजी ३४, आलु रातो (भारतीय) प्रतिकेजी ३२, प्याज सुकेको (भारतीय) प्रतिकेजी ८० रहेको छ । गाजर (लोकल) प्रतिकेजी ३५, गाजर (तराई) प्रतिकेजी ३०, बन्दा (लोकल) प्रतिकेजी १५, बन्दा (तराई) प्रतिकेजी १५, बन्दा (नरिवल) प्रतिकेजी १५, काउली स्थानीय प्रतिकेजी १५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी २०, काउली (तराई) प्रतिकेजी १५, मूला रातो प्रतिकेजी ३०, मूला सेतो (लोकल) प्रतिकेजी २५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी २५, भन्टा लाम्चो प्रतिकेजी २५ र भन्टा डल्लो प्रतिकेजी ५० कायम भएको छ । यसैगरी, मटरकोसा प्रतिकेजी ६०, घिउ सिमी (लोकल) प्रतिकेजी ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ४०, घिउ सिमी (राजमा) प्रतिकेजी ११०, टाटे सिमी प्रतिकेजी ४०, तिते करेला प्रतिकेजी १२०, लौका प्रतिकेजी ६०, घिरौला प्रतिकेजी १००, फर्सी पाकेको प्रतिकेजी ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी १५, हरियो फर्सी (डल्लो) प्रतिकेजी १५ कायम भएको छ । भेण्डी प्रतिकेजी ११०, सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी ३५, पिँडालु प्रतिकेजी ९०, स्कूस प्रतिकेजी ४०, रायो साग प्रतिकेजी १५, पालुङ्गो साग प्रतिकेजी ४०, चमसुरको साग ५०, तोरीको साग प्रतिकेजी २५, मेथीको साग प्रतिकेजी ५०, प्याज हरियो प्रतिकेजी ३०, बकुला प्रतिकेजी ६०, तरूल प्रतिकेजी ८०, च्याउ (कन्य) प्रतिकेजी १२० र च्याउ (डल्ले) प्रतिकेजी ३५० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकेजी ३०, चुकुन्दर प्रतिकेजी ६०, सजिवन प्रतिकेजी १८०, रातो बन्दा प्रतिकेजी ६०, जिरीको साग प्रतिकेजी ६०, ग्याठ कोबी प्रतिकेजी ७०, सेलरी प्रतिकेजी ४००, पार्सले प्रतिकेजी ७००, सौफको साग प्रतिकेजी ६०, पुदिना प्रतिकेजी ४००, गान्टे मूला प्रतिकेजी ६०, इमली प्रतिकेजी १६०, तामा प्रतिकेजी १००, तोफु प्रतिकेजी १२० र गुन्द्रुक प्रतिकेजी ३०० तोकेकोे छ । समितिले स्याउ (झोले) प्रतिकेजी २३०, स्याउ (फूजी) प्रतिकेजी ३००, केरा (दर्जन) १५०, कागती प्रतिकेजी १६०, अनार प्रतिकेजी ३२०, अङ्गुर (हरियो) प्रतिकेजी २२०, अङ्गुर (कालो) प्रतिकेजी ३३०, सुन्तला (नेपाली) प्रतिकेजी १८०, सुन्तला (भारतीय) प्रतिकेजी १२०, तरबुजा (हरियो) प्रतिकेजी ५०, मौसम प्रतिकेजी १५० तोकिएको छ । जुनार प्रतिकेजी ११०, भुइँकटहर प्रतिगोटा १८०, काँक्रो (लोकल) प्रतिकेजी १२०, काँक्रो (हाइब्रिड) प्रतिकेजी ४०,ख कटहर प्रतिकेजी ११०, नासपाती (चाइनिज) प्रतिकेजी २४०, मेवा (नेपाली) प्रतिकेजी ६०, मेवा (भारतीय) प्रतिकेजी १००, अम्बा प्रतिकेजी १२०, लप्सी प्रतिकेजी ७०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकेजी ४०० र किबी प्रतिकेजी २५० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकेजी १२०, खुर्सानी सुकेको प्रतिकेजी ४००, खुर्सानी हरियो प्रतिकेजी ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी ५०, भेडेखुर्सानी प्रतिकेजी ६०, लसुन हरियो प्रतिकेजी ६०, हरियो धनिया प्रतिकेजी ४०, लसुन सुकेको चाइनिज प्रतिकेजी ३००, लसुन सुकेको नेपाली प्रतिकेजी ३००, छ्यापी सुकेको प्रतिकेजी १६०, छ्यापी हरियो प्रतिकेजी २५०, ताजा माछा (रहु) प्रतिकेजी ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी २६०, ताजा माछा (छडी) प्रतिकेजी २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी ४५०, राजा च्याउ प्रतिकेजी ३०० र सिताके च्याउ प्रतिकेजी ८०० तोकेको छ ।
पर्यटक भित्र्याउन सडक निर्माण
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका- ३ मा रहेको पर्यटकीयस्थल मुना मालिका जोड्ने सडक निर्माण थालिएको भएको छ । गण्डकी प्रदेश सरकार र धवलागिरी गाउँपालिकाले मुनादेखि मालिका धुरी जोड्ने सडक निर्माण थालेका हुन् । भौगोलिक विकटता र यातायातको असुविधाका कारण ओझेलमा परेको मुना मालिकामा पर्यटक भित्र्याउनका लागि सडक निर्माण गर्न लागिएको धवलागिरी गाउँपालिका- ३ का वडा अध्यक्ष देवेन्द्र रोकाले बताए । ‘गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा विनियोजन गरेको १५ लाख बजेटबाट उपभोक्रा समिति मार्फत मुना देखि साइलाखर्क सम्म दुई किलोमिटर एक सय मिटर सडक निर्माण सकिएको छ’, उनले भने,’गण्डकी प्रदेश सरकारले बिनियोजन गरेको २० लाख बजेटबाट साइलाखर्क देखि मालिका धुरीतर्फ थप तीन किलोमिटर सडक निर्माणका लागि पूर्वाधार विकास कार्यालयले ठेक्का आव्हानको तयारी गरेको छ ।’ दुई योजनामार्फत पाँच किलोमिटर सडक निर्माण भएपछि पाँच घण्टाको यात्राअवधी ४५ मिनेटमा छोटिने वडा अध्यक्ष रोकाले बताए । मुनादेखि मालिका धुरी पुग्न हाल कम्तीमा छ घण्टा जङगलको उकालो बाटोमा पैदलयात्रा गर्नुपर्छ । सडक निर्माण भएपछि एक घण्टा भन्दा कम समय पैदलयात्रा गरेर मालिका पुग्न सकिनेछ । सुर्योदय, हिमशृङखला, पहाडी भूगोल, वन पैदावार, वन्यजन्तुको अवलोकन गर्न सकिने मुना मालिका समुन्द्रि सतहदेखि तीन हजार सात सय मिटर उचाईमा छ । पुथा, गुर्जा, सिस्ने, धौलागिरि, मानापाथी, अन्नपूर्ण, निलगिरि हिमशृङखलाको अवलोकन गर्न सकिने मुना मालिका सुनसान छ । म्याग्दी र बागलुङका बस्तिहरु देखिन्छ । बादल र पहाडको लुकामारी हेर्न पाइन्छ । मुनादेखि मालिका धुरी जाने पदमार्ग दुर्लभ बन्यजन्तु रेडपाण्डा (हाब्रे) को बासस्थान पनि भएको वडा अध्यक्ष रोकाले बताउनुभयो । मुना मालिकामा हरेक वर्षको वुद्धपूर्णिमाका दिन मेला लाग्ने गर्छ । जालिका, मालिका र कालिका देविको थान रहेको छ । वुद्ध पूर्णमाका दिन मुना मालिकामा पुजाआजा गर्नाले मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ । मालिका गाउँपालिकाको देविस्थान र धवलागिरीको मुनाका बासिन्दाहरु यहाँ पुजाआजाका लागि जाने गर्दछन् । पहिले पहिले यहाँ धार्मिक मेला लाग्ने र ठेलो फाल्ने प्रतियोगिता हुने गरेको बुढापाका बताउछन् । यो क्षेत्रमा मुनाका कृषकले गाईभैसी र भेडाबाख्राको गोठ लैजाने चलन थियो । पाहुना, पर्यटक र भक्तजन आश्रयस्थलमा बास बस्छन् । होटल तथा रेष्टुरेन्ट नभएकाले खाने र बन्दोबस्तीका सामान आफै लैजानुपर्ने हुन्छ । यात्राअवधी र बाटो छोट्याउने, आश्रयस्थल बनाउने, चिया पसल सञ्चालन, देविस्थान, ताकमकोत र ढोरपाटनको जलजलासँग मुना मालिकालाई जोडेर पदमार्ग सञ्चालनका लागि सम्भाव्यता अध्ययन भैरहेको धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए । /रासस