विकासन्युज

एलएस अटोको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ फागुन ९ देखि सुरु

काठमाडौं । एलएस अटोको टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प फागुन ९ देखि सुरु हुने भएको छ । एलएस अटोको आधिकारीक विक्रेता नेक्सन भेन्चर प्रालिले चितवनको सीजीआर रिसोर्टमा टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्पको आयोजना गर्न लागेको हो । क्याम्प दुई दिनको हुने आयोजकले जनाएको छ । कम्पनीले एलईभी जिरो वान क्रसओभर इलेक्ट्रिक एसयूभी गाडी नेपाल ल्याएको छ । एलएस अटोले यो वर्ष थप दुई मोडल एलईभी जिरो थ्री र एलईभी जिरो फाइभ लन्च गर्दैछ । यी कारहरू एलएचएस र आरएचएस दुबै अप्सनमा बन्ने भएकोले छिटै नेपालमा समेत आउने जनाइएको छ । एलईभी जिरो थ्री एक प्रिमियम क्रसओभर इलेक्टिक एसयूभी हो भने एलईभी जिरो फाइभ मिडसाइज कम्प्याक्ट एसयूभी हो । एलईभी जिरो वान स्ट्याण्डर्ड र कम्फर्ट गरी दुई भेरियन्टमा भित्रिएको छ । यसमा ६७ किलोवाट आवरको ब्याट्रीप्याक रहेको छ । यो ईभीमा ९९ किलोवाटको फ्रन्टह्वील डाइभ मोटर रहेको छ । यो मोटरले ३२० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ। गाडीमा नेपालको बाटो सुहाउँदो २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ । प्योर इलेक्ट्रिक प्लेटफर्म एलईभी एक्समा बनेको यो ईभीमा ब्याट्रीप्याक पोजिसन साइड बडीभन्दा अझै माथि रहेको छ । यसको ब्याट्रीप्याक र ग्राउण्डबीचको दुरी २२१ एमएमको रहेको छ । चीनको लिडिङ डिजाइन हाउस एलएस अटोले बनाएको यो एसयूभी निकै एरोडाइनामिक रहेको छ । यसले एक पटकको फुल चार्जमा ५४० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ । एलईभी जिरो वानमा होरिजेन्टल डीआरएल, भर्टिकल हेडलाइट सेटअप रहेको छ भने रियरमा सस्पेन्डेड टेललाइट डिजाइन रहेको छ । लेदरेड स्टेरिङ ह्वील तथा सीटकभर, वायरलेस चार्जिङ प्याड, मल्टीकलर एम्बियन्ट लाइट, इलेक्ट्रीक एड्जस्टेबल फ्रन्टसिट, लग्जरी क्याविन स्पेश, हाइटेक ड्यासबोर्ड इन्टरफेस, प्यानारोमिक सनरुफ, इलेक्ट्रीक टेलगेटजस्ता फिचर लोडेड रहेको छ । सुरक्षाका लागि यो ईभीमा ६ वटा एयरब्याग, ट्र्याक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबीलीटी कन्ट्रोल, क्रूजकन्ट्रोल, अटोहोल्ड, हिलअसिस्ट कन्ट्रोल आदि फिचर रहेका छन् । एलएस अटोको बारेमा विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस संघाइ लन्च अटोमोटिभ टेक्नलोजीअन्तर्गतको एलएस अटो एक नयाँ न्यू इनर्जी भेहिकल कम्पनी हो । विगत २५ वर्षदेखि विभिन्न ब्राण्डको अटोमोवाइलको डिजाइन, इन्जिनियरिङ, प्रोटोटाइप विकास तथा ट्र्याल प्रडक्सन जस्ता सम्पूर्ण काम गर्दै आएको छ । कम्पनीले आफ्नै अटोमोवाइल ब्राण्डको इभी तयार गरेको हो । कम्पनीको जियाङ्सी प्रोभियन्समा वार्षिक १ लाख ५० हजार उत्पादन क्षमता भएको आफ्नै फ्याक्ट्री रहेको छ । कम्पनीले युरोपियन बजार लक्षित गर्दै टर्कीमा समेत उत्पादन प्लान्ट बनाउँदैछ । कम्पनीले अहिलेसम्म नेपाल लगायत मोरिसस, टर्की, इजिप्ट, नाइजेरिया कजाकस्थान लगायतका ११ देशमा आफ्नो उपस्थिति जनाइसकेको छ ।

वैदेशिक सहायताको परीक्षण हुनुपर्छ-सांसदहरू

काठमाडौं । विभिन्न राजनीतिक दलका सांसदहरुले नेपालमा भित्रिने वैदेशिक सहायताको परीक्षण गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसदहरुले नेपाल भित्रिने सहायतालाई कडाइका साथ परीक्षण गर्न माग गरेका हुन् । बैठकमा सांसदहरुले सहायता स्वीकार्नु अघि के कामका लागि, लिन वा दिन लागिएको हो त्योबारे परीक्षण गरेर मात्र लिनुपर्ने बताए। अहिले सरकारले स्वीकृति दिएर सञ्चालनमा आएका कार्यक्रम गतिविधिको समेत छानविन गर्न आवश्यक रहेको बताए । बैठकमा नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले सरकारले हाल कति पैसा, कहाँबाट, के कामको लागि लिएको छ त्यसको परीक्षण गर्न माग गरे । बजेटरी प्रणालीमा कति पैसा आउछ र बाहिर कति पैसा खर्च हुन्छ त्यसको लेखा जोखा सार्वजनिक लेखा समितिले गर्नुपर्ने बताए । सहायता लिने विषयामा नेपाल सरकारलाई सचेत गराउन आवश्यक रहेको बताए । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले दातृ निकायले जुनसुकै क्षेत्रमा सहायता दिने र आफु अनुकुलको काम गर्ने विकृतिलाई हटाउन समितिले ठोस काम गर्न आवश्यक रहेको बताए । अमेरिका जस्तो देशले आर्थिक अनुशासन भनेर खर्च कटौति र सहायतामा लगाम लगाए जस्तै नेपालले पनि कडाइ गर्न ढिला गर्न नहुने बताए । वैदेशिक सहायता र खर्चबारे लेखा समितिले चासो देखाउँदै परीक्षण गर्नुपर्ने बताए । नेपाली काँग्रेसका सांसद मोहन बस्नेतले गैरसरकारी संस्थाले चलाएका ठूलो रकमका कार्यक्रमहरु बजेटरी प्रणालीमा ल्याउन माग गरे । धेरै परियोजना बजेटरी प्रणाली भन्दा बाहिरबाट सञ्चालन भइरहेको र ती परियोजनामा चरम लापरबाही र भ्रष्टाचार भएको बताए। गैरसरकारी संस्थाहरुबाट सञ्चालित कार्यक्रमहरु र परियोजनाहरुलाई सरकारको बजेटरी प्रणालीमा ल्याएर सञ्चालन गराउन आवश्यक रहेको बताए। अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि धमाधम त्यस्ता सहायता रोकिरहेका छन् । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत मात्र पनि नेपालमा शिक्षा, स्वास्थ्य, कृषि, उर्जा तथा महिला, बालबालिकालगायत क्षेत्रमा कार्यक्रमहरूमा अमेरिकाले सहायता उपलब्ध गराउँदै आएको थियो । ट्रम्पको कार्यकाल शुरु भएसँगै युएसएआइडी नै बन्द गर्ने निर्णय गरेकाले नेपाल सहित विश्वभर युएसएआइडिमार्फत सञ्चालन हुने कार्यक्रम प्रभावित भएका छन् । गत आइतबार मात्र अमेरिकी सरकारले नेपालको स्थानीय सरकारलाई उपलब्ध गराउँदै आएको सहयोग, जैविक विविधता र लैंगिक समानताको क्षेत्रका सहयोग रद्ध गरेको जानकारी दिएको थियो । नेपालमा सहायता रकम रोकिएसँगै कसले के कामका लागि, कसरी सहयोग लिए भनेर विभिन्न व्यक्ति तथा संस्थाको नाम जोडेर सामाजिक सञ्जाल र मिडियामा समाचारहरु बन्न थालेको छ । यस्ता समाचारहरुको सत्यता परीक्षण नभए पनि दातृ निकायले दिने सहायता बद्नाम हुन थालेको छ ।

कागेश्वरी-मनोहराले नेपाल प्रहरीलाई दियो क्यामेरा, अस्पताल र प्रहरी बिटको लागि जग्गा पनि दिने

कागेश्वरी मनोहरा । कागेश्वरी-मनोहरा नगरपालिकाले नेपाल प्रहरीलाई क्यामेरा सहयोग गरेको छ । मंगरबार नगरपालिकामा एक कार्यक्रमको आयोजना गर्दै कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौंका प्रहरी उपरीक्षक अपिलराज बोहरालाई डीएसएलआर क्यामेरा हस्तान्तरण गरेका हुन् । क्यामेरा हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख कार्कीले प्रहरीको अनुसन्धानलाई अझ सशक्त बनाउँदै शान्ति सुरक्षा कायम गर्न सहकार्य जारी रहने बताए । प्रहरीसँगको सहकार्यले अपराध नियन्त्रण र शान्ति सुरक्षामा उल्लेखनीय योगदान पुर्‍याउने उनले अपेक्षा गरेका छन् । ‘दृश्यात्मक प्रस्तुतीकरणमा क्यामेराको उपयोगले गतिविधिहरूलाई थप प्रभावकारी बनाउने विश्वास छ । प्रहरीको अपराध अनुसन्धानमा सहजीकरण गर्ने उद्देश्यले क्यामेरा प्रदान गरिएको हो,’ नगर प्रमुख कार्कीले भने । सहरी विकास र सार्वजनिक सुरक्षालाई सुदृढ बनाउन कागेश्वरी-मनोहरा नगरपालिकाले अस्पताल र प्रहरी बिटको लागि जग्गा पनि सहयोग गर्ने योजना अघि सारेको छ । नगरप्रमुख उपेन्द्र कार्कीका अनुसार समुदायको स्वास्थ्य सेवा सुधार गर्ने उद्देश्यले अस्पतालको लागि उपयुक्त स्थानमा जग्गा उपलब्ध गराइने छ । साथै शान्ति सुरक्षा प्रवर्द्धन गर्न नगरपालिकाका रणनीतिक स्थानहरूमा प्रहरी बिट निर्माणको लागि पनि जग्गा प्रदान गरिने योजना छ । प्रहरी उपरीक्षक अपिलराज बोहराले अपराध अनुसन्धानमा दृश्य सामग्रीको प्रामाणिकता बढाउन डीएसएलआर क्यामेरा उपयोगी हुने बताए । स्थानीय तहसँगको सहकार्यलाई थप मजबुत बनाउँदै आधुनिक प्रविधिको प्रयोगमार्फत अपराध नियन्त्रणलाई प्रभावकारी बनाइने उनको भनाइ छ । ‘प्रविधिको प्रभावकारी उपयोगले अनुसन्धानको गुणस्तरमा सुधार ल्याउने छ । अपराधको प्रमाणिकरणमा मद्दत पुर्‍याउने विश्वास छ । स्थानीय तहसँगको साझेदारीलाई अझ सशक्त बनाउँदै शान्ति सुरक्षा प्रवद्र्धनको लागि निरन्तर सहकार्य गर्छाैं,’ बोहराले भने ।

सानिमा बैंक र ब्रिटिश इन्टरनेशनलसीबीच २ अर्ब ८ करोड व्यापार ऋण लिने सम्बन्धि सम्झौता

काठमाडौं । सानिमा बैंक लिमिटेड र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पिएलसीबीच १५ मिलियन अमेरिकी डलरको (२ अर्ब ८ करोड ७० लाख) व्यापार ऋण सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुसार प्राप्त ऋण विशेष गरी जलविद्युत् आयोजनाहरूको निर्माणमा प्रयोग हुने हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल उपकरणहरूको आयात तथा निर्माण प्रक्रियाका लागि कच्चा पदार्थहरूको खरिदमा प्रयोग गरिनेछ । यस साझेदारीले सानिमा बैंकले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । सानिमा बैंकको तर्फबाट, प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टका लगानी निर्देशक एडमिर इमामीले यस सम्झौतामा हस्ताक्षर गरेका छन् । यस साझेदारीले नेपालकोे उर्जा आवश्यकतालाई सम्बोधन गर्दै दिगो उर्जा स्रोतहरू परिचालन गर्न महत्वपूर्ण योगदान पुर्याउनेछ । यो प्रयासमा निर्भरता कम गर्न र जलवायु परिवर्तनसँग लड्न विश्वव्यापी प्रयासहरूमा केन्द्रित छ । सानिमा बैंकले स्वच्छ उर्जा परियोजनाहरूलाई प्रवर्धन गरी स्थानीय समुदायहरूका लागि दीर्घकालीन सकारात्मक प्रभावहरू सिर्जना गर्ने दृष्टिकोण राखेको छ ।

पानीजहाज विधेयक विधायन व्यवस्थापन समितिमा पठाइयो

काठमाडौं । पानीजहाज विधेयक छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । राष्ट्रियसभाको आजको बैठकले ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भनी भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राखेको प्रस्ताव सर्वसम्मत्तिले स्वीकृत गरेको हो । त्यस्तै, आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले ‘लोकसेवा आयोगको आर्थिक वर्ष २०८०/८१ को ६५औँ वार्षिक प्रतिवेदन’ पेस गरेका छन् । राष्ट्रियसभाको अर्को बैठक यही फागुन ११ गते आइतबार दिउँसो १ः१५ बजे बस्नेछ ।

बाढी-पहिरोबाट क्षति भएका २६ वटा आयोजना पुनःनिर्माणका लागि अर्थ मन्त्रालयको सहमति

काठमाडौं । अर्थ मन्त्रालयले गत असोज दोस्रो साता गएको बाढी-पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ वटा आयोजना पुनःनिर्माणका लागि १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति प्रदान गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट फागुन ४ गते माग भइ आएकोमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार आयोजनाहरू पुनःनिर्माणका लागि स्रोत सहमति प्रदान गर्ने निर्णय गरेका हुन् । २६ वटा आयोजना १३ वटा सडक र १३ वटा पुल पुनर्निर्माणसँग सम्बन्धित आयोजना छन् । सडक पुनर्निर्माणमा बिपी राजमार्ग, मेची राजमार्ग, अरनिको राजमार्ग, कान्ति राजमार्गसहित १३ वटा आयोजना रहेका छन् । त्यसैगरी, अर्थ मन्त्रालयले जाजरकोट भूकम्पबाट क्षति भएका संरचनाहरूको पुनः निर्माण अघि बढाउन अस्थायी कार्यालय स्थापनाका साथै दरबन्दी सिर्जना गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सहमति प्रदान गरेको छ ।

सेयर बजारमा १० अर्बको कारोबार, ४ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.९१ अंकले बढेर २७३९.८२ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार ८७ कम्पनीको सेयर मूल्य बढ्दा १४९ कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । मंगलबार ३१४ कम्पनीको १ करोड ८२ लाख कित्ता सेयर किनबेच हुँदा १० अर्ब ४३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ८२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै नेपाल रिइन्स्योरेन्स कम्पनीको ५१ करोड, पिपुल्स हाइड्रोपावरको २९ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको २२ करोड र सीइडीबी होल्डीङको २० करोड रुपैयाँ बढीको कारोबार भएको छ । मंगलबार ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, इमरजिङ नेपाल र गार्डियन माइक्रोलाइफको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंक र केबीयल डिभेन्चर २०८६ को सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

थ्री एक्स थ्री कर्पोरेट बास्केटबल सिजन- २ को शीर्ष प्रायोजक ‘भाटभटेनी सुपरमार्केट’

काठमाडौं । गेटसेटगेम-एरोस सोलुसन प्रालिको खेल व्यवस्थापन शाखाले भाटभटेनी सुपरमार्केट थ्री एक्स थ्री कर्पोरेट बास्केटबल प्रतियोगिता घोषणा गरेको छ । प्रतियोगिता फागुन १७-१८ गते मम्बा स्पाेर्ट्स सेन्टर, काठमाडौंमा आयोजना हुनेछ । १६ कर्पोरेट टोलीहरू लिग-कम-नकआउट ढाँचामा प्रतिस्पर्धा गर्दै उपाधि जित्न मैदानमा उत्रनेछन् । गत वर्षका विजेता इजी सर्भिसेज र उपविजेता भाटभटेनी सुपरमार्केट पुनः आफ्नो उपाधि बचाउन फर्कँदैछन् । एरोस सोलुसनका प्रबन्ध निर्देशक राजजङ्ग थापा भाटभटेनी सुपरमार्केटलाई शीर्ष प्रायोजकको रूपमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । यस प्रतियोगिताका थप साझेदार प्रायोजकहरू- पेपे पिज्जा ‘फुड पार्टनर’, ऊप्स, आइ लाइक इट ‘मनोरञ्जन पार्टनर’, मम्बा स्पोट्र्स सेन्टर ‘कोर्ट पार्टनर’ र ह्याम्स अस्पताल ‘मेडिकल पार्टनर’ रहेका छन् । सबै कर्पोरेट संस्थाहरूलाई आफ्नो टिम दर्ता गर्न र आफ्नो बास्केटबल सीप प्रदर्शन गर्न आमन्त्रण गरिएको छ । सीटहरू पहिलो दर्ता, पहिलो प्राथमिकता आधारमा उपलब्ध गराइनेछ । टिम दर्ता मिति फेब्रुअरी २४ मा बन्द हुने जनाइएको छ । दर्ताका लागि गेटसेटगेम नेपालका सामाजिक सञ्जाल पेजहरू भ्रमण गर्न सकिन्छ । गेटसेटगेम- एरोस सोलुसनको खेल व्यवस्थापन शाखा हो, जसले सफल खेलकुद प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।