विकासन्युज

फागुन ८ देखि भृकुटीमण्डपमा १० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

काठमाडौं । फागुन ८ गतेदेखि ११ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा १० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ । प्रदर्शनीमा विभिन्न देशका ३ सय भन्दा बढी कम्पनीहरुका १५० बढी स्टल रहनेछन् । प्रदर्शनीमा निर्माण सम्बन्धि उद्योग, कम्पनी, डिलर तथा सब डिलरहरु र विक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने प्रदर्शनी र स्टलहरु रहने मिडिया स्पेश सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताए । उनकाअनुसार निर्माण क्षेत्रमा आएका नयाँ नयाँ प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले प्रदर्शनी गर्न लागिएको हो । अन्तर्राष्ट्रिय प्रदर्शनीमा कन्स्ट्रक्शन मेटेरियल्स, कन्स्ट्रक्शन मेसिनरी, प्रिफ्याब स्ट्रक्चर, युपिभिसी विन्डोज मेसिनरी, युपिभिसि प्रोफाइल, डोर्स एण्ड विन्डोज, आर्किटेक्चर हार्डवेयर,बाथरुम फिटिङ्स, पाइप, टायल्स एण्ड स्यानिटरी वायर, रफिङ, प्रि इन्जिनियरिङ बिल्डिङ, पावर टुल्स, विन्डोज लगायतका सामाग्रीहरु रहनेछन् । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.ले संयुक्त रुपमा आयोजना गरेको प्रदर्शनीले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरु र नविनतम प्रविधि प्रमुख आकर्षण हुने विश्वास लिएको प्रवन्ध निर्देशक भट्टराईले बताए । प्रदर्शनी बहान १० बजेदेखि बेलुका ६ बजेसम्म हुने र ४ दिन सञ्चालन हुने जानकारी दिए । प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको र ४ दिनमा ४५ हजार जनाले अवलोकन गर्ने विश्वास लिएको जानकारी दिए । ‘नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पोको १० औं संस्करण फागुन ८ गतेदेखि ११ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुँदैछ । यो बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म हुनेछ । यसमा प्रवेश निःशुल्क रहेको छ । मेलाको तयारीको अन्तिम तयारीमा छौँ । मेलामा बिल्डिङ कन्स्ट्रक्शन सम्बन्धित सबै कुरा हुनेछन्,’ उनले भने । प्रदर्शनीले नेपालमा उत्पादन भइरहेका सामग्री र प्रविधिहरुलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म लैजान सहयोग पुग्ने विश्वास आयोजकको छ । प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरीरहनुभएका नेपालका आर्कीटेक्ट, इन्जिनियरस, कन्ट्रयाक्टर, विल्डर, इन्टीरीयर डिजाइनरहरुको उल्लेख्य सहभागिता रहने बताइएको छ । साथै निजी घर बनाउन चाहने, व्यापारिक कम्प्लेक्स, व्यावसायिक भवन बनाउने व्यक्ति तथा संस्था सार्थ आम नागरिकको बढी भन्दा बढी सहभागिता रहनेछ ।

अष्ट्रेलियाले नगद दर ४.१ प्रतिशतमा कटौती गर्‍यो

काठमाडौं । अष्ट्रेलियाको केन्द्रिय बैंकले नोभेम्बर २०२० पछि पहिलो पटक मंगलबार ब्याजदर घटाएको छ । २५ आधार बिन्दुको कटौतीले देशको आधिकारिक नगद दर ४.१ प्रतिशतमा ल्याएको छ । अष्ट्रेलियाको रिजर्भ बैंकले एक्सचेन्ज सेटलमेन्ट ब्यालेन्समा तिर्ने ब्याजदर पनि ४ प्रतिशतमा घटाएको छ । २०२२ मा उच्चतम स्तरमा पुगेदेखि मुद्रास्फीतिमा उल्लेखनीय गिरावट आएको छ । बोर्डले यो गिरावटलाई उच्च ब्याजदरले समग्र माग र आपूर्तिलाई सन्तुलनको नजिक ल्याएको कारणले श्रेय दिएको छ । घरेलु आर्थिक गतिविधि र मुद्रास्फीतिको दृष्टिकोणको बारेमा उल्लेखनीय अनिश्चितताहरू छन् ।

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ४३ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४५ रूपैयाँ २७ पैसा र बिक्रीदर एक सय ४५ रूपैयाँ ९० पैसा निर्धारण गरिएको छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रूपैयाँ ९५ पैसा र बिक्रीदर एक सय ७५ रूपैयाँ ७१ पैसा कायम गरिएको छ । स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५३ रूपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ६५ पैसा तय गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ २६ पैसा र बिक्रीदर ८८ रूपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ८९ पैसा र बिक्रीदर ९८ रूपैयाँ ३१ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रूपैयाँ ४७ पैसा र बिक्रीदर एक सय तीन रूपैयाँ ९१ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ । जापानी येन १० को खरिददर नौ रूपैयाँ १५ पैसा र बिक्रीदर नौ रूपैयाँ १९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०७ पैसा र बिक्रीदर १९ रूपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ०२ पैसा र बिक्रीदर ३७ रूपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ०९ पैसा र बिक्रीदर ३८ रूपैयाँ २५ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १२ पैसा र बिक्रीदर चार रूपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ८० पैसा र बिक्रीदर ३७ रूपैयाँ ९६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ २३ पैसा र बिक्री दर ३१ रूपैयाँ ३६  पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ६४ पैसा र बिक्रीदर नौ रूपैयाँ ६८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ९६ पैसा र बिक्रीदर १३ रूपैयाँ ०२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ४८ पैसा र बिक्री दर १९ रूपैयाँ ५६ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८५ पैसा र बिक्रीदर १७ रूपैयाँ ९३ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४९ रूपैयाँ ८७ पैसा र बिक्रीदर चार सय ५१ रूपैयाँ ८१ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६८ रूपैयाँ ३८ पैसा र बिक्रीदर तीन सय ६९ रूपैयाँ ९७ पैसा र ओमनी रियाल एकको खरिददर तीन सय ६० रूपैयाँ ५९ पैसा र बिक्रीदर तीन सय ६२ रूपैयाँ १५ पैसा निर्धारण भएको छ । यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकिएको  छ । राष्ट्र बैंककले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख छ ।

गाजर किलोको ३० रुपैयाँ, यस्तो छ तरकारी एवं फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रू ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रू ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रू २३, आलु रातो प्रतिकेजी रू ३६, आलु रातो (भारतीय) प्रतिकेजी रू ३२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रू ७६, गाजर (लोकल) प्रतिकेजी रू ३५, गाजर (तराई) प्रतिकेजी रू ३०, बन्दा (लोकल) प्रतिकेजी रू १२, बन्दा (तराई) प्रतिकेजी रू १२, बन्दा (नरिवल) प्रतिकेजी रू १२, काउली स्थानीय प्रतिकेजी रू १५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रू २०, काउली (तराई) प्रतिकेजी रू १५, मूला रातो प्रतिकेजी रू ३०, मूला सेतो (लोकल) प्रतिकेजी रू २५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रू २५, भन्टा लाम्चो प्रतिकेजी रू २५ र भन्टा डल्लो प्रतिकेजी रू ५० कायम भएको छ । यसैगरी मटरकोसा प्रतिकेजी रू ५०, घिउसिमी (लोकल) प्रतिकेजी रू ४०, घिउसिमी (हाइब्रिड) प्रतिकेजी रू ४०, घिउसिमी (राजमा) प्रतिकेजी रू ११०, टाटेसिमी प्रतिकेजी रू ४५, तिते करेला प्रतिकेजी रू १३०, लौका प्रतिकेजी रू ६०, घिरौला प्रतिकेजी रू १२०, फर्सी पाकेको प्रतिकेजी रू ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रू १२, हरियो फर्सी (डल्लो) प्रतिकेजी रू १२, भेण्डी प्रतिकेजी रू ११०, सखरखण्ड प्रतिकेजी रू ८०, बरेला प्रतिकेजी रू ४०, पिँडालु प्रतिकेजी रू ९०, स्कूस प्रतिकेजी रू ४०, रायो साग प्रतिकेजी रू १५, पालुङ्गो साग प्रतिकेजी ४०, चमसुरको साग प्रतिकेजी रू ५०, तोरीको साग प्रतिकेजी रू २५, मेथीको साग प्रतिकेजी रू ५०, प्याज हरियो प्रतिकेजी रू ३०, बकुला प्रतिकेजी रू ७०, तरूल प्रतिकेजी रू ८०, च्याउ (कन्य) प्रतिकेजी रू १०० र च्याउ (डल्ले) प्रतिकेजी रू ३७० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकेजी रू ३०, चुकुन्दर प्रतिकेजी रू ६०, रातो बन्दा प्रतिकेजी रू ६०, जिरीको साग प्रतिकेजी रू ६०, ग्याठ कोबी प्रतिकेजी रू ५०, सेलरी प्रतिकेजी रू ४००, पार्सले प्रतिकेजी रू ७००, सौफको साग प्रतिकेजी रू ६०, पुदिना प्रतिकेजी रू ४००, गान्टे मूला प्रतिकेजी रू ६०, इमली प्रतिकेजी रू १६०, तामा प्रतिकेजी रू १००, तोफु प्रतिकेजी रू १२० र गुन्द्रुक प्रतिकेजी रू ३०० तोकेको छ । समितिले स्याउ (झोले) प्रतिकेजी रू २२०, स्याउ (फूजी) प्रतिकेजी रू ३००, केरा (दर्जन) रू १५०, कागती प्रतिकेजी रू १६०, अनार प्रतिकेजी रू ३२०, अङ्गुर (हरियो) प्रतिकेजी रू १८०, अङ्गुर (कालो) प्रतिकेजी रू २८०, सुन्तला (नेपाली) प्रतिकेजी रू १९०, सुन्तला (भारतीय) प्रतिकेजी रू १२०, तरबुजा हरियो प्रकितेजी रु ५०, मौसम प्रतिकेजी रू १५०, जुनार प्रतिकेजी रू ११०, भुइँकटहर प्रतिगोटा रू १८०, काँक्रो (लोकल) प्रतिकेजी रू ११०, काँक्रो (हाइब्रिड) प्रतिकेजी रू ४५, रूख कटहर प्रतिकेजी रू ११०, निबुवा प्रतिकेजी रु ६०, नासपाती (चाइनिज) प्रतिकेजी रू २४०, मेवा (नेपाली) प्रतिकेजी रू ६०, मेवा (भारतीय) प्रतिकेजी रू १००, अम्बा प्रतिकेजी रू १४०, लप्सी प्रतिकेजी रू ७०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकेजी रू ३७० र किबी प्रतिकेजी रू २५० निर्धारण गरिएको छ । यसैगरी अदुवा प्रतिकेजी रू १२०, खुर्सानी सुकेको प्रतिकेजी रू ४००, खुर्सानी हरियो प्रतिकेजी रू ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रू १००, खुर्सानी हरियो (माछे) प्रतिकेजी रू ५०, भेँडेखुर्सानी प्रतिकेजी रू ७०, लसुन हरियो प्रतिकेजी रू ६०, हरियो धनिया प्रतिकेजी रू ४०, लसुन सुकेको चाइनिज प्रतिकेजी रू ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रू ३००, छ्यापी सुकेको प्रतिकेजी रू १६०, ताजा माछा (रहु) प्रतिकेजी रू ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रू २६०, ताजा माछा (छडी) प्रतिकेजी रू २६०, राजा च्याउ प्रतिकेजी रू ३०० र सिताके च्याउ प्रतिकेजी रू ८०० तोकेको छ ।

नेपाली श्रमिकको उद्धार, सहायता, स्वदेश फिर्ती, बीमा तथा क्षतिपूर्ति लगायत विषयमा छलफल

काठमाडौं । आठौँ ‘इण्डियन ओसन कन्फ्रेन्स’ तथा द्विपक्षीय बैठकहरूमा सहभागी हुन ओमान भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको उपस्थितिमा मङ्गलबार ओमानलगायत खाडी समन्वय परिषद्स्थित नेपाली नियोगका प्रमुखसँग छलफल गरेकी छिन् । ओमानस्थित नेपाली राजदूतावासले परिषद्स्थित नेपाली नियोगका राजदूत, कार्यवाहक महावाणिज्यदूत, नियोग उपप्रमुख, श्रम काउन्सेलर तथा श्रम सहचारीलगायत नियोगमा कार्यरत पदाधिकारी तथा कर्मचारीको सहभागितामा ‘भर्चुअल’ बैठक गरेको हो । उक्त बैठकमा महिला घरेलु कामदारलगायत नेपाली श्रमिकको उद्धार, सहायता, स्वदेश फिर्ती, बीमा तथा क्षतिपूर्ति, आश्रयस्थल व्यवस्थापन, शव व्यवस्थापनलगायत श्रमिकसँग सम्बन्धित समस्या एवं समाधानका उपाय, प्रभावकारी सेवा प्रवाहमा देखिएका चुनौती र समाधानका उपायबारे छलफल भएको थियो । उक्त दूतावासका अनुसार बैठकमा आर्थिक, सांस्कृतिक तथा सार्वजनिक कूटनीतिका विविध आयाम, व्यापार, लगानी, पर्यटन, संस्कृति, भाषा, वेशभूषा, तथा रोजगार प्रवर्द्धन, जनस्तरको सम्बन्ध विस्तार, नेपाली समुदाय तथा सामाजिक सङ्घसंस्थासँगको सहकार्य तथा नेपाली नियोगमा उपलब्ध स्रोतसाधनको प्रभावकारी व्यवस्थापन तथा उपयोगलगायत विषयमा विस्तृत रूपमा छलफल भएको थियो । छलफलका क्रममा प्राप्त सुझावलाई समावेश गरी उठान भएका विषयउपर परराष्ट्र मन्त्रालय र अन्य सरोकारवाला निकायबाट उपयुक्त निर्णयका लागि सिफारिस गर्ने निर्णय भएको उक्त दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । परराष्ट्रमन्त्री देउवाले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित, मर्यादित, भरपर्दो बनाउने सरकारको नीति बताउँदै यो महत्त्वपूर्ण उद्देश्य हासिल गर्न विदेशस्थित नेपाली नियोगहरूको प्रमुख भूमिका हुने भएकाले लागि सबैले तदारूकताका साथ कार्यसम्पादन गर्न निर्देशन दिइन् । विदेशमा कार्यरत नेपाली श्रमिकका समस्या पहिचान गरी समाधानका उपाय अवलम्बन गर्न सरोकार भएका सबै निकाय सक्रिय हुनुपर्ने र दीर्घकालीन रूपमा समस्या समाधान गरी यस क्षेत्रलाई आकर्षक बनाउनुपर्नेमा उनको जोड छ । दूतावासका अनुसार परराष्ट्रमन्त्रीले ‘डिजिटल’ सुशासन कायम गर्ने सरकारको नीतिबमोजिम मागपत्र प्रमाणीकरणलगायत नियोगको सेवा प्रवाहलाई मितव्ययी, सरल, पारदर्शी, प्रभावकारी तथा सूचना प्रविधिमैत्री बनाउन निर्देशन दिइन् । नेपालको समग्र विकासका लागि आर्थिक कूटनीति प्रवर्द्धनमा नियोगहरुले विशेष सक्रियता देखाउन तथा सम्बन्धित मन्त्रालयले आवश्यक सहजीकरण गर्न अपरिहार्य रहेको बताउँदै यस सम्बन्धमा कुनै व्यवधान देखिएमा बाधा अड्काउ फुकाउन परराष्ट्र मन्त्रालय तत्पर रहेको उनको भनाइ छ । बैठकपश्चात् परराष्ट्रमन्त्री देउवाले ओमानस्थित नेपाली सङ्घसंस्थाका प्रतिनिधि, राजदूतावासका स्वयंसेवक तथा नेपाली समुदायका अगुवाहरुसँग अन्तरक्रिया गर्नुभयो । यस क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले सबैलाई इमान्दारीपूर्वक काम गरी नेपालको छवि अभिवृद्धि गर्न आह्वान गरिन् । सरकारले नेपाली श्रमिकहरुको हकहित र सेवासुविधाको सुरक्षा एवं प्रवर्द्धनका लागि आवश्यक नीतिगत, संस्थागत तथा कानुनी संरचना निर्माण तथा नियमित परिमार्जन गरिरहेको जानकारी पनि उनले दिइन् । परराष्ट्रमन्त्री देउवाले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा राजदूत डोरनाथ अर्यालले रात्रिभोजको आयोजना गरेको थियो । परराष्ट्रमन्त्री तथा उनको प्रतिनिधिमण्डल ओमानको भ्रमण सम्पन्न आज स्वदेश फर्कने कार्यक्रम छ ।

प्रभु महालक्ष्मी, कालिका लघुवित्त र नेशनल लघुवित्तबाट बाहिरिँदै संस्थापक

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सबाट माउन्टेन इन्फ्रा कम्पनी बाहिरिने भएको छ । माउन्टेन इन्फ्राले आफ्नो स्वामित्वको सेयर बिक्री गरेर प्रभु महालक्ष्मी लाइफबाट बाहिरिने भएको हो । संस्थापक सेयरधनी माउन्टेन इन्फ्राले आफ्नो नाममा रहेको २ लाख २१ हजार ६५० कित्ता सेयर बिक्रीमा राखेको हो । कम्पनीको उक्त सेयरमा सर्वसाधारण लगानीकर्ताहरूले समेत आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र आवेदन दिनुपर्नेछ । यस्तै, कालिका लघुवित्त वित्तीय संस्थाका ३ जना संस्थापक सेयरधनीले सेयर बिक्रीमा राखेका छन् । लघुवित्तका संस्थापक सेयरधनी रुद्र प्रसाद शर्माले ७ हजार १४० कित्ता, लक्ष्मी सुवेदीले २ हजार कित्ता र महान बहादुरले १ हजार ५ सय कित्ता सेयर बिक्रीमा राखेका हुन् । लघुवित्तको उक्त सेयरमा संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीहरूले खरिद नगरे सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री खुला गरिने लघुवित्तले जनाएको छ । यस्तै, नेशनल लघुवित्त संस्थाका ७ जना संस्थापक सेयरधनीले सेयर बिक्रीमा राखेका छन् । लघुवित्तका सेयरधनी बिमल पाण्डेले १० हजार कित्ता, राम कुमार गौतमले ४ हजार ८ सय कित्ता, मिलन कोइरालाले १ हजार ११५ कित्ता, गौरीशंकर पोदारले २ हजार कित्ता, रमेश कुमार घिमिरेले १ हजार ५८२ कित्ता, महेन्द्र प्रसाद चुडालले ८ हजार कित्ता र तारदेबी गुरूङ्गले ४ हजार ७९ कित्ता सेयर बिक्रीमा राखेका हुन् । लघुवित्तको उक्त सेयरमा सर्वसाधारण लगानीकर्ताहरूले समेत आवेदन दिन पाउनेछन् । खरिद गर्न इच्छुक लगानीकर्ताले १० दिनभित्र आवेदन दिनुपर्नेछ ।  

स्वरोजगार लघुवित्तले फागुन १८ गतेदेखि एफपीओ बिक्री गर्ने, कति कित्ता आवेदन दिने ?

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले फागुन १८ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ लाख ९५ हजार ७७३ कित्ता सेयर बिक्री खुला गर्ने भएको हो । लघुवित्तको चुक्ता पुँजी ६७ करोड ११ लाख ४ हजार रुपैयाँ रहेको छ । एफपीओ बिक्रीपश्चात् लघुवित्तको चुक्ता पुँजी ६९ करोड ६ लाख ८२ हजार २९३ रुपैयाँ पुग्नेछ । लगानीकर्ताले फागुन २१ गतेसम्म लघुवित्तको एफपीओमा आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि चैत ३ गतेसम्म लम्बिनेछ । लघुवित्तको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट लघुवित्तको सेयरमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालले लघुवित्तलाई इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

आज सेयर कारोबार नहुने

काठमाडौं । आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । आज फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस भएकाले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पनि बन्द हुने भएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएका कारण सेयर बजारमा सेयर कारोबार पनि बन्द हुने भएको हो । यससँगै अब भोली बिहीबार मात्रै सेयर कारोबार खुल्नेछ ।