विकासन्युज

५ वर्षमा दोब्बर बढ्यो जीवन बीमा कम्पनीको लगानी, कुन क्षेत्रमा कति गरे ?

काठमाडौं । बीमा व्यवसायको विस्तारसँगै जीवन बीमा कम्पनीहरूबाट भएको लगानी वार्षिक रूपमा वृद्धि हुँदै गएको छ । बीमा कम्पनीहरू लगानी वृद्धि नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको २०८०/८१ को वार्षिक प्रतिवेदनले नै देखाएको हो । तथ्यांकअनुसार पाँच आर्थिक वर्षमा बीमा कम्पनीहरूको लगानी १३० प्रतिशत अर्थात् ३ खर्ब ६३ अर्ब ९८ करोड रुपैयाँले बढेको छ । आर्थिक वर्ष २०७६/७७ मा बीमा कम्पनीहरुको विभिन्न क्षेत्रमा २ खर्ब ७९ अर्ब २९ करोड रुपैयाँ लगानी थियो ।  पाँच वर्षको अवधिमा दोब्बरले बढेर आव २०८०/८१ मा आइपुग्दा जीवन बीमा कम्पनीहरूको लगानी ६ खर्ब ४३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । बीमा कम्पनीहरूले आव २०७७/७८ मा ३ खर्ब ३ खर्ब ५८ अर्ब ७ करोड रुपैयाँ, २०७८/७९ मा ४ खर्ब ५० अर्ब ७ करोड रुपैयाँ र आव २०७९/८० मा ५ खर्ब ३५ अर्ब ६२ करोड रुपैयाँ लगानी थियो । कुन कम्पनीको कति लगानी ? पाँच वर्षको अवधिका सबैभन्दा धेरै लगानी वृद्धि नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ । लगानी विस्तारमा आक्रामक बन्दै आव २०८०/८१ मा आइपुग्दा नेपाल लाइफको लगानी १ खर्ब ३८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । आव २०७६/७७ मा नेपाल लाइफको लगानी ३४ अर्ब ३३ करोड रुपैयाँ रहेको थियो । नेपाल लाइफले आव २०७७/७८ मा ८२ अर्ब ४२ करोड, २०७८/७९ मा १ खर्ब १५ करोड ४७ करोड र २०७९/८० मा १ खर्ब ३८ अर्ब ९० करोड लगानी गरेको तथ्याङ्क छ । यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशनले आव २०७६/७७ मा ६६ अर्ब ८३ करोड लगानी रहेकोमा आव २०८०/८१ मा आइपुग्दा १ खर्ब १९ करोड रहेको छ । लाइफ इन्स्योरेन्सले आव २०७७/७८ मा ६६ अर्ब १६ करोड, आव २०७८/७९ मा ७६ अर्ब ३६ करोड र आव २०७९/८० मा ८६ अर्ब ५१ करोड लगानी गरेको थियो । राष्ट्रिय जीवन बीमा कम्पनीले पाँच आर्थिक वर्षमा २४ अर्ब रुपैयाँले लगानी बढाएको छ । उक्त जीवन बीमा कम्पनीले आव २०७६/७७ मा २४ अर्ब २६ करोड लगानी गरेकोमा आव २०८०/८१ मा बढाएर ४९ अर्ब २४ करोड पुर्‍याएको देखिन्छ । कम्पनीले आव २०७७/७८ मा ३१ अर्ब ५८ करोड, २०७८/७९ मा ३७ अर्ब ४३ करोड, २०७९/८० मा ४१ अर्ब लगानी गरेको थियो । एशियन लाइफ इन्स्योरेन्सले आव २०८०/८१ मा ४१ अर्ब १२ करोड लगानी गरेको छ । उक्त कम्पनको आव आव २०७६/७७ मा १९ अर्ब ६७ करोड रुपैयाँ मात्रै लगानी थियो । त्यस्तै मेट लाइफले आव २०७६/७७ मा २० अर्ब ३६ करोड लगानी गरेकोमा आव २०८०/८१ मा २८ अर्ब ६५ करोड रुपैयाँ लगानी गरेको छ । आईएमई लाइफ इन्स्योरेन्सले आव २०८०/८१ मा १५ अर्ब १३ करोड लगानी गरेको छ । उक्त कम्पनीको पाँच वर्षअघि अर्थात आव २०७६/७७ मा २ अर्ब ८३ करोड मात्रै लगानी गरेको देखिन्न्छ । त्यस्तै, रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले आव २०७६/७७ मा ३ अर्ब ५५ करोड लगानी गरेकोमा आव २०८०/८१ मा १६ अर्ब २६ करोड पुगेको छ । ८० प्रतिशतभन्दा बढी लगानी बैंकिङ क्षेत्रमा जीवन बीमा कम्पनीहरूको आव २०८०/८१ मा बैंकिङ क्षेत्रमा मात्रै ८० प्रतिशतभन्दा बढी लगानी गरेका छन् । कम्पनीहरूले सबैभन्दा धेरै ५ खर्ब २१ अर्ब ३६ करोड रुपैयाँ बैंक तथा वित्तिय संस्थाको मुद्दती निक्षेपमा भएको छ । कम्पनीहरूले बैंकिङ क्षेत्रपछि धेरै ऋणपत्रमा ११.१३ प्रतिशत अर्थात ७१ अर्ब ५८ करोड बराबरको लगानी गरेको देखिन्छ । त्यस्तै, जीवन बीमा कम्पनीहरुले ३२ अर्ब ३६ करोड (५.०३) साधरण सेयरमा लगानी गरेका छन् । बीमा कम्पनीहरूको सबैभन्दा न्यून लगानी ३ अर्ब १० करोड अर्थात ०.४८ प्रतिशत सरकारी ऋणपत्रमा रहेको छ । बाँकी १४ अर्ब ८७ करोड अर्थात २.३१ प्रतिशत अन्य क्षेत्रमा लगानी भएको तथ्यांकमा देखिन्छ ।

तुम्लिङटार विमानस्थलमा तीन सातापछि उडान

खाँदबारी । हिमाली जिल्ला सङ्खुवासभाको एकमात्र तुम्लिङटार विमानस्थलमा मौसममा सुधार आएपछि तीन सातापछि उडान भएको छ । आज बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले उडान भरेको हो । विमानस्थल वरिपरि बाक्लो हुस्सु लागेपछि गत माघ १४ गतेपछि तुम्लिङटारमा उडान अवरुद्ध भएको थियो । विमानस्थलको धावनमार्ग छेउछाउका डाँडामा ढाकिएको तुवाँलो केही हटेपछि काठमाडौं–तुम्लिङटार उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । तुम्लिङटारमा पछिल्लो समय बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले उडान भर्दै आएको छ । बाक्लो तुवाँलो हट्दै गएपछि उडान सञ्चालन गरिएको नागरिक उड्डयन कार्यालय तुम्लिङटारका प्रमुख नवराज दाहालले बताए । उनका अनुसार विमानस्थल वरिपरि कम्तीमा पाँच किलोमिटर भिजिबिलिटी भएपछि उडान अनुमति दिइएको हो । तुवाँलो बढ्दा यसअघि विमानस्थलमा पाँच सय मिटर मात्रै भिजिबिलिटी थियो । तुवाँलो केही हटे पनि पूर्णरुपमा मौसम भने खुलेको छैन ।

‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार

गलकोट । बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’ नगरपालिकाको गौरवको योजनाका रूपमा रहेको छ । आँखैअघि देखिने दुई दर्जन हिमशृङ्खला र बागलुङ बजारले ब्लुहिललाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माण थालिएको हो । करिब ३४ करोड रुपैयाँ लागतमा पूर्वाधार बनाउने लक्ष्य रहेको ‘ब्लु हिल’ पहिलो चरणमा ७० लाख रुपैयाँ र दोस्रो चरणमा साढे दुई करोड गरी तीन करोड २० लाख रुपैयाँको पूर्वाधार निर्माण गत वर्षदेखि सुरु भएको हो । उक्त पहाडलाई ब्लु हिलका रूपमा परिणत गर्न गत वर्ष मात्रै ७० लाख रुपैयाँको पूर्वाधार निर्माण भइसकेको र यस वर्ष रु साढे दुई करोडको पूर्वाधारसहित शिवमूर्ति निर्माण गर्न ठेक्का आह्वान गरिएको नगर कार्यालयले जनाएको छ । पर्यटकीय गन्तव्य बनाउन पालिकाले गत वर्षदेखि गौरवको योजनाका रूपमा डोयको पहाडलाई ब्लु हिल नामकरण गरेर पूर्वाधार निर्माण गर्न २४ करोड ५६ लाख २२ हजार रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाइएको थियो । मनोरम प्राकृतिक सौन्दर्यता भएको डोयको डाँडालाई नगरपालिकाले ‘ब्लु हिल’ नामकरण गरेको बागलुङ–९ का वडाध्यक्ष राजु थापाले बताए । ‘नगरकै ठूलो लगानीमा पूर्वाधार निर्माण थालिएको छ, हामीले पहाडमाथि शिवमूर्ति बनाएर धार्मिक र प्रकृतिप्रेमी पर्यटक भित्र्याउने उद्देश्य राखेका छौँ । यहाँ सडक स्तरोन्नति आवश्यक छ’, उनले भने, ‘पर्यटकीय गन्तव्य बनेपछि अन्य पूर्वाधारले प्राथमिकता पाउने छन् ।’ गत वर्ष जग्गा सम्माउने, जग निर्माण गर्नेलगायत पूर्वाधार निर्माण गरेको बागलुङ नगरपालिकाले यस वर्ष भवनमाथि विशाल शिवमूर्ति निर्माण गर्ने योजनासहित बोलपत्र आह्वान गरेको वडाध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार ब्लु हिल क्षेत्रमा वनभोजस्थल, ध्यान केन्द्र, दृश्य अवलोकनस्थल, शौचालय, जिम हल, मन्दिर, पार्किङलगायत अतिरिक्त पूर्वाधार निर्माण गरिनेछ । दृश्यावलोकनका लागि ब्लु हिलमा आन्तरिक पर्यटक पुर्याउन नगरपालिकाको ठूलो बजेट लगानी गरिरहेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए । नगरले गत वर्ष यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन ७० लाख रुपैयाँ बजेट विनियोजना गरी उक्त बजेटबाट चक्लाबन्दी गर्ने र जग्गा संरक्षण गर्ने काम सम्पन्न गरिसकेको छ । यस वर्ष बहुउद्देश्यीय भवन निर्माण र मूर्ति बनाउन ठेक्कामा दिने तयारी थालिएको नगरप्रमुख श्रेष्ठले उल्लेख गरे । ‘नगरपालिकाभित्रको पर्यटकीय सम्भावना बोकेको डोय वातावरणीय हिसाबले हरियाली छ । आँखै अगाडि हिमाल र बागलुङ बजार देखिन्छ, प्रकृति र धर्मलाई सँगै जोडेर पर्यटक भित्र्याउने गरी गत वर्ष शिलान्यास गरेको ठाउँमा यस वर्ष रु साढे दुई करोडको पूर्वाधार निर्माण हुनेछन्’, नगरप्रमुख श्रेष्ठले भने, ‘ब्लु हिल स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने गरी नामकरण गरेका छौँ, मौसम खुलेको समयमा यहाँबाट हरियाली पहाडबाट धौलागिरि, माछापुच्छ्रे, नीलगिरि अन्नपूर्णलगायत दुई दर्जन हिमाल देख्न सकिन्छ ।’ समुद्री सतहबाट करिब दुई हजार दुई सय मिटरको उचाइमा पर्यटकीय पूर्वाधार निर्माण गर्न थालिएको छ । डिपिआरअनुसार योजनाले पूर्णता पाउन आठ वर्ष लाग्नेछ । ब्लु हिलबाट धौलागिरि, माछापुच्छ्रे, नीलगिरि अन्नपूर्णसहितका दर्जन हिमाल देख्न सकिन्छ । रासस

प्रोटन इमास सेभेनको पान नेपाल भ्रमण सुरु

काठमाडौं । विद्युतीय कार (ईभी) प्रोटन इमास सेभेनले बुधबार काठमाडौंबाट आफ्नो इमास सेभेन पान नेपाल भ्रमण सुरु गर्दैछ । यो भ्रमण मलेसियाली इमास सेभेन भ्रमणको विस्तार हो । यस भ्रमणका क्रममा नेपालका ७ प्रदेशहरूमा प्राविधिक नवप्रवर्तन र अन्वेषणको रोमाञ्चक यात्रालाई प्रदर्शित गर्ने जनाइएको छ । भ्रमणले इमास सेभेनको नवीन प्रविधि र अतुलनीय ड्राइभिङ अनुभव मात्र प्रदर्शन नगरी दिगोपन र पर्यावरणमैत्री गतिशीलता र समाधानहरूप्रति ब्रान्डको प्रतिबद्धतालाई पनि देखाउनेछ । प्रोटन इमास सेभेनको भ्रमणले नेपाली उपभोक्ताहरूलाई सवारीसाधनको प्रत्यक्ष अनुभव गराउन संलग्न गराउने लक्ष्य राखेको छ । जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु क्षेत्री यो भ्रमणले ग्राहकहरूसँगको सम्बन्ध बलियो बनाउने बताए । प्रोटोन इमास सेभेनको टिकाउपन, विश्वसनीयता र गुणस्तरले यसको इन्जिनियरिङ उत्कृष्टतालाई देखाउँछ । मार्च २०२५ मा नेपालमा लन्च हुने प्रोटन इमास सेभेन दुई भेरियन्ट प्राइम र प्रिमियममा उपलब्ध हुने जगदम्बा मोटर्सले जनाएको छ । प्रोटन इमास सेभेन मलेसियामा गत डिसेम्बरमा लन्च भएकाे थियाे । प्रोटनले मलेसियापछि नेपालसहित त्रिनिदाद र टोबैगो, सिंगापुर र मौरिशसमा पनि इमास सेभेन इभी लन्च गर्ने तयारी गरेको छ । इमास सेभेन प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध रहेका छन् । इमास सेभेनले आसियान एनक्यापबाट ५ स्टार सुरक्षा मूल्याङ्कन प्राप्त गरेको छ र यसले कुल ९२.५७ अंक प्राप्त गरेको कम्पनीले जनाएकाे छ । जसमा वयस्क यात्री सुरक्षामा ३९, बाल यात्री सुरक्षामा १७.३२, सुरक्षा सहायतामा २० र मोटरसाइकल चालक सुरक्षामा १६.२५ अंक प्राप्त गरेको छ । शंकर ग्रुपको टू ह्विलर र फोर ह्विलरको नेपालका लागि आधिकारिक विक्रेता रहेको जगदम्बा मोटर्सले जनवरी महिनामै डेमो कार काठमाडौं ल्याउने र मार्चको तेस्रो सातासम्म नेपालमा लन्च गर्ने तयारी गरेको छ ।

बैंकिङ क्षेत्रमा काम गर्दा नयाँ सीप र ज्ञान प्राप्त गर्न सकिन्छः पूर्व कार्यकारी निर्देशक थापा

काठमाडौ‌ं । राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले नेपाल सरकार अन्तर्गतको बैंकिङ क्षेत्रमा काम गर्दा नयाँ सीप र ज्ञान प्राप्त गर्न सकिने बताएका छन् । उडान शैक्षिक केन्द्रको आयोजनामा नेपाल सरकार अन्तर्गत राष्ट्रिय वाणिज्य बैंकको बैंकिङ सेवामा प्रवेश गरेका विद्यार्थीहरूलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उनले बैंकिङ क्षेत्रको विश्व अहिले धेरै चुनौतीपूर्ण र प्रतिस्पर्धात्मक हुँदै गएकाले काम गर्ने कर्मचारीहरूले नयाँ प्रविधिको प्रयोग गर्न आग्रह गरेका हुन् । उनले भने, ‘काम गर्दा तपाईंहरूले केवल बैंकिङ प्रणालीका आधारभूत सीप मात्र होइन, अपार नवीनतम प्रविधिहरू र आर्थिक विश्लेषणका विविध पद्धतिहरू पनि सिक्ने अवसर पाउनुहुनेछ ।’ थापाले बैंकिङ क्षेत्रका चुनौतीहरूको विश्लेषण गर्दै भने, ‘बैंकिङ अब केवल परम्परागत तहमा सीमित छैन, यसको प्रतिस्पर्धा र चुनौतीहरू दिनानुदिन बढ्दै गइरहेका छन् । अहिले कामका लागि १२ घण्टा समय दिनुपर्ने र ठूलो दबाब भइ जागिर छोड्ने प्रवृत्तिहरू देखिन थालेका छन् । यो अवस्था सुधार्न प्रविधि र नयाँ सीपहरूको प्रयोग अत्यन्त महत्त्वपूर्ण छ ।’ उनले प्रविधिको प्रभाव र यसको महत्त्वलाई सम्बोधन गर्दै प्रविधिको युगमा बैंकिङ क्षेत्रका लागि नयाँ अवसर र चुनौतीहरू आएको बताए । ‘यदि तपाईं बैंकिङ क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहनुहुन्छ भने तपाईंलाई डिजिटल प्लेटफर्म र प्रविधि सम्बन्धी ज्ञान प्राप्त गर्न अनिवार्य रूपमा ध्यान दिनु पर्छ । यससँगै ग्रीन फाइनान्स र म्याक्रो फाइनान्स जस्ता नयाँ क्षेत्रमा पनि ध्यान दिन आवश्यक छ,’ उनले भने । थापाको भनाइ अनुसार बैंकिङ क्षेत्रमा भविष्यका अवसर र चुनौतीहरूलाई स्वीकार्दै नयाँ सीप र प्रविधिको उपयोग गर्न आवश्यक रहेको छ ।

डुन्डाई आयोनिक फाइभ एन टीए स्पेकले ‘अट्याक सुकुबा २०२५’ मा राख्यो कीर्तिमान

काठमाडौं । हुन्डाई मोटर कम्पनीको आयोनिक फाइभ एन टाइम अट्याक स्पेकले ‘अट्याक सुकुबा २०२५’ मोटरस्पोर्ट प्रतियोगितामा नयाँ कीर्तिमान कायम गर्दै सबैभन्दा छिटो विद्युतीय सवारीसाधन (ईभी) बन्न सफल भएको छ । जापानको इबाराकी प्रिफेक्चरस्थित प्रसिद्ध सुकुबा सर्किटमा फेब्रुअरी १५ मा आयोजित यो प्रतियोगिता ईभी प्रदर्शनको लागि चुनौतीपूर्ण मानिन्छ । हुन्डाई एनले यस प्रतियोगितामा आयोनिक फाइभ एन टाइम अट्याक स्पेक मोडेल प्रवेश गराएको थियो, जसलाई जापानी पेशेवर चालक नोबुतेरु तानिगुचीले ड्राइभ गरेका थिए । तानिगुचीले भने, ‘अट्याक सुकुबा २०२५ मा हुन्डाई आयोनिक फाइभ एन टाइम अट्याक स्पेक ड्राइभ गर्न पाउनु मेरो लागि ठूलो सम्मान हो । यसले मेरो अघिल्लो ईभी कीर्तिमानलाई तोड्न मद्दत गर्‍यो । आयोनिक फाइभ एन टाइम अट्याक स्पेक मोडेलको ब्रेकिङ क्षमता उत्कृष्ट छ, कारको नियन्त्रण अति नै राम्रो छ ।’ विद्युतीय मोटरस्पोर्टको विजेता आयोनिक फाइभ एन टाइम अट्याक स्पेक जुन आयोनिक फाइभ एनको मोटरस्पोर्ट संस्करण हो, यसअघि नै धेरै सफलता प्राप्त गरिसकेको छ । यो कारले २०२४ पाइक्स पिक इन्टरनेसनल हिल क्लाइम्ब (पीपीआईएचसी) मा परिमार्जित उत्पादन श्रेणीको इलेक्ट्रिक एसयूभी कोटामा विजयी हुँदै नयाँ कीर्तिमान बनाएको थियो । यो गाडी मुख्य रूपमा उत्पादन–श्रेणीको आयोनिक फाइभ एनकै विशेषताहरू प्रदर्शन गर्न डिजाइन गरिएको हो । यसको उच्च–प्रदर्शन पावर इलेक्ट्रोनिक्स (पीई) प्रणाली यथावत राखिएको छ, तर सफ्टवेयर ट्युनिङमार्फत यसको अधिकतम शक्ति ६८७ पीएससम्म बढाइएको छ । हुन्डाईको ईभी प्रविधिमा छलाङ यो सफलता हुन्डाईको विद्युतीय सवारी प्रविधिमा भएको प्रगतिको संकेत हो । हुन्डाई मोबिलिटी जापानले हालै जापानी बजारमा इन्स्टर इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्दै आफ्नो ईभी पोर्टफोलियो विस्तार गरेको छ । आयोनिक फाइभ एन डीके इडिसन – भविष्यको नयाँ संस्करण हुन्डाई मोबिलिटी जापानले हालै आयोनिक फाइभ एन डीके इडिसन नामक नयाँ शो–कार प्रदर्शन गर्‍यो । यो कार जापानी अटोमोबाइल कम्पनी अटोबाक्स सेभेन र जापानी रेसिङ दिग्गज केइचि त्सुचियासँगको सहकार्यमा विकसित गरिएको हो । हुन्डाई एनले डीके इडिसनको एन परफर्मेन्स पाट्र्स बजारमा ल्याउने योजना बनाएको छ ।

यातायात कार्यालयका २५ लाख फाइलको विद्युतीय अभिलेखन सुरु

काठमाडौं ।  बागमती प्रदेश सरकारले भौतिक रुपमा रहेका ढड्डालाई विद्युतीय अभिलेख सुरु गरेको छ। भौतिक रुपमा रहेका फाइलहरुको विद्युतीय अभिलेख सुरु गरिएको हो । यातायात व्यवस्था कार्यालय, गुर्जुधाराका कार्यालय प्रमुख नेत्रप्रसाद भट्टराईले भौतिक रुपमा प्रवाह भइरहेको सेवालाई विस्थापन गरी अनलाइनबाट सेवा प्रवाह गर्ने उद्देश्यले काम सुरु गरेको बताए ।उनले विद्युतीय अभिलेख सुरु भएसँगै भौतिकरुपमा रहेका अभिलेखहरु हराउने, नष्ट हुने तथा सेवाग्राहीले लाइन लाग्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने बताए । २५ लाखको संख्यामा रहेको यातायातको अभिलेख दुई वर्षभित्र डिजिटलाइजेसन गरिसक्ने गरी काम सुरु भएको उनले जानकारी दिए । उनले भने, ‘यी अभिलेखहरु अहिले नहुँदाखेरि अथवा यी अभिलेखहरु भौतिकरुपमा रहँदा खेरि कतिपय अभिलेखहरु नष्ट हुने, हराउने ढुसी लाग्ने जनताले हैरानी भोग्नुपर्ने अनि भौतिक रुपमा आएर सेवा लिँदा विचौलियाबाट ठगिन सक्ने, कार्यालयमा लाइनको हैरानीको जुन समस्याहरु छन् ।’ कार्यालय प्रमुख भट्टराईले भौतिक प्रमाण नष्ट भएका वा हराएका सवारी साधनको पनि सवारी धनीसँग भएको प्रमाणलाई आधार मानेर विद्युतीय अभिलेखन गरिने बताए। विद्युतीय अभिलेखनमा देखिने कतिपय समस्यालाई समाधान गर्न भौतिक निर्माण तथा यातायात मन्त्रालयले निर्णय गर्नुपर्ने उनको भनाइ छ । कार्यालय प्रमुख भट्टराईले सचेतनाको कमीले कतिपय सवारी साधन घरघरमा थन्किएर रहेको तथा कतिपयको भौतिक अस्तित्व नै नभएको बताए । जबसम्म कर कार्यालयमा गएर लगत कट्टा र खारेज गरिँदैन तबसम्म करको दायित्व सवारी धनीकै हुने भएकाले सरकारी बाँकी सरह असुल गर्न सकिने उनको भनाइ छ ।

५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ को बाँध निर्माण सुरु

म्याग्दी । धवलागिरी गाउँपालिका–४ खाम्लामा ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको बाँध निर्माण सुरु गरिएको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाले म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण थालेको हो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले आज बाँधको ढलान गर्ने कार्यको शुभारम्भ गरे । गाउँपालिका अध्यक्ष पुन, पूर्वअध्यक्ष थमसरा पुन, धवलागिरी–४ का वडाध्यक्ष यामप्रसाद घर्तिमगरलगायत जनप्रतिनिधी र स्थानीय अगुवाको उपस्थितिमा बाँध निर्माण कार्यको शुभारम्भ गरिएको हो । जग्गा व्यवस्थापनको काम सकेर म्याग्दी नदीको दायाँतर्फ ढलान गरेर औपचारिक रुपमा बाँधको पक्की संरचना निर्माण सुरु गरिएको आयोजना प्रमुख ज्योतिकुमार केसीले बताए । ‘विसं २०८० चैत १९ मा सम्झौता र २०८१ वैशाख २८ गते कार्यक्षेत्रमा परिचालित भएको सिभिल ठेकेदार लुना बिल्डर्स एण्ड कन्ट्याक्टरले पहाड काटेर बाँध निर्माणस्थल तयार पारिसकेको छ’, उनले भने, ‘विसं २०८३ फागुन २१ गते विद्युत् उत्पादन गर्ने लक्ष्यसहित बाँधसँगै सुरुङ र विद्युत्गृह निर्माणको कामलाई तीव्रता दिएका छाैँ ।’ विसं २०८१ भदौ १२ गतेदेखि धवलागिरी–४ छहरीमा सुरु भएको १९८ दशमलव ९० मिटर लामो अडिट नम्बर २ को सुरुङ खनेर थप ५३० मिटर मुख्य सुरुङ निर्माण भइसकेको आयोजनाका प्रबन्ध निर्देशक लक्ष्मण न्यौपानेले बताए । पाँच किलोमिटर ७०० मिटर सुरुङमध्ये केही दिनमा बाँध र मालिका गाउँपालिका–७ भारवाङको आउटलेट तर्फबाट पनि खन्न सुरु गर्ने तयारी गरिएको उनले बताए । सानीमा बैङ्कको नेतृत्वमा छ वटा बैङ्कको ऋण, प्रर्वद्धक कम्पनी र सर्वसाधारणको शेयरमार्फत जुटाइने रु ११ अर्ब २३ करोड २७ लाख छ हजारको लागतमा निर्माण हुने आयोजनाको विद्युत्गृह मालिका–७ भारवाङमा रहनेछ । भारवाङदेखि एक दशमलव पाँच किलोमिटर १३२ केभी क्षमताको प्रशारण लाइन बनाएर नेपाल विद्युत् प्राधिकरणले मालिका–७ डाँडाखेतमा निर्माण गरिरहेको १३२ केभी क्षमताको सवस्टेशनमा यस आयोजनाबाट वार्षिक औसत ३१५ दशमलव शुन्य एक गिगावाट घण्टा विद्युत् केन्द्रिय लाइनमा जोडिनेछ । बाँध निर्माण स्थल नजिकै १०० मिटर लामो र १५ मिटर अग्ला तीन वटा पानी थिग्राउने पोखरी निर्माण गर्न जग्गा व्यवस्थापन भइरहेको छ । हालसम्म १६ दशमलव पाँच प्रतिशत भौतिक प्रगति भएको छ । ‘रन अफ द रिभर’ प्रकृतिको आयोजनाको आउटलेटदेखि विद्युत्गृहको उचाइ १९६ मिटर रहेको छ । आउटलेटबाट पानीलाई विद्युत्गृहमा खसाल्न ६९२ मिटर पेनस्टक पाइप जडान गरिने भएको छ । ऊर्जा इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सोलुुसन प्रालि परामर्शदाता रहेको यस आयोजनाको मेकानिकल र इलेक्ट्रो मेकानिकल ठेकेदार छनोटको प्रक्रियामा रहेको छ । अपर म्याग्दी–१ को प्रवद्र्धक कम्पनी ऊर्जा डेभलपर्स प्रालिमा आबद्ध छ । भारवाङदेखि बाँध निर्माण स्थलसम्म नौ किलोमिटर पहुँचमार्ग निर्माण गरिसकेको आयोजनाले सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि विनियोजन गरेको छ करोड २० लाख बजेटबाट प्रभावित क्षेत्रमा सडक निर्माण, शिक्षा, स्वास्थ्य, मठमन्दिरका लागि हालसम्म रु एक करोड नौ लाख १५ हजार सहयोग गरेको जनाएको छ । रासस