आर्थिक समस्याका कारण अस्ताए डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जोशी
काठमाडौं । गत शनिबार बिहान डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कालीप्रसाद जोशी मृत भेटिए । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार जोशी अमरगढी नगरपालिका-२ कुस्मालीमा मृत भेटिएका हुन् । जोशीले आर्थिक समस्याका कारण कीटनाशक औषधी सेवन गरेर आत्महत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । गत बिहीवार बिहानदेखि उनी सम्पर्कविहीन भएका थिए । शुक्रबार मात्रै परिवारले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए । उनका अनुसार घरबाट फागुन १ गते बजार जान्छु भनेर हिँडेका जोशी डडेल्धुराको बागबजारबाट सम्पर्कविहीन भएका थिए । शनिबार अपराहन्न ४ बजेतिर प्रहरीले खोजतलास गर्ने क्रममा भुइँमा घोप्टो परेको अवस्थामा जोशी सैपाल मन्दिर छेउमै मृत भेटिए । उनको साथमा कीटनाशक औषधी ५०५ नम्बरको डिब्बा भेटिएको प्रहरी निरीक्षक बमले जानकारी दिए । प्रारम्भिक अनुसन्धानमा आफैले आत्महत्या गरेको खुलेको उनको भनाइ छ । उनले भने ,‘पोष्टमार्टम गर्यौं । सामान्य रिपोर्ट आएको छ । बाहिरी शरीरमा कुनै चोटपटक थिएन । भिसेराका लागि नेपालगञ्ज पठाएका छौं । त्यसको रिपोर्ट आउन बाँकी छ । परिवारले लास बुझिसकेको छ ।’ परिवारले जाहेरी दिएको र घटनाबारे प्रहरीले अनुसन्धान गरिररहेको प्रहरी निरीक्षक बमको भनाइ छ । उद्योग वाणिज्य संघ डडेल्धुराका अनुसार जोशीको घरमा ८४ को दान कार्यक्रम चलिरहेको थियो । आर्थिक समस्याका कारण त्यही दिनदेखि उनी मानसिक तनावमा थिए । पारिवारिक समस्या केही नभएको तर आफूले साेंचेअनुसारको आर्थिक अवस्था नभएकाले जोशी मानसिक तनावमा रहेको उद्योग वाणिज्य संघ डडेल्धुराका कार्यालय प्रमुख निरज रावलले विकासन्युजलाई बताए । उनले भने, ‘घरमा ८४ को दान कार्यक्रम चलिरहेको थियो । आफूले सोंचेअनुसारको आर्थिक अवस्था भएन । उक्त कार्यक्रममा भाइहरूले लगानी लगाएका र उहाँसँग पैसा नभएर मनमा केही खट्कियो होला । इच्छा हुँदाहुँदै पनि उहाँले लगानी गर्न सक्नुभएन अनि दिग्दारी महसुस गर्नुभयो होला । आफ्ना समस्याहरू मनभित्रै खेलाउने बाहिर नदेखाउने उहाँको स्वभाव थियो ।’ जोशीको व्यापार व्यवसाय कोरोनाकालदेखि केही खस्किएको र त्यही तनावले पनि उनी आत्महत्याको अवस्थामा पुगेको हुन सक्ने रावलले बताए । जोशीका दाइभाइहरू सबै सम्पन्न रहेका र आफूले सोंचेअनुसारको व्यापार नहुनाले पनि आत्महत्या गरेको हुनसक्ने रावलले बताए । रावलका अनुसार जोशी गाउँमा ज्योतिषको काम पनि गर्ने गर्थे । गाउँमा अरूलाई पनि अर्ती उपदेश दिने गर्थे । सबैलाई सहयोग गर्थे । मिलनसार र भद्रभलामीका रूपमा समेत चिनिने उनले केही दिनअघि मात्रै ‘यो संसारबाट म पनि जान्छु’ भन्दै आएका थिए । उनले त्यो दिन रक्सी पिएका थिए । प्रमुख रावल स्वमं पनि घटनास्थलमा पुगेका थिए । उनले कीटनाशक औषधीको डब्बा फेला परेको ठाउँबाट करिब ६/७ मिटर पर जोशीको शव भेटिएको जानकारी दिए । सुसाइड नोट प्रमुख रावलका अनुसार जोशीको सोसाइड नोट भेटिएको छ । जोशीले सुसाइड नोटमा लेखेका छन्, ‘मेरो घरपरिवारबाट त्यस्तो केही थिएन । जिन्दगीभर मदिरा पिएर हिँडें । सही बाटो हिँडिँन । यो दोष कसैलाई छैन । दाइभाइहरूले मलाई हेपे । मेरो कान्छो छोरा एकदम कमजोर छ, उसलाई हेरिदिनुहोला । म यो संसारबाट जाँदैछु ।’ पूराना व्यवसायी जोशी जोशी अमरगढी २ भेल निवासी एक पुराना व्यवसायी हुन् । उनी ज्योतिषसँगै विभिन्न व्यवसायमा आवद्ध थिए । उनको पुस्तक पसल, हार्डवेयर फर्निचर र ग्रिलको पसल रहेको जनाइएको छ । परिवारमा उनका आमा, श्रीमती, ३ छोरा १ छोरी रहेका छन् । जोशीको जन्म विसं २०२३ भदो १५ गते भएको थियो । उनले २०५३ देखि ६० सम्म ७ वर्षसम्म उद्योग वाणिज्य संघ डडेल्धुराको अध्यक्ष भएर काम गरेका थिए । उद्योग वाणिज्य संघमा उनको महत्त्वपूर्ण योगदान रहेको रावल बताउँछन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा समेत आवद्ध थिए । कमल थापाका खास मान्छे र पार्टीको जिल्ला संयोजक भएर काम गरेको स्थानीय बताउँछन्। जोशीका तीन छोरामध्ये जेठा छोरा व्यवसाय गर्छन् भने माहिला काठमाडौंमा इन्जिनियर छन् । यस्तै, कान्छा छोरा अमेरिकामा छन् । जोशीको पार्थिव शरीरमा पार्टीको झण्डा र उद्योग वाणिज्य संघको झण्डा ओडाएर शवयात्रा गर्दै आइतबार सेती नदीमा दाहसंस्कार गरिएको छ । पछिल्लो समय पारिवारिक तनाव, रिसीइबी, आर्थिक संकटजस्ता कारण व्यक्तिले आवेगमा गर्ने नकरात्मक निर्णयले यस्ता घटनाहरू बढिरहेका देखिन्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष ७ लाख मानिसले आत्महत्या गर्छन्।
असमानता, गरिबी र भ्रष्टाचारलाई चिरेर सरकार अघि बढ्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारको चुनौतीलाई चिरेर अघि बढ्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस–२०८१ का अवसरमा बुधबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले युवाहरुलाई सशक्त बनाएर नै मुलुकलाई समृद्धितर्फ लैजाने सरकारको नीति रहेको स्पष्ट पारे । ‘लोकतन्त्रको उज्यालोकै कारण आज डिजिटल माध्यमबाट नागरिकलाई शीघ्र सार्वजनिक सेवाको थालनी गर्न सकेका हौँ, जसले सरकारी सेवालाई झन्झटरहित र पारदर्शी बनाउन सुरु गरेको छ’, प्रधानमन्त्रीले भने, ‘सन् २०३० भित्र दिगो विकासका लक्ष्य हासिल गर्ने अभियानमा हामी हाम्रा हरेक क्षण, सम्भावना र सामथ्र्यको सदुपयोग गरिरहेका छौँ । यसबाटै हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सफल हुनेछौँ ।’ प्रधानमन्त्री ओलीले सन् २०२६ सम्ममा नेपाललाई अतिकम विकसित मुलुकको हैसियतबाट स्तरोन्नति गर्ने र त्यसको दिगो व्यवस्थापनका लागि आर्थिक सूचकहरुको बढोत्तरी गर्ने आधार पनि लोकतन्त्र नै भएको बताए । लोकतन्त्रको खुला मैदानमा नै जनताको जीवनमा प्रगति भएको जनाउँदै उनले बढ्दो जनआकाङ्क्षा र चुनौतीबीच, राज्यको संस्थागत र सामथ्र्यबीच लय मिलाएर सङ्गतिपूर्ण ढङ्गले अगाडि बढिरहेको बताए । प्रधानमन्त्रीले भने, ‘हाम्रो युवा पुस्ता देशको भविष्य हो । उनीहरुलाई शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमको अवसर उपलब्ध गराउन र स्टार्टअपमार्फत उद्यमशीलताको थालनी गरिएको छ ।’ उनले मुलुकको सुशासन, विकास, समृद्धि र जनताको सुखको सुनिश्चितताको लागि प्रभावकारी शासन प्रणाली र सुव्यवस्थाको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा एकजुट भई योगदान गर्न सम्पूर्णमा आह्वान गरेका छन् । ‘राष्ट्रको समृद्धि र जनताको सुख’लाई आफूले ‘परिपूर्ण लोकतन्त्र’ भन्दै आएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले प्रजातन्त्रले ‘सङ्गठन र अभिव्यक्तिको स्वतन्त्रता’को मात्र वकालत गरेको अवस्थामा परिपूर्ण लोकतन्त्रले सबैलाई ‘अधिकार र अवसर, समानता र सामाजिक न्याय, सुरक्षा र सम्मान’मा समान पहुँचको पैरवी गरेको बताए । उनले सरकार समग्र विकासमार्फत व्यक्तिको मानवीय र जैविक न्यायोचित आवश्यकताको सहज परिपूर्ति गर्ने दिशातर्फ इमान्दारीपूर्वक हिँडिरहेको बताए । फागुन ७ ले मुलुकलाई सबै हिसाबले स्वतन्त्र र सार्वभौम बनाउने दृढ सङ्घर्ष अघि बढाएको जनाउँदै प्रधानमन्त्री ओलीले भविष्यका रुपमा उदाउँदै गरेका भोलिको पुस्ताले आजको दिनलाई बिर्सनै नमिल्ने बताए । ‘प्रजातन्त्रको उज्यालोमा हुर्किएको, अत्याधुनिक सूचना प्रविधिमार्फत अनलाइन सेवा लिने बानी परिसकेको आजको पुस्ताका लागि हिजोको शासनको त्यो क्रूरता– अनुभव होइन, कथा मात्र हो’, उनले भने, ‘पुस्तान्तरको समयचापले कहिलेकाहीँ न्यानो दिनमा रहेका बेला समाजले त्यस कालरात्रीको क्रूरतम् स्मृतिलाई गुमाउन पुग्छ र भन्छ– ‘प्रजातन्त्रले के गरेको छ ?, त्यसले त अझै राणाकालका दरवारहरुबाट निर्वाह गरिरहेको छ’ ।’ जहानियाँ शासकले आफ्ना सन्तानका लागि दरबार बनाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रजातन्त्रले जनताका लागि सडक, पुल, कुलो, बिजुली, व्यावसायिक व्यापार केन्द्र, अस्पताल र विद्यालय बनाएको बताए । ‘निरङ्कुश शासनले आफ्नो अभिजातीय विलासका लागि बनाएका संरचना र लोकतन्त्रले नागरिकको जीवनमा परिवर्तन ल्याउन बनाएका संरचनाको तुलना वस्तुगत र तथ्यगत हुन सक्छ र ?’, उनले भने, ‘यसलाई आजको पुस्ताले असान्दर्भिक तुलनाबाट होइन, विवेकको तराजुमा राखेर तौलनु पर्दछ ।’ फागुन ७ गतेले सम्पूर्ण नेपालीलाई इतिहासप्रति गौरव गर्न, वर्तमानमा क्रियाशीलले जिम्मेवारी निर्वाह गर्न र भविष्यप्रतिको उत्तरदायित्वलाई सामाजिक सम्पत्तिका रुपमा पुँजीकृत गर्न अभिप्रेरित गरिरहने प्रधानमन्त्रीको भनाइ छ । ‘आजको दिन प्रजातन्त्र स्थापनाको सङ्घर्षपूर्ण इतिहासलाई स्मरण गर्दै त्यस सङ्घर्षमार्फत जनताले चाहेको राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिको आकांक्षा साकार पार्न सङ्कल्प गर्ने दिन पनि हो’, उनले भने । प्रधानमन्त्रीले नेपालको लोकतान्त्रिक आन्दोलनमा अमूल्य जीवन बलिदान गर्ने सम्पूर्ण सहिदप्रति हार्दिक श्रद्धासुमन अर्पण गरेका छन् ।
साग किनेर गुन्द्रुक बनाउँदै भुम्लु गाउँपालिका
काभ्रेपलाञ्चोक । यहाँको भुम्लु गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको साग खरिद गर्ने भएको छ । साग विक्री नभएर चिन्तित किसानलाई राहत दिने उद्देश्यले साग खरिद गरी गुन्द्रुक बनाईने गाउँपालिकाले जनाएको छ । सागको दररेट तोकेर गाउँपालिकाले स्थानीयसँग साग लिन सार्वजनिक अपीलसमेत गरेको हो । प्रतिकिलो २५ रुपैयाँका दरले किसानसँग साग खरिद गरी गुन्द्रुक बनाउने योजना बनाइएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्रीले बताए । उनका अनुसार भुम्लुमा उत्पादित साग स्थानीय बजारमा खपत नहुने र दोलालघात तथा जिल्लाको अन्य बजारमा लैजाँदा महङ्गो भाडा पर्ने भएपछि गाउँपपालिकाले खरिद गर्ने भएको हो । खत्रीका अनुसार आफुसँग हाल रहेको साग तथा प्रतिवर्ष कति उत्पादन गर्न सकिने परिणामसहित गाउँपालिकाको कृषि विकास शाखामा जानकारी गराउन स्थानीय किसानलाई अनुरोध गरिएको छ । ‘गाउँपालिकाकै ब्यवस्थापनमा गुन्द्रुक बनाएर विक्री गर्ने योजना बनाईंदैछ’, खत्रीले भने । काभ्रेको बजारमा खुद्रा मूल्य अनुसार गाउँपालिकाले स्थानीयको साग खरिद गर्न लागेको हो । यसअघि जिल्लाको मण्डनदेउपुर नगरपालिकाको १५औं अविधेशनको दोस्रो नगरसभा बैठकले मोहीको ब्राण्डिङ गर्ने विशेष प्रस्ताव पारित गरेर मोही ब्रान्डिङ गर्ने प्रक्रिया थालेको थियो । बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेको पेय पदार्थको सेवन नगर्ने अठोटका साथ स्थानीय उत्पादन मोहीको ब्राण्डिङ गरी मोही–प्रबद्र्धन गर्न लागिएको हो । नगरमा दूध पर्याप्त उत्पादन हुने भएकाले नगरसभाबाटै विशेष प्रस्ताव पारित गरी स्थानीय किसानले उत्पादन गरेको दूधबाट मोही बनाएर खाँदा र खुवाउँदा स्वच्छ भइने नगर प्रमुख टोकबहादुर वाईबाले बताए । उनका अनुसार मोहीको ब्यवसायिक उत्पादन थालेपछि मागको आधारमा लेबल लगाएर बजारमा लगिने छ । नगरमा उत्पादन भएको दुध स्थानीय बजारमा विक्री भई दैनिक ३५ देखि ४० हजार लिटर दूध बाहिर पठाइने गरिएको नगर पशुपंक्षी विकास शाखाले जनाएको छ ।
नेपाली हाते कागज उद्योगलाई कच्चा पर्दाथको अभाव
गोरखा । गोरखामा झण्डै २० वर्षदेखि सञ्चालन हुँदै आएको नेपाली हाते कागज उद्योगलाई कच्चा पर्दाथको अभाव हुन थालेको छ । गोरखा नगरपालिका–६, स्थित नयाँबस्तीमा सञ्चालन हुँदै आएको गोरखा मनकामना नेपाली हाते कागज उद्योगले आवश्यकता अनुसार कच्चा पर्दाथको नपाउँदा समस्या हुँदै आएको उद्योगका सञ्चालक पासाङ निमा शेर्पाले बताए । उद्योगले कच्चा पर्दाथको अभावमा माग अनुसार उत्पादन गर्नसक्ने अवस्था नरहेको उनको भनाई छ । ‘नेपाली हाते कागज उत्पादनका लागि हिमाली भेगका जंगलबाट लोक्ता खोजेर ल्याउनुपर्छ’, शेर्पाले भने, ‘जंगलमा बाह्रै महिना लोक्ता पाउन पनि गाह्रो छ।’ उद्योगले उत्तरी गोरखाको धार्चे, चुमनुब्री र अजिरकोट गाउँपालिका क्षेत्रका जंगलबाट कच्चा पर्दाथ ल्याएर नेपाली कागज उत्पादन गर्दै आएको छ । ‘वर्षभरी तीन महिना फागुन चैत र बैशाख महिनामा जंगलमा अरु बेला भन्दा धेरै कच्चा पर्दाथ पाइन्छ ‘, उनले भने, ‘तर जङ्गलमा गएर झिक्ने, सुकाउने र यहाँसम्म ल्याउने मान्छे नै पाउन गाह्रो छ ।’ जङ्गलबाट झिकेर ल्याएको कच्चा पर्दाथ उद्योगसम्म ल्याउन सडक समस्याका कारण थप कठिनाइ हुने गरेको छ । शेर्पाको उद्योगमा उत्पादित नेपाली कागज बिक्रीका लागि बजारको भने कुनै समस्या नरहेको शेर्पाले बताए । ‘उद्योगले जति उत्पादन गरेपनि बजारमा बिक्रीका लागि भने कुनै समस्या छैन’ उनले भने, ‘बरु सधैँ कच्चा पदार्थको अभाव हुने गरेको छ ।’ मजदुरहरुले जङ्गलबाट झिकेर ल्याएको लोक्ता प्रतिक्विन्टल १५ हजार रुपैयाँमा उद्योगले खरिद गदै आएको छ । ‘रोजगारीका हिसावले त कच्चा पर्दाथ संकलन गर्ने मजदुरहरुको पनि आम्दानी राम्रो हुन्छ’, उनले भने, ‘जंगलमा गएर खोज्नुपर्ने हुनाले अलि दुःख हुने भएकाले जो कोही तयार हुँदैनन् ।’ उद्योगमा एक ‘क्विन्टल‘ कच्चा पदार्थबाट दुईहजार थान (२०/३० साइज) को कागज उत्पादन हुने शेर्पाले जानकारी दिए । शेर्पाको उद्योगमा उत्पादित ४० ग्राम तौलका कागज भने नेपाल बाहिरसमेत निर्यात हुँदै आएको छ ।
एनएमबि हाइब्रिड फण्ड एल-२ का इकाइधनीलाई ११० प्रतिशत प्रतिफल, ५ योजना सञ्चालन गरेको अनुभव
काठमाडौं । एनएमबि क्यापिटलले माघ २४ गतेदेखि एनएमबि हाईब्रिड फण्ड एल-२ को निष्कासन तथा बिक्री खुला गरेको छ । क्यापिटलले प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्य दरका १ अर्ब २० करोड रुपैयाँको १२ करोड इकाइ बिक्री खुला गरेको हो । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने एनएमबि हाईब्रिड फण्ड एल-२ बन्दमुखी योजनाको १० वर्ष अवधि तोकिएको छ । फण्डले १५ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाइ कोष प्रवर्द्धक एनएमबि बैंक, १ प्रतिशत अर्थात् १२ लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटल र बाँकी १० करोड २० लाख इकाई सर्वसाधरण लगानीकर्ताहरूका लागि बिक्री खुला गरेको हो । उक्त फण्डमा लगानीकर्ताहरूले न्यूनतम १ सय इकाइदेखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । फण्डमा फागुन ८ गतेसम्म आवेदन दिन सकिनेछ । साथै उक्त फण्ड निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट फण्डको इकाईमा आवेदन दिन सक्नेछन् । कोष प्रवर्द्धक एनएमबि बैंक एनएमबि हाइब्रिड फण्ड एल-२ को कोष प्रवर्द्धक एनएमबि बैंक हो । बैंकको स्थापना विंस २०५२ असोज २९ गतेका दिन कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो भने विंस २०५३ पुस ४ गते नेपाल राष्ट्र बैंकबाट कारोबारको स्वीकृति पाइ सोही वर्षको पुस ११ गतेदेखि वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ । विंस २०६५ बैशाख २४ गतेदेखि ‘क’ वर्गको रुपमा स्तर वृद्धि भई वाणिज्य बैंकका रूपमा कारोबार गर्दै आएको छ । बैंकले हालसम्म क्लिन इनर्जी डेभलपमेन्ट बैंक, भृकुटी डेभलपमेन्ट, पाथिभरा विकास बैंक र प्रुडेन्सियल फाइनान्स कम्पनी, ओम डेभलपमेन्ट बैंक र कञ्चन डेभलपमेन्ट बैंकलाई गाभेको छ । निक्षेपकर्ताको हक हितको संरक्षण र सम्बर्द्धन गर्दै स्वस्थ प्रतिस्पर्धाबाट सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दाे बैंकिङ सेवा दिने, कृषि, उद्योग, सेवा, व्यापार तथा अन्य व्यवसायिक रुपले सम्भाव्य देखिएका उत्पादनशील व्यवसायको स्थापना, विकास, विस्तार र क्षमता एवं उत्पादकत्व वृद्धिका लागि बैंकिङ साधन आन्तरिक तथा बाह्य श्रोतबाट जुटाई देशको औद्योगिक, व्यापारिक एवं कृषि क्षेत्रको विकासमा गतिशिलता ल्याउन सहयोग पुर्याउने बैंकको उद्धेश्य हो । साथै उपलब्ध शीप, श्रम तथा पूँजीलाई उचीत परिचालन गरी ग्रामीण तथा शहरी क्षेत्रमा उत्पादन एवम् रोजगारीमूलक व्यवसायको स्थापना, सञ्चालन, विकास, विस्तार एवं प्रवर्द्धन गर्ने र सो कार्यको लागि आवश्यक वित्तीय साधन, प्राविधिक तथा व्यवस्थापकीय परामर्श सेवा, तालिम तथा प्रविधि उपलब्ध गराई गरिबी निवारणका लागि सक्रिय रूपमा संलग्न भई सहयोग पुर्याउने, बैंकिङ सेवामा जोखिम कम गर्दै यस क्षेत्रको उदारीकरणमा मद्दत पुर्याउने र मुलुकमा छरिएर रहेको पुँजीलाई एकिकृत गरी संस्थागत लगानी तथा स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट वित्तीय मध्यस्थताको सेवा उपलब्ध गराउने बैंकको उद्धेश्य रहेको छ । बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब २३ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । १८ अर्ब ३६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकले गत वर्ष १ अर्ब ६ करोड ७६ लाख रुपैयाँ सरकारलाई कर तिरेर योगदान पुर्याएको थियो । योजना व्यवस्थापकको परिचय म्युचुअल फण्डको योजना व्यवस्थापक एनएमबि क्यापिटल रहेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा वि.सं २०६७ जेठ ५ गते दर्ता भई भदौ ७ गते मर्चेन्ट बैंकरको रूपमा कार्य गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरेको हो । कम्पनीले मर्चेन्ट बैंकिङ सेवाहरु निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति तथा सेयर रजिष्ट्रार सेवाहरू प्रदान गर्दै आएको छ । साथै कम्पनीले योजना व्यवस्थापक तथा डिपोजिटरीको कार्य गर्ने र लगानी परामर्शको कार्य समेत गर्दै आएको छ । धितोपत्र निष्काशनका लागि विवरणपत्र, बिक्री सम्बन्धी प्रस्ताव तथा अन्य आवश्यक सबै कार्य गर्ने, संगठित संस्थासँग सम्झौता गरी निष्काशन गरेको धितोपत्र बिक्री नभएको अवस्थामा आफूले खरीद गर्न प्रत्याभूति दिने, संगठित संस्थाको तर्फबाट धितोपत्रधनीहरुको अभिलेख राख्ने तथा धितोपत्रहरुको नामसारी लगायत सेयर रजिष्ट्रेशन सम्बन्धी अन्य सेवा प्रदान गर्ने र ग्राहकसँग सम्झौता गरी ग्राहकका लागि लगानी व्यवस्थापन सम्बन्धी कार्य गर्ने योजना व्यवस्थापकको प्रमुख उद्देश्य रहेका छन् । कम्पनीको चुक्ता पुँजी, जारी पुँजी र अधिकृत पुँजी ४० करोड रुपैयाँ रहेको छ । कम्पनीमा एनएमबि बैंकको शतप्रतिशत लगानी रहेको छ । क्यापिटलले आव २०८०/८१ मा ८ करोड २४ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस्तै, आव २०७९/८० मा ८ करोड १० लाख २८ हजार रुपैयाँ र आव २०७८/७९ मा ९ करोड ३१ लाख ५५ हजार रुपैयाँ नाफा गरेको थियो । क्यापिटलको आगामी योजना बजारको अवस्था हेरी यस योजनाका अतिरिक्त अन्य विभिन्न योजनाहरूसमेत संचालनमा ल्याउने कम्पनीको भावी योजना तथा रणनीति छ । व्यवसाय विस्तारको लागि आफ्नो कार्य क्षेत्रभित्र रही तथा बोर्डको आवश्यक स्वीकृति लिई इन्भेष्टमेन्ट तथा मर्चेन्ट बैंकिङ्ग क्षेत्र अन्तर्गत नयाँ सेवाहरू सञ्चालन गर्ने, समय सापेक्ष नयाँ प्रविधिहरूको प्रयोग गरी देशभर आफ्नो सेवा विस्तार गर्ने योजना कम्पनीले राखेको छ । नेपाली पुँजी बजारमा सामूहिक लगानी कोषको सञ्चालन भएको करिब १२ वर्ष भएको छ । यस संस्था आफैले सञ्चालन गरेका २ वटा योजनाहरू परिपक्क भई हाल ३ वटा योजनाहरू संचालन गरी रहेको अनुभव छ । आफ्नो क्षेत्रमा प्रतिस्पर्धी रहन आवश्यक रणनीति तयार गरेको कम्पनीको दाबी छ । लगानीमा रहेका जोखिमहरु कम गर्न पुँजी बजारका महत्त्वपूर्ण सिद्धान्तहरू अनुशरण गरिएको कम्पनीले जनाएको छ । सोही अनुरूप विगतमा झैं भविष्यमा पनि नेपालको पुँजी बजारको एक जिम्मेवार र संवेदनशील भई व्यवसाय विस्तार गर्ने कम्पनीले बताएको छ । क्यापिटलको सञ्चालक र व्यवस्थापक टिम क्यापटलको सञ्चालक समितिमा ५ जना रहेका छन् । क्यापिटलको अध्यक्षमा संस्थापकको तर्फबाट रमेशप्रसाद लोहनी रहेका छन् । विभिन्न पदमा रही बैंकिङ क्षेत्रमा २७ वर्षको अनुभव रहेका लोहनीले डिप्रोक्स लघुवित्त वित्तीय संस्थामा सञ्चालक तथा अध्यक्ष, नबिल बैंक रिटाइरमेन्ट फण्डमा अध्यक्ष, अमृत क्याम्पसमा सहायक लेक्चरर र बृहस्पति विद्यासदनमा शिक्षकको भूमिका समेत निर्वाह गरेका थिए । एमबिए र एमएससि गरेका लोहनी काठमाडौंको सामाखुसीमा बस्छन् । यस्तै, सञ्चालकहरूमा मनिष जैन, हरिश्चन्द्र सुवेदी, योगेन्द्रबहादुर थापा क्षेत्री र सुदेश उपाध्याय रहेका छन् र कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपेशकुमार वैद्य कार्यरत छन् । ४९ वर्षीय वैद्यसँग एमबीए (फाइनान्स)सम्मको शैक्षिक योग्यता छ । उनी एनएमबि क्यापिटलमा २०७९ देखि हालसम्म सीईओको भूमिकामा कार्यरत छन् । यसअघि उनी माछापुच्छ्रे कृति क्यापिटलको सीईओ थिए । साथै उनी कृति क्यापिटल एण्ड इन्भेष्टमेन्टसका संस्थापक तथा प्रबन्ध सञ्चालक समेत हुन् । तत्कालीन भिबोर विकास बैंकमा चिफ बिजनेश अफिसर भएर काम गरिसकेका वैद्यसँग नाइट लिबर्टास, एलएलसि, अमेरिका र नेपाल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्समा समेत काम गरेको अनुभव छ । यस्तै, कम्पनीको चिफ बिजनेश अफिसरमा आशिष राज पाण्डे कार्यरत छन् । ३७ वर्षिय पाण्डेले एमबिए (फाइनान्स) गरेका छन् । एनएमबि क्यापिटलमाह २०७० असारदेखि हालसम्म प्रमुख कोष व्यवस्थापकको पदमा कार्यरत उनी त्यसअघि चौधरी ग्रुपमा वित्तीय विश्लेषकको पदमा काम गरेका थिए । कम्पनीले आव २०८०/८१ मा सीईओ वैद्यलाई ७९ लाख ९ हजार रुपैयाँ र चिफ बिजनेश अफिसर फाण्डेलाई २६ लाख ५६ हजार रुपैयाँ पारिश्रमिक बापत भुक्तानी गरेको छ । यस्तै, कम्पनीको म्युचुअल फण्ड तथा स्कीम म्यानेजर (एनएमबि हाईब्रिड फण्ड एल-२) प्रमुख प्रतिल कोजु, स्कीम म्यानेजर (एनएमबि फिफ्टी) सिजन सिंह खत्री, स्कीम म्यानेजर (एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२) सुदिप अर्याल र स्कीम म्यानेजर (एनएमबि सरल बचत फण्ड-इ) श्रीया श्रेष्ठ रहेका छन् । कोष सुपरीवेक्षक एनएमबि हाईब्रिड फण्ड एल २ म्युचुअल फण्डको कोष सुपरिवेक्षकमा अशोक राज पाण्डे, डा. विपिनचन्द्र अधिकारी, कृष्ण ज्ञवाली, नन्द किशोर शर्मा, ऋषिकेश वाग्ले र लक्ष्मण अर्याल रहेका छन् । पाण्डे शिक्षण पेशामा आवद्ध छन् भने डा. अधिकारी संवैधानिक तथा वाणिज्य कानूनका विज्ञ हुन् । यस्तै, ज्ञवाली फ्रिल्यान्स डेभलपमेन्ट कन्सलटेन्ट, शर्मा चार्टर्ड एकाउण्टेण्ट (सीए), वाग्ले अधिवक्ता र अर्याल कर विज्ञ हुन् । कहाँ लगानी गर्छ ? फण्डबाट संकलन भएको रकम विभिन्न योजनाहरुमा लगानी गर्ने तयारी गरेको छ । धितोपत्र बोर्डमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्काशन भएको धितोपत्र, धितोपत्र विनिमय बजारमा सूचीकृत धितोपत्र, नेपाल सरकारले जारी गरेको वा सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी स्वामित्व वा नियन्त्रणमा रहेको कुनै संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी बिल तथा मुद्रा बजारका अन्य साधनहरु, बैंकको निक्षेप, मुद्रा बजार उपकरण र बोर्डले तोकिदिएको अन्य क्षेत्रमा संकलित रकम लगानी गर्नेछ । कम्पनीका अनुसार इक्विटीमा न्यूनतम ३० प्रतिशतदेखि अधिकतम ६५ प्रतिशत, स्थिर आम्दानी हुने उपकरणमा न्यूनतम २० प्रतिशतदेखि अधिकतम ६५ प्रतिशत र नगद तथा बैंक मौज्दातमा न्यूनतम १ प्रतिशतदेखि अधिकतम २५ प्रतिशत लगानी गर्ने कम्पनीको योजना छ । योजना व्यवस्थापकको रेटिङ्ग म्युचुअल फण्ड निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ संस्था इक्रा नेपालले योजना व्यवस्थापकलाई इक्रएनपि एएमसि क्वालिटि २ रेटिङ प्रदान गरेको छ । यस रेटिङ्गले योजना व्यवस्थापकको व्यवस्थापन गुणस्तरमा उच्च विश्वास रहेको संकेत गर्दछ । इकाइधनीहरूले ११० प्रतिशत प्रतिफल पाउने एनएमबि हाइब्रिड फण्ड एल-२, एउटा ब्यालेन्सड फण्ड हो । यस योजनाको प्राथमिक उद्देश्य इकाईधनीहरुको पुँजी सुरक्षित तवरले संरक्षण गरी निरन्तर रुपमा प्रतिफल प्रदान गर्नु रहेको छ । योजनाले सूचीकृत वा सूचीकृत हुने क्रममा रहेका सेयरहरू र स्थिर आम्दानी उपकरणहरू, मुख्यतः ऋणपत्र र मुद्दती निक्षेपमा निश्चित अनुपातमा लगानी गर्नेछ । सोही क्षेत्रमा लगानी पश्चात् हुने आम्दानीलाई इकाईधनीहरुलाई सबै खर्च कटाएर प्रतिफल वितरण गर्नेछ । कम्पनीले १० वर्षको अवधिमा इकाईधनीहरुलाई कूल ११० प्रतिशत प्रतिफल दिने अनुमान गरिएको छ । फण्डका इकाईधनीहरुलाई पहिलो वर्ष १० प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरेको छ । यस्तै, दोस्रो वर्ष १० प्रतिशत र तेस्रो वर्षदेखि १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने कम्पनीको अनुमानित योजना छ । सञ्चालन पूर्व खर्च विवरण कम्पनीले फण्ड निष्काशन गर्न लाग्ने खर्च विवरण पनि उल्लेख गरेको छ । सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम २३ को अधिनमा रही १.५ प्रतिशत योजना व्यवस्थापन शुल्क, ०.२ प्रतिशत डिपोजिटरी शुल्क र ०.१ प्रतिशत कोष सुपरिवेक्षक शुल्क लिइनेछ । वर्षको सुरु तथा अन्त्यमा आउने औषत न्याभको आधारमा शुल्कको गणना गरिएको छ । लेखापरीक्षक शुल्क १ लाख ६९ हजार ५ सय रुपैयाँ हुने अनुमान गरिएको छ । उक्त शुल्कमा हरेक ३ वर्षमा १० प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ । सूचना तथा विज्ञापन शुल्क हरेक ३ वर्षमा १० प्रतिशतले वृद्धि हुने गरी वार्षिक १ लाख ५० हजार रुपैयाँ हुने अनुमान गरिएको छ । निष्काशन व्यवस्थापन शुल्क १० लाख रुपैयाँ, योजना दर्ता शुल्क १० लाख रुपैयाँ र धितोपत्र दर्ता आवेदन शुल्क २० हजार रुपैयाँ, विवरणपत्र प्रशोधन शुल्क २५ हजार रुपैयाँ, सिडिएस दर्ता शुल्क १ लाख ५० हजार रुपैयाँ, नेप्से सूचीकरण शुल्क १ लाख रुपैयाँ, नेप्से आवेदन शुल्क १५ हजार रुपैयाँ, अन्य (विज्ञापन, सूचना, विवरणपत्र) ११ लाख ८६ हजार रुपैयाँ र अतिरिक्त खर्चहरुको व्यवस्था ५ लाख २४ हजार ४ सय रुपैयाँ गरी कुल ४० लाख २० हजार ४ सय रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।
तोलामा ११ सयले बढ्यो सुन
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला ११ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। मंगलबार सुन एक लाख ६९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ४६ हजार १ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७ सय २ रुपैयाँ कायम भएको छ ।
संसार हल्लाएको एआई ‘डीपसीक’ पछाडिको ‘मुख्य मस्तिष्कहरू’ चीनबाहिर ‘अपरिचित’
काठमाडौं । डीपसीकका संस्थापक लिआङ वेनफेङलाई पश्चिमी मिडियामा कतिपयले ‘चीनको साम अल्टम्यान’ भनेर उल्लेख गरेका छन् । तर सिलिकन भ्यालीका समकक्षीभन्दा फरक लिआङले सार्वजनिक रूपमा निकै कम उपस्थिति जनाएका छन्। लिआङको टोलीमा देशका प्रमुख विश्वविद्यालयबाट ग्र्याजुएट गरेका युवा छन्, तर उनीहरू पनि कम चिनिन्छन् । चिनियाँ सरकारी मिडियाका अनुसार टोलीमा १४० जनाभन्दा कम सदस्यहरू छन्, यद्यपि यसको पछिल्लो आर वान रिसनिङ मोडेलमा प्रकाशित अनुसन्धानपत्रमा करिब २०० जनाको नाम उल्लेख छ । डीपपसीकको चर्चित एआईका पछाडिका मानिसहरू को हुन् र यो स्टार्टअप कसरी अस्तित्वमा आयो भन्ने बारे संक्षिप्त रूपमा जानकारी गराउने प्रयास यहाँ हुँदैछ । लिआङ वेनफेङ हालैका साताहरूमा डीपसीकको च्याटबट विश्वव्यापी एप चार्टमा शीर्ष स्थानमा पुगेपछि लिआङ मिडियामा व्यापक रूपमा चर्चित भएका छन् । गत महिना उनले आफ्नो जन्मस्थल चीनमा ‘नायकजस्तो स्वागत’ पाएको खबर छ । उनलाई चिनियाँ प्रधानमन्त्री ली छ्याङले आयोजना गरेको गोलमेच बैठकमा देखिएको थियो र यसै हप्ताको सुरुमा राष्ट्रपति सी जिनपिङद्वारा आयोजित एक गोप्य बैठकमा पनि उपस्थित भएको बताइएको छ । ४० वर्षीय लिआङ प्रायः मिडियाबाट टाढा रहन्छन् । उनले केवल दुई पटक मात्र चिनियाँ मिडिया आउटलेट ‘थर्टी सिक्स केआर’लाई अन्तर्वार्ता दिएका छन्– एक पटक जुलाई सन् २०२३ मा र अर्को पटक पनि २०२३ मै । यी अन्तर्वार्ताहरूले उनलाई एक आदर्शवादी नेताका रूपमा चित्रण गर्छन्, जसले ‘आर्टिफिसियल जनरल इन्टेलिजेन्स’ (एजीआई) हासिल गर्ने लक्ष्य राखेका छन्– यस्तो एआई जसले मानव क्षमताको नक्कल गर्न सक्छ– र उनी चीनलाई प्रविधि नवप्रवर्तनकर्ताको रूपमा स्थापित गर्न चाहन्छन् । १९८५ मा जन्मिएका लिआङ दक्षिणी चीनको झानजियाङ सहरमा हुर्किए । उनी एक उत्कृष्ट विद्यार्थी थिए, विशेष गरी उनले गणितमा असाधारण प्रतिभा देखाउँथे । हाई फ्लायर फण्ड म्यानेजर २०१५ मा लिआङले आफ्ना कलेजका साथी जिन सुसँगै हाई–फ्लायर एसेट म्यानेजमेन्ट स्थापना गरे, जुन एक क्वान्टिटेटिभ हेज फन्ड हो । हेज फन्ड एक प्रकारको निजी लगानी कोष हो, जसले उच्च प्रतिफल प्राप्त गर्ने उद्देश्यले विभिन्न लगानी रणनीतिहरू अपनाउँछ । सु झेजियाङ विश्वविद्यालयको चू कोचेन अनर्स कलेजका स्नातक हुन्, जुन विश्वविद्यालयका उत्कृष्ट विद्यार्थीहरूको चयन गर्छ । उनले ‘रोबोट अटोनोमस नेभिगेसन एन्ड मेसिन लर्निङ’मा आफ्नो पीएचडी पूरा गरेका थिए । त्यस्तै, हाई–फ्लायरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) झेङझे लु पनि लिआङ र सुजस्तै झेजियाङ विश्वविद्यालयका स्नातक हुन् । पछि उनले लन्डन स्कूल अफ इकोनोमिक्सबाट मास्टर्स डिग्री प्राप्त गरे । २०२३ मा लुले भनेका थिए, ‘हामीले अलग एउटा नयाँ टोली स्थापना गरेका छौं, जुन ‘दोस्रो स्टार्टअप’ बराबर हो ।’ र यिनै टोलीले पछि डीपसीकको रूपमा विकास गर्यो । डीपसीक पछाडिको मुख्य मस्तिष्कहरू २०२३ मा हाई–फ्लायरले डीपसीकलाई एक स्वतन्त्र कम्पनीका रूपमा छुट्यायो, जसले लगानीभन्दा पर गएर एजीआई हासिल गर्न केन्द्रित हुन थाल्यो । डीपसीकको टोलीमा मुख्य रूपमा चीनका प्रतिष्ठित विश्वविद्यालयहरू– जस्तै सिङ्ह्वा विश्वविद्यालय र पेकिङ विश्वविद्यालयका स्थानीय इन्जिनियरिङ, कम्प्युटर विज्ञान र एआई स्नातकहरू छन् । टोलीका केही सदस्यहरू अमेरिकी विश्वविद्यालयका स्नातक हुन्, जसले पहिला एनभीडीया र माइक्रोसफ्टमा अनुभव प्राप्त गरिसकेपछि चीनको बढ्दो एआई उद्योगमा फर्किन रोजेका छन् । एक प्रमुख विशेषता भनेको डीपसीकले कम अनुभव भएका युवाहरूलाई प्राथमिकता दिन्छ । ‘हामी अनुभवभन्दा मौलिक क्षमता, सिर्जनात्मकता र उत्साहलाई महत्त्व दिन्छौं,’ लिआङले २०२३ मा भनेका थिए । २०२४ मा उनले भनेका थिए, ‘शीर्ष ५० एआई प्रतिभा अहिले चीनमा नभए पनि हामी आफ्नै प्रतिभा विकास गर्न चाहन्छौं ।’ डीपसीकमा युवा प्रतिभा आकर्षित हुनुको अर्को कारण उच्च पारिश्रमिक र स्वतन्त्र कार्यसंस्कृति हो, जुन अन्य ठूला प्रविधि कम्पनीहरूमा भेट्न कठिन छ । (एजेन्सीहरूको सहयोगमा)
मलेसियाको अर्थतन्त्र ५.१ प्रतिशतले बढ्यो
काठमाडौं । मलेसियाली केन्द्रिय बैंकले २०२४ मा देशको अर्थतन्त्र ५.१ प्रतिशतले बढेको बताएको छ । जसको कारण घरेलु मागमा निरन्तर विस्तार र निर्यातमा सुधार आएको छ । बैंक नेगारा मलेसियाले घरेलु मोर्चामा, वृद्धि मुख्यतया बलियो घरेलु खर्च, अनुकुल श्रम बजार अवस्था, घरपरिवारलाई सहयोग गर्ने नीतिगत उपायहरू र स्वस्थ घरेलु ब्यालेन्स पानाहरू प्रतिबिम्बित गरेर सञ्चालित भएको हो । यसका साथै बलियो लगानी स्वीकृति र निजी र सार्वजनिक क्षेत्रहरूद्वारा बहु–वर्षीय परियोजनाहरूको थप प्रगति, जसमा राष्ट्रिय गुरुयोजनाहरू अन्तर्गत उत्प्रेरक पहलहरू समावेश छन् । लगानी वृद्धिलाई थप प्रोत्साहन प्रदान गरेको छ ।