आर्थिक समस्याका कारण अस्ताए डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जोशी

<p>काठमाडौं । गत शनिबार बिहान डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कालीप्रसाद जोशी मृत भेटिए । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार जोशी अमरगढी नगरपालिका-२ कुस्मालीमा मृत भेटिएका हुन् । जोशीले आर्थिक समस्याका कारण कीटनाशक औषधी सेवन गरेर आत्महत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । गत बिहीवार बिहानदेखि उनी सम्पर्कविहीन भएका थिए । शुक्रबार मात्रै परिवारले प्रहरीलाई खबर [&hellip;]</p>

काठमाडौं । गत शनिबार बिहान डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कालीप्रसाद जोशी मृत भेटिए । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार जोशी अमरगढी नगरपालिका-२ कुस्मालीमा मृत भेटिएका हुन् ।

जोशीले आर्थिक समस्याका कारण कीटनाशक औषधी सेवन गरेर आत्महत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

गत बिहीवार बिहानदेखि उनी सम्पर्कविहीन भएका थिए । शुक्रबार मात्रै परिवारले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए ।

उनका अनुसार घरबाट फागुन १ गते बजार जान्छु भनेर हिँडेका जोशी डडेल्धुराको बागबजारबाट सम्पर्कविहीन भएका थिए ।

शनिबार अपराहन्न ४ बजेतिर प्रहरीले खोजतलास गर्ने क्रममा भुइँमा घोप्टो परेको अवस्थामा जोशी सैपाल मन्दिर छेउमै मृत भेटिए ।

उनको साथमा कीटनाशक औषधी ५०५ नम्बरको डिब्बा भेटिएको प्रहरी निरीक्षक बमले जानकारी दिए । प्रारम्भिक अनुसन्धानमा आफैले आत्महत्या गरेको खुलेको उनको भनाइ छ ।

उनले भने ,‘पोष्टमार्टम गर्यौं । सामान्य रिपोर्ट आएको छ । बाहिरी शरीरमा कुनै चोटपटक थिएन । भिसेराका लागि नेपालगञ्ज पठाएका छौं । त्यसको रिपोर्ट आउन बाँकी छ । परिवारले लास बुझिसकेको छ ।’

परिवारले जाहेरी दिएको र घटनाबारे प्रहरीले अनुसन्धान गरिररहेको प्रहरी निरीक्षक बमको भनाइ छ ।

उद्योग वाणिज्य संघ डडेल्धुराका अनुसार जोशीको घरमा ८४ को दान कार्यक्रम चलिरहेको थियो । आर्थिक समस्याका कारण त्यही दिनदेखि उनी मानसिक तनावमा थिए ।

पारिवारिक समस्या केही नभएको तर आफूले साेंचेअनुसारको आर्थिक अवस्था नभएकाले जोशी मानसिक तनावमा रहेको उद्योग वाणिज्य संघ डडेल्धुराका कार्यालय प्रमुख निरज रावलले विकासन्युजलाई बताए ।

उनले भने, ‘घरमा ८४ को दान कार्यक्रम चलिरहेको थियो । आफूले सोंचेअनुसारको आर्थिक अवस्था भएन । उक्त कार्यक्रममा भाइहरूले लगानी लगाएका र उहाँसँग पैसा नभएर मनमा केही खट्कियो होला । इच्छा हुँदाहुँदै पनि उहाँले लगानी गर्न सक्नुभएन अनि दिग्दारी महसुस गर्नुभयो होला । आफ्ना समस्याहरू मनभित्रै खेलाउने बाहिर नदेखाउने उहाँको स्वभाव थियो ।’

जोशीको व्यापार व्यवसाय कोरोनाकालदेखि केही खस्किएको र त्यही तनावले पनि उनी आत्महत्याको अवस्थामा पुगेको हुन सक्ने रावलले बताए ।

जोशीका दाइभाइहरू सबै सम्पन्न रहेका र आफूले सोंचेअनुसारको व्यापार नहुनाले पनि आत्महत्या गरेको हुनसक्ने रावलले बताए ।

रावलका अनुसार जोशी गाउँमा ज्योतिषको काम पनि गर्ने गर्थे । गाउँमा अरूलाई पनि अर्ती उपदेश दिने गर्थे । सबैलाई सहयोग गर्थे । मिलनसार र भद्रभलामीका रूपमा समेत चिनिने उनले केही दिनअघि मात्रै ‘यो संसारबाट म पनि जान्छु’ भन्दै आएका थिए । उनले त्यो दिन रक्सी पिएका थिए ।

प्रमुख रावल स्वमं पनि घटनास्थलमा पुगेका थिए ।

उनले कीटनाशक औषधीको डब्बा फेला परेको ठाउँबाट करिब ६/७ मिटर पर जोशीको शव भेटिएको जानकारी दिए ।

सुसाइड नोट

प्रमुख रावलका अनुसार जोशीको सोसाइड नोट भेटिएको छ ।

जोशीले सुसाइड नोटमा लेखेका छन्, ‘मेरो घरपरिवारबाट त्यस्तो केही थिएन । जिन्दगीभर मदिरा पिएर हिँडें । सही बाटो हिँडिँन । यो दोष कसैलाई छैन । दाइभाइहरूले मलाई हेपे । मेरो कान्छो छोरा एकदम कमजोर छ, उसलाई हेरिदिनुहोला । म यो संसारबाट जाँदैछु ।’

पूराना व्यवसायी जोशी

जोशी अमरगढी २ भेल निवासी एक पुराना व्यवसायी हुन् । उनी ज्योतिषसँगै विभिन्न व्यवसायमा आवद्ध थिए । उनको पुस्तक पसल, हार्डवेयर फर्निचर र ग्रिलको पसल रहेको जनाइएको छ ।

परिवारमा उनका आमा, श्रीमती, ३ छोरा १ छोरी रहेका छन् । जोशीको जन्म विसं २०२३ भदो १५ गते भएको थियो । उनले २०५३ देखि ६० सम्म ७ वर्षसम्म उद्योग वाणिज्य संघ डडेल्धुराको अध्यक्ष भएर काम गरेका थिए ।

उद्योग वाणिज्य संघमा उनको महत्त्वपूर्ण योगदान रहेको रावल बताउँछन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा समेत आवद्ध थिए । कमल थापाका खास मान्छे र पार्टीको जिल्ला संयोजक भएर काम गरेको स्थानीय बताउँछन्।

जोशीका तीन छोरामध्ये जेठा छोरा व्यवसाय गर्छन् भने माहिला काठमाडौंमा इन्जिनियर छन् । यस्तै, कान्छा छोरा अमेरिकामा छन् ।

जोशीको पार्थिव शरीरमा पार्टीको झण्डा र उद्योग वाणिज्य संघको झण्डा ओडाएर शवयात्रा गर्दै आइतबार सेती नदीमा दाहसंस्कार गरिएको छ ।

पछिल्लो समय पारिवारिक तनाव, रिसीइबी, आर्थिक संकटजस्ता कारण व्यक्तिले आवेगमा गर्ने नकरात्मक निर्णयले यस्ता घटनाहरू बढिरहेका देखिन्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष ७ लाख मानिसले आत्महत्या गर्छन्।

Share News