स्वीस फ्रयाङ्कको मूल्य १५४.८९ रुपैयाँ, यस्तो छ आजको विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३८.४५ रुपैयाँ र बिक्रीदर १३९.०५ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४४.८० रुपैयाँ र बिक्रीदर १४५.४३ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७४.८८ रुपैयाँ र बिक्रीदर १७५.६४ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५४.२२ रुपैयाँ र बिक्रीदर १५४.८९ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८८.०३ रुपैयाँ र बिक्रीदर ८८.४१ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७.३५ रुपैयाँ र बिक्रीदर ९७.७७ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०३.६० रुपैयाँ र बिक्रीदर १०४.०५ रुपैयाँ, जापानी येन १० को खरिददर ९.२७ रुपैयाँ र बिक्रीदर ९.३१ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १९.०९ रुपैयाँ र बिक्रीदर १९.१८ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.९२ रुपैयाँ र बिक्रीदर ३७.०८ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.९८ रुपैयाँ र बिक्रीदर ३८.१५ रुपैयाँ, थाई भाट एकको खरिददर ४.१२ रुपैयाँ र बिक्रीदर ४.१४ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.६९ रुपैयाँ र बिक्रीदर ३७.८६ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.३३ रुपैयाँ र बिक्रीदर ३१.४७ रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.६५ रुपैयाँ र बिक्रीदर ९.७० रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १३.०० रुपैयाँ र बिक्रीदर १३.०५ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.४२ रुपैयाँ र बिक्रीदर १९.५० रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.८२ रुपैयाँ र बिक्रीदर १७.९० रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४४८.७८ रुपैयाँ र बिक्रीदर ४५०.७३ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६७.२४ रुपैयाँ र बिक्रीदर ३६८.८३ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३६०.०८ रुपैयाँ र बिक्रीदर ३६१.६४ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
अर्बौं कमाई गर्न सक्ने चलचित्र बनाउन सकिन्छ : मन्त्री पाण्डे
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आममानिसमा प्रभाव पार्न सक्ने भएकाले चलचित्र मनोरञ्जनमा मात्र सीमित नरहेको बताएका छन् । पर्यटन बोर्डको सभाहलमा आयोजित ‘१३औँ नेपाल अफ्रिका अन्तरराष्ट्रिय चलचित्र महोत्सव–२०२५’ को समापन समारोहमा उनले चलचित्रमा देश विकासका तथ्यसँगै पर्यटन प्रवर्द्धनका विषयलाई जोड्न सकिने बताए । मन्त्री पाण्डेले भने, ‘कला र कलाकारिताको कुनै भाषा हुँदैन । भाषा नबुझेर पनि भावनाहरू महसुस गर्न सकिन्छ । यही कारण चलचित्र र कलाले समाजलाई सकारात्मक दिशातर्फ डो¥याउन सक्छ । चलचित्रमा मनोरञ्जनसँगै पर्यटन प्रवर्द्धनका दृश्य समावेश भएमा त्यसले अन्तरराष्ट्रियस्तरमा हाम्रो सुन्दरतालाई प्रवर्द्धन गर्छ ।’ नेपाली चलचित्र उद्योगमा गुणात्मक सुधार आएको र अर्बौं कमाई गर्न सक्ने चलचित्र बनाउन सकिने सम्भावना रहेकाले यसले देशको अर्थतन्त्रलाई बलियो बनाउन योगदान दिने विश्वास व्यक्त गरे । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसन प्रालिको आयोजनामा काठमाडौंमा फागुन ९ गतदेखि सुरु भएको महोत्सवमा नेपालसहित १७ देशका ४९ वटा चलचित्र, वृत्तचित्रलगायत प्रदर्शनका लागि सहभागी भएको महोत्सव निर्देशक डब्बु क्षेत्रीले जानकारी दिए । चलचित्रबाट अफ्रिकासँग नेपाललाई जोड्न १४ वर्षदेखि महोत्सव आयोजना गरिँदै आएको उनको भनाइ छ ।
कुमारी बैंकको ४५ लाख ४६ हजार कित्ता सेयर बिक्रीमा, कसले किन्न पाउँछ ?
काठमाडौं । कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेका हुन् । बैंकका अनुसार केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा कायम रहेको ४५ लाख ४६ हजार ३८ कित्ता सेयर बिक्रीमा राखेका हुन् । बैंकको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । सेयर खरिद गर्न इच्छुकले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीले खरिद नगरेमा सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ । बैंकको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल रहेको छ ।
ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात, बालीनाली फस्टाउने आशामा किसान हर्षित
काठमाडौं । ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि आइतबार साँझदेखि वर्षासँगै यहाँ हिमपात भएको हो । हिमपातका कारण यसक्षेत्रमा चिसो बढेको छ । हिमपात भएपछि बालीनाली फस्टाउने आशामा किसान हर्षित भएका छन् । हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्य भएको ढोरपाटन सिकार आरक्षका रेन्जर विनोद विकले जानकारी दिए । हिमपातका कारण जनजीवन कष्टकर भएको छ । गत शुक्रबारदेखि मौसममा खराबी आए पनि आइतबार साँझ मात्रै वर्षासहित हिमपात भएको विकले बताए । हिमपातले गर्दा घोडा खच्चड तथा वस्तुभाउलाई घाँस दान हाल्नसमेत गाह्रो भएको ढोरपाटन नगरपालिका–९ ढोरपाटनका प्रेमबहादुर घर्ती मगरले बताए । गत महिना सामान्य वर्षा भए पनि हिमपात हुन सकेको थिएन । वर्षासहितको हिमपातले बालीनाली राम्रो हुने घर्ती बताउँछन् । ‘लामो समय खडेरी प(यो, खडेरीका कारण बारीमा लगाएको बालीनाली सबै सुक्न थालेका थिए, ढिलै भए पनि पानी पर्यो,’ उनले भने ।
गाउँकै अगुवा कृषक तुलसीदेवी जोशीले ९६ वर्षमा पाइन नागरिकता
काठमाडौं । वडाभरिकै पाको मान्छे । वृद्धावस्थामा पनि माटोसँगको सामिप्यता छ, ९६ वर्षीया तुलसीदेवी जोशीको । बझाङको खप्तडछान्ना गाउँपालिका-५ पिठातोलाकी जोशी अहिले पनि बारीमै भेटिन्छिन् । यो उनको बाध्यता भने होइन, बाल्यकालदेखिको खेती गर्ने बानीले नछाडेको मात्र हो । ‘घरभित्रै बसिरहन मन मान्दैन, बारीमा के-कस्तो उम्रियो, पानी पुग्यो कि पुगेन, गोडमेल पुग्यो कि पुगेन भन्ने मनमा खेल्छ । त्यसपछि कुटो बोकेर गइहाल्छु,’ उनले भनिन् । थाहा भएदेखि कृषिमा जीवन समर्पित गरेकी जोशी अहिले पनि गाउँमा अगुवा कृषकको रूपमा चिनिन्छिन् । ‘गाउँमा दलहन, धानबाली, तरकारी गाउँमा हुने सबै किसिमको तथा बीउ कतै नपाए गाउँले अझै म कहाँ आउँछन्,’ तुलसीले भनिन् । तर यो उमेर बितिसक्दा पनि उनलाई नागरिकतालगायतका सरकारी कागजातको आवश्यकताबारे ज्ञान थिएन । उनलाई गत शनिबार जिल्ला प्रशासन कार्यालयले घरमै गएर नागरिकता प्रदान गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले सबै कागजात तयार गरी उहाँको घरमै पुगेर नागरिकता प्रदान गरिन् । थलारा गाउँपालिका–७ घोडादाउनामा विसं १९८६ साल साउन ११ गते जन्मिएकी जोशीलाई नागरिकता प्रदान गर्दै सहायक प्रमुख जिल्ला अधिकारीले अनागरिक भएर जीवन बिताइरहेको अवस्थामा भेट भएको बताइन् । उनले जोशीले १ सय वर्षको हाराहारीमा पनि नागरिकता नपाएको भन्ने सुन्ने वित्तिकै कागजात बनाउन अनुरोध गरेको र कागजात तयार हुनासाथ नागरिकता उपलब्ध गराएको बताउइन् । बुवा जयलाल उपाध्याय र आमा हरिनादेवी उपाध्यायको कोखबाट जन्मएकी जोशीको विसं १९९४ मा ८ वर्षको उमेरमा खप्तडछान्ना गाउँपालिका–५ का पदमराज जोशीसँग विहे भएको थियो । विहे भएको ५७ वर्ष अर्थात् २०५१ सालमै पदमराजले संसार छोडेपछि उनी एकल भइन् । सदरमुकाम चैनपुरबाट चार घण्टाको दूरीमा पर्ने पिठातोला र त्यो ठाउँबाट देखिने भू–भाग नै तुलसीका लागि संसार भयो । ‘मेरा लागि त यही संसार हो,’ तुलसीले भनिनु, ‘माइतीगाउँ जाने बिप्रा डाँडा र छिमेकी जिल्ला बाजुरा जाने थामलेकबाहेक अन्त देखेको छैन । यही संसार आँखी झ्यालबाट हेरिरहन्छु । त्यो पनि पुरै घुमेको छैन ।’
नेपाली श्रमिकलाई श्रम कानूनमा सचेतना गराउँदै दूतावास, प्राथमिकताका साथ राहदानी नवीकरण गर्ने
काठमाडौं । सरकारले श्रम-सुशासनका क्षेत्रमा लागू गरेका नीतिगत, कानूनी तथा प्रक्रियागत विषयमा यूएईको राजधानी अबुधावीस्थित नेपाली दूतावासले श्रमिकलाई सचेतना अभिवृद्धि गराएको छ । सामाजिक सुरक्षा कोषमा श्रमिकको आवद्धता, सोको प्रक्रिया, नेपाली राजदूतावास अबुधाबी, नेपाली समाज युएई र गैरआवासीय नेपाली सङ्घ, एनसीसी युएईलगायतका सङ्घ-संस्थाको सहयोगमा उक्त अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको हो । अबुधावीदेखि तीन सय किलोमिटर पूर्वमा रहेको उजारेखमा घुम्ति शिविरमार्फत श्रमिक सचेतना तथा राहदानी एवं कन्सुलर कार्यक्रम सञ्चालन गरिएको दूतावासले जनाएको छ । सो शिविरमा तीन सयभन्दा बढी नेपालीलाई नेपाल तथा युएईका विद्यमान श्रम कानूनका विषयमा अद्यावधिक जानकारी गराइएको थियो । कार्यक्रममा औपचारिक माध्यमबाट विप्रेषण पठाउँदा प्राप्त हुने फाइदा, नेपाली राजदूतावास, युएईबाटनै पुनः श्रम स्वीकृति उपलब्ध गराउने सम्बन्धी व्यवस्था र वित्तीय साक्षरतालगायतका विविध विषयमा सचेतनामूलक जानकारी प्रदान गरिएको थियो । उक्त घुम्ति शिविरमा फूजैरहा इमिरेट्स र सोको आसपास रहेका दुई सय १६ जना नेपालीको राहदानी नवीकरण गरिएको दूतावासले विज्ञप्ति जारी गरी जानकारी गराएको छ । युएईमा कार्यरत नेपालीहरुको सङ्ख्या करिब छ लाख रहेको र युएई आउने क्रम निरन्तर बढिरहेको अवस्थामा दूतावासले नेपालीको सेवा र सुविधालाई मध्यनजर गरी उपलब्ध स्रोतसाधनले भ्याएसम्म सेवा प्रदान गर्दै आएको जनाएको छ । गत आर्थिक वर्षमा यस नियोगबाट ४६ हजार चार सय राहदानी जारी भएकामा चालु आर्थिक वर्षको माघ मसान्तसम्म ३० हजार नेपालीको राहदानी जारी भइसकेको छ । राहदानीको म्याद समाप्त भइसकेका, भिसाको म्याद समाप्त भइसकेका र राहदानी हराई समस्यामा परेका व्यक्तिहरुको दूतावासले प्राथमिकताका साथ राहदानी नवीकरण गर्ने गरेको जनाएको छ ।
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’, एउटै सेवा लिन पटक पटक डाटा बुझाउनुपर्ने बाध्यता हट्नुपर्ने
काठमाडौं । सरोकारवालाहरुले मुलुकको आर्थिक विकासका लागि डिजिटल गभर्नेन्स जरुरी रहेको बताएका छन् । आइतबार आयोजित ‘टेकगभ नेपाल, २०२५’ कार्यक्रममा जानकारहरुले डिजिटल गभर्नेन्स आर्थिक विकास, सुशासन, प्रभावकारी सेवा प्रवाहका साथै सामाजिक समावेशीकरणका लागि हुनुपर्नेमा जोड दिए । सूचनाप्रविधि विज्ञ मनोहर भट्टराईले मुलुकको विकासमा डिजिटल गभर्नेन्स जरुरी भएको उल्लेख गर्दै यसले आर्थिक विकासमा सहयोग पुग्नुपर्नेमा जोड दिए । ‘डिजिटल गभर्नेन्स मात्रै भनेर हुँदैन, यसले आर्थिक विकासमा सहयोग गर्नुपर्छ, यसमार्फत रोजगारी सृजना हुनुपर्छ, कृषि तथा पर्यटनलगायतका क्षेत्रको विकासमा नयाँपन दिन सक्नुपर्छ,’ उनले भने । साथै शिक्षा र स्वास्थ्यलगायतका आधारभूत क्षेत्रमा सबैको पहुँच स्थापित गर्दै सामाजिक समावेशीकरणमा पनि यसले सहयोग गर्ने उजले उल्लेख गरे । डिजिटल गभर्नेन्सको पूर्ण कार्यान्वयनका लागि बृहत नीति निर्माणदेखि त्यसको कार्यान्वयनमा राजनीतिक तहबाटै बलियो प्रतिबद्धता आवश्यक रहेको उनको भनाइ छ। ‘डिजिटल गभर्नेन्सको आवश्यक महसुस भएर मात्रै हुँदैन, राजनीतिक नेतृत्वको प्रतिबद्धता चाहिन्छ र यो नीति निर्माणदेखि बजेटमा समेत देखिनुपर्छ, यसको कार्यान्वयनका लागि स्पष्ट खाका आवश्यक हुन्छ,’ उनले भने । ई-गभर्नेन्स बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपेश बिस्टले डिजिटल गभर्नेन्स राजनीतिक मुद्दा भएको बताए । डिजिटल गभर्नेन्स सुशासनका साथै आर्थिक विकाससँग सम्बन्धित भएकाले यसको कार्यान्वयनका लागि राजनीतिक प्रतिबद्धता जरुरी भएको उनले उल्लेख गरे । ‘जब डाटा दौडन थाल्छ, सेवाग्राहीहरु कम दौडिए पनि पुग्छ, एउटै सेवा लिनका लागि पटक पटक डाटा बुझाउनुपर्ने बाध्यता हट्नुका साथै कम समयमा प्रभावकारी सेवा प्रवाह गर्न सकिन्छ,’ उनले भने । यसका लागि डाटा एक्सचेञ्ज प्लेटफर्म जरुरी रहेको उनको भनाइ छ । इस्टोनियालगायतका मुलुकहरुले डिजिटल रुपान्तरणमार्फत मुलुकको आर्थिक विकासमा पुर्याएको योगदानको चर्चा गर्दै नेपालमा पनि त्यो सम्भव भएको उनले बताए । सूचना प्रविधिसँग सम्बन्धित कानुनका जानकार प्रवीन सुवेदीले वैदेशिक रोजगारीमा जानेलाई ई गभर्नेन्सबारे जानकारी आवश्यक रहेको बताए । ‘वैदेशिक रोजगार विभागले विद्युतीय शासनमार्फत वैदेशिक रोजगारीमा जानेहरुलाई लक्षित गरी विभिन्न प्रकारका सेवा प्रवाह गरिरहेको छ, त्यसैले उनीहरुले यसबारे राम्रोसँग जानकारी राख्न आवश्यक छ,’ उनले भने । ई–गभर्नेन्स बोर्डका इन्जिनियर केदार भण्डारीले डिजिटल गभर्नेन्सबारे चर्चा गर्दै बोर्डका उपलब्धिबारे जानकारी गराए । उनले हाल विद्युतीय सुशासनको मार्गचित्रका रुपमा ब्लुप्रिन्ट तयार भइसकेको र हाल यो छलफलका चरणमा रहेको बताए । सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण सोही अवसरमा आयोजित समूहगत छलफलका क्रममा वक्ताहरुले डिजिटल गभर्नेन्सको विकास र कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताए । सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्याले सरकारले सुरुआत गरेका डिजिटल गभर्नेन्सलगायतका सेवाबारे तल्लो तहसम्म जानकारी दिने माध्यम सञ्चारमाध्यम भएकाले उनीहरुको महत्वपूर्ण भूमिका रहने बताए । ‘सरकारले आफ्ना सबै सेवाहरु सञ्चारमाध्यममार्फत नागरिकमाझ पुर्याउने हो, सञ्चारमाध्यमले सरल र सहज भाषामा सेवाबारे जानकारी दिनु कर्तव्य पनि हो,’ उनले भने । उनले डिजिटल गभर्नेन्समा सरकार, व्यवसाय र नागरिक एकापसमा आबद्ध गराउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने धारणा राखे । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले डिजिटल गभर्नेन्सबारे जानकारी दिने काम सञ्चारमाध्यमको भएको उल्लेख गर्दै सञ्चारकर्मीहरुले यसबारेमा जानकारी राख्नुपर्नेमा जोड दिइन् । ‘पत्रकार आफैँ पनि यसबारेमा जानकार हुनुपर्छ, कतिपय अवस्थामा सञ्चारकर्मीहरुलाई अभिमुखिकरण जरुरी हुन्छ,’ उनले भनिन् ।
टाटाको एसयूभी कर्भ ईभी सार्वजनिक, मूल्य ५६ लाख ९९ हजार रूपैयाँ
काठमाडौं । नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटाको एसयूभी कर्भ ईभी सार्वजनिक गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै सिप्रदी ट्रेडिङ्गले टाटाको एसयूभी कर्भ ईभी नेपाली बजारमा सार्वजनिक गरेको हो । आकर्षक डिजाइन र अत्याधुनिक प्रविधिसहितको टाटा कर्भ ईभी नेपाली बजारमा सार्वजनिक गरिएसँगै अटो बजारमा लोकप्रिय बन्ने अपेक्षा रहेको सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजन बाबु श्रेष्ठले बताए । उनका अनुसार टाटा कर्भ ईभी आकर्षक सेतो र खैरो रङको रहेका छन् । सुरक्षाका हिसाबले पनि कर्भ ईभी मजबुत रहेको उनले दाबी गरे । उक्त ईभीमा स्वतः ब्रेक लाग्ने प्रणाली समेत जडान गरिएको छ । जसकारण पैदलयात्री, साइकल चालक लगायतसँग दुर्घटना हुनबाट जागिनेछ । सीईओ श्रेष्ठले ४५ किलोवाट आवर र ५५ किलोवाट आवरको ब्याट्री रहेका छन् । ब्याट्रीमा पानी तथा धुलो नपस्ने गरी प्याकिङ गरिएको छ । ४५ किलोवाट आवरको ब्याट्री प्याक भएको भेरियन्टले ४३० किमी रेन्ज दिनेछ भने ५५ किलोवाट आवर ब्याट्री प्याक भएको भेरियन्टले ५०२ किमी रेन्ज दिनेछ । ग्राउण्ड क्लियरेन्स १८६ एमएम छ भने सिट क्षमता ५ जनाको रहेको छ । ५ स्टार सेफ्टी रेटिङ पाएको कर्भको मूल्य ५६ लाख ९९ हजार रूपैयाँ तोकिएको छ । सीईओ श्रेष्ठका अनुसार पछिल्लो ४ वर्षमा टाटाका ६ हजार भन्दा बढी कार नेपाली बजारमा बिक्री भइसकेका छन् भने ४५ जिल्लामा चार्जिङ स्टेशनको पहुँच रहेको छ ।