विकासन्युज

भारतीय अर्बपति अडानीले तिरे पौने ६ खर्ब कर, गत वर्षभन्दा सवा खर्ब बढी

  काठमाडौं । भारतीय अर्बपति गौतम अडानीले नेतृत्व गरेको अडानी समूहले आर्थिक वर्ष २०२३/२०२४ मा करिब ६ खर्ब रुपैयाँ भारु कर तिरेको छ । यो समूहले सो आर्थिक वर्षमा ५ खर्ब ८१ अर्ब ४ करोड रुपैयाँ कर तिरेको हो । आर्थिक वर्ष २०२२÷२३ मा यस व्यावसायिक समूहले कुल ४ खर्ब ६६ अर्ब १० करोड रुपैयाँ कर सरकारलाई भुक्तान गरेको थियो । अडानी ग्रुपका अनुसार यसमा प्रत्यक्ष कर, अप्रत्यक्ष कर, र कर्मचारीहरूको सामाजिक सुरक्षामा गरिएको योगदान समेत समावेश गरिएको छ । अडानी भारतीय अर्बपतिमध्ये बढी कर तिर्नेमा पर्छन् ।

युक्रेनको ३ खर्ब ५० अर्ब डलर बराबरको सम्पत्ति रुसको कब्जामा, ट्रम्पबाट सुरक्षाको माग

काठमाडां । रुसले कब्जा गरेका क्षेत्रहरूमा करिब तीन खर्ब ५० अर्ब डलर बराबरको युक्रेनको महत्त्वपूर्ण स्रोतहरू रहेको युक्रेनी अधिकारीहरूले बताएका छन् । यस्तो बेला वासिङ्टनले देशको स्रोत आधारमा प्राथमिक पहुँच सुनिश्चित गर्न सम्झौताका लागि दबाब दिइरहेको छ । किएभले राष्ट्रपति जो बाइडेनको कार्यकालमा प्रदान गरिएको सहयोगको क्षतिपूर्तिका रूपमा युक्रेनका स्रोतहरू प्रयोग गर्नुपर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको मागलाई अस्वीकार गरिरहेको छ । तर, युक्रेनको स्रोत आधारको ठूलो भाग यसको औद्योगिक पूर्वी डोनबास क्षेत्रमा छ र त्यहाँ रुसले क्षेत्र कब्जा गरेको छ र अझै अघि बढिरहेको छ । ‘दुर्भाग्यवश, अस्थायी रूपमा कब्जा गरिएको क्षेत्रमा करिब तीन खर्ब ५० अर्ब डलर मूल्यका यी उपयोगी सामग्रीहरू छन् भन्ने जानकारी हामीसँग छ’, उपप्रधानमन्त्री युलिया स्विरिडेन्कोले किएभमा पत्रकार सम्मेलनमा भने । उनका अनुसार भण्डारहरूको केही तथ्याङ्कहरू ‘पुरानो’ भए पनि यो अनुमान भूगर्भीय सर्वेक्षण र खुला स्रोत तथ्याङ्कमा आधारित छ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले लिथियम, टाइटेनियम, युरेनियम र दुर्लभ पृथ्वी धातुहरू जस्ता महत्त्वपूर्ण स्रोतहरूमा पहुँचको साटो ट्रम्पबाट ठोस सुरक्षा ग्यारेन्टी चाहेका छन् । तिनीहरू इलेक्ट्रोनिक्स उत्पादनका लागि महत्त्वपूर्ण छन् । ट्रम्प र उनँका सहयोगीहरूले सम्झौतामा हस्ताक्षर गर्न जेलेन्स्कीको अनिच्छाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । युक्रेनको एक स्रोतले शनिबार एएफपीलाई बताए अनुसार युक्रेनी नेता हालको अमेरिकी मागहरूमा सहमत हुन छैनन् । उनका चिफ अफ स्टाफ एन्ड्री यर्माकले आइतबार वार्ता ‘सामान्य’ शैलीमा अघि बढिरहेको बताए । ‘कसैले पनि केही अस्वीकार गरेका छैनन् । सामान्य कार्य प्रक्रिया चलिरहेको छ र यसमा एक दिन वा महिना लाग्न सक्छ,’ उनले किएभमा पत्रकार सम्मेलनमा भने । एजेन्सी

कर्मचारीसँग प्रधानमन्त्री ओलीले भने : देश ग्रे लिष्टमा पर्यो, भ्रष्टाचार गर्नु हुँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई छिटोछरितो सेवा दिएर सुशासन र समृद्धिको यात्रामा साथ दिन कर्मचारीलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीको ७४औँ जन्मदिनका अवसरमा उनलाई शुभकामना दिन आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई गरिएको ‘वर्थ डे विस’ले देशको गरिबी हटाउने तथा सुशासन र समृद्धि कायम गर्ने कामको नेतृत्व गर्नमा सफलता मिलेमा त्यसको सार्थकता हुने बताए । ‘सेवा प्रवाहका कुरामा सेवाग्राहीलाई सकारात्मकभावका साथ काम गरेर विकास निर्माण र सुुशासन कायम गर्ने काममा मलाई मद्दत गरेर शुुभकामनालाई सार्थक बनाउन व्यवहारिक रुपमा त्यसअनुसारको काम गर्न म आग्रह गर्छु’, प्रधानमन्त्री ओलीले भने, ‘हामी भ्रष्टाचार गर्दैनौँ र गर्न दिन्नौँ तर मुलुक सम्पत्ति शुद्धीकरणका सन्दर्भमा देश ग्रे लिष्टमा परेको छ । यसलाई हटाउनुुछ । मलाई व्यक्तिगतरुपमा लाभ लिनुपर्ने कुरा केही छैन । हामी कमिसनका लागि ठेक्कापट्टाका काम गर्दैनौँ । विकास निर्माणका लागि ठेक्का लगाउँछौँ । यसमा सबैको साथ होस् भन्ने मेरो चाहना हो ।’’ सो अवसरमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, सरकारका मुख्यसचिव एकनारायण अर्याल, सचिवहरु र राष्ट्रसेवक कर्मचारीको सहभागिता रहेको थियो । यसैबीच, प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष ओली आज एमाले केन्द्रीय कार्यालयले ललितपुरको च्यासलमा आयोजना गरेको जन्मदिनको कार्यक्रममा समेत सहभागी थियो ।

सुस्त गतिमै द्रूतमार्गको निर्माण, भौतिक ३८ र वित्तीय प्रगति ३९ प्रतिशतमै सीमित

काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक महत्व बोकेको काठमाडौँ–तराई मधेस द्रूततमार्गका भौतिक प्रगति ३८.२६ र वित्तीय प्रगति ३९.८४ प्रतिशत पुगेको छ । नेपाली सेनाको २६२औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा कुल ७०.९७७ किमी दूरीको उक्त आयोजनाअन्तर्गत रहेका सात सुरुङमध्ये दुईवटा ‘ब्रेक थ्रू’ भइसकेका र दुईवटा निर्माणाधीन रहेका जानकारी दिइयो । अन्य तीनवटा सुरुङको डिजाइन तथा पूर्वतयारीका कार्य भइरहेको आयोजना प्रमुख कमलविक्रम शाहले जानकारी दिए । विभिन्न कारणले उक्त आयोजनाको भौतिक प्रगति अपेक्षाअनुसार नभए पनि लक्ष्यअनुसार कार्य सम्पन्न गर्न कोसिस भइरहेको उनले बताए । आयोजनाको प्रस्थान विन्दु खोकनामा जग्गा प्राप्तिसम्बन्धी विवाद अझै टुङ्गिसकेको छैन । राजधानीबाट तराई जोड्ने छोटो दूरीको उक्त आयोजना सम्पन्न भएपछि तराईबाट काठमाडौँ ल्याउन सामानको ढुवानी लागत घट्ने मात्र नभई मुलुकको समग्र आर्थिक विकासमा कायापलट हुने अपेक्षासहित आयोजना प्रारम्भ गरिएको हो । उक्त आयोजना नेपाली सेनाले आगामी २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको प्रमुख शाहले बताए । यसैबीच मुलुकमा सुरक्षा, रक्षा तथा प्रतिरक्षासम्बन्धी विषयमा अध्ययन गराउने उद्देश्यका साथ निर्माण सुरु गरिएको प्रतिरक्षा विश्वविद्यालयको हालसम्मको भौतिक प्रगति ३०.५२ र वितीय प्रगति २५.७५ प्रतिशत रहेको सो अवसरमा जानकारी दिइयो ।

पौने एक खर्ब पुग्यो सेनाको कोष, बैंकमा मात्रै ७९ अर्ब बढी राख्दा घट्दो ब्याजले आम्दानीमा गिरावट

काठमाडौं । सैनिक कल्याणकारी कोषको रकम ८७ अर्ब एक करोड रुपैयाँ पुगेको छ । नेपाली सेनाद्वारा आज सैनिक मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा २०३२ सालमा  ‘बहुजन हिताय बहुजन सुखाय’को उद्देश्य राखेर स्थापित कोषको रकमगत पुस मसान्तसम्म आइपुग्दा त्यो परिमाणमा पुगेको जानकारी दिइयो ।काठमाडौं । सैनिक कल्याणकारी कोषको रकम ८७ अर्ब एक करोड रुपैयाँ पुगेको छ । नेपाली सेनाद्वारा आज सैनिक मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा २०३२ सालमा  ‘बहुजन हिताय बहुजन सुखाय’को उद्देश्य राखेर स्थापित कोषको रकमगत पुस मसान्तसम्म आइपुग्दा त्यो परिमाणमा पुगेको जानकारी दिइयो । त्यसमध्ये बैङ्क तथा वित्तीय संस्थामा नगद मौज्दात ७९ अर्ब २८ करोड ५६ लाख  रुपैयाँ रहेको छ । विभिन्न परियोजनामा ७ अर्ब ७२ करोड ४४ लाख रुपैयाँ रहेको युद्ध कार्य विभागका सहायकरथी रवीन्द्र खत्रीले जानकारी दिए । यसमध्ये नेपाली सेनाका स्वास्थ्य विज्ञान संस्थानमा २ अर्ब ३० करोड ९४ लाख रुपैयाँ र कल्याणकारी भवन तथा त्रिचन्द्र मिलिटरी अस्पतालमा १अर्ब ६० करोड ६० लाख रुपैयाँ लगानी रहेको जानकारी दिइयो । ब्याजदरमा आएको गिरावटले सेनाका सोवाग्राही लक्षित कल्याणकारी कार्य तथा सार्वजनिक दायित्व प्रभावित पार्ने सङ्गठनले जनाएको छ ।

यामाहा नेपाल र हेल्मेट्स नेपालबीच सम्झौता, अब यामाहाको शाेरूममा हेल्मेट नेपालको पनि शाेरूम

काठमाडौं । हेल्मेट्स नेपालले यामाहा नेपालसँग व्यापारिक सहकार्य गर्ने भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा हेल्मेट्स नेपाल र यामाहा नेपालबीच सम्झौता भयो । सम्झौताअनुसार अब यामाहा मोटरसाइकलको शोरुमहरूमा हेल्मेट्स नेपालको पनि आउट्लेट रहने भएको छ । जहाँ हेल्मेट, सेफ्टी गियर र एसेसोरिजहरू उपलब्ध हुने छन् । पहिलो चरणमा काठमाडौंका शोरुम टेकु, महाराजगञ्ज र गठ्ठाघर भक्तपुरमा हेल्मेट्स नेपालको आउटलेटहरू रहने छन् । नक्शालस्थित यामाहाको ब्लु स्क्वायर शोरुममा भने एक्सचेन्जको सुविधा उपलब्ध रहने छ । यामाहा नेपाल र हेल्मेट्स नेपालको यो सहकार्यले नेपालमा रोड सेफ्टी र राइडिङ कल्चर अझै परिष्कृत रूपमा परिभाषित हुने विश्वास लिइएको छ । ग्राहकहरूले एउटै छानामुनि मोटरसाइकल, हेल्मेट, सेफ्टी गियर र राइडिङ एसिसोरिजहरूको सुविधा प्राप्त गर्न सक्नेछन् । यसअघि नै आफ्नो २ अत्याधुनिक शोरुममार्फत सेवा प्रदान गर्दै आएको हेल्मेटस नेपालले अब कुल ६ स्थानबाट सेवा प्रदान गर्नेछ ।

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई स्टे होटल भ्याली भ्यूमा छुट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सुर्खेतको विरेन्द्रनगरमा रहेको स्टे होटल भ्याली भ्यूबीच सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई आफ्नो सेवामा छुट दिने सम्झौता भएको छ । सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंकको नेपालगञ्ज क्लस्टरका प्रमुख जयन्द्रबहादुर खड्का र स्टे होटल भ्याली भ्यूका म्यानेजिङ डाइरेक्टर तर्क बहादुर शाहीले आइतबार हस्ताक्षर गरे । सम्झौताअनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले स्टे होटल भ्याली भ्यूमा सांग्रिला डेभलपमेन्ट वैंकको डेविड कार्ड वा क्यूआर कोडमार्फत खाना, कोठा र बेभरेजको भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने छन् । यस्तै, बैंकका कर्मचारीलाई २० प्रतिशत छुट दिइने छ । यो सम्झौता दुई वर्षका लागि लागू हुने छ । यस सम्झौताबाट सांग्रिला डेभलपमेन्ट बैकका ग्राहक महानुभावलाई फाइदा पुग्ने विश्वास यस बैंकले लिएको छ । बैंकले हाल मुलुकभर ११२ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।

त्रिशक्ति सेक्युरिटिजले ललितपुरमा खोल्यो शाखा कार्यालय

काठमाडौं । त्रिशक्ति सेक्युरिटिज लिमिटेडले आफ्नो ५औं शाखा कार्यालय ललितपुरको जावलाखेलमा आइतबार एक विशेष कार्यक्रमको आयोजना गरी शुभारम्भ गरेको छ । नेपाल स्टक एक्सचेन्जका अध्यक्ष शोभाकान्त पौडेलले शाखा कार्यालयको उद्घाटन गरे । उनले सेयर बजारको जोखिम तथा प्रतिफलको बारेमा प्रकाश पार्दै सुनिश्चित भई लगानी गर्नुपर्ने बताउनुको साथै नेपालमा पुँजी बजारको धेरै सम्भाव्यता रहेको र क्रमशः धेरै कुराको विकास भइरहेको जानकारी गराए । उनले हाल पुँजी बजारको विकासमा ब्रोकर कम्पनीहरूको योगदान उल्लेखनीय रहेको बताए । विशेष अतिथि वडा न. ०५ का अध्यक्ष विकाशमान श्रेष्ठले कम्पनीको प्रगतिको शुभकामना दिँदै आवश्यक सहयोगको लागि तत्पर रहेको बताए । कम्पनीले यसअघि पुतलीसडक केन्द्रीय कार्यालयका अतिरिक्त पोखरा, महेन्द्रनगर, हेटौंडाबाट डिम्याट, टीएमएसलगायतमा सेयर कारोबारसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।