माथिल्लो म्याग्दी जलविद्युतको निर्माण सुरु, सिद्धार्थ, एसबिआई, सिटिजन्स, एभरेष्ट र नबिलको साढे ५ अर्ब लगानी

<p>काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका-४ मा ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । हाइड्रो इम्पाएर प्रालि प्रवर्द्धक रहेको आयोजनाले सिम्कोश दोभानको बाँधदेखि घिम्लेटी जोड्ने चार किलोमिटर लामो सुरुङ निर्माणका लागि आज गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रेशमबहादुर जुुग्जालीले शिलान्यास गरे । आयोजना प्रमुख रमेश सुवेदीले आगामी २०८२ चैत मसान्तभित्र सम्पन्न [&hellip;]</p>

काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका-४ मा ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । हाइड्रो इम्पाएर प्रालि प्रवर्द्धक रहेको आयोजनाले सिम्कोश दोभानको बाँधदेखि घिम्लेटी जोड्ने चार किलोमिटर लामो सुरुङ निर्माणका लागि आज गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रेशमबहादुर जुुग्जालीले शिलान्यास गरे ।

आयोजना प्रमुख रमेश सुवेदीले आगामी २०८२ चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित बाँध, सुरुङ र विद्युत्गृह निर्माणको काम सुरु भएको बताए ।

‘पहुँचमार्गलगायत पूर्वाधार निर्माण सकेर आयोजनाको मुख्य संरचना निर्माण थालिएको छ । बाँध, नाउरा र आउटलेटको अडिटबाट सुरुङ निर्माण थालिएको हो,’ उनले भने ।

माथिल्लो म्याग्दीले अपर म्याग्दी-१ र म्याग्दीखोला जलविद्युत् आयोजनासँग सहकार्य गरेर मालिका गाउँपालिका–७ बिमको भारवाङदेखि कल्लेनी, छहरी, खारा, खाम्ला, नाउरा हुँदै बगर गाउँ नजिकैसम्म करिब २१ किलोमिटर पहुँचमार्ग निर्माण गरेको छ ।

म्याग्दी नदीमाथि ५० र ३० मेट्रिक्टन क्षमताको दुई वटा बेलिब्रिज जडान गरेर आयोजना निर्माणस्थललाई पहुँचमार्गले जोडेको आयोजनाका प्रबन्ध निर्देशक जितबहादुर घर्तीले बताए ।

सिन्कोस र म्याग्दी खोलाको दोभानभन्दा एक सय ३० मिटर तल म्याग्दी खोलाको दायाँ किनारमा बाँध र बाँया किनारमा भूमिगत बालुवा थिग्राउने पोखरी निर्माण थालिएको छ ।

४ किलोमिटर लामो सुरुङबाट ल्याइने पानी ३००.८८ मिटर अग्लो हेडबाट विद्युत गृहमा खसालेर विद्युत् उत्पादन गरिने छ । आउटलेटदेखि विद्युत गृहसम्म ७९७.९६ मिटर लामो पेनस्टक पाइप जडान गरिनेछ ।

कूल ६ अर्ब ६९ करोड ९४ लाख ९५ हजार रपैयाँ लागत अनुमान गरिएको आयोजनामा प्रवर्द्धक र आमनागरिकको सेयरबाहेक सिद्धार्थ बैंक, नेपाल एसबिआई, सिटिजन्स, एभरेष्ट र नबिल बैंकको ५ अर्ब ३४ करोड ८८ लाख ९८ हजार रुपैयाँ लगानी रहने छ ।

७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी रहने आयोजना निर्माण भएपछि २१५.७१४ गिगावाट प्रतिघण्टा विद्युत् उत्पादन हुने जनाइएको छ । उत्पादित विद्युत् विद्युतगृहदेखि ९.२ किलोमिटर दुरीको १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत डाडाखेत सवस्टेसनमा जोडिनेछ ।

शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य जुग्जालीले माथिल्लो म्याग्दीलगायत यस क्षेत्रमा निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोडिने बताउनुभयो । त्यसका लागि नेपाल विद्युत् प्राधिकरणमार्फत मालिका गाउँपालिका-७ डाडाखेतमा १३२ केभी क्षमताको सवस्टेशन र त्यहाँदेखि राहुघाट जोड्ने प्रसारण लाइन निर्माणकार्य अन्तिम चरणमा रहेको उनले जानकारी दिए ।

धवलागिरी गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले माथिल्लो म्याग्दीलगायत ८ वटा जलविद्युत् आयोजना निर्माणको चरणमा रहेको बताए । जलविद्युत् आयोजना समयमै निर्माण सम्पन्न भएमा त्यसबाट गाउँपालिकालाई रोयल्टी प्राप्त हुने र त्यसलाई विकास निर्माण तथा नागरिकको सेवा सुविधामा परिचालन गर्न सकिने उनको भनाइ छ ।

धवलागिरि गाउँपालिका–४ का अध्यक्ष यामप्रसाद घर्ती, वडा सदस्य रिम रोका र हरिप्रसाद तिलिजाले जलविद्युत् आयोजनासँगै दुर्गम र विकट क्षेत्रमा विकास भित्रिएको बताए । जलविद्युत् आयोजनाले निर्माण गरेको सडकबाट स्थानीयबासीलाई पनि सुविधा पुगेको उनले बताए ।

Share News