विकासन्युज

ह्वाइट हाउस गोलीकाण्ड: ट्रम्प पटक-पटक निशानामा

काठमाडौं । अमेरिकाको वासिङ्टन डिसीस्थित राष्ट्रपति निवास ह्वाइट हाउसको सुरक्षा जाँच चौकी (चेकपोइन्ट) मा गोली प्रहार गर्ने एक बन्दुकधारी सुरक्षाकर्मीको जवाफी कारबाहीमा मारिएका छन् ।  शनिबार साँझ भएको उक्त घटनामा संलग्न बन्दुकधारीलाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको अमेरिकी गुप्तचर निकाय सेक्रेट सर्भिसलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । सेक्रेट सर्भिसका अनुसार ह्वाइट हाउस नजिकैको १७ औं स्ट्रिट र पेन्सिलभेनिया एभिन्युमा रहेको जाँच चौकीमा पुगेका ती व्यक्तिले अचानक आफ्नो झोलाबाट बन्दुक निकालेर सुरक्षाकर्मीमाथि गोली बर्साउन थालेका थिए ।  त्यसलगत्तै सुरक्षामा खटिएका अधिकारीहरूले आत्मरक्षाका लागि जवाफी कारबाही गर्दा शङ्कास्पद बन्दुकधारीलाई गोली लागेको थियो । दोहोरो गोली हानाहानका क्रममा बाटोमा हिँडिरहेका एक सर्वसाधारणसमेत घाइते भएका छन् । उनलाई सुरुमै बन्दुकधारीले हानेको गोली लागेको हो वा सुरक्षाकर्मीको जवाफी कारबाहीका क्रममा लागेको हो भन्नेबारे अनुसन्धान भइरहेको छ । घाइतेको अवस्थाबारे थप विवरण खुलाइएको छैन । सेक्रेट सर्भिसका अनुसार घटनामा कुनै पनि सुरक्षाकर्मीलाई चोट लागेको छैन । गोली चल्ने बित्तिकै ह्वाइट हाउसमा उच्च सतर्कता अपनाइएको थियो । घटनाको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमै रहे पनि उनी पूर्ण रूपमा सुरक्षित छन्। गोली चलाउने व्यक्ति मानसिक रूपमा विचलित रहेको जनाइएको छ । सुरक्षा निकायले उनलाई यसअघि नै ह्वाइट हाउस क्षेत्रमा प्रवेश गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको खुलासा भएको छ । ह्वाइट हाउस करस्पोन्डेन्ट्स एसोसिएसन (पत्रकार महासंघ) को रात्रिभोज आयोजना भइरहेको होटलमा एक बन्दुकधारीले गोली चलाएको र राष्ट्रपति ट्रम्पसहित उच्च अधिकारीहरूलाई हतार(हतार सुरक्षित स्थानमा सारिएको घटनाको महिना दिन नपुग्दै पुनः ह्वाइट हाउस बाहिर अर्को गोलीकाण्ड भएको हो ।  घटनाबारे अमेरिकी सुरक्षा निकायहरूले थप अनुसन्धान अघि बढाएका छन् । यसअघि जुलाई २०२४ मा पेन्सिलभेनियाको बटलरमा आयोजित चुनावी र्‍यालीमा ट्रम्पमाथि गोली प्रहार गरिएको थियो । उक्त घटनामा एक दर्शकको मृत्यु भएको थियो भने तत्कालीन उम्मेदवार ट्रम्पको कानमा सामान्य चोट लागेको थियो । त्यसको केही महिनापछि ट्रम्प गल्फ खेलिरहेको फ्लोरिडाको वेस्ट पाम बिचस्थित गल्फ कोर्सनजिक अर्को सशस्त्र व्यक्तिलाई पक्राउ गरिएको थियो । यसैबीच ट्रम्पले गत वर्ष पुनः कार्यभार सम्हालेपछि ह्वाइट हाउस परिसरमा निर्माणाधीन नयाँ बलरुम परियोजनाका लागि सुरक्षा आवश्यकतालाई एउटा प्रमुख कारणका रूपमा अघि सारेका छन् । न्युयोर्कका रियल इस्टेट व्यवसायीसमेत रहेका ट्रम्पका अनुसार करिब ४० करोड डलर लागतको उक्त परियोजनामा भूमिगत सैन्य अस्पतालसहित अत्यधिक सुरक्षित तथा ‘ड्रोन-प्रतिरोधी’ संरचना समावेश गरिनेछ । 

अल्पमतमा ओली, बहिर्गमन बाध्यता

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आइतबार पनि बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बिहान ११ः३० बजे बस्ने बैठकमा अध्यक्ष ओलीले सचिवालय सदस्यहरूले उठाएका प्रश्नमा आफ्नो धारणा राख्ने तयारी गरेका छन् ।  जेठ ४ गते सुरु भएर बीचमा स्थगित भएको सचिवालय बैठक शुक्रबारदेखि पुनः सुरु भएको हो । बैठकको आजको शृंखलामा बाँकी रहेका चार सचिवले धारणा राख्ने कार्यक्रम छ । सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारीले आफ्नो भनाइ राख्न बाँकी रहेको नेताहरूले बताएका छन् र  बैठकमा अध्यक्ष ओलीको भूमिकालाई लिएर तीव्र बहस चलिरहेको छ ।  निर्वाचनको परिणाम र पछिल्लो राजनीतिक परिस्थितिलाई लिएर अधिकांश सचिवालय सदस्यहरूले पार्टीभित्र पुनर्गठन आवश्यक रहेको निष्कर्ष राखेका छन् । केही नेताले नेतृत्व हस्तान्तरणसम्मको प्रस्ताव अघि सारेका छन् ।  १९ सदस्यीय सचिवालयमा हालसम्म अधिकांश सदस्यहरूले पार्टी पुनर्संरचना र नेतृत्व रूपान्तरणको पक्षमा धारणा राखेका छन् । सचिव योगेश भट्टराईलगायत केही नेताहरूले अध्यक्ष ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् । विगतमा ओली निकट मानिएका उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ तथा महासचिव शंकर पोखरेलले समेत पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्नेमा जोड दिएका छन् । यद्यपि अध्यक्ष ओली भने आफ्नो बहिर्गमनको मागप्रति सहमत देखिएका छैनन् । एमाले स्रोतका अनुसार ओलीले बैठकमा आफूविरुद्ध उठेका प्रश्नको बुँदागत जवाफ दिने तयारी गरेका छन् । साथै प्रतिनिधिसभा निर्वाचन परिणाममा अन्य नेताहरूको भूमिकाबारे पनि समीक्षा हुनुपर्ने उनको भनाइ रहने बताइएको छ । ओलीले महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई सचिवालय बैठकबाट हटाउने अधिकार नरहेको तर्क राख्ने तयारी गरेका छन् । पार्टीको सर्वोच्च निकाय महाधिवेशन र त्यसपछि केन्द्रीय कमिटी भएकाले नेतृत्वसम्बन्धी बहस केन्द्रीय कमिटीमै लैजानुपर्ने पक्षमा उनी देखिएका छन् । तर, सचिवालयका धेरै सदस्य भने पहिले नेतृत्वको विषय टुंग्याएर मात्रै केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने अडानमा छन् । एक नेताका अनुसार बैठकमा नेतृत्व परिवर्तनको एजेण्डा नै मुख्य बनेको छ र त्यसलाई पन्छाएर अन्य प्रस्तावमा मात्रै अघि बढ्न कठिन हुने देखिएको छ । बैठकमा महासचिव शंकर पोखरेलले अघि सारेको केन्द्रीय नेताहरूको कार्यविभाजन, स्थानीय तह निर्वाचन कार्यक्रम, निर्वाचन समीक्षा, संविधान संशोधन कार्यदल गठन तथा केन्द्रीय कमिटी बैठक आह्वानबारे पनि छलफल भइरहेको छ । तर अध्यक्ष ओलीको भूमिकाबारे चर्किएको बहसका कारण कार्यविभाजन प्रस्ताव समेत अन्योलमा परेको नेताहरूको भनाइ छ । अहिलेसम्म उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव महेश बस्नेतले खुलेर अध्यक्ष ओलीको पक्षमा धारणा राखेका छन् । उपमहासचिव लेखराज भट्टले पुनर्गठनको कुरा उठे उमेरको मापदण्ड सबैमा समान रूपमा लागू हुनुपर्ने बताएका छन् । सचिव पद्मा अर्यालले पार्टीको शीर्ष तह र तल्लो तहबीच दृष्टिकोणको दूरी बढेको टिप्पणी गरेकी छन् ।  रघुवीर महासेठ, यामलाल कँडेल, हिक्मत कार्की, छविलाल विश्वकर्मालगायत नेताहरूले पार्टी किन कमजोर भयो भन्ने विषयमा गम्भीर समीक्षा गरेर निष्कर्षमा पुग्नुपर्ने धारणा राखेका छन् । आजको बैठकलाई एमालेभित्रको आगामी शक्ति सन्तुलन र नेतृत्वको दिशाबारे निर्णायक रूपमा हेरिएको छ । सचिवालयमा अल्पमतमा रहेका ओली अब कसरी अगाडि बढ्छन् भन्ने विषयलाई पनि व्यापक चासोका रुपमा हेरिएको छ ।   

फिर्केखोलामा डोजर, मेयर आचार्य एक्सनमा

काठमाडौं । पोखराको मध्य भाग भएर बग्दछ फिर्केखोला । पोखराको अँधेरीकुनाबाट सुरु हुने फिर्के फेवातालमा गएर मिसिन्छ । तर, फिर्केखोला अहिले अतिक्रमणको सिकार मात्र बनेको छैन, फोहर विसर्जन गर्ने स्थलसमेत बनेको छ । अतिक्रमणका कारण खोलाको प्राकृतिक बहाव नै रोकिने अवस्थाका बीच लामो समयदेखि फिर्के चर्चामा रह्यो । यसैबीच, अन्ततः खोलाघरभित्रका अतिक्रमित संरचना आइतबारदेखि अभियानका रूपमा हटाउन सुरु गरिने भएको छ । महानगरले लामो प्रयासपछि अन्ततः फिर्केका अतिक्रमित संरचना हटाउन डोजर चलाउन लागेको हो ।  महानगरले फिर्केको सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि दिएको ३५ दिनको समयसीमा शनिबार सकिएको थियो ।  महानगरले गत वैशाख ३ गते सार्वजनिक सूचना प्रकाशित गरी सार्वजनिक जमिनमा बनाइएका संरचना हटाउन सूचना जारी गरेको थियो । खोलाघरमा बसोबास गरिरहेका तथा संरचना निर्माण गरेका व्यक्ति तथा संस्थाहरूलाई पूर्वसूचना दिई सकिएकाले आजदेखि अभियानका रूपमा तीन ठाउँबाट खोलाघर खाली गर्ने कार्य सुरु गरिने महानगर प्रमुख धनराज आचार्यले बताए । अतिक्रमित संरचना हटाउने कार्यको औपचारिक सुरुआत महानगर प्रमुख आचार्यले जिरोकिमी नजिक फिर्केपुलबाट गर्नेछन् । महानगरले अतिक्रमित संरचना हटाउनका लागि सुरु गरिने अभियानको सबै तयारीका काम सकिएको जनाएको छ ।  महानगरका फिर्केका तीन स्थानबाट अतिक्रमित संरचना हटाउन सुरु गरिनेछ । पोखरा-२ र १८ को सिमाना अँधेरिकुनादेखि सुरु गरी वडा ४ तर्फ, पोखरा-४ र ५ को सिमाना फिर्केपुलस्थित बूढानीलकण्ठ मन्दिरदेखि सुरु गरी वडा नम्बर ५ र ८ तर्फ र पोखरा-७ र ८ को सिमाना जिरोकिलो मिटरस्थित लायन्स भवनदेखि  फेवातालतर्फ गरी तीन स्थानबाट डोजरहरू चलाइने छ ।  अतिक्रमित संरचना हटाउने अभियान बिहान १०ः०० देखि साँझ ५ः०० बजेसम्म सम्बन्धित वडाका अध्यक्ष तथा जनप्रतिनिधिहरूको नेतृत्वमा सञ्चालन हुने महानगरले जनाएको छ ।  ‘फिर्के खोला लगायतका सबै स्थानका सार्वजनिक जमिनका संरचना हटाएर सार्वजनिक सम्पत्तिको संरक्षणका लागि महानगरले योजनाबद्ध हिसाबले काम सुरु गरेको छ । आजदेखि खाली गराउन सुरु गरिएको क्षेत्र खोलाघरभित्रको भाग हो । खोला कसैको निजी सम्पत्ति हुन सक्दैन भन्ने तथ्यलाई हामी सबैले गम्भीरतापूर्वक मनन गरौं,’ महानगर प्रमुख आचार्यले भने ।  महानगरले सार्वजनिक सूचना जारी गरेपछि केही संस्थाहरूले भने आफ्ना संरचना खाली गरिसकेका छन् । फिर्केमा रहेको लायन्स क्लबले शुक्रबार नै सबै सामान सारिसकेको छ । त्यसैगरी, फोटोग्राफर सङ्घलगायतले पनि भवन खाली गरेका छन् ।  महानगरले गरेको फिर्के नापजाँच प्रतिवेदनअनुसार फिर्के खोलाघरमाथि स्थायीदेखि अस्थायी प्रकृतिका १६० संरचना निर्माण गरिएका छन् ।  फिर्केखोला नै मिचेर ९७ वटा अस्थायी संरचना र ३५ वटा स्थायी संरचना निर्माण गरेको पाइएको नाप जाँच प्रतिवेदनमा उल्लेख छ ।  यसैगरी, खोलामाथि १० अस्थायी र १८ वटा स्थायी प्रकृतिका संस्थागत संरचनाहरू निर्माण गरिएका छन् । साबिक ग्यारजातीपछि सराङकोट गाविस हुँदै हाल पोखरा महानगरपालिका-१८, २, ४, ५, ७, ८, ६ र १७ भएर फेवातालमा मिसिने फिर्के खोलाको कुल लम्बाइ आठ किलोमिटर रहेको छ । यो खोला कम्तीमा ३.३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको नाप जाँचका क्रममा पाइएको छ । फिर्केखोलाको प्राविधिक नाप जाँचपछि यकिन गरिएको खोला घरको पश्चिमतर्फ ३०३ र पूर्वतर्फ २८५ वटा गरी ५८८ सीमास्तम्भहरू गाडिएका थिए ।

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, छन् सम्भावित कार्यसूची

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक आज दिउँसो १ः०० बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा प्रदेशसभा सदस्यहरुले समसामयिक विषयमा आफ्ना धारणा राख्ने कार्यसूची तय गरिएको छ । त्यसपछि आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।  

२०५ रोपनीबाट ६० मा खुम्चिएको पोखरा बसपार्क जगाउने तयारी, उठ्दैछन् टहरा

काठमाडौं । पोखरा बसपार्क क्षेत्रभित्र रहेका पसल कबललगायत सबै संरचना १५ दिनभित्र हटाउन पोखरा उपत्यका नगर विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ ।  समितिले पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी राजमार्गदेखि दक्षिण, विमानस्थलदेखि उत्तर र पूर्वमा सेती नदी क्षेत्रमा निर्माण गरिएका पसल कबललगायत संरचना हटाई पोखरा बसपार्क निर्माणको प्रक्रियामा सहजीकरण गर्न व्यवसायीहरुलाई सूचित गरेको हो ।  तोकिएको अवधिभित्र संरचना नहटाएमा समिति आफैले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुल उपर गरिने शनिबार जारी सूचनामा उल्लेख छ ।  समितिले बसपार्क क्षेत्रभित्र लालपुर्जा भएका जग्गाधनीहरुलाई सात दिनभित्र नागरिकताको प्रमाणपत्र, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि, चालु आवको सम्पत्ति÷भूमिकर तिरेको रसिद र जग्गासम्बन्धी प्रमाण पुग्ने अन्य कागजात समितिको कार्यालयमा बुझाउन निर्देशनसमेत दिएको छ ।  पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्कको जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन यसअघि गत वैशाख ४ गते पोखरा महानगरपालिकाले पनि सार्वजनिक रुपमा सूचित गरेको थियो । ३५ दिने उक्त सूचनाको अवधि शनिबार सकिएपछि पोखरा उपत्यका नगर विकास समितिले अर्को सूचना जारी गरेको हो ।   पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको बसपार्कको जग्गामा सुकुमवासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरु रहेका छन् । आधुनिक सुविधासम्पन्न बसपार्क बनाउन विसं २०३१/३२ तिर २०५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।  बसपार्कका लागि अधिग्रहण गरिएको जग्गा अतिक्रमणमा पर्दै गएर अहिले करिब ६० रोपनी क्षेत्रफल मात्र बाँकी छ । प्रस्तावित आधुनिक पोखरा बसपार्कको अतिक्रमित जग्गा खाली गराई बसपार्क निर्माणको प्रक्रियालाई अगाडि बढाउने महानगरको योजना छ ।  भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीका नाममा झण्डै ५०० परिवार बसपार्कको जग्गामा घरटहरा बनाएर बसेको महानगरले जनाएको छ । वास्तविक सुकुमवासीलाई उचित व्यवस्थापन गरी अतिक्रमित जग्गा खाली गराएर बसपार्क बनाइने भएको हो । 

४० दिनमा विपद्बाट ७० जनाले गुमाए ज्यान

काठमाडौं ।  विसं २०८३ को वैशाखयता शनिबारसम्म भएका एक हजार  ३४२ वटा विपद्जन्य घटनामा देशभर गरेर ७० जना नागरिकले ज्यान गुमाएका छन् ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वर्ष २०८३ को पछिल्लो ४० दिनमा उक्त घटना भएको र ३३३ जना नागरिक घाइते भएका छन् ।  प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सबैभन्दा बढी लेक लागेर १६, चट्याङबाट १४ र आगलागीबाट ११ जनाले ज्यान गुमाएका छन् ।  यसैगरी, हुरीबाट नौ, जनावरको आक्रमणबाट आठ, सर्पदंशबाट पाँच, पहिरोबाट दुई, डुंगा पल्टिएर दुई तथा वन डढेलो, बाढी र हिउँपहिरोमा परेर एकरएक जनाको मृत्यु भएको छ ।  ती विपद्का घटनाबाट एक हजार ६२१ परिवार प्रभावित भएका प्राधिकरणले शनिबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।  विपद्जन्य घटना संख्या हेर्दा भने सबैभन्दा बढी आगलागीका ४८८ वटा घटना भएका छन् । यसैगरी,  हुरीका २३०, चट्याङका १३९ र सर्पदंशका १०५ वटा घटना भएका छन् ।  पछिल्लो २४ घण्टामा मात्रै विपद्जन्य घटनामा परेका तीन जनाको मृत्यु भएको पनि उनले बताए । ३२ वटा घटनामा १३ जना घाइते भएका र १७ लाखभन्दा बढीको क्षति भएको पनि प्राधिकरणले जनाएको छ ।  देशमा मनसुन प्रवेशको चरणमा रहेका बेला कतै बाढी पहिरो र कतै तातो हावाको लहर जारी छ । आज पूर्वी नेपालका विभिन्न जिल्लामा भीषण बाढी आउँदा धेरै क्षेत्र प्रभावित भएको छ ।

बेनी-जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

काठमाडौं । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्ड अवरुद्ध भएको छ ।  म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा शनिबार (आज) साँझ रूख ढलेर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सम्पर्कविच्छेद भएको हो ।  सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारी साधनहरु बीच बाटोमै रोकिएका छन् ।  स्थानीयवासीका साथै मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शनमा जाने आउने पर्यटक र तीर्थयात्रीहरू प्रभावित भएका छन् ।  जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले सडक विभागका उपकरण, सुुरक्षाकर्मी र मजदुुर परिचालन गरेर अवरुद्ध सडक खुलाउन पहल भइरहेको जानकारी दिए ।   

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जना भारतीय नागरिकलाई पक्राउ गरी शनिबार (आज ) सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भारत देश राजस्थान प्रदेश मागेवास ग्राम पञ्चायत जयपुर जिल्ला बरुणपथ थानाधर ठेगाना भएका २४ वर्षीय छोटुलाल जांगिड तथा भारत राजस्थान प्रदेश सभम विहार मानेवार ग्रामपञ्चाय जयपुर जिल्ला घर भएका २१ वर्षीय देन्वेन्द्रकुमार हरिजन रहेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । उनले भने, “ललितपुर महानगपालिका-१४ खुमलटार बस्ने एक बालिकालाई फकाई भारतको दिल्ली जाने बसको टिकट काट्दै गरेको अवस्थामा पीडित बालिकाको उद्धार गरी उनीहरुलाई पक्राउ गरिएको हो ।”  पक्राउ परेका उनीहरू दुवै जनामाथि मानव बेचबिखन ओसारपसारअन्तर्गतमा थप अनुसन्धान कार्य जारी रहेको प्रवक्ता काफ्लेले बताए।