काठमाडौं । अमेरिकाको वासिङ्टन डिसीस्थित राष्ट्रपति निवास ह्वाइट हाउसको सुरक्षा जाँच चौकी (चेकपोइन्ट) मा गोली प्रहार गर्ने एक बन्दुकधारी सुरक्षाकर्मीको जवाफी कारबाहीमा मारिएका छन् ।
शनिबार साँझ भएको उक्त घटनामा संलग्न बन्दुकधारीलाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको अमेरिकी गुप्तचर निकाय सेक्रेट सर्भिसलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
सेक्रेट सर्भिसका अनुसार ह्वाइट हाउस नजिकैको १७ औं स्ट्रिट र पेन्सिलभेनिया एभिन्युमा रहेको जाँच चौकीमा पुगेका ती व्यक्तिले अचानक आफ्नो झोलाबाट बन्दुक निकालेर सुरक्षाकर्मीमाथि गोली बर्साउन थालेका थिए ।
त्यसलगत्तै सुरक्षामा खटिएका अधिकारीहरूले आत्मरक्षाका लागि जवाफी कारबाही गर्दा शङ्कास्पद बन्दुकधारीलाई गोली लागेको थियो ।
दोहोरो गोली हानाहानका क्रममा बाटोमा हिँडिरहेका एक सर्वसाधारणसमेत घाइते भएका छन् । उनलाई सुरुमै बन्दुकधारीले हानेको गोली लागेको हो वा सुरक्षाकर्मीको जवाफी कारबाहीका क्रममा लागेको हो भन्नेबारे अनुसन्धान भइरहेको छ । घाइतेको अवस्थाबारे थप विवरण खुलाइएको छैन ।
सेक्रेट सर्भिसका अनुसार घटनामा कुनै पनि सुरक्षाकर्मीलाई चोट लागेको छैन । गोली चल्ने बित्तिकै ह्वाइट हाउसमा उच्च सतर्कता अपनाइएको थियो । घटनाको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमै रहे पनि उनी पूर्ण रूपमा सुरक्षित छन्।
गोली चलाउने व्यक्ति मानसिक रूपमा विचलित रहेको जनाइएको छ ।
सुरक्षा निकायले उनलाई यसअघि नै ह्वाइट हाउस क्षेत्रमा प्रवेश गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको खुलासा भएको छ ।
ह्वाइट हाउस करस्पोन्डेन्ट्स एसोसिएसन (पत्रकार महासंघ) को रात्रिभोज आयोजना भइरहेको होटलमा एक बन्दुकधारीले गोली चलाएको र राष्ट्रपति ट्रम्पसहित उच्च अधिकारीहरूलाई हतार(हतार सुरक्षित स्थानमा सारिएको घटनाको महिना दिन नपुग्दै पुनः ह्वाइट हाउस बाहिर अर्को गोलीकाण्ड भएको हो ।
घटनाबारे अमेरिकी सुरक्षा निकायहरूले थप अनुसन्धान अघि बढाएका छन् ।
यसअघि जुलाई २०२४ मा पेन्सिलभेनियाको बटलरमा आयोजित चुनावी र्यालीमा ट्रम्पमाथि गोली प्रहार गरिएको थियो । उक्त घटनामा एक दर्शकको मृत्यु भएको थियो भने तत्कालीन उम्मेदवार ट्रम्पको कानमा सामान्य चोट लागेको थियो । त्यसको केही महिनापछि ट्रम्प गल्फ खेलिरहेको फ्लोरिडाको वेस्ट पाम बिचस्थित गल्फ कोर्सनजिक अर्को सशस्त्र व्यक्तिलाई पक्राउ गरिएको थियो ।
यसैबीच ट्रम्पले गत वर्ष पुनः कार्यभार सम्हालेपछि ह्वाइट हाउस परिसरमा निर्माणाधीन नयाँ बलरुम परियोजनाका लागि सुरक्षा आवश्यकतालाई एउटा प्रमुख कारणका रूपमा अघि सारेका छन् ।
न्युयोर्कका रियल इस्टेट व्यवसायीसमेत रहेका ट्रम्पका अनुसार करिब ४० करोड डलर लागतको उक्त परियोजनामा भूमिगत सैन्य अस्पतालसहित अत्यधिक सुरक्षित तथा ‘ड्रोन-प्रतिरोधी’ संरचना समावेश गरिनेछ ।