रिक्शामा डोनाल्ड ट्रम्प
काठमाडौं । नयाँदिल्लीका सर्वसाधारणको दैनिक जीवनसँग गहिरो रूपमा जोडिएका अटो-रिक्शाहरू अहिले अमेरिकाको २५०औँ स्वतन्त्रता उत्सव र अमेरिकी विदेशमन्त्री मार्को रुबियोको भारत भ्रमणको पूर्वसन्ध्यामा डोनाल्ड ट्रम्प–थिमयुक्त प्रचार सामग्रीसहित नयाँ रूपमै देखिन थालेका छन् । तर यस अभियानप्रति सबैको प्रतिक्रिया सकारात्मक छैन । भारतको राजधानीमा चल्ने पहेँलो–हरियो तीन पाङ्ग्रे अटो–रिक्शामा अहिले ट्रम्पको अनुहार र अमेरिकी झण्डासहितका कभरहरू प्रयोग भइरहेका छन् । अमेरिकाको दूतावासले उपलब्ध गराएको भनिएको यी कभरहरू हजारौँ सवारी साधनमा प्रयोग हुँदै ‘जन्मदिनको शुभकामना अमेरिका !’ र ‘२५० वर्ष पुरानो’ जस्ता सन्देशसहित प्रदर्शन गरिएको छ । केही डिजाइनमा स्ट्याचु अफ लिबर्टी समेत समावेश गरिएको छ । अमेरिकी राजदूत सर्जियो गोरको पहलमा सुरु गरिएको यो अभियानले भारतीय राजधानीमा सञ्चालित अटो–रिक्शालाई सांस्कृतिक र कूटनीतिक प्रचारको माध्यमका रूपमा प्रयोग गर्ने उद्देश्य राखेको बताइएको छ । नयाँदिल्लीस्थित अमेरिकी दूतावासले एएफपीलाई दिएको जानकारीअनुसार हजारौँ अटो–रिक्शामा अमेरिकाको २५०औँ वार्षिकोत्सवका सन्देशहरू प्रदर्शन गरिनेछ । यहीबीच, नयाँदिल्लीका २४ वर्षीय चालक तुषारले भीषण गर्मीका बीच रिक्शामा ट्रम्प–थिम कभर जडान गर्ने काम गरिरहेका छन् । उनले आपूर्तिकर्ताबाट दैनिक ६० देखि ७० वटा कभर प्राप्त हुने र प्रत्येक जडान गरेबापत करिब ५० रुपैयाँ आम्दानी हुने बताए । तुषारका अनुसार धेरै चालकहरूलाई निःशुल्क कभर प्रयोग गर्न मनाउनुपर्ने अवस्था छ, विशेषगरी उनीहरू सीएनजी इन्धनका लागि लाममा बसिरहेका बेला सानो चियापानी जस्ता प्रोत्साहनले पनि उनीहरूको निर्णय प्रभावित हुने गर्छ । उनले सामान्य जीवनमा यस्ता प्रचार सामग्रीहरू कहिले अचार त कहिले अन्य उपहारसँग तुलना गर्दै ‘उपहारहरू परिवर्तन भइरहन्छन्’ भनी टिप्पणी गरे । तर सबै चालक यस अभियानप्रति उत्साहित छैनन् । एक चालकले आफ्नो नाम सार्वजनिक नगर्ने शर्तमा ‘ट्रम्पले सबै कुरा बर्बाद गरेका छन्’ भन्दै असन्तुष्टि व्यक्त गरे । अर्का चालक मुरारी लालले भने निःशुल्क कभर पाए पनि आफूले कुनै अतिरिक्त लागत नबोकेकाले प्रयोग गरेको बताए । यो प्रचार अभियान भारतमा इन्धन आपूर्ति र मूल्यबारे चिन्ता बढिरहेका बेला आएको हो । इरानसँग सम्बन्धित भू–राजनीतिक तनाव र हर्मुज जलघाँटीमा देखिएको अस्थिरताका कारण भारतले इन्धन आपूर्तिमा चुनौती सामना गरिरहेको बताइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले इन्धन बचतका लागि सार्वजनिक कर्मचारीहरूलाई घरबाट काम गर्ने व्यवस्था समेत लागू गर्न आह्वान गरेका छन् । भारत विश्वको तेस्रो ठूलो तेल खरिदकर्ता देश भएकाले यस्ता घटनाक्रमले इन्धन मूल्य र उपभोगमा प्रत्यक्ष प्रभाव पारिरहेको देखिन्छ । इन्धनको मूल्य वृद्धिसँगै व्यावसायिक चालकहरूमा असन्तोष बढेको छ । केहीले भने राजनीतिक र अन्तर्राष्ट्रिय घटनाक्रमलाई दोष दिँदै आफ्नो व्यवसाय प्रभावित भएको गुनासो गरेका छन् । यसैबीच, भारत भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतका विभिन्न सहरहरूमा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ । उनी कोलकाताबाट सुरु हुने भ्रमणपछि नयाँदिल्लीसहित अन्य सहरहरूमा द्विपक्षीय तथा बहुपक्षीय वार्तामा सहभागी हुनेछन् । रुबियोको यो भ्रमण सन् १७७६ मा अमेरिकाको स्वतन्त्रता घोषणाको २५०औँ वार्षिकोत्सवसँग पनि जोडिएको छ, जसअन्तर्गत नयाँदिल्लीमा विशेष समारोह आयोजना हुने अपेक्षा गरिएको छ । यसैबीच, अमेरिका र भारतबीचको सम्बन्धमा उतारचढाव देखिँदै आएको पृष्ठभूमिमा राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदीबीचको सम्बन्धलाई लिएर पनि विभिन्न राजनीतिक टिप्पणी भइरहेका छन् । विशेषगरी काश्मीर घटनाक्रम र क्षेत्रीय कूटनीतिक मतभेदपछि दुई देशबीचको सम्बन्धमा केही तनाव देखिएको विश्लेषण गरिएको छ । रासस
६ महिनामै जगदम्बा मोटर्सको आम्दानी ९ अर्ब बढी, स्मार्टफोन थपिएपछि ४३.१६ प्रतिशत बढ्यो
काठमाडौं । जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामै ९ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार यस अवधिमा ९ अर्ब ६ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो । चारपाङ्ग्रे विद्युतीय सवारीको व्यापार विस्तार तथा जेडटीई स्मार्टफोन वितरण व्यवसाय थपिएपछि कम्पनीको आम्दानीमा उल्लेखनीय वृद्धि भएको जनाएको छ । शंकर ग्रुपअन्तर्गत सञ्चालनमा रहेको जगदम्बा मोटर्सले गत आर्थिक वर्ष २०८१/८२ मा १२ अर्ब ५५ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४३.१६ प्रतिशत अर्थात् ३ अर्ब ७८ करोड ६० लाख रुपैयाँ बढी हो । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको सञ्चालन आम्दानी ८ अर्ब ७७ करोड २० लाख रुपैयाँ रहेको थियो । यसअघि कम्पनीले आर्थिक वर्ष २०७९/८० मा ७ अर्ब ८१ करोड २० लाख रुपैयाँ, आव २०७८/७९ मा १३ अर्ब ६१ करोड ८० लाख रुपैयाँ, आव २०७७/७८ मा १३ अर्ब १३ करोड ५० लाख रुपैयाँ तथा आव २०७६/७७ मा ६ अर्ब ६५ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सन् २०१० डिसेम्बर २७ मा एसजी ग्लोबल प्राइभेट लिमिटेडको रूपमा स्थापना भएको कम्पनीलाई सन् २०१५ जुनमा पुनः नामकरण गरी जगदम्बा मोटर्स प्राइभेट लिमिटेड राखिएको हो । हाल कम्पनीको नेतृत्व शाहिल अग्रवालले गर्दै आएका छन् । जगदम्बा मोटर्स नेपालमा टीभीएस मोटर कम्पनीका उत्पादनहरूको आधिकारिक तथा एकमात्र वितरक हो । कम्पनीले प्रोटोन कारहरूको समेत नेपालमा प्रतिनिधित्व तथा वितरण गर्दै आएको छ । पछिल्ला वर्षहरूमा कम्पनीले विद्युतीय चारपाङ्ग्रे सवारी क्षेत्रमा पनि आफ्नो उपस्थिति विस्तार गरेको छ । यसअन्तर्गत कम्पनीले जेएमईभी र चेरी ब्रान्डका ईभी सवारी साधन नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । कम्पनीका अनुसार यसले टीभीएसका दुई तथा तीनपाङ्ग्रे सवारी, गीली समूहअन्तर्गतको प्रोटोन होल्डिङ्सका कार, जेएमईभी तथा चेरी ब्रान्डका ईभी सवारी बिक्री वितरण गर्दै आएको छ । देशभरका प्रमुख सहरमा फैलिएको करिब १३४ डिलर सञ्जालमार्फत कम्पनीले आफ्नो सेवा विस्तार गरेको जनाएको छ । यद्यपि, नेपालको दुईपाङ्ग्रे सवारी बजार अत्यन्त प्रतिस्पर्धात्मक रहेको कम्पनीको भनाइ छ । बजारमा बजाज, होन्डा र यामाहा जस्ता स्थापित ब्रान्डहरूको बलियो उपस्थिति रहेको छ । ती कम्पनीहरूले स्थानीय एसेम्बली सञ्चालन सुरु गरेपछि प्रतिस्पर्धा अझ तीव्र बनेको कम्पनीले जनाएको छ । आगामी दिनमा आम्दानी वृद्धि कायम राख्दै नाफा स्थिर राख्नु, कार्यशील पुँजी व्यवस्थापन सन्तुलनमा राख्नु तथा लाभांश र पुँजी संरचनाबीच उचित सन्तुलन कायम गर्नु कम्पनीका प्रमुख चुनौतीका रूपमा रहेको बताइएको छ । कम्पनीको आम्दानीमा सुधार देखिए पनि सञ्चालन नाफा मार्जिन भने घट्दो क्रममा रहेको छ। आर्थिक वर्ष २०८०/८१ मा १०.०२ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन गत वर्ष घटेर ७.०९ प्रतिशतमा झरेको थियो । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा यो थप घट्दै ६.१० प्रतिशतमा सीमित भएको कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल ५ अर्ब ९७ करोड ९३ लाख रुपैयाँ ऋण लिएको छ । यसमध्ये १ अर्ब ४९ करोड ३७ लाख रुपैयाँ दीर्घकालीन तथा ४ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ अल्पकालीन ऋण रहेको कम्पनीको तथ्यांकमा उल्लेख छ ।
उच्च अदालत जनकपुरको न्यायिक पहुँच अभियान आइतबारदेखि
काठमाडौं । उच्च अदालत, जनकपुरले धनुषाका आठ विभिन्न नगरपालिकामा प्रत्यक्ष रूपमा कानुनी सचेतना पुर्याउने उद्देश्यसहित न्यायिक पहुँच अभियान सुरु गर्ने भएको छ । जेठ १० गते आइतबारदेखि सुरु हुने उक्त कार्यक्रम न्यायपालिकालाई जनताको घरदैलोमै पुर्याउने प्रयास भएको उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश डा. टेकराज कुँवरले जानकारी दिए । उच्च अदालतका न्यायाधीशहरूको नेतृत्वमा सञ्चालन हुने यस कार्यक्रममार्फत स्थानीय नागरिक, कानुनप्रेमी, विद्यार्थी तथा समुदायका विभिन्न वर्गलाई न्याय प्रणालीबारे प्रत्यक्ष जानकारी दिइने कुँवरले बताए । उनका अनुसार अभियानका क्रममा अदालतका कामकारबाही, नागरिक अधिकार, न्यायमा पहुँच तथा कानुनी प्रक्रियाबारे खुला अन्तरक्रिया गरिने छ । कार्यक्रमअन्तर्गत अदालतका प्रतिनिधिहरू विभिन्न नगरपालिकामा पुगेर कानुनी सचेतना अभिवृद्धि, न्यायिक प्रक्रियाबारे प्रशिक्षण तथा नागरिकका जिज्ञासाको समाधान गर्ने कार्यक्रम रहेको छ । यसले सर्वसाधारण र न्यायपालिकाबीचको दूरी घटाउने तथा न्यायप्रति जनविश्वास थप बलियो बनाउने अपेक्षा गरिएको उच्च अदालतले जनाएको छ । उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश कुँवरले अभियानले विशेषगरी ग्रामीण तथा कानुनी पहुँच कम भएका समुदायलाई लक्षित गर्ने जानकारी दिए ।
'द हिडन ट्रेजर मिस नेपाल २०२६' को मुख्य प्रायोजकमा कजारिया
काठमाडौं । कजारियाले नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकका रूपमा आफ्नो सहभागिता घोषणा गरेको छ । यस सम्बन्धी औपचारिक पत्रकार सम्मेलन जेठ ७ गते ललितपुरको पुल्चोकस्थित ‘द प्लाजा’ मा आयोजना गरिएको थियो । कम्पनीले सौन्दर्य, बौद्धिकता, आत्मविश्वास र महत्वाकांक्षालाई उजागर गर्ने यस मञ्चसँग आबद्ध हुन पाउँदा गर्व व्यक्त गरेको छ । कजारियाका अनुसार यो सहकार्य केवल प्रायोजनमा सीमित नभई नेपालीहरूको आकांक्षा र सपनासँग जोडिने प्रतिबद्धता पनि हो । मिस नेपाल मञ्चले नयाँ पुस्तालाई प्रेरित गर्दै आत्मविश्वासले भरिपूर्ण व्यक्तित्व विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ । यसै सन्दर्भमा कजारियाले टायल तथा डिजाइन सोलुसन्सभन्दा बाहिर गएर आफ्नो ब्रान्ड उपस्थितिलाई अझ मजबुत बनाउने उद्देश्य राखेको जनाएको छ । कजारियाले आफूलाई आकांक्षा, भव्यता, आत्मविश्वास र आधुनिक नेपाली उत्कृष्टताको प्रतिनिधित्व गर्ने ब्रान्डका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ । साथै, रचनात्मकता र रूपान्तरणलाई प्राथमिकता दिने यस्ता मञ्चहरूसँग सहकार्य गर्दै आफ्नो दृष्टिकोणलाई थप सबल बनाउने बताइएको छ । कम्पनीका प्रवक्ताले मिस नेपाल २०२६ सँगको सहकार्यले देशभरका उपभोक्तासँग भावनात्मक सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे । उनका अनुसार यसले ब्रान्डको आकर्षण र विश्वसनीयतालाई थप मजबुत बनाउनेछ । यस मुख्य प्रायोजनमार्फत कजारियाले उत्पादनभन्दा माथि उठेर अर्थपूर्ण ब्रान्ड अनुभव सिर्जना गर्ने आफ्नो यात्रालाई निरन्तरता दिएको जनाएको छ । कम्पनीले आफूलाई नेपालमा आधुनिक जीवनशैली, आत्मविश्वास र आकांक्षाको प्रतीक ब्रान्डका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।
महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान निर्वाचित
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन् । वैद्यले ५६ मत ल्याएर वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी रामचन्द्र संघाईले ३० मत ल्याए । त्यसैगरी, कोषाध्यक्षमा मनिसलाल प्रधान निर्वाचित भएका छन् । उनले ६१ मत ल्याए भने उनका प्रतिस्पर्धी अम्बिकाप्रसाद पौडेलले २५ मत प्राप्त गरे ।
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले आफ्नो नामका अगाडि कानुनविपरीत रूपमा प्रयोग गरिएको ‘डाक्टर’(डा) शब्द हटाउन निर्देशन दिएको छ । काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेले जुनसुकै विधाका स्वास्थ्यकर्मी वा व्यक्तिले आफ्नो नामको अगाडि नियमविपरीत ‘डाक्टर’ शब्द प्रयोग गर्ने गरेको पाइएकाले बताउँदै उक्त ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन आग्रह गरे । काउन्सिलमा दर्ता भएका चिकित्सक तथा आफ्नो विधागत परिषद् ऐनद्वारा चिकित्सक उपाधि प्राप्त गरेकाबाहेक अन्य सम्बन्धित परिषद्मा दर्ता रहेका वा नरहेका जुनसुकै विधाका स्वास्थ्यकर्मी वा व्यक्तिले आफ्नो नामको अगाडि अवैध वा नियमविपरीत ‘डाक्टर’ शब्द प्रयोग गर्न नपाइने उनले बताए । काउन्सिलले नेपालमा आधुनिक चिकित्सा प्रणालीअन्तर्गत बिरामीको उपचार गर्ने, परामर्श दिन र नामको अगाडि डाक्टर/चिकित्सक पद प्रयोग गर्ने कानुनी अधिकार नेपाल मेडिकल काउन्सिल ऐन, २०२० बमोजिम काउन्सिलमा दर्ता भएका चिकित्सकमा मात्र रहेको उनले जानकारी दिए । उनले आधिकारिक कागजपत्र, प्रेस्क्रिप्सन प्याड, क्लिनिकको साइनबोर्ड, भिजिटिड कार्ड तथा सबै सामाजिक सञ्जालबाट त्यस्ता अवैध वा नियमविपरीत डाक्टर लेख्नेलाई तत्काल हटाउन निर्देशन दिएका हुन् । काउन्सिलले काउन्सिलमा दर्ता भएका चिकित्सकबाहेक अन्य जुनसुकै विधा वा परिषद्मा दर्ता भएका वा नभएका व्यक्तिका नामको अगाडि डाक्टर (डा) उपाधि प्रयोग गरी आधुनिक चिकित्साको भ्रम सिर्जना गरेमा वा आधुनिक औषधि सिफारिस गरेको पाइएमा काउन्सिलको ऐनबमोजिम तीन वर्षसम्म कैद वा तीन हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने उल्लेख छ । काउन्सिलले स्वदेश वा विदेशका विभिन्न विश्वविद्यालयबाट प्रमाणपत्रमा ‘डाक्टर’ शब्द उल्लेख भई शैक्षिक उपाधि प्राप्त गर्नुको अर्थ स्वतन्त्र रुपमा चिकित्सीय अभ्यास गर्ने अनुमति स्वतःप्राप्त नभएको बताएको छ ।
सेयर बजारमा ४ अर्ब ४९ करोडको कारोबार
काठमाडौं । शुक्रबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६.३८ अंकले बढेर २७५८ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार २०३ कम्पनीको सेयर मूल्य बढ्दा ५७ कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । शुक्रबार ३३६ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको भएको छ । आँखु खोलाको ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, रिडि पावरको २४ करोड, नेसनल हाइड्रोको १६ करोड १६ लाख, एपीआई पावर कम्पनीको १६ करोड र बुंगल हाइड्रोको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज केस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य १४.८१ प्रतिशतले बढेका छन् । शुक्रबारको कारोबारमा १२ समूहका सूचक बढेका छन् भने एउटाको सूचक घटेको छ । बैंकिङ ०.६१ प्रतिशत, डेभलपमेन्ट ०.३९ प्रतिशत, फाइनान्स ०.२८ प्रतिशत, होटल तथा टुरिजम ०.७५ प्रतिशत, हाइड्रोपावर १.२९ र इन्भेष्टमेन्ट ०.४३ प्रतिशतले बढेका छन् ।
वरिष्ठ उपाध्यक्षको दौडबाट हेमराज ढकाल ‘ब्याक’
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार हेमराज ढकालले अन्ततः आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार (आज) ढकालले उम्मेदवारी फिर्ता लिने निर्णय गर्दै अब वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र संघईलाई समर्थन गर्ने घोषणा गरेका हुन् । ढकालको उम्मेदवारी फिर्तासँगै अब वरिष्ठ उपाध्यक्ष पदका लागि रामचन्द्र संघई र सुरकृष्ण वैद्यबीच मात्र प्रतिस्पर्धा हुने भएको छ । यसैबीच कोषाध्यक्ष पदका लागि भने मनिषलाल प्रधान र अम्बिका प्रसाद पौडेलबीच कडा प्रतिस्पर्धा हुने भएको छ । यससँगै महासंघको निर्वाचन समीकरणमा नयाँ मोड आएको छ । अध्यक्ष अञ्जन श्रेष्ठ नेतृत्वको टिमलाई दबाब परेको छ । श्रेष्ठ टिमबाट वरिष्ठ उपाध्यक्ष पदमा सुरकृष्ण वैद्य र कोषाध्यक्ष पदमा मनिषलाल प्रधान चुनावी मैदानमा छन् । त्यस्तै, निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल र एशोसिएट उपाध्यक्ष प्रबलजंग पाण्डे पक्षको समर्थन वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघई र कोषाध्यक्ष उम्मेदवार अम्बिका प्रसाद पौडेललाई रहेको स्रोत बताउँछ ।