विकासन्युज

स्काइलाइन इन्फ्रामा नेपाल एसबिआई बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

काठमाडौं । नेपाल एसबिआई बैंक र स्काइलाइन इन्फ्राबीच बैंकका ग्राहकलाई छुटलगायतका सुविधा दिने सम्झौता भएको छ । सम्झौताअन्तर्गत सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गरी खाध्य तथा पेय पदार्थलगायत अन्य सुविधामा १५ प्रतिशत र आवास सुविधामा १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका मधेश प्रदेश प्रमुख उदय पन्जीयार थारु र स्काइलाइन इन्फ्राका निर्देशक अंकुर भंगर अग्रवालले आदानप्रदान गरेका थिए । सो कार्यक्रममा बैंकका वीरगन्ज शाखाका प्रबन्धक राकेश महर्जन र बैंक तथा होटेलका अन्य पदाधिकारीहरूसमेतको उपस्थिति रहेको थियो । नेपाल एसबिआई बैंकले विगत ३१ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

एनसेल बन्यो तेस्रो संस्करणको नेपाल सुपर लिगको टाइटल स्पोन्सर

काठमाडौं । नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसईएम) ले नेपाल सुपर लिग (एनएसल) को तेस्रो संस्करणका लागि एनसेल आजियाटा लिमिटेडलाई टाइटल स्पोन्सरका रूपमा घोषणा गरेको छ । एनएसएल नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायीक फुटबल लिग हो । शुक्रबार ललितपुरको द प्लाजामा आयोजित विशेष समारोहमा यस साझेदारीको घोषणा गरिएको थियो । यस सहकार्यअन्तर्गत एनसेलले नेपालमा फुटबलको प्रवर्द्धन गर्दै नेपाली फुटबलप्रेमीहरूको मनपर्ने खेललाई अझ बलियो बनाउन सहयोग गर्नेछ । साथै यसले नेपालका उदयीमान खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ । सन् २०२१ मा स्थापना भएको एनएसएललाई एनएसईएमले अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा आयोजना गर्दै आएको छ । थुप्रै क्षेत्रीय फ्रेन्चाइज टोलीहरूको प्रतिनिधित्व गर्दै यो लिगले नेपालभर फुटबलप्रति व्यापक चासो र सहभागिता बढाइरहेको छ । यसले क्षेत्रीय पहिचान प्रवद्र्धन गर्दै एकता र गौरवको भावनालाई अझ बलियो बनाएको छ । एनएसएलको आधिकारिक खेल तालिका २९ मार्च २०२५ बाट सुरु हुनेछ । यस प्रतियोगितामा बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसी सहित सात टिमहरूबीच कडा प्रतिस्पर्धा हुनेछ । पत्रकारहरूसँग कुरा गर्दै नेपाल सुपर लिगका म्यानेजिङ डाइरेक्टर श्रेयांस कार्कीले यो साझेदारीले नेपाली फुटबललाई नयाँ उचाइँ पु¥याउने बताए । त्यस्तै, एनसेलका चिफ कमर्सियल अफिसर (सीसी‌ओ) उमेर मोहसिनले एनएसएलसँगको सहकार्यले खेल विकासप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने बताए ।

बैतडी घटनाका अभियुक्त कर्ण विष्ट भारतबाट पक्राउ

सुरेन्द्र विष्ट । काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका- ८ कालागाउँका ४५ वर्षीय कर्णबहादुर बिष्टलाई प्रहरीले भारतबाट पक्राउ गरेको छ। गएको शनिबार गाउँकै भाइ नाता पर्ने २४ वर्षीय सुरेन्द्र विष्टको गोली हानेर हत्या गरी फरार भएका कर्णबहादुरलाई दार्चुलाको दत्तु पारी भारतीय क्षेत्रबाट शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए । सुरेन्द्रको हत्या गरेर फरार भएका कर्णबहादुरलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी समेत खटिएका थिए । कर्णबहादुरलाई भारतीय गाउँबाट पक्राउ गरिएको र थप विवरण आउन बाँकी रहेको उनले बताए । पक्राउ परेका उनई नेपालतर्फ ल्याउने काम भइरहेको छ । अभियुक्त कर्णबहादुर विष्ट । फाइल तस्बिर । लेनदेनका विषयमा विवाद हुँदा कर्णले भरुवा बन्दुकबाट गोली हानेर सुरेन्द्रको हत्या गरेका थिए । हत्यापछि बन्दुकसहित फरार रहेका कर्णको खोजीका लागि प्रहरी टोली खटिएको थियो । कर्णले सुरेन्द्रलाई ४० हजार रुपैयाँ तिर्नुपर्ने थियो । सोही विषयमा विवाद हुँदा उनले गोली चलाएर सुरेन्द्रको हत्या गरेका हुन् । अभियुक्त पक्राउ परेपछि अब अनुसन्धानको कामअघि बढ्ने प्रहरीले जनाएको छ । कर्ण भारतको कुन ठाउँबाट पक्राउ परे भन्ने विषय खुल्न बाँकी रहेको प्रहरी निरीक्षक बडूले बताए । ४० हजारले लियो सुरेन्द्रको प्राण, ७ महिनामै पुछियो सरस्वतीको सिउँदो

कृषि विकास बैंकको मोबाइल एपमा अब नयाँ ‘एडीबीएल पे फण्ड ट्रान्सफर’को सुविधा

काठमाडौं । कृषि विकास बैंकले आफ्नो मोबाइल बैंकिङमा रकम भुक्तानीका लागि नयाँ सुविधा एडीबीएल पे थप गरी सञ्चालनमा ल्याएको छ । बैंकले विभिन्न समयमा ग्राहकको माग र आवश्यकतालाई मध्येनजर गरी विभिन्न सेवाहरू बैंकको एडीबीएल स्मार्ट प्लस मोबाइल बैंकिङ एपमार्फत प्रदान गर्दै आइरहेको छ । यसै सन्दर्भमा बैंकले नेपाल पेमेन्ट सोलुसन्ससँगको सहकार्यमा फन्ड ट्रान्सफर तथा वालेट लोड सुविधा सञ्चालनमा ल्याएको छ । बैंकको मोबाइल बैंकिङ एप ’एडीबीएल स्मार्ट प्लस’ मार्फत ग्राहकहरूले रकम ट्रान्सफर गर्न सक्ने जसका लागि रकम प्राप्त गर्नेको मोबाइल नम्बर वा सम्वन्धित बैंकको खाता नम्बर र खातावालाको नामसहित रकम प्रविष्ट गरेर सहज रूपमा सुरक्षित तवरले निर्धक्कसँग रकम पठाउन सक्छन् । यस सुविधाबाट बैंक खाता र वालेटहरूबीच हुने डिजिटल रकम ट्रान्सफर कारोबार छिटो, सहज र सुरक्षित रुपमा गर्न सकिनेछ । यस्ता छन् विशेषताहरू : मोबाइल बैंकिङ एपमार्फत रकम ट्रान्सफर गर्न सकिने कृषि विकास बैंकका ग्राहकहरूले न्यूनतम शुल्कमा रकम ट्रान्सफर गर्न सक्ने द्रुत र निर्बाध रूपमा रकम ट्रान्सफर हुने छिटो, छरितो र सहज कारोबार हुने ग्राहकमैत्री सहज सञ्चालन गर्न सकिने तुरुन्तै कारोबार हुने

६ बैंकको लगानीमा १८० मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत आयोजना बन्ने, कुल लागत करिब ४० अर्ब

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंक र कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिबीच कम्पनीले कालीगण्डकी नदीमा निर्माण गर्ने १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ । सो आयोजनाको कुल लागत ३९ अर्ब ५० करोड २४ लाख रुपैयाँ रहेको छ । यो सहकार्यले नेपालको नविकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्नेछ । कालीगण्डकी गर्ज जलविद्युत आयोजनाले फागुण २७, २०७५ मा विद्युत विकास विभागबाट विद्युत उत्पादनको अनुमति लिनुका साथै फागुण १७, २०७९ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । सो कम्पनीको मुख्य प्रवर्धकको रूपमा संघई ग्रुप, विशाल ग्रुप तथा ज्ञानेन्द्रलाल प्रधान रहेका छन् । सो परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी २५ प्रतिशत रकम सो कम्पनीका संस्थापक तथा सर्वसाधारणबाट लगानी हुनेछ । लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता रु. ९ अर्ब रहेको छ भने सह–अगुवा बैंकहरुको रुपमा रहेका ग्लोबल आइएमइ बैंकको ७ अर्ब १२ करोड ६० लाख र सिद्धार्थ बैंकको ५ अर्ब रुपैयाँ रहेको छ । अन्य सहभागी बैंक हिमालयन बैंकको ३ अर्ब, नेपाल एसबिआइ बैंकको ३ अर्ब र एभरेष्ट बैंकको २ अर्ब ५० करोड समेत गरी कूल प्रोजेक्ट फाइनान्स २९ अर्ब ६२ करोड ६० लाख रहेको छ । सो आयोजना जुन २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत उत्पादन भए पश्चात वार्षिक करिब १०५६ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै ठुलो स्वतन्त्र ऊर्जा उत्पादक मध्य एकको रूपमा रहने जनाइएको छ ।

२७ वर्षको निरन्तर संघर्षपछि नेतृत्वमा मिना लामा

काठमाडौं । नेपाली समाजमा जतिसुकै महिला सशक्तिकरण र समानताको कुरा भइरहेतापनि महिलालाई नेतृत्व तहसम्म पुग्न अझै पनि थुप्रै चुनौतीहरू छन् । ती चुनौतीहरुलाई पार गरेर अघि बढ्न अहिले पनि महिलालाई ठूलै संघर्ष गर्नुपर्छ । पितृसतात्मक सोंचले जरा गाडेको हाम्रा समाजमा महिलालाई स्वतन्त्र भएर उड्न छुट छैन । परम्परागत सोंच, सांस्कृतिक मान्यता, आर्थिक असमानताले महिलाले जति प्रगति गर्र्नुपर्ने हो त्यो हुन सकेको छैन । महिलाहरूलाई नेतृत्व तहमा पुग्न सबैभन्दा ठूलो चुनौती भनेकै सामाजिक र सांस्कृतिक मानसिकता हो । अहिले पनि महिला किन बाहिर जानुपर्यो ? घर, बालबच्चा र परिवार समाल्ने जिम्वेवारी महिलाको मात्रै हो, त्यसमै सीमित हुनुपर्छ भन्ने सोंच पूर्ण रूपमा हट्न सकेको छैन । महिलालाई निर्णय प्रक्रियामा सहभागी गराउन अझै पनि समाज उदार बन्न सकेको छैन । तैपनि धेरै महिला सामुन्नेका अवरोधहरू छिचोलेर धैर्यता र दृढताका साथ आफ्नो गन्तव्यमा अविचलित अघि बढिरहेका छन् । चाहना र अवसरले मात्र महिला स्थापित हुन सक्दैनन् । सँगै उनीहरूमा दक्षता, जिम्मेवारी पूरा गर्ने आत्मविश्वास, लगनशीलता, धेर्यता पनि जरुरी हुन्छ । यिनै कुराको तालमेल मिलाएकैले मिनाकुमारी लामा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख बन्न सफल भएकी छन् । उनी हेटौंडाकी पहिलो महिला प्रमुख बन्न सफल भएकी हुन् । नजानेरै पार्टी संगठनमा वि.सं २०३३ सालमा हेटौंडामा जन्मिएकी मिनाको पारिवारिक अवस्था सामान्य थियो । खेती किसानी गरेर जीविकोपार्जन गर्नेबाहेक उनको परिवारको अन्य आम्दानीको स्रोत थिएन । मिना परिवारकी चौंथो सन्तान हुन् । तीन दाजुपछि उनी जन्मिएकी थिइन् । तीन छोरा जन्मिसकेको हुँदा बाबुआमाको रहर छोरीमा थियो, त्यही रहर मिनाले पूरा गरेकी थिइन् । बाल्यकालमा उनी दाइहरूसँगै हुर्किन पाइन् । दाजुहरूसँगे खेल्ने, पढ्ने हुर्कने अवसर उनले पाइन्, जुन अवसर त्यतिबेलाको समयमा निकै कमले पाउथे । ‘त्यो समयमा छोरीले पढ्ने, खेल्ने अवसर थोरैले पाउँथे । तर, मैले दाजुहरूसँगै पढ्ने, खेल्ने अवसर पाएँ, त्यसमा आफूलाई भाग्यमानी ठान्छु,’ उनले आफ्नो बाल्यकाल सम्झिँदै भनिन् । सानैदेखि दाजुभाइसँग हुर्किएको हुँदा अन्य छोरीहरूको तुलनामा मिना बढी चनाखो थिइन् । ‘हुने विरुवाको चिल्लो पात’ भने झैं सानैदेखि उनमा नेतृत्व गर्ने क्षमता थियो । विद्यालयमा खेलकुद कार्यक्रम हुँदा उनले नै साथीहरूलाई खेल्नको लागि प्रोत्साहन गर्थिन् । ‘स्कुलमा खेलकुद भनेपछि छोराहरूले मात्रै खेल्थे, कोही दिदीबहिनीहरू अघि सर्दैन थिए । मैले नै खेलकुदमा सहभागी हुनुपर्छ भनेर समूह बनाउँथें । त्यसपछि विभिन्न खेलकुद प्रतिस्पर्धामा भाग लियौं,’ उनले भनिन् । हरेक कुरामा मिना अघि सर्थिन् । कतै अन्याय भयो या झगडा भयो भने त्यहाँ पनि पुगिहाल्थिन् उनी । हरेक कुरामा अग्रसर भएकै कारण कक्षा ६ मा पढ्दै गर्दा अग्रज साथी र आफ्नै साथीहरूले विद्यार्थी संगठनमा लाग्न मिनालाई सल्लाह दिए । उनले विद्यार्थी संगठन भनेको के हो समेत बुझेकी थिइनन् । विद्यार्थी संगठन राजनैतिक पार्टीको संगठन हो भनेर उनले ८ कक्षामा आएर बल्ल बुझिन् । त्योभन्दा अघिसम्म विद्यार्थीहरूको समूह हो भनेर उनले बुझ्दै आएकी थिइन् । त्यसपछि विस्तारै उनले संगठनबाट विभिन्न कार्यक्रमहरूमा सहभागी हुने अवसर पाइन् । संगठनबाटै पार्टी प्रशिक्षण, विद्याथी प्रशिक्षणमा भाग लिइन् । यसरी आधिकारिक रूपमा विंस २०४६ सालबाट उनी राजनीतिक यात्रामा प्रवेश गरिन् । विवाहपछि पढाइलाई निरन्तरता विद्यार्थी जीवनकालबाटै राजनीतिमा लागेकी मिना कक्षाकोठाको अध्यक्ष हुँदै विंस २०५२ सालमा अनेरास्ववियू (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) को जिल्ला कोषाध्यक्ष भएर काम गरिन् । राजनीतिक यात्रासँगै पढाइलाई अगाडि बढाउँदै गर्दा वि.सं २०५४ सालमा उनले हेटौंडाकै सुनकुमार लामासँग विवाह गरिन् । विवाहपछि धेरैले आफ्नो पढाइलाई निरन्तरता दिन सकिरहेको हुँदैनन् । पारिवारिक बन्धनमा बाँधिएपछि आफ्नो करिअर, सपनालाई भुलेर धेरै दिदीबहिनी घरभित्रै सीमित हुन्छन् । तर, मिनाले पढाइपछि पनि आफ्नो पढाइलाई निरन्तरता दिइन् । विवाहपछि पढाइलाई निरन्तता दिन उनलाई सहज थिएन, छिमेकीले अब किन पढ्नुपर्यो भनेर निरुत्साहित पार्न खोज्थे । तर, मिनाले कसैको कुरालाई परवाह नगरी आफ्नो लक्ष्यमा निरन्तर अघि बढिन् । उनले विवाहपछि मास्टर्ससम्मको पढाइ पूरा गरिन् । करिअरकै ‘टर्निङ प्वाइन्ट’ विद्यार्थी राजनीतिपछि मिना महिला संगठनमा आवद्ध भइन् । अखिल नेपाल महिला संघको वडाध्यक्ष, नगरअध्यक्ष, जिल्ला सचिव हुँदै उनी केन्द्रीय सदस्यसम्म पुगिन् । खुला प्रतिस्पर्धा र चुनावबाटै आफू त्यहाँसम्म पुगेको सुनाउँछिन् मिना । यसरी विभिन्न चरण पार गर्दै नेतृत्व तहमा पुग्दा उनलाई २७ वर्ष लामो संघर्ष गर्नुपर्यो । राजनैतिक संगठनमा आवद्ध भए पनि मिनालाई राजनीतिभन्दा पनि महिलाहरूलाई सशक्तिकरण गर्नु थियो, जागृत गराउनुथियो । ‘मेरो वकालत राजनीतिभन्दा पनि महिलाहरूलाई हिंसाविरुद्ध आवाज उठाउनु नै थियो । किनकि महिलाहरू जतिसुकै हिंसा भएपनि सहेर बस्छन् तर बोल्दैनन् । पार्टीको संगठनमा बस्दा होस् या महिला संगठनमा यिनै विषयहरूमा वकालत गरिरहें,’ उनले भनिन् । विद्यार्थी संगठन होस् या महिला संगठनमा हुँदा होस् मिनाले राजनीतिक पदलाई कहिल्यै ठूलो प्राप्तिको रूपमा लिइनन् । उनको बुझाइ राजनीति केवल सेवा हो, तन, मन लगाएर लाग्छु भन्ने नै थियो । तर, उनले बुझेको राजनीति र वास्तविक जीवनमा भोग्नुपर्दाको राजनीति भने आकाश–जमिनको फरक रहेछ । उपमेयरको टिकटकै लागि लडाइँ चलेपछि बल्ल उनले उक्त कुरा बुझिन् । वि.सं २०७४ मा उपमेयरको लागि चुनाव लड्दैगर्दा मिनालाई पार्टीभित्रैबाट टिकट पाउन सहज थिएन । उपप्रमुखमा अग्रज महिलासँगै पुरुषसँग समेत उनले प्रतिस्पर्धा गर्नुपर्ने थियो । त्यतिबेलाको माहोल स्मरण गर्दै उनले भनिन्, ‘उपमेयरको टिकटको लागि मैले जति सहज रूपमा लिएकी थिएँ, यथार्थमा त्यस्तो थिएन । उपमेयरको लागि अग्रज महिलासँगै पुरुष पनि प्रतिस्पर्धामा उत्रिनुभएको थियो । दुवैले उपमेयर पद नछोड्नेभएपछि चुनाव नै भयो । चुनावपछि टिकट मैले नै पाएँ । तर, एक जना अग्रज पुरुषले टिकट तिमीले पाउँदैनौं, फलानो महिलालाई सिफारिस गरिन्छ भन्दा त्यतिबेला बल्ल मैले राजनीति बुझें ।’ पार्टीले टिकट दिँदा पनि मिनालाई ब्याक हुनका लागि धेरैले जालसाँझी गर्न खोजे । उनको विपक्षमा पार्टीका आधाभन्दा बढी मान्छे थिए । तर, उनले हिम्मत हारिनन् । किनकि उनीमाथि अरू धेरैको विश्वास जोडिएको थियो । उनलाई विश्वास गरेर भोट दिने धेरै जना थिए । पार्टीबाट टिकट पाएपनि उनलाई सहज थिएन । त्यसको लागि उनले ठूलो मिहिनेत गर्नुपर्यो । त्यतिबेलाको मिहिनेतले नै उनलाई आज प्रमुख बन्न बाटो खुलेको उल्लेख गरिन् । त्यसैले उनी त्यो खुट्किलोलाई करिअरकै टर्निङ प्वाइन्टको रूपमा लिन्छिन् । महिला भएकै कारण सामना गर्नुपरेको चुनौती पुरुषको तुलनामा महिलालाई हरेक क्षेत्रमा थुप्रै चुनौतीहरूको सामना गर्नुपरिरहेको हुन्छ । धेरै जना महिला चुनौतीसँग जुध्न डराउँछन् । हार मान्ने महिलामध्येमा मिना थिइनन् । उनले आफू मात्रै उभिएर काम गर्न कठिन हुने रहेछ भन्ने कुरा बुझिन् । महिलाहरूलाई हरेक क्षेत्रमा सँगै सहभागी गराउन उनलाई निकै कठिन भएको सुनाउँछिन् । ‘आफू मात्रै उभिएर नहुने रहेछ, संगठन बनाउँदा महिलाहरूलाई जोड्न कठिन हुँदोरहेछ । बल्ल–बल्ल तीन÷चार जना महिलालाई जोड्यो, फेरि उनीहरू पछि हटिहाल्थे,’ उनले सुनाइन् । मिना राजनीतिमा मात्रै हैन, समाजसेवामा समेत सक्रिय थिइन् । समाजमा भएका विकृतिविरुद्ध आवाज उठाइरहन्थिन् । २०४९ सालतिर उनको गाउँमा विशेषगरी ११ नम्बर वडामा जाँडरक्सी खाने, जुवातास खेल्ने विकृति व्यापक थियो । उनले तास फाल्ने र रक्सीको भाँडो फुटाउने अभियान नै चलाइन् । जुन अभियानले त्यहाँ त्यो विकृति समाधान भयो । मिना कला क्षेत्रमा समेत सक्रिय थिइन् । सांस्कृतिक कार्यक्रमहरूमा सहभागी हुने, नाच्ने गर्थिन् । यसरी विभिन्न कार्यक्रममा सहभागी हुने, समाजका विभिन्न काममा सक्रिय हुँदा उनी बेलुका अबेर घर पुग्थिन् । यी सबै काम गर्न परिवारबाट छुट भएपनि समाजले उनलाई हेर्ने दृष्टिकोण फरक थियो । गाउँमा आफन्तहरूले फलानोको छोरी घरबाहिर अवेरसम्म बस्छे, राती–राती घर आउँछे भन्दै उनको चरित्रमाथि प्रश्न उठाउथे । यस विषयले उनको परिवारमा तनाव हुन्थ्यो । त्यति मात्रै नभएर उनको बिहेसमेत भाँडिदिने प्रयास छिमेकीले गरेको अनुभव उनीसँग छ। महिला भएकै कारण जिल्लाको कोषाध्यक्ष हुँदा अनेरास्ववियुको कार्यक्रममा प्रतिनिधि नबनाएर स्वंयसेवक बनाएको घटना मिनाको मानसपटलमा आज पनि ताजै छ । उनले मलाई प्रतिनिधि नबनाएर किन स्वंयसेवक बनाउनुभएको भन्ने प्रश्न गर्दा तिमी प्रतिनिधि बनेपछि केन्द्रीय कमिटीमा बस्नुपर्छ, चुनावमा उठ्नुपर्छ, तिमी उठ्ने पनि होइनौं, स्वंयमसेवक बनेर सम्मेलनमा सहभागी भइहाल्यौ पुगिहाल्यो नि भन्ने जवाफ पाइन् । पार्टी संगठनमा बस्नलाई पनि महिला कोटाबाट गयो भइहाल्यो नि किन अन्य कोटाबाट उम्मेदवारी दिनुपर्यो भनेर उनलाई तल पार्न खोज्नेहरूको एक जमात नै हुन्थ्यो । महिला सधै महिला कोटाबाटै जानुपर्छ भन्ने मानसिकता धेरैको भएको उनले महसुुस त्यतिबेला नै गरिन् । नेतृत्व तहमा पुग्नलाई महिला भएर महिला कोटाबाट महिला जानुपर्ने र अर्को महिला भएकाले प्रतिस्पर्धामा नजाओस् भन्ने मानसिकताले आफू महिला नभएको भए यस्तो चुनौतीको सामना गर्नुपर्दैन थियो कि भन्ने अनुभूति मिनाले गरिन्। प्रमुख भएपछिको चुनौती मिना अहिले हेटौंडा उपमहानगरपालिको प्रमुखमा छिन् । प्रमुखको कुर्सीमा बस्न उनलाई सजिलो छैन । तर, पनि उनले उपमेयर, वडाअध्यक्ष, राजनैतिक दल, जनता सबैलाई मिलाएर बिना विवादित पालिका हाँकिरहेकी छिन् । अहिले पनि प्रमुख महिला नै हुनुपर्छ भन्ने मानसिकताबाट मान्छे बाहिर आउन सकेका छैनन् । यो कुरालाई उनी स्वंयले अनुभव गरेकी छिन् । ‘कार्यालयमा म प्रमुखको कुर्सीमा बसिरहेको हुन्छु, कोही नयाँ मान्छे भेट्न आउनुहुन्दा मेयरसाब कता हुनहुुन्छ, उहाँलाई बोलाइदिनु न भन्नुुहुन्छ । मैले मै हुँभन्दा कति जना आश्चर्य मानेर हेर्नुहुन्छ त कतिजना तपाईं पो भनेर उल्टै प्रश्न गर्नुहुन्छ । अझ कतिले फोनमा पहिलोपटक कुरा हुँदा मेयरसाबलाई फोन दिनुन भनेर भनिरहनुभएको हुन्छ ।’ यी सबै कुरालाई सामान्य रुपमा लिन्छिन् मिना । पालिकाको प्रमुख भएर काम गर्न मिनालाइ सहज छैन । तैपनि उनले चुनौतीहरूलाई अवसर र सिकाइको रूपमा लिएर काम गर्दैछिन् । उनको अनुभवमा महिलालाई चुनौती भनेको पहुँचमा हो । कतिपय अवस्थामा महिलाहरूले राति अबेरसम्म कार्यक्रम, बैठकमा सहभागी जनाउन सकिरहेका हुँदैनन् । कतिपय मागलाई पूर्णता दिन सकिरहेका छैनन् । यसले गर्दा नेतृत्व तहमा काम गर्न केही असहज महसुस गर्छिन् उनी । यो कुरालाई मिलाएर अघि बढ्न सक्ने धारणा राख्छिन् उनी । महिलाले नेतृत्व गरेको ठाउँमा एकदमै कम विवाद आउने गरेको मिना सुनाउँछिन् । महिलाले नेतृत्व गर्दा असक्षम र पुरुषले गर्दा सक्षम भन्ने कुरामा असहमति जनाउँदै कुराकानीको क्रममा उनले भनिन्, ‘महिलाहरुले गरेको कहीं पनि विवाद आएको छैन । जहाँ महिला नेतृत्व छ, त्यहाँ गएर हेर्नुहोस् थाहा पाइहाल्नुहुन्छ । काम महिला र पुरुषले गर्ने होइन, विधि र नीति र विधानले गर्ने हो । विधि, विधानअनुसार महिलाले गर्दा असफल पुरुषले गर्दा सफल भन्ने हुँदैन । राज्यको संविधान, विधि र नीतिलाई नै अवलम्बन गरेर गर्ने हो । कानुनलाई टेकेर काम गर्दा महिला पुरुषको तुलना हुँदैन । हेराईमा र बुझाईमा फरक हुनसक्छ तर क्षमता एउटै हो ।’ के-के काम गर्दैछिन् ? हेटौंडा उपमहानगरपालिकाले नागरिकलाई १० हजार लिटर खानेपानी निःशुल्क वितरण गर्दै आएको छ । नगरपालिको यो काममा कतिले सकारात्मक त कतिले नकारात्मक प्रतिक्रिया दिने गरेको मिना बताउँछिन् । उनकै कार्यकालमा पालिकामा दुईवटा अस्पताल सुरु भएको छ । मिनाले त्यहाँका नागिरकलाई निःशुल्क स्वास्थ्य बीमा सुविधा प्रदान गर्दै आएको बताइन् । पालिकाले स्थानीय बासिन्दा, चेपाङ समुदाय, विपन्न कार्ड लिएका, एकल महिला, श्रमिक महिला, जोखिममा काम गर्ने पुरुष, सरसफाइमा काम गर्ने महिलाहरूलाई निःशुल्क स्वास्थ्य बीमा गर्न पाउने व्यवस्था गरेको छ । हेटौंडा एजुकेशन हब पनि हो । यो जिल्ला तराईसँग जोडिएको छ । उच्च शिक्षा पढ्नका लागि काठमाडौं जान नसक्नेहरूलाई ध्यानमा राखेर पालिकामै ब्याचलर्स लेभलको पढाइ सुरु भएको छ । एग्रीकल्चरको पढाइ हुने व्यवस्था पनि पालिकाले गरेको छ । निम्नवर्गका विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था छ भने चार निम्नवर्गका विद्यार्थीले एमबीबीएस पढ्नका लागि छात्रवृत्ति पालिकाले उपलब्ध गराएको छ । पूर्वाधारको क्षेत्रमा पनि पालिकाले विभिन्न काम गर्दै आएको छ । हरेकको घरघरमा बाटोघाटोको सुविधा, बिजुली पु¥याउने गरी काम भइरहेको मिनाले बताइन् । उनले नगरभित्रका महिलाहरूलाई सीप र आर्थिक रूपमा जोड्नका लागि महिला जागरण समूह खडा गरेर काम गरिरहेकी छिन् । यसको मूख्य उद्देश्य नै सशक्तिकरण गर्ने, महिला जागरण गर्ने, उनीहरूलाई आय, उद्यमसँग जोड्ने काम हो । पालिकाले अहिले विभिन्न १४ सेक्टर छुट्याएर महिलाहरूलाई व्यावसायीकरणमा जोड दिँदै आएको छ । जसमा गाईपालन, मेवाखेती, बेसारखेती, गुन्द्रुक उत्पादनलगायत छन् । हेडौंडा अहिले १ करोडको गुन्द्रुक उत्पादन गर्ने भनेर लागिपरेको छ । मिनाका अनुसार २५ जना महिलाहरू गुन्द्रुक उत्पादनमा लागेका छन् । पालिकाले गुन्द्रुक ब्राण्डिङ गरेर विदेशमासमेत निर्यात गर्दै आएको उनले बताइन् । ‘हामीले गुन्द्रुकको ब्राण्डिङ नै गरेका छौं । हामीले उत्पादन गरेको गुन्द्रुक युरोप, अमेरिका, अस्टेलियासम्म पठाउँछौं । ढाका उत्पादन गरेर निर्यात सुरु भएको छ । हामीले उत्पादन गरेको ड्रागन फ्रुट, मेवा र अम्बा भाटभटेनी, कालीमाटीमा पुग्छ,’ उनले भनिन् । हेटौंडालाई भर्खरै मात्र बालमैत्री नगर घोषणा गरिएको छ । बालमैत्री नगर घोषणा आजको अभ्यासले भन्दा पनि आफू प्रमुखमा नियुक्त भएदेखिको अथक प्रयासले सफल भएको मिना दाबी गर्छिन् । त्यसबाहेक पालिकाले छिट्टै महिलामैत्री पार्क निर्माण गर्दैछ । सफलताको शुत्र भनेकै आत्मविश्वास महिला विभिन्न बहाना बनाएर पनि पछि परेको औल्याउँछिन् मिना । उनी भन्छिन्, ‘छोराछोरीले अल्झाउँछन्, खाना पकाउनुछ या यो गर्नुछ र त्यो गर्नुछ भन्दै महिलाहरू पन्छिरहेको देख्छु, तर यी सबै गरेर पनि बाहिरको काममा सहभागी हुन सकिन्छ ।’ नेतृत्व तहमा पुगेका महिलाहरूले पनि यी सबै काम गर्दै पुगेको आफ्नै उदाहरण दिँदै मिना कारण नदेखाई अघि बढ्ने हो भने कसैले रोक्न नसक्ने बताउँछिन् । कसले के भन्यो भनेर त्यसको पछाडि लाग्नुभन्दा म जे गर्छु सही गर्छु भन्ने दृढ विश्वाससहित लाग्छ भने त्यसले आफू कता लाग्ने बाटो पहिल्याउन सहज हुने र त्यसले गन्तव्यसम्म पुग्न मदत गर्ने उनी सुनाउँछिन् । त्यस्तै, उनका अनुसार महिला आफैमा आत्मविश्वासी हुनु जरुरी छ । सफल हुनको लागि एकैचोटि ठूलो आकांक्षा राख्न हुन्न । स–साना सफलताहरूबाटै माथिल्लो तहसम्म पुग्ने भएकाले महिलाले यसमा विशेष ध्यान दिनुपर्ने मिनाको अनुभव छ । सम्पति नहुँदा पनि गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छिन् मिना । उनी आफै पनि कुनै धनाढ्य परिवारमध्येबाट आएकी होइनन् । उपमेयरको चुनाव लड्दै गर्दा ठूलो राजनैतिक दल एमालेबाट टिकट पाएकी थिइन् । त्यतिबेला पार्टीले नै सबै सहयोग गरेको हुँदा उनलाई आर्थिक पाटोबाट कुनै समस्या भएन । प्रमुख भएर लड्दा उनी नयाँ पार्टी (नेकपा एकीकृत समाजवादीबाट) बाट थिइन् । त्यतिबेला नै उनले चुनावमा पैसा खर्च हुने रहेछ भन्ने थाहा पाइन् । अरूले जस्तो टन्न पैसा खर्च गरेर चुनाव लड्ने क्षमता उनमा थिएन । तर मिनाले समाजको लागि टेस्ट पनि हुन्छ, कुनै खर्च नगरी चुनाव जित्छु भन्ने आँट बटुलिन् । त्यो आँट उनकै छोराले दिलाएको थियो । ‘त्यतिबेला मेरा छोराले मलाई चुनावमा हारजीत भइहाल्छ, तपाईँ महिला भएर पैसा छैन भनेर पछाडि पर्नुभयो भने अरू महिलाले के गर्लान् ? भनेर उत्साह दिएपछि म आँट लिएर चुनावमा उठेँ,’ मिनाले सुनाइन् । चुनाव लड्दैगर्दा मिनाले जनताको ठूलो साथ पाइन् । उनलाई विश्वास गरेर भोट नमागीकनै लोकप्रिय मत ल्याएर उनी प्रमुखमा विजयी भइन् । नेतृत्व तहमा महिला सहभागिता संविधानले नेतृत्व तहमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्छ भनेर छुट्याए पनि त्यो हुन सकेको छैन । संविधानले व्यवस्था गरेअनुसार सरकारले महिला सहभागिता बढाउनुपर्ने बताउँछिन् मिना । त्यस्तै, नेपालमा उप जति महिलालाई दिने भन्ने भाष्य सिर्जना हुन पुगेको छ । ‘उपप्रमुख, उपसभामूख, उपराष्ट्रपति जति उपपद छन् त्यो महिलालाई दिनुपर्छ भन्ने छ, यो महिलालाई मात्र होइन । महिलालाई प्रमुख पनि दिनुपर्छ भन्ने ख्याल राजनीतिक दलहरुले गर्नुपर्छ । ३३ प्रतिशत अधिकार हो भने त्यति नै कार्यान्वयन गर्न राज्यले नियमन गराउनैपर्छ,’ उनले भनिन् । त्यस्तै, महिलालाई छुट्याएको कोटाबाट मात्रै नभएर खुलाबाट पनि प्रतिस्पर्धामा जाने वातावरण सरकारले बनाइदिनुपर्छ । तबमात्रै महिलाहरूको आत्मविश्वास बढ्ने र नेतृत्व तहमा महिला सहभागिता बढ्ने उनको बुझाइ छ ।

फाप्लु विमानस्थलमा ‘रिफ्युलिङ सेन्टर’ को स्थापना गरिने, पर्यटकहरू हप्तौं कुर्नुपर्ने बाध्यता हट्ने

सोलुखुम्बु । सोलुखुम्बुको फाप्लु विमानस्थलमा हवाई इन्धन ‘रिफ्युलिङ सेन्टर’ स्थापनाका लागि प्रक्रिया अघि बढाइएको छ । नेपाल आयल निगमको प्राविधिक टोली र सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पासहितको टोलीले यसका लागि बिहीबार स्थलगत निरीक्षण गरेर आवश्यक प्रक्रिया अगाडि बढाएको छ । यहाँ ‘रिफ्युलिङ सेन्टर’ सञ्चालनमा आएमा लुक्ला विमानस्थल तथा काठमाडौं उडान थप सहज हुने अपेक्षा गरिएको छ । सोलुदूधकुण्ड नगरपालिकाको पहलमा नेपाल आयल निगमसँग गरिएको अनुरोधपछि यो परियोजनाको कार्यान्वयन प्रक्रिया अघि बढेको नगरप्रमुख शेर्पाले जानकारी दिए । फाप्लुलाई हवाई उडानको प्रमुख केन्द्र बनाउने योजनाका साथ काठमाडौं-फाप्लु तथा फाप्लु-लुक्ला सिधा उडानलाई सहज बनाउन ‘रिफ्युलिङ सेन्टर’ आवश्यक रहेको उनको भनाइ छ । ‘रिफ्युलिङ सेन्टर स्थापनापश्चात् यहाँको पर्यटन पवद्र्धनमा ठुलो टेवा पुग्ने छ, खुम्बुमा मौसम प्रतिकूल भएर हवाई उडान प्रभावित हुँदा पर्यटकहरू हप्तौं कुर्नुपर्ने बाध्यता छ । फाप्लुमा यो सेन्टर स्थापना भएमा जहाजकै कारण त्यसरी पर्यटकहरु कुर्नुपर्ने बाध्यता हट्ने छ,’ नगरप्रमुख शेर्पाले भने । हाल सञ्चालनमा रहेका जिल्लाका दुई विमानस्थलमध्ये लुक्लामा मौसम प्रतिकूल हुनेबित्तिकै सगरमाथा क्षेत्र जाने तथा फर्किने पर्यटकहरू हप्तौं कुर्नुपर्ने बाध्यता रहेको छ । लुक्लाको मौसम छिनछिनमा परिवर्तन हुने भएकाले हवाई उडान प्रभावित भएर पर्यटकहरुले सास्ती खेप्दै आएका छन् । फाप्लुबाट नियमित उडान भएमा पर्यटकहरू फाप्लु हुँदै सगरमाथा क्षेत्र जाने तथा काठमाडौं फर्कन सहज हुने जनाइएको छ । रक्षामन्त्री मानवीर राईले फाप्लु विमानस्थलमा हवाई इन्धन उपलब्ध गराउन सकिएमा सोलुखुम्बुको समग्र पर्यटन क्षेत्रलाई प्रत्यक्ष फाइदा पुग्ने बताए । उनले फाप्लुमा नियमित उडान नहुँदा आकस्मिक उद्धार तथा हवाई यात्रामा समस्या भइरहेकाले समस्या समाधानमा ध्यान दिनुपर्ने बताए । ‍

मध्यपश्चिम विश्वविद्यालयका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित

सुर्खेत । प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट उक्त विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहका अवसरमा शुक्रबार विभिन्न तह र सङ्कायका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित भएका छन् । वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा ती विद्यार्थी दीक्षित भएका हुन् । समारोहमा विज्ञान तथा प्रविधि, व्यवस्थापन, इञ्जिनियरिङ, कानुन, शिक्षाशास्त्र, मानविकी र सामााजिकशास्त्र गरी सबै सङ्कायबाट स्नातक तहका दुई हजार एक सय ८९, स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा शैक्षिक सफलता हासिल गरेका एक हजार छ सय ६३ र व्यवस्थापन संकायको दर्शनाचार्य पूरा गरेका १९ विद्यार्थी दीक्षित भएका हुन् । कार्यक्रममा भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका अग्रज प्राध्यापक प्रा डा महेन्द्र पि लामा प्रमुख अतिथि रहेका थिए । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा ध्रुवकुमार गौतमले नेपाल सरकारको सहयोग, राष्ट्रिय तथा अन्तरराष्ट्रिय विश्वविद्यालय एवं सङ्घसंस्थाको सहकार्यमा थप नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गरिने जनाए । प्रधानमन्त्री ओलीले आजै कर्णाली प्रदेशसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।