
सुरेन्द्र विष्ट ।
काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका- ८ कालागाउँका ४५ वर्षीय कर्णबहादुर बिष्टलाई प्रहरीले भारतबाट पक्राउ गरेको छ।
गएको शनिबार गाउँकै भाइ नाता पर्ने २४ वर्षीय सुरेन्द्र विष्टको गोली हानेर हत्या गरी फरार भएका कर्णबहादुरलाई दार्चुलाको दत्तु पारी भारतीय क्षेत्रबाट शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए ।
सुरेन्द्रको हत्या गरेर फरार भएका कर्णबहादुरलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी समेत खटिएका थिए ।
कर्णबहादुरलाई भारतीय गाउँबाट पक्राउ गरिएको र थप विवरण आउन बाँकी रहेको उनले बताए । पक्राउ परेका उनई नेपालतर्फ ल्याउने काम भइरहेको छ ।

अभियुक्त कर्णबहादुर विष्ट । फाइल तस्बिर ।
लेनदेनका विषयमा विवाद हुँदा कर्णले भरुवा बन्दुकबाट गोली हानेर सुरेन्द्रको हत्या गरेका थिए । हत्यापछि बन्दुकसहित फरार रहेका कर्णको खोजीका लागि प्रहरी टोली खटिएको थियो ।
कर्णले सुरेन्द्रलाई ४० हजार रुपैयाँ तिर्नुपर्ने थियो । सोही विषयमा विवाद हुँदा उनले गोली चलाएर सुरेन्द्रको हत्या गरेका हुन् ।
अभियुक्त पक्राउ परेपछि अब अनुसन्धानको कामअघि बढ्ने प्रहरीले जनाएको छ । कर्ण भारतको कुन ठाउँबाट पक्राउ परे भन्ने विषय खुल्न बाँकी रहेको प्रहरी निरीक्षक बडूले बताए ।
४० हजारले लियो सुरेन्द्रको प्राण, ७ महिनामै पुछियो सरस्वतीको सिउँदो