विकासन्युज

एनआईसी एशिया बैंकको २७ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको २७ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गरेकाे छ । यसैगरी, बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन तथा थप गर्ने प्रस्तावसमेत सभाले पारित गरेको छ । साथै सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सम्बन्धित निकायहरुको आवश्यक स्वीकृति प्राप्त गरी प्रति शेयर रु. १०० का दरले रु. ५ अर्ब बराबरको एनआईसी एशिया अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

हनुमानढोकामा तीनतले चीर ठड्याइँदै सुरु भयो फागू पूर्णिमा

काठमाडौं । काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीनतले चीर ठड्याइएको छ । वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ शुक्रवार (आज) तीनतले चीर ठड्याएपछि देशभर फागु (होली) पर्व सुरु भएको मान्ने गरिन्छ । आज बिहान ८ः३३ बजेको शुभ साइतमा मानन्धर समुदायले रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याएर र एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका हुन्। आज पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्राङ्गणमा पनि रङ्गीचङ्गी कपडा झुन्ड्याएर होली शुरु भएको जनाउ दिने गरिन्छ । चीर ठड्याएपछि मानन्धर समुदायका सदस्य गजेन्द्र मानन्धरले असत्यमाथि सत्यको जितको रूपमा चीर ठड्याइएको बताए । उनले चीर ठड्याइसकेपछि विधिवत रुपमा होली पर्व सुरु भएको मानिने बताउनु भयो । होली पर्व असत्यमाथि सत्यको जित भएको रूपमा पनि मान्ने गरिएको बताए। यस वर्षको होली पर्वको मुख्य दिन फागुन २९ र १ गते परेको छ । २९ गते हिमाली तथा पहाडी जिल्लामा र १ गते तराई जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।

हेटौंडा औद्योगिक क्षेत्रका तीन उद्योगको सम्पत्ति लिलाम गरिँदै, चर्चित व्यवसायी नै सम्पर्कविहीन

बागमती । हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले लामो समयदेखि बन्द रहेका तीन उद्योगको सम्झौत रद्द गरी सम्पत्ति लिलामी प्रक्रिया अघि बढाएको छ । विगत तीन/चार वर्षदेखि बन्द रहेको नेपाल ब्रुअरी प्रालि, ग्रिन गोल्ड इन्टरनेसनल प्रालि र बानिया मल्टी प्रोडक्ट प्रालिमाथि औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको हो । नेपाल ब्रुअरी प्रालि व्यवसायी भुवन भट्टको हो । विभिन्न कारणले बन्द रहेका ती उद्योगका सञ्चालकलाई सम्पर्कमा आउन पटकपटक पत्राचार गर्दै आए पनि सम्पर्कमा आउन नचाहनेले कारबाही अघि बढाइएको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख सङ्गीता कुँवरले बताए । ‘हामीले उद्योग सञ्चालकलाई निरन्तर फोन गरेर र पत्रचार गरेर बोलायौं,’ प्रमुख कुँवरले भने, ‘तर उहाँहरू आउनुभएन, त्यसैले सम्झौता रद्द गरी सम्पत्ति लिलामी प्रक्रिया अघि बढाएका हौं । सम्पत्ति लिलामीका लागि सूचना जारी भइसकेको छ, छिट्टै प्रक्रिया पुर्‍याएर लिलामी गर्छाैं ।’ यसैबीच हेटौंडा औद्योगिक क्षेत्रमा थप दुई उद्योग सञ्चालनमा आएका छन् । योसँगै औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगको सङ्ख्या एक सय ४६ पुगेको औधोगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । पछिल्लो पटक थ्रिस्टार ग्रुपले रङ्गीन तथा सादा कर्कट पाता तथा बाबा मेनिफ्याक्चर प्रालिले टिनका स–साना बाकस उत्पादन गर्न सुरु गरेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालले जानकारी दिए । अमेरिकी सरकारको आर्थिक सहयोगमा २०२० मङ्सिर २० गते स्थापना भएको सो औद्योगिक क्षेत्रभित्र हाल एक सय ४६ उद्योग तथा प्रतिष्ठानले जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेका छन् । कूल तीन हजार दुई सय २८ रोपनी क्षेत्रफलमा फैलिएको सो औद्योगिक क्षेत्रभित्र हाल १० उद्योग निर्माणाधीन अवस्थामा छन् । कूल जग्गा क्षेत्रफलमध्ये हाल भाडामा दिएको दुई हजार एक सय ७८ रोपनी, खाली जमीन २६ दशमलव ५२ रोपनी र युटिलिटी सेवाले ओगटेको सडक सञ्जाल, विद्युतीकरण, ढल निकासलगायत संरचना निमार्ण क्षेत्रफल पाँच सय ९७ रोपनी रहेको छ । औद्योगिक क्षेत्रभित्र कार्यालयबाट निर्मित औद्योगिक भवन १०, गोदाम ११ र अन्य भवन ३४ रहेका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले औद्योगिक क्षेत्रहाताभित्र रहेका उद्योग प्रतिष्ठानको आवश्यकता र मागका आधारमा औद्योगिक भवन, गोदाम, क्वाटर भवन र जग्गाको भाडा लिँदै आएको छ ।

कवाड कारखानामा आगलागी, आगो निभाउन ७ वटा दमकल र १५ पानी ट्याङकर प्रयोग

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१० बोसीगाँउस्थित आरएमबी प्लाष्टिक प्याकेजिङ हाउस (कवाड कारखानामा) मा आज आगलागी भएको छ । पुष्पा श्रेष्ठ र रमेश पोदारले संयुक्त रुपमा सञ्चालन गरेको सो कारखानामा आगलागी भएको हो । आगलागी नियन्त्रणमा प्रहरी वृत्त बालाजु, प्रहरी वृत्त थानकोट, प्रभागबाट ३२ जनाको टोली खटिएको छ । आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । आगो निभाउन सशस्त्र प्रहरी बल तथा स्थानीय समेत खटिएका थिए । कवाड कारखाना जलेर नष्ट भएको तथा क्षतिको विवरण आउन बाँकी रहेको उनले बताए । आगो निभाउन ७ वटा दमकल तथा १५ पानी ट्याङकर प्रयोग गरिएका थिए । आगो निभाउन चन्द्रागिरि नगरपालिका, विशाल बजार बारूण यन्त्रको दमकल, बालाजुको बारुण यन्त्र, ललितपुर महानगरपालिकाको दमकल, भक्तपुर नगरपालिकाको दमकल, बौद्ध रामहिटीको दमकल र बूढानीलकण्ठ नगरपालिकाको दमकल प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

सिद्धार्थ केवलकारले सेयरधनी हातेमालो कार्यक्रम सञ्चालन गर्ने, १.५० अर्बको लगानीमुलक कम्पनी खोल्ने

काठमाडौं । सिद्धार्थ केवलकारले सेयरधनी हातेमालो कार्यक्रम सञ्चालन गर्ने भएको छ । कम्पनीको फागुन २२ गते बसेको संचालक समितिको बैठकले चैत १९ गते दिउँसो १ बजे रुपन्देहीमा वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभाबाट सेयरधनी हातेमालो कार्यक्रम सञ्चालन प्रस्ताव पारित गर्नेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०८१/८२ का लागि लेखा परीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्नेछ । कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी वृद्धि सहित कम्पनीको प्रबन्ध पत्र तथा नियमावली संसोधन गर्ने, कम्पनीले प्रभु केवलकार एण्ड टुरिजमसहित प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनी, प्रभु होल्डिङ्गस एण्ड हाइड्रो डेभलपमेण्ट कम्पनी र हाइड्रो होल्डिङ्गस एण्ड पावर डेभलपमेण्ट कम्पनीसँग गरेको सम्झौतालाई नियमावलीम समावेश गरि कार्यान्वयन गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीका सेयरधनीहरूलाई कम्पनीको चुक्ता पुँजी १२ अर्ब ७५ करोड रुपैयाँको आधारमा कायम भएको सेयर लगतको सेयर संख्याको आधारमा १ बराबर १.७५ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्नेछ । कम्पनीको चुक्ता पुँजी भन्दा बढी धितो राखी वा नराखी बैंक ऋण लिने, कम्पनीको मातहतमा १ अर्ब ५० करोड रुपैयाँको चुक्ता पुँजी रहने गरी लगानी मुलक कम्पनी स्थापना गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, नियामकीय परिवर्तन गर्नुपर्ने भए सञ्चालक समितिलाई अख्तियारी र साधारण सभासम्म सञ्चालक समितिबाट भएका सबै कार्य अनुमोदन गर्नेछ ।

कार्बन क्रेडिट र व्यापारिक गतिविधिबाट उत्सर्जन घटाउन सकिने

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालले जलवायु जोखिमका हिसाबले प्रभावित देशहरूको आवाजको समेत प्रतिनिधित्व गर्ने बताएका छन् । भारतको नयाँ दिल्लीमा आयोजित ‘विश्व दिगो विकास सम्मेलन-२०२५’लाई सम्बोधन गर्दै मन्त्री ठकुरीले नेपालजस्ता जलवायुका हिसाबले अत्यन्त संवेदनशील पर्वतीय देश र अल्प विकसित देशलाई जलवायु सङ्कट न्यूनीकरणका लागि गरिने लगानीको आवश्यकता तथा अहिलेको वित्तिय अन्तर बारेमा ध्यानाकर्षण गराए । नेपाल प्राकृतिक, जैविक तथा सांस्कृतिक विविधता, जलस्रोत र हिमालयन श्रङ्खलाका मनमोहक परिदृश्यको धनि देश भएको उल्लेख गर्दै मन्त्री ठकुरीले जलवायु परिवर्तनका कारण पारिस्थितिकीय प्रणाली, अर्थव्यवस्था र सामाजिक प्रणालीमा गम्भीर सङ्कटको सामना गर्नुपरिरहेको बताउनुभएको उनका प्रमुख स्वकीय सचिव लेकविक्रम शाहीले जानकारी दिए । ‘हाम्रा हिमाली भेगबाट उत्पत्ति हुने हिमनदी द्रुत गतिमा पग्लिरहेका छन्, जसले दक्षिण एसियाको पानी र ऊर्जा सुरक्षालाई खतरामा पार्दै गएको छ । सन् २०२१ देखि सन् २०२४ सम्म जलवायुजन्य विपद्का कारण नेपालले अनुमानित १ अर्ब अमेरिकी डलरको प्रत्यक्ष आर्थिक नोक्सान व्यहोरेको छ,’ मन्त्री ठकुरीले भने, ‘जैविक विविधता र प्रदूषणको सङ्कटसँगै जलवायु सङ्कटले हाम्रा जनताको जीविकोपार्जन, दिगो विकास लक्ष्य र भावी पुस्ताको अस्तित्वलाई नै सङ्कटमा पारेको छ ।’ सन् २०५० सम्ममा जलवायु परिवर्तनका कारण नेपालको कूल गार्हस्थ्य उत्पादनमा २.२ प्रतिशतको क्षति हुन् सक्ने कुरा एसियाली विकास बैंकको अध्ययनले जनाएको छ । नेपालले राष्ट्रिय निर्धारित योगदान (एनडिसी-३) बनाउने अन्तिम तयारीमा रहेको जानकारी दिँदै मन्त्री ठकुरीले सन् २०४५ सम्म काबर्नलगायत अन्य हरित ग्यासको उत्सर्जनलाई शून्यमा झार्ने गरी लक्ष निर्धारण गरेको बताए । विश्व तापमान वृद्धि १.५ डिग्रीमा कायम हुन् सकोस् भन्नेमा आफूहरु प्रतिबद्ध रहेको उनले बताए । जलवायु परिवर्तन सम्बन्धी आगामी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-३०) को विषयवस्तु ‘जलवायु अनुकूलन अर्थव्यवस्थामा रुपान्तरण ल्याउनु’ महत्वपूर्ण रहेको उल्लेख गर्र्दै मन्त्री ठकुरीले भने, ‘हामी विश्वको सबैभन्दा घना र ठूलो जङ्गल यमाजेन रेनफोरेष्टलाई हाम्रो हिमश्रृङ्खलासँग जोड्न चाहन्छौँ । यी दुईको सम्बन्धले हरित र निलो अर्थतन्त्रलाई जोड्न मद्दत गर्ने अपेक्षा गरेका छौँ ।’ नेपालले राष्ट्रिय निर्धारित योगदान (एनडिसी-३) मा प्रकृतिमा आधारित जलवायु अनुकुलन र हरित आर्थिक विकासका आयामलाई प्राथमिकतामा राखी अगाडी बढाउने योजना बनाउन लागेको मन्त्री ठकुरीले जानकारी गराए । ‘हाम्रो अपार जैविक विविधता, जलस्रोत, पर्यटन र विविध कृषि पारिस्थितिकीय प्रणालीलाई खाद्य, पानी, ऊर्जा र स्वास्थ्य सुरक्षा सुधारका लागि उपयोग गर्नेछौँ,’ उनले भने, ‘विश्वव्यापी उत्सर्जनमा हाम्रो योगदान नगन्य भएकाले, हामी विशेष गरी कम विकसित र पर्वतीय देशलाई पहुँचयोग्य, न्यायसङ्गत जलवायु वित्त प्रदान गर्न जलवायु सम्मेलन प्रक्रियामा समानता र जलवायु न्यायका लागि आफ्नो आवाज विश्व मञ्चमा राख्न चाहन्छौँ ।’ कार्बन उत्सर्जन गर्ने प्रमुख उत्सर्जकलाई आफ्नो उत्सर्जन घटाउन, स्वछ उर्जामा आधारित अर्थ व्यवस्थामा जान र जलवायु लगानी बढाउन तथा हानि नोक्सानीको बढी जिम्मेवारी लिन समेत मन्त्री ठकुरीले आग्रह गरे । ‘नेपाल जलवायु वित्तको सरलीकरण, जलवायु वित्तमा अनुदान र सहुलियत ऋणका लागि आवाज बुलन्द गर्न चाहन्छौँ, विकसित राष्ट्रहरूले सन् २०३५ सम्म वार्षिक ३०० अर्ब अमेरिकी डलरको प्रतिबद्धता पूरा गर्ने छन् भन्ने विश्वास लिएका छौँ,’ उनले भने । सो अवसरमा मन्त्री ठकुरीले भारत सरकारले जङ्गलको संरक्षण, जलवायु कार्य, फोहर व्यवस्थापन, नविकरणीय उर्जा र कृषिको दीगोपनाका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गर्दै यसले नेपालका लागि पनि महत्वपूर्ण सिकाइ भएको बताए । वर्तमान र भविष्यको अन्तर्राष्ट्रिय कार्बन बजार संयन्त्रले जलवायु न्यायलाई प्राथमिकता दिनुपर्छ भन्ने आफ्नो धारणा रहेको भन्दै उनले भने, ‘हामी कार्बन क्रेडिट र व्यापारिक गतिविधिमा संलग्न विकसित देश तथा संस्थाले उत्सर्जन घटाउने लक्ष्य पूरा गर्न आवश्यक छ भन्ने ठान्दछौँ ।’ हिमालयमा परेको जलवायु असरबारे विश्व समुदायको ध्यानाकर्षण गर्न नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ विषयमा पहिलो सगरमाथा संवाद काठमाडौँमा आयोजना गर्न लागेको जानकारी गराउँदै मन्त्री ठकुरीले सो सम्मेलनका लागि आमन्त्रण समेत गरे । उनी ‘विश्व दिगो विकास सम्मेलन-२०२५’मा सहभागी हुन यही फागुन २० गते नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

मुस्ताङ-काठमाडौं रात्रिकालीन बस सेवा सञ्चालन, २४ सयमा मुस्ताङ घुम्न सकिने

काठमाडौं । मुस्ताङ-काठमाडौं रात्रिकालीन ‘डिलक्स एसी’ बस सेवा सञ्चालनमा आएको छ । मुस्ताङ-मुक्तिनाथ सेवा प्रालिले बिहीबारदेखि मुस्ताङ भ्रमण गर्ने पर्यटक तथा स्थानीय नागरिकका लागि मुक्तिनाथदेखि काठमाडौंका लागि उक्त बस सेवा सञ्चालनमा ल्याएको हो । मुस्ताङ मुक्तिनाथ प्रालिले यसअघि डिलक्स बस, जिप र इलेक्ट्रोनिक भ्यान (इभी) सञ्चालनमा ल्याइसकेको छ । जाडो तथा गर्मीमा आरामदायी यात्रा गर्न सकिनेगरी सञ्चालनमा ल्याएको ‘डिलक्स एसी’ रात्रिकालीन बस सेवाको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले मुक्तिनाथमा आयोजित एक कार्यक्रमबीच उद्घाटन गरे । यात्रुमैत्री सेवा विस्तार भएमात्रै मुस्ताङको धार्मिक पर्यटनमा योगदान पुग्ने उनले बताए । यातायात व्यवसायीले समयसापेक्ष आफूलाई रुपान्तरित गर्नुपर्नेमा प्रजिअ भुसालले जोड दिए । बारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाका उपाध्यक्ष क्रमशः डिकी गुरुङ र जमुना थकालीले एसी बस सेवा विस्तारले मात्रै नभएर यात्रुमैत्री सेवामासमेत ध्यान पुर्याउनुपर्नेमा जोड दिए । मुस्ताङ-मुक्तिनाथ यातायात प्रालिले आगामी चैत १ गतेदेखि लोमान्थाङ-कोरलासम्म यातायात सेवा सञ्चालन गर्ने तयारी गरेको प्रालिका अध्यक्ष विनोद विसीले जानकारी दिए । यो सँगै एसी बस सेवामा यात्रा गर्ने यात्रुले २ हजार ४ सय रुपैयाँमा मुस्ताङ-काठमाडौं यात्रा गर्न पाउने भएका छन् ।

मापदण्डविपरीत ३ खानी क्रसर उद्योग बन्द, विपद्पछि ८ खानी र ५ क्रसर उद्योग खुले

काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका क्षेत्रमा सञ्चालित ३ वटा खानी तथा क्रसर उद्योग बन्द गराएको छ । नगरको वडा नं २ र १२ मा मापदण्डविपरीत नवीकरण नगरी सञ्चालन भएका ३ खानी तथा क्रसर उद्योग बन्द गरिएको हो । वडा नं २ स्थित डाइमण्ड स्टोन माइनिङ प्रालि, वडा नं १२ को भालेश्वर रोडा ढुङ्गा उद्योग प्रालि र दीपलक्ष्मी एग्रिगेट एण्ड माइनिङ प्रालिलाई अर्को आदेश नभएसम्मका बन्द गरिएको छ । नगरप्रमुख रामशरण भण्डारीका अनुसार खानी तथा भूगर्भ विभागबाट जारी उत्खनन अविध समाप्त भइसकेको र पटकपटक ताकेता गर्दासमेत बिनाइजाजत सञ्चालन गरेको देखिएकाले अर्को निर्णय र आदेश नभएसम्मका लागि ती उद्योग गराइएको हो । नगरले बिहीबार बिहान ती उद्योग अनुगमन गरी बन्द गर्ने निर्णय गरेको थियो । नगरप्रमुख भण्डारी, नगरउपप्रमुख गीता बन्जारा, सम्बन्धित वडाध्यक्ष तथा इलाका प्रहरी कार्यालय बनेपाका सुरक्षाकर्मीको टोलीले अनुगमन गरी तीन उद्योग बन्द गराएको हो । गत माघ ९ गते जिल्लास्तरीय अनुगमन समितिको बैठकले नदी तथा खानीजन्य क्रसर उद्योग र भौगोलिक विषमता नै बाढीपहिरोको मुख्य कारण रहेको निष्कर्ष निकाल्दै गैरकानुनी रूपमा सञ्चालित ढुङ्गा तथा क्रसरबाट ठूलो धनजनको क्षति भएको जनगुनासो आएकाले नियमविपरीत सञ्चालित उद्योग बन्द गराउने निर्णय गरेको थियो । पनौतीमा १४ वटा क्रसर तथा खानीमध्ये विपद्पछि ८ खानी र ५ क्रसर उद्योग खुलेका छन् । त्यसमध्ये तीन खानी तथा क्रसर उद्योग बन्द गरिएको हो । समितिले गत माघ ३ गते जिल्लाका सबै स्थानीय तहलाई गैरकानुनी रूपमा सञ्चालित ढुङ्गाखानी र क्रसर बन्द गर्न पत्राचार गरिए पनि कार्यान्वयन नभएपछि ९ गते नियमविपरीतका उद्योग बन्द गराउने निर्णय गरेको हो । सोहीअनुसार पनौतीले अनुगमन गरेर आज तीन उद्योग बन्द गराएको जनाइएको छ । यसैबीच समितिको निर्णयलाई कार्यान्वयन नगरी अन्य स्थानीय तहमा रहेका खानी तथा क्रसर उद्योग सञ्चालन भइरहेको पाइएको छ । गत असोज दोस्रो साताको बाढीपहिरोपछि खोलाको बहावले धार परिवर्तन गरेको, बस्ती जोखिममा परेको, वरिपरिका भूभागसमेत भत्किएको र बगाएको तथा पहिरो गएको, डस्ट ९धुलो० र गेग्य्रानले खोलाको सतह बढेको उल्लेख गर्दै हालको अवस्थामा बस्ती, खानी, खोला वन क्षेत्र भौगर्भिक अवस्थालगायत सरोकार राख्ने सबै पक्षमा गम्भीर एवं विस्तृत अध्ययन गर्नुपर्ने भएकाले अध्ययनका लागि समितिले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अनुरोध गरेको थियो । विशेषगरी बाढी प्रभावित रहेका स्थानीय तह पनौती, रोशी, बेथानचोक र नमोबुद्धमा बढी क्रसर तथा खानी छन् । विपद्अघि जिल्लाका १३ स्थानीय तहमध्ये पनौतीमा १४, रोशीमा पाँच, नमोबुद्ध र भुम्लुमा चार, बेथानचोकमा तीन, मण्डनमा दुई, बनेपा, तेमाल र चौरीमा ११ खानी तथा क्रसर सञ्चालनमा थिए ।