विकासन्युज

ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ आजदेखि बिक्री खुला, १० हजार कित्ता खरिद गर्न सकिने

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्सले आज फागुन २७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणमा आईपीओ बिक्री गरेपश्चात् सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँको १८ लाख कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको छ । जसमध्ये १० प्रतिशतले हुन आउने १ करोड ८० लाख रुपैयाँको १ लाख ८० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली, ५ प्रतिशत अर्थात् ९० हजार कित्ता सामूहिक लगानी कोष, ३ प्रतिशत अर्थात् ५४ हजार कित्ता कम्पनीका कर्मचारीहरूलाई बिक्री गरिसकेको छ । अब कम्पनीले दोस्रो चरणमा १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा चैत ३ गते र यदि उक्त अवधिमा सेयर बिक्री नभएको खण्डमा आवेदन दिने समय चैत १२ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् आईपीओमा आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।  

ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता

काठमाडौं । नेपाली चलचित्र अन्तरराष्ट्रिय मेला महोत्सवमा सहभागी हुनु र पुरस्कृत हुनु नौलो खबर रहेन । गत भदौमा मीनबहादुर भामले निर्देशन गरेको चलचित्र ‘शाम्बाला’ र यही फागुन २९ मा प्रदर्शन हुने दीपक रौनियारले निर्देशन गरेको चलचित्र ‘राजागञ्ज’ले अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा आफूलाई अब्बल सावित गरिसकेका छन् । यसैक्रममा नेपाली अभिनेता टङ्क धमालाले अभिनय गरेको ब्रिटिस चलचित्र ‘कामा’ बेलायत र आयरल्याण्डमा यही फागुन २३ गतेदेखि प्रदर्शनरत छ । चलचित्रमा उनीसँगै हलिउड कलाकार म्याट वेकफोर्डनट, जेमिमा टोम्स, मिया बेनेट र भारतीय अभिनेत्री पूजा गुप्ताले अभिनय गरेकी छिन् । नेपाली चलचित्र ‘सरौतो’ मा अभिनय गरेका धमालाले अभिनय यात्रामा नयाँ अनुभव सङ्गालेको बताए । ‘चलचित्र हेर्ने दर्शकले राम्रो प्रतिक्रिया दिनुभएको छ । मेरो मुख्य भूमिका रहेको चलचित्र यसरी अन्य विदेशी चलचित्र झैँ प्रदर्शन हुँदा म निकै उत्साहित छु । यो क्षणलाई मैले शब्दमा व्यक्त गर्न सकेको छैन, मेरो अभिनय यात्रामा यसले इँटा थप्ने काम गरेको छ,’ उनले भने । ब्रिटिस चलचित्र ‘डेन्जरस गेम’ र भारतीय चलचित्र ‘एनिमल’ मा पनि अभिनय गरेका धमालाले विश्वासघात र बदलाका लागि मान्छे कुन हदसम्म पुग्नसक्छ भन्ने कथालाई ‘कामा’मार्फत देखाउने प्रयास गरिएको बताए । उनले चलचित्रमा आर्मीको भूमिका निर्वाह गर्न त्यससम्बन्धी प्रशिक्षण समेत लिएको जानकारी बताए । ‘मलाई अभिनय सिकाउनु हुने साइमन गिब्बनसँग केही समय पात्रको मनोविज्ञानबारे प्रशिक्षण लिएपछि शारीरिक रुपमा चुस्त देखिन मेहनत गरेँ । आर्मीको सोचाइ र शारीरिक हाउभाउलाई उतार्न सफल भएपछि छायाङ्कनमा पुगेको थिएँ । नेपालीपछि भारतीय र ब्रिटिस चलचित्रमा काम गर्न पाउँदा मैले उहाँहरुको कार्यशैलीलाई बुझ्ने मौका पाएँ,’ धमालाले भने । चलचित्रमा उनले निर्वाह गरेको पात्रलाई युद्धबाट फर्किएर घर आइपुग्दा श्रीमतीको मृत्युको खबर थाहा हुन्छ । त्यसपछि घट्ने घटनाक्रमले ‘क्राइम र थ्रिलर’ विधाका चलचित्र रुचाउने दर्शकलाई मनोरञ्जन दिने धमालाले बताए । सन् २०१८ देखि मोडलिङमा सक्रिय धमालाले चलचित्र, विज्ञापन र म्युजिक भिडिओमा काम गरिरहेका छन् । विदेशी चलचित्रमा काम गर्दा थप अनुभवी बनाएको बताउँदै अभिनेता धमालाले आगामी दिनमा सङ्ख्यात्मकभन्दा पनि गुणात्मक चलचित्रमा काम गर्ने बताए ।

यस्तो छ प्रतिनिधिसभाको आजको बैठकको कार्यसूची

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज मध्याह्न १ः०० बजे बस्दैछ । संसद् सचिवालयलका अनुसार बैठकको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठनसम्बन्धी सूचना टेबुल गर्ने छन् । यसैगरी बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । आजको बैठकमा सो संशोधनमाथि छलफल पनि हुने सचिवालयले जनाएको छ । वनमन्त्री ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव पनि सभासमक्ष प्रस्तुत गर्नेछन् ।

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति, १२ मध्ये ९ वटा सडक पुल अन्तिम चरणमा

काठमाडौं । पोखरा-मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)को भौतिक प्रगति ४३.३४ प्रतिशत पुगेको छ । कूल ३८.८८ किमी दूरीको उक्त खण्डमा हालसम्म २९.४७ किमी सडक कालोपत्र भएको छ । ४ लेनको उक्त सडकमा १५.३२ किमीमा दुईतर्फी र १४.१५ किमीमा एकतर्फी कालोपत्र गरिएको आयोजनाका इञ्जिनियर सौजन्य नेपालले जानकारी दिए । उक्त सडक निर्माणको म्याद विसं २०८२ पुससम्म छ । यसअघि दुईपटकसम्म म्याद थप भएको थियो । पश्चिमतर्फ तनुहँमा २ किमी सडक मात्र कालोपत्र हुन बाँकी रहेको इञ्जिनियर नेपालले बताए । कास्की खण्डमा सडक विस्तार, पूर्वाधार तयारी र कालोपत्रको काम भइरहेको उनको भनाइ छ । तनहुँको जामुनेदेखि पर्यटन राजधानी पोखरा जोड्ने पश्चिम खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । एक वर्षभित्र कामसक्ने लक्ष्य लिइएको इञ्जिनियर नेपालले बताए । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले सडक विस्तार एवं स्तरोन्नति गरिरहेको हो । पोखराको चाउथे, अन्तरराष्ट्रिय विमानस्थलदेखि अमरसिंहचोक, बूढीबजारलगायत ठाउँमा कालोपत्रको काम भइरहेको इञ्जिनियर नेपालले जानकारी दिए । पोखरा महानगरपालिका-२७ तालचोकदेखि गगनडौँडासम्मको खण्डमा पनि निर्माणले गति लिएको उनले बताए । पश्चिमतर्फ तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्र भइसकेको छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक ६ लेन र आधाजति ४ लेनको बन्ने इञ्जिनियर नेपालले बताए । वियजपुर खोला र सेती नदीमा पुल निर्माण पनि सँगसँगै भइरहेको उनको भनाइ छ । पश्चिम खण्डमा पर्ने १२ वटामध्ये ९ वटा सडक पुल निर्माणको अन्तिम चरणमा रहेको आयोजना कार्यालयले जनाएको छ । चिनियाँ निर्माण कम्पनीले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको हो । कूल ८१ किमी दूरीको पोखरा-मुग्लिन सडक एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको हो । कूल ४१.४५ किमीको पूर्वी खण्डमा पनि विसं २०७८ वैशाखदेखि निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको थियो । पूर्वी खण्डमा सडक स्तरोन्नति र कालोपत्रको काम अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ । सरकारको प्राथमिकता प्राप्त यस सडक आयोजना निर्माणका क्रममा रहेकाले पोखराको यातायात सेवा केही असहज भने बनेको छ । सडक स्तरोन्नति लक्ष्यभन्दा केही ढिलो भइरहेकामा स्थानीयवासीको गुनासो छ । गण्डकी प्रदेशको राजधानी जोड्ने मुख्य सडकमार्गको स्तरोन्नतिपछि पोखरादेखि देशका विभिन्न ठाउँको यातायात सेवा सहज र छरितो हुनेछ । ४ लेनको उक्त सडकले सिङ्गो गण्डकी प्रदेशको आर्थिक र पर्यटकीय गतिविधि बढाउन मद्दत पुग्ने विश्वास लिइएको छ । पोखरा आतजावत गर्दा धुलो र हिलो छिचोल्दै घण्टौँको यात्रा गर्नुपर्ने सर्वसाधारणको बाध्यता छिट्टै अन्त्य हुने इञ्जिनियर नेपालले बताए ।

उच्च शिक्षाका लागि विदेशी जानेहरूले लगे ६४ अर्ब १५ करोड रुपैयाँ

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा उच्च शिक्षाका लागि विदेशी मुलुक जानेहरुले ठूलो धनराशी विदेश लगेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार शिक्षातर्फको व्यय ६४ अर्ब १५ करोड रुपैयाँ बराबर पुगेको छ । सेवा खाताअन्तर्गत भ्रमण व्यय १०.६ प्रतिशतले वृद्धि भई १ खर्ब १५ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय ६४ अर्ब १५ करोड रुपैयाँ रहेको हो । बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १ खर्ब ४ अर्ब ७५ करोड रुपैयाँ रहेकामा शिक्षातर्फको व्यय ६६ अर्ब ६४ करोड रुपैयाँ थियो । सो अवधिमा खुद सेवा आय ५० अर्ब २२ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३६ अर्ब ३८ करोड रुपैयाँले घाटामा थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय सात दशमलव सात प्रतिशतले वृद्धि भई ४९ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४५ अर्ब ६८ करोड रुपैयाँ थियो ।

उद्घाटन भएपनि धनगढी सभा गृह सञ्चालनमा आउन समय लाग्ने

काठमाडौं । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी बजारभन्दा एक किलोमिटर पर रहेको धनगढी गाउँमा ‘धनगढी सभागृह’ छिट्टै प्रयोगमा आउने भएको छ । नेपाल सरकारको ३२ करोड बढी लागतमा सम्पन्न भएको सभागृह छिट्टै प्रयोगमा आउने भएको हो । उक्त सभागृहको आइतबार प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरे । प्रधानमन्त्रीले सभागृहको उद्धघाटन कार्यक्रममा बोल्दै यही विकासको नमुना र प्रमाण भएको दाबीसमेत गरे । सभागृह धनगढी उपमहानगरपालिका- ८ मा एक बिगाह क्षेत्रफलमा फैलिएको छ । उक्त सभागृह साढे ३२ करोड रुपैयाँभन्दा बढीको लागतमा निर्माण गरिएको क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाइका सूचना अधिकारी पुष्पराज भट्टले जानकारी दिए । उनका अनुसार सभागृह सञ्चालन कार्यविधि तथा मापदण्ड चाँडो नबन्दा सभागृह अलपत्र अवस्थामा रहेको थियो । हालसालै कार्यविधि तथा मापदण्ड बनेपछि सभागृहको आइतबार प्रधानमन्त्रीले उद्घाटन गरेपछि क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाइ धनगढीले धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्‍यो । २०७५ मै निर्माण कार्य सुरु सभागृहको निर्माण कार्य विसं २०७५ माघ २ गतेदेखि सुरु भएको थियो । जसको लागत अनुमान ४७ करोड १९ लाख ४० हजार रहे पनि ३२ करोड ३२ लाख ९७ हजारमा रुपैयाँमा २०७९ असार २४ गते सम्पन्न भयो। सभागृह बनाउनका लागि उपमहानगरले एक बिघा जग्गा उपलब्ध गराएको थियो । उक्त सभाहलको निर्माण ‘विकेओआई एमके रोयल’ कम्पनी जेभीले गरेको हो । सभाहलमा मुख्य हल, ७ सय ५३ जना क्षमताको सभाहल, २ सय १० जना क्षमताको तालिम हल, भीआईपी कक्ष, कार्यक्रम कक्ष, ४६ वटा कार पार्किङ, ९८ वटा मोटरसाइकललगायत भूमिगत पार्किङको समेत व्यवस्था रहेको क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाइ धनगढीले जनाएको छ । यस्तै, सभागृहमा साउण्ड सिस्टम जडान गर्न बाँकी रहेको छ । सूचना अधिकारी भट्टले भने, ‘सभागृहमा साउण्ड सिस्टम जडान गर्न बाँकी छ । निर्माण कार्य लगभग सबै सम्पन्न गरिसकेका छौं । आइतबार उद्घाटन भएसँगै सभागृह उपमहानगरपालिकाको जिम्मा दिएका छौं । अब यसको सञ्चालन उपमहानगरपालिका आफैलै गर्ने वा ठेक्कामार्फत गर्ने अधिकार उपमहानगरलाई नै छ ।’ उनले साउण्ड सिस्टम जडानका लागि २ करोड १५ लाख रुपैयाँ पाइसकेको जानकारी दिए । ‘२ करोड १५ लाख बजेट प्राप्त भएको छ । अब साउण्डसिस्टम जडान फर्निचर खरिद गर्नेछौं । यसको ठेक्का आह्वान भईसकेको छ । यो पनि छिट्टै जडान हुनेछ,’ सूचना अधिकारी भट्टले भने । सुदूरपश्चिमकै ठूलो सभागृह धनगढी सभागृह सुदुरपश्चिमकै सबैभन्दा ठूलो सभागृह भएको जनाइएको छ । धनगढीमा यति ठूलो सभागृह हालसम्म नभएको क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढीले जनाएको छ । सूचना अधिकारी भट्टले यो सभागृह विसं २०७४/७५ तिरै आवश्यक भएको रहेकोे बताए । सभागृह सञ्चालनमा आउने विश्वास आयोजना प्रमुख जनक थापाले व्यक्त गरे । ‘देशका विभिन्न ठाउँमा सभाहल हुँदा हाम्रोमा एउटा बनेको छ । यो सभागृह सबैभन्दा ठूलो पनि छ । यो सभाहल प्रयोगमा आउँछ भन्ने विश्वास हामीलाई छ,’ उनले भने । सूचना अधिकारी भट्ट पनि आवश्यकताका आधारमा यो सभागृह छिट्टै प्रयोगमा आउने विश्वास व्यक्त गर्छन् । के भन्छ धनगढी उपमहानगर ? सहरी विकास मन्त्रालयले धनगढी उपमहानगरलाई ‘धनगढी सभा गृह’ हस्तान्तरण गरेसँगै उपमहानगर कार्यविधि बनाउने योजनामा जुटेको छ । उपमहानगरकी उपमेयर कन्दकला रानाले सभागृहको रेखदेखदेखि कार्यविधि सबै जिम्मा उपमहानगरमाथि परेको बताइन् । उनले भनिन्, ‘सभागृह रेखदेखदेखि सञ्चालन कार्यविधिसम्म सबै हाम्रै जिम्मा छ । सञ्चालनको काम अगाडि बढाइसकेका छौं । हामीले त्यहाँ आजमात्रै बिजुली बत्ती, अन्डरग्राउण्ड, पानीको अवस्थाबारे बुझ्न इन्जिनियर टोली पठाएका छौं । सबै कुरा बुझेर त्यहीअनुसार छलफल गछौं अनि यसलाई छिट्टै सञ्चालनमा ल्याउँछौं ।’ उनले अब विभिन्न सभा, समारोह, गोष्ठी, बैठक सेमिनारजस्ता विभिन्न कार्यक्रम सभागृहमै हुने दाबी गरिन् । यस्तै, सभागृहको सबै व्यवस्थापनको पाटो विशेष रूपमा गरिने उनको भनाइ छ । उपमहानगरपालिकाको कार्यपालिकाको बैठकमा छलफल गरेर यसको राजस्व समेत तोकिने उनको भनाइ छ ।

सजिलो नेटको ब्राण्ड एम्बेस्डरमा बद्री पंगेनी नियुक्त

काठमाडौं । इन्टरनेट सेवा प्रदायक सजिलो नेटले चर्चित लोकगायक बद्री पंगेनीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको छ । सोमबार सम्पन्न सम्झौतासँगै देशभरका नेपाली परिवारसँग आफ्नो सम्बन्धलाई अझ प्रगाढ बनाउने दिशातर्फ महत्वपूर्ण कदम चालेको सजिलो नेटले जनाएको छ । नेपाली लोकसंगीत क्षेत्रमा ख्याति कमाएका बद्री पंगेनीले आफ्ना मार्मिक तथा सन्देशमूलक गीतहरू मार्फत लाखौं दर्शक–श्रोताको मन जित्न सफल भएका छन् । सजिलो नेटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सतीश कार्कीले पंगेनीलाई ब्राण्ड एम्बेस्डर बनाउन पाउँदा खुसी व्यक्त गरे । बद्री पंगेनीले सजिलो नेटसँग जोडिन पाउनु खुसीको कुरा भएको बताए । पंगेनीसँगको सहकार्यले ब्राण्डलाई अझ बलियो बनाउने विश्वास सजिलो नेटको छ ।

नबिल एसएसई फेलोसिप कार्यक्रमको आवेदन खुला, चैत २५ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको पाँचौं समूहका लागि आवेदन खुला गरेको छ । सामाजिक उद्यमशीलताको प्रवद्र्धन गर्ने लक्ष्यका साथ सुरु गरेको यस कार्यक्रममा उद्यमशीलतामार्फत समाजमा सकारात्मक योगदान पु¥याउने सोंच भएका व्यक्तिहरू सहभागी हुन सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार इच्छुक व्यक्तिहरूले आगामी चैत २५ गतेसम्म आवेदन दिन सक्नेछन्। त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टको सहकार्यमा सञ्चालन भइरहेको नबिल एसएसई फेलोसिप कार्यक्रम ६ महिनासम्म सञ्चालन हुन्छ । जसमा १८ दिनको निःशुल्क आवासीय तालिम र एक वर्षको परामर्श कार्यक्रम समावेश छ । यसमार्फत हालसम्म तीन वटा समूहका ५६ उद्यमीले तालिम लिइसकेका छन् भने ४५ सामाजिक उद्यममार्फत १ हजार १८४ जनालाई रोजगारी दिइसकेको छ । कार्यक्रमअन्तर्गत हाल चौथो समूहका २० उद्यमीले प्रशिक्षण लिइरहेका छन् भने पाँचौं समूहमा पनि देशभरिबाट आएका आवेदनबाट २० जना छनौट हुने नबिल बैंकले जनाएको छ । कार्यक्रममा सहभागिताका लागि केबल १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने योग्यता तोकिएको छ । व्यवसाय सुरु गरिसकेका तथा नवीन उद्यमशीलता सोंच भएका व्यक्तिले यस कार्यक्रममा आवेदन भर्न सकिने बैंकले जनाएको छ । कार्यक्रममा सहभागिताका लागि नबिल स्कुल अफ सोसल इन्टप्रेनरसिपको फेसबुक पेजमा उपलब्ध क्यूआर कोड स्क्यान गरेर आवेदन दिन सकिन्छ । साथै नबिल बैंकको वेबसाइटबाट फारम डाउनलोड गरी इमेलमार्फत पठाउन पनि सकिन्छ । यस कार्यक्रममा जीविकोपार्जन, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, कला, सामुदायिक विकास, कृषि, ऊर्जाका साथै दिगो विकासका लक्ष्यसँग मेल खाने क्षेत्रमा काम गरिरहेका उद्यमीहरु कार्यक्रममा सहभागी हुन सक्नेछन् । कार्यक्रमले विभिन्न क्षेत्रका उद्यमीलाई एकै ठाउँ ल्याइ अनुभवी मार्गदर्शकहरु र उद्योग विशेषज्ञहरूबाट प्रशिक्षण दिने बैंकले जनाएको छ । नबिल एसएसईले सहभागीलाई उनीहरूको व्यवसाय विकास गर्न आवश्यक स्रोतहरू उपलब्ध गराउनुका साथै सम्बन्धित प्लेटफर्म र सञ्जालमा पहुँच स्थापित गर्न र वित्तीय पहुँचका लागि अवसरहरू खोज्न सहयोग गर्दै आएको छ । नबिल एसएसई सामाजिक परिवर्तनको संवाहकका रूपमा स्थापित भइसकेको छ । नबिल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नबिल एसएसई कार्यक्रम तीन वर्षदेखि सञ्चालन गर्दै आएको छ । यस कार्यक्रमअन्तर्गत हाल फेलोसिप प्रोग्राम र सर्टिफिकेट कोर्स सञ्चालन भइरहेका छन् । नबिल एसएसई अन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्समार्फत हालसम्म एक सय १७ उद्यम स्थापना भई एक हजार दुई सयभन्दा बढी रोजगारी सृजना भइसकेको बैंकले जनाएको छ । फेलोसिप प्रोग्राम त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन भइरहेको छ भने सर्टिफिकेट कोर्स सातैवटै प्रदेशका ११ वटा शैक्षिक संस्थाबाट नबिल सेन्टर फर सोसियल इन्टरप्रेनरसिप स्थापना भई सञ्चालन भइरहेको छ । नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक कार्य गर्दै आएको छ । बैंकले विशेष गरी वित्तीय साक्षरता, उद्यमशीलता विकास, स्वास्थ्य, शिक्षा, विपद् जोखिम न्यूनीकरण, व्यवस्थापन र जलवायु परिवर्तनका क्षेत्रमा प्राथमिकताका साथ काम गरिरहेको छ । बैंकको उक्त प्रयासबाट विभिन्न समुदायका हजारौं मानिसहरूको जीवनमा सकारात्मक सुधार हुनुका साथै वातावरण संरक्षणतर्फ ठोस कदम अगाडि बढाउन सहयोग पुगेको छ ।