विकासन्युज

विद्युतका कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको होइन : विद्युत प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो कारणले केही दिनअघि थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति नपुगेको जनाएको छ । उक्त क्षेत्रमा विद्युतीय लाइन भूमिगत गर्ने काम करिब साढे तीन वर्षअघि नै सकिएकाले आफ्नो कारणले हाल आएर खानेपानीको पाइपमा क्षति नपुगेको प्राधिकरणले प्रष्ट पारेको छ । प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले सन् २०२१ सेप्टेम्बर/अक्टोबरमा म्यानुअल विधिमार्फत खनेर जमिन सतहभन्दा करिब १.१ मिटर मुनि पाइप बिछ्याइएको र हाल उक्त विद्युत वितरण लाइन चालू रहेको बताए । उक्त समयदेखि लाइन चालू रहेको र काठमाडौं उपत्यकाका खानेपानी लि. (केयुकेएल) को खानेपानी वितरण लाइनसँग विद्युत वितरण लाइनको हालसम्म कुनै समस्या नरहेको प्रवक्ता घोषले उल्लेख गरे । ‘खानेपानीको पाइप फुटेको क्षेत्रमा साँघुरो बाटो रहेकाले होरिजन्टल डिरेक्सन ड्रिलिङ प्रविधि प्रयोग नगरी म्यानुअल्ली काम गरिएकाले खानेपानीको पाइपमा कुनै पनि क्षति पुगेको छैन’, उनले भने, ‘प्राधिकरण र केयुकेएलबीच सन् २०२२ अप्रिलमा विद्युतीय पाइप र खानेपानी पाइपबीचमा कमसेकम ०.५ मि. तेर्सो/ठाडो दूरी रहने गरी सहमति भएको थियो, उक्त सहमतिलाई पूर्ण रुपमा कार्यान्वयन गरी काम भइरहेको छ ।’

विभिन्न स्वास्थ्य संस्थाका विभाग प्रमुख हेरफेर

काठमाडौं । सरकारले स्वास्थ्यका विभिन्न विभागका प्रमुख हेरफेर गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मन्त्री स्तरीय निर्णय गर्दै प्रमुख हेरफेर गरेका हुन् । जसमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को निर्देशकमा डा चन्द्रभाल झालाई नियुक्त गरिएको छ भने, यस अघिका निर्देशक यदुचन्द्र घिमिरेलाई हेटौडा स्थित किटजन्य रोग अनुसन्धान केन्द्रको प्रमुख बनाएर पठाइएको छ । डा. झा कोशी अस्पतालका पुर्व निर्देशक हुन् । परोपकार प्रसुती गृह थापाथलीको निर्देशकमा डा एन्जीला घिमिरेलाई नियुक्त गरिएको छ । यस्तै गजेन्द्रनारायण सिं स्वास्थ्य विज्ञान प्रतिष्ठानक प्रमुखमा डा किरण मणि पौडेललाई दिइएको छ । यस्तै मन्त्री पौडेलले ६ जना चिकित्सकलाई पनि पदस्थापन गरिएको छ ।

२२ वर्षमै शैक्षिक व्यवसायी बनेका अधिकारी बने प्याब्सनको अध्यक्ष, सिमेन्ट र हाइड्रोमा पनि लगानी

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को अध्यक्षमा कृष्ण अधिकारी निर्विरोध निर्वाचित भएका छन् । प्याब्सनको १६औं महाधिवेशनबाट उनी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । प्याब्सनको वरिष्ठ उपाध्यक्षको रूपमा काम गरिरहेका उनी नयाँ कार्यसमितिको अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष सर्वसम्मत भएपनि कुल ६६ जनाको कार्यसमिति बनाउँदै आएको प्याब्सनले बाँकी पदाधिकारी छनोटको प्रक्रिया सुरु गरिसकेको छ । सर्वसम्मत रूपमा अध्यक्ष बनेका अधिकारी विगत तीन दशकदेखि शिक्षा क्षेत्रमा काम गर्दै आएका छन् । काठमाडौंमा शैक्षिक संस्था सञ्चालन गरेर यो क्षेत्रमा लागेका अधिकारी एक परिचित शैक्षिक व्यवसायी हुन् । काठमाडौंको बुढानिलकण्ठमा एक विद्यालय सञ्चालनमा ल्याएर शैक्षिक व्यवसाय सुरु गरेका अधिकारीले हाल तीन वटा शैक्षिक संस्था संस्था सञ्चालन गरिरहेका छन् । अधिकारीको घर स्याङ्जा हो । उनलाई सानैदेखि शिक्षा क्षेत्रमा सक्रिय बन्ने रुचि थियो । उनले आफ्नो रुचि अनुसार २२ वर्षको उमेरमै शैक्षिक संस्था सञ्चालनमा ल्याएर आफ्नो यात्रा सुरु गरेका हुन् । उनी ३५ वर्षअघि भाइबहिनीलाई पढाउने, आफू पनि पढ्ने उद्देश्यले काठमाडौं आए । काठमाडौं आएर उनी पढ्ने र पढाउने काममा लागे । त्यही बेलामा उनी एउटा निजी अस्पतालमा काम गर्न थाले । स्याङजामा उनका बुवाको पनि विद्यालय थियो । उनी गाउँमै हुँदा पनि त्यो विद्यालयमा पढाउने काम गर्थे । काठमाडौं आएर पनि उही यही पेशामा आवद्ध भए । गाउँमा पनि पढाउने र काठमाडौंमा पनि पढाउने पेशामा आवद्ध हुँदा उनलाई अब आफ्नै स्कुल सञ्चालन गर्नुपर्छ भन्ने लाग्यो । ‘मलाई यही काममा रुचि बसिसकेको थियो, अब यही क्षेत्रमा केही गर्नुपर्छ भन्ने लाग्यो, त्यसपछि आफै स्कुल सञ्चालन गरेँ, यो क्षेत्रमा लागेँ,’ उनले भने । उनले विसं २०५० सालमा भ्याली पब्लिक स्कुल सञ्चालन गरेका थिए । उनी शिक्षा क्षेत्रमा लागेकै वर्षदेखि प्याब्सनमा आवद्ध भए । प्याब्सनको संस्थापक अध्यक्ष रत्नबहादुर बज्राचार्य हुँदा उनी केन्द्रीय सदस्य बनेका थिए । प्याब्सनमा आवद्ध भएको करिब तीन दशकपछि उनी सोही संस्थाको नेतृत्वमा पुगेका हुन् । संस्थापक अध्यक्ष बज्राचार्यको कार्यकालदेखि अहिलेसम्म उनी ४ पटक केन्द्रीय सदस्य, दुई पटक केन्द्रीय सचिव, पाँच पटक केन्द्रीय उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष भएर काम गरिसकेको अनुभव छ । भ्याली पब्लिक विद्यालयबाट शैक्षिक व्यवसायीको यात्रा सुरुगरेपछि उनले पछि भद्रकाली इंङ्गलिस मिडियम सेकेन्डरी स्कुल, भ्याली पब्लिक मन्टेश्वरीसहित तीनवटा विद्यालयमा लगानी गरे । भ्याली स्कुलको नाम अहिले परिवर्तन गरेर सुन्दरवस्ती राखिएको छ । शिक्षाको उज्यालो फैलाऔं भन्ने नारासहित सो विद्यालय सञ्चालित छ । अहिले यो विद्यालयमा १ हजार बढी विद्यार्थी अध्ययन गरिरहेका छन् । काठमाडौको बुढानीलकण्ठमा रहेको यो विद्यालयले आधुनिक शिक्षणविधि प्रयोग गर्दै उत्कृष्ट शिक्षा प्रदान गरिरहेको छ । यो स्कुलमा विद्यार्थीको आकर्षण बढेपछि कृष्णले भद्रकाली इंग्लिस मिडियम सेकेन्डरी स्कुल र भ्याली पब्लिक मन्टेश्वरी सञ्चालनमा ल्याएको जानकारी दिए । २२ वर्षमै शैक्षिक व्यवसायी २२ वर्षको उमेरमै शैक्षिक व्यवसायी भनेर चिनिनु सामान्य विषय थिएन । विभिन्न चुनौतीहरूलाई सामना गर्दै उनी शैक्षिक व्यवसायको यात्रामा होमिए । त्यतिबेला नेपालमा सरकारी विद्यालयमात्रै थिए । निजी विद्यालय सञ्चालनमा ल्याउने जग बस्नै लागेको थियो । काठमाडौं उपत्यकामा पनि अहिले जस्ता ठाउँठाउँमा छ्यापछ्याप्ती निजी विद्यालय थिएनन् । उनले साथीहरूसँग मिलेर विद्यालय सञ्चालन गरे । विद्यालय सञ्चालनमा ल्याउनेबित्तिकै प्याब्सनमा आबद्ध उनले स्विट्जरल्याण्ड जाने मौका पनि पाए । स्वीट्जरल्याण्ड जाँदा उनले त्यहाँका १६ वटा विद्यालयको भ्रमण गर्ने अवसर पाए । ‘नेपालमा कस्ता विद्यालय र कस्ता खालका पूर्वाधार हुनुपर्छ भन्ने विषय त्यतिखरे थाहा पाएँ, विद्यालयमा पुस्तकालय, शौचालयक, खानेपानी, ल्याब कति आवश्यक छ भन्ने विषय त्यहाँ गएपछि थाहा पाएँ,’ उनी भन्छन्, ‘सोही अनुसारमा नेपालमा काम गरियो ।’ उनी नेपाल फर्किएर सोही किसिमको सुविधा सुरु गरे । उनले त्यसका लागि अभिभावकको साथ खोजे । अहिले उनले सञ्चालन गरेका विद्यालय सुविधा सम्पन्न छन् । ‘म प्याब्सनको सुरुवातीदेखि नै आवद्ध व्यक्ति हुँ, कस्ता विषय उठाउनुपर्छ, के विषयमा बहस गर्नुपर्छ भन्ने राम्रोसँग थाहा छ,’ उनी भन्छन्, ‘अवस्था पहिलेको जस्तो छैन, तर अझै सुधार गर्नुपर्ने थुप्रै कुराहरू छन् ।’ ‘नेपाललाई शैक्षिक हब बनाउने उद्देश्य छ’ नेपालको शिक्षा क्षेत्रमा निजी क्षेत्रको ठूलो भूमिका छ । सरकारी विद्यालयले गुणस्तर सुधार नगर्दा विद्यार्थीको रोजाइ निजी विद्यालय बनिरहेको छ । धेरैको आकर्षण निजी विद्यालयमा छ । निजी विद्यालयलले नतिजा पनि सोही किसिमले दिइरहेका छन् । नेपालमा हरेक वर्ष हुने एसईई परीक्षाको नतिजा हेर्दा पनि निजी विद्यालयमा अध्यनरत विद्यार्थी राम्रो अंक ल्याएर पास हुने गरेका छन् । निजी विद्यालयका चुनौती पनि व्याप्त छन् । ती चुनौतीको सामनाका साथ समाधान गर्नुपर्ने दायित्व अब अधिकारीको काँधमा आइलागेको छ । नेपालमा निजी विद्यालयले सहज रुपमा काम गर्न सरकारी नीति बाधक बनिरहेको छ । त्यो आवाज निजी शैक्षिक संस्था सञ्चालकले राखिरहेका छन् । अब त्यो आवाजको नेतृत्व गर्ने जिम्मेवारी अधिकारीसामू आइपुगेको छ । उनले वर्तमान समस्या समाधानका लागि आफू लागिपर्ने धारणा राखे । ‘नेपाललाई शैक्षिक हब बनाउने मेरो उद्देश्य छ, निजी क्षेत्रबाट काम गर्ने व्यवसायीलाई धेरै चुनौती छ, ती समस्याको समाधानका लागि काम गर्छु, निजी विद्यालयलाई कर छुट, विद्यार्थीको लागि छात्रवृत्ति, विद्यालय विधेयक आएको छैन, शिक्षकको सामाजिक सुरक्षा कोषको विषयमा आवाज उठाउँछु, समस्या धेरै समाधान गर्नुपर्नेछ,’ उनले भने । अधिकारीको शिक्षासँगै सिमेन्ट र जलविद्युतमा पनि लगानी छ ।

‍अल्फा अटोमोटिभको मेगा सर्भिस क्याम्प २०२५ सम्पन्न, करिब २ हजारको सहभागी

काठमाडौं । रोयल इनफिल्ड नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिद्वारा आयोजित पहिलो संस्करणको ‘मेगा सर्भिस क्याम्प २०२५’ सफलतापूर्वक सम्पन्न भएको छ । उक्त क्याम्प रोयल इनफिल्डको सर्भिस सेन्टर ललितपुरको बालकुमारीमा मार्च ७ देखि मार्च ९ (फागुन २३–२५) सम्म आयोजना गरिएको थियो । कार्यक्रमको औपचारिक उद्घाटन अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले गरेका थिए । तीन दिनसम्म सञ्चालन भएको यो क्याम्प रोयल इनफिल्ड राइडर एवं ग्राहक महानुभावहरूका लागि विशेष सेवा अफर, हेल्मेट सेफ्टीका बारेमा जानकारी, विशेषज्ञहरूसँग अन्तरक्रिया र मनोरञ्जनात्मक गतिविधिहरूसहित आयोजना गरिएको थियो । यस क्याम्पमा ग्राहकहरूका लागि विभिन्न विशेष सर्भिस अफरहरू उपलब्ध गराइएको थियो । साथै तथा स्पेयर पाट्र्स, लुब्रिकेन्ट र श्रम शुल्कमा १० प्रतिशत छुटको पनि व्यवस्था गरिएको थियो । यस क्याम्पमा झण्डै २ हजार जना सहभागी भएका थिए भने ५०० भन्दा बढी बाइकहरूको सर्भिसिङ गरिएको थियो । अल्फा अटोमोटिभ प्रालिका निर्देशक पौडेलले भने यस्ता कार्यक्रमले ग्राहक र कम्पनीबीचको सम्बन्ध अझ मजबुत बनाउने बताए । कम्पनीले प्रत्येक वर्ष नेपालभरि नै मेगा सर्भिस क्याम्प आयोजना गर्ने घोषणा पनि गरेको छ ।

पोखरा फाइनान्सको सीईओमा गुरुङ नियुक्त, बैंकिङ क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रकाश गुरुङ नियुक्त भएका छन् । कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले सीईओमा गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले गुरुङलाई चैत १ गतेदेखि लागू हुने गरी २ वर्षे कार्यकालका लागि नियुक्ति गर्ने निर्णय गरेको कम्पनीले जानकारी दिएको छ । सीईओ गुरुङले बैंकिङ क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव बटुलेका छन् । यस अघि उनी ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा कार्यरत थिए ।

निसानको सञ्चालक समितिको बैठकले बस्दै, के आज नयाँ सीईओको उत्तराधिकारी छानिएला ?

माकाटो उचिदा काठमाडौं । निसानको सञ्चालक समितिको बैठक मंगलबार बस्न लागेको छ । निसानका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माकाटो उचिदाको सम्भावित उत्तराधिकारीबारे छलफल हुन बैठक बस्न लागेको हो । निसानको आर्थिक अवस्था कमजोर हुँदै गएको र होन्डासँगको विलय वार्ता असफल भएको कारण उचिदालाई राजीनामा दिन दबाब परेको छ । उनी आफ्नो पदमा बस्न असम्भवजस्तै देखिएको छ, तर उनले तत्काल राजीनामा दिने निश्चित नभएको स्रोतले बताएको छ । नयाँ सीईओ बन्ने व्यक्ति छ वर्षभित्र निसानको चौथो सीईओ हुनेछन् । उनले अस्थायी रूपमा कार्यभार सम्हाल्न सक्छन् जबसम्म सञ्चालक समितिले स्थायी उत्तराधिकारी चयन गर्दैन । जापानी मिडियाका रिपोर्टहरू अनुसार सम्भावित उत्तराधिकारीहरूमा प्रमुख वित्तीय अधिकृत (सीएफओ) जेरिमी पापिन, प्रमुख योजना अधिकृत (सीपीओ) इवान एस्पिनोसा र प्रमुख प्रदर्शन अधिकृत (सीपीओ) गिलियूम कार्टियर रहेका छन् । निसानका एक प्रतिनिधिले सञ्चालक समितिको बैठकपछि पत्रकार सम्मेलन वा प्रेस विज्ञप्ति जारी गर्ने योजनाबारे कुनै जानकारी दिएका छैनन् । निसानले लामो समयदेखि बिक्री घट्नुका साथै व्यवस्थापनमा अस्थिरता झेल्दै आएको छ । सन् २०१८ मा पूर्वअध्यक्ष कार्लोस गोसनलाई टोकियोका अभियोजनकर्ताहरूले वित्तीय अनियमिततामा दोषी ठहर गरेपछि निसानको ब्रान्ड छविमा ठूलो धक्का लागेको थियो, जसले गर्दा कम्पनी अझै पूर्ण रूपमा उठ्न सकेको छैन । हालको आर्थिक वर्ष (मार्च अन्त्यसम्म) भित्र निसानले आफ्नो नाफा पूर्वानुमान तीन पटकसम्म घटाइसकेको छ । जापानको तेस्रो ठूलो कार निर्माता कम्पनीलाई उचिदाले पुनः स्थापनाका लागि विभिन्न योजनाहरू अघि सारेका थिए । उनले नोभेम्बरमा हजारौं रोजगारी कटौती र उत्पादन क्षमतामा कमी ल्याउने घोषणा गरेका थिए । उचिदाले आफ्नो पुनरुत्थान योजनाबारे यस समय आसपास अद्यावधिक जानकारी दिने संकेत गरेका थिए । हालको पुनर्गठन योजनाअनुसार निसानले थाइल्यान्डमा रहेको एक कारखाना र दुई अन्य अज्ञात कारखानाहरू बन्द गर्ने योजना बनाएको छ । तर जापानमा रहेका पाँचवटा कारखानाहरू बन्द गर्ने योजना नभएको क्योडो न्यूजले सोमबार जनाएको छ। परम्परागत अटो ब्रान्डहरू हाल चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनीहरूको चुनौती सामना गरिरहेका छन् । चिनियाँ प्रविधियुक्त कारहरूले बजारमा प्रभाव जमाइरहेका बेला निसानले थप गम्भीर संरचनागत समस्याहरूको सामना गरिरहेको छ। वर्षौंसम्म कम्पनी मूल्यभन्दा बढी संख्यामा केन्द्रित रहँदा यसको ब्रान्ड इमेज कमजोर बनायो । निसानले पहिले इलेक्ट्रिक सवारी लिफमार्फत अग्रणी भूमिका खेले पनि टेस्लाले जस्तो उछाल वा नाफा कहिल्यै पाउन सकेन । यसका साथै निसानले मेक्सिकोबाट अमेरिका निर्यात गरिने गाडीहरूमा सम्भावित उच्च करको जोखिम पनि झेल्नुपरेको छ । निसानको प्रमुख साझेदार रेनोले निसानलाई कठिन समयबाट बाहिर निकाल्न सहयोग गर्न तयार रहेको बताएको छ । कम्पनीका अध्यक्ष जीन–डोमिनिक सेनार्डले सोमबार भने, ‘निसानलाई नयाँ साझेदारी गर्न कुनै समस्या छैन भने रेनोले त्यसलाई स्वीकार गर्नेछ ।’ गत महिना उचिदाले कम्पनीमा देखिएको अस्थिरता हटाउनु पहिलो प्राथमिकता रहेको र त्यसपछि आफू बाहिरिने संकेत गरेका थिए । यदि शीर्ष व्यवस्थापनमा परिवर्तन भयो भने यो निर्णय होन्डा र निसानबीचको विलय वार्ता टुटेको केही हप्तापछि आउनेछ । यदि विलय सफल भएको भए निसान–होन्डाको संयोजन विश्वको चौथो ठूलो अटो निर्माता बन्ने थियो । तर स्रोतहरूका अनुसार निसानले आफ्नो स्थिति गम्भीर रूपमा नबुझेको र होन्डाले निसानलाई आफ्नो सहायक कम्पनी बनाउने प्रस्ताव अचानक राखेपछि वार्ता भंग भएको थियो । त्यस्तै, निसानले ताइवानको इलेक्ट्रोनिक्स कम्पनी फक्सकनसँग साझेदारी गर्ने सम्भावनाबारे पनि अड्कल गरिएको छ । फक्सकनको विद्युतीय सवारी व्यवसाय हाल पूर्व निसान कार्यकारी जुन सेकीले नेतृत्व गरिरहेका छन् । सेकीलाई पनि सम्भावित उत्तराधिकारीको रूपमा लिइएको छ । यदि निसान होन्डा, फक्सकन र मित्सुबिशी मोटर्ससँग चार-पक्षीय सम्झौतामा जाने हो भने सेकी सम्भावित सीईओ बन्न सक्ने जापानी सञ्चारमाध्यमहरूले बताएका छन् । (एजेन्सीहरूको सहयोगमा) संकटमा निसान : ६ वर्षमै चौथो सीईओको खोजी

सवारीसाधनको विद्युतीय अभिलेख राखिँदै

हेटौडा । यातायात सेवा कार्यालय हेटौँडा मकवानपुरले सवारीसाधनको विद्युतीय अभिलेख  (डिजिटाइजेसन) गर्न थालेको छ । सवारीसाधनको ‘रेकर्ड’ खोज्न सहज होस् र नवीकरण गर्न कार्यालय नै धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले कार्यालयमा दर्ता रहेका सवारीसाधनको अभिलेखीकरण गर्न थालिएको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिए । केही दिनअघि बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले सवारीसाधनको अभिलेखीकरणको शुभारम्भ गरेका थिए । यसका लागि कर्मचारीले सवारीको कागजात तथा तथ्याङ्क प्रविष्ट गर्ने कार्य गरिरहेको प्रमुख श्रेष्ठले बताए । सबै सवारीसाधनको विद्युतीय अभिलेख राखिसक्ने र अनलाइनबाटै सवारीसाधनको कर तिर्न सकिने तथा ब्लुबुक बोक्नु नपर्ने अवस्था निर्माण हुने प्रमुख श्रेष्ठको भनाइ छ । कार्यालय प्रमुख श्रेष्ठका अनुसार सो कार्यालयमा दुई पाङग्रे, तीन पाङ्ग्रे र चार पाङग्रे गरी करिब ५१ हजार सवारी दर्ता छन् । ती सबै सवारीसाधनको तीन–चार महिनाभित्र अभिलेखको काम सकिने गरी काम भइरहेको उनले बताए । घरघरमै पुगेर व्यक्तिगत घटना दर्ता   जन्म र मृत्यु अर्थात् सुख र दुःखको क्षणमा नागरिकलाई स्थानीय सरकारको अनुभूति दिलाउनेगरी मकवानपुरको मनहरि गाउँपालिका–७ वडा कार्यालयले घरदैलो अभियान सुरु गरेको छ । वडा कार्यालयले नागरिकको घरदैलोमा पुगेर जन्मदर्ता, विवाह दर्ता, मृत्यु दर्तालगायत व्यक्तिगत घटना दर्ता प्रमाणपत्र वितरण गर्न घरदैलो अभियान सञ्चालन गरेको हो । वडाभित्र जन्मिने शिशुको जन्मदर्ता र केही व्यक्तिको मृत्यु भएमा मृत्यु दर्ता प्रमाणपत्र दिने वैधानिक व्यवस्थालाई घरदैलोमै पुर्याउन घरदैलो अभियान सञ्चालन गरिएको मनहरि–७ का वडाध्यक्ष ठाकुरराम तितुङले जानकारी दिए । व्यक्तिगत घटना भएको ३५ दिनभित्र उक्त घटना वडा कार्यालयमा दर्ता गराउनुपर्ने कानुनी व्यवस्था भएकाले नागरिकलाई निर्धारित समयमै व्यक्तिगत घटना दर्ता प्रमाणपत्र वितरण वडा कार्यालयले घरघरमा पुग्न थालेको उहाँको भनाइ छ । यसबाट नागरिकले घरघरमै स्थानीय सरकारको अनुभूति गर्ने र जरिवानामा समेत नपर्ने वडाध्यक्ष तितुङले बताए ।वडाभित्र रहेका टोल विकास संस्था र वडाका जनप्रतिनिधिमार्फत व्यक्तिगत घटनाको विवरण सङ्कलन गरी परिवारका सदस्यसँग समन्वय गरेर घटनाको सूचक खडा गर्ने र घटना दर्ता प्रमाणपत्र व्यक्तिको घरमै पुगेर उपलब्ध गराउन थालिएको वडाअध्यक्ष तितुङले बताए । शिशु जन्मेको व्यक्तिको घरमा पुगेर जन्मदर्तासँगै सुत्केरी स्याहारका लागि पौष्टिक सामग्री तथा मृत्यु भएर शोकमा बसिरहेकाको घरमा फलफूल तथा श्रद्धाञ्जली पत्र बोकेर जाने गरिएको उनको भनाइ छ । रासस

वीर अस्पतालको निर्देशकमा डा. दिलिप शर्मा नियुक्त

काठमाडौं । वीर अस्पतालको निर्देशकमा डा. दिलिप शर्मा नियुक्त भएका छन् । निर्देशकको लागि न्याम्सका उपकुलपति डा. भुपेन्द्र बस्नेतले डा. दिलीप शर्मा, डा. समाज गौतम र डा. अनुपमा कार्की गरी तीनजनाको नाम सिफारिस गरेको थियो । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले डा. दिलिप शर्मालाई अस्पतालको निर्देशकको जिम्मेवारी दिएको हो । डा. शर्मा वीर अस्पतालमै वरिष्ठ कलेजो रोग विशेषज्ञका रुपमा कार्यरत थिए । डा. शर्मा प्रधानमन्त्री ओलीको क्याबिनेट चिकित्सकका रूपमा समेत काम गरिसकेका छन् । वीरको निर्देशक डा. सन्तोष पौडेलको दुई वर्षे कार्यकाल गत ४ फागुनमा सकिएको थियो ।