जलेश्वर भन्सारद्वारा आठ महिनामा २ अर्ब राजस्व संकलन
जनकपुर । जलेश्वर भन्सार कार्यालय भिठ्ठामोडले चालु आर्थिक वर्षको आठ महिनामा दुई अर्ब १५ करोड ५० लाख ७४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन महिनाको हालसम्ममा ८३.८९ प्रतिशत राजस्व संकलन भएको जलेश्वर भन्सार कार्यालयका सूचना अधिकारी रामकुमार विकले जानकारी दिए । चालु आर्थिक वर्षमा वार्षिक चार अर्ब ५३ करोड ६२ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो । तर कार्यालयले सो लक्ष्यको ४७.४१ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । कार्यालयकाबाट प्राप्त विवरणअनुसार चालु आवको साउनमा ९२.१६, भदौमा ८३.८७, असोजमा ८७.५४, कात्तिकमा ७४.०२, मङ्सिरमा ८३.३६, पुसमा ७५.१४, माघमा ७४.७५ र फागुनको हालसम्ममा ८०.४४ प्रतिशत राजस्व संकलन गरेको सूचना अधिकारी विकले बताए । जलेश्वर भन्सार कार्यालय भिठ्ठामोड नाकाबाट आयात हुने सामग्रीमा कुल राजस्वमध्ये पेट्रोलियम पदार्थको योगदान ४९.१४ प्रतिशत रहेको छ । भारतको विहार राज्यको मोतिहारी र अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालमनमा आएपछि जलेश्वर भिठ्ठामोडबाट आयात गरिने पेट्रोलियम पदार्थमा कमी आउँदा राजस्वको लक्ष्यमा कमी आएको उनले बताए । कार्यालयका अनुसार गत वर्षको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थ, कोइला, आलु र चुना आयातमा कमी आएको छ । जलेश्वर भन्सार कार्यालयबाट मुख्य आयात हुने सामग्रीमा पेट्रोलियम पदार्थ, कोइला, आलु, चामल, गहुँ, दलहन, तरकारी, फलफूललगायत रहेका सूचना अधिकारी विकले बताए ।
वुमन लिडरसिप समिट २०२५ चैत्र ३ गते काठमाडौंमा हुँदै
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले दोस्रो अन्तराष्ट्रिय स्तरको ‘वुमन लिडरसिप समिट २०२५’ आयोजना गर्ने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिसंघले यही चैत्र ३ गते कार्यक्रम गर्न लागेको जानकारी गराएको हो । औद्योगिक वातावरण निर्माण, नवप्रवतन प्रवर्द्धन, रोजगारी सिर्जना लगायत समग्र आर्थिक विकासका लागि गतिविधि गर्दै आइरहेको परिसंघले महिला नेतृत्वको विषयमा पनि वकालत गर्दै आइरहेको छ । चैत्र ३ गते हुने समिटमा प्रविधि, दिगो कृषि, जलवायु परिवर्तनका विषयमा छलफल गरिने छ । कार्यक्रममा बोल्दै सीएनआई महिला नेतृत्व फोरमकी अध्यक्ष छाया शर्माले हरेक तहमा महिलाको नेतृत्व आवश्यक रहेको बताउँदै आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउने र नेतृत्व तहमा पनि महिलाको संख्या बढाउनुपर्ने बताइन् । उनले समिटमा नेपालसहित युके, जापान र भारतबाट समेत वक्ता आउने भएकाले अन्तर्राष्ट्रिय स्तरमा उद्योगमा महिलाले गरिरहेका प्रयास कामका विषयमा समेत जानकारी पाउन सकिने बताइन् । कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष राजकुमार अग्रवालले यस्ता कार्यक्रमले महिला उद्यमशीलताको क्षेत्रमा सघाउ पुर्याउने बताए । महिलाले व्यवसाय गर्दा मार्केटिङको समस्या अहिले पनि रहेको बताउँदै यस्ता कार्यक्रमले देशविदेशका नीति नियमबारे जानकारी जानकारी हुनेर नेपालमा पनि बहस गर्न सजिलो हुने बताए । परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले यस्ता सम्मेलनले महिलाहरूलाई अगाडि बढाउन सहयोग पुग्ने बताए । यस्तै, कार्यक्रममा बोल्दै नबिल बैंकका उपमहाप्रबन्धक आदर्श बजगाईंले नबिलले महिलाको नेतृत्व विकासका विषयमा कार्यक्रम गरिरहेको बताउँदै सीएनआइसँग फेलोसिप मिल्ने भएकाले कार्यक्रममा समन्वय गरेको बताए । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा गरिने सम्मेलनको उद्घाटन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
ट्रम्पको दाबीपछि भन्सार कटौतीको कुनै प्रतिबद्धता छैन : भारत
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँदिल्लीले ‘उनीहरूको भन्सार शुल्क धेरै तल घटाउन’ सहमत भएको घोषणा गरेको केही दिनपछि भारतले अमेरिकी उत्पादनहरूमा आयात कर घटाउन प्रतिबद्ध नभएको बताएको छ । आफ्नो दोस्रो कार्यकालको केही हप्तामै ट्रम्पले मित्र र शत्रुहरूलाई समान रूपमा लक्षित गर्दै विश्वव्यापी व्यापारलाई बढावा दिएको छ । उहाँले सबै व्यापारिक साझेदारहरूलाई ‘अनुचित’ अभ्यासको आरोप लगाउनुभएको छ र आगामी महिनादेखि भारतसहित धेरै देशमा पारस्परिक भन्सार लगाउने घोषणा गरेका छन् । ट्रम्पले गत हप्ता भारतको ‘ठूलो भन्सार’ बारे एक पटक फेरि आलोचना गरेका थिए । ‘तपाईँ भारतमा केही पनि बेच्न सक्नुहुन्न, यो लगभग प्रतिबन्धात्मक छ’, ट्रम्पले भने, ‘जे होस् उनीहरू सहमत भएका छन्, उनीहरू अहिले आफ्नो भन्सार शुल्क कटौती गर्न चाहन्छन् किनभने कसैले अन्ततः उनीहरूले के गरेका छन् भनेर उजागर गरिरहेको छ ।’ तर भारत सरकारले संसदीय समितिलाई ‘यस विषयमा अमेरिकासँग कुनै प्रतिबद्धता गरिएको छैन’ भनी मङ्गलबार टाइम्स अफ इन्डिया अखबारको एक रिपोर्टले जनाएको छ । ‘सरकारले अमेरिकी राष्ट्रपतिद्वारा बारम्बार उठाइएको मुद्दालाई सम्बोधन गर्न सेप्टेम्बरसम्म समय मागेको छ’, अखबारमा भनिएको छ । भारतका वाणिज्य सचिव सुनील बर्थवालले भने, ‘भारत र अमेरिकाले तत्काल भन्सार शुल्क समायोजनको सट्टा दीर्घकालीन व्यापार सहयोगमा ध्यान केन्द्रित गर्दै पारस्परिक रूपमा फाइदाजनक द्विपक्षीय व्यापार सम्झौताको दिशामा काम गरिरहेका छन् ।’ गत महिना ह्वाइट हाउसको भ्रमण गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्रम्पसँग स्वीकार्य सम्बन्ध छ । ट्रम्पले भ्रमणका बेला भारतीय नेतासँग ‘विशेष सम्बन्ध’ साझा गरेको बताए । मोदीले विश्वको सबैभन्दा ठूलो र पाँचौँ ठूलो अर्थतन्त्रले ‘आपसी लाभदायक व्यापार सम्झौता’ मा काम गर्ने र त्यसलाई ‘चाँडै नै’ अन्तिम रूप दिइने बताए । संयुक्त राज्य अमेरिका भारतको सूचना प्रविधि र सेवा क्षेत्रका लागि महत्त्वपूर्ण बजार भए पनि वासिङ्टनले हालैका वर्षहरूमा नयाँदिल्लीलाई अर्बौं डलरको नयाँ सैन्य हार्डवेयर बिक्री गरेको छ । अस्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाको चार–पक्षीय समूह क्वाडका राष्ट्र प्रमुखहरूको शिखर सम्मेलनमा भाग लिन ट्रम्पले यस वर्षको अन्त्यमा भारतको भ्रमण गर्नसक्ने अपेक्षा गरिएको छ ।
देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो : प्रधानमन्त्री
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुलुकलाई अगाडि बढाउन थालेको बताएका छन् । कोशी प्रदेशसभामा मंगलबार विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदानी र सङ्घर्षको बलमा प्राप्त संविधानको रक्षा गरी आवश्यकतानुसार जनता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा संशोधन गर्दै जाने पनि जानकारी गराए । यस प्रणालीमा जो कोही पनि प्रतिस्पर्धा गर्न पाउने भएकाले व्यवस्थाविरोधी आवाज उठाउन आवश्यक नभएको स्पष्ट गर्दै उनले संविधानसम्मत्, शान्तिपूर्ण र सुशासनको बाटोबाट यस व्यवस्थालाई अझ उन्नत बनाउन सकिने बताए । ‘हामी जनताको गरिबी र पछ्यौटेपन हटाएर जान चाहन्छौँ । गरिबी हटाएर मात्रै सन्तोष मान्दैनौँ । समग्र मानवीय जैविक र न्यायोचित आवश्यकताको परिपूर्ति गरेर मुलुकलाई अगाडि बढाउनुछ’, प्रधानमन्त्री ओलीले भने, ‘नागरिक सर्वोच्चता भएको यस प्रणालीमा रहेर समृद्धिका लागि छिटो काम गर्न चाहन्छौँ । रोजगारीका अवसरमा सृजना गर्न चाहन्छौँ । त्योभन्दा पहिला हामीले उद्यमशीलतामा जोड दिनुुपरेको छ । त्यसकारण देशलाई पछाडि फर्काउने होइन, अगाडि बडाउने हो । संविधानबमोजिम तीनै तहका सरकारले सहकार्य गरेर देश विकासमा लाग्नुपर्छ ।’ प्रधानमन्त्री ओलीले देशको भौगोलिक, सांस्कृतिक र जातीय विविधतालाई मनन गरेर विविधताबीच एकता कायम गर्दै गौरवपूर्ण इतिहास भएको नेपाललाई विश्व मानचित्रमा सार्वभौम, लोकतान्त्रिक र समृद्ध बनाउन आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे । यसअघि प्रधानमन्त्री ओलीले पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोहलाई सम्बोधन गरेका थिए ।
हिमालयन एभरेष्टको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३१औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । सभा काठमाडौंको शंखमुलस्थित अनमोल ब्याङ्क्वेटमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिले निर्णय गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ८.७५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ। त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय पनि टुङ्गिएको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन १५ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजका आधारमा फागुन १३ गतेसम्म कायम शेयरधनीहरूले लाभांश प्राप्त गर्न सक्नेछन् ।
निर्माण व्यवसायीका समस्या सरकारले सम्बोधन गरेन, आशमात्र देखायो : अध्यक्ष सिंह
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सरकारले महासंघका समस्या सम्बोधन नगरेको बताएको छ महासंघका अध्यक्ष रवि सिंहले सरकारसँग पटक–पटक सम्बोधन गर्दा पनि कुनै वास्ता नगरेको गुनासो गरे । उनले पटकपटक ध्यानाकर्षण गर्दा पनि सरकारले आश मात्रै देखाएको तर समाधान नगरेको आक्रोस पोखेँ । सुरुमा प्रधानमन्त्री, अर्थमन्त्रीलगायत सबै सकारात्मक देखिएको भएपनि अन्तिममा कसैले पनि नटेरेको उनी सुनाउँछन् । उनले विकासन्युजसँग भने, ‘हामीले सरकारसँग बारम्बार आन्तरिक रूपमा छलफल गर्याैं, तर सम्बोधन गछौं भन्दाभन्दै यहाँसम्म पुर्यायो । अन्तिममा हामीले नै धोका पायौं ।’ काम गरेको भुक्तानी रकमबाहेक सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधनमा देखिएको म्याद थपसम्बन्धी कानुनी जटिलता, राष्ट्र बैंकबाट निर्माण व्यवसायीहरूलाई ऋणमा दिइएको सुविधा कटौती, निर्माण सामाग्रीमा कार्टेलिङ गरी सिमेन्ट, डन्डीलगायतका भइरहेको चर्को मूल्यवृद्धिले निर्माण उद्योग लगभग ‘कोमा’ मा पुगिसकेको अध्यक्ष सिंहले बताए । सरकारले योजना बढाउने तर बजेट थप नगर्ने उनको भनाइ छ । देशमा तीनै सरकारको अवस्था भद्रगोल रहेको उनी बताउँछन् । उनले, ‘देशमा तीन सरकार छन् तर हाल सबैको भद्रगोल छ । यहाँ तलदेखिमाथिसम्म सबै मिलेका छन् । कार्टलिङ गरिरहेका छन् । यहाँ सबै अराजक हुन् ।’ उनले सरकाले निर्माण व्यवसायीहरूले निर्माण कार्य गरेबापतको विगत आर्थिक वर्षहरूमै भुक्तानी हुनुपर्ने बक्यौता रहेको ठुलो रकम अझै पनि भुक्तानी गर्न नसकेको आरोप लगाए । निर्माण उद्योगको विकासमा सरकार उदासीन हुँदा समग्र अर्थतन्त्रमै गम्भीर समस्या देखिएको उनले दाबी गरे । मुलुकमा हाल साढे ६ खर्बभन्दा बढीका आयोजनाहरू पुगिसकेकोमा सरकारसँग साढे एक खर्बभन्दा बढीका आयोजना सम्पन्न गर्न सक्ने क्षमता नरहेको सुनाए ।
वैदेशिक रोजगारीमा पठाउने प्रलोभनमा पारी ठगेको आरोपमा ६ जना पक्राउ
काठमाडौं । आकर्षक तलबसहित वैदेशिक रोजगारीमा पठाउने प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । गोरखा आरूघाट गाउँपालिका–४ घर भई काठमाडौं महानगरपालिका–१६ बस्ने २४ वर्षीया सरू परियार, कञ्चनपुर बेलौरी नगरपालिका–३ घर भई काठमाडौं टोखा नगरपालिका–३ बस्ने ३२ वर्षीय जेम्स राना, काठमाडौं कीर्तिपुर नगरपालिका–६ घर भएकी ३४ वर्षीया रेखा तुलाधार, धादिङ निलकण्ठ नगरपालिका–९ घर भई काठमाडौं महानगरपालिका–१६ बस्ने २७ वर्षीय रवि खनाल, ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–१ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–८ बस्ने ४० वर्षीय ललितबहादुर ईवारम र ३३ वर्षीय दिपेश सुब्बालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये सरूले अष्ट्रेलिया पठाइदिन्छु भनी एक जनासँग दुई लाख ५० हजार रुपैयाँ, जेम्सले क्रोएसिया पठाइदिन्छु भनी एक जनासँग तीन लाख रुपैयाँ, रेखाले जापान पठाइदिन्छु भनी चार जनासँग १३ लाख दुई हजार रुपैयाँ, रविले अमेरिका पठाइदिन्छु भनी एक जनासँग १४ लाख रुपैयाँ तथा ललित र दिपेशले अमेरिका पठाइदिन्छु भनी एक जनासँग ५३ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएका प्रहरीले उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
हुवावे डिजिटल पावर नेपाल र सीएनआईको सौर्य पीभी र ऊर्जा भण्डारणमा दिगोपन संवाद
काठमाडौं । हुवावे डिजिटल पावर नेपालले दिगो हरित ऊर्जा समाधान केन्द्रित कार्यक्रम सौर्य पीभी र ऊर्जा भण्डारण संवादको आयोजना गरेको छ । काठमाडौंको हात्तीसारस्थित ह्वावे प्रदर्शनी केन्द्रमा आयोजित यस विशेष कार्यक्रमले नेपालको ऊर्जा, व्यावसायिक र औद्योगिक क्षेत्रका ८० भन्दा बढी प्रभावशाली सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएको छ । नेपाल उद्योग परिसंघ (सिएनआई) सँगको संयुक्त सहकार्यमा आयोजना गरिएको यस कार्यक्रमले नेपालको ऊर्जा परिदृश्यलाई रूपान्तरण गर्न, देशलाई ग्रिनर र दिगो भविष्यतर्फ डोर्याउन सौर्य फोटोभोल्टिक प्रणाली र ऊर्जा स्टोरेज समाधानहरूको सम्भावना अन्वेषण गर्न विशेष प्लेटफर्म प्रदान गरेको छ । यस कार्यक्रमलाई नेपाल उद्योग परिसंघ, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, ऊर्जा नियामक आयोग लगायत समेत आयोजक रहेको यस कार्यक्रमलाई नेपालको औद्योगिक ऊर्जा क्षेत्रको विकास प्रति प्रतिबद्धता देशको दिगो भविष्यमा संक्रमणको लागि महत्त्वपूर्ण मानिएको छ । कार्यक्रममा अतिथि वक्ताहरूले छलफलमा आफ्ना बहुमुल्य विचार व्यक्त गरेका थिए । वक्ताहरूमा हुवावे नेपालका सीईओ जिम हुआङ, ऊर्जा विकास परिषदका अध्यक्ष आशिष गर्ग, हुवावे नेपाल डिजिटल पावर विभागका निर्देशक जेम्स झाङ, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका उपनिर्देशक शुभलक्ष्मी श्रेष्ठ, एनएमबी बैंकमा दिगो ऊर्जा बैंकिङका प्रमुख दिनेश दुलाल, विद्युत नियमन आयोगका सदस्य डा. मधुसूदन अधिकारी, टोङवेईका प्राविधिक विज्ञ ग्यारी, साथै शिव शक्ति समूह, डिजेपीएल समूह र चौधरी समूह जस्ता अग्रणी उद्योगहरूका प्रबन्ध निर्देशकहरू थिए । कार्यक्रमले सौर्य पीभी र ऊर्जा भण्डारणको नवीनतम प्रवृत्तिदेखि नेपालमा यी प्रविधिहरूको व्यावहारिक अनुप्रयोगहरू सम्मका प्रमुख विषयहरूलाई समेटेर छलफल गरेको थियो । वक्ताहरूले यी समाधानले उद्योगहरूलाई कसरी डिकार्बोनाइज गर्न, ऊर्जा लागत घटाउन र दिगो अभ्यासहरूलाई प्रवद्र्धन गर्न मद्दत गर्न सक्छन् भन्ने बारेमा गहन दृष्टिकोण प्रदान गरेका थिए । कार्यक्रममा ह्वावेले आफ्नो नवीनतम आविष्कारहरू, ह्वावे फ्युजन सोलार सी एन्ड आई ओएसिस सोलुसन, जसमा १ सी÷१५० के र २१५÷१०८ केडब्लुएच सी एण्ड आई ब्याट्री इनर्जी स्टोरेज सिस्टम (बिइएसएस) पनि अनावरण गरेको थियो । आधिकारिक सुरुवात ह्वावे नेपालका सीईओ जिम हुआङ, हुवावे नेपालका प्रमुख प्राविधिक अधिकृत लिक्सियाओवेई र ह्वावे दक्षिण एसिया डिजिटल पावर बिजनेस डिपार्टमेन्टका प्रबन्ध निर्देशक निक्सियाओपेङको नेतृत्वमा भएको थियो । यी उन्नत समाधानहरू नेपाली उद्योगहरूलाई ऊर्जा लागत घटाउन र उनीहरूको बिजुली आपूर्तिको विश्वसनीयता सुधार गर्न मद्दत गर्न डिजाइन गरिएको हो । यसका अतिरिक्त फ्युजनसोलार सी एन्ड आई ओएसिस स्मार्ट पीभी र ईएसएस सोलुसन प्रस्तुत गरिएको थियो, जसले शपिङ मल, कारखाना र कार्यालय पार्क जस्ता व्यावसायिक र औद्योगिक एप्लिकेसनहरूको लागि बढेको सुरक्षा सुविधाहरू प्रदान गर्दछ । यी आविष्कारहरू कार्बन उत्सर्जन घटाउन र कम–कार्बन, सर्कुलर अर्थतन्त्र निर्माणमा योगदान पु¥याउने विश्वव्यापी प्रयासहरूलाई सहयोग गर्ने गरि गरिएको छ । आफ्नो स्वागत भाषणमा ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत जिम हुआङले भने– ’हामीलाई ऊर्जाको भविष्यलाई आकार दिन नेपालले राखेको अविश्वसनीय सम्भावनाको सम्झना गराइयो । हामीसँगै यो यात्रा सुरु गर्दा हामी सहकार्य र नवीनता मार्फत हामी दिगो समाधानहरू प्रयोग गर्न सक्छौं, कार्बन फुटप्रिन्टहरू कम गर्न सक्छौं र ग्रिनरी डिजिटल रूपमा सशक्त ऊर्जा पारिस्थितिक प्रणाली निर्माण गर्न सक्छौं भन्नेमा स्पष्ट थियौं ।’ नेपाली उद्योग परिसंघका ऊर्जा विकास परिषद्का अध्यक्ष आशिष गर्गले नेपालको औद्योगिक क्षेत्रमा दिगो ऊर्जा संक्रमणको आवश्यकतामाथि प्रकाश पार्दै भने– ’नेपालको औद्योगिक क्षेत्रको भविष्य कुशल मात्र नभई दिगो हुने ऊर्जा समाधानहरू अपनाउने कुरामा निर्भर गर्दछ। सौर्य ऊर्जा, ऊर्जा भण्डारण समाधानहरू र हरित उत्पादनहरू उत्पादन गर्न नेपाली उद्योगहरूको डिकार्बोनाइजेशन यस रूपान्तरणको प्रमुख हुनेछ, जसले नेपालको स्वच्छ ऊर्जा लक्ष्यहरूमा योगदान पु¥याउँदै उद्योगहरू फस्टाउन सक्छन् भन्ने कुरा सुनिश्चित गर्नेछ ।’ उनले नेपाली उद्योगहरूलाई डिकार्बोनाइज गर्नु केवल वातावरणीय जिम्मेवारी मात्र नभई दीर्घकालीन विश्वव्यापी प्रतिस्पर्धात्मकता र दिगोपन सुनिश्चित गर्नको लागि एक महत्वपूर्ण रणनीति भएकोमा जोड दिए । साथै दिगो अभ्यासहरूलाई एकीकृत गरेर नेपाली उद्योगहरूले नयाँ विकास अवसरहरू अनलक गर्न, विश्वव्यापी लगानी आकर्षित गर्न र विकसित हुँदै गइरहेको हरित अर्थतन्त्रमा नेतृत्वदायी स्थान सुरक्षित गर्न सक्ने उनले बताए । ‘हुवावेमा हामी नवीन डिजिटल पावर समाधानहरू मार्फत नेपालभरका उद्योगहरूलाई उनीहरूको ऊर्जा लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्न प्रतिबद्ध छौं । सौर्य ऊर्जा र ऊर्जा भण्डारणको एकीकरणले नेपाली व्यवसायहरूको लागि अझ लचिलो र लागत–कुशल भविष्यको लागि मार्ग प्रशस्त गर्नेछ । हामी हाम्रा नयाँ प्रविधिहरू प्रदर्शन गर्न र यस रूपान्तरणमा उद्योगका प्रमुखहरूसँग सहकार्य गर्न उत्साहित छौं,’ हुवावे नेपाल डिजिटल पावर विभागका निर्देशक जेम्स झाङले भने । नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र राज पाण्डेले आफ्नो समापन मन्तव्यमा भने, ‘यो कार्यक्रमले नेपालको नवीकरणीय ऊर्जा क्षेत्रको विकासमा एउटा महत्त्वपूर्ण कदम चालेको छ । हामी स्वच्छ, भरपर्दो ऊर्जाद्वारा संचालित भविष्यतर्फ हेर्दै गर्दा आज प्रस्तुत गरिएका समाधानहरूले हामीलाई परम्परागत ऊर्जा स्रोतहरूमा हाम्रो निर्भरता कम गर्न र अझ दिगो र ऊर्जा–कुशल भविष्यतर्फ अघि बढ्न मद्दत गर्नेछ भन्ने कुरामा म विश्वस्त छु । यो रूपान्तरणलाई अगाडि बढाउन ह्वावे र स्थानीय उद्योग सरोकारवालाहरू बीचको सहकार्य आवश्यक छ ।’ अन्त्यमा, सौर्य ऊर्जा र ऊर्जा भण्डारण संवाद एक महत्त्वपूर्ण कार्यक्रम थियो, जसले अत्याधुनिक नवीकरणीय ऊर्जा समाधानहरू अपनाउनको लागि नवप्रवर्तनलाई अगाडि बढाउन र रणनीतिक साझेदारीलाई बढावा दिन ह्वावे डिजिटल पावर नेपालको प्रतिबद्धता देखिन्छ ।