जन्म र मृत्यु अर्थात् सुख र दुःखको क्षणमा नागरिकलाई स्थानीय सरकारको अनुभूति दिलाउनेगरी मकवानपुरको मनहरि गाउँपालिका–७ वडा कार्यालयले घरदैलो अभियान सुरु गरेको छ । वडा कार्यालयले नागरिकको घरदैलोमा पुगेर जन्मदर्ता, विवाह दर्ता, मृत्यु दर्तालगायत व्यक्तिगत घटना दर्ता प्रमाणपत्र वितरण गर्न घरदैलो अभियान सञ्चालन गरेको हो ।
वडाभित्र जन्मिने शिशुको जन्मदर्ता र केही व्यक्तिको मृत्यु भएमा मृत्यु दर्ता प्रमाणपत्र दिने वैधानिक व्यवस्थालाई घरदैलोमै पुर्याउन घरदैलो अभियान सञ्चालन गरिएको मनहरि–७ का वडाध्यक्ष ठाकुरराम तितुङले जानकारी दिए । व्यक्तिगत घटना भएको ३५ दिनभित्र उक्त घटना वडा कार्यालयमा दर्ता गराउनुपर्ने कानुनी व्यवस्था भएकाले नागरिकलाई निर्धारित समयमै व्यक्तिगत घटना दर्ता प्रमाणपत्र वितरण वडा कार्यालयले घरघरमा पुग्न थालेको उहाँको भनाइ छ ।
यसबाट नागरिकले घरघरमै स्थानीय सरकारको अनुभूति गर्ने र जरिवानामा समेत नपर्ने वडाध्यक्ष तितुङले बताए ।वडाभित्र रहेका टोल विकास संस्था र वडाका जनप्रतिनिधिमार्फत व्यक्तिगत घटनाको विवरण सङ्कलन गरी परिवारका सदस्यसँग समन्वय गरेर घटनाको सूचक खडा गर्ने र घटना दर्ता प्रमाणपत्र व्यक्तिको घरमै पुगेर उपलब्ध गराउन थालिएको वडाअध्यक्ष तितुङले बताए । शिशु जन्मेको व्यक्तिको घरमा पुगेर जन्मदर्तासँगै सुत्केरी स्याहारका लागि पौष्टिक सामग्री तथा मृत्यु भएर शोकमा बसिरहेकाको घरमा फलफूल तथा श्रद्धाञ्जली पत्र बोकेर जाने गरिएको उनको भनाइ छ । रासस