विकासन्युज

उपभोक्ताका मुद्दा सरकारले सित्तैमा लड्नुपर्छ : सांसद सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले उपभोक्ताका मुद्दा सरकारले सित्तैमा लड्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद सुवालले यस्तो बताएका हुन् । उनले बिलबिना उपभोक्ता अदालतमा उजुरी दिन नपाइने भएको कारण अनिवार्य बिल दिनुपर्ने व्यवस्था गर्न समेत माग गरे । मुलुकमा सन्तुलित विकास नहुँदा गाउँको बस्ती प्रदेश र संघको राजधानीमा स्थानान्तरण भइरहको जानकारी दिए । उनले जिल्लाभित्र मात्र बसाईसराई गर्न पाउने कानून बनाउन जरुरी रहेको समेत बताए । मोबाइल लगायतका प्राविधिक उपकरणहरु देशभित्रै उत्पादन गर्ने प्रबन्ध मिलाउनका लागि नयाँ पुस्तालाई उचित शिक्षा दिनुपर्ने समेत जानकारी दिए । उनले भने, ‘बिना बिल उपभोत्ता अदालतमा उजुरी दिन नपाइने हुँदा अनिवार्य बिल लिने दिने व्यवस्थामा सरकारको पहल हुनु जरुरी छ । उपभोक्ताको मुद्दा सरकारले सित्तैमा लडिदिनु आवश्यक छ । गाउँगाउँमा सडक पुग्यो, हातहातमा मोबाइल तर सन्तुलित विकास नहुँदा गाउँका बस्ति प्रदेश र संघको राजधानीमा स्थानान्तरण भइरहेको छ ।’ जनता प्रतिनिधि एवं सरकारका अधिकारीहरु आ—आफ्नो जिल्लामा बसेर देशको सन्तुलित विकासमा टेवा पुगाउन जरुरी रहेको उनको भनाइ छ ।

एआई ऊर्जा आवश्यकता बढ्दै जाँदा न्यूक्लियर फ्यूजनमा अमेरिका चीनसँग पछाडि

काठमाडौं । चीन र अमेरिका पहिलो ग्रिड–स्तरको पारमाणविक विलयन (न्यूक्लियर फ्यूजन) ऊर्जा उत्पादन गर्न प्रतिस्पर्धामा छन् । दशकौंसम्म अमेरिकाले नेतृत्व गरेको भए पनि चीन अहिले दोब्बर लगानी गर्नुका साथै कीर्तिमानी गतिमा परियोजनाहरू बनाउँदै अगाडि बढिरहेको छ । स्वच्छ ऊर्जाको होली ग्रेल भनेर चिनिने न्यूक्लियर फ्युजनले पारम्परिक न्यूक्लियर फ्यूजनभन्दा चार गुणा बढी ऊर्जा उत्पादन गर्छ र कोइला जलाउने प्रक्रियाभन्दा ४० लाख गुणा बढी ऊर्जा दिन्छ । यसले हरितगृह ग्यास वा दीर्घकालीन रेडियोधर्मी फोहोर उत्पन्न गर्दैन । यदि सबै योजनाअनुसार अघि बढ्यो भने सन् २०५० सम्म यस उद्योगको मूल्य १ ट्रिलियन डलरभन्दा बढी पुग्नेछ । तर, सबैभन्दा ठूलो समस्या के हो ? ‘वर्तमान समयमा ब्रह्माण्डमा काम गर्ने एकमात्र विलयन ऊर्जा केन्द्र तारा मात्र हुन्,’ मासाचुसेट्स इन्स्टिट्युट अफ टेक्नोलोजी (एमआईटी) का आणविक विज्ञान र इन्जिनियरिङ प्राध्यापक डेनिस ह्वाइटले भने । अमेरिका पहिलो भए पनि किन पछाडि ? १९५२ मा अमेरिकाले पहिलो पटक हाइड्रोजन बम परीक्षण गरेर ठूलो मात्रामा फ्यूजन प्रयोग गरेको थियो । त्यसयता सात दशक बितिसक्दा पनि वैज्ञानिकहरू ऊर्जा उत्पादनको लागि विलयन प्रतिक्रियालाई नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । विलयन प्रतिक्रिया त्यतिबेला हुन्छ जब हाइड्रोजन परमाणुहरू अति उच्च तापक्रममा पुग्छन् र आपसमा मिलेर प्लाज्मा नामक अति तातो ग्यास बनाउँछन् । सिद्धान्ततः यो प्रक्रियामा छुट्ने पिण्डलाई ठूलो मात्रामा ऊर्जामा रूपान्तरण गर्न सकिन्छ, तर प्लाज्मा नियन्त्रण गर्न अत्यन्तै गाह्रो छ । विलयन ऊर्जा उत्पादनका प्रमुख दुई विधिहरू छन्- टोकामाक प्रविधि र लेजर विलयन प्रविधि । टोकामाक प्रविधिमा शक्तिशाली चुम्बकहरू प्रयोग गरी प्लाज्मालाई धातुको डोनट जस्तो उपकरणमा नियन्त्रण गरिन्छ । लेजर प्रविधिमा उच्च–ऊर्जायुक्त लेजरहरू प्रयोग गरी सानो इन्धन छर्रालाई संकुचित गरेर विस्फोट गराइन्छ । २०२२ मा अमेरिका विलयनबाट वास्तविक ऊर्जा निकाल्न सफल २०२२ मा अमेरिकाले लरेन्स लिभमोर नेशनल इग्निसन फेसिलेटी (एनआईएफ) मा पहिलो पटक विलयन प्रक्रियाबाट नेट–पोजिटिभ (नाफा दिने) ऊर्जा उत्पादन गर्न सफल भएको थियो । त्यसयता अमेरिकी निजी लगानी ८ अर्ब डलरभन्दा बढी पुगेको छ, जुन २०२१ मा १.२ अर्ब डलर मात्र थियो । फ्यूजन इन्डस्ट्री एशोसिएसन (एफआईए) का अनुसार यसको ४० सदस्य कम्पनीहरूमध्ये २५ वटा अमेरिका आधारित छन् । किन फ्युजनमा लगानी बढ्दैछ ? परम्परागत आणविक ऊर्जाभन्दा फ्यूजन स्वच्छ, सुरक्षित र प्रभावकारी छ । कृत्रिम बौद्धिकता (एआई) डाटा सेन्टरहरूको ऊर्जा आवश्यकताहरू तीव्र रूपमा बढ्दै जाँदा ठूला प्रविधि कम्पनीहरू आणविक ऊर्जामा धेरै लगानी गरिरहेका छन् । अमेजन, गुगल र मेटाले २०५० भित्र विश्वव्यापी रूपमा न्यूक्लियर ऊर्जा तीन गुणा बढाउने प्रतिबद्धता जनाएका छन् । एफआईएका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एन्ड्रयू होल्यान्ड भन्छन्, ‘यदि अमेरिका फ्जूजन ऊर्जा नेतृत्वमा रहन चाहन्छ भने यसमा ठूलो लगानी गर्नैपर्छ । नत्र चीनले यसमा अग्रता लिनेछ ।’ चीन किन अगाडि छ ? अमेरिकासँग सबैभन्दा धेरै परमाणु प्लान्टहरू भए पनि चीन नयाँ परियोजनाहरू बनाउने मामलामा अगाडि छ । अमेरिकाले पहिलो रियाक्टर बनाएको चार दशकपछि मात्र चीन यस प्रविधिमा प्रवेश गरेको हो । तर, अहिले सबैभन्दा धेरै आणविक फ्यूजन प्लान्टहरू निर्माण गरिरहेको छ । चीनले २००० को दशकमा इन्टरनेशनल थर्माेन्यूक्लियर एक्सपेरिमेन्टल रियाक्टर परियोजनामा सामेल भएपछि विलयन प्रविधिमा प्रवेश गर्‍यो, तर आईटीईआर परियोजनामा प्रमुख ढिलाइहरू भइसकेका छन् । निजी क्षेत्रमा अमेरिका अझै अगाडि विश्वभरि ८ अर्ब डलर बराबरको निजी लगानी छ, जसको ६ अर्ब डलर अमेरिका आधारित छ । एमआईटीबाट जन्मिएको कमोनवेल्थ फ्यूजन सिस्टमले लगभग २ अर्ब डलर संकलन गरिसकेको छ, जसमा बिल गेट्स, जेफ बेजोस र गुगलजस्ता लगानीकर्ताहरू छन् । वासिंगटनस्थित हेलिअनले ओपनएआईका साम अल्टम्यानलगायतका लगानीकर्ताहरूबाट १ अर्ब डलर उठाइसकेको छ । टीएई टेक्नोलोजिजले १.२ अर्ब डलर संकलन गरिसकेको छ । चीनका ठूला परियोजनाहरू ईएएसटी परियोजनाले हालसालै सबैभन्दा लामो प्लाज्मा नियन्त्रण गर्न सफल भएको छ । सीआरएएफटी ७०० मिलियन डलरको लागतमा निर्माण भइरहेको छ । चीनको नयाँ लेजर फ्यूजन परियोजना एनआईएफभन्दा दुई गुणा ठूलो छ । चीनसँग विलयन विज्ञानमा संसारकै सबैभन्दा धेरै पेटेन्ट छन् र संयुक्त राज्य अमेरिकाभन्दा १० गुणा बढी पीएचडी वैज्ञानिकहरू छन् । ‘पश्चिमी देशहरूमा सीमित प्रतिभा छ, जबकि चीन तीव्र गतिमा वैज्ञानिकहरू उत्पादन गरिरहेको छ,’ टीएईका सीईओ मिचल बिन्डरबाउर भन्छन् । उच्च-शक्ति चुम्बक, विशेष धातु र सेमिकन्डक्टर फ्यूजनन परियोजनाको लागि आवश्यक छन् । चीनले यी सामग्रीहरूमा नियन्त्रण जमाउने रणनीति बनाइरहेको छ, जसरी उसले सौर्य ऊर्जा र विद्युतीय सवारीसाधन (ईभी) ब्याट्री उद्योग नियन्त्रण गरेको थियो । विज्ञहरू चीनले उन्नत सामग्री विकासमा अमेरिकाभन्दा १० गुणा बढी लगानी गरिरहेको बताउँछन् । (एजेन्सीहरूको सहयोगमा)

मनाङमा ४६ विद्यार्थीले एसइई दिने

मनाङ । यही चैत ७ गतेदेखि सुरु हुन लागेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा मनाङबाट ४६ जना सहभागी हुनेभएका छन् । परीक्षा केन्द्र सदरमुकाम चामेस्थित लोकप्रिय माविमा तोकिएको छ । परीक्षामा नियमिततर्फ ४१ र ग्रेडवृद्धितर्फ पाँच परीक्षार्थी सहभागी हुन लागेको शिक्षा समन्वय एकाइ मनाङका प्रमुख धु्रवप्रसाद कोइरालाले जानकारी दिए । चारवटा स्थानीय तह रहेको मनाङमा नार्पाभूमि गाउँपालिकाबाट कुनै पनि परीक्षार्थी छैनन् । उनका अनुसार नासोँ गाउँपालिकाको प्रकाशज्योति माविबाट २१, ङिस्याङ गाउँपालिकामा रहेको अन्नपूर्ण माविबाट चार, चामे गाउँपालिकामा रहेको लोकप्रिय माविबाट १६ जना परीक्षामा सहभागी हुँदैछन् । प्रकाशज्योति माविबाट दुई र लोकप्रिय माविबाट तीन जनाले ग्रेडवृद्धि परीक्षा दिन लागेका छन् ।

बैंकको सीडी रेसियो ६३ प्रतिशतसम्म झर्‍यो, यी ८ बैंकबाट कर्जा प्रवाह नै हुन सकेन

काठमाडौं । वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) घट्दै गएको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकअनुसार बैंकहरूको न्यूनतम सीडी रेसियो ६३.८६ प्रतिशतमा झरेको हो । कुनै बेला तरलताको अभाव भएर अधिकतम सीमा ९० को हाराहारीमा पुग्ने बैंकको सीडी रेसियो अहिले भने न्यूनतम अवस्थामा देखिएको हो । संघले सार्वजनिक गरेको तथ्यांकअनुसार औसत ७९.२९ प्रतिशत सीडी रेसियो भएपनि न्यूनतम राष्ट्रिय वाणिज्य बैंकको ६३.८६ प्रतिशतमा झरेको हो । नेपाल स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६८.४८ प्रतिशत, नेपाल बैंकको ७२.७८ प्रतिशत, प्रभु बैंकको ७४.९७ प्रतिशत, नेपाल एसबिआईको ७६.०७ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट बैंकको सीडी रेसियो ७६.७६ प्रतिशत कायम भएको छ । यस्तै, कृषि विकासको ७६.९९ प्रतिशत, ग्लोबल आइएमईको ७७.९५ प्रतिशत, सानिमाको ८०.६५ प्रतिशत र लक्ष्मी सनराइजको ८१.०५ प्रतिशत सीडी रेसियो कायम भएको छ । यस्तै, हिमालयनको ८२.२० प्रतिशत, नबिलको ८२.५८ प्रतिशत, कुमारीको ८२.५८ प्रतिशत, एनएमबिको ८३.३३ प्रतिशत, एभरेष्टको ८३.५२ प्रतिशत, एनआईसी एसियाको ८३.६१ प्रतिशत, सिद्धार्थको ८३.६५ प्रतिशत, सिटिजन्सको ८४.३२ प्रतिशत, प्राइम कमर्सियलको ८४.९९ प्रतिशत र माछापुच्छ्रेको ८५.६५ प्रतिशत सीडी रेसियो कायम भएको छ । नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार सीडी रेरियो अधिकतम ९० प्रतिशत हुनुपर्छ । त्यो भनेको बैंकले १०० रुपैयाँ निक्षेप संकलन गर्‍यो भने त्यसको ९० रुपैयाँमात्रै लगानी गर्न पाउँछ । अहिले बैंकको सीडी रेसियो न्यूनतम ६३ प्रतिशत हुँदा बैंकले १०० रुपैयाँ निक्षेप संकलन गरेकोमा त्यसको ६३ रुपैयाँमात्रै लगानी गरेको छ भन्ने बुझ्नुपर्छ । यसकाे मतलब बैंकसँग तरलता पर्याप्त भएपनि कर्जा प्रवाह हुन सकेको छैन भन्ने हो । फागुनसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले कुल ६० खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ४८ खर्ब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।  

नागरिक लगानी कोषको रकम रोजगारी बढाउने क्षेत्रमा प्रयोग गरौँ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरुको लगानी उत्पादनमुलक क्षेत्र र रोजगारी बढाउने क्षेत्रमा प्रयोग गर्नुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले कोषको ध्यान उक्त कार्यतर्फ जानुपर्ने बताएका हुन् । अध्यक्ष ढकालले नागरिक लगानी कोष, सञ्चय कोष, सामाजिक सुरक्षा कोष लगायतका कोषहरुको लगानी पूर्वाधार निर्माण, रोजगारी सिर्जना, पर्यटन प्रवद्र्धन, हाइड्रोपावर लगायतका क्षेत्रमा उपयोग गर्नुपर्ने बताए । उनले कोषहरुको करिव ५२ प्रतिशत भन्दा बढी रकम बैंक तथा वित्तीय संस्थाहरुमा फिक्स डिपोजिटको रुपमा रहेको भन्दै यसको उपयोग रोजगारी सिर्जना, विकास निर्माणका क्षेत्रमा गर्नुपर्ने जानकारी दिए । अध्यक्ष ढकालले भने, ‘नागरिक लगानी कोष, सञ्चय कोष, सामाजिक सुरक्षा कोष लगायत अरु पनि कोषहरु रहेको छ । करिव ५२ प्रतिशत भन्दा बढी जुन फण्ड छ, त्यो बैंक तथा वित्तीय संस्थाहरुमा फिक्स डिपोजिटको रुपमा रहेको कुरा गर्नुभयो ।’ अध्यक्ष ढकालले जम्मा भएका फण्डहरु विकास निर्माण, उत्पादनशील क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नेगरी अघि बढ्नुपर्ने सुझाव दिए ।

डिजिटल कारोबार बढेकोमा राष्ट्र बैंक सन्तुष्ट छ, ठगी हुनबाट आफै सतर्क हुनुपर्छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटल कारोबार बढ्दै गएकोमा राष्ट्र बैंक सन्तुष्ट रहेको बताएका छन् । नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘ग्लोबल मनी विक २०२५’ को उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् । ठगी हुनुबाट ग्राहक आफै सतर्क हुनुपर्ने उनको भनाइ छ । गभर्नर अधिकारीले राष्ट्र बैंकले कोर कामसहित वित्तीय साक्षरतालाई जोड दिएको बताए । उनले भने, ‘नेपाल राष्ट्र बैंकले आफ्नो कोर कामसहित वित्तीय साक्षरतालाई जोड दिएको छ । बैंकमा बैंकमा खोलिएका खाता सक्रिय राख्न र खातामा बचत गर्ने बानी बसाल्नु वित्तीय साक्षरताको प्रभावकारीता हो । वित्तीय साक्षरताले आचरण, व्यवहारमा सकारात्मक ल्याउँछ ।’ उनले स्कुलको पाठ्यक्रममा वित्तीय साक्षरता राख्ने तयारी भइरहेको पनि जानकारी दिए । उनका अनुसार यसका लागि केही चरणमा छलफलसमेत भइरहेको छ । गभर्नर अधिकारीले बैंकका विभिन्न प्रडक्ट हुने र आफूलाई जुन उपयुक्त लाग्छ ती प्रडक्ट प्रयोग गर्नुपर्ने पनि बताए ।

‘घाँटी हेरेर हाड निल्नुपर्छ, २० रुपैयाँमा पाइने चियामा २०० खर्च नगरौं’

काठमाडौं । नेपाल राष्ट्र बैंकका महाप्रसाद अधिकारीले सबैले बचत गर्ने बानी बसाल्नुपर्ने सुझाव दिएका छन् । नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘ग्लोबल मनि विक २०२५’ को उद्घाटन सत्रमा बोल्दै उनले सबैले बचत गर्ने बानी बसाल्नुपर्ने धारणा राखेका हुन् । ‘घाँटी हेरेर हाड निल्नुपर्छ, आफ्नो क्षमताअनुसारको खर्च गर्नुपर्छ, जसको क्षमता जेछ सोही अनुसार व्यवहार गर्नुपर्छ, क्षमता छैन भने अनावश्यक खर्च पनि गर्नुहुँदैन,’ २० रुपैयाँमा पाइने चियाको २०० रुपैयाँ किन खर्च गर्ने,’ उनले भने । बैंकभित्र बचतका पनि विभिन्न प्रडक्टहरु हुने गरेको बताउँदै उनले त्यस विषयमा पनि बुझ्न आवश्यक रहेको बताए । पछिल्लो समय डिजिटल कारोबार बढेको बताउँदै त्यसमा आफू धेरै सन्तुष्ट रहेको बताए । डिजिटल कारोबारमा अवसरसँगै धेरै चुनौती पनि रहेको सुनाउँदै सबैले सर्तक भएर कारोबार गर्यो भने सुरक्षित बन्न सकिने बताए । उनले सबैको पहुँचमा बैंक खाता पुर्याउने लक्ष्य रहेको बताउँदै बैंकमार्फत बचत गरेर भविश्य सुनिश्चित गर्न सुझाव दिए । वित्तीय ज्ञानले व्यक्तिको व्यवहारमा पनि परिवर्तन ल्याउन भूमिका खेल्ने उनको भनाइ छ । वित्तीय साक्षरताले स्वच्छ समाज र सिंगो राष्ट्रलाई पनि स्वच्छ बनाउन भूमिका खेल्ने उनको धारणा छ । उनले विद्यालयको पाठ्यक्रममा पनि वित्तीय साक्षरतालाई समावेश गर्ने छलफल भइरहेको जानकारी दिए । वित्तीय शिक्षाको महत्वपूर्ण पाटो ‘फोर्स सेभिङ रहेको बताए । बैंक तथा वित्तीय संस्थाहरुले ‘लर्न, सेभ एण्ड अर्न’को नाराका साथ ग्लोबल मनि विक मनाइरहेका छन् । १३औैं संस्करणको ग्लोबल मनि विक नेपालमा राष्ट्र बैंकको नेतृत्वमा आयोजना हुँदै आएको छ । एक साताभर ग्लोबल मनि विक आयोजना गर्ने अभ्यास छ ।

ट्रम्पले मंगलबार रुसी समकक्षी पुटिनसँग युक्रेनमा युद्ध अन्त्य गर्ने विषयमा वार्ता गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने योजना बनाएको र युक्रेनमा युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । ‘म मंगलबार राष्ट्रपति पुटिनसँग कुरा गर्दैछु । सप्ताहन्तभर धेरै काम भएको छ,’ ट्रम्पले फ्लोरिडाबाट वाशिंगटन फर्किने क्रममा एयर फोर्स वनमा सञ्चारकर्मीहरूलाई भने । ‘हामी त्यो युद्ध अन्त्य गर्न सकिन्छ कि भनेर हेर्न चाहन्छौं । हुन सक्छ, हुन नसक्ला, तर मलाई लाग्छ हामीसँग राम्रो सम्भावना छ,’ उनले थपे । ट्रम्पले युक्रेनले गत हप्ता स्वीकार गरेको ३० दिने युद्धविराम प्रस्तावमा पुटिनको समर्थन जित्न खोजिरहेका छन् । किनकि दुवै पक्षले सप्ताहन्तभर भारी हवाई हमला जारी राखेका थिए र रुसले युक्रेनी सेनालाई पश्चिमी रुसी क्षेत्र कुस्र्कबाट हटाउन झन् नजिक पुगेको छ । ‘हामी भूमिबारे कुरा गर्दैछौं । हामी पावर प्लान्टहरू बारे पनि कुरा गर्दैछौं,’ ट्रम्पले भने, ‘मलाई लाग्छ दुबै पक्ष युक्रेन र रुसले यसबारे धेरै कुरा गरिसकेका छन् । हामी पहिले नै केही सम्पत्तिहरू बाँडफाँड गर्ने विषयमा छलफल गरिरहेका छौं ।’