काठमाडौं । वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) घट्दै गएको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकअनुसार बैंकहरूको न्यूनतम सीडी रेसियो ६३.८६ प्रतिशतमा झरेको हो । कुनै बेला तरलताको अभाव भएर अधिकतम सीमा ९० को हाराहारीमा पुग्ने बैंकको सीडी रेसियो अहिले भने न्यूनतम अवस्थामा देखिएको हो ।
संघले सार्वजनिक गरेको तथ्यांकअनुसार औसत ७९.२९ प्रतिशत सीडी रेसियो भएपनि न्यूनतम राष्ट्रिय वाणिज्य बैंकको ६३.८६ प्रतिशतमा झरेको हो । नेपाल स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६८.४८ प्रतिशत, नेपाल बैंकको ७२.७८ प्रतिशत, प्रभु बैंकको ७४.९७ प्रतिशत, नेपाल एसबिआईको ७६.०७ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट बैंकको सीडी रेसियो ७६.७६ प्रतिशत कायम भएको छ ।
यस्तै, कृषि विकासको ७६.९९ प्रतिशत, ग्लोबल आइएमईको ७७.९५ प्रतिशत, सानिमाको ८०.६५ प्रतिशत र लक्ष्मी सनराइजको ८१.०५ प्रतिशत सीडी रेसियो कायम भएको छ ।
यस्तै, हिमालयनको ८२.२० प्रतिशत, नबिलको ८२.५८ प्रतिशत, कुमारीको ८२.५८ प्रतिशत, एनएमबिको ८३.३३ प्रतिशत, एभरेष्टको ८३.५२ प्रतिशत, एनआईसी एसियाको ८३.६१ प्रतिशत, सिद्धार्थको ८३.६५ प्रतिशत, सिटिजन्सको ८४.३२ प्रतिशत, प्राइम कमर्सियलको ८४.९९ प्रतिशत र माछापुच्छ्रेको ८५.६५ प्रतिशत सीडी रेसियो कायम भएको छ ।
नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार सीडी रेरियो अधिकतम ९० प्रतिशत हुनुपर्छ । त्यो भनेको बैंकले १०० रुपैयाँ निक्षेप संकलन गर्यो भने त्यसको ९० रुपैयाँमात्रै लगानी गर्न पाउँछ । अहिले बैंकको सीडी रेसियो न्यूनतम ६३ प्रतिशत हुँदा बैंकले १०० रुपैयाँ निक्षेप संकलन गरेकोमा त्यसको ६३ रुपैयाँमात्रै लगानी गरेको छ भन्ने बुझ्नुपर्छ ।
यसकाे मतलब बैंकसँग तरलता पर्याप्त भएपनि कर्जा प्रवाह हुन सकेको छैन भन्ने हो । फागुनसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले कुल ६० खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ४८ खर्ब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । 