विकासन्युज

निक्षेपभन्दा कर्जा वृद्धि धेरै, ५ खर्ब क्लबमा उक्लियो नबिल, खस्कियो एनआईसी एशियाको व्यापार

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिना बैंकहरूको निक्षेप संकलन ५ प्रतिशत बढेको छ । नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार २० वटा बैंकले फागुन मसान्तसम्ममा ४.९० प्रतिशत अर्थात् २ खर्ब ८२ अर्ब २७ करोड रुपैयाँ निक्षेप बढाएर ६० खर्ब ३७ अर्ब ४ करोड रुपैयाँ पुर्याएका छन् । जबकी गत असारसम्म बैंकहरूको निक्षेप ५७ खर्ब ५४ अर्ब ७७ करोड रुपैयाँ मात्रै थियो । ८ महिनाको अवधिमा सबैभन्दा धेरै निक्षेप वृद्धि एनएमबि बैंकले गरेको छ । फागुनसम्ममा एनएमबि बैंकको निक्षेप १७.५० प्रतिशत अर्थात् ३९ अर्ब ७६ करोड रुपैयाँ बढेर २ खर्ब ६६ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । गत असारसम्म बैंकको बैंकको निक्षेप २ खबै २७ अर्ब १० करोड रुपैयाँ थियो । यस्तै, एभरेस्ट बैंकको १४.७७ प्रतिशत अर्थात् ३४ अर्ब ४७ करोड रुपैयाँ बढेर २ खर्ब ६७ अर्ब ७६ करोड रुपैयाँ, प्राइम बैंकको १२.६० प्रतिशत अर्थात् २७ अर्ब १६ करोड रुपैयाँ बढेर २ खर्ब ४२ अर्ब ६९ करोड रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ११.२६ प्रतिशत अर्थात् ४५ अर्ब ८४ करोड रुपैयाँ बढेर ४ खर्ब ५२ अर्ब ६४ करोड रुपैयाँ, नेपाल बैंकको ९.४७ प्रतिशत अर्थात् २६ अर्ब ८३ करोड रुपैयाँ बढेर ३ खर्ब ९ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । बैंकर्स संघको तथ्याङ्क अनुसार स्ट्यान्डर्ड चार्टर्ड बैंक ९.१४ प्रतिशत अर्थात् १० अर्ब ५० करोड रुपैयाँ बढेर १ खर्ब २५ अर्ब ३३ करोड रुपैयाँ, सानिमा बैंकको ७.८६ प्रतिशत अर्थात् १५ अर्ब ६८ करोड रुपैयाँ बढेर २ खर्ब १५ अर्ब ६ करोड रुपैयाँ, नबिल बैंकको ७.३५ प्रतिशत अर्थात् ३४ अर्ब ४९ करोड रुपैयाँ बढेर ५ खर्ब ३ अर्ब २५ करोड रुपैयाँ, ग्लोबल आईएमई बैंकको ५.६१ प्रतिशत अर्थात् २८ अर्ब ३४ करोड रुपैयाँ बढेर ५ खर्ब ३३ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकल गरेका छन् । यस्तै, सिटिजन्स बैंकको ५.३० प्रतिशत अर्थात् १० अर्ब १६ करोड रुपैयाँ बढेर २ खर्ब १ अर्ब ८३ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ५.०८ प्रतिशत अर्थात् १६ अर्ब ९५ करोड रुपैयाँ बढेर ३ खर्ब ५० अर्ब ५१ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ४.२८ प्रतिशत अर्थात् १८ अर्ब ४१ करोड रुपैयाँ बढेर ४ खर्ब ४७ अर्ब ५५ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको ४.१८ प्रतिशत अर्थात् ६ अर्ब ७५ करोड रुपैयाँ बढेर १ खर्ब ६८ अर्ब ९ करोड रुपैयाँ, कृषि विकास बैंकको ३.९० प्रतिशत अर्थात् ९ अर्ब ५२ करोड रुपैयाँ बढेर २ खर्ब ५३ अर्ब २८ करोड रुपैयाँ निक्षेप पुर्याएका छन् । नेपाल एसबीआई बैंकको ३.४३ प्रतिशत अर्थात् ६ अर्ब ३ करोड रुपैयाँ बढेर १ खर्ब ८१ अर्ब ४५ करोड रुपैयाँ, हिमालयन बैंकको १.७८ प्रतिशत अर्थात् ५ अर्ब ३२ करोड रुपैयाँ बढेर ३ खर्ब ३ अर्ब ४ करोड रुपैयाँ, कुमारी बैंकको १.६६ प्रतिशत अर्थात् ५ अर्ब ८३ करोड रुपैयाँ बढेर ३ खर्ब ५६ अर्ब ५९ करोड रुपैयाँ, सिद्धार्थ बैंकको ०.५७ प्रतिशत अर्थात् १ अर्ब ४१ करोड रुपैयाँ बढेर २ खर्ब ४६ अर्ब ३१ करोड रुपैयाँ र प्रभु बैंकको ०.२१ प्रतिशत अर्थात् ६८ करोड रुपैयाँ बढेर ३ खर्ब १२ अर्ब ९१ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । तर, यसअवधिमा एनआईसी एशिया बैंकको निक्षेप संकलनमा भने व्यापक गिराव आएको छ । बैंकको १७.१५ प्रतिशत अर्थात् ६१ अर्ब ८६ करोड रुपैयाँ घटेर २ खर्ब ९८ अर्ब ६८ करोड रुपैयाँमा झरेको छ । जबकी गत असारमा बैंकको निक्षेप ३ खर्ब ६० अर्ब ५४ करोड रुपैयाँ थियो । कुन बैंकको कति कर्जा ? चालु आवको ८ महिनाको अवधिमा बैंकहरूको कर्जा लगानी ६.११ प्रतिशत अर्थात् २ खर्ब ७९ अर्ब ६८ करोड रुपैयाँ बढाएर ४८ खर्ब ५० अर्ब ५९ करोड रुपैयाँ पुर्याएका छन् । गत असारमा बैंकहरूले ४५ खर्ब ७० अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए । ८ महिनाको अवधिमा सबैभन्दा धेरै कर्जा लगानी एभरेष्ट बैंकले बढाएको छ । फागुन मसान्तसम्ममा बैंकको कर्जा २०.१५ प्रतिशत अर्थात् ३७ अर्ब ५८ करोड रुपैयाँ बढेर २ खर्ब २४ अर्ब ८ करोड रुपैयाँ लगानी गरेको छ । जबकि गत असारमा बैंकको कर्जा १ खर्ब ८६ अर्ब ५० करोड रुपैयाँ थियो । यस्तै, एनएमबी बैंकको १४.२३ प्रतिशत अर्थात् २९ अर्ब १३ करोड रुपैयाँ बढेर २ खर्ब ३३ अर्ब ७४ करोड रुपैयाँ, प्राइम बैंकको ११.२३ प्रतिशत अर्थात् २१ अर्ब ७९ करोड रुपैयाँ बढेर २ खर्ब १५ अर्ब ७२ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको १०.७१ प्रतिशत अर्थात् १४ अर्ब ५ करोड रुपैयाँ बढेर १ खर्ब ४५ अर्ब १९ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको १०.४७ प्रतिशत अर्थात् २७ अर्ब ४२ करोड रुपैयाँ बढेर २ खर्ब ८९ अर्ब २० करोड रुपैयाँ ऋण प्रवाह गरेका छन् । लक्ष्मी सनराइज बैंकको १०.०८ प्रतिशत अर्थात् २६ अर्ब ९ करोड रुपैयाँ बढेर २ खर्ब ८४ अर्ब ७२ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकको ९.९९ प्रतिशत अर्थात् ३९ अर्ब ६ करोड रुपैयाँ बढेर ४ खर्ब २९ अर्ब ८३ करोड रुपैयाँ, नेपाल बैंकको ८.४९ प्रतिशत अर्थात् १७ अर्ब ६७ करोड रुपैयाँ बढेर २ खर्ब २५ अर्ब ६१ करोड रुपैयाँ, सानिमा बैंकको ८.३८ प्रतिशत अर्थात् १३.९० करोड रुपैयाँ बढेर १ खर्ब ७९ अर्ब ६८ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । फागुन सम्ममा सिटिजन्स बैंकको ७.८ प्रतिशत अर्थात् १२ अर्ब ३० करोड रुपैयाँ बढेर १ खर्ब ६९ अर्ब ८९ करोड रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ६.९ प्रतिशत अर्थात् २२ अर्ब ८३ करोड रुपैयाँ बढेर ३ खर्ब ५१ अर्ब ६९ करोड रुपैयाँ, नबिल बैंकको ६.७० प्रतिशत अर्थात् २६ अर्ब ४ करोड रुपैयाँ बढेर ४ खर्ब १४ अर्ब ३९ करोड रुपैयाँ, सिद्धार्थ बैंकको ५.९३ प्रतिशत अर्थात् १२ अर्ब ९ करोड रुपैयाँ बढेर २ खर्ब १५ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल एसबीआई बैंकको ५.१७ प्रतिशत अर्थात् ६ अर्ब ८८ करोड रुपैयाँ बढेर १ खर्ब ३९ अर्ब ८५ करोड रुपैयाँ, कुमारी बैंकको २.६१ प्रतिशत अर्थात् ७ अर्ब ६८ करोड रुपैयाँ बढेर ३ खर्ब १ अर्ब ९ करोड रुपैयाँ, हिमालयन बैंकको १.६५ प्रतिशत अर्थात् ४ अर्ब ९ करोड रुपैयाँ बढेर २ खर्ब ५१ अर्ब २० करोड रुपैयाँ र कृषि विकास बैंकको ०.८१ प्रतिशत अर्थात् १ अर्ब ६९ करोड रुपैयाँ बढेर २ खर्ब ८ अर्ब ७८ करोड रुपैयाँ कर्जा लगानी विस्तार गरेका छन् । तर, एनआईसी एशिया बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र प्रभु बैंकको कर्जा विस्तार भने घटेको देखिन्छ । एनआईसी एशिया बैंकको १२.४१ प्रतिशत अर्थात् ३५.४३ करोड रुपैयाँ घटेर २ खर्ब ४९ अर्ब ९० करोड रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ४.२७ प्रतिशत अर्थात् ३ अर्ब ८३ करोड रुपैयाँ घटेर ८५ अर्ब ८३ करोड रुपैयाँ र प्रभु बैंकको ०.५७ प्रतिशत अर्थात् १ अर्ब ३५ करोड रुपैयाँ घटेर २ खर्ब ३४ अर्ब ५६ करोड रुपैयाँमा कर्जा लगानी झरेको छ ।

प्रभु बैंकद्वारा बुर्तिबाङमा ‘ग्लोबल मनी वीक २०२५’ को अवसरमा र्याली आयोजना

काठमाडौं । प्रभु बैंक गण्डकी प्रदेशद्वारा बागलुङ जिल्लाको पश्चिम भेग बुर्तिबाङमा ग्लोबल मनी वीक २०२५ को अवसर पारेर एक वित्तीय जनचेतनामूलक र्यालीको आयोजना गरेको छ । ‘अनुसरण गर्नु अघि सोचौं, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौं । अरूका कुरा सुनौं तर आधिकारिक कुरा सुनी निर्णय गरौं ।’ भन्ने मूल नाराका साथ आयोजित यस र्यालीले बुर्तिबाङ बजार क्षेत्रको परिक्रमा गरेको थियो । र्यालीमा सहभागीहरूले वित्तीय साक्षरतासम्बन्धी नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए । कार्यक्रममा बोल्दै प्रभु बैंक बुर्तिबाङ शाखाका प्रमुख ज्ञान बहादुर क्षेत्रीले ग्लोबल मनी वीकको महत्व र वित्तीय साक्षरताको आवश्यकता बारे प्रकाश पार्दै, बालबालिका, वृद्ध तथा युवापुस्तालाई बचत, लगानी र वित्तीय योजनाको महत्व बुझाउन यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने बताए । यस र्यालीको मुख्य उद्देश्य युवा पुस्तालाई सानैदेखि बचत गर्ने बानीको विकास गराउनु, वित्तीय योजनाको महत्व बुझाउनु र वित्तीय साक्षरताको प्रवर्द्धन गर्नु रहेको थियो । बैंकले आगामी दिनहरूमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमहरू आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

एनसी एग्रो टेकले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

काठमाडौं । एनसी एग्रो टेक इण्ड्रष्ट्रिजले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सो सम्बन्धमा चैत ३ गते ग्लोबल आइएमई क्यापिटलको रजिष्टर्ड कार्यालयमा आयोजित एक कार्यक्रममा एनसी एग्रो टेक इण्ड्रष्ट्रिजको तर्फबाट अख्तियार प्राप्त सञ्चालक दिपक प्रसाद न्यौपाने र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट अख्तियार प्राप्त प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले सम्झोतापत्रमा हस्ताक्षर गरे । कम्पनीले प्रतिसेयर अंकित मूल्य १ सय रुपैयाँ अंकित दरको १८ लाख कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्ने भएको हो ।

स्टिल र आल्मुनियमको कर घटाउने मनसाय छैन : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियमको कर घटाउने आफ्नो कुनै मनसाय नरहेको बताएका छन् । गत जनवरीमा ट्रम्पले विभिन्न व्यापारिक साझेदारबाट आपुर्ति हुने स्टिल र आल्मुनियमलगायतका सामानमा कर लगाउने घोषणा गरेका थिए । उनको यो घोषणाले वित्तीय बजारमा त्रासको वातावरण सिर्जना भएको छ । यो योजनाले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रलाई मन्दीतर्फ धकेल्न सक्ने आशङ्कालाई बढावा दिएको छ । स्टिल र आल्मुनियमको कर घटाउने मनसाय छ कि भनी सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पले एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै भने, ‘होइन, मेरो त्यस्तो कुनै मनसाय छैन ।’ यसको साटो उनले वासिङ्टनले अनुचित ठानेको व्यापार अभ्यासलाई सुधार गर्न अप्रिल २ सम्ममा पारस्परिक कर लगाउने प्रतिज्ञालाई दोब्बर बताए । यसले थप उत्पादन र व्यापारिक साझेदारहरूलाई विशेष रूपमा लक्षित गर्न सक्ने सम्भावनालाई अझ बढाएको छ । उनले भने, ‘अप्रिल २ हाम्रो देशका लागि मुक्तिको दिन हो । हाम्रो देशमा अर्बौं डलर आइसकेको छ र अप्रिल २ देखि ठूलो रकम आउँदैछ ।’

‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ प्राप्त हुने मुनाफा उनकै घर निर्माणमा प्रयोग गरिने निर्माता प्रेमकुमार श्रेष्ठले बताएका छन् । कप्तान सुब्बालाई इलामदेखि काठमाडौं ल्याएर विभागीय टोली सशस्त्र प्रहरी बलमा फुटबल खेलाएका निर्माता श्रेष्ठले ‘अञ्जिलाको आफ्नै घर’ अभियान सञ्चालन गरेका छन् । उनले भने, ‘यस चलचित्रबाट प्राप्त सम्पूर्ण मुनाफा अञ्जिलाको घर निर्माणमा लगाउने छौं । नेपालमा प्रदर्शनबापत आउने रकम र त्यस अगाडि हङकङ, बेलायत र दक्षिण कोरियामा गरिएको विशेष प्रदर्शनीबाट संकलन भएको रकमले हामीले देखेको सपना पूरा हुनेमा विश्वस्त छौं ।’ उनी कप्तान सुब्बाको धर्मपिताका रुपमा परिचित छन् । गत फागुन २९ गते होलीलाई लक्षित गर्दै प्रदर्शन सुरु भएको चलचित्रले तीन दिनमा दुई करोड सात लाखको व्यापार गरेको वितरक करण श्रेष्ठले जानकारी दिए । ‘प्रदर्शनकै दिनदेखि हामी काठमाडौं उपत्यकामा रहेका प्रायः चलचित्र भवनमा पुगेर दर्शकमाझ प्रतिक्रिया लिइरहेका छौं । चलचित्रको व्यापार पहिलो दिनको तुलनामा दोस्रो दिन र दोस्रो दिनको तुलनामा तेस्रो दिन बढेको छ । चलचित्र हेर्नुभएका दर्शकले राम्रो प्रतिक्रिया दिनुभएको छ, यसकारण आउँदा दिनमा व्यापार बढ्नेमा हामी विश्वस्त छौं’, वितरक श्रेष्ठले भने । उनले चलचित्र प्रदर्शनको चौथो दिन आइतबार र पाँचौँ दिन आज पनि दर्शकको उपस्थिति राम्रो रहेको जानकारी दिँदै थप व्यावसायिक तथ्यांक आउँदो केही दिनमा सार्वजनिक गर्ने बताए । कप्तान सुब्बा आफैंले अभिनय गरेका कारण दर्शक उनको संघर्ष र सफलतासँग भावनात्मक रुपमा जोडिएको निर्देशक मिलन चाम्सले बताए । ‘कप्तान सुब्बाको कथा सुनेपछि यसले अन्यलाई प्रेरणा दिन्छ भनेर चलचित्र निर्देशन गर्न सहमत भएको थिएँ । हामीले रुचाएको कथालाई दर्शकले पनि रुचाउनु भयो । यो सफलताले आगामी दिनमा अन्य खेलाडीको कथामा चलचित्र निर्माण गर्न हौसला थपेको छ’, निर्देशक चाम्सले भने । चलचित्रमा कप्तान सुब्बासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्र निर्माणमा तुबेन्द्र लिम्बू, विनोद अग्रवाल, राजेश बगडियाले सहकार्य गरेका छन् ।

पूर्वविशिष्टलाई आजीवन सुविधाबारे गृहमन्त्री : राज्यकोषमा आर्थिक भार पर्न दिदैनौँ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशका पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिनको लागि विधेयकको मस्यौदा लेखन सुरु भएको बताएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री लेखकले यस्तो बताएका हुन् । उनले सर्वोच्च अदालत र संसदीय समितिले समेत विधायिकी कानून बनाएर मात्र सुविधा दिन निर्देशन गरेको कारण कानून निर्माणमा जुटेको बताए । उनले यस कदमको चौतर्फि आलोचना भइरहेको उल्लेख गर्दै कानूनै नबनाइकन सरकारले निर्णय गरेर दिनेकुरा उचित हो कि सदनबाट कानून बनाएर दिनेकुरा जाति हो ? भन्दै प्रश्न समेत गरे । उनले पूर्वविशिष्टहरुलाई सुविधा दिँदा मुलुकको राज्यकोषमा अनावश्यक भार नपर्नेगरी कानून बनाउन लागिएको स्पष्ट पारे । उनले भने, ‘नेपाल सरकार मन्त्रिपरिषद्बाट गत माघ ९ गते पूर्वविशिष्ट पदाधिकारीको सुविधा सम्बन्धमा बनेको विधेयक तर्जुमाका लागि तयार भएको अवधारणा भएको अवधारणा पत्रमा स्वीकृति प्राप्त गरी विधेयक तर्जुमा सम्बन्धमा प्रारम्भिक कार्य सुरु भएको छ ।’ मुलुकको आर्थिक स्थितिबारे सरकार जानकार रहेको उल्लेख गर्दै मन्त्री लेखकले मुलुकको आर्थिक अवस्थामा प्रतिकुलता उत्पन्न हुने काम नगरिने बताए ।

अन्तरिक्षमा ९ महिनादेखि फँसेका दुई यात्री मंगलबार पृथ्वीमा फर्किँदै, नासाले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा नौ महिनाभन्दा बढी समयदेखि अड्किएका दुई अमेरिकी अन्तरिक्षयात्रीहरू मंगलबार पृथ्वीमा फर्किने भएका छन् । नासाले आइतबार उनीहरू मंगलबार साँझ पृथ्वीमा फर्किने पुष्टि गरेको हो । बुच विलमोर र सुनिता विलियम्सलाई अर्को अमेरिकी अन्तरिक्षयात्री र रुसी ’कोस्मोनट’ सँगै स्पेसएक्स क्रू ड्रागन यानमा राखेर पृथ्वीमा फर्काउन लागिएको हो । क्रू ड्रागन आइतबार बिहान आईएसएसमा पुगिसकेको छ । नासाले आइतबार साँझ जारी गरेको एक विज्ञप्तिमा फ्लोरिडाको तटमा यान उतारिने जनाएको छ । सुरुमा यो कार्यक्रम बुधबारका लागि तय गरिएको थियो । २०२४ को जुन ५ मा बुच विलमोर र सुनीता विलियम्स बोइङ स्टारलाइनरमार्फत आईएसए प्रस्थान गरेका थिए । उनीहरूको आठ दिन आईएसएसमा बिताउने योजना थियो, तर अन्तरिक्षयानमा प्राविधिक समस्या देखिएपछि अवस्था बदलियो । नासाले स्टारलाइनरलाई असुरक्षित घोषणा गर्‍यो र सेप्टेम्बरमा अन्तरिक्षयानलाई चालकविहीन पृथ्वीमा फिर्ता पठायो । यसले विलमोर र विलियम्सलाई घर फर्किने साधनबिना आईएसएमा छोड्यो । नासाले प्रत्यक्ष प्रसारण गर्ने नासाले एक विज्ञप्तिमा विलमोर र विलियम्सको पृथ्वी फर्काइ कार्यक्रमलाई प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ । नासा अन्तरिक्षयात्री निक हेग र रोसकोस्मोस ’कोस्मोनट’ अलेक्जान्दर गोर्बुनोभ पनि उनीहरूसँगै फर्किँदै छन् । यससँगै विलमोर र विलियम्सका लागि नौ महिनासम्मको कठिन यात्राको अन्त्य हुनेछ। अन्तरिक्षयान बिग्रिँदा ८ दिने यात्रा ९ महिना लम्बियो, मस्कले फिर्ता ल्याउने

स्वदेशी सामग्रीको प्रयोग गरी उद्यमी बन्दै महिला

काठमाडौं । काठमाडौंकी लक्ष्मी पोखरेललाई आफूले उत्पादन भइरहेका अन्नलाई कसरी बजारमा लैजान सकिन्छ होला भन्ने लाग्थ्यो । नेपालमा उत्पादन भएका खाद्यान्न नेपालीहरूले महँगो भए पनि किन्दै आएका छन् । नेपालमै नेपालीले उत्पादन गरेका खाद्यान्न प्रयोग गर्नुपर्छ भन्ने सोंचले उनी उद्यमी भएकी छन् । लक्ष्मीले आफूजस्तै केही काम गर्न इच्छुक साथीहरू खोजिन् । उनीहरू सबैजना मिलेर नेपालमै उत्पादन भएको अन्नलाई बजारीकरण गर्ने उद्देश्य राखेर अध्ययन सुरु गरे । सबैजनाले आफ्नो-आफ्नो योजनाअनुसार खोज अनुसन्धान गरे । डेढ वर्षको अनुसन्धानपश्चात उनीहरूले नेपालमा उत्पादन भएको कागुनो, कोदो, फापर जौंलगायतका खाद्यान्नलाई समेटेर सामाग्रीहरू उत्पादन गर्ने योजना बनाए । त्यसपछि उद्योगको नाम रह्यो ‘कोदाली भेन्चर्स’ । ‘नेपालमा पाइने अन्न बजारमा ल्याउनु नयाँ कुरा थिएन,’ लक्ष्मी भन्छिन्, ‘स्वास्थ्यलाई पनि ध्यान दिनुपर्ने थियो । अर्को कुरा मीठो कसरी बनाउने भन्ने पनि चुनौती थियो । यी अवसर र चुनौतीसँग जुध्दै स्थापना भएको कोदाली भेन्चर्सका सामग्रीहरू अहिले नागरिकहरूले मन पराइरहेका छन् ।’ डेढ वर्ष अध्ययन अनुसन्धान गरी गएको मङ्सिरदेखि बजारमा आएको कोदाली भेन्चर्सले अहिले चारवटा सामग्री– भेगन प्रो, फापर फ्लेग्स, पान केक र वेलनेस ड्रिंक पाउडरमात्र बजारमा ल्याएको छ । कोदो, फापर, सनफ्लावर सीड मिक्स गरेर बनाएको वेलनेस ड्रिंक पाउडर, कागुनोबाट बनाएको पान केक जसमा आलस, जौं फापर पनि राखिएको छ । यसैगरी फापरको टुसा उमारेर फापर फ्लेग्स तयार पारिएको छ । यसैगरी, भेगन प्रो तील र मुग दालको टुसा उमारेर बनाएको छ । यसको फ्याक्ट्री काठमाडौंको गोठाटार हाइटमा छ । यी सामग्रीको अनलाइन डेलिभरी पनि भइरहेको छ भने विभिन्न बजारमा पनि उपलब्ध छन् । ६ जना साथीहरू मिलेर खुलेको सम्सरा क्रिएसन ललितपुरको ढोलाहिटी चाँदनी महत मास्टर्स पढ्दै थिइन् । अध्ययनकै सिलसिलामा उद्यमशीलता विषयमा एउटा बिजनेस डेभलप गर्नुपर्ने भयो । चाँदनीसहित अरू साथीहरू मिलेर कस्तो बिजनेस प्रोजेक्ट तयार पार्ने होला भन्नेबारे छलफल भयो । ६ जना साथीहरू मिलेर नेपाली सामग्रीहरूको प्रयोग गरी नयाँ काम कसरी गर्न सकिन्छ भन्ने विषय अनुसन्धान सुरु गरे । उनीहरूले बनाएको प्रोजेक्टमा ढाका, लोक्ता, बाँसबाट विभिन्न सामग्री बनाउने एउटा प्रोजेक्ट तयार गरे । प्रोजेक्ट राम्रो थियो । शिक्षक, अन्य विद्यार्थीहरूलाई पनि उनीहरूको आइडिया मन पर्यो । सबैलाई मन परेपछि साथीहरूले अब यो आइडिया बजारमा किन नल्याउने भन्ने विषयमा छलफल गरे । कलेजको क्यान्टिनमा बसेर साथीहरूले गरेको छलफलले सुरु भएको व्यवसाय हो सम्सरा । ६ जना साथीहरूले सुरुमा प्रतिव्यक्ति पाँच–पाँच हजार जम्मा गरे । विस्तारै बढाउँदै ६ जनाबाट ५०, ५० हजार गरी चार लाखको लगानीमा गरेको व्यवसाय नेपाली बजारमा स्थापित हुन सफल भएको छ । सम्सराले अहिले बाम्बो, टेक्सटायल र पेपर काम गरिरहेको छ । सम्सारले झोला, ढाका, डायरी, ढाका फोल्डरलगायतका थरिथरि सामग्री उत्पादन गर्दै आइरहेको छ । नेपाली कागजको लागि लोक्ता सिन्धुलीबाट आउँछ । चाँदनी काम गर्ने इच्छा, उपाय भयो भने नेपालमै व्यवसाय गर्दा पनि बजार राम्रो रहेको बताउँछिन् । चाँदनीलाई प्लस टु पास गर्ने वित्तिकै परिवारबाट विशेषगरी आमाले विदेश जान कर गरिरहन्थिन् । तर उनलाई विदेश जाने रहर थिएन । बरु उनलाई बुवाको व्यवसायलाई नयाँ रूप दिने योजना थियो । उनको बुवाको मिनी मार्केट छ । तर चाँदनीले अहिले आफ्नै व्यवसाय सम्हालिरहेकी छिन् । २०२० सालदेखि सञ्चालनमा ल्याएको समसाराले छोटो समयमा राम्रो काम गर्न सफल भएको छ । फुर्सदले बनेकी व्यवसायी ललितपुरकी आरती नेपाल पढेलेखेकी थिइन् । बिहे गरेर आइसकेपछि छोराछोरी जन्मिए । उनको दैनिकी छोराछोरी हेर्दै बित्यो । बिस्तारै छोराछोरी पनि हुर्कदै गए । श्रीमान आफ्नै काममा जान्थे, छोराछोरी स्कुल जान्थे । उनलाई दिनभर एक्दै घर बस्दा बस्दा बोर लाग्थ्यो । उनलाई अब यत्तिकै बस्नुभन्दा केही गर्नुपर्छ भन्ने लाग्यो । उनीजस्तै उनकै टोलमा बस्ने अरु दुईजनासँग उनको भेट भयो । उनीहरू थिए ऋचा भण्डारी सरोजनी शेरचन । उनीहरू तीनै जनाको मनमा थियो– अब घरमै बसेर हुँदैन, कुनै व्यवसाय गर्नुपर्छ । उनीहरूले योजना बनाए । त्यो बेला नेपाली कागजको माग विदेशमा तीव्र रूपमा थियो । उनीहरूले नेपाली कागज उद्योग स्थापना गर्ने योजना बनाए । यसका लागि प्रतिव्यक्ति पाँच–पाँच लाख पैसा उठाए । त्यसपछि सुरु भयो नेपाल पेपर क्राफ्ट । जहाँ नेपाली कागज उत्पादन सुरु भयो । यो व्यसाय यति राम्रो चल्यो कि ३० जना कामदार राख्दा पनि भ्याइनभ्याइ भयो । एकजना मेसिन चलाउने र अर्को सघाउने तीनजना पुरुष बाहेक अरू सबै कामदार महिलामात्र थिए । एकताका राम्रो चलेको यो व्यवसाय एउटै उत्पादनमा केन्द्रित हुँदा बिस्तारै सेलाउँदै गयो । ३० जना कामदारलाई समेत तलब दिन नसकिने अवस्था आउँदा अब अन्य उत्पादनलाई पनि जोडेर लैजानुपर्ने योजना उनीहरूले बनाए । उनीहरूले जुम्ला, हुम्लाका महिलाहरूले उत्पादन गर्दै आएका कागुनो, चिनो, फापरलगायतका अन्न काठमाडौं ल्याउन थाले । व्यवसायको शैली फेरिएसँगै उद्योगको नाम पनि फेरियो । नयाँ नाम रह्यो माई इन्टरप्राजेज प्राइभेट लिमिटेड । यो कम्पनी सञ्चालनमा आएको अहिले १५ वर्ष भयो । २०६८ सालदेखि उद्योग व्यवसायमा लागेकी आरती भन्छिन्, ‘काम गर्ने इच्छाशक्ति हुँदा जे काम पनि गर्न सकिँदो रहेछ । आज म नेपाली महिलाहरूलाई उद्यम गर्नुपर्छ भन्दै विभिन्न ठाउँमा कार्यक्रम लिएर पुग्ने गरेकी छु ।’ उद्यममा सफल हुँदै महिला आजभोलि महिलाको सहभागीता र प्रतिनिधित्व हरेक क्षेत्रमा बढ्दै गएको छ । कुनै पनि क्षेत्रमा सहभागितामात्र जनाउने नभइ नेतृत्व लिने तहमा महिला पुगेका छन् । उनीहरूले स्थापना गरेका उद्योगमा सयौं पुरुषहरूले रोजगारी पाइरहेका छन् । सीएनआई महिला नेतृत्व फोरमकी सभापति छाया शर्माले महिलाले नेतृत्व गरेका हरेक उद्योगले उदाहरणीय काम गरिरहेका बताइन् । कुनै समय कामको लागि पनि योग्य हुने नठानिएका महिलाहरू आज आफै उद्यमी बन्नु निकै खुसीको कुरा रहेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘महिलाहरू सक्षम हुँदै गएका छन्, आफ्नै लगानी क्षमतामा उद्यमी बन्नु र सयौंलाई रोजगार दिनु सानोतिनो कुरा होइन ।’ उनी यस्ता महिलाहरूलाई सरकारले पनि सहयोग गर्नुपर्ने बताउँछिन् । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले उद्योग क्षेत्रमा महिला सहभागीता बढ्दै गएको तर समस्या अझै धेरै रहेको बताउँछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला र पुरुष दुवै सँगसँगै अगाडि बढेमात्र देश विकास सम्भव हुने बताउँछन् । पछिल्लो समय नेपाली महिलाको नेतृत्व हरेक तहमा पुग्दै गएको भन्दै ओलीले सिँगो समाज अगाडि बढाई देशलाई सम्बृद्ध बनाउन सँगसँगै हाहातेमालो गरे अगाडि बढ्नु पर्नेमा जोड दिए ।