काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले उपभोक्ताका मुद्दा सरकारले सित्तैमा लड्नुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद सुवालले यस्तो बताएका हुन् । उनले बिलबिना उपभोक्ता अदालतमा उजुरी दिन नपाइने भएको कारण अनिवार्य बिल दिनुपर्ने व्यवस्था गर्न समेत माग गरे । मुलुकमा सन्तुलित विकास नहुँदा गाउँको बस्ती प्रदेश र संघको राजधानीमा स्थानान्तरण भइरहको जानकारी दिए ।
उनले जिल्लाभित्र मात्र बसाईसराई गर्न पाउने कानून बनाउन जरुरी रहेको समेत बताए । मोबाइल लगायतका प्राविधिक उपकरणहरु देशभित्रै उत्पादन गर्ने प्रबन्ध मिलाउनका लागि नयाँ पुस्तालाई उचित शिक्षा दिनुपर्ने समेत जानकारी दिए ।
उनले भने, ‘बिना बिल उपभोत्ता अदालतमा उजुरी दिन नपाइने हुँदा अनिवार्य बिल लिने दिने व्यवस्थामा सरकारको पहल हुनु जरुरी छ । उपभोक्ताको मुद्दा सरकारले सित्तैमा लडिदिनु आवश्यक छ । गाउँगाउँमा सडक पुग्यो, हातहातमा मोबाइल तर सन्तुलित विकास नहुँदा गाउँका बस्ति प्रदेश र संघको राजधानीमा स्थानान्तरण भइरहेको छ ।’
जनता प्रतिनिधि एवं सरकारका अधिकारीहरु आ—आफ्नो जिल्लामा बसेर देशको सन्तुलित विकासमा टेवा पुगाउन जरुरी रहेको उनको भनाइ छ ।