भन्सारसम्बन्धी विधेयकलाई सकेसम्म संगतिपूर्ण, सम्पुष्ट र राम्रो बनाऔं : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयकलाई सकेसम्म संगतिपूर्ण, सम्पुष्ट र राम्रो बनाउनुपर्ने बताएका छन् । मंगलबारको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । अर्थ समितिको बैठकमा आज भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल भएको थियो । सोही बारेमा अर्थमन्त्री पौडेलले विधेयकलाई सकेसम्म संगतिपूर्ण, सम्पुष्ट, सकेसम्म राम्रो बनाउनुपर्ने र अर्कोतिर छिटो भन्दा छिटो टुंगोमा पुर्याउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । उनले छिटो र राम्रो गर्नुपर्ने आवश्यकताका बीचमा तादात्म्यता कायम गरिकन समितिले यो विधेयकलाई अगाडि बढाइरको भन्दै खुसी व्यक्त गरे । अर्थमन्त्री पौडेलले भने,‘हामीलाई दुईवटा चिजसँगै गर्नुछ । एकातिर विधेयकलाई सकेसम्म संगतिपूर्ण, सम्पुष्ट, सकेसम्म राम्रो बनाउनुपर्ने एकातिर छ भने अर्कोतिर छिटो भन्दा छिटो टुंगोमा पु¥याउनुपर्ने आवश्यकता छ । छिटो र राम्रो गर्नुपर्ने आवश्यकताका बीचमा तादात्म्यता कायम गरिकन समितिले यो विधेयकलाई जसरी अगाडि बढाएको छ । त्यसका निम्ति खुसी व्यक्त गर्न चाहन्छु ।’ समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भन्सार भनेको भिन्नै ग्रह हो र भिन्नै ग्रहका लागि भिन्नै नियम बनाइरहेका छौं भन्नेगरी सोच्न नहुने बताए । उनले बैंक ग्यारेन्टीको अर्को एउटा विकल्प राख्दा अन्यथा नहुने बताए । अर्थ समितिमा केही दिनयता भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल भइरहेको छ ।
ज्ञानेन्द्रलाई भिलेनको संज्ञा दिँदै प्रचण्डले भने- राजनीतिक दललाई धोका नदिएको भए राजतन्त्र टिक्न सक्थ्यो
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र स्थापनाका लागि पूर्वराजा ज्ञानेन्द्र शाहले भिलेनको रुपमा सहयोग गरेको टिप्पणी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरुले गणतन्त्रको निम्ति आधार तयार पारेको र तत्ककालिन राजा शाहले भिलेनको रुपमा भुमिका खेलेको टिप्पणी गरे । उनले पूर्वराजा शाहले मूर्खतामार्फत पनि आफूहरुलार्य सहयोग गरेको बताए । सात राजनीतिक दलहरुमाथि धोका नदिएको भए राजतन्त्र अझै केही वर्ष टिक्ने जिकिर उनको छ । नेपाली जनतालाई अझ अधिकार सम्पन्न बनाउन, अझ सचेत हुन र समाजवादी क्रान्तिको यात्रामा अगाडि बढाउन नयाँ संकल्पको आधार पूर्वराजा शाहले तयार पारेका बताए । ‘भिलेनको रुपमा ज्ञानेन्द्रको भुमिका पनि गणतन्त्र स्थापनामा महत्वपूर्ण छ । अहिले पनि फेरि राजतन्त्र पुनःस्थापनाको कला बिहीन नाटक प्रदर्शन गरिएको छ । नेपाली जनतालाई अझ अधिकार सम्पन्न बनाउन, अझ सचेत हुन र समाजवादी क्रान्तिको यात्रामा अगाडि बढाउन नयाँ संकल्पको आधार तयार पारेका छन्, ’ उनले भने । अध्यक्ष दाहालले अहिले संविधान संशोधन नभइ समीक्षाको जरुरी रहेको बताए । उनले संविधानको समीक्षा गरेर मात्रै संशोधन गर्न आवश्यक रहेको बताए । उनले सबै शक्तिहरु एक ठाउँमा आएर समीक्षात्मक बहस सुरु गरेपछि मात्रै संशोधनले सही आकार लिनसक्ने जिकिर गरे । अध्यक्ष दाहालले भने, ‘मैले विभिन्न मञ्चबाट अब संविधानबारे समीक्षा बहस सुरु गरौँ । यो समीक्षा सबै राजनीतिक दल, सबै राजनीतिक शक्तिहरु सहभागी भएर समीक्षा गरौँ । जसले संविधान सभाबाट संविधान घोषणा गर्ने झन्डै ७० वर्ष पुरानो एजेण्डालाई स्थापित गरेका थिए । ’ अध्यक्ष दाहालले उत्पीडित वर्ग समुदायमा चेतना बिस्तार भइरहेको बताए ।
एथर स्कूटरको टेस्ट राइड जोन सुरु, २० हजार रुपैयाँसम्म क्यासब्याक र शून्य ब्याजदरमा ईएमआई अफर
काठमाडौं । एथर स्कूटरले बौद्धमा पहिलो टेस्ट राइड जोन सुरुवात गरेको छ । प्रिमियम ईभी प्रविधिलाई अझ सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धता अनुरूप यो विशेष टेस्ट राइड स्पेस चैत्र ५ गते किबु अपार्टमेन्ट, फूलबारी, बौद्धमा सञ्चालनमा आएको हो । वैद्य इनर्जी प्रालिले टेस्ट राइड जोनको उद्घाटन परम्परागत बौद्ध पूजासहित गरेको हो । टेस्ट राइड जोनको सुरुवातसँगै एथरले २० हजार रुपैयाँसम्मकाे क्यासब्याक र शून्य ब्याजदरमा ईएमआई अफर पनि दिने भएकाे छ । याे अफर सीमित अवधिको लागि मात्र हुनेछ । सुरुका ५० ग्राहकलाई मात्र यो अफर प्राप्त हुनेछ । एथर ४५० सिरिजका स्कूटरहरूको टेस्ट राइड गर्न पाउने वैद्य इनर्जी प्रालिले जनाएकाे छ । नेपालमा आफ्नो सुरुवातदेखि नै एथरले अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र ग्राहकहरूको विश्वासका साथ ईभी बजारलाई पुनः परिभाषित गर्दै आएको छ । हाल काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, पोखरा, र बुटवलमा गरी ६ वटा एक्सपेरियन्स सेन्टर सञ्चालनमा छन् । साथै एथरले काठमाडौं, भक्तपुर र चितवनमा तीनवटा सर्भिस सेन्टर सञ्चालन गरिसकेको छ भने चाँडै नै पोखरामा चौथो सर्भिस सेन्टर खुला गराउन लागेकाे छ। यसैगरी, एथरले नेपालभरका प्रमुख स्थानहरूमा २० वटा फास्ट चार्जिङ स्टेसनहरू स्थापना गरिसकेको छ ।
पुनः भूमि बैंकको स्थापना गर्ने तयारीमा सरकार
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी । काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले भूमि बैंक बनाउने प्रक्रिया पुनः सुरु गर्न लागेको बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भूमि बैंक बनाउने कुरा विगतमा पनि आएको तर विरोध भएपछि रोकिएको भन्दै अहिलेको सरकारले पुनः भूमि बैंक बनाउने प्रक्रियाका लागि छलफल सुरु गरेको जानकारी दिए । उनले भूमिसम्बन्धी अध्यादेश भूमिसम्बन्धी समस्याहरू समाधानका लागि छोटो बाटोबाट समस्या समाधान गर्न भूमिसम्बन्धी अध्यादेश ल्याएको भएपनि अब ऐन नै ल्याउने तयारी गरेको बताए । भूमि व्यवस्था समस्या आयोगले आफ्ना काम सुरु गरेको र वास्तविक सुकुम्वासी र भूमिहिनलाई सरकारको नियमानुसार जग्गा उपलब्ध गराउने मन्त्री अधिकारीले प्रतिबद्धता जनाए ।
होन्डा र सुजुकीले टेस्लाको सीओटू उत्सर्जन पूलमा सहभागी हुने
काठमाडौं । होन्डा र सुजुकीले २०२५ मा अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लासँग सीओटू उत्सर्जन पूल (कार्बन उत्सर्जन सञ्चय) साझा गर्ने भएका छन् । यसले उनीहरूको कुल उत्सर्जनलाई प्रभावकारी ढंगले व्यवस्थापन गर्न मद्दत पुर्याउँछ । यसले युरोपेली संघका नियमहरूको पालना गर्ने सजिलो बनाउँछ । यसमा स्टेलान्टिस, टोयोटा, फोर्ड, माज्दा र सुबारु पनि सामेल छन् । यदि युरोपेली संघका २०२५ का मध्यकालीन कार्बन कटौती लक्ष्यहरू वा तथाकथित सीएएफई मापदण्डहरू पूरा नगरेमा अटोमोटिभ निर्माताहरूलाई मिलियन युरोको जरिवाना तिर्नु पर्न सक्छ । कुनै एक कम्पनीले व्यक्तिगत रूपमा आफ्ना उत्सर्जन कटौती लक्ष्यलाई पुरा गर्न नसकेको खण्डमा पूलमा सामेल अन्य कम्पनीहरूको उत्सर्जनसँग मिलाएर कुल उत्सर्जन लक्ष पुरा गर्न सकिन्छ । पूलमा सामेल भएका कम्पनीहरूले आफ्नो उत्सर्जनका डेटा साझा गर्छन् । यसले तिनीहरूलाई कूल उत्सर्जन स्तरमा सन्तुलन बनाउन अनुमति दिन्छ । युरोपेली संघले कार्बन उत्सर्जनको स्तर घटाउनका लागि कडा मापदण्डहरू बनाएको छ । यदि कम्पनीहरूले आफ्नो उत्सर्जन स्तर घटाउन सक्दैनन् भने तिनीहरूले यो पूल प्रयोग गरेर नियमको पालना गर्न सक्छन् । यदि कुनै कम्पनीले निर्धारित उत्सर्जन कटौती लक्ष्य पूरा गर्न सकेन भने यो पूल प्रणाली प्रयोग गरेर यसले आफ्नो उत्सर्जन कटौती लक्ष्य पूरा गर्ने प्रयास गर्न सक्छ, अन्यथा ठूलो रकमको दण्ड लाग्न सक्छ ।
सेयर बजार घट्दो क्रममा, कारोबार रकम ४ अर्बमा झर्यो
काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से परिसूचक) ७.६६ अंकले घटेर २६९७.०४ बिन्दुमा झरेको छ । आज ८६ कम्पनीको मूल्य बढ्दा १५२ कम्पनीको मूल्य घटेको छ । ५ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३१३ कम्पनीको ८२ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३४ रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ३२ करोड रपैयाँको कारोबार भएको छ । साथै घलेम्दी हाइड्रोको २२ करोड, नेपाल रिइन्स्योरेन्सको १८ करोड, लाइफ इन्स्योरेन्स कर्पोरेशनको १६ करोड र नारायणी डेभलपमेन्ट बैंकको १३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । मंगलबार अन्यबाहेक सबै सेक्टरका सूचक घटेका छन् । सो सेक्टर ०.११ प्रतिशत बढेकाे छ । घटेका सेक्टरहरुको गिरावट दर १ प्रतिशतमुनि रहेकाे छ । बैंकिङ ०.१४, विकास बैंक ०.४२, फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.३६, हाइड्रोपावर ०.१७, लगानी ०.४२, जीवन बीमा ०.७०, उत्पादन ०.२३, माइक्रोफाइनान्स ०.३१, व्यापार ०.६६ तथा निर्जीवन बीमा ०.५४ प्रतिशतले घटेकाे छ ।
२५ करोड बराबरको विदेशी मुद्रासहित पक्राउ (तस्बिरहरू)
काठमाडौं । काठमाडौंको टोखा नगरपालिकास्थित झोर क्षेत्रबाट २५ करोड रुपैयाँ बराबरको यूरो र अमेरिकी डलरसहित पक्राउ परेका व्यक्ति रसुवाको केरुङतर्फ जाँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सोमबार राति ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर लाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकका ४३ वर्षीय कुसान लामालाई पक्राउ गरेको थियो । भोटेकोशी गाउँपालिका–१ का लामाले चालक सिट पछाडि फल्स बटम बनाएर रकम राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका लामालाई प्रहरीले मंगलबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
बैंकर, सीए, डाक्टर र शिक्षक पनि पर्दैछन् स्क्यामरको पासोमा, व्यवसायी र धनसम्पत्ति भएकाहरू नै टार्गेटमा
काठमाडौं । काठमाडौंको ठैबका राकेश मगर (नाम परिवर्तन) लाई ६ महिना पहिले ह्वाट्सएपमा एउटा म्यासेज आयो । उनले हत्तपत्त मेसेज खोले । जहाँ लेखिएको थियो- तपाईं भाग्यशाली हुनुहुन्छ, तपाईंले लक्की ड्रमार्फत ५ हजार बोनस जित्नुभएको छ, यो रकम तपाईंले प्राप्त गर्न केही प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ ।’ राकेश पनि पाँच हजारमा लोभिए । उनले थप कुरा गरे । ह्वाट्सएपमै उनीसँग जोडिएको व्यक्तिले भनेअनुसार उनले त्यही काम गर्दै गए । कुरा हुँदै जाँदा उनलाई पैसा पठाइदिने बैंक डिटेल्स मागियो । राकेशले जे-जे काम उसले लगायो ती सबै काम गर्दै गए । नभन्दै उनको खातामा पाँच हजार रुपैयाँ आयो । उनी खुसी भए । त्यो व्यक्ति को थियो ? रकम केको आधारमा आयो ? उनलाई केही थाहा थिएन र यो विषयमा खोजी पनि गरेनन् । उनलाई फेरि प्रलोभन देखाइयो । ती व्यक्तिले उनलाई अब तपाईं लगानी गर्नुहोस्, त्योबापत तपाईंलाई यति प्रतिशत बानेस आउँछ भन्दै प्रलोभन देखायो । राजेश पनि जसोजसो भन्यो त्यहींअनुसार काम गर्दै गए । सुरुमा उनले केही रकम पाउँदै गए । उनी झन् आकर्षित भए । कामै नगरी पैसा आउन थालेपछि उनको काम दिनभरि अनलाइनमै बस्ने भयो । राकेशलाई यसरी अन्य साथीहरू पनि यो काममा लगाउन भन्यो । उनले अरु साथीहरूलाई पनि सिकाउँदै गए । जब उनले लगानी गर्दागर्दै दुई लाख पुर्याए तब एकाएक उनीसँग कुराकानी गर्ने व्यक्तिले उनलाई ब्लक गरे । एउटा अन्जानको व्यक्तिसँग ह्वाट्स एपमा बोलेकै कारण राकेशले आफूसँग भएको पैसामात्र गुमाएनन्, उनले काम गर्न लगाएका अन्य साथीहरूको पैसा पनि गयो । अहिले उनीहरू साइबर ब्यूरोमा धाइरहेका छन् । राकेश त एक प्रतिनिधि पात्रमात्र हुन् । पछिल्लो समय पढेलेखेका मात्र हैन, बैंकर, सीए, शिक्षकदेखि डाक्टरहरू पनि स्क्यामरको पासोमा पर्न थालेका छन् । काठमाडौंको भोटाहिटीमा रहेको साइबर ब्यूरोमा अहिले यस्ता दैनिक ४० भन्दा बढी व्यक्ति यसरी नै फसेको गुनासो लिएर आउने गरेका छन् । धन सम्पत्ति भएकाहरू नै टार्गेटमा ठगी र स्क्यामको जालोमा सर्वसाधारणमात्रै होइन, पढेलेखेका शिक्षित व्यक्ति नै पर्ने गरेका छन् । साइबर ब्यूरोका प्रवक्ता दीपक अवस्थी प्रविधिमा राम्रै दख्खल भएका व्यक्ति पनि यसको सिकारमा पर्ने गरेका बताउँछन् । उनी भन्छन्, ‘स्क्यामरले यस्तो जालो बनाएका छन् कि व्यक्तिको दिमागलाई इमोसनल ब्ल्याकमेलिङ गरेर व्यक्तिलाई आफ्नोबसमा पार्छन् । जो स्क्यामरको जालोमा पर्छ, ऊ तबसम्म त्यहाँबाट उम्कँदैन जब ऊ आफूसँग भएको सम्पत्ति सक्दैन ।’ प्रवक्ता अवस्थीले एकजना डाक्टर एक करोड रुपैयाँ डुबेपछि बल्ल साइबर ब्यूरोमा पुगेको जानकारी गराए । यस्ता ठगहरूले उच्च प्रोफाइल भएका र धनसम्पत्ति भएकाहरूलाई बढी टार्गेट गर्ने गरेको पाइएको छ । ‘उनीहरूसँग यतिसम्मको सूचना हुन्छ कि यो व्यक्ति कस्तो हो, उसले के काम गर्छ, कति सम्म कमाउँछ भन्नेसम्मको जानकारी हुन्छ,’ उनी भन्छन्, ‘हामीले कल्पनासमेत गर्न नसकेका कुराहरू ठगले पत्ता लगाउन सक्छ ।’ अवस्थी यस्ता जालोबाट उम्कन कुनै पनि अपिरिचत व्यक्तिले पठाएको भिडियो, फोटो लिंक नखोल्ने र त्यस्तो मेसेज आउनेबित्तिकै रिपोर्ट गर्ने अथवा ब्लक गर्नुपर्ने बताउँछन् । ठग्ने विदेशी, ठगिने नेपाली नागरिकलाई ठगी गर्ने व्यक्तीको जालो पत्ता लगाउन प्रहरीलाई नै हम्मे हम्मे नै पर्ने गरेको छ । यसमा कारोबार गर्ने व्यक्तिदेखि बैंक खाता समेत नेपाली नै प्रयोग भएको पाइन्छ । नेपाली खाता नै प्रयोग आएको प्रमाण भेटिँदा अपराध कार्यमा संग्लग्न व्यक्ति नेपाली हो वा विदेशी भन्ने नै प्रहरीलाई पहिचान गर्न गाह्रो हुन्छ । अहिलेसम्म भएको अनुसन्धानका आधारमा नेपाली नागरिकलाई प्रयोगमा ल्याइ कारोबार पनि नेपाली बैंकमै भएपनि उनीहरूले पठाएको मेसेज अथवा आवाज सुन्दा विदेशी नै हो भन्ने देखिएको अनुसन्धानमा संलग्न व्यक्तिकोहरूको भनाइ छ । ‘उनीहरूले स्पष्ट नेपाली बोलेको पनि पाइँदैन, गुगल ट्रान्सलेट गरेर नेपाली बोलिरहेको जस्तो देखिएकाले विदेशीहरूले नेपालमा जालो फैलाएको प्रवक्ता अवस्थीको बुझाइ छ । स्क्यामको कुरा गर्दा सबैभन्दा पहिलो सामाजिक सञ्जालमा एउटा विज्ञापन आउँछ । जहाँ घरमै बसेर लगानी गरेर पैसा कमाउन सकिन्छ, त्यहाँ क्लिक गरेपछि त्यो मान्छेसँग कुरा हुन्छ, कुरा गर्दै जाँ ह्वाट्सएप र टेलीग्रामतिर लान्छ । टेलिग्राम ग्रुप बनाएको हुन्छ । अवस्थी भन्छन्, ‘अहिलेसम्मको केस हेर्दा यो सञ्चालन गर्ने व्यक्ति नेपालभन्दा बाहिरको जस्तो देखिने गरको छ । तर, समस्या पैसा नेपालीको खातामा मात्र गएको देखिन्छ । पैसा पठाउँदा नेपाली क्युआर कोड दिन्छ । यसरी हेर्दा नेपाली नै पीडक र पीडित दुवै छन् । बाहिर रहेको मान्छेले खुल्ला बोर्डरका कारण भेटेर पनि लिन सक्ने वा हुण्डीमार्फत लिन सक्ने भएकाले नेपाली खाताबाट लिएको पाइँदैन ।’ ‘मुख्य खेलाडी बाहिरकै हो जस्तो लाग्छ । एउटा यो पनि हुनसक्छ । तर, अर्को बाहिरको नामले नेपालभित्रै यो गेम चलाइरहेको पनि हुन सक्छ,’ उनले थपे । उनी यस्ता सूचना समयमा पनि नआउने भएकाले ट्र्याक गर्न पनि सजिलो नभएको बताउँछन् । उच्चपदस्थ व्यक्तिकै नामबाट ठगी नेपालमा ठगी गर्ने मनसाय भएका व्यक्तिले उच्च पदस्थ व्यक्तिको इमेलबाट समेत ठगी गरेका घटनाहरू छन् । साइबर ब्यूरोका अनुसार नेपाल प्रहरीका उच्च अधिकारीको नामबाट व्यक्तिको इमेलमा तपाईंले यो–यो ठाउँमा गैरकानूनी काम गर्नुभएको छ भन्दै धम्कीपूर्ण इमेलहरू पठाउने र २४ घण्टाभित्र यसको प्रतिउत्तर नदिए यस्तो उस्तो दण्ड जरिवाना र सजाय तोकिने छ भन्दै इमेल पठाउने गरेको पाइएको छ । यसरी पठाएको इमलेमा इमेल प्राप्त गर्ने व्यक्तिले प्रक्रिया जनाउने बित्तिकै व्यक्तिको पुरै विवरण ह्याकरले ह्याक गर्ने गरेको पाइएको छ । अवस्थी भन्छन्, ‘अदालतको आदेशबमोजिम नेपाल प्रहरीको साइबर ब्यूरो, राष्ट्रिय अनुसन्धान केन्द्र, केन्द्रीय अनुसन्धान विभागको दायरामा परेको भन्दै ठग्ने प्रवृत्ति बढेको छ ।’ इमेलबाट डर देखाइ पैसा माग्ने मारमा सबैभन्दा बढी व्यवसायीहरू पर्ने गरेका छन् । यसरी उच्च पदस्थको नामबाट इमेल पठाइ ठग्ने गिरोहको बारेमा अनसन्धान गर्दा जर्मनीको डोमेनबाट आएको पत्ता लागेको छ । डिजिटल अरेस्ट नाम दिइएको यस्तो ठगी नेपालमा पनि बढ्दै गएको अवस्थीले बताए । यस्ता घटनाहरू केही समय पहिले भारतलगायत अन्य देशमा बढ्दै गएको भएपनि नेपालमा पनि यो जालो फैलिएको छ । अवस्थी नेपालमा साइबर सुरक्षासम्बन्धी चेतनाको अभावका कारण यस्ता घटनाहरू बढ्दै गएको बताउँछन् । ७ महिनामा ७८ करोड बढी ठगी नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार चालु आर्थिक वर्षको ७ महिनामा मात्र ७८ करोड ४० लाख २० हजार १ सय २७ रुपैयाँ बढीको ठगी भएको छ । योभन्दा अगाडि आर्थिक लागत नराख्ने गरिएकोमा चालु आर्थिक वर्षयता भने आर्थिक रकमको पनि लागत राख्ने गरेको ब्यूरोले जानकारी दिएको छ । साइबर ब्यूरो स्थापना भएयताको हिसाब नराखेपनि अनुमानका आधारमा मात्रै अर्बौं रुपैयाँसम्मको ठगी भएको हुनसक्ने अधिकारीहरू बताउँछन् । ७ महिनामा ७८ करोड बढी रकम ठगीको उजुरी परेपनि पीडितलाई भने जम्मा चार करोड जतिमात्र फिर्ता गर्न सकेको प्रवक्ता अवस्थी बताउँछन् । उनका अनुसार चालु आर्थिक वर्षको ८ महिनामा ब्यूरोमा दर्ता भएका पाँच हजार एक सय ७३ उजुरीमा यतिको रकम ठगी भएको पाइएको हो । उनी आर्थिक रूपमा डिजिटल, अनलाइनमार्फत ठग्नेक्रम नराम्रो बढिरहेको छ । अब पनि नागरिक सचेत हुने होइन भने अवस्था अझै भयाभह हुन सक्ने उनको भनाइ छ । बर्सेनि बढ्दै उजुरी विश्वमा जति धेरै प्रविधिको विकास भयो, त्यसैगरी अपराधिक गतिविधिको पनि ग्राफ बढेको छ । नेपाली जानी नजानी भए पनि गलत काम गर्दैछन् । आफ्नो खाताको दुरुपयोग गरेर आएको पैसा अर्को खातामा पठाउने १० प्रतिशत, ५ प्रतिशत कमीशन खाने र पैसा कमाइ भइरहेको छ भन्ने सोचले गलत गरिरहेका छन् । यसरी जानअञ्जानमा गरिरहेको काममा भोलिका दिनमा तिर्न पर्यो भने तिनीहरुको थाप्लोमा आउँछ । अहिलेसम्म तिनीहरुको खाताबाट जति पठाइएको छ, त्योअनुसारको तिर्नुपर्ने बाध्यता हुन सक्छ । तीन वर्षको तथ्यांक हर्ने हो भने पनि नेपालमा यस्ता ठगीका घटना बढ्दै गएका छन् । साइबर ब्यूरोको तथ्यांकअनुसार आजभन्दा तीन वर्ष अगाडि अर्थात आर्थिक वर्ष २०७९/०८० मा १ हजार ८ सय १५ उजुरी परेका थिए भने गत आर्थिक वर्ष तथ्यांक बढेर चालु आर्थिक वर्ष २०८०/०८१ मा चार हजार एक सय उजुरी परेका थिए । चालु आर्थिक वर्ष २०८१/०८२ को ८ महिनामै पाँच हजार एक सय ७३ उजुरी साइबर ब्यूरोमा उजुरी परेका छन् । तीन वर्षको तथ्यांक मात्र हेर्ने हो भने पनि अवस्था डरलाग्दो देखिएको छ । यस्ता ठगहरूको जालोबाट ठगिनबाट बच्न विज्ञहरू अपिरिचत कुनैपनि व्यक्तिले पठाएका लिंक वा म्यासेजलाई इग्नोर गर्नुपर्ने बताउँछन् ।