बीवाईडीले ल्यायो सुपर चार्जिङ ईभी प्रविधि, ५ मिनेटको चार्जमै ४०० किलोमिटर यात्रा
काठमाडौं । बीवाईडीले सोमबार विद्युतीय सवारीसाधन (ईभी) हरूका लागि नयाँ प्लेटफर्म अनावरण गरेको छ । यसले ईभीलाई पेट्रोल/डिजेल भर्न लाग्नेजत्तिकै छिटो चार्ज गर्न सकिने बताइएको छ । साथै कम्पनीले पहिलो पटक चीनभर चार्जिङ नेटवर्क निर्माण गर्ने घोषणा पनि गर्यो । कम्पनीका संस्थापक वाङ चुआनफुले शेन्जेन मुख्यालयबाट लाइभस्ट्रीम गरिएको कार्यक्रमका क्रममा बताएअनुसार, ‘सुपर ई–प्लेटफर्म’ भनिने नयाँ प्रणालीमा एक हजार किलोवाटको अधिकतम चार्जिङ गति हुनेछ । यस प्रणाली प्रयोग गर्ने कारहरूले मात्र ५ मिनेटको चार्जमा ४०० किलोमिटर (२४९ माइल्स) यात्रा गर्न सक्नेछन् । एक हजार किलोवाटको चार्जिङ गति टेस्लाका सुपरचार्जरहरूको भन्दा दोब्बर छ, जसको पछिल्लो संस्करणमा अधिकतम ५०० किलोवाट चार्जिङ क्षमता छ । छिटो चार्ज हुने प्रविधि ईभी अपनाउने दर बढाउनका लागि महत्त्वपूर्ण मानिन्छ । वाङले भने, ‘हाम्रा प्रयोगकर्ताहरूको चार्जिङसम्बन्धी चिन्ता पूर्ण रूपमा समाधान गर्नका लागि हामीले विद्युतीय सवारीसाधनहरूको चार्जिङ समय पेट्रोल सवारीसाधनहरूको इन्धन भर्ने समय जत्तिकै छोटो बनाउने लक्ष्य राखेका छौं ।’ नयाँ चार्जिङ संरचना सुरुमा दुई नयाँ ईभीमा उपलब्ध हुनेछ- हान एल सेडान टाङ एल एसयूभी जसको मूल्य २ लाख ७० हजार युआन (३७ हजार ३२८.९१ डलर) बाट सुरु हुनेछ । साथै बीवाईडीले नयाँ प्लेटफर्मसँग मेल खाने गरी चीनभर ४ हजारभन्दा बढी अल्ट्रा-फास्ट चार्जिङ पाइलहरू (चार्जिङ युनिटहरू) निर्माण गर्ने बताएको छ । तर कम्पनीले यस्ता सुविधाहरू निर्माण गर्न कति लगानी गर्ने र कहिलेसम्म पूरा गर्ने भन्ने बारे कुनै ठोस समयसीमा उल्लेख गरेको छैन । हालसम्म बीवाईडी चलाउनेहरूले अन्य कार निर्माताहरूका चार्जिङ सुविधाहरू वा तेस्रो पक्षको सार्वजनिक चार्जिङ पोलहरूमा भर परेर गाडी चार्ज गर्दै आएका छन् । टेस्लाले सन् २०१४ देखि चीनमा आफ्ना सुपरचार्जरहरू उपलब्ध गराएको छ । साथै बीवाईडीका साना चिनियाँ प्रतिस्पर्धीहरू जस्तै- नीओ, ली अटो, एक्सपेङ्ग र जिक्रले पनि वर्षौंदेखि चार्जिङ सुविधाहरूमा व्यापक लगानी गर्दै निर्माण गरिरहेका छन् । बीवाईडी मुख्य रूपमा प्लग–इन हाइब्रिडमा भर पर्छ, जसको बिक्री गत वर्ष ४.२ मिलियन युनिट पुगेको थियो । यस वर्ष कम्पनीले ५/६ मिलियन युनिट बिक्री गर्ने लक्ष्य राखेको छ । चार्जिङ सिस्टममा परिवर्तन ? वातावरणीय रक्षा कोषकाका अनुसार अमेरिकामा औसत ईभी दायरा ३०० माइल (४८३ किलोमिटर) जति छ, तर ब्याट्री पावर भएका ईभी चार्ज गर्न कारको मोडेल र चार्जिङ पोइन्टको गतिको आधारमा २० मिनेटदेखि केही घण्टासम्म लाग्न सक्छ । डुने इनसाइजट्सका संस्थापक तथा सीईओ माइकल डनले भने, ‘छिटो चार्जिङ पक्कै फाइदाजनक हो तर ईभी मालिकहरूका लागि प्राथमिकतामा यो ब्याट्रीको कुल दायरा र चार्जिङ पोर्टहरूको सुविधा भन्दा पछि आउँछ ।’ ‘बीवाईडी अब आफ्ना प्रविधिसम्बन्धी उपलब्धिहरू सुनाउने मामिलामा धेरै निपुण बन्दै गएको छ । एउटा परम्परागत इन्जिनियरिङ कम्पनीले आफ्नो प्रतिस्पर्धात्मक हतियारमा एउटा महत्त्वपूर्ण मार्केटिङ पक्ष थपेको छ,’ उनले थपे । घोषणासँगै बीवाईडीको सेयर उकालो सुपर चार्जिङ ईभी प्रविधिको घोषणा गरेसँगै बीवाईडीको सेयरहरू मंगलबार उकालो लागे । बीवाईडीका हङकङमा सूचीकृत सेयरहरू बजार खुल्नेबित्तिकै ६ प्रतिशतभन्दा धेरैले वृद्धि भए । जसले नयाँ ५२ हप्ते उच्चतम स्तर कायम ग¥यो । पछिल्लो पटक ती सेयरहरू झण्डै २.५ प्रतिशतले माथि कारोबार गरिरहेको देखिएको थियो, जुन यस वर्ष हालसम्म ५१ प्रतिशतले भन्दा धेरै वृद्धि हो । यसैबीच, बीवाईडीका शेन्जेनमा सूचीकृत सेयर मूल्य मंगलबार बिहान २ प्रतिशतभन्दा धेरैले वृद्धि भयो । (एजेन्सीहरूको सहयोगमा) युरोपमा तेस्रो प्लान्ट बनाउनेबारे विचार गर्दै बीवाईडी हाइब्रिडमा सफलतापश्चात ईभीमा जम्दै टोयोटा, २०२५ र २६ मा नौवटा नयाँ ईभी ल्याउने निसानले पायो नयाँ सीईओ, दिशाहीन कम्पनीको लय अनुभवी एस्पिनोसाको हातमा मस्कलाई ट्रम्प प्रशासन घाँडो, वाशिंगटन प्रवेशसँगै टेस्लाका सेयर घट्दै
अब गोकर्णेश्वर नगरवासीले क्यान्सरको उपचारमा विशेष छुट पाउने
काठमाडौं । गोकर्णेश्वर नगरपालिका र भक्तपुर क्यान्सर अस्पताल भक्तपुरबीच द्विपक्षीय सम्झौता भएको छ । सोमबार नगरपालिका र अस्पतालबीच स्वास्थ्य जाँच, उपचार गर्ने, गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको हो । सम्झौतापत्रमा गोकर्णेश्वरका नगर प्रमुख दीपक रिसाल र अस्पतालका कार्यकारी निर्देशक डाउज्ज्वल चालिसेले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार अब गोकर्णेश्वरका स्थायी रूपमा बसोवास गरेका नागरिकले भक्तपुर अस्पतालमा उपचार गराउँदा विभिन्न छुट तथा सुविधा पाउने भएका छन् । अब एक वर्षमा १ लाख बराबरको उपचारमा बिरामीले ३५ प्रतिशत मात्र शुल्क तिरे पुग्छ । सम्झौताअनुसार अस्पतालले उपचारको कुल खर्चमा १५ प्रतिशत प्रतिशत र साथै सिटीस्क्यान, मेमोग्राफी सेवामा ३० प्रतिशत छुट प्रदान हुने नगरपालिकाले जनाएको छ । सो अवसरमा नगर उपप्रमुख सान्नानी लामा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली, अस्पतालका प्रशासन प्रमुख राजाराम तजले, गोकर्णेश्वरका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायलगायतको उपस्थिति रहेको थियो ।
टोखा-छहरे सुरुङ अध्ययन गर्न आएन चिनीयाँ टोली, सम्झौता गरेको चार महिनासम्म पनि बेखबर मन्त्रालय
काठमाडौं । उच्चस्तरीय टोली चीन भ्रमणमा जाँदा होस् या चीनको उच्चस्तरीय टोली नेपाल आउँदा, प्रायः नछुट्नेमध्येको एक आयोजना हो, टोखा–छहरे सुरुङमार्ग । यो आयोजनाको चर्चा चल्न थालेको वर्षौं भयो । तर, अहिलेसम्म अध्ययन नै पूरा हुन सकेको छैन । गत मंसिर १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौतामा यो परियोजनालाई पनि समेटेका थिए । सहमतिसँगै टोखा छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ टोली छिट्टै नेपाल आउने सन्देश प्रवाह भएपनि हालसम्म त्यसको कुनै सुरसार छैन । ओली चीनबाट फर्केको चार महिना बितिसक्दा समेत यो परियोजनाको काम अगाडि बढाउने विषयमा दुवै पक्ष बेखबर छन् । सुरुङमार्ग निर्माणको मुख्य काम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अगाडि सार्नुपर्ने भएपनि यस विषयमा मन्त्रालय पनि जानकारीविहीन छ । दुई महिनाअघि नै सुरुङमार्गको सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नका चिनियाँ टोली आउने भनिएको थियो । तर, हालसम्म नआएको मन्त्रालयअन्तर्गतको सडक विभागले जानकारी दिएको छ । विकास सहायता कार्यान्वन महाशाखाका सिनियर डिभिजन इन्जिनियर मुकुन्दराज अधिकारीका अनुसार हालसम्म यस परियोजनाको विषयमा चीनबाट कुनै जानकारी आएको छैन । उनले भने, ‘यो आयोजनालाई के गर्ने भनेर न न्त्रालयबाट सूचना आएको छ न चीनबाट । यो विषयमा हामीलाई कुनै जानकारी छैन, यो आयोजनाको काम छिट्टै अगाडि बढ्ने भने पनि कुनै सुरसार छैन ।’ विभागका अनुसार आजभन्दा ५ वर्षअघि चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा चीनले आफ्नो देशको सीमाबाट सबैभन्दा छिटो नेपालको राजधानी जोड्ने उक्त सुरुङमार्ग अनुदानमा बनाइदिने भनेको थियो । त्यसपछि सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययनका लागि चिनियाँ परामर्शदाता नेपाल आएको थियो । परामर्शदाता टोलीले सुरुङमार्गको निर्माण गर्ने स्थानको अध्ययन गरेको थियो । प्रारम्भिक अध्ययनका क्रममा टोलीले फिल्ड अवलोकन, तथ्यांक संकलन, गल्छी र बालाजु सडकको अध्ययन गरेको थियो । उक्त अध्ययन सामान्यमात्र भएको बुझिन्छ । परराष्ट्र मन्त्रालय भन्छ- सम्पर्कमै छौं परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार हाल यो परियोजनाको विषयमा सम्बन्धित मन्त्रालयले अध्ययन गरिरहेको छ । उनले भने, ‘यो काम सम्बन्धित मन्त्रालयको हो । हामीले त चीनसँग समन्वय मात्रै गरिदिने हो । हाम्रोतर्फबाट हुने काम भइरहेकै छ । बाँकी सम्बन्धित मन्त्रालयले गर्ने हो ।’ उनले आफूहरूले चीनसँग पनि नियमित छलफल गरिरहेका जानकारी दिए । छहरे–टोखा सुरुङमार्ग निर्माण गर्ने सहमति भएपछि नुवाकोट र रसुवाका नागरिकहरूमा उत्साह छाएको थियो । तर, अहिले त्यो उत्साह सेलाउँदै गएको त्यहाँका स्थानीयहरू बताउँछन् ।
चालु आर्थिक वर्षमा सहरी विकास मन्त्रालयको वित्तीय प्रगति १७.९३ प्रतिशत
काठमाडौं । शहरी विकास मन्त्रालयले मन्त्रालयअन्तर्गत चालु आर्थिक वर्षमा बोलपत्र आह्वान भएका १ हजार ६ सय २३ वटा कार्यक्रमहरुमध्ये पनि १ हजार ९८ वटा कार्यक्रमहरुको ठेक्का सम्झौता भइ १२४ वटा कार्यक्रमहरुको निर्माण कार्य सम्पन्न भएको जनाएको छ । मंगलबार मन्त्रालयको चालु आ.व.को प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायण मैनालीकाअनुसार शहरी विकास मन्त्रालयको वित्तीय प्रगतिमा चालु आर्थिक वर्ष २०८१/०८२ मा यस वर्षको बजेट जम्मा ९१ अर्ब ५५ करोड २३ लाख रहेकोमा संघतर्फ ६८ अर्ब ३५ करोड ८३ लााख ३९ हजार रहेको छ । जसमध्ये चालुतर्फ ४ अर्ब ८२ करोड ३८ लाख २३ हजार र पुँजीगततर्फ ६३ अर्ब २३ करोड ४५ लाख १६ हजार विनियोजित रहेको उनले जानकारी दिए । हालसम्म चालुतर्फको खर्च २५.२३ प्रतिशत रहेको छ भने पुँजीगततर्फको खर्च १७.४३ प्रतिशत रहेको छ । हालसम्म जम्मा १२ अर्ब २४ करोड ३ लाख ८७ हजार (१७.९३ प्रतिशत) खर्च भएको बताए । चालु आर्थिक वर्षको ३ हजार ७ सय १६ वटा नयाँ कार्यहरुमध्ये १ हजार ६ सय २३ वटा कार्यक्रमको बोलपत्र आह्वान भइसकेको र बोलपत्र आह्वान भएका १ हजार ६ सय २३ वटा कार्यक्रमहरुमध्ये १ हजार ९८ वटा कार्यक्रमहरुको ठेक्का सम्झौता भइ १२४ वटा कार्यक्रमहरुको निर्माण कार्य सम्पन्न भएको बताए । बोलपत्र आह्वान हुन नसकेको बाँकी २ हजार ९३ वटा कार्यक्रमहरुमध्ये २८८ वटा कार्यक्रमहरु बहुवर्षीय स्वीकृतिको लागि प्रश्तावित कार्यक्रमहरु हुन् भने ८० वटा कार्यक्रमहरु संशोधनका लागि प्रश्तावित कार्यक्रमहरु भएको बताए । संशोधनका लागि प्रश्तावित ८० वटा कार्यक्रमहरुमध्ये ४४ वटा संशोधन गरी आइसकेको र बाँकी संशोधन हुने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ । १ हजार ४ सय ५९ वटा पुराना तथा बहुवर्षीय स्वीकृत कार्यक्रमहरुमध्ये चालु आर्थिक वर्षमा जम्मा २ सय ८० वटा कार्यक्रमहरु सम्पन्न भइसकेको बताए । उनले ३३० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य रहेकोमा हालसम्म १६२ वटा निर्माण सम्पन्न भएको बताए । स्थानीय तहबाट हुने सार्वजनिक सेवा प्रवाह सहज रुपले दिने उद्देश्यका साथ ६८ वटा स्थानीय तहको प्रशासनिक भवन निर्माण गर्ने लक्ष्य रहेकोमा हालसम्म ३६ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माण कार्य सम्पन्न गरी सार्वजनिक सेवा सुचारु भएको बताए । १२९ वटा पालिकाका प्रशासकीय भवन निर्माणधीन अवस्थामा रहेको बताए । यस आर्थिक वर्षमा १ हजार ७ सय २३ हेक्टर सिञ्चित क्षेत्रफल सिञ्चित गर्ने उद्देश्य रहेकोमा साना सिंचाई कार्यक्रम कार्यान्वयन अन्तर्गत ६७८ हेक्टर क्षेत्रफल सिंचाई सुविधा पुगेको बताए ।हालसम्म भैँसेपाटीस्थित मन्त्रीनिवासको दोस्रो चरणको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भइ बाँकी निर्माण कार्य भइरहेको र चण्डीदल गणको लागि भवन निर्माण कार्य सम्पन्न भइ हस्तान्तरणको प्रक्रियामा रहेको र प्रयोगमा आइसकेको मन्त्रालयले जनाएको छ ।
झोरबाट २५ करोड रकमसहित एकजना पक्राउ
काठमाडौं । प्रहरीले २५ करोड रुपैयाँभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट उक्त रकमसहित गए राति एक जनालाई पक्राउ गरेको हो । कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिबाट उक्त परिमाणमा रकम बरामद गरिएको हो । पक्राउ परेका व्यक्तिको नाम भने खुलाइएको छैन । ना१ख १६५२ नम्बरको ट्रकबाट नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत विभिन्न मुलुकका मुद्रा बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक बस्नेतले बताए ।
१४ सरकारी अस्पतालमा थपिँदैछन् यी १८ सेवा (सूचीसहित)
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत्र महिनाभर १४ वटा संघीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई थप सुविधा हुने गरी सेवा थप तथा सुधारमा जोड दिंदै आएका छन् । सोहीअनुसार संघीय अस्पतालहरुले सेवा विस्तार तथा थप गर्दै आइरहेका छन् । सोहीअनुरुप १४ वटा अस्पतालमा चैत्र महिनाभित्र १८ विभिन्न सेवा तथा सुविधा थप गरिने गरी तयारी गरिएको स्वास्थ्य सचिव डा। रोशन देवकोटाले बताए । मन्त्रालयको तालिकाअनुसार अस्पतालहरुमा एक्सरे फिल्म हटाउने देखि आइभीआर सेवा थाल्ने, शैय्या विस्तार आदि छन् । मन्त्रालयले बनाएको तालिकाअनुसार वीर अस्पतालमा चैत्र दोश्रो साता काठमाडौं महानगरसँगको सहकार्यमा सर्भाकल क्यान्सरको परीक्षण सेवा आरम्भ हुनेछ । वीरसँगै ट्रमा सेन्टरले चैत्र महिनाभित्र एमआरआई, सीटीस्क्यान तथा एक्सरेमा फिल्म प्रयोग हटाएर डिजिटल नतिजा दिने छन् । भरतपुर अस्पतालले क्याथ ल्याब चैत्र महिनाभित्र सञ्चालन गर्ने तयारी गरेको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले न्युरोलोजी सेवामा इलेक्ट्रोमाइलोग्राफी तथा एनसीभी परीक्षण चैत्र महिनाभित्र थप गर्नेछ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले फरेन्सिक विभागबाट ७२ शव राख्न सक्ने गरी चैत्रभित्र क्षमता विस्तार गर्नेछ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमसीएच भवन उद्घाटन गरेर ओपीडी चैत्र दोश्रो साताभित्र आरम्भ गर्नेछ । कान्ति बाल अस्पतालले बालबालिकाका लागि हेमोडाइलासिस सेवा चैत्र तेश्रो साताभित्र आरम्भ गर्नेछ । यसैगरी, भक्तपुर क्यान्सर अस्पतालले चैत्र अन्तिम साताभित्र ४ शैय्याको पिआइसीयु स्थापना तथा बाल क्यान्सर उपचार वार्ड विस्तार गर्नेछ । परोपकार प्रसुती अस्पतालले भने कुपण्डोलको नयाँ भवनमा सिमुलेसन प्रयोगशाला आरम्भ गर्नेछ । तनहुँको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रले चैत्र दोश्रो साताभित्र हेमोडाइलासिस सेवा थाल्नेछ । डडेलधुरा अस्पतालमा एकीकृत ल्याब नमूना शंकलन सेवा चैत्र तेश्रो साताभित्र शुरु हुनेछ । नारायणी अस्पतालले एनआइसीयुमा इउमआर लागू गर्ने, हिस्टोप्याथोलोजी सेवा थाल्ने, कोल्पोस्कोपी सेवा तथा क्रिटोथेरापी सेवा चैत्र तेश्रो साताभित्र थाल्ने तयारी गरेको छ । भेरी अस्पतालले भने १० आइसीयु शैय थपसँगै जलन वार्डमा ६ शैय्या थप गर्ने तयारी गरेको छ । चैत्रभित्र सबै सेवा नागरिकले प्राप्त गर्ने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । १४ अस्पतालमा थपिने सेवाको सूची
सुनको मूल्य हालसम्मकै महँगो, तोलामा कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड तोडेको छ । अघिल्लो दिनको तुलनामा मंगलबार सुन प्रतितोला ११ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँ पुगेको छ । सोमबार १ लाख ७४ हजार १ सय रुपैयाँ थियो । यसअघि गत शुक्रबार सुनको मूल्यले १ लाख ७४ हजार ५ सय रुपैयाँको उच्च रेकर्ड बनाएको थियो । चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेको छ । सोमबार प्रतितोला २ हजार ४० रुपैयाँ रहेको चाँदी आज २ हजार ५० रुपैयाँ पुगेको छ ।
बीवाईडीका ब्याट्री अब रिसाइक्लिङ गरिने, ल्यायो यस्तो कार्यक्रम
काठमाडौं । ग्लोबल रिसाइक्लिङ डेको अवसरमा बीवाईडी अटो इन्डष्ट्रिले कम्प्रिहेन्सिभ ब्याट्री रिसाइक्लिङ एन्ड रियुज प्रोग्रामलाई कार्यान्वयन गरेको छ । यसले वातावरणीय दिगोपनाप्रति बीवाईडीको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको कम्पनीको भनाइ छ । विश्व नै हाल इलेक्ट्रिक मोबिलिटीतिर लागिरहेको समयमा वास्तविक रुपमा दिगो ईभी इकोसिस्टम प्राप्तिका लागि जिम्मेवार रुपमा ब्याट्री व्यवस्थापन गर्नु महत्वपूर्ण छ । बीवाईडी त्यही महत्वपूर्ण कार्यमा अग्रसर भएको छ । कम्पनीका अनुसार सो पहलको एक भागको रुपमा बीवाईडीले दुई प्रमुख रिसाइक्लिङ सेवा प्रदायक कम्पनी अमेरिकाको क्यालिफोर्नियामा अवस्थित आइटी एसेट पार्टनर्स इंक र चीनको वुहुमा अवस्थित एन्हुई लेचेङ लिथियम–आयोन टेक्नोलोजी कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ । सन् २०२४ मे २८ मा औपचारिक रुपमा घोषणा गरिएको सो सहकार्यले बीवाईडी ईभीमा प्रयोग भएका लिथियम–आयोन ब्याट्री प्याक र ब्याट्रीलाई सुरक्षित, उत्तरदायी र दक्ष रुपमा रिसाइक्लिङ गर्ने कार्यलाई सुनिश्चित गर्नेछ । ब्याट्री रिसाइक्लिङमा बीवाईडीको सर्कुलर इकोनोमी अप्रोच दुवै सेवा प्रदायक कम्पनीहरु आरटु सर्टिफाइड अर्थात रेस्पोन्सिबल रिसाइक्लर सर्टिफाइड हुन्, जसले दिगो रिसाइक्लिङको ग्लोबल स्ट्यान्डर्ड पुरा गर्छन् । रिसाइक्लिङ प्रक्रिया अन्तर्गत क्यापासिटी टेस्टिङ, सेफ डिस्म्यान्टलिङ, मेटरियल रिकभरी र इको–फ्रेन्ड्ली प्रोसेसिङ गरिन्छ । प्रयोग भइसकेको ब्याट्रीको पुनः प्रयोगको सम्भावनाको मूल्यांकन कार्य क्यापासिटी टेस्टिङमा गरिन्छ । प्रयोगमा नआउने ब्याट्रीलाई सावधानीपूर्वक नष्ट गर्ने कार्य अर्थात सेफ डिस्म्यान्टलिङ त्यसपछि गरिन्छ । त्यसपछि लिथियम, निकेल र कोबाल्ट जस्ता महत्वपूर्ण कच्चा पदार्थ निकाल्ने कार्य मेटरियल रिकभरी अन्तर्गत पर्छ भने अन्त्यमा यसरी रिसाइकल गरिएका सामग्रीहरु अनुमति प्राप्त कम्पनीहरुलाई उपलब्ध गराउने कार्य गरिन्छ । ब्याट्री उत्पादन देखि रिसाइक्लिङ सम्मको सम्पूर्ण प्रक्रियामार्फत बीवाईडीले इलेक्ट्रोनिक फोहोर घटाउने, प्राकृतिक सम्पदा संरक्षण गर्ने र कार्बन फुटप्रिन्टलाई न्यून गर्ने कार्यमा महत्वपूर्ण कदम चालेको छ । हरित भविष्यको नेतृत्व लिदै सो पहल वारेमा बोल्दै नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भने, ‘ग्लोबल रिसाइक्लिङ डे मनाइरहदा हामीले इलेक्ट्रिक सवारी साधन उत्पादन गर्नु मात्र होइन, वास्तविक रुपमा सर्कुलर इकोनोमी निर्माण गर्नु नै दिगोपना हो भन्ने कुराको पहिचान गर्यौ । जिम्मेवार ब्याट्री रिसाइक्लिङप्रतिको हाम्रो प्रतिबद्धताले उत्पादन देखि नष्ट गर्ने कार्य सम्मको सम्पूर्ण ईभी टेक्नोलोजी वातावरणमैत्री हुने तथ्य सुनिश्चित गरेको छ ।’ नेपालमा प्रभाव विश्वका धेरै ईभी प्रयोगकर्ता देशको रुपमा नेपाल समेत परिचित भइरहेको समयमा जिम्मेवार ब्याट्री डिस्पोजल र रिसाइक्लिङ प्रमुख प्राथमिकता हुनुपर्ने आवश्यकता छ । इलेक्ट्रिक मोबिलिटीतिर देश रुपान्तरण भइरहेको र यसको वातावरणीय प्रभाव न्यून भएको अवस्थामा नेपालको दिगो लक्ष्यसँग बीवाईडीको पहलले एकरुपता लिएको बताइएको छ । दिगो यातायात, नवीकरणीय उर्जा एकीकरण र जिम्मेवार ब्याट्री व्यवस्थापन जस्ता कार्यको प्रवर्धन गर्दै नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकमार्फत बीवाईडीले हरित भविष्यका लागि सक्रिय रुपमा कार्य गरिरहेको छ । ग्लोबल रिसाइक्लिङ डेको यो अवसरमा बीवाईडीले अर्को महत्वपूर्ण कदम चालेको छ, जसले दिगोपना भनेको एक भिजन मात्र नभई ईभी इकोसिस्टमको प्रत्येक भागलाई ड्राइभ गर्ने एक प्रतिबद्धता समेत हो भन्ने तथ्यलाई सुनिश्चित गरेको कम्पनीको दावी छ ।