
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयकलाई सकेसम्म संगतिपूर्ण, सम्पुष्ट र राम्रो बनाउनुपर्ने बताएका छन् ।
मंगलबारको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
अर्थ समितिको बैठकमा आज भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल भएको थियो । सोही बारेमा अर्थमन्त्री पौडेलले विधेयकलाई सकेसम्म संगतिपूर्ण, सम्पुष्ट, सकेसम्म राम्रो बनाउनुपर्ने र अर्कोतिर छिटो भन्दा छिटो टुंगोमा पुर्याउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
उनले छिटो र राम्रो गर्नुपर्ने आवश्यकताका बीचमा तादात्म्यता कायम गरिकन समितिले यो विधेयकलाई अगाडि बढाइरको भन्दै खुसी व्यक्त गरे ।
अर्थमन्त्री पौडेलले भने,‘हामीलाई दुईवटा चिजसँगै गर्नुछ । एकातिर विधेयकलाई सकेसम्म संगतिपूर्ण, सम्पुष्ट, सकेसम्म राम्रो बनाउनुपर्ने एकातिर छ भने अर्कोतिर छिटो भन्दा छिटो टुंगोमा पु¥याउनुपर्ने आवश्यकता छ । छिटो र राम्रो गर्नुपर्ने आवश्यकताका बीचमा तादात्म्यता कायम गरिकन समितिले यो विधेयकलाई जसरी अगाडि बढाएको छ । त्यसका निम्ति खुसी व्यक्त गर्न चाहन्छु ।’
समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भन्सार भनेको भिन्नै ग्रह हो र भिन्नै ग्रहका लागि भिन्नै नियम बनाइरहेका छौं भन्नेगरी सोच्न नहुने बताए । उनले बैंक ग्यारेन्टीको अर्को एउटा विकल्प राख्दा अन्यथा नहुने बताए ।
अर्थ समितिमा केही दिनयता भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल भइरहेको छ ।