विकासन्युज

आजदेखि एसइई परीक्षा सुरु, चैत १९ गतेसम्म सञ्चालन हुने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका २ हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुनेछ । परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ । यस वर्षको माध्यमिक शिक्षा परीक्षामा ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ । गत वर्ष २०८० को एसइई परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जना बढेको छ । परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध गरिएको छ । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको कार्यालयले जनाएको छ । यस वर्षको एसइई आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

हिमाली क्षेत्रमा हिमपातको सम्भावना, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षा

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज मुलुकका केही स्थानमा हिमपातको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रही एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा भने आंंशिक बदली रही एक/दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ । मधेस प्रदेशमा आज तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ । बागमती प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ भने तराई क्षेत्रमा मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रही एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रमा आंंशिक बदली रही एक/दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ भने पहाडी क्षेत्रमा आंंशिक बदलीको सम्भावना छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रही एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रमा आंंशिक बदली रही एक/दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ भने पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

देशमा लोडसेडिङ हुन्छ, कुलमानले लोड सेडिङमुक्तको भ्रम फैलाए : मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले अब लोडसेडिङ हुन सक्ने बताएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उनले साँझको समयमा लोडसेडिङ हुने अवस्था देखिएको बताएका हुन् । मन्त्री खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको आलोचना गर्दै लोडसेडिङ हुने अवस्था देखिएको बताएका हुन् । उद्योगको लाइन काटेर घरमा विद्युत् दिएपछि कुलमानले लोडसेडिङ अन्त्य भएको हल्ला फैलाएको उनको आरोप छ । मन्त्री खड्काले प्राधिकरण नाफा गएको भनिएपनि महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा २ खर्ब रुपैयाँभन्दा बढी घाटा देखाएको बताएका छन् । ‘हिजो पनि लोडसेडिङ थियो, आजपनि छ । उद्योगधन्दातिर बत्ति कटौति गरेर घरतिर दिने काम गरिएको थियो, लोडसेडिङ हटेको छैन,’ उनले भने ।

नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबि बैंक, आईएफसी र ईयूको साझेदारी

काठमाडौं । एनएमबि बैंकले तीन दिने तालिम सम्पन्न गरेको छ । बैंकले युरोपियन युनियन (ईयू) को सहयोगमा अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँग सहकार्य गर्दै तालिम सम्पन्न गरेको हो । बैंकको दिगो वित्तीय प्राथमिकताका तीन मुख्य क्षेत्रहरू- ऊर्जा, कृषि व्यवसाय र सानो तथा मध्यम उद्यम क्षेत्रमा जलवायु वित्त र जोखिम व्यवस्थापन सुदृढ बारे तालिम दिइएको हो । नेपाल जलवायु जोखिमका दृष्टिले अति संवेदनशील भएकाले तालिमले बैंकिङ तथा व्यवसायमा पर्यावरणीय, सामाजिक र सुशासन अभ्यासहरूलाई समाहित गर्न जोड दिएको छ । यसले प्रभावकारी जोखिम व्यवस्थापन र वित्तीय स्थायित्वमा योगदान पुर्‍याउने विश्वास बैंकको छ । आईएफसीका विशेषज्ञहरू र स्थानीय परामर्शदाताहरूबाट क्षेत्रीय तथा विश्वव्यापी अभ्यासहरूबारे तालिममा बताइएको थियो । तालिममा एनएमबि बैंकका व्यवसायिक टोली, जोखिम अधिकृतहरू तथा ग्राहकहरू गरी ९० जना सहभागी भएका थिए । तालिममा सहभागीहरूले वातावरणीय तथा सामाजिक उचित परिश्रम, जैविक विविधता व्यवस्थापन, श्रम अधिकार, भूमि पुनस्र्थापना र स्रोत दक्षता जस्ता विषयहरूमा जान्ने मौका पाएका थिए । एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

४४ हजारबाट सुरु भएको जेष्ठ नागरिक सेवा केन्द्रको तीन तले भवन, ओहोरदोहोर गर्न गाडी खोजिँदै

काठमाडौं । कीर्तिपुरको जनसेवाकी कान्छी महर्जनलाई अहिले सानो खुड्किलो पनि ठूलो पहाड जस्तो लाग्छ । न सजिलै खुड्किला चढ्न सक्छिन्, न त झर्न नै । उमेर बढ्दै गयोे । शरीरमा पहिलेको जस्तो शक्ति पनि छैन । ‘उमेरले डाँडा काटेपछि आफ्नै घरको दैलो पनि तारेभीर लाग्दो रहेछ, न केही काम गर्न सकिन्छ, न कतै हिँडडुल गर्न,’ उनी भन्छिन्, ‘घरमै एक्लै बस्न सकिँदैन, काम पनि गर्न सकिँदैन । बुढेसकालमा त दिनहरू काट्नै धौ पर्दोरहेछ ।’ सोमबार कीर्तिपुरको पाँगा लाछीमा रहेको ‘ज्येष्ठ नागरिक सेवा केन्द्र’मा भेटिएकी कान्छी अहिले ८१ वर्षकी भइन् । उमेर बुढो भएपनि मनले अहिले पनि बच्चाको जस्तै चञ्चलता गर्न खोज्छ । काम गर्ने जाँगर पनि उस्तै लाग्छ । तर, शरीरले साथ दिँदैन । कान्छी उमेर ढल्केर शरीर खुम्चिए पनि इच्छाशक्ति अहिले पनि पहिलेको जस्तै रहने बताउँछिन् । कान्छी महर्जन । कान्छीका घरमा छोराबुहारी छन् । बुहारी गलैंचाको काम गर्छिन् । छोरा अरू काम गर्छन् । नातिनातिना स्कुल जान्छन् । उनका श्रीमान पहिले नै उनको साथ र संसार छोडेर गए । कान्छी अहिले एक्लो भएको महसुस गर्छिन् । यही एक्लोपन कटाउन उनी घरबाट बिहान १० बजे नै निस्कन्छन् । जहाँ उनी जस्तै घरमा एक्लै भएका वृद्धवृद्धाहरू जम्मा हुन्छन् । कान्छी पनि तिनै साथीहरूसँग दिन कटाउने मेसोमा लाछीमा रहेको जेष्ठ नागरिक सेवा केन्द्रमा पुग्छिन् । जहाँ उनीजस्तै अन्य धेरै जना हुन्छन् । दिनभर योगा गर्ने, गीत गाउने, रमाइलो गर्नेदेखि लिएर चिया नास्ता गरेर घर फर्किन मिल्छ । कीर्तिपुर नगरपालिका ८ पाँगाका नारायण महर्जन बिहान १० बजेपछि लठ्ठी टेक्दै घरबाट निस्कन्छन् । छोराबुहारी काममा व्यस्त, नातिनातिना स्कुल गएपछि उनलाई पनि घरमा एक्लै बस्न मन पर्दैन । उनी पनि विस्तारै जेष्ठ नागरिक केन्द्रमा आइपुग्छन् । केही समय पहिलेदेखि बुढाबुढी सँगसँगै घरबाट निस्कने गरे पनि अहिले नारायण एक्लै निस्कन्छन् । उनकी श्रीमतीलाई अलि सन्चो छैन । बिरामी श्रीमतीलाई एकैछिन एक्लै बस्न भन्दै उनी घरबाट निस्कन्छन् । नारायण महर्जन । भन्छन्,‘ श्रीमतीलाई खाना अनि औषधी खुवाएर आउँछु, एकछिन यहाँ बसेर फेरि घर जान्छु, आजभोलि दिनहरू यसरी नै बितिरहेका छन् ।’ उमेरले ८१ वर्ष लागेका नारायण उमेर ढल्केसँगै घरमा एक्लै बस्न निकै समस्या हुने गरेको अनुभव सुनाउँछन् । कलंकीकी ज्वाला डङ्गोल अहिले कीर्तिपुर बस्दै आएकी छन् । मूल घर कीर्तिपुर भएपनि उनको परिवार कलंकीम बस्दै आएको थियो । उनका श्रीमान थला परेपछि उनको परिवार मूल घर कीर्तिपुरमा सरेको छ । घर नजिकै ज्येष्ठ नागरिक सेवा केन्द्र छ भन्ने थाहा भएपछि अहिले उनी पनि फुर्सद निकालेर त्यहाँ आउन थालेकी छन् । उमेरले ७० वर्ष लागेकी उनी यो केन्द्र आफूहरू जस्तै दुःखमा परेका र घरमै एक्लै बस्न नसक्नेहरूका लागि राम्रो ठाउँ रहेको बताउँछिन् । ‘मलाई यहाँ यस्तो संस्था छ भन्ने थाहा थियो । तर, आएको थिइनँ । अहिले नियमित ३ महिना भयो आउन थालेको । यो त हामीजस्ताहरूको लागि दुःख बिसाउने र एक्लोपन मेटाउने साथी पो रहेछ,’ उनले भनिन्, ‘छोरा बुहारीहरू काममा गइहाल्छन्, नातिनातीनाहरू स्कुल गइहाल्छन् ।’ ज्वाला डङ्गोल । उनी यहाँ आएर आफूहरूले एकअर्कालाई चिन्ने अवसर पाएको बताउँछिन् । ज्वालाकाे अहिले धेरैजनासँग चिनजान भइसकेको छ । अहिले नारायण, कान्छी राधाजस्तै कीर्तिपुर नगरपालिका वडा नम्बर ८ का जेष्ठ नागरिकहरू दिनभरि समय बिताउन त्यही पुग्ने गर्छन् । दुःख पीडा पोख्ने ठाउँ सहरमा आजभोलि घरहरू एकमाथि एक जोडिएका छन् । तलामाथि तला ठडिएका छन् । पहिलेजस्तो खुल्ला ठाउँ कतै छैन । अग्ला घर र बाक्ला बस्तीले सहरका वृद्धवृद्धाहरू च्यापिरहेको महसुस गर्न थालेका छन् । अझ यहाँ रैथानेहरूले घरभाडामा दिने र पैसा कमाउने उद्देश्यले पाँचौं, छैटौं तलाका घरहरू ठड्याएका छन् । तलका सबै कोठाहरू भाडामा दिएर छतमा बसिरहेका जेष्ठ नागरिकलाई भने घरबाट तल झर्न र तलबाट माथि चढ्न हिमाल चढेजस्तो गर्नुपर्छ । यस्ता घरमा एक्ला दिनहरू बिताइरहेका कीर्तिपुरको पाँगाका ज्येष्ठ नागरिकहरू भने अहिले बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म पाँगामा रहेको जेष्ठ नागरिक सेवा केन्द्रमा दिनहरू बिताइरहेका छन् । सुभद्रा महर्जन । यो सेवा केन्द्र अहिले आफूहरूको बुढेसकालको सारथी भएको कीर्तिपुरकी सुभद्रा महर्जन बताउँछिन् । उनी आफूजस्ता अरू साथीभाइ देख्दा आफ्ना दुःखसुखका कुरा सुनाउन सहज हुने बताउँदै आफूहरूका लागि निकै राम्रो भएको सुनाउँछिन् । केन्द्रमा के-के हुन्छ ? बिहान १० बजेदेखि ज्येष्ठ नागरिकहरू घरबाट हिँड्न थाल्छन् । कोही पुगिसक्छन्, कोही विस्तारै पुग्छन् । धेरैजसो जम्मा भइसकेपछि राष्ट्रिय गीत गाउँछन् । ७० देखि सय वर्षसम्मका जेष्ठ नागरिक सबैलाई राष्ट्रिय गीत गाउन मज्जाले आउँछ । यो गीत गाइसकेपछि सबैजना आ–आफ्नो परिचय दिन्छन् । सबैले आफ्नो नाम भनिसकेपछि सुरु हुन्छ योगा । शारीरिकदेखि मानसिक योगा गरिसकेपछि सबैजना कोही गीत गाउने, कोही नाच्ने गरी रमाइलो गर्छन् । यति गरिसकेपछि उनीहरूका लागि चिया, बिस्कुट आउँछ । एकछिन बसेर सबैजनाले चिया बिस्कुट खान्छन् । त्यसपछि ठूलो स्क्रिनमा टिभी लगाइन्छ । टिभी हेर्दै बस्ने कोही गफ गर्ने एकअर्कासँग कुराकानी गर्ने समय पनि हुन्छ । यति गर्दा २, साढे २ भइसक्छ । त्यसपछि सबैजना बसेर फेरि खाजा खान्छन् । खाजा खाइसकेपछि फेरि उनीहरू बिस्तारै आफ्नो घरतिर लाग्छन् । पाँगाका ज्येष्ठ नागरिकको आजभोलिको दैनिकी यही हुँदै आएको छ । सतुराम महजर्न । घरमा काम गर्न नसक्ने, एक्लै बस्दा पनि एक्लोपनले शारिरीक र मानसिक समस्या हुने भन्दै यो समस्या आउन नदिन यस्तो काम सुरुवात गरेको जेष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष सतुराम महजर्न बताउँछन् । कसरी गरियो परिकल्पना ? वि.सं २०७२ सालमा गएको विनाशकारी भूकम्पले काठमाडौंमात्र होइन, धेरै ठाउँलाई तहसनहस बनायो । कीर्तिपुरको पाँगामा पनि धेरै घरहरू भत्के । नागरिकहरू टहरामा बस्न थाले । अवस्था सामान्य हुँदै जाँदा तन्नेरीहरू काममा जान थाले । काम भएकाहरू काममा नभएकाहरू काम खोज्न जान थाले । घरमा ज्येष्ठ नागरिकहरू मात्र हुन्थे । यस्तो अवस्था देखेर पाँगाकी हरिदेवी महर्जनलाई जेष्ठ नागरिकहरूको लागि केही गर्न पाए हुन्थ्यो भन्ने लाग्यो । उनलाई वृद्धवृद्धाहरू दिनभर टहरामा एक्लै बसिरहेको हेर्न मन लागेन । हरिदेवीले आफ्नो समूहमा यो कुरा सुनाइन् । उनीलगायत १२ जना महिलाहरूले बालकुमारी समूह भनेर धेरै पहिलेदेखि गठन गरेका थिए । उनीहरू जेष्ठ नागरिकको सहजताका लागि भन्दै जेष्ठ नागरिक केन्द्र सञ्चालन गर्ने योजना बनाए । उनीहरू बाहै्रजना हरेक व्यक्तिका घरमा पुगे । आफूहरूको योजना सुनाए । कसैले पत्यानन् । महामारीको बेला भएको भन्दै सम्पत्ति अन्न सकिएको बेला सहयोग गर्नसक्ने आश्वासन पनि कहीँबाट आएन । यसैक्रममा एकदिन हरिदेवी लगायतको भेट पाँगाका सतुरामसँग भयो । उनीहरू आफ्नो योजना सतुरामलाई सुनाए । तर, उनले पनि विश्वास गरेनन् । सबै कुरा बताउँदै गएपछि सतुरामले एउटा सर्त राखे- तपाईंहरूको काममा म सहमत छु । तर, यो काम सुरु गरेको तीन महिनासम्म पनि राम्रो भएन, जेष्ठ नागरिक कोही आएनन् भने केन्द्र नै स्थगित गर्नुपर्छ । अर्को, त्यहाँ काम गरेको श्रमको पैसा लिन नपाउने । अहिले सेवाका लागि भन्ने पछि दिनभर सेवा गर्नुपर्दा फोकटमा समय खेर गयो भन्न नपाइने । यो सर्तमा सबैजना सहमत भएपछि बल्ल जेष्ठ नागरिक सेवा केन्द्र सुरु भएको हो । यहाँ अहिले करिब ५० जना जेष्ठ नागरिकहरू छन् । सुरुमा ४४ हजार लगानी सर्त स्वीकार भएपछि सतुरामले २० हजार रुपैयाँ सहयोग गरे । बाँकी १२ जना महिलाले प्रतिव्यक्ति २/२ हजार उठाए । ४४ हजार रुपैयाँ जम्मा भएपछि उनीहरूले पाँगामा रहेको मन्दिरमा जेष्ठ नागरिकहरूलाई भेला पार्न सुरु गरे । उनीहरूको यो काम देखेपछि धेरैजनाले सहयोग गर्न सुरु गरे । केन्द्र सुरु गरेको सय दिन मनाउँदा धेरै राम्रो अवस्था भइसकेको थियो । अहिले जहाँ जेष्ठ नागरिकहरू बसिरहेका छन्, त्यो ठाउँमा पहिले सानो नाटेश्वर मन्दिर थियो, जुन अर्कै क्लबले बनाएको थियो । फेरि यो केन्द्र सुचारु भइसकेपछि त्यसलाई पनि भत्काएर तीन तलाका सानो घर बनाइयो । अहिले त्यही भवनमा दिनहरू बिताउँछन् जेष्ठ नागरिकहरू । ‘धेरैजसो वरिपरिका मनकारीले सहयोग गरे, अहिले पनि जन्मदिन, कसैको पास्नी भयो भने सबैजना आउनुहुन्छ, आमाबाहरूलाई खुवाउनुहुन्छ, अलिकति पैसा पनि दिएर जानुहुन्छ । यस्तै–यस्तै मनकारीले गर्दा यो संस्था बचेको छ,’ सतुरामले भने । उनीहरूले गरेको काम एक जना जर्मनको नागरिकले देखे । उनले यो सेवा देखेर खुसी हुँदै वृद्धवृद्धाहरूलाई २ वर्षलाई पुग्नेगरी एक दिनमा दुई हजारका दरले पैसा दिए । १४ लाख ४० हजार रुपैयाँ अहिले बैंकमा राखेर ब्याजमा लगाएको अध्यक्ष सतुरामले बताए । सेवाको भाव बोकेकी हरिदेवी कीर्तिपुरको पाँगाकी हरीदेवी महर्जनलाई पहिलादेखि नै सेवा गरौं न भन्ने इच्छा पहिलेदेखि नै थियो । तर, कसरी गर्ने, के गर्ने भन्ने धेरै ज्ञात थिएन । उनलाई गाउँमा बुढा बाआमा एक्लै बसेको देख्दा माया लाग्थ्यो । घरमा कोही नहुँदा न उनीहरूले समयमा खाजा पाउँथे, न खाना बरु कतिपय वृद्धवृद्धाहरूले छोराबुहारीकै अपहेलना सहनुपरेको हुन्थ्यो । उनलाई जेष्ठ नागरिकहरूलाई दिन कटाउन मिल्ने गरी केही सेवा गर्न पाए हुन्थ्यो भन्ने लाग्यो । हरिदेवी महर्जन । अगाडिदेखि नै यो सोंच आएपछि भूकम्पपछि यो अवस्था झन दर्दनाक देखियो । त्यसपछि १२ जना महिला र अर्का एक सतुराम मिलेर २०७३ साल वैशाख ४ गते ज्येष्ठ नागरिक सेवा केन्द्रको उद्घाटन गरे । उद्घाटन गरेकै दिन कसैले पाँच, कसैले १० गरी पैसा दिन सुरु गरे । त्यही दिनमात्र ४६ हजार पैसा संकलन भयो । कसैले चामल, दाल तकारी, चिउरा, भाँडा ग्याससमेत १३ जनाले आफ्नै घरबाट सुरु गरेर सेवा कार्य अगाडि बढाए । सप्ताहबाट ४० लाख संकलन यो संस्थामा सुरुवातीमा ९० भन्दा बढी ज्येष्ठ नागरिकहरू थिए । त्यसपछि कोरोना महामारी फैलियो । मान्छे देख्दा मान्छे नै भाग्नुपर्ने अवस्थामा धेरैजना जेष्ठ नागरिकहरू आउन छोडे । अहिले ५० जनामात्र आउने गरेका छन् । ज्येष्ठ नागरिकहरूलाई हरेक महिना कहिले घुमाउन, कहिले पिकनिकमा लगिने गरिन्छ । हरेक आमाबुवाका जन्मदिनलाई उत्वसवको रूपमा मनाइन्छ । विभिन्न उतारचढावका बीच १० वर्षसम्म ज्येष्ठ नागरिकहरूको सेवामा हरिदेवी, सतुरामहरू केन्द्रित छन् । अहिले त्यहाँ कहिले विद्यार्थी, कहिले कुनै संघसंस्थाका मान्छेहरू हेर्न अध्ययन गर्न पुगिरहन्छन् । यही क्रममा केही वर्ष पहिले काठमाडौंको टेवालका एकजना बा पाँगाको ज्येष्ठ नागरिक सेवा केन्द्र खोज्दै पुगे । उनी कम्बलहरू किनेर पशुपतिनाथको वृद्धाश्रम पुगेका रहेछन् । वृद्धाश्रमले कम्बल नलिने बरु पैसा लिने भनेपछि उनी कीर्तिपुर पुगेका रहेछन् । उनले आफूले किनेका कम्बल त्यहीका ज्येष्ठ नागरिकहरूलाई वितरण गरे । उनले राम्रो काम गरेको भन्दै थप सप्ताह लगाएर संकलन भएको पैसा अक्षय कोष स्थापना गरी जम्मा गर्न सल्लाह दिए । उनले आफूले पनि एक लाख रुपैयाँ सहयोग गरे । उनैको सल्लाहअनुसार यो केन्द्रले सप्ताह लगायो । जहाँ ४० लाख पैसा उठ्यो । उनीहरूले ४० लाख रुपैयाँ बैंकमा जम्मा गरे । त्यसपछि उनीहरूले अब संस्थाको आफ्नै भवन बनाउने योजना बनाए । यो योजनापछि उनीहरूले स्थानीय तहसँग छलफल गरे । अहिले कीर्तिपुर नगरपालिकाले पनि वर्षमा एक लाख रुपैयाँ दिँदै आएको छ । सांसद राजन केसीले ४० लाख सहयोग गरेपछि ८० लाख रुपैयाँ जम्मा भयो । त्यसपछि भवनका लागि जग्गा खोजी भयो । ६ आना तीन पैसा जग्गा  अलिकति पैसा जम्मा भएपछि हरिदेवीले आफ्नी कान्छी सासूसँग जग्गा मागिन् । उनले आफ्नो र कान्छी सासूको जग्गा एउटै ठाउँमा हुँदा त्यही जग्गा निःशुल्क दिन आग्रह गरिन् । ‘हामी पनि भोलि जानुपर्ने त्यही ठाउँ हो, आज हामीले जग्गा उपलब्ध गरिरहे सजिलो हुन्छ भन्दै कान्छी सासुलाई फकाएँ, त्यसपछि हामी मिलेर जग्गा दियौं,’ उनले भनिन् । दुई जना मिलेर दिएको जग्गा ६ आना तीन पैसा थियो । जग्गा पाइसकेपछि भवन निर्माण सुरु गरियो । अहिले त्यो ठाउँमा तीन तलाको भवन ठडिएको छ । बजारबाट अलि टाढा हुँदा जेष्ठ नागरिकलाई हिँडेर त्यहाँ पुग्न समस्या हुँदा अहिले त्यो भवन त्यत्तिकै छ । चार–पाँच कोठा भाडामा दिएपनि अन्य कोठा त्यतिकै छन् । सतुराम भवन बनेपनि ज्येष्ठ नागरिकलाई हिँडेर त्यहाँ पुग्न समस्या हुँदा आफ्नै भवनमा सर्न नसकेको बताउँछन् । भन्छन्, ‘यहाँसम्म पुग्न आमाबालाई धौ–धौ पर्छ , त्यहाँ पुग्न बाटो पनि अप्ठ्यारो छ । केही गाडीको व्यवस्था गर्न सके सजिलो हुन्थ्यो ।’ त्यसका लागि पहिला गोरेटो बाटो रहेको बाटोलाई पीच गर्ने काम पनि हुँदैछ । त्यो बाटो पीच गर्नको लागि पनि दिनरात वडाकार्यालयदेखि पालिका कार्यालय धाउनु परेको दुःख उस्तै छ । भावी योजना हरिदेवी अब बनाएको भवनमा वृद्धवृद्धालाई राख्न सके आफूले सुरु गरेको काम पुरा हुने बताउँछिन् । ‘मेरो जुन सेवा गर्ने धोको थियो त्यो पूरा भयो । भवन पनि बनाएँ, अब आमाबालाई घरसम्म पुर्याउन गाडी र एउटा डाक्टर तथा नर्स राख्ने योजना छ । साथै अलिकति जग्गा लिएर पार्कजस्तै बनाएर उहाँहरूलाई डुलाउने ठाउँ पनि बनाइदिने धोकोे छ । उनी भन्छिन्, ‘मेरा त चार जना छोरी छन्, तीन जनाको बिहे भइसक्यो, एउटा छोरीको बाँकी छ । छोरापनि छैन, भोलि मैले बस्नुपर्ने यही ठाउँ हो ।’ अहिले ज्येष्ठ नागरिकहरू अप्ठ्यारो अवस्थामा छन् । धेरैजसो अभिभावकको छोराछोरी बाहिर हुँदा घरमा एक्ला छन् भने छोराछोरी सँगै भएका वृद्धवृद्धा पनि एक्लोपनमा दिनहरू बिताइरहेका छन् । सहरमा न उनीहरूलाई एक्लोपन मेटाउने ठाउँ छन् त न छोरीछोरीसँग बाआमासँगै बसेर कुराकानी गर्ने फुर्सद सन्तानहरूलाई छ । व्यस्त अहिलेको दैनिकीमा जेष्ठ नागरिकहरूका लागि उपयुक्त स्थान भनेकै यस्ता सेवा केन्द्रहरू रहेको हरिदेवी बताउँछिन् ।

एनआईएमबीको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी)को स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त भएकी छन् । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १४ बमोजिम उनी नियुक्त भएकी हुन् । एनआईएमबीले हाल २ सय ७२ शाखा, ८१ शाखारहित, २ सय ६६ एटीएम र ६५ एक्स्टेन्सन काउन्टरमार्फत ३२ लाख ९० हजार ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रममा विनियोजित बजेट अपुग भएका कारण बक्यौता तिर्दै थप सेवा विस्तार गर्ने उद्देश्यका साथ विकल्पसहितको प्रतिवेदन तयार पारेर कार्यान्वयन प्रक्रियामा अघि बढिरहेको बताएका छन् । व्यवस्थापिका संसदमा सांसद डा. सुनिल शर्माले दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावमा भएको छलफलमा उठेका प्रश्नको जवाफ दिंदै मन्त्री पौडेलले विगतको बक्यौता राज्यले पुरा चुक्ता गरेर नियमित आम्दानी हुने बाटो बनाए मात्र कार्यक्रम दिगो हुने भएकाले बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा उल्लेख भए अनुसार कार्ययोजना बनाएर अघि बढिएको बताए । राज्यबाट बक्यौता भुक्तानी वा थप स्रोतको खोजी ‘अघिल्लो बक्यौतासहित स्वास्थ्य बीमा सुधारका लागि ४० अर्ब लाग्छ,’ मन्त्री पौडेलले भने, ‘कि बीमा व्यवस्थित गर्न ४० अर्ब विनियोजन गरौं कि अरू ढंगबाट श्रोत सुनिश्चित गरेर नियमित आम्दानी हुने गरी अघि बढाऔं ।’ आफूले कही पनि स्वास्थ्य बीमाको विकल्प खोज्नुपर्छ नभनेको भन्दै मन्त्री पौडेलले नागरिकको योगदानमा आधारित एकद्वार प्रणाली लागु गरेर स्रोत व्यवस्थित गरेर अगाडि बढाउन सकिने बताए । ‘स्वास्थ्य बीमाबाहेकको विकल्प हामीसँग छैन,’ मन्त्री पौडेलले भने, ‘बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा संसारमा यसै गरी (श्रोत सुनिश्चित गरेर) कार्यक्रम प्रचलित र सम्भव छ भनिएको छ । त्यसमा प्रस्ताव गरिएको श्रोतमा आधारित भएर जाने हो भने ५ लाख पुर्याउन सकिन्छ ।’ मन्त्री भएर आएपछि भुक्तानी प्रणाली छिटो अघि बढेको भन्दै उनलले कसरी स्राेत व्यवस्थित र सुनिश्चित गरेर मात्र आगामी वर्षसम्म पुग्ने २५ अर्ब दायित्व भुक्तानी गर्ने गरी कार्यक्रम अघि बढ्ने बताए । तीनवटै तहले दिने नागरिकको उपचारको खर्च स्वास्थ्य बीमाबाटै गरे ५ लाख दिन सकिन्छ । स्रोत व्यवस्थापन गर्ने सवालमा अहिले राज्यका तीन वटै सरकारबाट फरक फरक रुपमा नागरिकको उपचारका लागि खर्च भएको रकम तथा संघीय सरकारले नागरिकको स्वास्थ्य उपचारका लागि खर्च गरेके १७ अर्ब पनि एकीकृत गरेर स्वास्थ्य बीमा कोषबाटै ती रकम खर्च हुने व्यवस्था मिलाउन सकिए बीमा कोष बलियो बन्ने मन्त्री पौडेलको भनाइ छ । ‘तीनवटै तहका सरकारले जटिल उपचारमा नागरिकलाई दिने खर्च कोषमा जाने हो भने ५ लाख आवश्यकता पर्नेलाई कोषबाट दिन सकिन्छ,’ उनले भने । ‘छरिएका कार्यक्रमलाई स्वास्थ्य बीमा कोषमा लगेर एकीकृत गर्ने प्रतिवेदनको प्रस्ताव छ,’ उनले भने, प्रगतिशिल प्रिमियमका आधारमा नागरिकको योगदान बढाएर सुविधा थप गरेर पनि व्यवस्थित गर्न सकिन्छ । छरिएको स्रोत एकद्वारबाट खर्च हुँदा स्रोत बढाउन सकिन्छ उनले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने राज्यको सामाजिक सुरक्षा कोषजस्तै अन्य निकायको स्वास्थ्य बीमासम्बन्धी कार्यक्रम स्वास्थ्य बीमा कोषबाटै सञ्चालन गर्न सकिए स्रोत पनि थपिने र थप व्यवस्थित पनि हुने बताए । मन्त्री पौडेलले राज्यबाट तलब खानेले आफ्नो र राज्यको गरी २ प्रतिशत तथा निजी क्षेत्रमा काम गर्नेबाट समेत सोही आधारमा योगदान गर्ने अवस्थामा समेत कोष बलियो बनाउन सकिने बताए । ‘नसक्ने गरिबीको रेखामुनि भएका १८ प्रतिशतको प्रिमियम राज्यले तिरिदिएर सेवा उपलब्ध गराउन सक्छ,’ उनले भने । ‘स्वास्थ्य कर कोषमा हाल ६ अर्ब मात्र प्राप्त हुन्छ,’ उनले भने, ‘यसलाई १८ अर्ब बनाऔं ।’ सामाजिक उत्तरदायित्वदेखि पेट्रोलियम करको रकम बीमा कोषमा लैजाने व्यवस्था मन्त्री पौडेलले सामाजिक उत्तरदायित्वको रकमको ५० प्रतिशत बीमा कोषमा लैजाने व्यवस्था मिलाउन सकिने बताए । ‘बुढीगण्डकीमा लिएजस्तै पेट्रोल, डिजेल, ग्यास तथा रिचार्ज कार्डमा लाग्ने करबाट थोरै लिएर बीमा कोषमा जाने व्यवस्था गरौं, उनले भने,’मालपोतदेखि अन्य लगाइएका करबाट थोरै प्रतिशत कोषमा जाने व्यवस्था गरौं ।’ उनले नागरिकलाई यही नाममा थप भार पर्न दिनु हुँदैन भन्नेमा भने सचेत रहेको बताए । मन्त्री पौडेलले हाल १ लाख जसरी पनि खर्च गर्नुपर्छ भन्ने प्रवृत्तिका कारण नागरिकको समेत योगदान रहेमा दुरुपयोग रोक्न सकिने विश्वासका साथ कोपेमेन्ट लागु गर्ने प्रस्ताव गरिएको भन्दै त्यो १० प्रतिशत भन्दा बढी नहुने र दुरुपयोग रोकिएको अवस्थामा त्यो नलिन पनि सकिने बताए । ‘यो दुरुपयोग हुँदैन भन्ने भयो भने १० प्रतिशत पनि नलिन सकिन्छ,’ मन्त्री पौडेलले भने । मन्त्री पौडेलले फेक क्लेम रोक्न कानुनी व्यवस्था कडा गरेर अनावश्यक उपचार गर्नेको सम्बन्धन खारेज जस्ता प्रावधान ल्याएर दुरुपयोग रोक्न सकिएमा कार्यक्रम व्यवस्थित हुने बताए । मन्त्री पौडेलले सार्वजनिक महत्वको प्रस्तावका लागि धन्यवाद दिंदै स्वास्थ्य बीमालाई व्यवस्थित बनाउन सबैबाट प्राप्त प्रतिक्रियालाई समेत सकारात्मक भएको उल्लेख गरे।

अब नेप्सेमा अन्तिम कारोबार मूल्य कायम हुने, १५ मिनेटको औसत कारोबार मूल्य नै अन्तिम हुने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारको अन्तिम १५ मिनेटको भारित औसत मूल्यलाई अन्तिम मूल्य मानिने भएको छ । नेप्सेले चैत ७ गतेदेखि लागू हुने गरी कारोबार सत्रमा अपरान्ह २ बजेर ४५ बजेदेखि ३ बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गर्ने जनाएको हो । यो व्यवस्था लागू भएसँगै नेप्सेले अन्तिम १५ मिनेटको कारोबारको भारित औसत मूल्यको आधारमा अन्तिम मूल्य तय हुनेछ । २ बजेर ४५ मिनेट देखि ३ बजेसम्म हुने कारोबार मूल्यहरूको भारित औसत मूल्य नै भोलिपल्टको पहिलो कारोबार मूल्य तय हुने छ । जसको २ प्रतिशत तल वा माथि लगानीकर्ताले आदेश दाखिला गर्न सक्ने छन् । ‘नियमित कारोबार सत्रमा अपरान्ह २ बजेर ४५ बजेदेखि ३ बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गरिनेछ । उक्त अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम कारोबार मूल्य कायम हुनेछ,’ नेप्सेको पत्रमा उल्लेख छ ।