विकासन्युज

पर्यटन उद्योग केन्द्रित पूर्वबजेट छलफलः प्रभावकारी कदम चाल्न उद्योगी व्यवासायीको माग

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणको गृहकार्यलाई तिब्र पारिरहेको बेला नेपाल उद्योग परिसंघले पर्यटन उद्योग केन्द्रित पूर्वबजेट छलफल कार्यक्रम गरेको छ । राजधानीमा भएको पूर्वबजेट छलफल कार्यक्रममा परिसंघका अध्यक्ष राजेश अग्रवालले पर्यटन क्षेत्रमा विकासका लागि सरकारले प्रभावकारी कदमहरू चाल्नुपर्ने बताए । उनले पर्यटन विकासका लागि एक मात्र राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम बलियो हुनुपर्ने धारणा राखे । वायुसेवा निगम प्रतिष्पर्धी बन्न नसक्दा विदेशी विमान कम्पनीहरुले लाभ लिइरहेका र पर्यटकका लागि नेपाल गन्तव्य निकै महङ्गो बनिरहेको उनको भनाइ छ । राष्ट्रिय ध्वजावाहकलाई बलियो बनाउन निगमको सुधार तथा बिस्तार गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धी बनाउन रणनीतिक साझेदार भित्र्याउन अति आवश्यक भइसकेको उनले बताए । सीएनआई अध्यक्ष अग्रवालले युरोपका पर्यटक धेरै खर्च गर्ने मध्येमा परेपनि युरोपियन युनियनले नेपाललाई सन् २०१३ देखि हवाई सुरक्षा सूचीमा समावेश गरेदेखि युरोपेली देशसँग सिधा हवाई सम्पर्क टुटेको बताए । अर्बौं लगानीमा भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपनि यी विमानस्थलहरुको प्रभावकारी सञ्चालन हुन नसकेकोमा उनले गुनासाे गरे । नेपालको समग्र आर्थिक विकासका लागि उद्योग व्यवसायलाई नियन्त्रण होइन नियमन गर्नेतर्फ हाम्रा कानून तथा नीतिहरु अभिप्रेरित हुनुपर्छ भन्ने निजी क्षेत्रको चाहना रहेको बताउँदै उनले उपयुक्त पूर्वाधारहरु सडक तथा हवाई पूर्वाधारको निर्माण पछि मात्र नेपाल भ्रमण वर्ष मनाउने तयारी गरिनुपर्नेमा जाेड दिए । कार्यक्रममा वायुसेवा संचालक संघको तर्फबाट भनाइ राख्दै आर्य थापाले विगत दुई वर्षमा कोरोना महामारीका कारण करीब साढ़ सात महिना नियमित हवाई सेवा सञ्चालन पूर्णरुपमा बन्द हुँदा नेपालका वायुसेवा कम्पनीहरु गम्भीर आर्थिक समस्याबाट गुज्रिरहेका बताए । उनहाँले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नागरिक उड्डयन क्षेत्र कोभिड महामारी शुरु हुनुअघिको लयमा फर्कन कम्तिमा सन् २०२४ सम्म लाग्ने र कोभिड महामारीको आर्थिक तथा सामाजिक असरहरु दीर्घकालसम्म रही रहने आँकलन गरेको अवस्थामा नेपालका हवाई क्षेत्रले हालसम्म करिब १० अर्ब भन्दा बढी रकम गुमाइसकेको बताए। हवाई क्षेत्र पूर्ण रुपमा आफ्नो लयमा फर्किंदासम्म यस्तो सञ्चित नोक्शानी अझ बढ्दै जाने निश्चित भएको हुदाँ लामो समयसम्म ठूलो नोक्सानी खेपी, असन्तुलित व्ययभार एवं सञ्चालन लागतका कारण व्यवसाय सञ्चालनमा समेत सुरक्षा चुनौती थपिने र व्यवसायनै बन्द हुनसक्ने अवस्था रहेको उनकाे गुनासाे छ । कार्यक्रममा पर्यटन सचिव विनोदप्रकाश सिंहले पर्यटन उद्योगमा संसारभरी भ्याट रहेको बताउँदै नेपालमा समेत लगाइएको बताए । उनले पर्यटन उद्योगीहरुले उठाएको मागलाई मन्त्रालयले अंगिकार गर्नेसमेत बताए ।

बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढे

बैतडी । मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढेका छन् । यहाँका अस्पताल, स्वास्थ्य संस्थामा आउने बिरामीमध्ये अधिकांश भाइरल ज्वरोका रहेका स्वास्थ्यकर्मीले बताएका छन् । सदरमुकामस्थित जिल्ला अस्पतालमा मात्रै दैनिक ५० जनाभन्दा बढी भाइरल ज्वरोका बिरामी आउने गरेका अस्पातालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । उनका अनुसार दैनिक एक सय ५० जनाभन्दा बढी बिरामी आउने गरेकामा ५०–८० जनासम्म भाइरल ज्वरोका रहेका छन् । सूचना अधिकारी पन्तले भने, ‘अस्पतालमा दैनिक आउने बिरामीमध्ये अधिकांशमा भाइरल ज्वरो देखिन थालेको छ । मौसम परिवर्तनका कारण भाइरल ज्वरोका बिरामी बढेका हुनसक्छ । यो मौसममा हावाहुरी, धुलोधुवाले गर्दा पनि सङ्क्रमण बढ्छ ।’ उनका अनुसार जिल्लाको तल्लोसोराड क्षेत्रस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा भाइरल ज्वरोका बिरामी बढेका छन् । जिल्लाका अन्य स्वास्थ्य संस्थामा उपचारका लागि आउने भाइरल ज्वरोका बिरामीको चाप बढ्न थालेको बताउँदै श्रीकोट स्वास्थ्य चौकीका इञ्चार्ज वीरसिंह भाटले मौसम परिवर्तनले गर्दा गाउँघरमा भाइरल सङ्क्रमणका बिरामी बढेका उल्लेख गरे । उनले भने, ‘अन्य बेलाको तुलनामा आजभोलि भाइरल ज्वरोका बिरामी बढेका छन् । स्वास्थ्यचौकीमा दैनिक २० जनाभन्दा बढी बिरामी ज्वरोका हुने गर्दछन् ।’ मौसम परिवर्तनका साथसाथै अस्वस्थकर खान र प्रदूषित पानीले भाइरल ज्वरोको सङ्क्रमण बढेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा सुशील विकले बताए । ज्वरो आएमा अन्य सङ्क्रमण पनि हुनसक्ने भएकाले नजिकैको स्वास्थ्य संस्थामा जाँच गराउन उनले सबैलाई आग्रह गरे । ज्वरो आएमा आफूखुसी मेडिकलबाट औषधि किनेर नखान स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् । ज्वरो आउने वित्तिकै मेडिकलबाट औषधि किनेर खाने प्रवृति रहेकाले त्यसो नगरी स्थ्यकर्मीसँग जाँच गराएर मात्रै औषधि प्रयोग गर्न डा विकले आग्रह गरे । जथाभावी औषधिको प्रयोग गर्दा स्वास्थ्यमा अन्य समस्या पनि निम्तिन सक्ने भएकाले स्वास्थ्य संस्थामा जाँच गराएर मात्रै सेवन गर्नुपर्ने, भाइरल ज्वरोसहित रुघा, खोकीलगायत सङ्क्रमणबाट बच्न शुद्धीकरण गरिएको पानी प्रयोग गर्नुपर्नेमा स्वास्थ्यकर्मीले जोड दिएका छन् । रासस

ग्लोबल मनी विकको अवसरमा ब्रोकर- १९ ले आयाेजना गर्‍यो वित्तीय सचेतना कार्यक्रम

काठमाडौं । विश्व वित्तीय सप्ताह २०२५ (ग्लोबल मनी वीक २०२५) को अवसरमा नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज ट्रेडिङ प्रालि (ब्राेकर १९ ) ले वित्तीय सचेतनासम्बन्धी कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले बुधबार धितोपत्र बजारसम्बन्धी समुदायिक विद्यालयकेन्द्रित वित्तीय सचेतना कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रम खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यामिक विद्यालय गोकर्णेश्वर- ६ जोरपाटीमा भएको कम्पनीले जनाएको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण भण्डारीले धितोपत्र वजार, आयको वचत तथा लगानीका विविध पक्षहरूको बारेमा प्रष्ट पारे । उनले सानै उमेरबाट वचत गर्ने र लगानी गर्ने बानीको विकासले भविष्यमा त्यसले उचित प्रतिफल प्राप्त गर्न सकिनुका साथै भविष्यमा अकस्मात आइपर्ने जाेखिमबाट बच्नसमेत सहयाेग हुने बताए । उनले भने, ‘किशोर अवस्थावाटै सुरु गरिने स–साना बचत गर्ने बानी र त्यसलाई लगानी गर्दै जाँदा भविष्यामा उचित प्रतिफल प्राप्त हुन्छ । यो बानीको विकास हामीले सानैबाट गर्नु आवश्यक छ, यसको लागि वित्तिय साक्षरता आवश्यक हुन्छ ।’ विद्यालयका व्यवसस्थापन अध्यक्ष रमेश अर्यालले यस्तो प्रकारको कार्यक्रम आवश्यक रहेको औल्याउँदै यस्ता कार्यक्रमले समुदाय र समुदायका विभिन्न वर्गहको वित्तीय ज्ञानमा वृद्धि हुने बताए । त्यस्तै, कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राघव दवाडीले आगामी दिनमा यस्ता कार्यक्रममा विद्यार्थीलाई सहभागी गराउने र चेतनाको स्तर बढाउने प्रतिबद्धता जनाए । सचेतना कार्यक्रममा विद्यालयका अध्यक्ष अर्याल, प्रधानाध्यापक  दवाडी, आयोजकतर्फबाट सीईओ, व्यवस्थापक, कार्यान्वयन अधिकृत, राफसाफ अधिकृतलगायत  ३० जनाभन्दा बढी विद्यार्थीको उपस्थिति रहेको थियो । कम्पनीले हरेक वर्ष यस्तो प्रकारको वित्तीय सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । यस वर्षको विश्व वित्तीय सप्ताहको नारा ‘थिंक विफोर फलो वाइज मनी टुमरो’ रहेको छ ।  

‘लगानी व्यवस्थापन इकाइ’ स्थापना गर्न बीमकहरूलाई प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा, निर्जीवन र्बीमा तथा पुनर्बीमा व्यवसाय गर्ने सबै बीमा कम्पनीहरूलाई ‘लगानी व्यवस्थापन इकाइ’ स्थापना गर्न निर्देशन दिएको छ । जसअनुसार लगानी व्यवस्थापन गर्नका लागि लगानीसम्बन्धी कार्य अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीको मातहतमा रहने गरी ‘लगानी व्यवस्थापन इकाइ’ स्थापना गरी सात दिनभित्र प्राधिकरणलाई जानकारी दिन बीमा कम्पनीहरूलाई निर्देशन दिइएको छ । यसैगरी, लघुबीमा व्यवसाय गर्ने लघुबीमा कम्पनीहरूलाई लगानी व्यवस्थापन कार्यका लागि सोसम्बन्धी कार्य अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीलाई जिम्मेवारी दिई सात दिनभित्र प्राधिकरणमा जानकारी दिन प्राधिकरणले निर्देशन दिएको छ । साथै बीमा कम्पनीहरूले यसअघि लगानीसम्बन्धी व्यवस्थाको कार्यान्वयन गरिसकेको भए सोकोसमेत सात दिनभित्र जानकारी दिन प्राधिकरणले सबै बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।

ऋण असुली न्यायधीकरणको बैंकिङ सदस्यमा अर्याल नियुक्त, २४ गते सार्वजनिक बिदा

काठमाडौं । सरकारले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चैत्र ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बैठकले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ४१ बमोजिम नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गने निर्णय गरेको छ ।  बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार सरकारले विश्व बैंकमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने अनुदान्न सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने, ऋण असुली न्यायधिकरणको बैंकिङ्ग सदस्य पदमा नरेशराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । सरकारले राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख पदमा दिनेशप्रसाद भट्ट, बैतडीलाई नियुक्त गरेको छ । यस्ता छन् सरकारका निर्णयहरुः नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ४१ वमोजिम नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपतिसमक्ष पेश गर्ने । विश्व बैंकमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने अनुदान्न सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने । ऋण असुली न्यायधीकरणको बैंकिङ सदस्य पदमा नरेशराज अर्याल, काठमाडौंलाई नियुक्त गर्ने । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदमा प्रहरी अतिरिक्त महानिरीक्षका दीपक थापालाई नियुक्त गर्ने । विक्रम संवत २०८१ साल चैत २४ गतेका दिन सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख पदमा दिनेशप्रसाद भट्ट, बैतडीलाई नियुक्त गर्ने । २०८१ साल चैत ४ गतेदेखि ६ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने राइसिना डायलगको दशौं संस्करणमा माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने । नेपाल सरकारको नाममा दर्ता रहेको काभ्रेपलाञ्चोक जिल्ला साविक मेथिनकोट गा. वि. स. वडा नं. ६ को ६ रोपनी र साविक पोखरी नारायणस्थान गा. वि. स. बड़ा नं. ३ को ६ रोपनी जग्गा क्रमशः प्रहरी चौकी भकुण्डेवेशी र प्रहरी चौकी पोखरी नारायणस्थानको भवन निर्माण गर्नको लागि प्रयोग गर्न स्वीकृति दिने । नेपाली सेनातर्फ उपरथी पद एकमा विशेष बढुवा, सहायक रथी पद एकमा बढुवा र सहायक रथी पद एकमा पदावधि थप गर्ने । यदुनाथ पौडेल, अर्घाखाँचीलाई जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रवन्ध सञ्चालक पदमा नियुक्त गर्न जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सञ्चालक समितिलाई निर्देशन दिने । पवित्रा सुवेदी, सुर्खेत र रामशरण सापकोटा, मकवानपुरलाई शिक्षक सेवा आयोगको सदस्य पदमा नियुक्ति गर्ने ।

 मुक्तिनाथ विकास बैंकद्वारा कञ्चरपूरमा बैशाखीवितरण कार्यक्रम सम्पन्न    

काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कञ्चरपूरमा अपाङ्गता संरक्षण नेपाल संस्थासँग साझेदारीमा शारीरक अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक पर्ने बैशाखी वितरण गरेको छ । देशभरबाट शारीरिक अपाङ्गता भएका व्यक्तिहरुबाट आफ्ना दैनिक कार्य गर्न असहज भएकाले बैशाखी तथा सेतो छडीको आवश्यताका लागि उक्त संस्थामा निकै  निवेदन आउने गरेको, उक्त संस्थाको समन्वयमा बैंकले बैशाखीहरु वितरण गरेको थियो । उक्त सहयोगबाट उनीहरुको दैनिक जीवनमा राहत पुग्ने बैंकले विश्वास लिएको छ । बैंकले हालै मोवाईल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याएको छ । त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

घरबाट निकालिए, प्राध्यापक हुँदै उपकुलपति बने

काठमाडौं । ‘आफ्नै आँखाअगाडि खुलेआम राष्ट्रको अहित गरेर, भ्रष्टाचारमै लिप्त भएर, मुलुकलाई अनिश्चयको यो भुमरीमा ल्याएर छोड्नेहरूका अगाडि उभिएर ‘तपाईंजस्तो महान् आत्माबाट मेरा लागि यो लाभको पद वा दयादान बक्स्यिोस्’ भन्नु आत्महत्या गर्नुभन्दा सजिलो छ र ? अथवा, त्यो नै आत्महत्याको अर्को रूप होइन र ?’ यो प्रश्न आजभन्दा ८ वर्षअघि अर्थात् २०७३ असोज १८ गते नेपाल म्यागेजिनमा डा. अच्युत वाग्लेले ‘सुसाइड नोट’ शीर्षकमा लेखेको लेखको अन्तिम अनुच्छेद हो । डा. वाग्लेले लेखमा आफू आर्थिक समस्यामा पर्दाको सकस, आफ्नो हक्की र स्पष्ट बानी-व्यवहारले आफ्नो जीवनमा पारिरहेको प्रभाव, नेपालमा मौलाउँदै गएको भ्रष्टाचार र त्यो भ्रष्टाचारमा लिप्त राजनीतिक दलका शीर्ष नेताहरूप्रतिको आक्रोश पोखेका छन् । उनको लेखको निष्कर्ष बुझ्न सकिन्छ कि ‘उनले कुनै पनि नेतालाई जी हजुरी नगरेकै कारण उनले हालसम्म कुनै नियुक्ति वा आकर्षक पद पाएनन् ।’ तर, सोमबार प्रा.डा. वाग्लेलाई सरकारले काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्‍यो । विगतमा प्रधानमन्त्री केपी शर्मा ओली र अन्य राजनीतिक दलका शीर्ष नेताहरूको खरो आलोचकका रूपमा परिचित डा. वाग्लेको नियुक्तिको विषयमा अहिले सामाजिक सञ्जालमा बहस पनि भइरहेको छ । विशेष गरेर विगतमा ओलीको आलोचक वाग्लेलाई तिनै ओलीले उपकुलपति बनाएको भन्दै ओली निकट तथा नेकपा एमालेका कार्यकर्ताले ओलीको जयजयकार गरिरहेका छन् भने वाग्लेले ओलीसमक्ष निहुरिँदै सपथ लिएको तस्बिर राखेर वाग्लेलाई व्यङ्ग्य पनि गरिरहेका छन् । यी सबै विषयलाई थाति राख्दै ओलीले वाग्लेलाई उपकुलपतिमा नियुक्त गरेर उनको क्षमताको सम्मानमात्रै गरेका छैनन्, काठमाडौं विश्वविद्यालयको नेतृत्व एउटा काबिल र क्षमतावान व्यक्तिलाई सुम्पेका छन् । दुई महिनादेखि उपकुलपति छनोटको दौडमा लागेको काठमाडौं विश्वविद्यालयले पनि अन्ततः एउटा योग्य उपकुलपति पाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा. वाग्लेलाई उपकुलपतिमा नियुक्त गरेपछि उनले मंगलबार प्रधानमन्त्री ओलीसमक्ष सपथ लिएका छन् । को हुन प्रा. डा. वाग्ले ? काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा नियुक्त वाग्लेको घर काभ्रेको बनेपा नगरपालिका हाे । विसं २०२५ सालमा जन्मिएका उनको बाल्यकाल गाउँमै बित्यो । वाग्ले थप अध्ययनका लागि काठमाडौं छिरेका थिए । बाल्यकालदेखि नै हक्की स्वभावका उनको रुचि सानैदेखि राजनीति थियो । तर, राजनीति उनलाई खासै फापेन । बाल्यकालमा राजनीति गर्दाको विषय स्मरण गर्दै डा. वाग्लेले एउटा लेखमा लेखेका छन्, ‘मेरो राजनीतिक जीवन १२ वर्षको हुँदा सुरु भएको हो, १६ वर्ष पुग्दै थिएँ । एसएलसी नजिकै थियो । पिताजीले एक दिन राति ९ बजे सोध्नुभो, ‘घर छोड्ने कि राजनीति ?’ मैले भनेँ, ‘घर’ । त्यसो भए अहिल्यै छोड्ने,’ बुवाले आदेश दिनु भो । मैले तत्काल त्यही राति घर छोडेँ ।’ त्यो रात घर छोडेपछि उनले सात वर्षसम्म दशैं मनाउन पनि घर नफर्केको बताएका छन् । उनले आफ्नो बुवासँग समेत नझुकेको आफू अरूसँग झुक्न नसकेकै र व्यावहारीक बन्न नसकेकै कारण जीवनमा ठूलो आर्थिक समस्या भोग्नु परेको विषय पनि लेखमा उल्लेख गरेका छन् । उनको शैक्षिक यात्रा निरन्तर चलिरह्यो । प्राज्ञिक कार्यमा अगाडि बढिरहे । उनले त्रिभुवन विश्वविद्यालय र बेलायतको बर्मिङ्घम विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् भने भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी)बाट अर्थशास्त्रमा विद्यावारिधी गरेका छन् । प्रा. डा. वाग्ले एक प्रसिद्ध स्तम्भकार पनि हुन् । उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकार र नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर तीलक रावलको सल्लाहकारको रूपमा पनि काम गरिसकेका छन् । प्राध्यापक डा. वाग्लेले ५ वर्ष नेपाल राष्ट्र बैंकमा काम गरेका थिए । त्यसैले पनि उनीसग मौद्रिक नीतिको राम्रो ज्ञान छ । उनले आर्थिक नीतिहरूलाई मार्गदर्शन गर्नेकार्यमा पनि महत्त्वपूर्ण भूमिका खेलेका छन् । विशेष गरी देउवा प्रधानमन्त्रीहुँदा उनी सल्लाहकारका रूपमा गरेर उनलाई सफल बनाउन पनि भूमिका खेलेका थिए । उपकुलपतिमा नियुक्त हुनुअघि प्रा.डा. वाग्ले काठमाडौं विश्वविद्यालयकै रजिष्ट्रारका रूपमा काम गरिरहेका थिए । गत ६ माघमा उपकुलपति प्रा.डा. भोला थापाको कार्यकाल सकिएपछि उनी कामु उपकुलपतिमा नियुक्त भएका थिए । प्रा.डा. वाग्लेसँग केयूको स्कुल अफ म्यानेजमेन्ट (कुसोम)को एसोसियट डिन तथा व्यवस्थापन विज्ञान विभागको प्रमुखका रूपमा काम गरेको अनुभव पनि छ । उनले विश्वविद्यालयमा इकोनोमेट्रिक्स, व्यावसायीक वातावरण लगायतका विषय अध्यापन गराउने गरेका छन् । आर्थिक, शैक्षिक र नीति परामर्शको क्षेत्रमा राम्रो अनुभव र ज्ञान भएका डा. वाग्लेको नेतृत्वमा विश्वविद्यालय नयाँ शैक्षिक र संस्थागत उन्नतिमा अगाडि बढ्ने अपेक्षा गरिएको छ । शिक्षकसँगै पत्रकार पनि उनी शिक्षकका रूपमा शिक्षणमा आवद्ध भएका थिए । दक्षिण एशियाली प्रबन्धन संस्थानमा शिक्षकको रूपमा सेवा गरेका थिए । वाग्लेले ललितपुर जिल्लाबाटै अंग्रेजी विषयमा उत्कष्ट शिक्षकको अवार्डसमेत पाएका थिए । आर्थिक, राजनीतिक, व्यावसायीक तथा वित्तीय क्षेत्रको एक अब्बल विश्लेषकका रूपमा आफ्नो परिचय बनाएका वाग्लेले अब आफ्नो क्षमता र अनुभव काठमाडौं विश्वविद्यालयमा देखाउनु पर्नेछ । आर्थिक क्षेत्रमा दख्खलता भएका वाग्ले एक अब्बल पत्रकारसमेत हुन् । उनीसँग आर्थिक अभियान राष्ट्रिय दैनिकको सम्पादकको नेतृत्व गरेको अनुभव पनि छ । वाग्लेसँग काम गरेकाहरू एक काबिल र पृथक काम गर्न रुचाउने व्यक्तिका रूपमा उनलाई चिन्छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग काठमाडौं विश्वविद्यालयलाई एउटा प्रतिस्पर्धी र विद्यार्थीको आकर्षण हुने विश्वविद्यालयको रूपमा अगाडि बढाउने प्रण गरेका छन् ।

बिहीबारदेखि लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने

काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालस्थित चिनियाँ दूतावास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा बिहीबारदेखि लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव गर्ने भएको छ । यो महोत्सव २०७१ चैत ७ गतेदेखि २०८२ वैशाख २९ गतेसम्म युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी र वरपरका शहरहरूमा आयोजना हुने नेपाल पर्यटन बोर्डले जनाएको छ । लुम्बिनीलाई विश्वव्यापी शान्ति र आध्यात्मिक पर्यटनको केन्द्रको रूपमा प्रवद्र्धन गर्नुका साथै नेपाल, चीन र अन्य राष्ट्रहरूबीच सांस्कृतिक, खेलकुद, धार्मिक र जनस्तरको आदानप्रदानलाई प्रोत्साहन दिन महोत्सव आयोजना गरिएको बोर्डले जनाएको छ । चैत ७ गतेदेखि सुरु हुने यस महोत्सवमा चैत ८ गते मायादेवी मन्दिर बाहिरको पवित्र उद्यानमा १०० भिक्षु र ४०० साधकहरूको सहभागितामा ध्यान सत्र सञ्चालन हुनेछ । चैत ९ गते खेलकुद र विकासका लागि अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन हुनेछ । यसबीचमा लुम्बिनी शान्ति सांगीतिक कार्यक्रम, झोंग हुआ गुम्बाको २५औं वार्षिकोत्सवको अवसरमा फोटो प्रदर्शनी, बुद्ध दीक्षा समारोहलगायतका विविध कार्यक्रम गर्ने र वैशाख पूर्णिमाको दिन विशेष समापन समारोह हुने बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस महोत्सवलाई लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक समिति, युनान माउन्टेनियरिङ तथा आउटडोर स्पोट्र्स संघ, केजीएच ग्रुप, भिभो, दीपल, बुद्ध एयर जस्ता स्थानीय र अन्तर्राष्ट्रिय संस्थाहरूले सहयोग गर्ने छन् । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक जोशीले दास्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव नेपालले शान्ति र सांस्कृतिक आदानप्रदानलाई प्रवद्र्धन गर्न गरेको प्रतिबद्धताको प्रतीकको रुपमा अघि बढाइएको बताएका छन् । उनले भने, ‘हामी विश्वभरका पाहुनाहरूलाई लुम्बिनीको आध्यात्मिक अनुभव गर्न र विश्वव्यापी सौहार्दता मनाउन निमन्त्रणा गर्दछौं ।’