विकासन्युज

प्रधानमन्त्रीसँग माल्दोभाका उपप्रधानमन्त्रीको शिष्टाचार भेट, व्यापारिक क्षेत्रमा सहकार्य गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका माल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले बिहीबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुुईपक्षीय सम्बन्ध र हितका विषयमा छलफल भएको छ । उनीहरुबीच जलवायु परिवर्तन, शिक्षा, संस्कृति र व्यापारिक सम्बन्ध विस्तारका क्षेत्रमा सहकार्य गर्ने विषयमा समान मत रहेको थियो । प्रधानमन्त्री ओलीले हिमालदेखि समुद्रसम्मको सुरक्षालाई केन्द्रमा राखेर जलवायु परिवर्तनका मुद्धामा नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैंमा हुने सगरमाथा संवाद कार्यक्रममा सहभागिताका लागि आग्रह गरे । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाललगायत सहभागी भएका थिए ।

मर्चेन्ट बैंकिङमा एनआईसी एशियाको ‘माइलस्टोन’, संस्थापक सेयरका खरिदकर्ता खोजिदिने

काठमाडौं । ‘गत आर्थिक वर्ष २०८०/८१ मा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अर्डिनरी (साधारण) सेयरको बजार पुँजीकरण ३५ खर्ब रुपैयाँ थियो । साथै सोही अवधिमा नेप्सेमा प्रमोटर (संस्थापक) सेयरको बजार पुँजीकरण ५ खर्ब २५ अर्ब रुपैयाँ थियो । ३५ खर्बको साधारण सेयरमा ३५ खर्बकै कारोबार भयो तर, संस्थापक सेयरको १५ अर्ब रुपैयाँको मात्रै कारोबार भयो, जुन ३ प्रतिशत हाराहारीमा मात्रै हो,’ एनआईसी एशिया क्यापिटलका रिसर्च हेड कृष्ण दनुवारले अनुसन्धानबाट खुलेको तथ्य उजागर गर्दै भने । उनका अनुसार स्टक एक्सचेञ्ज भन्ने बित्तिकै एक्सचेञ्ज अर्थात् एक ठाउँबाट अर्काेमा सर्नु हो । तर, संस्थापक सेयर कारोबारमा खरिदकर्ता र बिक्रेताबीच नमिलेको देखिन्छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा ३ लाख ३२ हजार कम्पनी दर्ता भएका छन् । जसमध्ये २ हजार २०२ वटा पब्लिक कम्पनी र २४५ वटा कम्पनी मात्रै नेप्सेमा सूचीकृत भएका छन् । ‘ओटिसी मार्केटमा विस्तारै आकर्षण बढ्दो रहेको उनले बताए । प्राइभेट कम्पनीमा लगानी गर्ने बढिरहेका छन् । गत वर्ष २०६ वटा कम्पनीको २ अर्ब ८ करोड रुपैयाँको कारोबार भएको थियो भने यसपटक २४४ कम्पनीको ५ अर्बको कारोबार भएको छ । यो तथ्याङ्कले पनि ओटीसी मार्केट वृद्धि भइरहेको देखिन्छ । यो मार्केटलाई पनि हामीले क्याप्चर गर्नका लागि प्ल्याटफर्म तयार पारेका छौं,’ दनुवारले भने । एनआईसी एशिया क्यापिटको विज्ञ टिमले विभिन्न क्षेत्रका १९ बढी प्राइभेट र पब्लिक कम्पनीको २ अर्बको कारोबार गरिसकेको उनले दाबी गरे । तर, संस्थापक सेयर कारोबारमा भने समस्या रहेको उनको भनाइ छ । नेप्सेमा साधारण सेयरका खरिदकर्ता र बिक्रेता देखिएपनि सोहीअनुसार संस्थापक सेयर कारोबारमा भने ठूलो दूरी रहेको उनले बताए । ‘नेप्सेमा अर्डिनरी सेयर हाल्नेबित्तिकै खरिदकर्ता र बिक्रेता देखिन्छन् । तर, संस्थापक सेयरमा छैन । संस्थापक सेयरमा कमन मार्केट, सीमित मार्केट, कम्पलायन्स छ । संस्थापक सेयर खरिद गर्नका लागि फिट एण्ड पर्पर टेस्टदेखि नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरणका नियम पालना गर्नुपर्छ । त्यसैले सर्वसाधारण सबैले यो काम गर्न सक्दैन । त्यसका लागि एक्सपर्टिज चाहिन्छ,’ उनले भने । उनका अनुसार विदेशमा नेपालमा जस्तो प्रमोटर सेयर छुट्याइने गरिएको छैन । जस्तो एनआईसी एशिया बैंकको एनआईसीए साधारण सेयर हो भने एनआईसीएपी प्रमोटर सेयर हो । एनआईसी एशिया मुख्य प्लेटफर्ममा कारोबार हुन्छ भने सोही बैंकको संस्थापक सेयर कारोबारका लागि कुनै प्लेटफर्म नै छैन । त्यो मार्केट क्याप्चर गर्न कम्पनीले सहजीकरण गर्ने उनको भनाइ छ । जहाँ बिक्रेता र खरिदकर्तालाई कारोबार गर्न एउटा माध्यम हुनेछ । नियामकीय अप्ठ्याराहरूलाई सहज रूपमा सेवा दिन कम्पनी तयार रहेको उनले बताए । डायस्पोरा अकाउन्ट सोलुसन (डायस्पोरा खाता सेवा) २०७८ को जनगणनाअनुसार ३२ लाख नेपाली विदेशमा छन् । अन्य तथ्याङ्कलाई आधार मान्ने हो भने ६७/६८ लाख मानिस विदेशमा रहेको दाबी छ । साथै विदेसिने नेपालीको संख्या थप बढ्दैछ । संसारभर नेपालीको संख्या बढिरहेको छ । एनआईसी एशिया क्यापिटलले विश्व समुदायलाई नेपालको पुँजी बजारसँग आवद्ध गराउन पूलको भूमिका निर्वाह गर्ने गरी डायस्पोरा अकाउन्ट सोलुसन योजना ल्याएको छ । संसारको जुनसुकै कुनाका लगानीकर्ता, उद्यमीले नेपाल आएर व्यापार व्यवसाय वा पुँजी बजारमा जोडिन चाहेमा उनीहरूका लागि सहज सेवा कम्पनीले उपलब्ध गराउने भएको हो । ‘विदेशमा नेपालीको उपस्थिति बढिरहेको छ । तर, नेपालमा वान स्टप सोलुसन छैन । कुनै काम गर्नुपर्‍यो भने एउटै व्यक्तिले धेरै कार्यालयमा धाउनुपर्ने बाध्यता छ । अब उहाँहरू लगानी गर्न आउनु भयो भने एनआईसी एशियाले एउटै कार्यालयबाट सबै काम गर्नेछ,’ रिसर्च हेड दनुवारले भने, ‘विभिन्न नियामकीय प्रावधान छन् र वार्षिक १२/१३ खर्ब रुपैयाँ रेमिट्यान्सलाई पुँजी बजारमा ल्याउन पुलको रूपमा कम्पनीले भूमिका खेल्नेछ । अथवा यी सबै समस्याको समाधान एनआईसी एशिया क्यापिटलले गर्नेछ ।’ कोही व्यक्ति व्यवसाय गर्न नेपाल आउँछ भने कम्पनीले व्यवसाय सुरु गर्नदेखि व्यवस्थापन, व्यवसाय वृद्धि र सफलता दिलाउने गरी सहयोगी भूमिका खेल्ने उनलेबताए । उनका अनुसार जस्तो कोरियामा पाँच वर्ष बसेर १ करोड रुपैयाँ कमाएर नेपाल फर्किएर मःम हाउस खोल्ने योजना छ भने एनआईसीले कम्पनी दर्ता, कम्पनीको मूल्याङ्कन, कानुनी तथा अनुपालन र आवश्यक लगानी रकम संकलनदेखि सबै काम गरिदनेछ । साथै, व्यवसाय सञ्चालन गरिरहेको छ तर कसरी विस्तार गर्ने भन्ने योजना छैन भने कम्पनीले उक्त सेवा पनि उपलब्ध गरायने उनको भनाइ छ । ओएफएस योजना पु्ँजी बजारमा सूचीकृत तथा सूचीकृत नभएका कम्पनीहरूको संस्थापक सेयर खरिद बिक्री गर्न सहज गराउने उद्देश्यले अफर फर सेल प्लेटफर्म योजना सञ्चालनमा ल्याएको उनले बताए । कम्पनीहरूको संस्थापक समूहको सेयर खरिद बिक्री गर्न निकै कानूनी प्रक्रिया पुरा गर्नुपर्ने भएकाले कम्पनीले उक्त सेवा उलपब्ध गराउने उनको भनाइ छ । ‘कम्पनीहरूको संस्थापक समूहको सेयर कारोबार गर्न निकै झन्झटिलो प्रक्रिया रहेको र लगानीकर्ताहरूले चाहेको समयमा खरिदकर्ता तथा बिक्रीकर्ता नपाउँदा संस्थापक सेयरमा गरिएको लगानी फ्रिज भएर बसेको छ । त्यसैले संस्थापक सेयर खरिद बिक्रीको लागि वान स्टप सोलुसन उपलब्ध गराउने मुख्य उद्देश्यले अफर फर सेल माध्यम ल्याएको हो,’ उनले भने । संस्थापक समूहको सेयर बिक्री गर्न चाहने सेयरधनीहरूले क्यापिटलको वेबसाइटमा माग गरेबमोजिमको विवरण रीतपूर्वक भरेपश्चात उक्त विवरणको आधारमा सम्बन्धित कम्पनीको सेयर खरिदकर्ता खोजिदिने काम क्यापिटलले गर्ने छ । सेयर खरिदकर्ता तथा बिक्रीकर्ताको विवरण सुरक्षित तथा गोपनीयता कायम राख्ने कम्पनीले जनाएको छ । कम्पनीको इतिहास सन् २०१६ बाट सञ्चालनमा आएको एनआईसी एशिया क्यापिटलले छोटो समयमा सेवामार्फत राम्रो छाप छाड्न सफल भएको कम्पनीले दाबी गरेको छ । साथै, नेपालको मर्चेन्ट बैंकिङमा पहिलो र एकमात्रै आइएसओ सर्टिफाइड क्यापिटल रहेको कम्पनीले जनाएको छ । पुँजी बजारमा इनोभेटिभ सेवा र सम्पूर्ण पुँजी बजारको सेवा दिने उद्देश्य रहेको यस कम्पनीले सेयर रजिष्ट्रार, लगानी व्यवस्थापन, सेयर निष्कासन तथा बिक्री प्रबन्धक, निक्षेप सदस्य, सेयर प्रत्याभूती, लगानी व्यवस्थापन तथा संस्थागत परामर्श सेवासमेत प्रदान गर्दै आएको छ । साथै कम्पनीले योजना व्यवस्थापक तथा डिपोजिटरीको कार्य पनि गर्दै आएको छ । कम्पनीले सन् २०१७ मा पहिलो बन्दमुखी योजना ग्रोथ फण्ड, सन् २०१८ मा ब्यालेन्सड् फण्ड र सन् २०१९ मा आईएसओ सर्टिफाइड बनेको रिसर्च हेड दनुवारले बताए । सन् २०२० मा कर्पाेरेट एडभाइजरी सेवा, अनलाइनबाट सेवा, सन् २०२१ मा अनलाइन टीएमएस, सन् २०२२ मा विशिष्टिकृत लगानी कोष, सन् २०२३ मा मौरिसससँग रणनीतिक साझेदार र सन् २०२४ मा आइडीया टू आइडीया सर्भिस सेवा सुरु गरेको उनले बताए । ‘कम्पनीले सेवालाई मात्रै नभई आफ्ना प्रडक्टलाई पनि सबैको आवश्यकता पुरा गर्न विविधिकरण गरेको छ । अब एआई प्रविधिबाट दूरदराजसम्म सेवा दिने योजना छ । डीपीमा ७ लाख ५२ हजार खातासहित मर्चेन्ट बैंकिङमा नेतृत्व गरेको छ । टिएमएसमा साढे २ अर्बको अण्डर म्यानेजमेन्ट छ । ६ वटा म्युचुअल फण्ड र फरक-फरक प्रडक्ट विविधिकरणमा कम्पनीले सेवा सुरु गरेको छ,’ उनले भने, ‘सन् २०१६ देखि सन् २०२४ सम्म आइपुग्दा कम्पनीले आफ्नोमात्रै माइलस्टोन नभएर इण्डष्ट्रीलाई पनि ग्रो गर्न सहयोग गरेको छ।’

के हो फोनपेको डिजिस्मार्ट नेपाल अभियान ?

काठमाडौं । फोनपेले ग्लोबल मनि विक २०२५ को अवसरमा “Fonepay Digi-Smart Nepal” अभियान सञ्चालन गरिरहेको छ । यस अभियानको उद्देश्य नेपाल भर डिजिटल वित्तीय साक्षरताको प्रवर्द्धन गर्नु का साथै डिजिटल भुक्तानीलाई सुरक्षित, सरल, र पहुँच योग्य बनाउनु हो । अभियानले डिजिटल वित्तीय प्रणाली प्रति नागरिकहरूको विश्वास अभिवृद्धि गर्दै डिजिटल भुक्तानीको सही प्रयोग, सुरक्षाका उपायहरू, र यसको फाइदाबारे जानकारी प्रदान गर्नेछ | Fonepay Digi-Smart Nepal अभियान अन्तर्गत डिजिटल वित्तीय साक्षरता र जन चेतना प्रवर्द्धन गर्न विभिन्न कार्यक्रमहरू आयोजना गरिनेछन् | यस्ता कार्यक्रमहरूमा कलेजहरूमा स्क्रिप्ट ड्रामा, डिजिटल सचेतना क्विज प्रतियोगिता, सामाजिक प्रयोग, वित्तीय विज्ञहरूसँग Q&A आदि पर्दछन् | यी कार्यक्रममार्फत डिजिटल भुक्तानीको सहजता र सुरक्षाबारे जनचेतना फैलाइनेछ । त्यसैगरी यस अवधिभरि  डिजिटल माध्यमलाई व्यापक रूपमा अपनाई डिजिटल भुक्तानीलाई प्राथमिकता दिने व्यवसायीहरूलाई विशेष प्रोत्साहन प्रदान गरिनेछ । यसका साथै फोनपे ले Share & Win Contest पनि आयोजना गर्ने छ, जसमा सहभागी भई एक भाग्यशाली विजेताले रु. ५०,००० जित्ने अवसर प्राप्त गर्न सक्नेछन् । यस प्रतियोगितामा भाग लिन डिजिटल भुक्तानीले आफ्नो जनजीवनलाई सहज बनाएको  कुनै अनुभव साझा गरि  फेसबुक, इन्स्टाग्राम, वा टिकटकमामा भिडियो पोष्ट गर्नुपर्ने छ । Digi-Smart Nepal अभियानमार्फत फोनपे ले डिजिटल भुक्तानीलाई अझ सरल, सुरक्षित, र सबैका लागि सहज बनाउने लक्ष्य राखेको छ । अभियान अवधि मार्च १७ देखि मार्च ३१, २०२५ सम्म रहनेछ। यो अवधिमा मात्र नभएर हामी सधैँ डिजिटल भुक्तानी गर्दा  सुरक्षित कारोबार सुनिश्चित गर्न हामी सबै सचेत रहनुपर्छ । सुरक्षित डिजिटल कारोबारलाई प्रोत्साहित गर्न, प्रत्येक नागरिकले डिजिटल भुक्तानीका सुरक्षित अभ्यासहरू अपनाउनु आवश्यक छ । पछिल्लो समयमा डिजिटल ठगीका घटना बढ्दै गइरहेका छन्, त्यसैले सुरक्षित डिजिटल कारोबारका लागि सतर्कता अपनाउनु जरुरी छ । आफ्ना व्यक्तिगत वित्तीय विवरणहरू सुरक्षित राख्न र सुरक्षित डिजिटल माध्यमहरूको प्रयोग गर्न फोनपेले अनुरोध गरेको छ ।

ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्‍यो नयाँ क्यालेन्डर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले दशकौं पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीरहरू समावेश गरी नयाँ वर्ष २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको कर्पोरेट कार्यालय कमलादीमा आयोजित एक समारोहमा नयाँ वर्ष २०८२ को क्यालेन्डर सार्वजनिक गरेका हुन् । क्यालेन्डरमा दशकौंअघिका नेपाली जीवनशैली, रहनसहन र परम्परागत अभ्यास कैद गरिएका दुर्लभ तस्वीरहरू समावेश छ । तस्वीरहरूले समयको प्रवाहसँगै परिवर्तन भएका जीवनशैली र रहनसहन स्मरण गराउँदै नयाँ पुस्तालाई विगतको जीवनशैली, रहनसहन तथा अवस्थाबारे जानकारी गराउन सहयोग पुग्ने बैंकको भनाइ छ । क्यालेन्डर सार्वजनिक गर्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्दै विभिन्न सामाजिक कार्य गर्दै आएको बताए । विगतका वर्षहरूमा क्यालेन्डरमा नेपाली कला र संस्कृति सम्बन्धी विषयहरू प्रकाशन गर्ने गरेको स्मरण गराउँदै उनले भने, ‘नेपालको सर्वाङ्गीण विकासका लागि हामीले नेपाली कला, साहित्य, संस्कृति र सभ्यतालाई संरक्षण तथा प्रवर्द्धन गर्न आवश्यक छ । ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यलाई निरन्तरता दिँदै आएको छ ।’ कार्यक्रममा बैंक सञ्चालक समिति, उच्च व्यवस्थापन लगायत बैंकका कर्मचारी तथा विभिन्न व्यक्तिहरूको उपस्थिति थियो । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक हो । बैंकले देशका ७७ जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क÷वैदेशिक प्रतिनिधि कार्यालय सहित १ हजार १ सयभन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । ग्लोबल आइएमई बैंकलाई सबैका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजनामार्फत आफ्ना ५० लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको जनाएको छ ।

पुनर्बीमा प्रयोजनका लागि विदेशी मुद्रा सटही सिफारिस प्रक्रिया सम्बन्धी व्यवस्था

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा गर्ने प्रयोजनका लागि विदेशी मुद्रा सटही सम्बन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउन विभिन्न व्यवस्था गरिएको जानकारी दिँदै सोही अनुसार विदेशी मुद्रा सटहीका लागि कागजातहरू पेश गर्न सबै निर्जीवन बीमकहरूलाई निर्देशन दिएको छ । फ्याकेल्टेटिभ पुनर्बीमा प्रयोजनका लागि विदेशमा रकम पठाउन विदेशी मुद्रा सटहीका लागि प्राधिकरणमा प्रस्ताव पेश गर्दा अनिवार्यरूपमा बीमकको पुनर्बीमा निर्देशिका, २०८० बमोजिम नेपालका पुनर्बीमकलाई प्रस्ताव गरेको प्रमाण र नेपालका पुनर्बीमकले उक्त प्रस्ताव २४ घण्टाभित्र अस्वीकार गरेको प्रमाण बीमकले पेश गर्नुपर्ने व्यवस्था गरिएको प्राधिकरणले दिएको निर्देशनमा उल्लेख छ । यसैगरी, बीमकले विदेशी पुनर्बीमा कम्पनीसँग पुनर्बीमा गर्दा पुनर्बीमा निर्देशिका, २०८० बमोजिम विदेशी पुनर्बीमा कम्पनी रेटेड हुनुपर्ने र पुनर्बीमा वापत विदेशी मुद्रा भुक्तानी गरेपश्चात् प्रत्येक त्रैमास समाप्त भएको १५ दिनभित्र उक्त विदेशी पुनर्बीमकले भुक्तानी बुझिलिएको प्रमाण नेपाल बीमा प्राधिकरणमा पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।  विदेशी मुद्राको सटही सिफारिसका लागि नेपाल बीमा प्राधिकरणमा पेश हुने पत्रमा बीमकका प्रमुख कार्यकारी अधिकृतको हस्ताक्षर हुनुपर्ने र विदेशी मुद्रा सटहीका लागि पेश गर्ने सबै कागजातका प्रतिलिपिहरूमा बीमकको छाप सहित सम्बन्धित कर्मचारीले हस्ताक्षर गरेको हुनुपर्ने निर्देशनमा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा महासंघले दियो यस्तो सुझाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमका लागि सुझाव पेश गरेको छ । महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई बुधबार सुझाव पेश गरेका हुन् । सुझाव दिने क्रममा अध्यक्ष ढकालले सरकारले हालै परिमार्जन गरेका कानुनहरुको सराहना गर्दै त्यसको कार्यान्वयनका लागि आवश्यक नियमावली, कार्यविधि बनाइ सबै तहमा नियमावली कार्यान्वनको प्रत्याभूति दिलाउनुपर्ने बताए । ‘नीतिगत परिमार्जनले सकारात्मक सन्देश गएको छ,’ उनले भने, ‘तर यसको कार्यान्वयनका लागि नियमावली कार्यान्वनको प्रत्याभूति सबैतिरबाट दिनुपर्छ ।’ महासंघले व्यवसाय दर्ता, नविकरण, राजस्व बुझाउने व्यवस्था एवं खारेजीका लागि प्रविधिको प्रयोग आवश्यक रहेको सुझाव दिएको छ । नागरिक एपमा बिजनेस आइकन राखि सोही मार्फत सम्पूर्ण व्यवसायिक सेवा दिन सकिने व्यवस्था आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा व्यवस्था गर्नुपर्ने सुझाव महासंघको छ । स्मार्ट सेवाका नाममा सम्पूर्ण सरकारी सेवा चुस्त दुरुस्त पार्नुपर्ने महासंघको सुझाव छ । यी हुन् महासंघको सुझाव- पछिल्ला २ वर्षको अवधिमा विदेशी लगानी कुल गार्हस्थ्य उत्पादनको ०.२ प्रतिशतमा सिमित भएको हुँदा लगानीको श्रोत जुटाउन नेपालमा लगानी अभियान नामक कार्यक्रम ब्यापक रुपमा स्वदेश तथा विदेशमा सञ्चालन गरिनुपर्छ । लगानी बोर्ड र उद्योग विभागलाई एक अर्कामा गाभेर पुनर्संरचना आवश्यक छ । वन स्टप सेन्टरको पूर्ण कार्यान्वयनका लागि लगानीकर्ताले एक ठाउँमा फाइल बुझाएपछि अन्यत्र जान नपर्ने गरि व्यवस्था गर्नुपर्नेछ । हरेक वर्ष आर्थिक ऐन ल्याएर राजस्व सम्बन्धि कानुनमा हठात परिवर्तन हुने क्रम रहेकोले यसको सट्टा एकिकृत कानुन संहिता निर्माण गरि सदनबाट पारित गर्नु आवश्यक छ । यसले सालबसाली बजेट मार्फत कार्यान्वयन हुने स्वेच्छाचारिता घटाइ नीतिगत स्थिरता कायम हुनेछ । विभिन्न कानुनहरुले दिएको व्यवसायिक सुविधाको ग्यारेन्टी हुने हुँदा लगानी प्रोत्साहित हुनेछ । यसैगरी, छ महिनादेखि नेपालको बैंकिग प्रणालीमा छ खर्ब रुपैया भन्दा बढि लगानीयोग्य रकम थुप्रिएको छ । तीन महिनामा ब्याजदर तीन प्रतिशत विन्दुले घटेको छ । तर पनि लगानीको माग भैरहेको छैन । केन्द्रिय बैंकले दुइ वर्ष अघि ल्याएको चालु पूँजी कर्जा मार्गदर्शन कर्जा निरुत्साहित गर्ने पहिलो नीति हो । यो आवश्यक थियो र छ पनि । बजारमा निराशा रहेका बेला यसलाई परिमार्जन गरिनु आवश्यक छ । मार्गदर्शनलाई लाई कम्तीमा दुइ वर्ष स्थगित गर्ने वा यसको निर्णय बैंक र ऋणी आफैंले गर्न सक्ने गरि सहज बनाउनुपर्छ । सहकारी एवं लघु वित्तमा आएको समस्याका कारण साना मझौला उद्यमीसम्म सहज रकम प्रवाहका लागि पुर्नकर्जा लगायतका सुविधा उपलब्ध गराउनुपर्छ । नेपाली अर्थतन्त्रको लाइफ लाइन रेमिट्यान्स हो । नेपाली बजारमा घटेको माग पुर्तिका लागि पर्यटक र निर्यात बढाउनु पनि त्यत्तिकै जरुरी छ । निर्यातको हकमा तत्काल खाडी मुलुकमा नेपाली कृषिजन्य उत्पादन र पानी निर्यात गर्न सकिने नीति तथा कार्यक्रमहरु आउनु पर्दछ । नेपालबाट दैनिक करिब १२ फ्लाइट मध्यपूर्व जाने गरेका छन । यी जाहाजमा नेपाली उत्पादन पठाउन एयरपोर्टमा कोल्डस्टोरेज, एक्स रे मेसिन र वेयर हाउस सुविधा उपलब्ध गराउनुपर्छ । व्यवसायी, कर्जा सुरक्षण निगम, सरकार र विकास साझेदारहरु समेतले जोखिम बेहोर्ने गरि एक करोड रुपैयासम्मको कर्जा परियोजना धितोमा उपलब्ध गराउने व्यवस्था गर्नुपर्नेछ । यसैगरि स्टार्ट अप नेपाल, साना उद्यमी विकास कार्यक्रम र प्रविधिबाट समृद्धि कार्यक्रम अन्तर्गत उद्यमीहरुलाई सुविधा प्रदान गर्नुपर्छ । भारतीय सिमा नजिकका हिलस्टेसनमा स्थापना हुने होटल रिसोर्ट, पोलिटेक्निकल इन्स्टिच्युट, अन्य शिक्षालय, शिक्षण अस्पताललाई लगायतलाई सुविधा दिइ भारतीय पर्यटक र अन्य लगानी पनि आकर्षित गर्न सकिन्छ । बिजुलीलाई उद्योगहरुको कच्चा पदार्थको रुपमा उपलब्ध गराउने व्यवस्था गर्न र उद्योगहरुमा लोडसेडिङ गर्ने प्रवृत्ति रोक्नुपर्छ । मूल्य अभिवृद्धिकर बहुदरयुक्त प्रणालीमा जानको लागि व्यापक कर सचेतना, दक्ष जनशक्ति, प्रणालीगत पुर्वाधार लगायतका ब्यापक व्यवस्थापकीय प्रवन्धहरु आवस्यक पर्ने भएकोले त्यसको लागि आवस्यक तयारी गर्न निजी क्षेत्र सम्मिलित कार्यदल बनाई तत्कालै कार्य प्रारम्भ गरिनु पर्दछ । आब ०८२/८३ को बजेट बाटै मूअकको एकल दरको कारणबाट सञ्चालन हुन कठिनाई भईरहेका केही वस्तु तथा सेवामा पाइलटिङ को रुपमा घटेको दरको कार्यान्यन सुरु गर्नुपर्छ । उत्पादनमूलक उद्योगमा लाग्दै आएको करलाई क्रमशः घटाइ पाँच वर्षमा ५ प्रतिशत विन्दुले कम गर्नु पर्दछ । यसैगरि आयकरको दर घटाउन र कर छुटको सिमा बढाउनुपर्छ । साफ्टाका कारण स्वदेशी उद्योगमा परेको प्रभाव समेतलाई ध्यानमा राखी स्वदेशी उद्योग प्रवद्र्धन हुने करनीति आवश्यक छ । महासंघले सिथिल अर्थतन्त्र उकास्न सदस्यहरुसँग निरन्तर सुझाव संकलन गरिरहेको र सोही अनुसार सरकारसँग छलफल गर्नेछ ।

प्रोटोन इमास ७ द्वारा २१ दिने नेपाल भ्रमण पूरा, मार्च २१ मा लन्च गरिने

काठमाडौं । जगदम्बा मोटर्सले प्रोटोन इमास ७ को सातवटै प्रदेशहरू पार गर्दै सम्पन्न भएको २१ दिने चुनौतीपूर्ण यात्रा सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको छ । यो उपलब्धिले विभिन्न भौगोलिक र मौसमीय परिस्थितिहरूमा गाडीको उत्कृष्ट प्रदर्शन, विश्वसनीयता र कुशलताको प्रमाण दिएको कम्पनीकाे भनाइ छ । प्रोटोन इमास ७ अब मार्च २१ मा औपचारिक रूपमा सार्वजनिक उद्घाटनका लागि तयार छ, जसले नेपालको दिगो यातायातको दिशामा नयाँ युगको सुरुवात गर्नेछ । कम्पनीका अनुसार प्रोटोन इमास ७ ले आफ्नो क्रस कन्ट्री यात्रा गाडीको अनुकूलता र सहनशीलता वास्तविक परिस्थितिमा परीक्षण गर्नका लागि सुरु गरेको थियो । तराईका समथर फाँटदेखि हिमाली भूबनोटका कठोर बाटाहरू हुँदै, यो विद्युतीय सवारीसाधनले विभिन्न भूभागहरूमा आफूलाई सफलतापूर्वक प्रमाणित ग-याे। यस यात्राले स्थानीय समुदायलाई गाडीको उन्नत प्रविधि र वातावरणमैत्री विशेषताहरू प्रत्यक्ष अनुभव गर्ने अवसर पनि प्रदान ग-याे । ‘यो यात्रा प्रोटोन इमास ७ को क्षमताको प्रमाण हो र नेपाली बजारका लागि यसको तयारी दर्शाउँछ । हामी यो अत्याधुनिक विद्युतीय सवारीसाधनलाई नेपालमा ल्याउन पाउँदा अत्यन्त उत्साहित छौं, जसले स्थायी, कुशल र किफायती यातायात समाधान प्रदान गर्नेछ,’ जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने । औपचारिक सार्वजनिक उद्घाटन कार्यक्रम मार्च २१ मा काठमाडौंमा आयोजना हुनेछ, जहाँ उद्योगका अगुवा व्यक्तित्वहरू, सरकारी अधिकारीहरू र सर्वसाधारणको उपस्थिति रहनेछ। कार्यक्रममा गाडीको मुख्य विशेषताहरू, प्रविधि र प्रोटोनले नेपालको वातावरणमैत्री यातायातलाई प्रवर्द्धन गर्ने प्रतिबद्धताका बारेमा प्रकाश पारिनेछ । प्रोटोन इमास ७ को सुरुवातसँगै, जगदम्बा मोटर्सले नेपालको मोटर उद्योगमा क्रान्ति ल्याउने लक्ष्य राखेको छ, जसमा प्रदर्शन र आराममा कुनै सम्झौता नगरी वातावरणमैत्री विकल्प प्रदान गरिनेछ । कम्पनीले नेपालको हरित ऊर्जा लक्ष्यलाई समर्थन गर्दै नवप्रवर्तनात्मक विद्युतीय गतिशीलता समाधानहरू मार्फत कार्बन उत्सर्जन घटाउने प्रतिबद्धता जनाएको छ ।

एनसेल फाउन्डेसनले थाल्यो एनपीएलका चौका वापतको शैक्षिक सामग्रीको वितरण

काठमाडौं । एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरुमा हानिएका प्रत्येक चौका वापत विद्यार्थीहरुलाई चार वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा अनुसार शैक्षिक सामग्रीहरुको वितरण शुरु गरेको छ । यसै कार्यक्रम अन्तर्गत मंगलबार लुम्बिनी प्रदेशका तिन विद्यालयहरुमा ४४६ वटा शैक्षिक सामग्रीहरु वितरण गरिएको छ । क्रिकेटदेखि कक्षाकोठासम्मको यो पहलमा क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै एनसेलले एनपीएलका खेलहरूमा हानिने प्रत्येक चौका वापत चारवटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गत मंसिरमा गरेको थियो । यसले विद्यार्थीहरूमा अर्थपूर्ण प्रभाव पार्दै शिक्षामा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्‍याउने उद्देश्य राखेको छ । मंगलबार एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ, नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का, लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी र एनसेलकी मार्केटिङ्, कम्युनिकेशन एन्ड सस्टेनिबिलिटी अन्तरिम डाईरेक्टर विषाखा लक्ष्मी खड्काले कपिलवस्तु नगरपालिका, वडा १० का श्री राष्ट्रिय माध्यामिक विद्यालय र मदरसा वहरुल उलूमका २६० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन् । त्यसैगरी मंगलबार नै एनसेलका चीफ अफ स्टाफ स्टिवन रोड्रिगेजले राप्ति सोनारी गाँउपालिका, वडा ४ मा रहेको श्री बालकशान्ति प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई १८६ शैक्षिक सामग्री वितरण गरेका छन् । ‘आफ्नो प्रतिबद्धता बमोजिम प्राथमिक तहका विद्यार्थीहरूलाई एनसेल फाउन्डेसनमार्फत विद्यार्थीहरुलाई आवश्यक पर्ने शैक्षिक सामग्रीको सहयोग प्रदान गर्न पाउँदा खुशी छौं। गुणस्तरीय शिक्षा प्रत्येक बालबालिकाको आधारभूत अधिकार हो । यो पहलले विद्यार्थीहरूलाई शिक्षामा मद्दत गर्ने विश्वास मैले लिएको छु र साथै यसले शैक्षिक स्रोतको अभाव कम गर्न सहयोग गर्दछ,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले भने । विद्यार्थीहरुले प्राप्त गरेका प्रत्येक शैक्षिक सामग्रीमा शैक्षिक सामग्रीहरु जस्तै स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेसनरी सामान समावेश छन् । ‘यो एक उत्कृष्ट पहल हो, जसमा शिक्षालाई क्रिकेटसँग जोड्दै एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत विद्यार्थीहरूलाई उनीहरूको शिक्षामा सहयोग पुर्‍याउँछ । कपिलवस्तुमा आयोजित शैक्षिक सामग्री वितरण कार्यक्रममा बच्चाहरूसँग समय बिताउदै र उनीहरुसँग खुशी बाँड्दै सहभागी हुन पाउँदा म अत्यन्तै खुशी छु,’ क्यानका सचिव पारस खड्काले भने । यस पहल अन्तर्गत एनसेल फाउन्डेसनले एनपीएलमा हानिएका ६५३ चौका वापत कुल २६१२ वटा शैक्षिक सामग्री विद्यार्थीहरुलाई वितरण गर्नेछ । कपिलवस्तुका दुई विद्यालयहरूले एनसेल फाउन्डेसनको फेसबुक पेजबाट यस पहलका बारेमा थाहा पाएपछि एनसेल फाउन्डेसनसँग सहयोगको लागि अनुरोध गरेका थिए, भने श्री बालकशान्ति विद्यालयले एनसेलको नेपालगञ्ज कार्यालयमार्फत सहयोगको लागि अनुरोध गरेको थियो । ‘हामी यस पहलप्रति प्राप्त व्यापक उत्साहजनक प्रतिक्रियाबाट उत्साहित छौं । शैक्षिक सामग्री वितरणको कामलाई निरन्तरता दिदै क्यान जस्ता सम्बन्धित साझेदारहरूसँगको सहकार्यमा देशका अन्य भागका विद्यार्थीहरूलाई पनि शैक्षिक सामग्री उपलब्ध गराउने छौं,’ एनसेलकी मार्केटिङ्, कम्युनिकेशन एन्ड सस्टेनिबिलिटी अन्तरिम डाईरेक्टर विषाखा लक्ष्मी खड्काले भनिन् । एनपीएलका लागि एनसेलको साझेदारी र प्रत्येक चौका वापत ४ वटा शैक्षिक सामग्रीको वितरण कम्पनीको ‘हामी तपाईंकै लागि’ भन्ने थिम र नेपालमा क्रिकेट र खेलकुदको विकासमा समर्थन गर्ने प्रतिबद्धता अनुरुप रहेको थियो । एनसेल फाउन्डेसन महत्वपूर्ण सामाजिक आवश्यकताहरू पूरा गर्न प्रभावकारी पहल मार्फत समुदायहरूको समृद्धिमा योगदान पुर्‍याउन प्रतिबद्ध रहेको छ ।