
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको छ ।
मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले प्रसाईंविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका हुन् ।
पन्तले उजुरीमा प्रसाईंले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई लक्षित गरी गलत सूचना तथा घृणास्पद अभिव्यक्ति फैलाएको आरोप लगाएका छन् ।
उजुरी आजै ब्युरोमा दर्ता भएको प्रहरीले जनाएको छ ।
यसअगाडि प्रहरीको साइबर ब्यूरोले प्रसाईंलाई असोज ६ गते भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ गरेको थियो । उनीविरुद्ध विद्युतीय अपराधसम्बन्धी दुईवटा मुद्दा दायर भएको थियो ।
काठमाडौं जिल्ला अदालतले मागेको १ लाख रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका थिए ।
वर्तमान व्यवस्थालाई चुनौती दिँदै आज राजावादीहरू प्रदर्शनमा उत्रिएका छन् । आजको प्रदर्शनको ‘कमान्डर’ मेडिकल व्यवसायी प्रसाईं हुन् । राजावादीको प्रदर्शनको नेतृत्व पूर्वपञ्च ८६ वर्षीय नवराज सुवेदीले गरेका छन् ।
यता गणतन्त्रवादीहरूले पनि प्रदर्शन गरिरहेका छन् । समाजवादी मोर्चा नेपाल नाम दिइएको विशाल जनसभामा (माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा सहभागी छन् ।
जसको प्रमुख वक्ता पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन् ।