विकासन्युज

उत्कृष्ट अभिनेताको अवार्ड जितेका आर के मेहताको संघर्ष र सफलताको यात्रा

काठमाडौं । नेपालका चर्चित अभिनेता आर के मेहता, जसले चलचित्र ‘आँखा’ मार्फत उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । उनले आफ्नो संघर्ष र समर्पणको यात्रा जारी राख्दै नेपाली फिल्म उद्योगमा नयाँ उचाइ थपेका छन् । हालै काठमाडौंमा आयोजित एक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदिप खड्का, आर्यन सिग्देल र पल शाह जस्ता चर्चित कलाकारलाई पछि पार्दै मेहताले यो अवार्ड जितेका थिए । ‘आँखा’ चलचित्रले यस महोत्सवमा उत्कृष्ट राष्ट्रिय फिचर चलचित्रको अवार्ड पनि प्राप्त गरेको थियो । यस चलचित्रबाट निर्देशक जौन यौंजनले उत्कृष्ट स्क्रिनराइटरको अवार्ड जितेपछि महोत्सव ‘आँखा’ मय बनेको थियो । आर के मेहता, विराटनगरको भट्टाचोकमा जन्मिएका, थिएटरको माध्यमबाट अभिनय क्षेत्रमा आएका थिए । उनले रंगमञ्चको अभ्यास गर्दै इटालीको ‘एकाडेमिया डेल आर्टे’मा भौतिक थिएटर अध्ययन गरेका थिए । नेपाली फिल्म ‘रंगेलीु’बाट अभिनय यात्रा सुरु गरेपछि, उनले विभिन्न नाटक र फिल्ममा काम गर्दै आफ्नो अभिनयको गहिराइ बढाएका थिए । उनको प्रमुख फिल्म ‘आँखा’ मा उनले १५ किलो तौल घटाएर, ६ महिना काठमाडौंको सुकुम्बासी बस्तीमा बिताएर, पात्रको वास्तविकता बुझ्न निकै कठोर मेहनत गरेका थिए । उनले आफ्नो अभिनयका लागि कडा डाइट र जीवनशैली अपनाएका थिए । आर के मेहता अब नेपाली सिनेमा उद्योगका लागि एक प्रेरणा बनिसकेका छन् । उनको संघर्ष, समर्पण र कडा परिश्रमले उनलाई अन्तर्राष्ट्रिय स्तरमा सफलता दिलाएको छ, र नेपाली चलचित्र क्षेत्रलाई नयाँ दिशा र ऊर्जा दिएको छ । को हुन् आर के मेहता ? विराटनगरको भट्टाचोकमा जन्मिएका आर के मेहता ती कलाकार हुन्, जसले अभिनयलाई केवल पेशा होइन, आफ्नो जीवनको अटुट अंश बनाए । बाल्यकालदेखि नै कराँते, नृत्य, र अभिनयमा रुचि राख्ने उनले कराँतेमा ब्ल्याक बेल्ट हासिल गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई पदक दिलाए । अभिनयप्रतिको गहिरो मोहले उनी रंगमञ्चतर्फ आकर्षित भए, जहाँ उनले विराट मैथिल नाट्य कला परिषद, विराटनगर गुरुकुल हुँदै शिल्पी थिएटरमा प्रशिक्षण लिएका थिए । शिल्पी थिएटरमा उनी दुई वर्ष होस्टल बसेर काम गरे । अन्तर्राष्ट्रिय अवार्डः निफको ‘उत्कृष्ट पुरुष अभिनेता’ विजेता उनको कठोर मेहनतले रंग ल्यायो । ‘आँखा’ फिल्ममा उनको दमदार अभिनयले उनलाई नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव २०२५ मा उत्कृष्ट पुरुष अभिनेता को अवार्ड दिलायो । यो अवार्डले उनको संघर्षको पहिचान मात्र दिएन, नेपाली सिने उद्योगका लागि पनि एक नयाँ उचाइ थप्यो ।

कोटेश्वरको भाटभटेनीमा लुटपाट गर्ने ९ जना पक्राउ, को हुन् ति व्यक्तिहरू ?

काठमाडौं । कोटेश्वर भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन् । गत शुक्रबार राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ महाअभियान नेपालका केन्द्रिय अध्यक्ष दुर्गा प्रसाईको नेतृत्वमा राजावादी समूहसहितको संयुक्त आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाट भएको थियो । यस घटनामा संलग्न व्यक्तिहरू फरार भएपछि, काठमाडौं जिल्लाका विभिन्न स्थानहरूबाट शनिबार र आइतबार ती व्यक्तिहरूलाई खोजतलास गरी पक्राउ गरिएको छ । प्रहरीले ती व्यक्तिहरूसँगका सामान पनि बरामद गरेको र थप अनुसन्धान तथा कारवाहीका लागि उनीहरूलाई प्रहरी वृत्त बानेश्वर पठाइएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा नुवाकोट विदुर गाउँपालिका-६ की ४३ वर्षीया सुशीला कुमाल, धरानकी ४१ वर्षीया एलिसा राई, तथा कोटेश्वरकी ७० वर्षीया बालकुमारी कार्की रहेका छन् । त्यसैगरी, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-८ की ३७ वर्षीया निर्मला कार्की, सिन्धुली लामुनटार गाउँपालिका-७ की १५ वर्षीया चित्रमाया बस्नेत, र सिन्धुली तीनपाटन गाउँपालिका-१६ की १७ वर्षीया सुस्मिता बराललाई कोटेश्वर नरेफाँटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । साथै, धनुषाका आशिष सिंह, सर्लाहीका प्रेमकुमार महतो र भारतका रवि रन्जन कुमार पक्राउ परेका छन् ।

कञ्चनजङ्घा आरोहणको ७० वर्ष पूरा, शेर्पा गाईड, अनुसन्धनकर्ता र पर्वतीय अभियान्तालाई सम्मान गरिने

काठमाडौं । कञ्चनजङ्घा हिमाल हिमालको पहिलो सफल आरोहण भएको ७० वर्ष पुगेको उपलक्ष्यमा कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदले तीन दिने विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदले उक्त कार्यक्रमको नाम ७०औँ वार्षिक उत्सव (के७०) दिएको छ । आयोजकका अनुसार उक्त कार्यक्रम आगामी वैशाख २०८२ साल वैशाख ५ देखि ७ गते (अप्रिल १८ देखि २०) ताप्लेजुङ्गको फक्ताङ्लुङ गाउँपालिका–५, लेलेपमा हुनेछ । कार्यक्रममा समृद्ध पहाड र नेपाल पर्वतारोहण संघलले समेत सहकार्य गर्नेछन् । आरोहणको ७० वर्ष पूरा भएको अवसरमा इतिहासमा विशेष योगदान पुर्‍याएका पर्वतारोहीहरू, शेर्पा गाईड, अनुसन्धनकर्ता र पर्वतीय अभियान्ताहरुलाई सम्मान गरिनेछ । यस कार्यक्रमले स्थानीय समुदाय, विभिन्न संघसंस्था र विभिन्न सरोकारवाला निकायलाई एकसाथ जोडिन मद्दत पुग्ने आयोजकले जनाएको छ । पर्वतीय पर्यटनको प्रवद्र्धन, हिमालको संरक्षण, ऐतिहासिक उपलब्धिको कदर, स्थानीय समुदायको समृद्धि, र दिगो पर्वतारोहण प्रचार–प्रसार एवं रणनीतिक विकास जस्ता उद्देश्य यो कार्यक्रमको रहेको समृद्ध पहाडका प्रमुख कार्यकारी अधिकृत सञ्जिव न्यौपानेले बताए । उनका अनुसार यस उत्सवले कञ्चनजङ्घा क्षेत्रको अलौकिक सुन्दरता, जैविक विविधता एवं पर्वतीय पर्यटनको सम्भावनालाई विश्व समुदाय समक्ष पुर्‍याउन मद्दत पुग्नेछ । हिमाली परिस्थिति प्रणालीको संरक्षण, जलवायु परिवर्तनले कञ्चनजङ्घा हिमाल र आसपासका क्षेत्रहरूमा पारेका असरबारे सचेतना जगाउने, शेर्पा, लिम्बू, राई लगायतका स्थानीय समुदायको पर्वतीय पर्यटनमा योगदानलाई सम्मान गरी स्थानीय परम्परा एवं साँस्कृतिक महत्वलाई प्रचार–प्रसार गरिने उनले बताए । कञ्चनजङ्घा आरोहणका विविध आयामहरुको नेपाल तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गरी अन्तर्राष्ट्रिय पर्वतारोहीहरुका लागि सुरक्षित, दिगो, उत्तरदायी र आकर्षक बनाउने रहेको आयोजकको दाबी छ । न्यौपानेका अनुसार अप्रिल २४ मा काठमाडौंमा विशेष कार्यक्रम पनि आयोजना गरिनेछ । उक्त कार्यक्रममा प्रथम नेपाली पुरुष आरोही आङ फुर्बा शेर्पा, प्रथम नेपाली महिला आरोही निमा जाङमु शेर्पा, मिङ्मा डेभिड शेर्पा, अभिनेत्री तथा समाजसेवी मनिषा कोइरालगायतको उपस्थिति रहनेछ । कार्यक्रममा नेपाल पर्यटन बोर्ड, नेपाल सरकारका प्रतिनिधिहरू, अन्तर्राष्ट्रिय संस्थाहरू, पर्वतारोहीहरू, सञ्चारमाध्यमहरू, तथा निजी क्षेत्रका साझेदारहरूको सहभागिता रहनेछ । त्यसैगरी कार्यक्रममा ऐतिहासिक आरोहण तथा संरक्षण प्रयासहरूको दुर्लभ तस्बिरहरू प्रदर्शन गरिने कार्यक्रम रहेको छ । सन् १९५५ मे २५ मा बेलायती नागरिक जर्ज ब्याण्ड र जो ब्राउनले पहिलोपटक यस हिमालको सफल आरोहण गरेका थिए । यो हिमाल ८ हजार ८५६ मिटर अग्लो छ । जुन विश्वकै तेस्रो अग्लो हिमाल हो ।

युवक हत्याको विरोधमा प्रदर्शन गर्दा प्रहरीसँग झडप, एक दर्जन बढी घाइते

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका-२३ स्थित बिन्धीमा १७ वर्षीय आशु यादवको हत्या विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ। प्रदर्शनकारीहरूले जनकपुरधाम-भिठामोड सडकखण्ड अवरुद्ध गरेपछि प्रहरीको लाठीचार्जपछि झडप सुरु भएको हो । झडपका क्रममा एक दर्जनभन्दा बढी स्थानीय र केही प्रहरीसमेत घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले १५ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । १५ दिनअघि होलीको दिन बिन्धीमा आशु यादवको चक्कु प्रहार गरी हत्या गरिएको थियो । यस घटनामा संलग्न एक युवक पक्राउ परे पनि अन्य ६ जना अझै फरार छन्, जसका कारण स्थानीय आन्दोलित भएका थिए ।

डा. सुन्दरमणि दीक्षितले रजकको परिवारलाई एक लाख दिने

काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएका छन् । रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा डा. दीक्षितले उक्त रकम क्लबका अध्यक्ष ऋषि धमलालाई हस्तान्तरण गर्दै मृतक रजकको परिवारलाई उपलब्ध गराउन आग्रह गरे । आन्दोलनका क्रममा पत्रकारको मृत्यु गम्भीर विषय रहेको बताउँदै उनले सबै सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूतिका लागि सरकारसँग माग समेत गरे । साथै उक्त घटनाका घाइतेको उपचार तथा मृत्युवरण गरेका व्यक्तिलाई राहत रकम उपलब्ध गराउन डा. दीक्षितले सरकारसँग आग्रह गरे । सरकार सबैको अविभावक भएकाले त्यो भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको उनले उल्लेख गरे ।

म्यान्माको भूकम्प पीडितलाई बेलायतले एक करोड २९ लाख अमेरिकी डलर दिने

काठमाडौं । बेलायतले म्यान्माका लागि शनिबार एक करोड पाउन्ड (एक करोड २९ लाख अमेरिकी डलर) मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ । म्यान्मामा शुक्रबार गएको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको र राहत तथा उद्धार कार्यमा सघाउनका लागि बेलायत सरकारले सहायताको घोषणा गरेको हो । भूकम्पका कारण म्यान्मामा एक हजार ६०० भन्दा बढीको मृत्यु हुनुका साथै व्यापक क्षति भएको छ । बेलायती विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बेलायतको यो कोषले भूकम्पबाट अति प्रभावित क्षेत्रमा खाद्यान्न, पानी, औषधि र आवासका सामानको आपूर्ति लागि सहायता गर्नेछ ।’ विकास मन्त्री जेनिफर च्यापम्यानले भने, ‘बेलायतको आर्थिक सहयोगमा सञ्चालित स्थानीय साझेदारहरूले पहिले नै म्यान्मामा मानवीय सहयोग गरिरहेका छन् । यस दुःखद घटनापछि म म्यान्माका जनताप्रति गहिरो सहानुभूति व्यक्त गर्दछु ।’ म्यान्माको मध्य भागमा गएको ७.७ म्याग्निच्यूडको भूकम्पपछि सेनाप्रति वफादार (जुन्टा) सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि विरलै गर्ने आग्रह गरेको थियो । बेलायतले यसअघि जुन्टासरकारसँग निकटता भएका व्यक्ति र संस्थामाथि प्रतिबन्ध लगाएको थियो । रासस

‘पाँच वर्षे कार्यकाल ‘टफ’ रह्यो, राष्ट्र बैंकको स्वायत्तता जोगाएकै हो’

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीले आफ्नो पाँच वर्षे कार्यकाल चुनौतिपूर्ण रहेको बताएका छन् । राष्ट्र बैंक र नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को सहकार्यमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले पाँच वर्षे कार्यकालको चुनौतिपूर्ण समयमा राष्ट्र बैंकको स्वायत्ततालाइ कायम राख्न सफल भएको दाबी गरे । ‘यो पदमा बसिरहँदा गभर्नरको हैसियतले मैले साथीहरूलाई सम्बोधन गर्न पाइरहेको छु । यो अवसरका लागि अभार छ । आर्थिक पत्रकार तथा सबै जसो सञ्चारकर्मी साथीहरूले मेरो पाँच वर्षे कार्यकालको अवधिमा धेरै महत्वपूर्ण योगदान दिनु भयो,’ उनले भने, ‘कुनै बेला अलिकति असहज स्थितिहरू फेस गरियो । चुनौतिपूर्ण समयमा पनि राष्ट्र बैंकको स्वायत्ततालाई कायम राख्न, राष्ट्र बैंकको प्रतिस्ठालाई कामय गर्नलाई सञ्चार क्षेत्रको पनि भूमिका पनि मेरो लागि अविस्मरणीय छ । र, सबैमा म आभार व्यक्त गर्न चाहन्छु ।’ अर्थतन्त्र बुझ्न जरूरी रहेको र सिकेर पूर्ण नहुने उनले बताए । ‘कहिले पनि सिकेर सकिँदैन । म गभर्नर छु । तर, मेरै क्षेत्रका कतिपय विषय सिक्नुपर्ने हुन सक्छ । सिक्ने प्रक्रिया आजीवन चल्छ । त्यसैले सिक्नलाई हामीले गाह्रो मान्नु हुँदैन ।’ सामाजिक सञ्जालले अर्कै किसिमको सोसाइटी निर्माण गरिरहेको समेत उनले बताए । वित्तीय क्षेत्र संवेदनशील भएकाले संवेदनशीलता अपनाउनुपर्ने उनको भनाइ छ । ‘वित्तीय क्षेत्र धेरै संवेदनशील छ । मान्छेहरू कहिलेकाहीँ आक्रामक रूपमा प्रस्तुत भइरहेका हुन्छन् । यसको संवेदनशीलता बुझ्नुपर्ने हुन्छ । हामीले पारदर्शी रूपमा सबै तथ्याङ्क प्रत्येक महिना सार्वजनिक हुने व्यवस्था गरिएको छ । ती सार्वजनिक भएका तथ्याङ्कहरू ओभरलोडेड छन्,’ उनले भने ।

राजावादीहरू मुलुकलाई जबरजस्ती कब्जा गर्ने मानसिकतामा छन् : सांसद महत

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले राजावादीहरूको प्रदर्शनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संवैधानिक राजा बन्ने योग्य नरहेको स्पष्ट पारेको बताएका छन् । आइतबार संघीय संसद परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महतले प्रदर्शनमा देखिएका अराजक गतिविधिहरूले पूर्वराजा शाहको निरङ्कुश राजा बन्ने चाहना स्पष्ट भएको उल्लेख गरे । उनले भने, ‘राजावादीहरूको प्रदर्शनबाट मुलुकलाई जबरजस्ती कब्जा गर्ने मानसिकता देखिएको छ, जसले जनताको भावनासँग कुनै सरोकार राख्दैन ।’ उनले थपे, ‘निजी सम्पत्तिमा क्षति पुर्याउने र उत्तेजना फैलाउनेलाई सरकारले प्रमाण र तथ्यका आधारमा कारबाही गर्नेछ । लोकतन्त्र नै सबैभन्दा उत्कृष्ट व्यवस्था हो, र यसको विकल्प अन्य कुनै व्यवस्था हुन सक्दैन ।’