
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीले आफ्नो पाँच वर्षे कार्यकाल चुनौतिपूर्ण रहेको बताएका छन् । राष्ट्र बैंक र नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को सहकार्यमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले पाँच वर्षे कार्यकालको चुनौतिपूर्ण समयमा राष्ट्र बैंकको स्वायत्ततालाइ कायम राख्न सफल भएको दाबी गरे ।
‘यो पदमा बसिरहँदा गभर्नरको हैसियतले मैले साथीहरूलाई सम्बोधन गर्न पाइरहेको छु । यो अवसरका लागि अभार छ । आर्थिक पत्रकार तथा सबै जसो सञ्चारकर्मी साथीहरूले मेरो पाँच वर्षे कार्यकालको अवधिमा धेरै महत्वपूर्ण योगदान दिनु भयो,’ उनले भने, ‘कुनै बेला अलिकति असहज स्थितिहरू फेस गरियो । चुनौतिपूर्ण समयमा पनि राष्ट्र बैंकको स्वायत्ततालाई कायम राख्न, राष्ट्र बैंकको प्रतिस्ठालाई कामय गर्नलाई सञ्चार क्षेत्रको पनि भूमिका पनि मेरो लागि अविस्मरणीय छ । र, सबैमा म आभार व्यक्त गर्न चाहन्छु ।’
अर्थतन्त्र बुझ्न जरूरी रहेको र सिकेर पूर्ण नहुने उनले बताए । ‘कहिले पनि सिकेर सकिँदैन । म गभर्नर छु । तर, मेरै क्षेत्रका कतिपय विषय सिक्नुपर्ने हुन सक्छ । सिक्ने प्रक्रिया आजीवन चल्छ । त्यसैले सिक्नलाई हामीले गाह्रो मान्नु हुँदैन ।’
सामाजिक सञ्जालले अर्कै किसिमको सोसाइटी निर्माण गरिरहेको समेत उनले बताए । वित्तीय क्षेत्र संवेदनशील भएकाले संवेदनशीलता अपनाउनुपर्ने उनको भनाइ छ ।
‘वित्तीय क्षेत्र धेरै संवेदनशील छ । मान्छेहरू कहिलेकाहीँ आक्रामक रूपमा प्रस्तुत भइरहेका हुन्छन् । यसको संवेदनशीलता बुझ्नुपर्ने हुन्छ । हामीले पारदर्शी रूपमा सबै तथ्याङ्क प्रत्येक महिना सार्वजनिक हुने व्यवस्था गरिएको छ । ती सार्वजनिक भएका तथ्याङ्कहरू ओभरलोडेड छन्,’ उनले भने ।