'युवा पलायन रोक्न मुलुकभित्रै दक्ष श्रम शक्तिको विकासमा चासो देखाउनुपर्छ'
काठमाडौं । मुलुकको अर्थतन्त्रको विकास र विस्तारका लागि सरकार र निजी क्षेत्रले सहकार्य र समन्वय गर्दै अर्थतन्त्र विस्तार गर्नुपर्नेमा सरोकार भएका व्यक्ति, संस्थाका प्रतिनिधिले जोड दिएका छन् । ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रमका सहभागीले नीतिगत स्थिरता, दक्ष जनशक्तिको विकास, लगानीमैत्री वातावरण, सूचना प्रविधिको प्रयोग गरेर मात्रै आर्थिक विकासको मार्ग प्रशस्त गर्न सकिने धारणा राखे । सरकार र निजी क्षेत्रले समान दृष्टिकोण बनाएर कार्यान्वयन गर्दै नीतिगत सुधार गर्न सकेमा मुलुकमा उल्लेख्य मात्रामा आर्थिक वृद्धि हुने धारणा राखे । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकभित्र दक्ष जनशक्ति उत्पादनमा सरकार र निजी क्षेत्रले सहकार्य गरी अगाडि बढ्नुपर्ने बताए । आर्थिक विकास र समृद्धिका लागि नीतिगत स्थिरता जरुरी रहेको आवश्यकता औंल्याउँदै उनले युवा पलायन रोक्दै मुलुकभित्रै दक्ष श्रम शक्तिको विकासमा विशेष चासो देखाउनुपर्ने समय आएको उल्लेख गरे । नीतिगत रूपमा स्थायित्व भए निजी क्षेत्रले लगानी विस्तार गर्ने वातावरण बन्दै जाने अध्यक्ष ढकालको भनाइ छ । पूर्वाधार क्षेत्र, कृषि, पर्यटन र उत्पादन मूलक क्षेत्रमा लगानी विस्तार गरेर आर्थिक समृद्धिको मार्ग पहिचानमा ढिलाइ गर्न नहुनेमा उनले जोड दिए । नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश कुमार अग्रवालले बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिएको भएपनि लगानी विस्तार हुन नसकेको बताए । सरकारले केही सकारात्मक पहल गरिरहेको भन्दै लगानीको उचित वातावरण बन्न नसक्नुका कारण खोजी गर्नुपर्नेमा उनले जोड दिए । सरकारको सकारात्मक पहलका कारण अर्थतन्त्रमा केही सुधार आएपनि थप सुधार र विस्तारका लागि परिसङ्घले यसअघि दिएका सुझावको अक्षरश कार्यान्वयन गर्न अध्यक्ष अग्रवालले माग गरे । लक्ष्मी हुन्डाई ग्रुपका प्रबन्ध निर्देशक निरञ्जन श्रेष्ठले अर्थतन्त्रको विकास र विस्तारका लागि ‘स्टार्टअप’लाई प्रोत्साहन गर्नु आवश्यक रहेको बताए । प्राध्यापक सुरेश मानन्धरले सूचना प्रविधिसम्बन्धी नीतिलाई सहज र सरल बनाउनुपर्नेमा जोड दिए । उनले यस क्षेत्रको समयसापेक्ष विकासका लागि जनशक्ति तथा प्रविधिको क्षमतामा विकास र लगानी आवश्यक रहेकामा जोड दिए ।
पार्टीका नेता भन्दा बिचौलियाले गभर्नर नियुक्ति गर्छन् कि भन्ने चिन्ता छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले मुलुकको अर्थतन्त्रको विकासका लागि सरकारले केही जोखिम उठाउनैपर्ने बताएका छन् । ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवादमा’ उनले सरकारले निजी लागनीकर्ता माझ विश्वास बढाउन सकेको खण्डमा अर्थतन्त्रको विकास हुने बताउँदै यसमा निजी क्षेत्रले पनि सार्थक सहयोग गर्नु जरुरी रहेको आवश्यकता औँल्याए । सङ्घीय सांसद समेत रहेका महामन्त्री थापाले हरेक क्षेत्रमा खुल्ला र पारदर्शी छलफलले मात्रै समस्याको सार्थक समाधान हुन सक्नेमा जोड दिए । सरकारले अर्थतन्त्रको सुधारका लागि महत्त्वपूर्ण काम गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै उनले शासकीय सुधार र अर्थतन्त्रको सुधारका लागि सरकारको योजनामा निजी क्षेत्र र नागरिकले विश्वास गर्नुपर्ने धारणा राखे । नेता थापाले आईटी, सफ्टवेयर, प्रोग्रामिङ सँगै पूर्वाधारका क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिए । उनले मुलुकभित्रै केही गर्न खोज्नेलाई सरकारले सहजीकरण गर्नुपर्ने भन्दै त्यसका लागि सरकारको नेतृत्वले योजनाबद्ध पहल गर्नुपर्ने बताए । कर प्रणाली सुधार गर्न नीतिगत रूपमा कसरी सम्बोधन गर्न सकिन्छ सोबारे सरोकार भएका निकायसँग समन्वय र छलफल गर्नुपर्नेमा उनले जोड दिए । विदेशमा कमाएको मुद्रा देशभित्र ल्याउने र यहाँ कमाएको बाहिर सहजै तरिकाले लैजान पाउने व्यवस्था गर्न सकिए लगानी भित्रिने सांसद थापाले दाबी गरे । सरकारले पछिल्लो पटक बनाएको कानुन त्यसको सुरुआत हुनसक्ने उनको भनाइ छ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा आमनागरिकको चासो रहेकाले योग्य र सक्षम व्यक्तिको नियुक्ति हुनुपर्ने उनले बताए । ‘गभर्नर नियुक्तिको चर्चा चलेको छ । राजनीतिक दलका नेताले भन्दा बिचौलियाले प्रभाव पार्लान् कि भन्ने चिन्ता छ,’ उनले भने, ‘पहिले पहिले फलाना पार्टीले राम्रो क्याडेट ल्यायो भन्ने हुन्थ्यो । अहिले निश्चित घराना र प्रभावमा हुने चिन्ता छ । हामी ट्रान्सपरेन्ट नहुनुको नतिजा हो ।'
‘राजनीतिक स्थायित्वका लागि शासकीय स्वरुप फेर्नुपर्छ’
काठमाडौं । राजनीतिक दलका नेता एवं विज्ञहरूले राजनीतिक तथा नीतिगत स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली अवलम्बन गरिनुपर्नेमा जोड दिएका छन् । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) केन्द्रीय विज्ञ परिषद्ले आयोजना गरेको ‘राजनीतिक स्थायित्व र प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीका औचित्य’ विषयक अन्तरक्रियामा सहभागीले मुलुकको समृद्धिका लागि शासकीय स्वरुप परिवर्तन गर्नुपर्ने धारणा राखे । यद्यपि, केही सहभागीले प्रत्यक्ष निर्वाचित कार्यकारी तानाशाह बन्नसक्ने खतरा औंल्याउँदै राजनीतिक स्थिरताका लागि शासकीय स्वरूप नभई शासकीय भूमिकामा रहेका व्यक्तिको प्रवृत्ति बल्नुपर्ने बताए । नयाँ शक्तिका अध्यक्ष डा बाबुराम भट्टराईले अर्थतन्त्र सुधारका निम्ति राजनीतिक र नीतिगत स्थायित्व अनिवार्य सर्त भएको बताए । उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली अपनाउ नसके स्थिरता र विकासले गति लिने जिकिर गरे । शासन गर्ने व्यक्ति आमनागरिकको मतबाट चुनिने हुँदा जनताप्रति जवाफदेही र प्रजातान्त्रिक हुने उल्लेख गर्दै अध्यक्ष भट्टराईले राष्ट्रपतीय प्रणालीमा तानाशाह जन्मन्छन् कि भनेर नकारात्मक सोच राख्न नहुने बताए । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले प्रत्यक्ष निर्वाचित राष्ट्रपति स्थायित्वको अचुक औषधि नभई निरंकुश हुनसक्ने खतरा रहेको औंल्याए । ‘अहिले नीतिभन्दा नाता, नभए दाता खोजेर समानुपातिक प्रणालीको मर्म विपरीत काम भइरहेको छ, जुन पार्टीबाट नियुक्ति पाइन्छ त्यतै लाग्ने प्रवृत्ति हावी भएको छ । यो नै स्थिरताको बाधक हो,’ उनले भने । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेत्री सुनिता बरालले राजनीतिक स्थायित्व नहुनुमा प्रणालीलाई दोष दिनुभन्दा अभ्यासमा भएका कमजोरी हटाउनुपर्नेमा जोड दिइन् । ‘प्रणालीमा मात्र केन्द्रित भएर पुग्दैन, प्रवृत्तिलाई पनि ध्यान दिनुपर्छ । अभ्यासमा भएका कमजोरी नहटाएसम्म प्रणालीले मात्र केही गर्दैन,’ उनले भनिन् । नेकपा (माओवादी केन्द्र) का नेता खिमलाल देवकोटाले राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको विकल्प नभएको बताए । ‘अधिनायकवादी राष्ट्रपति हुनसक्छ भन्ने त्रास हटाउन प्रत्याह्वान र महाअभियोगको व्यवस्था राखी उसलाई अधिनायकवादी हुनबाट जोगाउन सकिन्छ,’ उनले भने । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले शासकीय भूमिकामा रहने व्यक्तिको सँस्कारका कारण राजनीतिक अस्थिरता सिर्जित भएको दाबी गरे । आफू राष्ट्रपति प्रणालीको समर्थक भएको उनको भनाइ छ । जनता समाजवादी पार्टीका नेता प्रकाश अधिकारीले स्थायित्वका लागि मुलुकमा उपयुक्त शासकीय प्रणाली र नीतिको आवश्यकता रहेको बताए । राजनीतिक विश्लेषक इन्द्र अधिकारीले सरकार कि प्रणालीको स्थायित्व भन्नेमा प्रष्ट हुनुपर्ने धारणा राख्दै अहिले प्रणालीभन्दा सरकार अस्थिर भएको बताए ।
फस्टाउँदै बुर्तिबाङको पर्यटन व्यवसाय, होटल भरिभराउ
काठमाडौं । बागलुङ जिल्लाको दोस्रो व्यापारिक केन्द्र हो बुर्तिबाङ बजार । व्यापारिक सटर खाली हुँदै बजार क्षेत्रको व्यवसाय धराशायी बन्दै गइरहेको सन्दर्भमा यहाँको बुर्तिबाङ बजार भने पर्यटकीय र व्यापारिक दुवै हिसाब चलायमान देखिएको छ । यहाँको पर्यटन व्यवसाय पछिल्लो समय फस्टाउँदो छ । नयाँ शहरका रूपमा विकसित भइरहेको बुर्तिबाङ बजार देशकै १० नमूना सहर बनाउने गरी सरकारले सूचीकृत गरेको बजार हो । यहाँको व्यापारसमेत फस्टाउँदो छ । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार निसीखोला, तमान खोला र बडिगाड गाउँपालिकाको प्रमुख शहरका रूपमा रहेको छ । चार पालिकाको स्वास्थ्योपचार, किनमेल तथा प्रशासनिक काम पनि बुर्तिबाङ बजारबाटै हुने गरेको छ । इलाका प्रशासन कार्यालय, नापी र मालपोत जस्ता कार्यालय यही बजारमा छन् । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन पुग्ने पर्यटकका कारण बुर्तिबाङ बजार ‘गुल्जार’ भइरहेको स्थानीय बताउँछन् । पछिल्लो समय आन्तरिक पर्यटकका कारण यहाँ होटल व्यवसाय पनि राम्रो चलेका छन् । ढोरपाटन सिकार आरक्ष, ढोरवाराही जाने आन्तरिक तथा बाह्य पर्यटक बास बस्नका लागि यहीँ आउने गरेका छन् भने मध्यपहाडी पुष्पलाल लोकमार्गले जोडिएपछि रुकुम तर्फबाट पनि पर्यटक आउने गरेका छन् । बागलुङबाट रुकुमतर्फ जाने पर्यटक तथा यात्री यहाँ आउने गरेको बुर्तिबाङका होटल व्यवसायी जीतबहादुर भट्टचनले जानकारी दिए । उनले आन्तरिक पर्यटकको चापका कारण पछिल्लो समय होटल व्यवसायमा लगानी थपिएको बताए । ‘निसीखोला, तमानखोला, बडिगाड र ढोरपाटनका पर्यटकीय स्थल घुम्न आएका पाहुना खान बस्न यही आइपुग्छन्, नेपालकै एकमात्र सिकार आरक्ष क्षेत्र पुग्ने पर्यटकका कारण बुर्तिबाङ बजारको सम्भावना निकै रहेको छ, यहाँ सुविधासम्पन्न ठूला होटल थपिने क्रम जारी छ, पर्यटकीय याममा यहाँको होटल भरिएका हुन्छन्,’ भट्टचनले भने, ‘बुर्तिबाङ बजार जनघनत्व भएको पालिकाको केन्द्रमा पर्दै आएको छ भने नयाँ सहरोन्मुख रहेकाले अन्य बजारभन्दा यहाँको बजार चलायमान छ ।’ यहाँका स्थानीयको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै प्रदेश स्तरीय ५० शय्याको अस्पताल पनि स्थापना गरिएको छ भने सामुदायिक क्याम्पसलगायतको सुविधासमेत छ । मध्यपहाडी लोकमार्ग कालोपत्र भएपछि बुर्तिबाङ बजार चलायमान भएको बताउँदै ढोरपाटन नगरपालिका–६ का स्थानीय हीराबहादुर भण्डारीले बुर्तिवाङ-ढोरपाटन सडक कालोपत्र भए अझै सहज हुने बताए । १ हजार २०० घर रहेको बुर्तिबाङमा किनमेल गर्न आउनेको भीड देखिन्छ । बुटवलसँगै राजमार्गले जोडिएको यस बजार पछिल्लो समय पर्यटकका कारण चलायमान भएको स्थानीय बताउँछन् । ढोरपाटन उद्योग वाणिज्य सङ्घका अध्यक्ष ढालेन्द्र छन्त्यालले मध्यपहाडी लोकमार्ग र ढोरपाटन सिकार आरक्षका कारण बुर्तिबाङ बजार गुल्जार बनेको बताए । उनले लोकमार्ग कालोपत्र भएर रुकुमसँग जोडिएपछि रुकुम पूर्वबाट यातयातका साधन तथा मालबाहक सवारीसाधन बुर्तिबाङ हुँदै चल्ने जानकारी दिए । ढोरपाटन घुम्न आउने पर्यटकसँगै पछिल्लो समय काठमाडौँबाट रारा जाने पर्यटक पनि यही मार्ग प्रयोग गर्न थालेको छन्त्यालको भनाइ छ । ‘लोकमार्गले रुकुमका सवारीसाधन यही मार्ग भएर काठमाडौंलगायत अन्य ठूला सहरमा पुग्छन्, राराताल घुम्न जाने पर्यटक छोटो मार्गका रूपमा यही लोकमार्ग हुँदै बुर्तिबाङ बसेर जाने गरेका छन्,’ छन्त्यालले भने, ‘अन्य शहरको तुलनामा बुर्तिबाङ बजार चलायमान देखिन्छ, पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा सुविधासम्पन्न होटल नहुनु र बुर्तिवाङबाट ८५ किलोमिटर टाढा रुकुमपूर्व पर्ने भएकाले अधिकांश पर्यटकले एक रात यही बिताउने गरेका छन्, यहाँको नयाँ सहर निकै सम्भावना बोकेको शहरका रूपमा विकसित भइरहेको छ ।’ राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको ढोरपाटन सालझण्डी सडक कालोपत्र भएमा यहाँको पर्यटन व्यवसाय झनै फस्टाउने अपेक्षा गरिएको छ ।
राम नवमी पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछ : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रामनवमी पर्व, २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । हरेक वर्ष चैत महिनाको शुक्ल पक्षको नवमी तिथिका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको जन्मदिनको रुपमा ‘राम नवमी’ पर्व धुमधामका साथ मनाउने परम्परा रहिआएको छ । यस दिन भगवान् श्रीरामको विशेष पूजा अर्चना, व्रत अनुष्ठान र जप ध्यान गर्नाले भगवत् कृपा प्राप्त भई आफूले चिताएको सम्पूर्ण कार्य पूरा हुने जनविश्वास रहेको राष्ट्रपति पौडेलले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ । शताब्दीयौँदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वले हाम्रो प्राचीन सभ्यताका साथै धर्म र संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे । रामनवमी भगवान् श्रीरामको जन्म दिवस मात्र नभई यो दिनलाई समस्त पृथ्वीमा अधर्मको पराजय र धर्मको स्थापना भएको खुसीयालीको दिवसका रुपमा पनि लिइन्छ । यस दिन मुलतः देशको विभिन्न स्थान एवं जनकपुरस्थित रामजानकी मन्दिरमा भव्य मेला लाग्दछ । ‘राम नवमीजस्ता सांस्कृतिक तथा ऐतिहासिक पर्वहरूले हाम्रो विविध जातजाति, भाषाभाषी, सांस्कृतिक एवं भौगोलिक क्षेत्रका नेपालीको बीचमा परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा लिएको छु,’ राष्ट्रपति पौडेलले सन्देशमा उल्लेख छ । नेपालीको मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गरी यस पर्वले सम्पूर्ण नेपालीबीच आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावना अभिवृद्धि गर्न उत्प्रेरित गर्न सकोस् भन्ने कामना पनि उनले शुभकामना सन्देशमार्फत व्यक्त गरे ।
नेपालझैँ नेपाली सुन्दर छन्, पशुपतिनाथको दर्शन गरेर मात्र फर्किन्छु: अभिनेता श्रीनिवास
काठमाडौं । भारतीय अभिनेता बेल्लमकोन्डा साई श्रीनिवासले नेपाल र नेपाली निकै सुन्दर रहेको बताएका छन् । दक्षिण भारतीय चलचित्र ‘टाइसन नाइडु’को छायाङ्कनका लागि नेपाल आएका अभिनेता श्रीनिवासले नेपालीको माया र सत्कारको प्रशंसा गर्दै लागि धन्यवाद दिए । ‘म नेपाल आउन चाहेर पनि आउन सकेको थिइनँ । कामकै सिलसिलामा यो मेरो पहिलो भ्रमण भए पनि यहाँ पाएको माया र सत्कार अद्भूत छ । यो चलचित्रको कथा नेपालसँग जोडिएकाले हामीले यही आएर छायाङ्कन गर्ने निर्णय गरेका थियौँ । यो चलचित्रले नेपाली कलाकारलाई दक्षिण भारतीय चलचित्रसँग जोड्नेछ,’ अभिनेता श्रीनिवासले भने । चलचित्र द्वन्द्वप्रधान रहेको जानकारी दिँदै आफूलाई नेपाली खाना र परिकार मन परेको उनले जानकारी दिए । नेपालमा पोखरापछि काठमाडौंमा छायाङ्कन गरिएको जानकारी दिँदै उनले पशुपतिनाथको दर्शन गरेर मात्र स्वदेश फर्किने बताए । ‘मलाई यहाँको हिमाल हेर्न मन छ, सगरमाथा पुग्न मन छ तर अहिले सम्भव छैन । यहाँका खानाले समेत मलाई मोहित बनाएको छ,’ उनले भने । सन् २०१४ मा ‘अल्लुडु सीनु’ नामक तेलुगु चलचित्रमार्फत अभिनययात्रा सुरु गरेका थिए । हालसम्म उनले अभिनय गरेका १० चलचित्र प्रदर्शन भइसकेका छन् । हाल ‘टाइसन नाइडु’सहित तीन चलचित्र छायाङ्कनरत छन् । उक्त चलचित्रमा नेपाल प्रहरीको भूमिकामा रहेका अभिनेता किरण श्रेष्ठले नयाँ अनुभव भइरहेको बताए । ‘मैले यसअगाडि पनि उत्तर भारतीय शृङ्खलामा काम गरेको थिएँ । अहिले दक्षिण भारतीय चलचित्रमा काम गर्न पाउँदाको अनुभव छुट्टै छ, ठूलो बजेट भएकाले पनि उहाँहरूले भव्यता खिच्नु हुन्छ र योजनाअनुसार नै चल्नु हुन्छ । अन्य काम भने हाम्रो नेपाली चलचित्रजस्तै छ,’ अभिनेता श्रेष्ठले भने । ‘आइसी ८१४’ नामक भारतीय वेब शृङ्खलामा काम गरेका थिए । यस चलचित्र हाल ‘टाइसन नाइडु’को छायाङ्कन विगत एक वर्षदेखि विभिन्न तालिकामा (सेड्युलमा) भारतमा भइरहेको थियो । नेपालसँग कथा जोडिएपछि चलचित्रका निर्मातासँगै यहाँ दृश्याङ्कन हुने कलाकार नेपाल आएका छन् । उनीहरुको नेपाल बसाइ र अन्य गतिविधिबारे निर्माण पक्षले कुनै जानकारी भने दिएको छैन ।
आज रामनवमी पर्व मनाइँदै, रामजस्तै मर्यादित, अनुशासित र नियन्त्रित राज्य सञ्चालकको आशा
काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उनको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो । भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मनुभएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गर्नुभएको थियो । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम रामनवमी पर्व मनाउनुको महत्व रामजस्तै मर्यादित, अनुशासित र नियन्त्रित राज्य सञ्चालकको आशा गरेको बताउँछन् । ‘जसलाई अहिले पनि रामराज्य भनिन्छ, रामको राज्यबाट जसरी सारा मानिस खुसी थिए, अहिलेका शासकले त्यस्तै बन्न सक्नुपर्छ, त्यसबेला जनता पनि अनुशासित, मर्यादित र नियन्त्रित थिए, यसैले रामलाई मर्यादा पुरुषोत्तम भनिन्छ, हामीले यसलाई अनुसरण गर्नसके मात्र यो पर्व मनाउनुको अर्थ हुन्छ,’ उनले भने । रामनवमीको महत्वका विषयमा गाग्र्यतन्त्र कृष्ण वचनअनुसार चैत्र अष्टमीका दिन अष्ट मातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको पूजा गरी जप, पाठ र ध्यान गर्नाले मनले चिताएको काम सफल हुने उल्लेख छ । यस अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ । रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजा, पाठ एवं आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ । परापूर्वकालमा वासन्तीय नवरात्रलाई नै मूल दसैँ मानिने गरेकामा धेरै गर्मीका कारण असोजमा मनाउन थालिएको भनाइ छ । चैत र असोजको नवरात्रलाई जाग्रत दसैँका रूपमा महत्वका साथ मनाइन्छ भने पुस र असारको नवरात्रलाई सुप्त दसैँ भनिन्छ । यसैगरी व्रतार्क नामक ग्रन्थको अगस्त्य संहितामा चैत्र शुक्ल नवमीमा व्रत उपवास बसी श्रद्धा भक्तिपूर्वक रामचन्द्रको पूजा गर्नाले अनेक जन्मका पाप नाश भई वैकुण्ठ बास प्राप्त हुने उल्लेख छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । आज जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लाग्छ । त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा भगवान् श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ । आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा वैकुण्ठ बास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ । अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मेका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गर्नुभएको र आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिनुभएकाले उहाँको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।
सरकार साथमा छ, चीनसँगको व्यापार घाटा घटाउनुपर्छ : मन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चीनसँगको व्यापारमा नेपालको ठूलो व्यापार घाटा रहेकाले घटाउनुपर्नेमा जोड दिएका छन् । नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको २५औँ वार्षिक साधारणसभा तथा रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले यसलाई कम गर्न नेपाली उत्पादनको निर्यात बढाउनु अत्यावश्यक रहेको र जडीबुटी, हस्तकला, कृषि उत्पादन, तयारी पोसाक जस्ता क्षेत्रमा विशेष जोड दिनुपर्ने बताए । ‘नेपाली उत्पादनहरूको प्रवर्द्धनमा सङ्घले अग्रणी भूमिका खेल्न सक्छ, नेपाली वस्तु तथा सेवाको विविधीकरण, गुणस्तर सुधार र ‘ब्रान्डिङ’मा जोड दिनुपर्छ, चिनियाँ बजारमा नेपाली उत्पादनको पहुँच बढाउन सरकारका तर्फबाट विभिन्न व्यापार मेला तथा प्रदर्शनीमा सहभागितालाई प्रोत्साहन गरिँदैछ, चीनसँगको व्यापारमा नेपाली व्यवसायीलाई सहजीकरण गर्न विदेशी विनिमय नीतिमा केही लचकता ल्याइएको छ, चिनियाँ भाषा, व्यापारिक संस्कृति र प्रक्रियाबारे जानकारी दिन विभिन्न तालिम कार्यक्रम सञ्चालन गरिएका छन्,’ उनले भने । मन्त्री भण्डारीले नेपाल सरकारले नेपाल-चीन व्यापारलाई सहज बनाउन तातोपानी र रसुवागढी नाकाको स्तरोन्नति तथा पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेको, चीनसँगको व्यापारलाई सहज बनाउन ‘नेपाल-चीन व्यापार सहजीकरण समिति’ गठन गरेको, सीमापार व्यापारलाई सहज बनाउन विद्युतीय भुक्तानी प्रणालीलाई प्रोत्साहन गरेको, रसुवागढी-केरुङ नाकामा सुक्खा बन्दरगाह निर्माणको कार्य अघि बढाएको, ‘एक स्टेसन, एक उत्पादन’ कार्यक्रममार्फत स्थानीय उत्पादनलाई प्रोत्साहन गरेको र नेपाली उत्पादनहरूको गुणस्तर सुधारका लागि प्राविधिक सहयोग प्रदान गरेको जानकारी दिए । यस्तै उनले कोरला, हिल्सा, किमाथाङ्का, ओलाङचुङगोला जस्ता नाकाको विकासका लागि पनि सरकारले कार्ययोजना तयार पारेको बताए । उनले भने, ‘सरकार सधैँ निजी क्षेत्रको साथमा छ र हामी मिलेर नेपालको व्यापार क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन सक्छौँ भन्ने विश्वास राख्छु, चीनसँगको व्यापारलाई सन्तुलित, दिगो र पारस्परिक लाभदायक बनाउन सरकारी र निजी क्षेत्रको सहकार्य अपरिहार्य छ ।’ मन्त्री भण्डारीले सङ्घले स्थापनाकालदेखि वर्तमानसम्मको यात्रा तय गरेर यहाँसम्म आइपुग्दा नेपाल-चीन द्विपक्षीय व्यापार अभिवृद्धि, जनसमुदाय बीचको सम्बन्ध सुदृढीकरण तथा औद्योगिक सम्बन्ध प्रवर्द्धनमा अतुलनीय योगदान प्रदान गर्दै आएको बताए । सरकारी निकायसँगको समन्वयमा वाणिज्य कुटनीतिलाई बढावा दिन सङ्घले महत्वपूर्ण भूमिका खेल्न सक्ने मन्त्री भण्डारीको भनाइ छ। चीनका विभिन्न प्रान्त र सहरमा नेपाली उत्पादनको पहुँच बढाउन व्यापारिक ‘मिसन’, प्रदर्शनी र सांस्कृतिक आदानप्रदानका कार्यक्रम आयोजना गर्न सकिने उनको भनाइ छ । उनले सरकारलाई व्यापारसम्बन्धी नीति निर्माणमा व्यावहारिक सुझाव दिन सङ्घले निरन्तर रूपमा अध्ययन, अनुसन्धान र छलफल गर्नुपर्नेमा जोड दिए । मन्त्री भण्डारीले भने, ‘चिनियाँ व्यापारिक सङ्घसंस्थासँग समन्वय र सहकार्य बढाउनुपर्छ, चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आकर्षित गर्न पनि सङ्घले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।’