‘गणतन्त्रले विभेद तोड्यो, राज्य जनताको हातमा पुग्यो’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवं सत्तारुढ दलका सचेतक प्रकाशचन्द्र परियार सामाजिक न्याय र मानवीय समानताका लागि आफू राजनीतिमा होमिएको बताउँछन् । लामो समयदेखि जातीय विभेदको चपेटाका साथै राज्य सत्ताको दमन सहनुपरेको आफ्नो जस्तै पीडा देशका समग्र दलित समुदायको रहेको उनको अनुभव छ । यसका अतिरिक्त सचेतक परियारसँग मुलुकमा गणतन्त्र ल्याउनका लागि आफ्नो परिवारका सदस्य गुमाउनु परेको पीडासमेत छ । उनले २०६२/६३ को जनआन्दोलनमा राज्यपक्षबाट भएको अन्धाधुन्ध गोली प्रहारमा परी २२ वर्षकै उमेरमा भाइ दयाराम परियारलाई गुमाउनु परेको दुःखद प्रसङ्ग सुनाए । सोही जनआन्दोलनपछि यही पीडा बोकेर परियारले राजनीतिको यात्रा सुरु गरेको बताउँछन् । त्यही यात्राको निरन्तरताले अहिले उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद र सचेतक सम्मको ओहदामा पुर्याएको छ । एक लोकप्रिय पत्रकारको पहिचान बनाइसकेका परियार समतामूलक समावेशी राज्यका वकालतकर्ता हुन् । समावेशी राज्य निर्माणका लागि पहिला पत्रकारिताका माध्यमबाट आवाज मुखरित गरिरहने परियार अहिले भने कानुन निर्माण गर्ने व्यवस्थापिकाकै सदस्यको हैसियतमा छन् । यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद एवं सत्तारुढ दलको सचेतकको जिम्मेवारी सम्हाल्दै आएका उनले मुलुकको खाँचो र जनताको चाहनाले नै नेपालमा गणतन्त्र आएको बताउँछन् । गणतान्त्रिक नेपालको विगत, वर्तमान र आगामी परिदृश्य समेतका बारेमा उनीसँग गरिएको कुराकानीको सम्पादित अंश: नेपालमा प्रजातन्त्र पुनःस्थापनादेखि लोकतान्त्रिक गणतन्त्रसम्मको राजनीतिक परिवर्तनलाई कसरी स्मरण गर्नुहुन्छ ? लोकतान्त्रिक गणतन्त्रको जग १०४ वर्षे जहानियाँ राणा शासनको अन्त्यसँगै खडा भएको थियो भन्ने मलाई लाग्दछ । नेपाल र नेपालीलाई प्रजातान्त्रिक पद्धतिबाट खुला समाजमा डोर्याउनका लागि २००७ सालको क्रान्तिको नेतृत्व कांग्रेस पार्टीका संस्थापक बीपी कोइरालाले गर्नुभएको थियो । त्यतिबेला नै संविधान सभाद्वारा नेपाली जनताले आफ्नो लागि आफूले चुनेर पठाएका प्रतिनिधिहरूद्वारा संविधान लेख्न पाउनुपर्ने विषय उठाएका थिए । कालान्तरमा यसलाई तत्कालीन राजा र दरबारले असफल बनायो । लामो समयदेखि राजतन्त्रको निरंकुश शासनले राज्यसत्ता नै एक प्रकारले कुण्ठित भइरहेको थियो । राजाको नेतृत्वको सो शासनले त्यतिबेलैदेखि जनताको अधिकार र मेरिटोक्रेसीलाई कहिल्यै पनि फैलन दिएन । जसले गर्दा नेपाली समाज र जनता नै एक प्रकारको उकुसमुकुसमा रहेका थिए । लोकतान्त्रिक गणतन्त्रमा मात्रै त्यस्तो व्यवस्था हो, जहाँ सामान्य जनताको छोराछोरी पनि ‘हेड अफ द स्टेट’ हुन सक्ने सम्भावनाको ढोका खोलेको हुन्छ । कुनै पनि जाति, कुल घरानाको व्यक्ति मात्रै हेड अफ दि स्टेट राज्य प्रमुख हुने चलनको अन्त्य भएको छ । चरम विभेद, अत्याचार, शोषणले आत्तिएका नेपाली जनताले आफैंले आफ्नो शासन प्रक्रिया र पद्धति रोज्न आवश्यक ठाने । फलस्वरुप गणतन्त्रको उदय भएको हो । त्यही गणतान्त्रिक शासन व्यवस्था र स्वरूपले नै अहिले देशमा जातीय लगायतका जनताका अन्य अधिकारहरू पनि प्रदान गरिरहेको छ । शासन प्रणालीमध्ये लोकतान्त्रिक गणतन्त्र नै आजसम्मको सबैभन्दा अनुपम व्यवस्था हो । तपाईले भन्नु भएजस्तै देशमा अहिले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था पनि छ । यसले जनताको पक्षमा कतिको काम गर्न सकेको छ जस्तो देख्नुहुन्छ ? लोकतन्त्र र गणतन्त्रले जनता नै जनताको शासक बन्ने सुनौलो अवसर खोलेको हो नि । नेपालजस्तो बहु जातीय, बहुभाषिक, बहु-सांस्कृतिक र विविधिताले भरिएको देशमा जनताले आफ्नो रङ्ग अनुसारको मुलुक बनाउने अधिकार पाए । जसको प्रति फलस्वरुप सर्वसाधारणबाट मधेसका छोरा रामवरण यादव पहिलो राष्ट्रपति बन्ने अवसर पाउनुभयो । भोजपुरकी विद्यादेवी भण्डारी नेपालको दोस्रो र पहिलो महिला राष्ट्रपनि हुनुभयो । अहिले पनि जनताकै छोरा, तनहुँका रामचन्द्र पौडेल राष्ट्रपति हुनुहुन्छ । यो सबै अवसरहरू लोकतन्त्र र गणतान्त्रिक शासन व्यवस्थाले खोलेको हो । यो सकारात्मक पक्ष हो र राज्यसत्ताको अधिकार जनताको हातमा छ भनेको पनि यही नै हो । अनि लोकतन्त्रको सुन्दर पक्ष पनि यही हो । गणतन्त्रको कुरा गर्दा नेपाली जनता कसरी गणतन्त्र स्थापनाको सङ्घर्षमा होमिए जस्तो लाग्छ ? २००७ सालदेखि नै नेपालमा गणतन्त्रको आवाज उठेको कुरा त मैले यसअघि पनि सामान्य रुपमा उल्लेख गरेँ । त्यो आवाज शान्तिपूर्ण रुपमा र चरणबद्ध हिसाबले अघि बढेको थियो । आन्दोलन, जनक्रान्ति, विद्रोह र सबै चरण पार गरेर चरणबद्ध हिसाबमा नै जनताको गणतन्त्र स्थापनको चाहना र योजना अघि बढेको हो । त्यसपछि खास गरेर २०५२ मा तत्कालीन माओवादीको सशस्त्र विद्रोह र २०६२/६३ को आन्दोलन जहाँ सात दल र नेपालको नागरिक समाजको प्रत्यक्ष सहभागितामा नेपाली जनताले गणतन्त्रकै लागि सङ्घर्ष गरेका हुन् । त्यो विद्रोह किन भएको थियो भने त्यसबेलाको केन्द्रीकृत शाहवंशीय राजसंस्थाले नेपालको विविधतालाई प्रवर्द्धन गरेन, नेपालको संविधानलाई आत्मसाथ गरेन, नागरिक सर्वोच्चता र समानतालाई संरक्षण र प्रवर्द्धन गरेन जसले गर्दा चरम असन्तुष्टि सिर्जना भयो । कुनै निश्चित कूल घरानामा जन्मेको आधारमा नै ऊ राज्यको राज्य प्रमुख हुने एकतन्त्रीय शासन थियो । यस्तो शासन र त्यसले निम्त्याएको शोषण विरुद्ध जनताले आवाज उठाए र आफ्नो शासक आफैँ बन्न आवश्यक ठाने । आखिर यही आवाजले नै शक्ति प्राप्त गर्यो, सबै जनताको साथ सहयोग पायो र देशमा गणतन्त्रको स्थापना पनि भयो । लोकतान्त्रिक गणतन्त्र स्थापनापछि जनता र देशले पाएका उपलब्धिहरूलाई कसरी व्याख्या गर्नुहुन्छ ? मेरो विचारमा गणतन्त्र आएपछि नेपाली जनताले केही पनि गुमाएका छैनन् । बरु धेरै कुरा प्राप्त गरेका छन् भन्दा फरक पर्दैन । सबैभन्दा महत्वपूर्ण कुरा त गणतन्त्रले समतामूलक समृद्धिको राजमार्ग कोरिदिएको छ । कुनै पनि जातीय, समुदाय, वर्ग, लिङ्गका व्यक्ति अथवा धर्म, साम्प्रदायिक र समुदायका व्यक्तिहरूलाई राष्ट्रप्रतिको अपनत्व भाव जागृत गराएको छ । कुनै पनि विशेष जाति धर्म, कुनै भाषा, समुदाय कुनै संस्कृति या निश्चित कुल घरानाका नागरिकले मात्र समृद्धिको यात्रा गर्न सक्छन् भन्ने नकारात्मक सोच र प्रवृत्तिलाई नेपालको गणतान्त्रिक यात्राले परास्त गरिदिएको अवस्था छ । त्यस्तो सोच, व्यवहार र प्रवृत्ति गलत हो भनेर नै हामीले आवाज उठाएका हौँ र सङ्घर्षमा हामी नै होमिएका हौँ । राज्यका सबै तथा आम नागरिक नै देशका भाग्य र भविष्यका विधाता हुन् र उनीहरुको हातमा नै देशको राज्य शक्ति र सत्ता निहीत छ र हुन्छ भन्ने तथ्य पनि यो अभियानले प्रमाणित गरेको छ । यो पनि गणतन्त्रको एक उपलब्धि हो नि । त्यसैले समतामूलक समावेशी राज्य संरचनामा जोड दिनु नै गणतान्त्रिक राज्य व्यवस्थाको सबल पक्ष हो । गणतन्त्रको मूल मर्म र धर्म पनि यही नै हो । नेपालको गणतान्त्रिक शासन प्रणालीलाई जेनजी आन्दोलन पश्चात् कसरी मूल्याङ्कन गर्नुहुन्छ ? गणतन्त्र साध्य होइन साधन हो । यो व्यवस्थालाई कसरी बुझ्ने भन्ने कुरा व्यक्ति व्यक्तित्वको दृष्टिकोणमा भर पर्छ । तर, शासन प्रणालीमध्ये नै लोकतन्त्रको ठूलो महत्व हुन्छ । कानुनको शासन, विधिको, शासन र समान न्यायिक व्यवस्थालाई विश्वास गर्ने शासन व्यवस्था गणतन्त्र नै हो । यसमा पनि लोकतान्त्रीक गणतन्त्र अझै विशिष्ट स्वरूप हो । यति गर्बिलो मर्म बोकेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई हामीले जनताको घरघरमा युवा पुस्तामा र आउने पुस्तामा समेत बुझाउन आवश्यक छ । गणतन्त्रको मूल्यमान्तयालाई पाठ्यक्रम, चलचित्र, साहित्य, गीत सङ्गीत र सँस्कारमा झल्काउने खालका क्रियाकलाप गर्न जरुरी छ । त्यसैले मलाई लाग्छ गणतन्त्रको विकल्पको कुरा गर्ने हो भने त्यसको विकल्प पनि गणतन्त्र नै हो । वर्तमान सरकारको कार्यशैलीलाई गणतान्त्रिक व्यवस्था बमोजिमको शासन शैलीका रुपमा के कसरी लिन सकिन्छ ? वर्तमान सरकार नेपालको संविधान २०७२ लाई नै आत्मसात गरेर गठन भएको सरकार हो । वर्षौंदेखिको बेथिति, विकृतिको जगलाई चिर्नुपर्छ भन्ने नव युवाहरूको चेतबाट जेनजी विद्रोह जन्मिएको तथ्य त सबैका सामु छर्लङ्ग नै छ । विद्रोहका क्रममा युवाले रगत बगाए । नेपाली जनताले इतिहासमै अभूतपूर्व रुपमा मत नै क्रान्ति गरेको हामीले देखियो नै । त्यो मत क्रान्तिले नै रास्वपाको नेतृत्वमा सरकार अहिले छ । यो सरकारप्रति जनताको ठूलो भरोसा छ । यो सरकारले कार्यभारको शपथ ग्रहण गरे लगत्तै निरन्तर परिणाम ल्याउने कार्यक्रम प्रयासरत छ । र, अहिलेको सरकारले कतिपय संविधानका बाधा अड्काउ फुकाउनुपर्ने अथवा नेपाली जनताले उठाइरहेका प्रश्नलाई सम्बोधन गर्ने सवालमा सकारात्मक छ । तर, सरकारले यो गणतन्त्रको मूल्य, मान्यतालाई अझै परिणाममुखी, अझै सन्देशूुलक बनाउने प्रक्रियामा चरणबद्ध ढङ्गले लागेको पनि छ । त्यसैले सरकारको गणतन्त्रात्मक कार्यशैलीप्रति अविश्वास गर्नुपर्ने कुनै पनि कारण छैन, देखिएको पनि छैन । नेपाली जनताको ठूलो सङ्घर्ष र बलिदानबाट गणतन्त्र प्राप्त भएको हो । आगामी दिनमा पनि यो व्यवस्थालाई थप परिणाममुखी र जनताको पक्षमा ल्याउन राजनीतिक दलहरूले के गर्नुपर्छ ? गणतन्त्र आफैँमा राज्यको एउटा शासकीय प्रणाली अर्थात् पद्धति मात्र नभएर यो लोकतान्त्रिक संस्कार पनि हो । यो नेपाली जनताको लामो सङ्घर्ष र पर्खाइपछि आएको शासन व्यवस्था हो । लोकतान्त्रिक गणतन्त्रलाई सम्वद्र्धन र प्रवर्द्धन गर्न नेपाली जनता, राजनीतिक दल र अगुवाइले प्रयास गरिरहनुभएको छ । अहिलेको सरकारले त गणतन्त्रको मूल आधारका रुपमा मानिएको सुशासनमा नै बढी जोड दिएको छ । गत भदौमा जेनजी युवाहरूले आन्दोलनका रुपमा अघि सारेको माग पनि सुशासन र ‘डेलिभरी’ नै हो । यी दुवै काममा सरकार लागिपरेको छ र त्यसको परिणाम पनि एकपछि अर्को गरेर देखिएकै छ । समय सापेक्ष र जनमुखी विकास गर्ने तथा सुशासन र पारदर्शितामा कुनै तलमाथि हुन नदिने सरकारको प्रयास छ । यसअघि बेथितिले बिगार्दै ल्याएको राज्य संरचना र सँस्कारको शुद्धीकरण गरी जनताको हितमा काम गर्न सरकार कटिबद्ध छ । गणतन्त्रले नेपाली समाजको रुपान्तरणका लागि हिजोका दिनमा जुन परिकल्पना गरेको थियो, त्यो हुन नसकेकाले वर्तमान सरकार भने जनताको माग तथा गणतन्त्रको मर्म र धर्मअनुरुप नै अघि बढिरहेको छ । त्यसैले आगामी दिनमा यो व्यवस्थालाई थप परिणाममुखी र जनताको पक्षमा बनाउनका लागि सबै राजनीतिक दलहरूले सरकारलाई साथ र सहयोग प्रदान गर्नुपर्दछ । रासस
सहकारीमा बेथितिसम्बन्धी प्रतिवेदन सार्वजनिक, मन्त्री भन्छिन्- बेथिति अन्त्य गर्छौं
काठमाडौं । सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग तथा कमजोर नियमनका कारण सहकारी प्रतिको जनविश्वास कमजोर बन्दै गएको निष्कर्ष सार्वजनिक भएको छ । सरकारले सार्वजनिक गरेको ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो । प्रतिवेदनमा नेपालको संविधानले परिकल्पना गरेको तीन खम्बे अर्थनीति अन्तर्गत सहकारी क्षेत्र अर्थतन्त्रको महत्त्वपूर्ण आधारका रूपमा रहेको भए पनि पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग तथा कमजोर नियमनका कारण सहकारी प्रतिको जनविश्वास कमजोर बन्दै उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार सहकारी संस्था दर्ता, कार्यक्षेत्र विस्तार, सेवा केन्द्र तथा शाखा थप गर्ने क्रममा पर्याप्त अध्ययन, आवश्यकता विश्लेषण तथा मापदण्डको पालना नगरी स्वीकृति दिइएको पाइएको छ। आयोगले यस्ता निर्णय प्रक्रियामा भएका गम्भीर कमजोरीकै कारण धेरै सहकारी संस्थाहरू समस्याग्रस्त बनेको निष्कर्ष निकालेको छ । आयोगले केही सहकारी सञ्चालक तथा व्यवस्थापकहरुले सहकारीको मूल उद्देश्यबाट विचलित हुँदै बचतकर्ताको रकम हिनामिना, अपारदर्शि कारोबार तथा व्यक्तिगत स्वार्थ केन्द्रित गतिविधि सञ्चालन गरेको पनि उल्लेख गरेको छ। प्रतिवेदनमा विगतको कमजोर नियमन, जथाभाबी दर्ता तथा कार्यक्षेत्र विस्तार प्रक्रिया, सहकारी सञ्चालक र व्यवस्थापकहरूको राजनीतिक आबद्धता तथा प्रत्यक्ष-अप्रत्यक्ष राजनीतिक हस्तक्षेपले वर्तमान सङ्कट निम्त्याएको स्पष्ट पारिएको छ । साथै बहु नियामक निकायबीच समन्वय अभाव, प्रभावकारी सूचना प्रणालीको कमी, वित्तीय अनुशासनहीनता, सुशासनको कमजोरी तथा दक्ष जनशक्तिको अभाव पनि सहकारी क्षेत्रका प्रमुख समस्या रहेको आयोगको ठहर छ । आयोगले प्रभावकारी तथा एकीकृत नियामक संरचना निर्माण, विश्वसनीय सूचना प्रणाली विकास, कडा सुशासन, बचतकर्ता हित संरक्षण तथा संस्थागत क्षमता अभिवृद्धिलाई तत्काल प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएको छ। प्रतिवेदन सार्वजनिक गर्दै भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी क्षेत्र सुधारका लागि नीतिगत, संस्थागत तथा व्यवहारगत सुधारका प्रयासलाई तीव्रता दिने प्रतिबद्धता जनाएकी छिन् । सरकारले वर्तमान कार्यकालमा सहकारी क्षेत्रलाई पुनः विश्वसनीय, पारदर्शी, उत्तरदायी तथा सदस्य केन्द्रित बनाउने लक्ष्यसहित सहकारी अनुगमन तथा नियमनलाई प्रभावकारी बनाउने, सहकारी ऐन तथा नियमावलीलाई समयानुकूल संशोधन गर्ने तथा कर्जा असुली र बचत फिर्ता प्रक्रियालाई थप प्रभावकारी र नतिजामुखी बनाउने कार्य अघि बढाएको मन्त्री रावलले बताइन् । मन्त्रालयले आयोगले दिएका सुझाव तथा सिफारिसहरूको प्रभावकारी कार्यान्वयनमार्फत सहकारी क्षेत्रमा विद्यमान बेथितिको अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको जनाएको छ ।
सङ्घीय संसदको ‘लोगो’ सहित सगरमाथा आरोहण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य मिङमा डेभिड शेर्पाले सङ्घीय संसदको ‘लोगो’ सहित सगरमाथा आरोहण गरेका छन् । उनले बुधबार बिहान ५:४० मा सगरमाथाको आरोहण गरेको जनाइएको छ । सांसद शेर्पाले ‘बेसक्याम्प’ फर्किएपछि बुधबार साँझ आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत नवौँ दिनमा सगरमाथाको सफल आरोहण गरेको पोष्ट गरेका थिए । ‘सदनदेखि शिखरसम्म’ भन्ने नाराका साथ सांसद शेर्पा सगरमाथा आरोहण गरेका थिए । उनले आफ्नो सगरमाथा आरोहणमा सहयोग पुर्याउने सभामुख डोलप्रसाद अर्याल सहित सबैमा आभार व्यक्त गरे ।
आज देशभर बदली, धेरै ठाउँमा चट्याङसहित वर्षा हुने
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा बुधबार काठमाडौंलगायत देशका विभिन्न स्थानमा हुरीका साथमा हल्का वर्षा भएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ तथा तराई भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागमा तातो दिन हुने सम्भावना रहेको छ । महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भू-भाग तथा बाँकी तराई भू-भागका थोरै स्थानहरूमा हुरीको पनि सम्भावना रहेको छ ।
५ प्रतिशतमै २ लाख आकस्मिक कर्जा, ४ हजार ८४७ प्रहरीले लिए साढे २ अर्ब
काठमाडौं । नेपाल प्रहरीले सङ्गठनका काम कारबाही तथा सेवा प्रवाहमा सुधारका प्रयास थालेको छ । प्रहरी कल्याण, कर्मचारी हित तथा मनोबल अभिवृद्धि, प्रविधि, डिजिटल प्रणाली तथा फरेन्सिक आधुनिकीकरण, नीतिगत, कानुनी तथा सङ्गठनात्मक सुधार, संस्थागत क्षमता विस्तार, समुदाय-केन्द्रित तथा सामाजिक सुरक्षा कार्यक्रम, पूर्वाधार विकास तथा सेवा विस्तारका क्षेत्रहरूमा उल्लेखनीय प्रयासहरू भएका प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । उनका अनुसार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको पदबहालीपछि प्रहरी कल्याण, कर्मचारी हित तथा मनोबल अभिवृद्धितर्फ प्रहरी वरिष्ठ नायब निरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्मलाई आकस्मिक समस्या समाधानका लागि ५ प्रतिशत ब्याजदरमा २ लाख रुपैयाँ आकस्मिक सहुलियत कर्जा उपलब्ध गराउने गरी कल्याण कोषको सेवा विस्तार गरिएको छ । यस अवधिमा प्रहरी कल्याण कोषबाट ४ हजार ८४७ प्रहरी कर्मचारीलाई २ अर्ब ३८ करोड ७३ लाख रुपैयाँ बराबरको सहुलियत कर्जा, घर खरिद वा निर्माण कर्जा, शैक्षिक कर्जा, सवारीसाधन खरिद कर्जा, निर्ब्याजी उपचार सापटी, आकस्मिक सहुलियत कर्जा उपलब्ध गराइएको छ । प्रहरी कल्याण कोष सञ्चालन कार्यविधि, २०८० लाई संशोधन गरी समयानुकूल सेवा अभिवृद्धि र सेवा सुविधा विस्तार गरिएको छ । यस्तै प्रविधि, डिजिटल प्रणाली तथा फरेन्सिक आधुनिकीकरणतर्फ नेपाल प्रहरी प्रधान कार्यालयमा एआईमा आधारित एनालाइसिस सेल सञ्चालन गरिएको, अभियुक्त र कसुरदारको अभिलेखिकरण र २ ट्रयाकिङ प्रणाली स्वीकृत भई कार्यान्वयनमा आएको प्रवक्ता काफ्लेले बताए । यस अवधिमा ६ लाख ७४ हजार ७५३ जनालाई चारित्रिक प्रमाणपत्र वितरण गरिएको छ । हाल नेपाल प्रहरीमा सञ्चालनमा रहेको प्रहरी मोबाइल एपमार्फत सर्वसाधारणले उजुरी तथा निवेदन दिन सक्ने व्यवस्था मिलाइएको उनको भनाइ छ । विभिन्न सरोकारवाला निकायसँगको समन्वयमा प्रदेशका नाकासहित देशभरका विभिन्न स्थानमा १ हजार ४२ सिसी क्यामेरा जडान गरिएका छन् । नीतिगत, कानुनी तथा सङ्गठनात्मक सुधारतर्फ सरुवा कार्यान्वयनलाई व्यवस्थित बनाउन बढुवा तथा पदस्थापन भएका प्रहरी कर्मचारीलाई आफ्नो दरबन्दीमा हाजिर भएपश्चात मात्रै दर्ज्यानी चिह्न प्रदान गर्ने पद्धतिको सुरुआत गरिएको छ । सङ्गठनको निष्पक्षता, पारदर्शिता र व्यावसायिक मर्यादालाई अक्षुण्ण राख्ने उद्देश्यले बाह्य प्रभाव पार्ने वा त्यस्तो प्रभावमा संलग्न प्रहरी कर्मचारीहरूको गतिविधि तीन पुस्ते रेकर्डमा अभिलेखीकरण गर्ने कार्यको संस्थागत रूपमा औपचारिक शुभारम्भ गरिएको छ । नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मस्यौदा उपर समिति गठन भई छलफल अगाडि बढाइएको, कार्यसम्पादन र मूल्याङ्कन अभिलेख ढाँचा प्रतिवेदन, २०८२ स्वीकृत भई कार्यान्वयनमा ल्याइएको, नेपाल प्रहरी रणनीतिक सम्मेलन प्रतिवेदन, २०८२ स्वीकृत भई कार्यान्वयनमा ल्याइएको, नेपाल प्रहरीका लागि आवश्यक हातहतियार तथा खरखजना र भीड नियन्त्रणका लागि आवश्यक सामग्री आवश्यकताको मापदण्ड, २०८२ स्वीकृत भई कार्यान्वयनमा आएको बताइएको छ । जेनजी लगायतका युवा पुस्ताहरूको अभिरुचि र जोखिमको विश्लेषण प्रतिवेदन, २०८२ स्वीकृत भई कार्यान्वयनमा आएको, भीड नियन्त्रणको विशिष्टिकृत प्रशिक्षण क्षमता विकासको निमित्त मापदण्ड निर्माण गर्नेसम्बन्धी प्रतिवेदन, २०८२ स्वीकृत भई कार्यान्वयनमा आएको जनाइएको छ । नेपाल प्रहरी रणनीतिक योजना २०८३-२०८५ स्वीकृत भई कार्यान्वयनमा आएको, नेपाल सरकारबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीका नेपाल प्रहरीसँग सम्बन्धित बुँदाहरू कार्यान्वयन भइरहेको छ । नेपाल प्रहरी ठाडो निवेदनउपर छलफल र मेलमिलापसम्बन्धी कार्यविधि, २०८२ स्वीकृत भई कार्यान्वयनका लागि देशभरका प्रहरी कार्यालयलाई पत्राचार गरिएको छ । संस्थागत क्षमता विस्तारतर्फ देशभरका विभिन्न १७ प्रहरी कार्यालयका लागि ४८ हजार ९२९ वर्गमिटर जग्गा प्राप्ति भएको, कार्यसम्पादन मूल्याङ्कन मार्गनिर्देशका आधारमा जिल्ला प्रहरी कार्यालयहरूको मासिक कार्यसम्पादनको स्तर मापन गर्ने पद्धतिको सुरुआत गरिएको छ । नेपाल प्रहरीमा ड्रोन तथा एन्टी-ड्रोन एकाइ स्थापना गर्न आवश्यक प्रक्रिया अघि बढाइएको, स्वदेश तथा विदेश तालिम अन्तर्गत ११ हजार ५०० जनशक्तिलाई प्रशिक्षण प्रदान गरिएको छ । प्रहरीको सम्पर्कमा आउने बालबालिका र प्रहरी कर्मचारीका कम उमेरका बालबालिकाहरूको स्याहारका लागि १० प्रहरी कार्यालयहरूमा प्रतिजिल्ला १ लाख ५० हजार रुपैयाँ उपलब्ध गराई बालमैत्री कक्ष स्थापना गरिएको छ । सो अवधिमा समुदाय प्रहरी साझेदारीअन्तर्गत ६ हजार ५१७ कार्यक्रममार्फत ११ लाख ३३ हजार ९६२ नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । सो अवधिमा पूर्वाधार विकास तथा सेवा विस्तारतर्फ जिल्ला प्रहरी कार्यालय पर्सा, जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्वसहित इलाका प्रहरी कार्यालय कोहलपुर, बरहथवा, बुटवल, गढवा, सिम्रौनगढ र वडा प्रहरी कार्यालय चन्द्रौटा, कपिलवस्तु गरी ८ वटा प्रहरी कार्यालयमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन भएको छ ।
यार्सा टिप्न खुल्दै निकुञ्ज क्षेत्र, ३ हजार रुपैयाँ प्रवेश शुल्क
काठमाडौं । सङ्खुवासभाको मकालु वरुण राष्ट्रिय निकुञ्जले जेठ २५ गतेदेखि बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलन खुला गर्ने जनाएको छ । निकुञ्ज कार्यालयका सूचना अधिकारी संस्कार सुवेदीले जेठ २५ देखि एक महिनासम्म यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिएको बताए । उनका अनुसार यहाँ निकुञ्ज क्षेत्रमा दुई प्रजातिका यार्सा पाइने गरेका छ । यार्सागुम्बा सङ्कलनका लागि निकुञ्ज कार्यालय हेदाङनागढी, हटिया सेक्टर कार्यालय भोटखोला गाउँपालिका-३, सेदुवा सेक्टर कार्यालय मकालु-२, गोला पोष्ट भोटखोला-४, ताम्कू सेक्टर कार्यालय सिलिचोङ-३, बुङ सेक्टर कार्यालय महाकुलुङ-१ बुङ, सोलुखुम्बु र छेस्काम रेञ्पोष्ट महाकुलुङ-३ सोलुखुम्बुमार्फत पुर्जी दिने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ । अनुमति लिएका व्यक्ति वा समूहले जेठ २५ गतेदेखि असार २५ गतेसम्म यार्सा सङ्कलन गर्न पाउने छन् । यार्सागुम्बा सङ्कलन गर्न जाँदा सङ्कलन पुर्जी, प्राथमिक उपचार सामग्री तथा औषधि, खाना पकाउन ग्यास वा स्टोभ, बस्नका लागि त्रिपाललगायत सामग्री लैजान अनुमति दिइएको सूचना अधिकारी सुवेदीले बताए । यसैगरी, यार्सागुम्बा सङ्कलनका क्रममा विष्फोटक पदार्थ, खुकुरी, चक्कु, डोरी, पासो, भाला, गुलेली, लाउड स्पिकर, ड्रमसेटजस्ता कुरा लैजान प्रतिबन्ध लगाइएको उनले जानकारी दिए । यहाँका मकालु गाउँपालिका, भोटखोला र सिलिचोङ गाउँपालिका र सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका क्षेत्रको मकालु वरुण निकुञ्जलगायत क्षेत्रमा यार्सागुम्बा पाइने गरेको छ । यार्सागुम्बा उच्च हिमाली क्षेत्रका बासिन्दाको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको छ । सङ्कलित यार्सागुम्बा बेचेर स्थानीयले वर्षभरिका लागि आवश्यक घरखर्च, बालबच्चा पढाउन स्रोत जुटाउने गरेका छन् । यार्सागुम्बा सङ्कलनका लागि निकुञ्ज कार्यालयले मध्यवर्ती क्षेत्रभित्रका स्थानीयलाई ५ सय रुपैयाँ , मध्यवर्ती क्षेत्र बाहिरका सङ्खुवासभा र सोलुखुम्बुका लागि २ हजार रुपैयाँ तथा जिल्ला बाहिरका लागि ३ हजार रुपैयाँ प्रवेश शुल्क तोकिएको मकालु वरुण राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जले विगतका वर्षमा यार्सागुम्बाबाट वार्षिक ५० लाख रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरिरहेको थियो । गुणस्तरका आधारमा एक नम्बरको यार्सागुम्बालाई प्रतिकेजी ४० लाख रुपैयाँसम्म बिक्री हुने गरे पनि यहाँको यार्सागुम्बा प्रतिकेजी ५ लाख ५० हजार रुपैयाँदेखि साढे ७ लाख रुपैयाँसम्ममा किनबेच हुने गरेको व्यापारीको भनाइ छ । यसरी सङ्कलन गरिएको यार्सा चीनको तिब्बत तथा काठमाडौंतर्फ बढी निकासी हुने गरेको छ । मकालु वरुण राष्ट्रिय निकुञ्ज सङ्खुवासभा र सोलुखुम्बुको एक हजार ५०० वर्गकिलोमिटरमा फैलिएको छ ।
प्लास्टिकको डोरीले हरायो सनपाट खेती, जुटमिल पनि बन्द
गोपालप्रसाद बराल काठमाडौं । केही दशक पहिलेसम्म महोत्तरीका बस्ती बस्तीका किसान सनपाट खेतीमा लाग्ने गरेका थिए । अचेल भने यहाँका फाँटमा न सनपाट देखिन्छ, न त यो खेती गर्नेमा युवा पुस्ताको आकर्षण छ । किसानका गोठमा पशु वस्तु घट्दै गएसँगै सनपाटको खेती पनि मासिँदै गएको जानकारहरू बताउँछन् । विगतमा पशु वस्तु बाँध्न, डुलाउन मात्र होइन, कैयौँ काममा प्रयोग हुने डोरीको प्रयोग हुने गरेको थियो । एकातिर पशु वस्तु पाल्न छोडिएको र अर्कोतिर प्लास्टिकका बनिबनाउ डोरी सजिलै पाउने भएकाले सनपाट खेतीतर्फ किसानको सरकार घट्दै गएको हो । ‘मेरै गोठमा जहिले पनि दुई हल गोरु, दुई वटा भैँसी र एउटा गाई हुन्थ्यो,’ दुई दशक पहिलेको आफ्नो गुहाली (गोठ) सम्झँदै बर्दिबास-९ पशुपतिनगरका ७० वर्षीय किसान कारी महतो भन्छन्, ‘यिनै वस्तुसँग जोडेर बर्सेनि केही जग्गामा सनपाट लगाइन्थ्यो, अब न गोठमा वस्तु छन्, न पाटखेती नै गरिन्छ ।’ उनी मात्रै होइन, यताका सबैजसो किसानका गोठमा जग्गाको अनुपातमा गोरु पालिन्थे, दूधका लागि घरघरै गाईभैँसी हुन्थे । किसानहरूले ती पशु वस्तु बाँध्न डोरी, दाम्ला बनाउन आफैँ सनपाट खेती गर्थे । पुरानो पुस्ताको अवसानसँगै त्यो प्रचलन हराएको छ । नयाँ पुस्ता पढाइ र कामका लागि बिदेसिने क्रम बढेपछि वस्तु पालन र पाटखेती हराएको महतोकै छिमेकी सूर्यदेव सिंह बताउँछन् । यहाँको भङ्गाहा-६ हतिर्साको मजरा बस्तीका ६० वर्षीय सुरेश बाँतरका अनुसार पशुवस्तुका दाम्ला बनाउन मात्र नभई घरायसी प्रयोजनका लागि विगतमा पनि डोरी र मोटो रस्सी बाट्न पनि सनपाटको सूत्री चाहिन्थ्यो । दाम्लो, डोरी र मोटो रस्सा बनाउन मात्र नभई प्राङ्गारिक मलका लागि पनि सनपाट खेती गर्ने चलन रहेको उनको भनाइ छ । ‘सनपाटका जरामा हुने साना गिर्खा (गाँठा) मा माटोलाई चाहिने उर्वर शक्ति नाइट्रोजन हुन्छ, अनि डाँठ र पातबाट कम्पोस्ट मल बन्छ,’ नेपाल सरकारको कृषि सेवाको सहसचिवबाट अवकाश प्राप्त भङ्गाहा-५ सीतापुरका ७५ वर्षीय कृषिविज्ञ रामबहादुर भुजेल भन्छन्, ‘मधेसमा मलका लागि लगाइएको सनपाट खेतमा धान रोप्न, खेत हिल्याउँदा जोतेर केही दिन छाडिने चलन छ । हिलो पानीले सनपाट गलेपछि फेरि दाँदे लगाएर धान रोपिन्छ ।’ सनपाटको यस्तो मल धानखेतीका लागि निकै उर्वर हुँदा विगतमा किसानको रोजाइमा पर्ने गरेको भुजेलको भनाइ छ । उनले कृषि कार्यालयहरूले किसानलाई मलका लागि यो खेती गर्न कार्यक्रम नै बनाएर अभिप्रेरित गर्ने गरेको पनि स्मरण गरे । सनपाट दाम्ला, डोरी र रस्साका लागि खेती गरिँदा यो छिप्पिएपछि काटेर मुठा बनाइ गहिरो पानीमा डुबाउन पर्छ । त्यसरी केही दिन पानीमा डुबाइएको सनपाटको डाँठबाट रेसा अलग्गिन थालेपछि त्यसलाई धोइपखाली घर ल्याएर सुकाएपछि पाट तयार हुन्छ । यसरी तयार भएको पाट सूत्री कातेर दाम्ला, डोरी र रस्सा बनाउनसँगै उब्रेको पाट बजारमा बेचेर किसान घरखर्चको जोहोसमेत मिलाउने गरेका गौशाला-१० लक्ष्मीनियाँका ७५ वर्षीय किसान लक्ष्मी महतोको सम्झना ताजै छ । ‘पहिले पो जोत्न गोरु चाहिन्थ्यो र घरघरै जसको जति खेत छ, त्यसअनुसार गोरु पाल्थे, अब सबै ट्रेक्टरबाटै जोत्छन्,’ उनी भन्छन्, ‘गोरुसँगै घरघरैजसो भैँसी र कमसेकम एउटा गाई पालिन्थ्यो, अब न गोठमा वस्तु नै छन्, न यिनलाई बाँध्न चाहिने दाम्ला र डोरीका लागिको सनपाट खेती ।’ व्यावसायिक रूपमा आधुनिक तवरले पशुपालन गर्ने किसान निकै कम भएका र अब बजारमा प्लास्टिकका दाम्ला, डोरी सजिलै पाइन थालेपछि सनपाटको सम्झना नै हुन छाडेको उनको भनाइ छ । विराटनगरको जुटमिल बन्द हुनु, पशुपालन घट्दै जानु, नयाँ पुस्ताले यसबारे रुचि नदेखाउनु, पोखरीरदहमा पानी सुक्नु र खेतीमा रासायनिक मलमा निर्भरता बढ्नुले सनपाट खेती हराएको औरही-७ भोइलका पाका किसान ७० वर्षीय मोहन महतोको बुझाइ छ । ‘करिब दुई दशक अघिसम्म जिल्लाका सबैजसो भेगमा आमकिसानले धेरथोर सनपाट खेती लगाउँथे । यहाँ कुत्रुङ, कश्मिरा र पटुवा जातका सनपाटको खेतीबाट आफूलाई आवश्यक पर्ने सूत्री कातेर अरु बेचेर घरखर्चका लागि नगदको जोहो गर्थे,’ एकडारा गाउँपालिकाको अजमरपट्टी बस्तीका ६० वर्षीय हरिदेव मण्डलले भने, ‘यो सबै हिजोझैँ लाग्दै छ । अहिलेका किशोर उमेरका नातिनातिनालाई सनपाट भनेको नै थाहै नपाउने अवस्था बनिसक्यो ।’ सनपाट घरायसी प्रयोजनका डोरी, नाम्ला, दाम्ला र रस्सा एवं प्राङ्गारिक मलका लागि मात्र नभई कागज, बोरा, झोला, कपडा बुन्न उद्योगले समेत किन्ने गरेकाले विगतमा राम्रो आम्दानीको स्रोतको रूपमा थियो । यहाँबाट तयार गरिएको पाट विराटनगर जुट मिलमा जाने गरेकाले आम्दानी गर्न सहज भएको भङ्गाहा-५ धतीयाटोलका ६५ वर्षीय किसान सुपतलाल यादवको सम्झनामा छ । उनी भन्छन्, ‘मल र घरायसी प्रयोजनका लागि सनपाट प्रयोग गथ्र्यौं । बढी भएपछि उद्योगलाई बेचेर कमाउँथ्यौँ ।’ सनपाटको सन्ठी अत्यन्त प्रज्वलनशील हुने हुँदा गाउँघरमा आगो सल्काउनरजगाउन बचाएर राख्ने पुरानो चलनसमेत रहेको थियो । खासगरी सन्ठी दीपावलीमा ‘हुक्कालोलि’ खेल्न प्रयोग गर्ने मधेसको चलन छ । ‘हुक्कालोलि’ मिथिला संस्कृतिकै अङ्ग मानिन्छ । यस प्रयोजनका लागि सन्ठी जोगाएर राखिने गरेको विगत यहाँका पाका किसानले बताउने गरेका छन् । सनपाट खेती गर्मी हावापानीमा हुने गर्छ । छरेको करिब ४५ दिनमा काट्न तयार हुने यो खेतीका लागि महोत्तरीको माटो र वातावरण अनुकूल भएको कृषि प्राविधिक बताउँछन् । पानीका दह घट्दै गएपछि पाटका लागि यो खेती असजिलो हुँदै गए पनि खेतबारीको मलका लागि भने किसानलाई अझै यसतर्फ उत्प्रेरित गर्न आवश्यक रहको कृषि विज्ञ राजकिशोर यादवको भनाइ छ । रासस
देशभरका मस्जिदमा बकर इद मनाइँदै, छोरालाई बलिदान गर्न तयार थिए इब्राहिम
काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाउँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने परम्परा छ । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ । यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिए । मुस्लिम धर्म गुरु (मौलाना) रहमत अलीले ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिइएको बताए । जसले यो पर्व एवं धर्मलाई पुस्तान्तरण गर्न महत्त्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेको उनले उल्लेख गरे । ‘जुन ग्रन्थलाई हाल मुस्लिम धार्मिक विद्यालय (मदरसा)मा समेत अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सरेको इतिहास छ । त्यही सम्झनामा हाल पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ,’ मौलाना अलीले भने । पर्वका अवसरमा मक्कामदिना जानु शुभ मानिएअनुसार त्यहाँ जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हजयात्रा गराउने गरेको छ । मक्कामदिना जान नपाउने हजयात्रीले समेत घरघरमै बकर इद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हजयात्रा हो । यस पर्वमा अल्लाहलाई खुसी पार्न मुस्लिम धमालेले जायज मानेका जनावरलाई कुर्बानी (बलि) दिन्छन् । धार्मिक मान्यताअनुसार अल्लाहका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो । जसलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माइलको कुर्बानी नभएर स्वर्ग (जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ । यसैकारण कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ । निःसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मनन्नत मागेका बताइन्छ । अल्लाहले सन्तान सुख दिए कुर्बानी गर्छु भन्ने इब्राहिमको प्रतिबद्धताअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्नुपर्छ भनेका मुस्लिम धर्मावलम्बीको विश्वास छ । उनले धेरै जनावर कुर्बानी गर्दा पनि अल्लाह खुसी नभएपछि अन्तिममा आफ्ना सबैभन्दा प्यारा सन्तानलाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका किंवदन्ती छ । यस घडीमा उहाँको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान भएको बताइन्छ । परम्पराअनुसार कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ । यसैअनुसार आज पहिलो दिनको बकर इद मनाइँदै छ । मुस्लिम धर्मावलम्बीले शनिबारसम्म तीन दिन यो पर्व मनाउने जनाइएको छ । तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदले जनाएको छ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।