विकासन्युज

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज हुँदै चार अर्ब दुई करोड रुपैयाँ मूल्यभन्दा बढीका  विद्युतीय सवारीसाधन आयात भएका छन् ।  गत आवको १० महिनाको तुलनामा चालु आवमा मूल्यको आधारमा विद्युतीय सवारीसाधनको आयात रु दुई अर्ब ३७ करोड अर्थात् १४३ दशमलव ६० प्रतिशतले वृद्धि भएको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगञ्ज नाका हुँदै चालु आवमा १५ हजार २७१ वटा विभिन्न थरिका विद्युतीय सवारीसाधनको आयात गरिएको र सोबाट प्राप्त हुने राजस्वमा उल्लेखनीय वृद्धि भएको बताए ।  गत आवको १० महिनामा यो नाका हुँदै एक अर्ब ६५ करोड रुपैयाँ मूल्य पर्ने नौ हजार ४२ वटा विभिन्न विद्युतीय सवारीसाधन आयात गरिएका थिए । त्यसवापत रु ८१ करोड ४७ लाख राजस्व सङ्कलन भएको थियो ।  चालु आवको १० महिनामा एक अर्ब ८७ करोड रुपैयाँ मूल्य पर्ने ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका ६५७ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएका छन् । त्यसवापत रु एक अर्ब १९ करोड राजस्व सङ्कलन भएको छ । जबकी गत आवको १० महिनामा भने दुई करोड छ लाख रुपैयाँ मूल्य पर्ने छ वटा ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका विद्युतीय जीप, कार र भ्यानको आयात भएको थियो । यस्तै, चालु आवको १० महिनामा एक अर्ब १७ करोड रुपैयाँ मूल्य पर्ने आठ हजार ८६७ वटा विद्युतीय मोटरसाइकल तथा स्कुटर आयात हुँदा रु ३८ करोड ५५ लाख राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा करोड ९६ लाख रुपैयाँ मूल्य पर्ने चार हजार ८३४ वटा विद्युतीय मोटरसाइकल र स्कुटर आयात भएका थिए । ती सवारीसाधनको आयातबाट मात्रै २० करोड १५ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।  यो नाका हुँदै चालु आवको १० महिनामा ३१ अर्ब ३१ करोड रुपैयाँ मूल्य पर्ने इन्धन र विद्युत्बाट चल्ने सवारीसाधन तथा पार्टपुर्जा भित्रिएका सूचना अधिकारी विष्टले जानकारी दिए ।  गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधारमा सवारीसाधन र पार्टपुर्जाको आयात नौ अर्ब ६५ करोड रुपैयाँ अर्थात् ४४ दशमलव ५८ प्रतिशतले बढेको छ । चालु आवको १० महिनामा वीरगञ्ज हुँदै एक अर्ब २५ करोड रुपैयाँ मूल्य पर्ने छ सय २८ वटा जीप, कार र भ्यानको आयात भएको छ । त्यसवापत कार्यालयले तीन अर्ब १७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । जबकी गत आवको सोही अवधिमा एक अर्ब ८१ करोड रुपैयाँ मूल्य पर्ने आठ सय ५५ वटा जीप, कार र भ्यानको आयात भएका थिए । यस्तै, चालु आवको १० महिनामा सात अर्ब ३२ करोड रुपैयाँ मूल्य पर्ने ५१ हजार ४२३ वटा मोटरसाइकल ९अन एसेम्बल्ड० आयात भएका छन् । त्यसवापत सात अर्ब नौ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा पाँच अर्ब २१ करोड रुपैयाँ मूल्यका यस्ता मोटरसाइकल आयात भएका थिए । रासस 

तनहुँका नौ पालिकामा रास्वपाको नयाँ नेतृत्व

दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँअन्तर्गत नौवटा पालिकामा नयाँ नेतृत्व चयन भएको छ । सङ्गठन विस्तारअन्तर्गत रास्वपाले जिल्लाका दश पालिकामध्ये नौ पालिकामा नयाँ नेतृत्व चयन गरिएको जनाएको छ ।  अधिवेशनअन्तर्गत व्यास नगरसमितिमा चूडामणि दाहाल, भिमाद नगरसमितिमा उत्तम सुवेशी, भानु नगरसमितिमा विष्णु पोख्रेल, देवघाट गाउँसमितिमा बलबहादुर क्षेत्री, आँबुखैरेनी गाउँसमितिमा राम श्रेष्ठ, बन्दीपुरमा शम्भु श्रेष्ठ, घिरिङमा प्रेम थापा, शुक्लागण्डकी नगरमा हरिबहादुर खड्का र म्याग्दे गाउँ समितिमा मनोज अधिकारी सभापति चयन भएका छन् ।  अब ऋषिङ गाउँ समितिमा अधिवेशन हुन बाँकी रहेको छ । रास्वपाले आगामी असार ७ गते केन्द्रीय महाधिवेशन गर्ने तयारी गरिरहेकाले त्यसअन्तर्गत देशभर सङ्गठन सुदृढीकरण अभियान चलिरहेको छ । तनहुँमा पनि सोही अभियानअन्तर्गत वडा र पालिका तहमा नेतृत्व चयन तथा सङ्गठन पुनःसंरचनाको काम भइरहेको रास्वपा जिल्ला सभापति विश्व बास्तोलाले जानकारी दिए । रासस   

चमसुरको साग किलोको ९० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३९, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३५, आलु रातो (गोलो) प्रतिकिलो रु ३० र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४३ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ८०, बन्दा (लोकल) प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु ८०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ५० कायम भएको छ । त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु ९०, मकै बोडी प्रतिकिलो रु ९०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ७०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु १३०, भटमास कोसा प्रतिकिलो रु १६०, तीते करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु ७०, परवर (लोकल) प्रतिकिलो रु ७०, घिरौँला प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु ३५, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, भिन्डी प्रतिकिलो रु ५०, सखरखण्ड प्रतिकिलो रु ८० र पिँडालु प्रतिकिलो रु ४०, स्कुस प्रतिकिलो १०० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ८०, पालुङ्गो प्रतिकिलो रु ९०, चमसुरको साग प्रतिकिलो रु ९०, तोरीको साग प्रतिकिलो रु ५०, मेथीको साग प्रतिकिलो रु ६०, हरियो प्याज प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २५०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकिलो रु ३२० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ३५०, न्युरो प्रतिकेजी रु ८०, ब्रोकाउली प्रतिकिलो रु ११०, चुकन्दर प्रतिकेजी रु ६०, सजीवन प्रतिकेजी रु १२०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु १३०, पार्सले प्रतिकिलो रु २२०, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु १५०, मकै हरियो प्रतिकिलो रु ५०, गान्टेमूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १४०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ । स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २००, केरा (मालभोग) २२०, कागती प्रतिकिलो रु २२०, अनार प्रतिकिलो रु ४२०, आँप (मालदह) प्रतिकिलो रु १२०, आँप (दशहरी) प्रतिकिलो रु १३०, तरबुजा (हरियो) प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिकिलो रु काँक्रो (लोकल) प्रतिकिलो रु ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २५, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ७०, रुखकटहर प्रतिकिलो रु ५०, नासपाटी (चाइनिज) प्रतिकिलो रु १६०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १०० र लिची (लोकल) रु २५०, लिची (भारतीय) रु ३००, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १८० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ५०, माछे खुर्सानी प्रतिकिलो रु ६०, अककबरे खुर्सानी प्रतिकिलो रु ४२०, भेडेखुर्सानी प्रतिकिलो रु ७०, हरियो लसुन प्रतिकिलो रु १८०, हरियो धनियाँ प्रतिकिलो रु १५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, ताजा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।

३ प्रतिशत शिक्षा समता शुल्क पुनरावलोकन गर्न माग

काठमाडौं । सरकारले शिक्षामा ३ प्रतिशत ‘शिक्षा समता शुल्क’ लागू गर्ने व्यवस्थामाथि पुनरावलोकन गर्न सरोकारवालाहरूले माग गरेका छन् । अभिभावक तथा निजी विद्यालय क्षेत्रका प्रतिनिधिहरूले यो निर्णयले अभिभावक र विद्यार्थीमाथि थप आर्थिक बोझ सिर्जना गर्ने भन्दै पुनर्विचार गर्न आग्रह गरेका हुन् । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत निजी क्षेत्रबाट सञ्चालित विद्यालय, महाविद्यालय, विश्वविद्यालय तथा प्राविधिक शिक्षालयलगायत संस्थाले विद्यार्थीबाट लिने सम्पूर्ण शुल्कमा ३ प्रतिशत शिक्षा समता शुल्क असुल गर्नुपर्ने व्यवस्था गरेको छ । सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित गैरनाफामूलक संस्थामा भने यो शुल्क लागू नहुने उल्लेख छ । विधेयकको दफा ३ अनुसार शिक्षण संस्थाले विद्यार्थीबाट शुल्क लिँदा अनिवार्य रूपमा बीजक (बिल) जारी गरी उक्त शुल्क समेत समावेश गरेर असुल गर्नुपर्ने व्यवस्था गरिएको छ । यसले आगामी आर्थिक वर्षदेखि विद्यालय शुल्कमा प्रत्यक्ष रूपमा ३ प्रतिशत अतिरिक्त भार थपिने देखिएको छ । यस निर्णयप्रति अभिभावक तथा सरोकारवालाहरूले गम्भीर चासो व्यक्त गर्दै निजी शिक्षण संस्थाको सञ्चालनमा समेत असर पर्न सक्ने बताए । नेसनल प्याब्सनकी अध्यक्ष गीता क्षेत्री (राणा) ले शिक्षा क्षेत्रमा कुनै पनि नयाँ कर वा शुल्क लागू गर्नुअघि सरोकारवालासँग पर्याप्त परामर्श आवश्यक रहेको बताउँदै सरकारसँग थप संवाद र समन्वय अघि बढाइने बताइन् ।  महासचिव प्रताप बहादुर थापाले यस्तो शुल्कले अभिभावकको आर्थिक बोझ बढ्ने भएकाले व्यवहारिक पक्षलाई ध्यानमा राखेर पुनर्विचार गर्नुपर्ने धारणा राखे । उनका अनुसार निजी विद्यालयहरू पहिले नै विभिन्न सञ्चालन खर्चको दबाबमा रहेका अवस्थामा थप करले सेवा प्रवाहमा असर पार्न सक्नेछ । शिक्षा क्षेत्रलाई करको अतिरिक्त भारबाट जोगाउँदै गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्नेमा उनको जोड छ ।

सीमा विवादबारे अध्ययन गर्न गृह मन्त्रालयको जाँचबुझ टोली हुम्ला पुग्यो

काठमाडौं । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको सीमा विवाद तथा दोहोरो झडपबारे बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली हुम्ला पुगेको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विमलराज पौडेल नेतृत्वको टोली आइतबार सिमकोट पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिए ।  उनका अनुसार दुई जिल्लाबीच भएको घटनाको स्थलगत यथार्थता बुझ्न हुम्ला आएको टोली  घटना भएको क्षेत्र लामपाटा, च्याचौर क्षेत्र पुगेर सिमकोट पुगेको हो ।  टोलीले सिमकोट बसाइँका क्रममा सीमा क्षेत्रका नागरिक, घटनामा संलग्न व्यक्ति र सीमा जोडिएका क्षेत्रका जनप्रतिनिधि, राजनीतिक दलका नेता र नागरिक अगुवासँग घटनाका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ ।       यसअघि, गत जेठ २ गतेदेखि ४ गतेसम्म सीमाको विषयलाई लिएर हुम्ला र बाजुराका नागरिकबीच भएको झडपले उग्ररुप लिएपछि गृहमन्त्रालयले टोली गठन गरेको थियो । चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेर उक्त क्षेत्रमा प्रहरीचौकी निर्माण सुरु गरेपछि विवाद भएको हो । सीमा विवादले उग्ररुप लिँदा लाम्पाटामा दुई जिल्लाका स्थानीयबीच झडप हुँदा बाजुराका चार जना घाइते भएका थिए । घाइते चारै जनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।  सोही विवाद समाधान गर्न यही जेठ ११ गते नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोलको संयोजकत्वमा अध्ययन टोली र नेपाल प्रहरीका एसएसपी विमलराज पौडेलको संयोजकत्वमा छुट्टाछुट्टै समिति गठन गरिएको छ । 

काठमाडौं महानगरको छात्रवृत्तिमा १४ हजार विद्यार्थी उत्तीर्ण, एक जनाले ल्याए ९२ अंक

काठमाडौं । काठमाडौं महानगरपालिकाले हिजो (जेठ १७) गते लिएको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । छात्रवृत्ति परीक्षा समितिको आजको निर्णय अनुसार न्यूनतम् ४० अङ्क हासिल गर्ने उम्मेदवारहरूको प्रारम्भिक योग्यता क्रम सहितको नतिजा प्रकाशन गरिएको हो ।  यो छात्रवृत्ति महानगरपालिका अन्तर्गत सञ्चालनमा रहेका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३/८४ मा कक्षा ११ र १२ मा अध्ययनका लागि हो । नतिजा हेर्न अनलाइन फाराम भरेको पोर्टलमा आफ्नो रोल नम्बर, जन्ममिति र पासवर्ड (मोबाइल/इमेलमा प्राप्त) राखी स्कोर कार्ड हेर्न, डाउनलोड गर्न र प्रिन्ट गर्न सक्ने व्यवस्था मिलाइएको छ ।  शिक्षा अधिकारी एवं परीक्षा समितिका संयोजक नमराज ढकालका अनुसार यो प्रारम्भिक नतिजा हो । यो नतिजामा चित्त नबुझे जेठ २० गते कार्यालय समयभित्र पुनर्योगका लागि निवेदन दिन सकिने अवधि दिइएको छ । यसपछि अन्तिम योग्यता क्रमको सूची प्रकाशन हुनेछ । अन्तिम योग्यता क्रमको सूची पछि मात्र शिक्षण संस्था म्याचिङ तथा विद्यार्थी मनोनयन सिफारिस प्रक्रिया सुरु हुन्छ । ढकालका अनुसार परीक्षामा उच्चतम अङ्क प्राप्त गर्ने एक जना विद्यार्थीले ९२ अङ्क प्राप्त गरेका छन् । यस्तै दोस्रो उच्चतम प्राप्त गर्ने एक जना विद्यार्थीले ९१ अङ्क पाएका छन् । तेस्रोमा ५ जना विद्यार्थीको ९० अङ्क छ ।  प्रकाशित नतिजामा चित्त नबुझेमा १ हजार रुपैयाँ राजस्व दाखिला गरेर प्रवेश पत्रको प्रतिलिपिसहित जेठ २० गतेभित्र शिक्षा विभागमा निवेदन दिन सकिनेछ । यस्तै, फाराममा नाम, लिङ्ग लगायतका विवरण फरक परेको वा योग्यता नपुग्ने आरक्षण क्षेत्रमा आवेदन दिई फाराम स्वीकृत भएकोले उक्त क्षेत्र हटाउनु परेमा (क्षेत्र थप गर्न भने नमिल्ने) प्रमाण पुग्ने कागजात संलग्न गरी जेठ २० गतेभित्र निवेदन दिन सकिने उल्लेख छ ।  छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी छनोटका लागि २०८३ वैशाख ३ गते सूचना प्रकाशन गरिएको थियो । छात्रवृत्तिका लागि ८३ वटा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । परीक्षाका लागि अनलाइन प्रणालीबाट आवेदन दिने १६ हजार ५४९ जना छात्र र १० हजार ३३३ जना छात्रा र ६ जना अन्य गरी २६ हजार ८८८ जना विद्यार्थीमध्ये २६ हजार ६०३ जना विद्यार्थीको आवेदन स्वीकृत भएको थियो । स्वीकृत आवेदकमध्ये २२ हजार २० जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । 

थ्रीस्टार हाइड्रोको ४२ लाख कित्ता सेयरको लकइन असार १९ गते सकिने

काठमाडौं । थ्रीस्टार हाइड्रोपावरको सेयरको लकइन अवधि एक महिनापछि सकिने भएको छ । कम्पनीको सेयरको लकइन अवधि असार १९ गते समाप्त हुने भएको हो । कम्पनीका अनुसार संस्थापक सेयरधनी, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र कम्पनीका कर्मचारीहरूको गरी कुल ४२ लाख १ हजार २५ कित्ता सेयरको लइकन सकिन लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार संस्थापक सेयरधनीको ३६ लाख ९३ हजार ७५० कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको ४ लाख ९२ हजार ५ सय कित्ता र कम्पनीका कर्मचारीको १४ हजार ७७५ कित्ता सेयर लइकन सकिने कम्पनीले जनाएको छ । सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा कार्यरत कर्मचारीहरुको हकमा भने खरिद बिक्री गर्न नपाउने कम्पनीले जनाएको छ ।  आईपीओ बिक्री गरेर सेयर बाँडफाँडपश्चात् ३ वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीलाई छुट्याएको सेयर लक इनमा राख्नु पर्ने नेपाल धितोपत्र बोर्डले व्यवस्था गरेको छ ।   

नाडा अटो शो भदौ ९ गतेदेखि, स्टल बुकिङ जेठ २६ गतेसम्म खुला

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आगामी ‘नाडा अटो शो २०२६’ का लागि स्टल बुकिङ खुला गरेको छ । नाडा अटो शोको १८औँ संस्करण भदौ ९ गतेदेखि १४ गतेसम्म आयोजना हुने भएको हो ।  सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा तथा अन्य सम्बन्धित सरोकारवाला संघ-संस्थाहरूको सहभागितामा हुने यस प्रदर्शनीलाई नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल एक्स्पोका रूपमा लिइँदै आएको छ । नाडा अटो शो समितिका सभापति अनुप कुमार बरालका अनुसार स्टल बुकिङ जेठ १८ गतेदेखि २६ गतेसम्म खुला गरिएको छ । उनले अटो शोले अटोमोबाइल उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक तथा सम्बन्धित उद्योगहरूलाई आफ्ना नवीनतम उत्पादन, प्रविधि र सेवाहरू प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने बताए । प्रदर्शनीमा हजारौं आगन्तुक, उद्योग व्यवसायी, लगानीकर्ता तथा सञ्चारकर्मीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । स्टल बुकिङ सम्बन्धी विस्तृत जानकारी, आवेदन प्रक्रिया तथा शुल्कबारे जानकारी व्यवस्थापक कम्पनीमार्फत प्राप्त गर्न सकिने नाडाले जनाएको छ । सहभागी संस्थाहरूलाई समयमै बुकिङ सुनिश्चित गरी प्रतिष्ठित प्रदर्शनीको हिस्सा बन्न आग्रह गरिएको छ ।